चिसो दिन छ । चिसो बिहानीमा चिसा नै शब्दहरु बोकर आएकी छु । पुसको महिना न्यानोपन केवल एक कल्पना वा दिवासपना हो । डिसेम्बरलाई बिदा दिइसकेका छौ । चिसो भएर पनि फूलहरु फूल्न छोडेका छैनन् । नदीहरु वगिरहेका छन् । चराहरु आफ्नै उडानमा छन् । जानेर र आउनेहरुको लर्को छोट्टिएको छैन । संसार एक तमासले चलिरहेको छ । संसारसँगै चल्दिन भन्नु सायद संसारको अस्तित्वलाई अस्विकार गर्नु हो । तर किन थाहा छैन चाहेर पनि स्विकार्न सकिरहेको छैन ।
पुस त्यसै पनि एक चिसो महिना हो यसलाई केही घटनाहरुले अझ चिसो बनाएको छ । पुसको मध्यान्नमा हामीले सुजन र बिरेन्द्र लाई बिनाकारण नबाँच भनिदियौ । बाच्नेहरुको लिस्टबाट उनीहरु एकाएक हराए । सायद मर्नेहरुको वा मारिनेहरुको अंकमा दुई अंकहरु थपिए । केही आक्रोशहरु सडकमा, अखवारमा अनि सोसल मिडियाका भित्ताहरु थपिएँ । तर समाजलाई लागेन उनीहरुको मृत्यु हामी सबै असफल हुनुको एक मानक थियो । मानिसको रुममा, समाजको रुपमा अनि देशको रुपमा । तर एक दुई दिनमै सबै सामान्य बन्यो सायद अर्को महिना उनीहरु बारे कसैले हामीलाई सोध्यो भने हामी बेखवर बनिदिनेछौ । उनीहरुलाई जानेहरुको लिस्टमा हामीले बिनाकारण थपिदियौ । हामीलाई लागेन कसैको पद र कसैले चडेको गाडीभन्दा मानिस ठूलो हो । उनीहरुको जीवन एक असफल बिम्ब बनेर हामीबाट हरायो । थाहा छैन आदेश दिनेका, आदेश सिरोपर गर्नेका हात सुनपानीले चोख्याएझै चोखिनेछन् वा चोखिनेछैनन् । यो समाजमा गरीव र असफल हुनु भनेको तँ बाच्न योग्य छैनस भनेर अयोग्यको ट्याग भिर्नु जस्तै हो ।
यही महिना एउटा हिन्दी सिनेमाले फेरी हाम्रा अखबार र सोसल मिडियाहरु भरिए । सायद अघिल्लो भन्दा बढी । हामी धेरैलाई लाग्यो सिनेमाझै सबैको जीवन हुनुपथ्र्यो । हामलिे हामी भित्रकै मनोज र श्रद्घालाई खोज्न थाल्यौ । महिलाहरुलाई लाग्यो उनीहरुको जीवनमा मनोजझै कोही हुनुपर्छ । पुरुषहरुलाई लाग्यो उनीहरुको जीवनमा श्रद्घाझै कोही आउँनुपर्छ । हामीले फेरी मानिसको जीवनमा आउँने एक सामान्य सफलतालाई मानकको रुपमा लिन थाल्यौ । यसरी हेर्दा सफलताहरु सधै मानक बन्दा रहेछन् । श्रद्घा र मनोज एक प्रतिकको रुपमा हामी बिच रहेँ त्यसै गरी सायद सुजन र विरेन्द्र कहिल्यै रहने छैनन् । सायद हामीलाई लाग्यो सम्झनको लागि पनि कोही प्राप्तीको बाटो हिड्नु पर्ने रहेछ । कसैको अगाडी योग्यझै बनिदिनु पर्ने रहेछ । समाज सधै शक्ति, सत्ता र सफलताको वाटो मात्र हिड्दो रहेछ । त्यो बाहिरका कथाहरु सायद बिरलै सम्झनलायक कथा बन्नेछन् । हुनसक्छे हामी सबै श्रद्घा र मनोजको खाजीमा रहिरहनेछौ ।
सुजन र विरेन्द्रको मृत्यु सायद एक सामान्य मृत्युझै हामीबाट हराउनेछ । हामी धेरैलाई लाग्नेछ उनीहरुको गएकोमा हामीले सम्झिराख्नु अथवा बुझिराख्नु आवस्यक छैन । यहाँ सफलताहरु शक्तीका मानक बन्छन् । अनि समाजलाई मानक बाहिरकमा मानिसहरु बारे किन बोल्नु, किन लेख्नु किन सम्झनु वा किन उनीहरुको मृत्युलाई गहिरेर बुझ्नु भन्ने लागिरहनेछ । सायद संसार यसरी नै चल्छ । हरेक असामान्य चिज एक सामान्य परिघटनाझै बन्न पुग्छ । अनि हरेक सामान्य घटना असामान्य झै । हामीलाई लाग्छ असामान्य नै सामान्य हो अनि सामान्य नै असामान्य हो । सुजन र बिरेन्द्रको मृत्युलाई हामीले सामान्य घटना ठानेर बिस्तारै बिर्सनेछौ । र श्रद्घा र मनोजलाई एक असामान्य सफलता ठानेर सधैँ सम्झिरहेछौ ।
सायद यी यस्तै चिसा समाचारहरुले हामीलाई छुनेछन् वा नछोएझै बाहिरिनेछन् । हामीलाई लाग्नेछ संसार यस्तै नै हो । असफलता र सफलता एक नियती मात्र हो । जो सफलताको मानक भित्र पर्छ वा जो त्यो बाहिर पर्नेछ त्यसलाई हामी सामान्यकरण गर्नेछौ । र एक भागदोडको तछाडमछाडको नियतीलाई स्विकार्नेछौ । समाजको मानक भित्र पर्ने सफलताहरु समाजले सम्झनेछ जसले बाच्नको लागि गोली खायो उ केबल एक खराब नियती बनेर सधैको लागि बिदा हुनेछ ।
थाहा छैन किन तर यो समयको साक्षी भएकोमा दुखमात्र लाग्नेछ । यदाकदा ६० को दशकमा गिन्र्सवर्गले भनेझै यो समयका सबैभन्दा असल मानिसहरु भोकमरी र गरीबिले ग्रस्त छन् झै लाग्छ । बिनाकारण पद र शक्तिमा पुग्नेहरुमा पदको मात यती चढेको छ कि उनीहरुलाई लाग्छ उनको पद र शक्ति भन्दा मानिस ठूलो होइन, मानिसलाई बुझ्न आवस्यक छैन । प्रिय सुजन र विरेन्द्र, यी सबैसबै शब्दहरु तिमीहरुका लागि थिए । गयौ तर जाँदै गर्दा समाजलाई तिमीहरुलाई गुमाउँनु मानिस गुमाउँनुझै लागेन । सायद अब यस्तो कहिल्यै नहोस् तिमीहरु जसरी कोही जानु नपरोस् ।
No comments:
Post a Comment