निर्जला अधिकारी
क्याफेमा एक्लो छु । बिहानको सात बजे क्याफेमा बस्नु नौलो त होइन तर नौलोझै भएको छ । वोटरले मेनु दिएर गएको छ । मलाई कफी खानु छैन । म उसँगै कफिको लतबाट पनि पर जान चाहन्छु । मलाई पहिलेको झै बन्नु छैन । म चकलेटको फ्यान होइन तर हटचकलेट मगाएको छु ।
उसको पर्खाइमा छु । म उसलाई अन्तिम पटक गुडबाई भन्न चाहन्छु । मलाई मौन बिदाइले असाद्घै पोल्छ । उसलाई अन्तिम पटक– म अब तिमीसँग बोल्दिन भन्न चाहन्छु । हुन त बोल्न छोडेको उसले हो । तर उसले कहिल्यै तिमीसँग बोल्न चाहन्न भनेको छैन । उसले अनेकौ पटक बोल्न नचाहेर पनि बोल्न भ्याइन अवस्य भनेको हो । तर मलाई आजबाट म बोल्दिन भन्नु अवस्य छ । मलाई पहिलो र अन्तिमपटक आफ्नै लागि कठोर बन्नु छ ।
के म सोचेझै कठोर बन्न सकुँला । हुन त कयौ पटक – उसलाई मैले यो कुरा भन्न खोजेको पनि हो । र भन्न नसकेको पनि हो । तर यसपटक मलाई भन्नु छ । सायद आफ्नै लागि ।
उ त्यसरीनै आएको थियो जसरी कोही आएको थियो पहिलोपटक । उ त्यसरी नै बिदा हुँदै छ जसरी कोही अघिल्लो बिदा भएको थियो कुनै दिन । न पहिले सजिलो थियो न आज सजिलो छ । तर मलाई यसपटक अन्तिम पटक बोल्दैछु भनेर बिदा लिनु छ । मलाई नबोल्ने बाचा सजित केबल उबाट पर जानु छ । जाँदै गर्दा म चाहन्न उसले म खुसी भएर टाढा भएको भन्ने बुझोस् । उ राम्रो मान्छे हो भन्ने बुझोस् । म उसँगको सम्बन्ध जे महसुस गरेँ त्यो भन्न चाहन्छु । म पहिलेझै धन्यवाद भनेर टाढा गैदिएकोझै गर्न सक्दिन । वा मलाई गर्नु छैन ।
यो उसको लागि होइन मेरो आफ्नो खुसीको लागि हो । म भित्रभित्र टुटेर पनि केही नभएझै अब गर्न सक्दिन । मलाई यसपटक टुटेर पनि आफैँ बनेर उठ्नु छ । कोही अरु बनेर फेरी अहिलेको झै बन्नु छैन । मलाई फेरी कसैसँग अपनत्व लागि, प्रेमको लागि भिख माग्नु छैन । म आफ्नै आँखामा उठ्न चाहन्छु । सायद यो कठोर यात्रा हो । तर म कठोर बन्न चाहन्छु ।
आज मेरो बत्तिसौ जन्मदिन हो । यो जन्मदिनमा म टुक्रिएर पनि उठ्न चाहन्छु । टुक्रिएर पनि सङ्लो छु भन्न चाहन्न । उ आइपुगेको छ । उ आज पनि हतारमा छ कुनै अर्को दिन झै । उ हतारमा हुन थालेको केही वर्ष भएको छ । आउँने बित्तिकै उ भन्छ, “ म ठिला भएँ, आज अफिसमा चाँडो पुग्नु छ धेरै बेर नबसौ है ।”
मलाई लागेको थियो आउँनेबित्तिकै उसले अरु केही नभने पनि मलाई जन्मदिनको शुभकामना दिनेछ । तर त्यस्तो भएन । सदाझै उ हतारमा छ । सायद उसले बिस्यो । उसले मेरो जन्मदिन बिर्सेको यो पहिलोपटक होइन । तर किन किन मलाई लाग्यो यो अन्तिम जन्मदिन हो उसले मलाई सुभकामना दिने ।
उसलाई मैले हतारमा भेटेको होइन । भेटेको पनि कयौ बर्ष भैसकेको छ । उसलाई भेटेका सुरुवाती दिनहरुमा मलाई लागेको थियो उ “ईसान” झै छैन । किन जहिले पनि एक पछि अर्कोलाई भेट्दा पहिलाको झै होइन भन्न्ने लाग्छ र अन्तिममा हो झै लाग्छ ।
ईसानले मलाई प्रेम स्नेह गर्यो वा गरेन मलाई थाहा छैन । यति हो मैलाई प्रेम गरेझै लाग्ने भएर म उसलाई प्रेमी भन्ने गर्छु । मलाई थाहा छैन प्रेम के हो तर मलाई प्रेम गरेझै लागेको अवस्य हो ।
उ मैले यसरी माया गर्न थालेको पहिलो ब्यक्ति थियो । सुरुवाती दिनहरुमा उ मलाई माया गरेझै गथ्र्यो । सायद म मायाकी भोकी थिएँ । यसअघि मलाई माया गरेझै पनि कसैले गरेको थिएन । मलाई लाग्यो म पनि कसैको मायाको काबिल रहेछु । उसले एकपटक फोन गर्दा म उसलाई पाँच पटक फोन गर्ने गर्थे । सायद पोखिन चाहन्थेँ । सायद मैले उसका लागि म भित्रको प्रेम र स्नेह सबै रित्ताएकी थिएँ ।
सायद रित्तिनु जरुरी पनि थियो । तर बिडम्बना आज पनि त्यसरीनै रित्तिएकी छु जसरी उसका लागि रित्तिएकी थिएँ । केही सामिप्यता बाहेक उनीहरुले मलाई एक झिनो र नगन्य मात्र महशुस गराएँ । त्यसैले म टुक्रिएर पनि फेरी उठ्न चाहन्छु । यसरी टुक्रिन चाहन्छु म फेरी उठ्दा त्यही पुरानो मानिस नबनु ।
“तिमी के लिन्छौ, उसले मेन्यूमा हेरेर भन्छ”
“हटचकलेट मगाइ सकेकी छु, तिमी आफ्ना लागी मगाउ” उ सदाझै क्यापचिनो मगाउँछ
“केही भन्नु छ, किन बोलायौ”
“उसले केही भन्नु छ भनेपछि म झन केही भन्न सक्दिन” सायद सोचेझै कसैको लगाडी ब्यक्त हुनु ग्राहो कुरा हो । म चाहन्छु म जे भन्न भेटेको हो त्यो भन्न तर भित्रभित्र मुटु यसरी धड्किन्छ म चाहेर पनि भन्न सक्दिन ।
“आज मेरो जन्मदिन हो । यही भन्नु छ ।”
“ओ सिट, म कसरी तिम्रो जन्मदिन बिर्सन सक्छु । तिमीलाई धेरैधेरै सुभकामना छ” उ भन्छ । “जन्म दिनको अवसरमा केही चाहन्छेउ मबाट ?” नाई, म केही चाहन्न । म तिमीलाई भेट्न चाहन्थेँ बस यती हो । उ हाँसेझै गर्छ । आजकल किनकिन लाग्छ हामीबिच अनौठो औपचारीकता मात्र बाकी छ । उ सधैँ समय छैन भन्न थालेपछि म पनि उसँग खुलेर बोल्न सक्दिन । यतिकैमा नौ बज्छ । उ हतार छ भन्दै क्याफेबाट बाहिर निस्कन्छ ।
गह्रो मुटु लिएर म पनि क्याफेबाट बाहिर निस्कन्छु । म जे भनेर उबाट टाढा हुन चाहन्थेँ त्यही नभनीकन क्याफेबाट बाहिर निस्कँदैछु । किन किन उससँग भेटेपछि उसलाई जे भन्न चाहन्छु म त्यो भन्न सक्दिन । मैले इसानसँग पनि त्यहि गरेकी थिएँ । आज पनि उ कहिलेकाही मसँग बोल्न खोज्छ । तर म नबोल भन्न सक्दिन ।
म छोरा मान्छेहरुलाई आज पनि चिन्न सक्दिन । सायद मैले कहिल्यै बुझिन । म पाँचको हुँदा मेरी आमा मननपरेकाले मेरा पिता कोही अरुसँग बस्न थालेका थिए । म आज बत्तिसको भए, यतिका बर्षमा मैले मेरा पितासँग करिब दशपटक पनि बोलेको छैन । सानो हुँदा अरुले भन्थे यो पनि आमाजस्तै निस्की ठसक्क परेकी नराम्री । मलाई ति वाणीहरुले चसक्क घोच्थ्यो । तर भित्रभित्र सोच्थेँ जसले मलाई माया गर्नेछ उ मेरो पिताझै हुने छैन । उसलाई म संसारकै राम्री लाग्नेछ ।
मलाई सुरुसुरुमा इसान र द्रपित दुबैसँग आसा थियो उनीहरुले मलाई संसारकै सुन्दर ठान्नेछन् । तर समयसँगै जसरी स्कुलमा मलाई कसैले बेवास्था गर्थ्यो वा आफन्तको भिडमा म भएर पनि नभएझै महसुस गराउथ्यो । समयसँगै दुवैवाट मैले त्यस्तै अनुभूती पाएँ । कयौ पटक लाग्थ्यो मेरा कारणले मात्र सम्बन्ध चलिरहेछ । अब मलाई सम्बन्धहरुको घिसिपिटिमा हिडेझै गर्नु छैन ।...........
यीनै कुराहरु सोच्दासोच्दै म घर फर्किएकी छु । मुटु गह्रौ भएको छ । सायद पोखिन चाहन्छु तर कसरी थाहा छैन । उसलाई मैले जे भन्न चाहन्थेँ त्यही नभनी फर्किएकी छु । तर मलाई भन्नु छ कसरी कुन रुपमा मलाई थाहा छैन .........................................................................................................................
No comments:
Post a Comment