“जिन्दगीले दियो यति छोटो मिलन, मैले चाहेजति माया गर्न सकिन, मलाई माफ गर” दुर्गा परियारको यो गीत मोवाइलमा बज्दै छ । दिन घमाइलो छ अनि रमाइलो पनि । आकाश खुल्ला छ । भर्खरै आफ्नै हातको चिया खाइभ्याएकी छु । कहि जानु छैन । कहिलेकाही आफैसँग मात्र बिताएका यी दिनहरु अति नै प्रिय लाग्छ ।
शनिवार भएकाले होला मान्छेहरुको चहलपहल कम छ । सबारीसाधनहरु सडकमा कम छन् । बिहानीको सान्नाटालाई कसैले बिथोलेको छैन । मार्खेजका दुई पुस्तकहरु र अरुण सरको पुस्तक रिडिङ टेबलमा छन् । भर्खरै स्मृति रबिन्दरको “द उमन हु क्लाइम्ड द ट्रि” पढिभ्याएकी छु । लामा पुस्तकहरु पढ्न मलाई अत्यास लाग्छ । करिब ४५० पेजको यो पुस्तक पढ्दा त्यस्तै अनुभव पाएको छु ।
आज शनिवार भएकाले होला मन शान्त छ । कहि भाग्नुपर्ने, सिद्वाउनुपर्ने कामका डेडलाइनहरु कम छन् । हुन त दैनिकलाई पेल्ने अत्यासलाग्दा काम गर्न छाडेको तीन बर्ष भै सकेछ । मन नपर्ने काम गर्दिन भन्ने अवस्थामा पुग्नु पनि लग्जरी नै रहेछ । दुर्गा परियारको यो गीतले अनाठो महशुस गराउँदैछ । हाम्रा गीतहरुमा प्रेम र मिलनका कथाहरु असाद्वै भेटिन्छन् ।
प्रेम , मिलन, बिछोड यी यस्ता अमूर्त शब्दहरुलाई ब्याख्या गर्न कदापी सजिलो छैन । जीवनझै यी सब कुराहरु छ्यभङ्गुर छन् । केलाई प्रेम भन्ने, केलाई प्रेम नभन्ने मलाई प्रेम भन्ने शब्द असाद्वै मिसलिडिङ लाग्छ । प्रेम गरेझै महसुस गर्नु छुट्टै कुरा तर साँञ्चै प्रेम केहो भन्ने प्रश्न अर्कोतिर आउँछ । हुन त यी कुराहरु गर्नु बेकार छ । सायद संसार यीनै प्रेमका कथाहरु बेच्न आतुर छ । म मेरा कथाहरुमा मेरा पात्रहरुलाई , “म तँलाई प्रेम गर्छु भन्ने बनाउँन सक्दिन” । मलाई लाग्छ यो सब बेतुकको कुरा हो । सायद यो मेरो कमजोरी हो ।
मिलन र बिछोड सायद यी सब सुनिआएका आफ्नाझै लाग्ने अबधारणाहरु मात्र हुन् । गहिरेर हेर्दा यीनिहरुको अस्तित्व छ पनि छैन पनि । तथापी हामी आफ्ना अगावहरुलाई प्रेमकै अर्को स्वरुप ठान्छौ । सायद मिलन र बिछोड जीवनका नियतीहरु मात्र हुन् । छोड्नु र एक अर्कावाट टाढा हुनुको नियतीलाई हामी कसैले टार्न सक्दैनौ ।
यी गीतका कुरा भए जीवनमा पनि हामी सात जुनीका कुरा गर्दा रहेछौ । आजलाई नदेखी भोलीको कल्पना गर्नु सायद हाम्रो मिथकिय कल्पना हो । गहिरेर हेर्दा मानिस मानिस बिचको सहयात्रा केवल केही समयको लागि हो । आफ्नाहरुलाई बिस्तारै गुमाउँदै जानुको नियतीलाई हामी टारेर पनि टार्न सक्दैनौ । त्यसैले अजम्बरी कल्पना गर्नु बेअर्थ लाग्छ र बेतुकको पनि ।
सायद मिलन बिडोडका कथाहरु हामी सधैँ गाइरहेनेछौ । बिडोडलाई सरापिरहनेछौ । र प्रेमका शब्दहरुलाई अगालिरहनेछौ । हुनसक्छ यी सब लगावका कथाहरु हुन् । हामी चाहेर पनि मूक्त हुन ग्राहो छ । यी माया मोहका जन्जालहरुमै हामी रुमलिरहनेछौ ।
No comments:
Post a Comment