दिन सफा छ । घाम उदाएको छ । झ्यालबाट पर हेर्दै छु फूलका बोटहरु प्रफूलित छन् । बिहानीको घाममा अनौठो उत्साह हुन्छ । त्यो उत्साहले मलाई पनि छोएको छ । सञ्चो नभए पनि भएझै महसुस भएको छ । काममा गएको छैन । कहिलेकाही काम बिनाका दिनहरु अति प्रिय लाग्छ । टेबलमा केही किताबहरु छन् भर्खरै मेरो कोठामा भित्रिएका, सायद अबको एक महिना यीनले मेरो साथ दिनेछन् । पुस्तकहरु पनि मजस्तै खिरिला छन् । मलाई स–साना स्वरुपका पुस्तकहरुले बढी आर्कसित गर्छन् ।
शरद ऋतुका यी बिहानीहरुले एक खाले सुबास बोकेका हुन्छन् । कहिलेकाही स्मृतिमा पनि पुर्याउँछन् । अबका बिहानीहरुले दशैको सुगन्ध बोकेका हुन्छन् । दशै भन्ने बित्तिकै दशै वरिपरिका हिमालहरुको सम्झना आउँछ । जब घामका किरणहरु हिमालमा पर्छन् त्यो सुनौलो रंगका हिमालहरु दशैका हिमालहरु हुन् । केटाकेटी बेला लाग्थ्यो सुनौलो हिमाल देखीनु दशै आउँनु हो । काठमाडौका बिहानीहरुमा त्यी हिमालहरु रहदैनन् तथापी मौसमले दशैको सुगन्ध अवस्य बोकेर आउँछ ।
अबको एक महिना अझ त्यही पुरानो दैनिकिलाई अघि बढाउनु छ । कहिलेकाही कामको निरन्तरता अत्यासलाग्दो लाग्छ । आफैलाई किन यस्तो लाग्छ भनेर प्रश्न पनि गर्छु यदाकदा तथापी अनुत्तरीत पाउँछु । मलाई निरन्तरता मन नपर्दो रहेछ आजकाल बुझ्दैछु । मलाई स्थिर मान्छेहरु देखेर असाध्दै लोभ लाग्छ । कहिलेकाही लाग्छ रुखहरुझै स्थिर हुनुपो जीउँनु हो । बिना हलचल जीउनुको नियतीलाई स्विकार्नु सायद जीवनको मध्यमार्गमा यात्रा गर्नु हो । तर आफूले आफैलाई हेर्दा बतासझै भेट्छु । सायद बहकिन्छु र पो लेख्छु । यी बिनाअर्थका लेखाइहरु पनि त्यसैका स्वरुपहरु हुन् ।
करिब दुई बर्ष भयो बनारसका गल्लिहरु लोभ्याउँन थालेको । थाहा छैन किन तर छिट्टैनै जान चाहन्छु । मलाई कसैले याद नगर्ने गल्लिहरुमा यात्रा गर्नु छ । चिनेजानकोहरुको भिडमा म आफूलाई आफैजस्तो देखाउँन सक्दिन । आज पनि कोही नौलो मान्छेहरुलाई भेट्न भन्दा लामा लामा इमेलहरु लेख्न सजिलो लाग्छ । किन किन लाग्छ लेख्दा म आफूले आफैलाई छल्न सक्दिन । आफै भएर यात्रा गर्न चाहन्छु जहाँँ मेरो भाषा कसैले नबुझोस् । म को हुँ कसैले नचिनोस् र्। कहिलेकाही कमिलाझै जीउँन मन लाग्छ । सायद शुस्म हुनु सबैभन्दा सुन्दर जीउँनु हो मलाई भब्यतासँग कुनै लगाव छैन ।
मानिसहरुलाई लाग्दो रहेछ एक्लै सहर बजार बिना उद्घेश्य डुल्नेहरु निरासताका बिम्बहरु हुन् । हुन पनि सक्छ तर मलाई लाग्छ, ति आफैलाई बुझ्न हिडेका स–साना बुद्घहरु हुन् । यस्तै यस्तै सोचिरहँदा पल्टाउँने पुस्तक भनेको कि सिस्नेरोजको “द हाउस अन म्याङ्गो स्ट्टि” हो, कि अभि सरको “फ्लानरको डायरी” । मलाई यी दुवै पुस्तकहरु सस्वर पढ्न असाध्दै मनपर्छ सायद अभि सरको भाषामा भन्दा यी शहरमा बिना उद्घेश्य डुली हिड्नेहरु फ्लानर हुन् । चाल्स बदलेएरले अठारौ सताब्दीमा प्रयोग गरेको यो बिम्बमा कहिलेकाही आफैलाई बोकिहिड्छु । कहिलेकाही आफ्नै यात्राको भूगोल नापि हेर्छु । सायद यो बेकामेहरुमको काम हो । हुनसक्छ म पनि त्यस्तै बेकामे हु ।
मलाई कहि पुग्नुछैन भनेर म बुद्घझै बन्न सक्दिन तथापी आफ्ना यात्राहरुले यदाकदा पोल्छ । सायद आमा लामा यात्रा छिटो छिटो गर्नेहरु सायद जीवनका म्याराथुन धावकहरु हुन् । यदाकदा महसुस हुन्छ म धावक हैन रहेछु म त कछुवाझै रहेछु । मैले गरेको यात्रा आफू भित्रको यात्रा मात्र रहेछ । कहिलेकाही लाग्छ कुनै उचाइमा पुग्नु भनेको आफैलाई भेट्नु हो । सायद हामी सबै आफैलाई भेट्न चाहन्छौ ।
आजको बिहानी यसै सिद्घिएको छ । म स–साना कुरा आफैँसँग गरीबस्न असाद्वै रमाउँछु । सायद यो एक्लो सम्वाद हो । कति ठूलाठूला कुरा कती गरी बस्नु भन्ने पनि लाग्छ । हामीसँग यस्तौ कुरा गरिबस्ने समय पनि त छैन । कहिलेकाही आफूसँग यस्तो कुरा गरीबस्ने समय भएकोमा भाग्यमानी ठान्छु । किताब किन्न सक्ने लागत भएकोमा, किताब पढ्ने समय भएकोमा, चाहिनेनचाहिने कुरा लेखिबस्ने समय भएकोमा म आफूलाई सबैभन्दा भाग्यमानी ठान्छु । सायद यो लग्जरी हो । यदाकदा लाग्छ मलाई यो लग्जरीको भरपुग प्रयोग गर्नुछ ।
No comments:
Post a Comment