पानी परेर आकाश खुल्ला भएपछिको बिहानी कविता लेख्नुअघिको कागजझै लाग्छ । मौसम सफा छ । मानिसहरुको चहलपहल उही गतिमा छ । भर्खरै घाम उदाएको छ । घामका किरणहरुले हल्का चिसो मौसममा हल्का न्यानोपन दिएका छन् । समग्रमा बिहानी रमाइलो छ । पर क्षितिजमा बादलका केही टुक्राहरु अझै केही छन् । मौसममा सरद र बर्षा ऋतु दुबैको प्रभाव छ ।
गर्नुपर्ने काम जम्मा भएर बसेका छन् । तथापी यी किबोडका किहरुलाई मैले नकार्न सकिरहेको छैन । चाडबाडहरु भित्रिएका छन् । राता सारीहरुमा हिड्नेहरुको भिड सडकमा बाक्लो छ । तिज आउनुअघिको अघिल्लो साता मलाई काठमाडौँका गल्लिहरु अचम्मका लाग्छन् । एक वर्गको लागि यो भब्यता र सम्पन्ताको प्रदशन हो, अर्कोको लागि देखासिकि त्यो भन्दा तल्लो बर्गको लागि केबल एक रमिता । यो समय मलाई सहरमा केही रमिता चलिरहेझै लाग्छ । म यसलाई स्वतन्त्रता मात्र भनेर आफूलाई सम्झाउँन सक्दिन । दायित्व बिनाका स्वतन्त्रताहरुले मलाई कहिल्यै आकर्सित गरेन । म यसलाई तिम्रो जीवन तिम्रो रोजाइ मात्र भनेर छोडिदिन सक्दिन ।
हुन त यो सहरमा सधै रमिता नै चलिरहेझै लाग्छ । साउँनमा पहेलो र हरियोको रमिता, भदौमा रातोको रमिता अनि त्यसपछि अर्काखाले रमिता । सायद हामीलाई यस्तै यस्तै गरीराख्न मनपर्छ । शक्ति र सत्तामा रहनेहरको अर्को खाले रमिता । गाह्रो त्यो वर्गलाई छ जसको छोरो सात कक्षा पढ्दापढ्दै गाडिको सहचालक बन्छ, छोरी आठ पढ्दापढ्दै गर्भवती बन्छे, बाआमा आफ्नो गाउँ फर्केर नागरीकता बनाउने हैसियतका छैनन्, त्यही कारण छोराछोरीसँग जन्मदर्ता छैन । उनीहरुको जीवनबारे सोचिबस्न कसैलाई फूर्सद पनि त छैन । सबैलाई लाग्छ कसैको दुखबारे सोचिबस्नु बेकार हो । यस्तै यस्तै चलिराछ, जताततै रमिता नै त छ ।
यी रमिताहरुको भिडमा आफैँलाई खोजिबस्छु कहिलेकाही, आफ्नो जीवन पनि एक रमिता नै पाउछु । हुन त भिड केवल एक कोलाहल हो । तर धेरैलाई लाग्छ भिडझै हुनु बास्तबमा जीउँनु हो । तर बिना मतलबको यो देखासिकिको भिडले हामीलाई कहाँ लग्नेछ । आफूले आफैँलाई खोज्दा कहाँ भेट्नेछनै । यो बिनाअर्थका देखासिकिका भिडलाई देखेर कहिलेकाही हाँसो पनि उठ्छ ।
तिजलाई गालि गर्नेहरु अब तिजलाई स्वतन्त्रता र मूक्तिको प्रतिक ठानेर राता साडीहरुमा नाच्दैछन् । थाहा छैन यो के हो, के होइन । तर भिड भनेको आफ्नो विचार बोकेर हिड्ने समूह होइन रहेछ । भिडले त केबल जे देख्छ त्यही नक्कल गर्दो रहेछ । र त्यो नक्कललाई नै आफ्नो बिचार ठान्दो रहेछ ।
राता साडिमा नाच्नेहरुको भिडमा ननाच्नेहरु बहिष्कृत छन् । ननाच्नेको भिडमा नाच्नेहरु । दुबैलाई आफ्ना अडानहरु सबैभन्दा बुद्विमतापूर्ण लाग्छ । सायद संसार यसरी नै चल्छ । र यसरी नै चलिरहन्छ । यो बारे सोचिबस्नु सायद दुखी हुनु हो ।
आफ्नै जीवनका रमिताहरु छोडेर अरुबारे सोजिबस्नु मूर्खता हो । कहिलेकाही आफ्नो मूर्खता देखेर आफैलाई हाँसो उठ्छ ।
No comments:
Post a Comment