Sunday, September 3, 2023

मृत्युको ब्याख्या : एक वैचारिक कोलाहल

 

  कविताझै, सिनेमाझै वा भनौ क्यानभाषमा कोरीएका रेखा र रंगहरुझै अन्त्यको कल्पना कसैले गर्दैन । अन्त्यको कल्पना आफैँमा एक दुरुप कल्पना हो । कुरुपता र सुन्दरता भित्र यसको अस्तित्व अट्दैन । यो आलेख ति सबै जानेहरुको नाउँमा जसले जान्छु है नभनी गए वा नजाउँ भन्दाभन्दै गए ।

प्रिय जानेहरु...

जीवनको रंगमञ्चबाट बिदा हुनु आफैँमा सुन्दर हो या कुरुप हो म जान्दिन । गुमाउँनुको पिडा सधैँ रहनेछ । चाहेर नचाहेर गुमाउँनु एक निरन्तर चलिरहने प्रक्रिया रहेछ आजकल बुझ्दैछु । जसरी तिमीहरु गयौ त्यसरी हामी सबै जानेँछौ । यो बाच्नुको यर्थाथ हो । यो यर्थाथको अन्तिम  उडान हो । जीवनको एक अन्तिम सत्य हो । बुझ्छु तर बुझ्दिन । सायद मृत्युलाई म कहिल्यै बुझ्न सक्दिन ।

त्यो फागुनको महिना थियो, मलाई अहिले पनि सम्झना छ  तिमी म जस्तै देखिन्थ्यौ । मलाई यदाकदा कसैले निर्जलाको सट्टा निर्मला भन्दा तिम्रो याद आउँछ । सपना देख्ने उमेरमा तिमी आफैँ एक कुरुप सपना बन्यौ । त्यसपछि तिमी बस्ने बेन्चमा अरु कोही बस्न थाल्यो । तिमी जानेहरुको लिस्टमा मिसियौ । हामी बस्नेहरुको स्मृतिमा तिमी धुमिल बन्दै गयौ । त्यसपछि मैले निर्मला नाम गरेको त कयौ भेटे र पनि तिमी जस्तै निर्मला थापा भन्ने कोही भेट्न सकिन । यदाकदा स्कुलका साथीहरुलाई सम्भिmदा तिमीलाई पनि सम्झिन्छु । तर तिमी जानुको यर्थाथलाई म सुन्दर सत्य अझै मान्न सक्दिन । मलाई अझै लाग्छ तिमी नगैदिएको भए हुन्थ्यो । तिम्रो घरवरपर पुग्दा जहिले मन चसक्क हुन्छ । अब त सम्झनाको नाममा धुमिलता मात्र बाकी छ र पनि  मृत्यूको कुनै अमूर्त चित्र बनाउँनुपरेमा पहिलो रेखा तिमी हुनेछ्यौ ।

.............................................................................................................................

मेरो मानसपटलको पहिलो हिरो तपाइ नै हो बा । चैतको त्यो महिना एक उराठलाग्दो समय थियो । चैतको त्यो हुरीले तपाईलाई पनि उडायो । अहिले पनि जुहारीकोटमा सजिएको अग्दो कद देख्दा तपाइकै याद आउँछ । तपाई गएपछि धेरै कुरा भए तर तपाई बिनाका भए । कहिलेकाही लाग्छ त्यो ठूलो परिवारको त्यो अग्लो मान्छे कता हरायो । तपाई जानुभयो, बिना जानकारी जानुभयो । सायद मृत्यु यस्तै नै हो एक मन भन्छ । तर अर्को मनले सधै भन्छ बाको बर्हिगमन एक आकस्मिक बर्हिगमन हो म यो स्विकार्दिन । मस्त फूल फूलेका तिहारहरु, पाकेको पहेलपुर सुन्तला र कसैले बिनाजानकारी हातमा थमाइदिएको कडक दुधचिया यी सबैसबैको केही हिस्साहरुले तपाइको आगमनको महसुस हुन्छ..... आज पजि । 

..................................................................................................................

कात्तिकको त्यो महिना शरद ऋतुले कहिकतै धोका दिएझै लाग्छ । परिवारको त्यो सानो मानिसको बर्हिगमन सहज थिएन । प्रत्येक तिहार मेरी आमाको लागि सानो भाइबिना स्विकार्न सजिलो छैन । त्यो भन्दा बढी माइजुको मौनताले पिरोल्छ । नभएकाहरुकै नाममा जीवन बाचिदिँन समाजले सोचेझै सजिलो पक्कै छैन र पनि अन्त्यको कुरुपता यहि रहेछ । सधैलाग्छ कसैको अन्त्यले ऊ सँगैको अर्को मान्छेको आफ्नो भागको खुसीको अन्त्य कहिल्यै नहोस् । 

.......................................................................................................................

किनकिन सधै लाग्छ कोरोनाको कथा भनेको मृत्युको कथा हो । रोगले बिनाकारण मागेको अन्त्यलाई स्विकार्न त्यति सहज रहेनछ । सबैभन्दा कठिन बिदाई तपाईकै थियो दिदी । थाहा छैन जाँदैगर्दा के बुझेर जानुभयो । थाहा छैन बाच्दैगर्दा के समेटेर बाच्नुभयो । तपाई गएपछि मलाई किनकिन छोरीहरुले सहनुपर्छ भनेको सुन्न सक्दिन । लाग्छ सबैले खुलेर बाचुँन । नियतिको नाममा बाधिएर नबाचुन । मृत्युको कुनै क्यानभाष रोज्नुपरेमा किनकिन तपाईको लागि म रातो रंग रोज्नेछु ताकी सबैले बुझुन अलिअलि बिद्रोह र क्रान्ति त आफ्नै लागि पनि चाहिन्छ ।

.....................................................................................................................

जानेहरुका यी स–साना कथाहरु हुन् र पनि जानुको बृह्त कथानकलाई हामी कसैले तोड्न सक्दैनौ । मृत्युको बारेमा बोल्नु बर्हिगमनको महाकथालाई बुझ्न खोज्नु वा भनौ कस्तो के भनेर नहिडेको बोटोलाई आकलन गर्नु मात्र हो । बिदाईलाई सहजतामा बदल्न सजिलो छैन । जीवनबाट असमयमै छुट्नेहरु जीवनका डोबहरु हुन् । डोबलाई खोतल्न मात्र सकिँदो रहेछ पूर्न सकिँदो रहेनछ । छुटेर जानेहरुले आफ्नै कथा बोकेर जाँदा रहेछन् जो उनीहरुसँगै बग्दो रहेछ । मृत्युको बिम्बलाई सुन्दर बनाउँन त सकिएला तर छुटेका कथाहरु उही रुपमा लेख्न कहिल्यै नसकिँदो रहेछ ।

जानेहरुको रिक्ततालाई पोख्न त सकिएला तर डोबहरु सधै डोब नै हुँदा रहेछन् । एकको आगमनले अर्कोको पूर्ति कहिल्यै नगर्दो रहेछ ।  जीवन एक अमिल्दो गणित रहेछ । जानेहरुको कमि आउँनेहरुले पुरा गर्दा रहेनछन् । 

हुन त आयूले बाँचेको पूर्णतालाई कहिल्यै सम्बोधन गर्दैन । तथापि एक्कासी जानेहरुको बिदाई अझ गर्हौ बन्दो रहेछ । हुन त जीवन एक यात्रा नै हो, यात्राको अन्त्य सबैको आ–आफ्नै हुन्छ । हामी सब एक अर्काका यात्राका सारथी मात्र हौँ । मृत्युझै जीवन एकल यात्रा होइन  । चाहेर नचाहेर हामी सब मृत्यूको यात्रामा निस्केका चौपाया झै रहेछौ । यो एकल अस्तित्वको एक सामूहिक यात्रा रहेछ । र पनि मृत्यूको एकाङ्कीले धेरै कुरा खड्किँदो रहेछ । बाचुन्जेल सामान्य लाग्ने कसैको जीवन यात्रा मृत्यु पश्चात असामान्य र बिशेष लाग्दो रहेछ । सायद यो मानव प्रवृति हो । हामी कथाका अबशेषभित्र बाच्न खोज्दा रहेछौ । त्यसैले जीवनको रुपान्तरण कथामा भैदिँदा मात्र हाम्लाई कसैको अस्तित्वको अनुभुती हँुदो रहेछ । जीवन  एक अस्त्विबिहिन भूलभूलैया मात्र रहेछ । सत्य त कथाझै लाग्ने मृत्यु पो रहेछ ।

साँच्चैभन्दा मृत्यु कुनै कायापलट होइन । यो त निरन्तर चल्ने नियतिको एउटा पाटो मात्र हो । तर मानिसको अस्त्तित्वमा यसको भूमिका गह्रौ बन्दो रहेछ । यसले मानव जीवनलाई कथाको रुपमा रुपान्तरण गर्दौ रहेछ । अन्त्यमा हामी सबै कथा बन्दा रहेछौ । हाम्रा पितापूर्खा कथाको रुपमा जीवीत छन् अहिले । कुनै दिन हाम्रो नियति पनि त्यहि हुनेछ । हामी कथा त बन्नेछौ तर कस्तो कथा हाम्रो हातमा छैन । हरेक चिनेजानेकाले आफ्नै ढङ्गले हाम्रो कथालाई मोड्नेछ  र हामी एक आख्यानझै नियतिको कथामा बद्लनेछौ ।

मृत्युको आख्यान कस्तो हुन्छ मलाई थाहा छैन । तर जीवनको कथानक मृत्यु पश्चात मात्र जिवित बन्दो रहेछ । हामी सत्यको नाममा कोही अरुको कथालाई आफ्नै रंगले सदा रङ्ग्याउँदा रहेछौ । मैले आज त्यहि गरेँ जुन हामी सबैले गर्दा रहेछौ । बाँचुन्जेल अति आफ्ना र अति सामान्य लाग्ने यीनको आकस्मीक बिदाइले मलाई उनीहरु प्रतिको बिशेषताबारे सोच्न बाध्य बनाएको छ । बास्तबमा हामी सामान्य लाग्ने असामान्य जीवहरु हौँ । तर मृत्युको नदिमा बगेपछि हामी सबै नदिकिनाराका डोबझै बन्ने रहेछौ । मानिसको मृत्यु केबल एक क्षणिक डोब रहेछ । समयसँगै हामी सबै धुमिल बन्नेछौ र मेट्टिनेछौँ । यो नै सत्यको अन्तिम बिन्दु पो रहेछ । 

हामी सबैको जीवनबाट जानेहरु हाम्रा मानसपटलका पात्रहरु हुन् । कथाको मिथकिय संरचनामा अडिएर हामी उनीहर बारे बोल्छौ । हामी उनीहरु बिना रिक्तताको महसुस गछौँ । हामी उनीहरुलाई फेरी भेट्न, देख्न चाहन्छौ । उनीहरुको कथालाई मिथिकल ट्याजिडि झै बियोगको कथा मान्छौ । बास्तबमा हामी बियोगका पात्रहरु हौ । हामीले सोचेको र निर्माण गरेको जीवनको पल्ट एक ट्याजिक पल्ट हो । र हामी बाट बिदा भएका र हामी जो बिदा हुनेवाला छौ सबै कसैको ट्याजिक पल्टका हिरोहरु हौ । 

प्रिय जानेहरु...... बास्तबमा मैले पनि तिमीहरुको कथालाई एक ट्याजिडिको रुपमा अन्त्य गरेकी छु । मलाई थाहा छैन मृत्यु आफैँमा वियोग हो वा होइन । वा मृत्यु एक आफैँमा एक परजैविक यात्रा हो । मूत्युको यो अपब्याख्यालाई ......एक  अर्धज्ञानी वा भनौ अज्ञानीको वैचारिक कोलाहलको रुपमा बुभ्दा हुन्छ । यो मृत्युको कथा होइन यो बाचेकाले बुझेको मृत्युको एक निर्तान्त ब्यक्तिगत आकलन हो । 

No comments:

Post a Comment

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...