र्मिमिरे बिहानीमा उठेको छु साथमा कुकुरहरुको एकतमासको भुकाइ छ । बाटोमा मर्निङ वाक गर्ने एक लर्को मानिसहरु लोहोरदोहोर गर्दैछन् । सडकमा भर्खरै परेका पानीका डोबहरु छन् । सबले एकतमासको दिनको सुरुवात गर्दैछन् । सायद बिहानीहरु सबैका यस्तै हुन्छन् । तर मलाई घाम झुल्किनु अघिको शितल बिहानी असाध्दै मनपर्छ । बिहानीमा अनौठो मोहकता हुन्छ, दिन अघि बढ्दै गएपछि बिस्तारै त्यो कम हुँदै जान्छ ।
मलाई बिहानी बाल्यकालझै लाग्छ । शान्त, चन्चल तर सुमधुर । घाम उदाएपछि, दिन ठल्केपछि उठ्नेहरु देखेर कहिलेकाही अचम्म पनि लाग्छ । उनीहरुले सिँगो बिहानीलाई मिस गरेझै लाग्छ ।
किबोड अगाडी बसेकी छु । चराका एक बतासहरु आफ्नै लयमा उड्दैछन् । मलाई चराझै स्वतन्त्र कोही लाग्दैन । उनीहरु देश देशावरको यात्रा बिना कुनै परिचय गरिदिन्छन् । चरालेझै संसारको बिबिधता कसले देखेको होला, कसले सम्झेको होला । मलाई चराहरु यायावरझै लाग्छन् । उनीहरुको यात्रा बिना सिमा र बन्धनको यात्रा हो । हामी त बन्धनमा बाधिएका छौ, हामी गर्ने उडान कल्पनाको मात्र हो ।
चराझै स्वतन्त्र भएको भए, बिना पासपोड र बिना भिसा यात्रा गर्न सक्ने भए म पनि म पनि कुनै पर भूगोलमा कोही मानिसलाई भेटी आउँथे । तर सम्भव छैन । हामीहरु सिमित छौ । जति पर पुगेपनि मानिस हुनुको नियती सिसितताको नियती हो । चाहेर पनि हामी आफ्ना सिमितताहरुलाई बिरलै नाघ्छौ ।
हामी जति पर पुगेपनि, आफैसँग भाग्न खोजेपनि रहने घाँम, जून र फूलहरु रहेछन् । माटो रहेछ, नदीहरु रहेछन् । सायद हाम्रा सारथीहरु याीनै हुन् । तर हामीहरुले उनीहरुले दिने साथको अनुभूति बिरलै महसुस गछौ । हामीलाई लाग्छ बाच्नको अरु कोही चाहिन्छ । हामी मानिसहरुमा मात्र साथको खोजी गर्दा रहेछौ । खासमा साथ त हामलिाई प्रकृतिले पो दिँदो रहेछ ।
मानिसले मानिसलाई दिने साथ केही बर्षको मात्र हो । जनम जनम सँगै बाच्छौ सँगै मर्छौ भन्नेहरु पनि केही बर्ष हो सँगै रहने । सायद मानिसले अब एक्लोपनलाई सेलेब्रेट गर्न सक्नुपर्छ । कहिलेकाही लाग्छ जनमजनम, दुरदुरको खोजीमा हामीले आज जीउँन छोडिसकेका छौ । कृतज्ञ हुनुपर्ने त दिनदिनैको साथको लागि रहेछ । आजकल लाग्छ एकतमासले एक्लै यात्रा गर्नुमा कुनै खराबी छैन कृतज्ञ त तिनीहरुसँग हुनुपर्छ जो दिनदिनै भेटिन्छन् र केही सिकाएर जान्छन् । कहिलेकाही लाग्छ छोडी जानेसँग के गुनासो राख्नु । सायद छाडिहिड्नु मानिस हुनुको नियती हो ।
किनकिन आजकाल सबैकुरा यात्राझै लाग्छ । पाउँनु र नपाउँनुको यात्रा । सायद यात्रामा केही स्थायी हुँदैन मानिसको जीवन पनि त्यहि हो । हामीलाई लाग्छ हामी सधै यस्तै रहन्छौ तर प्रत्येक दिन हामी अघिल्लो दिनको मानिसझै रहदैनौ । तथापी साथ भने हामीलाई अजम्बरी चाहिँदो रहेछ ।
यी यस्तै कुराहरु हरेक दिन सोच्ने गर्छु । लाग्छ यो चिन्तनमनन बिना बाचेँ पनि बाचेझै नहुँदो रहेछ । कहिलेकाही यी कुरा सोचिबस्न लेखीबस्न कसैलाई समय छ र ? जस्तो पनि लाग्छ । समय भएकाले लेख्ने पो हो की भन्ने पनि लाग्छ । यस्तै यस्तै लेखिरहन थालेको पनि दश बर्ष भैसकेछ । लेख्दादेख्दै यस्तो लाग्छ यस्तो देख्नु सामान्य हो । जुन कुरा तपाई सधै गर्नुृहुन्छ त्यो सधै सामान्य नै लाग्दो रहेछ । मेरो लागि लेखाइ त्यही हो । मलाई नपढी नलेखी बसेका दिनहरु अत्यासलाग्दा लाग्छन् । सायद लेख्नु आफैलाई बुझ्नु हो । मलाई आजकाल लेखाई पनि यात्रा झै लाग्छ ।
लेखाई त्यस्तो यात्रा हो जो मलाई गर्नु थियो । यो मैले बाचेको सपना हो । नलेखेको भए यदाकदा लाग्छ म भिडमा त्यसै हराउँने थिएँ । दिन नपुगी जन्मेको हुनाले बुबाले आफन्तसँग भन्नुहुन्थ्यो रे यो ठूली भैन भने म यस्लाई झोलामा बोकेर हिड्नेछु । मलाई त्यहि झोलामा बोकेर हिड्ने मानिस बन्नु छ । मलाई कहिलेकाही लाग्छ लेख्नु भनेको कसैको झोलाबाट कसैको हृदयसम्म पुग्नु हो । मलाई कसैको हृदयसम्म पुग्नु छ ।
No comments:
Post a Comment