स्कुलबाट फर्किदै छु । पानी परेको छ । छोरी र म एउटै छातामा छौँ । मेरो एक पाखो निर्थुक भिजिसकेको छ । “मामू आज घर गएपछि मम खाने है” । छोरी भन्छे म केही बोल्दिन । “हस् भन्नुस् न” उ फेरी जोड दिन्छे । म हुन्छ भनेझै गर्छु ।
कोठामा आइपुग्दा झमक्क साँझ परेको छ । बिहान पकाएका र खाएका भाडाहरु बेसिनमा त्यसै छन् । बाहिर केही मानिसहरु आएझै लाग्छ । किचनको झ्यालबाट हेर्छु । चिनेका तर चिन्न नचाहँने केही अनुहारहरु छन् । बाहिर उनीहरु कसैलाई सोध्दै छन् , “पुनम बस्ने घर यही होइन र ?” बाहिर कसैले हो भन्दैछ । उनीहरु सरासर भित्र पस्छन् । म उनीहरुलाई नदेखेझै गर्न सक्दिन ।
म किचन नभएर सुत्ने कोठामा लग्छु । नानी अलमलमा पर्छे । आएकामध्धे एउटीले भन्छिन्, “नानी मलाई चिन्यौ म तिम्रो ठूलोमामू !” छोरी अलमल्लमा परेर मलाई हेर्छे म केही नभएझै गर्छु । म उनीहरुसँग चाहेर पनि सहज हुन सक्दिन । “यतिका समयपछि किन सम्झनु भयो?” म अरु कुनै भूमीका नबाधी सोध्छु । किनकिन म छोरीले सबैकुरा सुनोस् भन्ने चाहन्न । म उस्लाई बाहिर खेल्न पठाउँछु । “पुनम, खै के भन्ने तिम्रो गल्ति भन्न पनि म सक्दिन । तर कि घर फर्क कि डिभोर्स देउ । यसरी रमेशको जिन्दगी बरबाद नबनाइदेउँ ।” म केही भन्न सक्दिन । अचम्म लाग्छ । छोरी दश बर्षकी भै उसले देखेको छैन । बर्बाद त उसको जीन्दगी पो भएको रहेछ ।
“ म अहिले केही भन्दिन दिदी जानुस्” म बिनम्र भएझै गरेर आग्रह गर्छु । उनीहरु भन्छन्, “तिम्रो कुरा केहो भन, यसरी अड्काएर नराख” । म केही नबोलेपछि उनीहरु जान्छन् । उनीहरु गएपछि बाहिर खेलेकी छोरी एकाएक भित्र पस्छे । “मामू उनीहरु को हुन्, म उनीहरु तेरा आफन्त पर्ने हुन् भन्न सक्दिन ।”
जब छोरी गर्भमा आएको ६ महिना भएको थियो रमेश जापान गएको थियो । उसलाई कमाउँनुपर्ने बाध्यता थियो । आफन्तहरु उसको निर्धोपनलाई हाँसाकोे रुपमा लिने गर्थे । गर्भकी छोरी बढ्दै थिई उ बिदेशीने दिन नजिकिँदै थियो । मैले उसलाई नजाउ पनि भन्न सकिन । बढ्दै गरेको सन्तानलाई केही राम्रो हुन्छ कि भन्ने मलाई पनि लाग्यो । जाने अघिल्लो दिन हामी दुबै नराम्ररी रोयौ । उ गयो । उ गएसँगै त्यो घरमा मेरा आफन्त नरहेझै भयो ।
ससुरा नभएकी बुढी सासुलाई समाल्दा समाल्दै म आफैले आफैलाई समाल्न गाह्रो भएको थियो । जाँदा करीव १५ लाख रिन लागेको थियो । रिन चाँडै तिरौ भनेर पनि होला उ मसँग पनि कम बोल्थ्यो औपचारीकता मात्र । मलाई लाग्थ्यो उ बेस्त भएर होला । बिहान के छ कहिले कलमा कहिले सानो म्यासेज र बेलुका त्यस्तै हामी दुबैले गर्ने गफ त्यती मात्र हुन्थ्यो । म थाकेकी हुन्थेँ । आफैँ देखीेँ घर देखी । तर थाहा थिएन किन ति स–साना म्यासेजहरु पनि खै किन पातलिन थाले ।
त्यस बिचमा मलाई आफ्नो कुरा भन्ने साथी चाहिएको थियो । अशोक, मेरो केटाकेटी देखीको साथी थियो । अरु खास केही थिएन तर आफ्ना कुराहरु हार्मी एक अर्कालाई भन्ने गथ्यौ । रमेशलाई पनि उ मेरो साथी हो भन्ने बिहे अगाडी नै थाहा थियो । नानी जन्मने समय भैसकेको थियो एकदिन बिहानै रमेशको फोन आयो । त्यसरी बिहानै धेरै पछि फोन आएको थियो म खुसी नै भएकी थिएँ । तर उ अचानक चर्को स्वरमा बोल्यो , “को को नाठो सँग बोल्छेस् । म नभएपछि रण्डी हुन मन लागेको हो” । उसको कुराले म भूइमा खसेझै भएँ । आँखाबाट आसु रित्तिए । रमेशले मलाई त्यसअर्घि कहिल्यै त्यसो भनेको थिएन । उसले त मलाई तँ पनि मायाले कहिलेकाही मात्र भन्थ्यो । हामीले माया गरेर एकअर्काका भएका थियौ । मलाई कहिल्यै लागेको थिएन उसले मलाई कुनै दिन त्यस्तो भन्नेछ । त्यो दिन मैले उसको उत्तरमा केही भनिन । मलाई उसले किन त्यस्तो भन्यो भन्ने पनि थाहा भएन ।
केही दिन पछि मेरो चलिरहेको फेसबुक चल्न बन्द भयो । मेरो फेसबुक उसको र मेरो दुबैको मोबाइलमा लगइन थियो । त्यसपछि मात्र थाहा भयो उसले किन भनेको रहेछ भन्ने । त्यसपछि मैले सम्पर्क गर्ने कोशिस गरिन । कहिलेकाही के छ कस्तो छ भनेर आमालाई फोन आउथ्यो । यसअघि मेरो खातामा आउँने पैसा पनि छुट्ठिएर बसेका जेठाजुको खातामा आउँन थालिसकेको थियो । मैले केही भनिन न सासुलाई भने न जेठाजुलाई नै । मलाई लागेको थियो उ मलाई माया गर्ने मान्छे हो । बच्चा जन्मेपछि सबै सामान्य हुनेछ ।
त्यसपछि करिब दश दिनमा छोरी जन्मि । छोरी जन्मिएको दिनमा पनि मलाई छोरीको अनुहारको भन्दा रमेशको फोन कलको प्रतिक्षा थियो । सायद आमाले भन्नुभयो छोरी जन्मि भनेर तर उसले मलाई के छ भनेर पनि सोधेन । त्यस दिनपछि मैले चाहेर पनि उसलाई माया गर्न सकिन । छोरीको नरन गरेपछि म आफ्नो माइती फर्के । थाहा छैन उसले कहिल्यै आफ्नी छोरीको अनुहार देखेको छ वा छैन ।
दिनहरु बिस्तारै बिस्दै गए । आमा भएपछि सन्तान भन्दा ठूलो अरु केही नहुँदो रहेछ । मेरो जीवन छोरीको लागि बन्दै गयो । म फेरी उसको घरमा बिना उसको कुनै उपस्थििती फर्कने मोडमा थिइन । आमा बालाई भन्न सजिलो थिएन । तर आमालाई एक प्रकारको संका अवस्य थियो । यतिका महिना बस्दा उससँग कुनै सम्पर्क नभएको आमालाई सायद थाहा थियो । तर आमाले जान्न आवस्यक थियो । अरुले नबुझे पनि आमाले बुझ्नुहुन्छ भन्ने मलाई लागेको थियो । जब आमालाई भने आमाले केही भन्नुभएन तर मैले आफ्नो आशु रोक्न सकिन ।
खोइ आमाले बालाई के भन्नुभयो बाले मलाई केही सोध्नुभएन त्यसपछि । दिनहरु बित्दै गयो छोरी एक पुरा भएर दुईकी भएपछि । आमाले एकदिन “समाज खराब छ नानी, तँ हामीसँग बसी नराख । काम खोज बाहीर अनि अन्त कतै बस” । आमाले दिएको सल्लाह खराब थिएन । बिए पास गरेकी थिएँ । टिचिङ लाइसन पनि थियो बल्लबल्ल साना नानीहरुलाई पढाउँने काम पाएँ । तालघरे बाट म दमौलीमा बस्न थाले ।
बर्षहरु बित्दै गए । तर रमेशको कहिल्यै फोन खबर आएन । सासूआमाले भने कहिलेकाही गर्नुहुन्थ्यो । छोरीलाई फोनमा देखाइदेउ पनि भन्नेगर्नुहुन्थ्यो । समय सँगै बाध्यताहरु बढ्दै गए कमाउनुपर्ने । छोरीका आवस्यकताहरु पुरा गर्ने । उसको र मेरो सम्बन्ध त त्यही दिन सकिएझै भयो जुन दिन उसले मलाई रण्डी भनेको थियो । यतिका बर्षहरुमा म उसका लागि भोग्या मात्र बने ।
थाहा छैन आज उनीहरु किन आएँ । त्यो नामको मात्र सम्बन्धलाई के भनेर अन्त्य गर्ने वा के भनेर जोगाइराख्ने । यतीका बर्ष भएर पनि नभएझै भएको मेरो छोरीको बाउँलाई तेरो बाउ भनेर कसरी चिनाउँने वा कसरी नचिनाउँने ।
यतिकैमा छोरी भित्र पस्छे । मलाई थाहा छ उसले थाहा पाइसकेकी छ म पहिलेझै शान्त छैन । मामू चिया खानुहुन्छ बनाइदिउँ म उसका शब्दहरु झल्यासँ हुन्छु । मनले भन्छ म फर्कन चाहन्न तर हुँदै नभएको सम्बन्धलाई कागजमा छैन भनेर वा तँ मबाट मूक्त भैस भनेर टुङ्ग्याउँन पनि चाहन्न ।
No comments:
Post a Comment