Sunday, January 21, 2024

भन जे तिमीलाई भन्नु छ– पूर्नदावी


  पुसको महिना काठमाडौँ अप्रिय लाग्छ । चिसा दिनमा चिसोपनलाई नै साक्षी राखेर कहि कतै बरालिउँ झै लाग्छ । पुस १३ मा थाहा छैन किन दुई दिनको बिदामा काठमाडौँमै बिताउँझै लागेन । बिहान लिनुपर्ने आफ्ना कक्षाहरु भ्याएँ ममिलाई भने घर लाउँछु । ममिले भन्नुभयो बिदा भयो र ! होइन त्यसै पन्ध्र पुस मनाउँन । छोरीको घर आउँने खबरले सायद ममि खुसी नै हुनुभयो । 

एक दिनपछि पन्ध्र पुस थियो । गुरुङहरुको लोसार, लोसारमा घरमा जानु भनेको बर्षौ सम्म नदेखेको लोसार झाकीँ हेर्नु पनि हो । त्यसको लोभ पनि थियो । घर गएँ । पुस १४ को दिन मेरो चिनजानको एकजना साथी उतै हुनुहुन्थ्यो । एकपटक भेटौ भन्ने लाग्यो । भोलीपल्ट बिहानै ममिलाई भने दिउँसो एकपटक बेशिशहर जान्छु है साथीलाई भेट्नु छ । पहिले ममिलाई लाग्यो होला केटी साथी हो । पछि सोध्नुभयो केटी कि केटा ? मलाई लाग्थ्यो मेरी आमा अल्लि उदार छिन्, उ बेला गाउँकै सबैभन्दा धेरै पढेकी पढाउँने मान्छे । “केटा साथी” मैले भने । ममिको अनुहार अध्यारो भयो । मैले आफ्नी आमाको त्यती अध्यारो अनुहार कहिल्यै देखेको थिइन । “नजा भन्न सक्नुभएन जा पनि भन्नुभएन । अनि एकछिन पछि भन्नुभयो “काठमाडौँमा जे गर गर तर यता केटाहरुलाई नभेट” । ममिको यो वाक्यले चसक्क भिज्यो । रिस पनि उठ्यो । “किन नभेट्ने”े अल्लि ठूलो स्वरमा भने । त्यसपछि केही भन्नुभएन तर अनुहार उज्यालो भएन । म साथीलाई भेट्न त गएँ तर उहाँसँग बिताएका दुई घन्टामा आमाका दश वटा फोनकलहरु आए । पहिलोपटक जीवनमा नराम्रोसँग बाधिएको महसुस भयो । 

घर छोडेको सत्र बर्ष भै सकेछ । यतिका बर्षहरुमा मलाई घर यतिखेर आइज यसलाई नभेट भन्ने कोही रहेनछ । मैले कल्पना गरेको समाज पनि त्यहि यर्थाथमा आधारीत रहेछ । घर छोडेका यतिका वर्षपछि पहिलोपटक बाआमाको घरमै रहनु भनेको कति कुरामा बाधिनु रहेछ भन्ने महसुस भयो । आफ्नै भुगोलले आफैलाई कति धेरै बाध्छ भन्ने पनि महसुस भयो । बेलुका घर फर्के । त्यही कुरा बुवालाई र भाइलाई भनेँ । बुवा ममिसँग रिसाउँनुभयो । भाई हाँस्यो । तर किनकिन आफैलाई फर्केर हेर्दा, आमा र आफूबिच कोसौको दुरी रहेको महसुस भयो । त्यो दुरी सजिलै मेटिने दुरी थिएन। आफ्नै हिसाबले बाच्न सामर्थ राख्ने लाग्ने छोरीप्रति त आमासँग समाजको यति ठूलो डर रहेछ भने स–साना नानीहरुका लागि घरको पर्खाल नाघ्नु सजिलो कुरा रहेनछ ।

घर बसेका भन्दा घर छोडेका बर्षहरु धेरै भैसकेँ । आफैँलाई फर्केर हेर्दा अब घर कुुन हो तेरो भन्दा भन्दा गाह्रो पर्ने दिन आइसकेछ । आमाका लागि आज पनि कोही केटीले केटालाई भेट्नु राम्रो काम रहेनछ । समाजको अगाडी चिच्याएर भन्न जति सजिलो रहेछ आफ्नालाई बुझाउँन त्यति गाह्रो काम रहेनछ । यदाकदा मलाई मुनाले भन्ने पनि गर्थिन् कहिलेकाही जे महसुस गर्छेउ त्यो ममिलाई भन । तर यतिका बर्ष मेरा आफ्ना मसिना कुराहरु साथीहरुलाई भनेको रहेछु तर ममिलाई कहिल्यै भनेको रहेनछु । सायद बाआमालाई लाग्यो पढ्दैछ सब ठिक चल्दैछ तर ठिकझै देखीने ठिक नभएको दिनहरुको साक्षी म आफू मात्र भएकी रहेछु ।

भन्न सजिलो छैन । आज पनि छोरी मान्छेको लागि स–साना कुरालाई दावी गर्नु पनि कम छोरीमान्छे वा बिग्रेकी छोरीमान्छेझै हुनु हो । जस्तो कि कसैलाई प्रेम गर्छु भन्नु, कसैलाई मन पराउँछु भन्नु, कसैसँग गफ गर्न चाहन्छु भन्नु वा कसैलाई चिया खान भेटौ भन्नु । हामीलाई सानैदेखी दावी गर्न वा एप्रोच गर्न सिकाईएको रहेनछ । आफूलाई मनमा लागेको कुरा भन्न पनि कसैको स्विकृति वा मौन स्किारोक्तिको जरुरत महसुस हुँदोरहेछ ।

कहिलेकाही लाग्छ समयसँगै धेरै बद्लियो तर कहिलेकाही लाग्छ समयसँगै केही बद्लिएको छैन । तर सायद अब आफैले आफैलाई दावी गर्ने समय आएको छ । सायद गरेनौ भने फेरी पनि भनिनेछ तिम्रो आफ्नो पहलमा कसैलाई भेट्नु, कसैसँग बोल्नु वा कसैलाई चाहनु तिम्रो भागको चिज होइन । सायद यो बोल्ने समय हो र आफ्ना खुसीहरु आफैँले दावी गर्ने समय पनि हो ।

No comments:

Post a Comment

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...