Monday, September 18, 2023

मसिना कुरा –भाग ७

 

दिन घमाइलो छ । आकाश खुल्ला छ । मानिसहरुको चहलपहल केही बाक्लो छ । पुजाकोठाबाट धुपको बास्नाले सडक र गल्लिहरु महकिँदै छन् । आजको बिहानी सोचेझै शान्त छैन । एकखाले चहलपहल हिजो देखीनै कायम छ । झ्यालमा बसेर बाहिर निहाल्दै छु । महिलाहरुमा बिसेष उत्साह छ, बिहानै नुहाएको कपाल फिजाउँदै दुवो र फूल टिप्दैमा उनीहरु मस्त छन् ।

यो तीजको बिहानी हो, आज टोल, छिमेक र सडक शान्त बन्न चाहेर पनि बन्न सक्दैन । आजबाट असोज लागेको छ । मौसममा चिसोपन बढ्न थालेको छ । बिस्तारै सयपत्रि र मखमली फूल्न थाल्नेछन् । हावामा सयपत्रिको महक मिस्निेछ । मलाई कहिलेकाही यो सब बारे सोचिबस्दा कुनै चक्रझै लाग्छ । हरेक बर्ष यसरी नै चाडबाडहरु भित्रने गर्छन् र यसरी नै हामीलाई लाग्छ यो कुनै नौलो चाड होइन र पनि नौलो हो ।

कहिलेकाही लाग्छ यी चाडबाडहरुलाई म अबलोकन मात्र गर्छु । म यसमा प्रत्यक्ष सहभागीता जनाउँदिन । हिजो जस्तो थियो मेरो लागि आज पनि उही हो । यति हो बाहिर हेर्दा अल्लि फरकझै लाग्छ । भर्खरै चियाको गिलास रित्ताएको छु । औलाहरु किबोडमा छन्, सिध्याउनुपर्ने काम चाङ लागेको छ । र पनि मलाई यसरी अक्षरहरुमा पोखिन रमाइलो लाग्छ ।  गर्ने भनेको रमाइलो लाग्ने काम नै हो नि, होइन र ?

आमासँग टाढा बस्न थालेको बर्षौ भयो र पनि चाडबाडको बेला आमालाई म नभएको अल्लि कम रमाइलो अवस्य लाग्छ । सायद आमाहरु यस्तै हुन्छन् । मलाई कहिलेकाही लाग्छ अरुलाई गुमाउनु भनेको आधा हो भने आमा गुमाउनु भनेको सिङ्गो हो । उहाँलाई आज पनि लाग्छ अरुका छोरीझै म पनि रातै रंगिएर नाचु, दिनभर बर्त बसुँ । म चाहेर पनि उहाँले सोचझै बन्न सक्दिन । उहाँलाई लाग्छ म  निरस छु । हुन त मलाई पनि कहिलेकाही त्यस्तै लाग्छ । 

सायद हामीले चाहेझै हामी पछिको पुस्ता कहिल्यै बन्दैन । अनेकौ बन्धनहरुलाई नियती ठानेर स्विकारेका मेरा आमा पुस्ताका सबैलाई लाग्छ छोरीहरुले धेरै कुरा नबुझे पनि स्विकार्नुपर्छ । तर समयसँगै स्विकारोक्तिका परिभाषाहरु बदलिँदा रहेछन् । मेरी आमाले मैले बुझ्ने जीवनका परिधिहरु अब बदलिएका छन् । म उहाँको खुसीको लागि उहाँले सोचेझै सबै गर्न सक्दिन । सायद यो पुस्तान्तरणको श्रृङ्खला यसरी नै चलिरहनेछ ।

मलाई  केटाकेटीदेखी नै नानिहरुलाई तिमी यस्तै खाले बन भनेर निर्कोल गर्ने बानी किनकिन उचित लाग्दैन । तीज आउन एक हप्तादेखी नै स्कुने नानीहरु रंगिएर साडी र चोलोमा स्कुल आएको पनि मन पर्दैन । मलाई लाग्छ केटाकेटीलाई आफैले निर्कोल गर्ने अवस्थामा पुगेपछि मात्र यी सब चिजको लागि खुल्ला गर्नुपर्छ । 

कहिलेकाही लाग्छ समाज बदलिसक्यो कहिलेकाही लाग्छ समाज उस्तै छ । चाडबाड स्वतन्त्रता बनुन् बन्धनहरु नबनुन् । कहिलेकाही संस्कृति भन्दा बजार डरलाग्दो लाग्छ । सायद आज संस्कृतिभन्दा पनि बजारले हामीलाई रङ्ग्याउन चाहन्छ । हामीलाई लाग्छ बजारझै बन्नु आफू हुनु हो । बेलुका सञ्जालमा फोटोमा उ राम्री की म राम्री भन्ने पोप्टहरु झुल्किन थाल्छन् । अनि हामीलाई लाग्छ यो सब सामान्य हो । तर के यो सब सामान्य हो ? बर्षौ भयो आफैलाई सोधिराखेको आज पनि सोधिरहेछु ।

No comments:

Post a Comment

अकथा

दिन ओसिलो छ । सडकमा मानिसहरु दौडिँदैछन् । हिमाललाई बादलले ठाकेको छ । भर्खरै एक कप चिया भ्याएकी छु । साथमा बुवाले दिएको पर्पल डायरी छ । डाय...