Saturday, December 23, 2023

पुस्तकका कुरा

 

२३ को अन्त्यमा छौँ । यदाकदा लाग्छ बर्ष ले चाडै बिदा लिन्छ तर डिसेम्बरले सधै साथ दिन्छ । सायद यो फर्केर हेर्ने समय हो । आज बर्षभरी पढेका केही पनपरेका पुस्तकहरुलाई फर्केर हेर्दै छु । पढ्ने र लेख्ने इच्छा सधै भैराख्दा पनि मलाई लाग्छ यो बर्षले मलाई धेरैनै साथ दियो । चाहँदा नचाहँदै वा चाहँदा चाहँदै यो बर्ष केही त्यस्ता पुस्तकहरुसँग साक्षात्कार भए जसले बर्षौ सम्म मलाई सम्झीराख्नको लागि केही चिजहरु छोडेर गएँ । आज यो बर्ष पढेका त्यस्ता केही पुस्तकहरुबारे बोल्दै छु ।


१. पहिलो पुस्तक रहेको छ निरञ्जन कुँवरको Between Queens and the Cities  - थाहा छैन यो अघि नेपालमा कुनै अरु कोही जो LGBTIQ समुदायलाई प्रतिनिधित्व गर्नुहुन्छ उहाँको memoir प्रकाशित भएको थियो वा थिएन । तर कुँवरको यो पुस्तकले नेपाली समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक भएर बाच्नु के हो भनेर मज्जाले बुझाउँछ । कहिलेकाही आफ्नै जीवन अति कठिन लागेको समयमा यस्तो पुस्तक पढिन्छ जसले दुख र पिडाको साक्षी आफू मात्र होइन रहेछु भन्ने महसुस गराउँछ । मैले यो पुस्तक त्यस्तै समयमा पढेकी थिएँ । पढेपछि लाग्यो म भन्दा धेरै पिडामा अरु धेरै रहेछन् । निरञ्जन कुँवरको भाषा र शिल्पले अझै यो पुस्तकलाई फराकिलो क्यानभाषमा लग्नेछ भन्ने मलाई लाग्छ ।

२. अर्को पुस्तक रहेको छ Han Kang  को Vegetarian  – यो मैले पढेको पहिलो साउथ कोरीयन उपन्यास हो । दुखद्, अध्यारो तर महिलाको यौनिकताबारे लेखिएको यति सुन्दर पुस्तक मैले यस अघि पढेकी थिइन । एकोहोरो कथा भन्ने शैलीबाट मात्र परिचित हामी नेपाली पाठकको लागि यसका मल्टिपल न्यारेटहरु अनौठा लाग्छन् । तिन भागमा बाडीएको कथानकले पाठकको रुपमा अर्कै अनुभूती दिन्छ । सायद मसँग कथाकी प्रमुख पात्रको लागि सधै एक न्यानोपन रहिरहनेछ । सायद मैले उ भित्र कहि कतै आफैँ पो भेटेँ की?

३. अर्को पुस्तक रहेको छ अपराजिता पारिजातका चिठीहरु– सबैभन्दा लामा र कठिन लेखनहरु मैले परिजातको लागि लेखेकी छु । तर हरेक चोटी पारिजातलाई पढ्दा म अर्की पारिजात भेट्छु । पारिजातले शुकन्याका लागि लेखेका यी  चिठिहरु पढ्दा त्यस्तै अनुभूती भयो । आज पनि लाग्छ संसारमा सबैभन्दा करिव लेखकहरु नै छन् ।

४. चौथो पुस्तक रहेको छSmriti Ravindra sf] The Woman who Climbed Trees  मलाई यो पुस्तकको नाम र कभर मात्र होइन पढिसकेपछि पुस्तक पनि त्यतिनै मापर्यो । कहिलेकाही गर्हौ कुरा भन्नको लागि स–साना कथानकहरु काफी हुन्छन् । यो त्यस्तै पुस्तक हो । नेपाल भारत सम्बन्ध बारे धेरै गफ, छलफल र सेमिनारहरु  भएका छन् तर झिनो ठानेर छोडिने महिलाको यो ब्यक्तिगत कथाले भूगोलको ठूलो कथानकलाई बिना पूर्वाग्रह बोल्छ । 

५. नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव, हामी सबै नारीवादी हुनुपर्छ– यी पुस्तकहरु भृकृटी राईले अंग्रजीवाट नेपालीमा गरेका यी मिठा अनुवादहरु हुन् । यी पुस्तकहरु पढिसकेपछि, यति मिठो अनुवाद गर्ने भृकृटीको अनुवादकलाको ठूलो प्रशम्सक पनि भएँ । चिमामाण्डा आदिचेका यी पुस्तकहरुले लैंगिकता र नारीवाद बारे धेरै कुरा हामीलाई बुझाउँन मद्घत गर्छ । साँच्चै भन्दा यी पुस्तकहरुलाई हाम्रा स्कुलले शिक्षाको पाठ्यकम्रमा समावेस गर्दा अझ प्रभावकारी बन्नेछ ।

६. खबुज– खबुज बारे धेरै सुनेर पनि यसलाई धेरै समयपछि पढेकोमा मलाई पछुतो लाग्यो । पढिरहँदा आफ्नै वरीपरीका दाजुभाई, साथीभाई जो अहिलेपनि अरबमा श्रम बेचिरहेछन्  सबैलाई एकपटक सम्झेँ । बेन्यामिनको यो सुन्दर पुस्तकको सुन्दरनै अनुवाद दिनेश काफ्लेको रहेको छ ।

७.Memories of My Melancholy Whores by Gabriel Garcia Marquez- मार्खेजलाई पढ्न पाउँनु आफैँमा सौभाग्य रहेछ भन्ने कुरा यो पुस्तक पढिसकेपछि महशुस भयो । छोटा कथाहरु पढेपनि मैले मार्खेजका लामा आख्यानहरु यसअघि पढेकी थिइन । मार्खेज यो पुस्तकले जीवनका अनौठा किस्साहरुलाई बुझ्न सधै सहयोग गर्नेछ भन्न्ो मलाई लाग्छ ।

८. शून्यको मूल्य– नवराज केसीको यो पुस्तकले सायद यो बर्ष नेपाली साहित्यमा सम्झन लायक अर्को पुस्तक दियो भन्ने लाग्छ । सायद हजारौले देख्न नसकेको स–साना झिना मानिने जीवनका मूल्यहरु एक लेखकले मात्र देख्न सक्छ । नवराज केसीलाई पढ्दा त्यस्नै अनुभूती हुन्छ ।

९. Days at the Morisaki Bookshop by Satoshi Yagisawaमुराकामी बाहेक अरु जापानी लेखक सँग यसअघी साक्षयात्कार नभएको मेरो लागि साटोसीको यो पुस्तक चेरी अन द टप थियो । मलाई लाग्छ पुस्तकको संसारलाई रोज्ने सबैलाई यो पुस्तक मनपर्छ । कथानक लामो छैन पात्रहरु सामान्य मानिसझै लाग्छन् । तर सामान्य मानिसहरु किताबको संगतका कारण अरु भन्दा भिन्न र फराकिला लाग्छन् । सायद थोरै शब्दमा धेरै भन्न हामी सबैले जापानी लेखकबाट सिक्नुपर्छ ।

१०.  Heaven by Mieko Kawakamiयो दुखद तर असाद्घै सुन्दर उपन्यास हो ।  उपन्यासका पात्रहरु दुखी छन् तर दुखले सिकाउँने अनौठा पाठहरु सिकाउँछन् । यो यति सुन्दर छ कि म यसलाई ब्याख्या गरीराख्न सक्दिन । डिएर कोजीमा, तिमी अहिले जो छौ सायद म त्यही थिएँ । आजकल तिमीझै म पनि बुझ्दै छु अरुझै नहुनु धेरै कुरा हुनु रहेछ ।

Tuesday, December 19, 2023

निशब्दता


म बोल्न सकिन, लाग्यो अब शब्दको कुनै अर्थ छैन । थाहा छैन के भयो उसले केही नभनी फोन काट्यो । मैले आफ्ना आशुहरुलाई रोक्न सकिन । 

हाम्रो सम्बन्ध हेल्लो हाइ बाट सुरु भएको होइन । सायद अरु कोही र्यान्डम मान्छेलेझै बोलाएको भए वा क्रिपि तरिकाले बोल्न सुरु गरेको भए म सायद उसँग कहिल्यै बोल्दैनथेँ । सायद उ मेरो बल्ग पढ्ने गथ्र्यो । एकदिन अचानक मेरो कुनै र्यान्डम बल्ग तल एक लामो कमेन्ट भेँटेँ.............. 

सायद लेख्नु आफैँमा सुन्दर कुरा हो । तर सम्झिराख्नु सबैसँग चाहेर पनि शब्दहरुसँग खेल्ने कला हुँदैन । जब तपाईका ब्लगहरु पढ्छु यस्तो लाग्छ तपाईसँग झै मसँग पनि रिक्तताको कहिल्यै नपुरीने खाडल छ । सायद सबै मानिसहरु अपुरा छन् । हुनसक्छ तपाईझै म पनि आफ्ना रिक्तताहरु सहित बाचिरहेछु । यदाकदा लाग्छ शब्दले रिक्ततालाई कसरी सम्बाोधित गर्ने । तर तपाईलाई पढेपछि लाग्छ सबैचिज सम्भव छ । लेखिरहनुस्......... म तपाईको सेक्रेट एडमाएरर

सायद उ मसँग बोल्न चाहन्थ्यो । सायद सबै मानिस आफूलाई सजिलोसँग ब्यक्त गर्न सक्ने मानिसको खोजिमा सधै रहन्छन् । सायद उ पनि त्यस्तै मानिसको खोजिमा थियो । सायद म पनि । सायद त्यही नै कारण थियो हामी दुबै सजिलै कनेक्ट भयौ । मलाई लाग्यो उ मेरो नाजुकतालाई कठोर बनेर बुझ्दैन । मलाई मैरै पोजिसनमा बसेर सुनिदिने मानिस चाहिएको थियो । सायद उसलाई पनि ।

यसरी दिनहरु बित्दै गए । कमेन्टबाट हामीहरु इमेलमा पुग्यौ, इमेलबाट फोन कलमा , फोन कलबाट भिडियो कलमा । सायद आजकल सम्बन्धहरु यसरीनै बन्दै जान्छन् । सायद मसँग यस अघि भन्नको लागि सिंगो साम्रराज्य थियो तर सुनिदिने मानिस थिएँन । उ यसरी जीवनमा आयो लाग्यो अब मलाई सुनिदिने मानिसको कमि छैन ।

 म उसलाई धक नमानिकन सबै चिज सुनाउँने गथेँ । उसँग त्यस्तो केही चिज छैन जो मैले नसुनाएको होस् । प्रेमको, शरीरको , भावनाको सायद सबै सबै सुनाउँन मिल्ने र सुनाउँन सक्ने सबैसबै म सुनाउँथेँ । उ भन्थ्यो, “ जीवन यस्तै नै हो । यो त नियती हो जीवनको । यस्तो कुरालाई सामान्य घटना मानेर अघि बढ्नुपर्छ ।” सायद मेरा लागि उसले भनेका सबैभन्दा सुन्दर वाक्यहरु यीनै थिएँ । यस्तो लाग्थ्यो कोही जीवनमा यसरी आएको छ जसले आगमनले जीवनका अनेकौ अप्राप्तिहरु प्राप्तिझै बनेका छन् ।

ति सब अनुभवहरु मेरा लागि सधै अनौठा थिएँ । मैले कहिल्यै नजिकबाट यसरी कसैलाई भेटेको थिइन । सायद कहिल्यै सोचेको पनि थिइन जीवनमा कोही त्यस्तो आउँनेछ जसले म भित्रका बिरोधाभाषहरुलाई अप्राप्तिहरुलाई एकाएक प्राप्तिझै बनाइदिनेछ ।

थाहा थिएन उ म बाट के चाहन्थ्यो । सायद उसको लागि त्यो सब सधै कोहीसँग भेट्टिएपछि वा नजिकिएपछि हुने सामान्य बदलाव मात्र थियो । तर मेरो लागि ति सबै सबै चिज सुन्दर अनुभूतीहरु थिएँ । म यदाकदा भन्ने गर्थे जीवनमा तिमीले जे दिएका छौ त्यसले मेरो जीवनमा ठूलो अर्थ राख्छ । सायद उ चाहन्थ्यो मैले यी सब चीजलाई एक सामान्य घटना मानेर अघि बढुँ । उ भन्नेगथ्र्याे , “ तिमीले जे अनुभव गर्यौ त्यो सामान्य चीज हो । हरेक सामान्य घटना जब पहिलोपटक हुन्छ त्यो सधै असामान्य झै लाग्छ । तर जीवनमा एक .खाले दुरी सधै आवस्यक पर्छ । मैले भनेको मान्छेउ भने कृपया केही दुरीबाट मात्र हेरीदेउँ । डिट्याचमेन्ट सधै जीवनमा आवश्यक पर्छ । जहिले पनि जोसँग पनि”। सायद उसलाई जे भन्नु थियो त्यो उसले भनिसकेको थियो । 

मसँग उसका लागि त्यती धेरै अपेक्षाहरु थिएनन् । म त एक अपेक्षा बिहिन मान्छे थिएँ । स्कुलमा घरपरिवारबाट पनि मसँग केही अपेक्षा थिएन । म त केवल एक बतास थिएँ । सायद मसँग उड्नको लागि केही अक्षरहरु थिएँ । मैले नलेखेकोमा वा लेखेकोमा परिवारले मसँग न गुनासो गथ्र्यो न खुसी ब्यक्त नै गथ्र्यो । मेरा लागी शब्दको दुनिया आफैले आफैलाई खोज्नको लागि आइपरेको थियो । म लेख्थेँ किनकी म दुखी थिएँ । समाजसँग परिवारसँग मेरा केही गुनासाहरु थिए । सायद ति गुनासाहरुलाई बाहिर निकाल्न मसँग कुनै अर्को माध्यम थिएन ।

उसको आगमनले म खुसी त भएँ तर किनकिन उसको प्रवेशसँगै मैले मेरो अक्षरसँगको सम्बन्धलाई बचाइराख्न सकिन । उ भन्ने गथ्र्यो , “ म तिमीलाई सबैभन्दा सुन्दर तिम्रा लेखाइहरुमा भेट्छु । लेख्ने काम कहिल्यै नछोड्नु ।” तर थाहा छैन किन उ जीवनमा आएसँगै मैले चाहेर पनि लेख्न सकिन । म चाहन्थे अब मैले धुमिलताका होइन केही उज्याला संयोगका कथाहरु लेख्नुपर्छ । तर थाहा छैन किन मैले संयोग र प्रेमका कथाहरु कहिल्यै लेख्न सकिन । 

उ कहिलेकाही भन्ने गथ्र्यो – “म आजकल तिमीसँग भएर पनि नभएझै महसुस गर्छु । मलाई लाग्थ्यो मेरो साथले तिमीमा रहेको लेखाइको कन्फिडेन्स अझ बढ्नेछ । तर किनकिन लेखकसँग नजिकिनु एक र्दुभाग्य रहेछ । यदाकदा मलाई तिमीसँग नजिकिएकोमा पछुतो लाग्छ ।” सायद उसले जे भन्यो त्यो एक पाठकको रुपमा असाद्घै सुन्दर अभिब्यक्ति थियो । तर एक साथिको रुपमा एक कठोर अभिब्यक्ति । किन किन म ति दुबै सम्बन्धहरुलाई गुमाउन चाहदैनथेँ । 

थाहा छैन किन किन तर म उसलाई गुमाउँन पनि चाहँदैनथेँ तर लेख्न नसकेकोमा पनि खुसी थिइन । म जे थिएँ म दुखी भएर पनि लेखाइमा थिएँ । मलाई आफूलाई गुमाउँन लागेकोमा एक खाले अनौठो ग्लानी थियो । तर उ मेरो जीवनमा यसरी आएको थियो जसले मलाई मान्छेको रुपमा एक पूर्णताको अनुभूती दिएको थियो । म त्यो अनुभूतीबाट पर भाग्न पनि चाहँदैनथेँ।

थाहा छैन के भयो एक दिन अचानक घुम्न जान्छु भनेर निस्केको उ पहिलेझै मेरो जीवनमा फेरी फर्केन । थाहा छैन उसले के सोच्यो । सायद उसलाई म भन्दा मेरो लेखाइ प्यारो थियो । उ बिनाका ति कयौ दिनहरु मेरा लागि सजिला थिएनन् । फेरी म अनौठो रित्तताको अनुभूती सहित बाच्न थालेको थिएँ । उ बिनाको अनुभूतीले फेरी म अक्षरसँग नजिकिन पुगेँ । सायद अक्षरसँग नजिकिनु भनेको आफैँििभत्रको अपूर्णतालाई सम्बाोधित गर्नु हो । उसको अनुपस्थितिले फेरी मलाई लेख्ने कर्म सँग नजिक बनायो । 

करिब दुई महिनापछि फेरी उ फर्कयो तर त्यही स्वरुपमा होइन । सायद उ मसँग जानाजान केही दुरी राख्न चाहन्थ्यो । थाहा छैन किन आज जब फेरी उसँग फोनमा बोलेँ मैले आफ्ना आँशुहरुलाई रोक्न सकिन । थाहा छैन उसले के सोच्यो उसले अनायास फोन काट्यो .................................................

Monday, December 18, 2023

मसिना कुरा– भाग १४


कहिलेकाही लाग्छ आफैले बनाएका मानकहरु आफैँले भत्काइदिउँ । आज त्यस्तै कुनै दिन हो । चिसो दिन छ । यी पुसका चिसा दिनहरु अति नै अप्रिय लाग्छ ।  सबैतिर तुवालोले ठाकेको छ । चिसो सिरेठोले झ्याल छोड्न सकेको छैन । चिसो बिहानीलाई टक्कर दिन चिसै पानीले नुहाएर आएकी छु । लाग्छ चिसोलाई चिसै ठानेर कतिदिन यसै कटाउँ ।

न फूलहरु फर्किएका छन् न चराहरु उडेका छन् । प्रकृति पनि नखुलेको बेला मान्छे कसरी खुल्न सक्छ । सबैतिर धुमिलता छ । यस्तो चिसो समयमा कहिलेकाही चिसा बिचार पनि आउँछन् । चिसो हिमाललाई सुन्दर ठान्नु सायद कुनै भ्रम हो । चिसा चिजहरु कसरी सुन्दर बन्न सक्छन् ? यी दुरीहरुबिच सुन्दर देखिने, सायद चित्रझै लाग्ने केही प्रतिबिम्ब मात्र हुन् हिमालहरु । थाहा छैन कुनै दिन नजिकबाट हिमाल देखेँ भने सायद म भित्र आउँने यी–यस्ता भावनाहरुमा केही पर्विवर्तन पो आउँने छ कि ?

बिहानै यी यस्तै भावनाहरुले रुमलिन्छु । सायद बिहानी आफैँले आफैँलाई एक पटक फेरी फर्केर हेर्ने समय हो । आफैसँग धुमिलिँदैछु र आफैँलाई सङ्ल्याउँदैछु । धमिलिनु सङ्गलिनु सायद नियती हो । जिउनुको नियती । नियती भन्दा पर सायद कोही छ र ? कहिलेकाही रुखहरुलाई एकोहोरो हेर्ने गर्छु यस्तो लाग्छ कसरी स्थिर भैदिन सक्छ कोही । मलाई उनीहरुको स्थिरता देखेर लोभ पनि लाग्छ माया पनि लाग्छ । कयौ हुरी हन्डरहरु त्यसै केही नभएझै कसरी सहिदिन सक्छन् ?

मंशिरको महिना भर्खरै भ्याइएको छ । अब मंशिरमा जस्तो चहलपहल रहने छैन । मलाई मंशिर असाद्वै कुरुप लाग्छ । परम्पराको नाममा, नियतीको नाममा, देखासिखिको नाममा कयौ मंशिरले स–साना नानीहरुलाई आफैँ नबुझ्दै अन्माउँछ, यो देख्नु मेरो अाँखाका लागि असाद्वै अप्रिय समय हो । धेरै नानाीहरुलाई लाग्छ यसले उनीहरुलाई पूर्ण बनाउँनेछ , उनीहरुका आमाहरुझ,ै हजुरआमाहरुझै उनीहरुलाई फेरी लाग्छ नियती यही हो । यो सँग रमाएर हिड्नेहरु मात्र महान् हुन् । यो भास्य सहित समाज चलिरहेछ । थाहा छैन कुनै दिन हामी आफैँले हाम्रो आफ्नै भास्यलाई फर्केर हेर्यौ भने कतिधेरै धुमिलिनेछौ ।

केही वर्ष अगाडी सम्म लाग्थ्यो अब बिस्तारै समय बद्लनेछ । छोरी भएको नाममा, परम्पराको नाममा, बंश र कुलको नाममा अब हामीले आफैँलाई मार्नेछैनौ । कोसँग कसरी जीवन बिताउनेमा हाम्रो आफ्नै रोजाइ हुनेछ । छोरीहरुले वा छोराहरुले आफ्नै रोजाइको यात्रा त गर्नेछन् तर उनीहरुको रोजाइसँगै समाज बद्लनेछ । अहिले लाग्छ समय मात्र बद्लने रहेछ रोजाइ फेरी दोहोरीनेरहने रहेछ । स–साना घुम्टोको साटो भूई लत्रने घुम्टोहरु दोहोरिएका छन्, फूली, तिलहरी र पोतेहरु दोहोरीएका छन् । सायद हामी बद्लन चाहँदैनौ । सायद हामीलाई यही चिज मनपर्छ । सायद हामी यसैमा रमाउँछौ ।

हिजो परिर्वतनका नारा लगाउँनेहरु आज परिवर्तनको अर्कै स्वरुपमा देखिन थालेका छन् । थाहा छैन हामीले लगाएका नाराहरु कहा कता हराए । आधुनिक भनिनेहरु साडीका र चोलीका डिजाइनमा आधुनिकता खोजीरहेछन् । समाजको यो बिद्रपु स्वरुप देख्दा यदाकदा लाग्छ अब समाज होइन समाजसँगै आफू नभिटिएकोमा ै आफैलाई खोज्ने पर्ने समय आएको हो की ?

पुस सिद्विनेछ फेरी माघ र फागुन यसरी नै फर्कनेछन् । असनका गल्लीहरुमा भिड बढ्नेछ । भिडले फेरी पनि त्यही  भाष्य बोकाएर अर्को पुस्ता हुर्काउनेछ । परम्परा देखाउँने नाममा, समाजसँगै चल्ने नाउँमा,अरुझै बाच्ने नाउँमा फेरी पनि त्यही भाष्य दोहोरीरहनेछ ।  सायद दोहोरीनुको यो नियतीलाई हामीले छा्ड्नेछैनौ । हाम्रा आमाहरु, हाम्रा हजुरआमाहरुझै हाम्रा नानीहरुले पनि समाजले बुझाएको यो संरचनालाई नियतीको अन्त्मि बिन्दु ठानेर हिड्नेछन् । 

कहिलेकाही लाग्छ यी सब बोझहरुबाट हामी कहिले मूक्त हुने । सायद मेरी आमाझै कुनै समय मलाई पनि यही भाष्यले पिरोल्नेछ । अरुकाझै मेरी छोरीको सिउँदोमा पनि समयमै सिउँदो रंगिनुपर्छ भन्ने लाग्नेछ । हामी फेरी साडिका रंग र चुराका डिजाइनमा वा अरु कसैको अस्तित्वलाई नियती ठानेर बाचिरहनेछौ । 

सायद यी सबै सबै बारे सोचिबस्नु दुखी हुनु हो । हुनसक्छ आफैलाई फर्किहेर्ने एक बाहाना मात्र हो ........................

Friday, December 1, 2023

मसिना कुरा – भाग १३


बिहान धमिलो छ । आकाशमा तुवालो मस्त छ । सहर कुनै चित्रकारले भर्खरै सुरुगरेको पेन्टिङझै सेतामम्य छ । चराहरु सायद आफ्नै गुडमा कुत्रुक्क भएर बसेका छन् । फूलहरु सेता थितका थोपाहरुले रुझेका छन् । कहिलेकाही चिसो घाँम पानीको असर त तिनिहरुलाई पनि पर्दो । तर कसरी कोही यती शान्त भैदिन सक्छ । मलाई रुख र फूलहरुको शान्तताले असाद्वै लोभ्याउँछ । सायद उनीहरुलाई लाग्छ यहि नै नियती हो । सायद जीउँनुको नियती ।

यो चिसो बिहानीलाई न्याना शब्दहरुले स्वागत गर्नुपर्ने भएको छ । शब्दहरु पनि चिसो भैदिए चिसोमा अझ बढी चिसो थप्नुमात्र हुन्छ । न्यानो उर्जासहीत बिहानीलाई स्वागत गरेकी छु । आज बिहान मात्र “इकागी– द जाप्नीज सेक्रेट टु लङ एन्ड ह्याप्पी लाइफ” पढी भ्याएकी छु । किताबको केही उर्जा ममा पनि थपिदिको छ । जापानीहरुको लामो र स्वस्थ जीवनका केही ट्रिप्प र केही टिप्स लेखकले पुस्तकमा लेखेका छन् । मनले भन्दैछ केही टिप्सहरु म पनि लिनेछु । समग्रमा पुस्तकमा जीवनलाई कसरी अर्थपूर्ण तरिकाले बाच्ने भनेर सिकाएको छ ।

थाहा छैन अर्थपूर्ण बनाउँछु भनेर सोचेर पनि हाम्रो जीवन कसरी अर्थपूर्ण बन्छ । समाजलाई लाग्छ उनीहरुले भनेझै जीउँनु मात्र अर्थपूर्ण जीउँनु हो । समाजको संरचनाभित्र जब तपाई पर्नुहुन्न यस्तो लाग्छ सबैभन्दा लहडे जीवन मै बाँच्दैछु । समाजले लहडे भनेपछि कहिलेकाही लाग्छ आफूले आफैलाई पनि लहडे भनेर सेल्फकेल्म गरिदिउँ । 

मंशिरको महिना छ सामाजीक संञ्जाल कपडा र रंगरोकनले रंगिएको छ । स–साना नानीहरु मेरो लागी जीवन कोही आउँदैनकी अथवा यस्तो आओस् भन्ने प्रकारको पोष्ट गर्दैछन् । कहिलेकाही त्यस्ता पोष्टहरु देख्दा हामी कहाँ छौ भन्ने पनि लाग्छ । आज पनि समाजको लागि बिहे सबैभन्दा ठूलो उपलब्धि हो । छोरीहरुको दिमाग यसरी भरीएको छ कि बिहे भएपछि उनीहरुको जीवन सबैभन्दा सजिलो बन्छ । छोराहरुको लागि कमाउँनुको बिकल्प छैन । कहिलेकाही यो हेर्दा खेरी समाज अहिले पनि त्यही पुरानो हन्टिङ ग्यादरीङको संरचनामा अडिराखेको झै लाग्छ । हामी वैचारीक रुपमा अझ त्यही संरचनामा  छौ झै लाग्छ ।

यीनै संरचनाका मिथहरुमा हामी कति धेरै पिल्सीएका छौ । कतिका लागि त्यो संरचनामा अडिनु असाद्वै सजिलो चिज हो भने कतिका लागि त्यो असाद्वै गह्रौ चिज पनि हो । बिहे बारेको छलफलमा  हामी कहिल्यै अंगाङ्गता भएका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक बारे सोच्दैनौ । कम कमाउँने पुरुष र समाजको मानकमा सुन्दर नठानिने महिला बारे पनि सोच्दैनौ । उनीहरुको लागि बिहे सजिलो चिज होइन । तर समाज भन्दिन्छ बैबाहीक जीवनमा पस्नु जीवनको सबैभन्दा ठूलो उपल्ब्धि हो । मलाई कहिलेकाही लाग्छ मुलधारभित्र रहेको त्यो ठूलो हिस्साले मूलधार बाहिर रहने त्यो सानो हिस्सालाई सधै नगन्य देखाउँनेछ । 

Wednesday, November 29, 2023

मसिना कुरा– भाग १२

 

अनौठो सपनाहरुले निस्सासिँदै बिउँझीएकी छु । बिहानको तीन बजेको छ । बाहीर निस्पट्ट अध्यारो छ । मानिसझै गाडी, सडक, टोल र बस्तीहरु सब सुनसान छन् । सडक पनि सुनसान भेट्नु नियमको बिपरीत जानुझै हो । सायद यो निस्पट्ट बिहानीलाई साथ दिनु त्यही गर्नु हो । 

यो मौनताबिच आफैँलाई खोज्दैछु । थाहा छैन खोज्दाखोन्दै कहाँ हराउँनेछु वा कहाँ पुग्नेछु । मलाई नदी किनाराझै बन्नु छैन । अशान्त स्थिरताले सधै पोल्छ । छालहरुले बिक्षिप्त भएर पनि किनाराले नयाँपन देख्दैन मलाई किनाराझै बन्नु छैन । तर समयले कहिलेकाही किनारामै छु कि भन्ने पनि बनाउँछ । सायद यी यस्तै भूलभूलैयाबिच नै जीवन चलिरहन्छ । 

चलाउँनको बिकल्पलाई छोड्न नसकिँदो रहेछ । कहिलेकाही स–साना नानीहरु गुमाएका आमाहरुलाई जब देख्छु यस्तो लाग्छ जीवन जे सहेर पनि चलिरहन्छ । यो गतिशिलता हो वा दोहोरीने प्रकृया बुझ्न ग्राहो छ । कहिलेकाही दोहोरीएझै लाग्छ कहिलेकाही बाचेझै । सायद बाचेँझै गरेर कयौ दिन हामी मरेका छौँ ।

जीवनका यीनै बिष्मयहरुलाई साक्षि राखेर कहिलेकाही दौडेझै लाग्छ, कहिलेकाही हिडेझै र कहिलेकाही सुनसान त्यसै बसिरहेझैँ पनि लाग्छ । यी अनुभूतिका तंरगहरु मात्र हुन् । र पनि यी सबै थोक हुन् । यदाकदा लाग्छ यीनै अनुभूतिहरु छन् र त जीवन छ ।

  यीनै अनुभूतीका बिच बिहानीलाई साथ  दिएकी छु । केही समयपछि उज्यालो हुनेछ । मानिसहरु सडकमा निस्कनेछन् । पढ्न निस्कने नानीहरु किताबले गरुङ्गा बनेका झोलाहरु बोकेर स्कmुभित्र छिर्नेछन् । आमाहरुका पुजाकोठाबाट धुपको बास्ना आउँनेछ । भान्छाकोठाहरुबाट चियाका बाँफहरु  निस्कनेछन् । धेरैलाई लाग्नेछ जीवन भनेको यही नै हो । कहिलेकाही आफैलाई सोध्छु – जीवन भनेको यही हो? 

थाहा छैन के हो । कहिलेकाही यी दोहोरीरहने बिम्बझै लाग्ने जीवनका दोहोराइहरुले पनि नलोभ्याउँने कदापी होइन । बिहानको पहिलो मिठो चियाले कहिलेकाही बाचेझै पनि अनुभूत गराउँछ । सायद यीनै स–साना खुसीहरुलाई जीवन मान्दा हुन्छ । फूल फुलेकोमा , चराहरु उडेकोमा र नदीहरु पहिलेझै बगेकोमा खुसी भैदिँदा पनि हुन्छ । मान्छे हो अनेक चिज खोज्दो रहेछ ।

यी खोजीहरुबिच आफैँलाई चियाउँछु र एक निम्सरो मान्छेझै पाउँछु । मलाई आज पनि लाग्छ म किनारा नै हुँ । केन्द्रलाई यी सब सोचिबस्न फूर्सद पनि त छैन । यो सब सोचिबसेकोमा लेखेकोमा बर्षौ पछि आफूले आफैलाई हेर्दा थाहा छैन कस्तो अनुभूती हुनेछ ।

    अनुभूती गर्ने समयमा म हुनेछु वा हुनेछैन । कहिलेकाही जीवनको अप्रत्याशितताको अनुभूती पनि हुन्छ । तर कहिलेकाही आफैँले आफैँलाई जीउँदैछस् भनेर प्रत्याभुतिको लागि पनि केही जम्मा गर्नुपर्ने रहेछ । मलाई लाग्छ मैले अक्षरका हुलहरुलाई जम्मा गर्दैछु । थाहा छैन यसले केही अर्थ राख्छ वा राख्दैन ।.......................................................................................

Monday, November 27, 2023

मसिना कुरा– भाग ११

 

कुकुरहरुको भुकाइसँगै बिउँझिएकी छु । सायद उनीहरु केही भन्दैछन्, के भन्दैछन् म बुझ्न सक्दिन । कहिलेकाही लाग्छ उनीहरु पनि  हामीले झै सोच्दा हुन् । बिग्रीएको प्रकृति, उन्मूक्त बिना लगामका र दायित्व बिहिन मानिसहरु देखेर आजित हुँदा हुन् । हामीहरुलाई गाली गर्दा हुन् । कहिलेकाही लाग्छ हामीले आफ्नो घर भनेर अरु कसैको घरलाई पनि उजाड बनाउँदैछौ ।

  यी यस्तै सोच्दै छु । घडिमा बिहानको पौने पाँच भएको छ । बाहिर झ्यालबाट देखिने दृश्य निष्पट्ठ अध्यारो छ । स्कुल कलेजका लागि हिड्ने केटाकेटीहरु बिउँझि सकेका छैन । यो शान्त बिहानीमा किबोड चलाउँदैछु । आफ्नै अनुभूतीहरुलाई पोख्दैछु । मलाई यसरी किबोड अगाडी नबसेका दिनहरु अत्यासलाग्दा लाग्छन्  । कहिलेकाही लाग्छ म मान्छेहरु भन्दा किबोडसँग धेरै बोल्छु ।

मलाई लेख्ने प्रकृया बोल्नेझै लाग्छ । म भित्रका कयौ आवेगलाई म शब्दले मात्र ब्यक्त गर्न सक्छु । भाषाको यात्रा मलाई सधै सुन्दर लाग्छ । जब त्यो लेख्य स्वरुप आउँछ यस्तो लाग्छ यो कयौ बर्षपछि आफैँलाई फर्केर हेर्ने समययात्रा हो । यसरीनै दिनहरु बित्दैछ । कयौ बिहानीहरु मैले यसरी नै बिताएँ, सायद यसरीनै जीन्दगी सिद्घिनेछ ।

मलाई सुरुवातझै अन्त्य पनि रसिक लाग्छ । कहिलेकाही आफ्नै मृत्युबारे पनि आकलन गरि बस्छु । म मरेको दिन कसले के भन्लान भनेर पनि कल्पना गर्छु । मृत्युबारे सोचेपछि मलाई जीवन साँघुरो लाग्छ । यस्तो लाग्छ बाच्ने दिनहरु साँघुरीदै छन् । गर्ने कामहरुको लर्को लागो छ । तर जीवनले आज म  सिद्घिदैछु भनेर पनि त जाँदैन । सायद कुर्नै अर्को अप्रत्यासित बर्हिगमन झै मृत्युलाई अगाल्न सजिलो छैन ।  

हिजो थालेको पुस्तक भ्याइसकेको छैन । आजकल धेरै पुस्तकहरुलाई छिचोल्न सक्दिन । कमजोर शिल्पले तानिरहन सक्दैन । लेख्नेहरुको सुन्दर शिल्पले सदा तान्छ । बिना शिल्पको शब्द यात्रा चाहेर पनि छिचोल्न ग्राहो छ । सायद सुन्दर लेख्नेहरु लयमा लेख्छन् । सान्द्रा सिस्नेरोज लेखकको रुपमा असाद्घै मनपर्छ । यस्तो लाग्छ राम्रो लेख्नु भनेको उनीलेझै लेख्नु हो । शब्दले भूगोलभन्दा पर यात्रा गर्छन् । ओसन बोङ र सान्द्रा सिस्नेरोज त्यस्तै लाग्छ । कहिलेकाही लाग्छ उनीहरु यतै असनका गल्लिहरु र पाटनका पसलहरुकमा कतै रुमलिँदैछन् । त्यी शब्दका जादुगर हुन् । कम शब्दमा धेरै चिज बोलिदिन्छन् ।

सायद आज पनि हिजोझै यीनै कुरा भन्नु रहेछ । मलाई लेख्दै जाँदा आफ्नै सिमितता र असिपितता दुबैको अनुभूती हुन्छ । हामी नचाहेर पनि दोहोरीरहन्छौ । कहिलेकाही लाग्छ आफ्नै सिमितताले आफैँलाई थिच्दैछ । म चाहेर पनि खुल्ला बन्न सकिरहेको छैन । चाहेर पनि आफ्नो क्षितिजलाई नाध्न सकिरहेको छैन । सायद सबैलाई यस्तै लाग्दो हो । अनुभूतीहरु ँसाझा कुरा हुन् । धर्म लिङ्ग र जातले केही मान्यता राख्दैन । त्यसैले लेखक कलाकारले भूगोललाई नाघ्छन् । बाधिएर पनि उनीहरु बाधिएका हुँदैनन् ।

अहिले लाग्दैछ जे भन्न खोजेथेँ त्यो भनिन आज । सधै सोचेको कुरा भन्न सकिँदैन ।  हुनसक्छ आज त्यस्तै कुनै दिन हो ......................................

Saturday, November 25, 2023

मसिना कुरा – भाग १०

 

यो अध्यारो घाम उदाउनुको अघिको बिहानी सायद चित्र र्कोनु अघिको क्यानभाष जस्तै हो । सबैचिज शान्त छ । गाडीहरु सडकमा छैनन् । बिहानी हिड्नेहरु निस्केका छैनन् । एक अनौठो सान्नाटा छ । चाहेर पनि म त्यो यो सान्नाटालाई ब्याख्या गर्न सक्दिन ।

तिहार पछि घर छोडेको एक हप्ता भएको छैन । घर छोडेर आएको हप्ता शहर बिरानो लाग्छ  । घर छोडेका यतिका बर्ष भैसक्दा सबैभन्दा प्यारो घर नै लाग्दो रहेछ । यहाँ बोल्ने र बोलाउँने कम छन् । एकतमासले जीवन बितेझै लाग्छ । काम बिनाको काठमाडौं अरसिक लाग्छ । कहिले रुमलिए पनि यो रुमलिने सहर होइन । 

मलाई सहर कथाहरुको संग्रह झै लाग्छ । यहाँ खोजी बस्ने हो भने हरेकसँग रुवाउँने कथाहरु छन् । तर सहरको रोदनलाई यसको झिलीमिली पनले छोपीदिन्छ । यस्तो लाग्छ निराश हुनु पनि सहरमा रमाउँनु हो । सायद यसको अस्तित्व यसैको चहकमहकमा कतै रुमलिएको छ । 

यो एकतमासको दैनिकीबाट कहिलेकाही केही फरक भैदियोस् भन्ने पनि लाग्दो रहेछ । कहिलेकाही लाग्छ पर दुर आफ्नै सुरमा हिडिदिउँ । आफ्नै प्रतिबिम्बले आफैँलाई छोपेझै लाग्छ । सायद सबैलाई यस्तै लाग्दो हो ।

खुसीझै निराशालाई पनि कहिलेकाही रमाइलो झै ठान्नुपर्ने रहेछ । कहिलेकाही खुसीहरु आएझै लाग्छ फेरी निमेशभरमै सिद्घिएझै लाग्छ । तर पनि यात्राझै नलाग्ने यात्राको कुनै बिकल्प छैन हिड्नु त छँदैछ ।

Friday, November 24, 2023

मसिना कुरा– भाग ९

 

आकाश धुमिल छ । अबका केही महिना चराहरुको उडान देख्न सक्दिन । बिहान बिहानै आफ्नै यात्राको उडानमा उडिँरहेका चराहरु देख्दा कहिलेकाही संसार चलेझै महसुस हुन्छ । फूलेका फूलहरु पनि चिसोले चिम्सा भएर बसेका छन् । उनीहरु फर्केको हेर्न केही घण्टा कुर्नु पर्नेछ । बिहानै हिड्नेहरुको लर्को कम हुन थालेको छ । सायद सबै चियाका बाफहरुमा रुमलिरहेछन् ।

बिहानै उठेकी छु । सब सुनसान छ । यो सुन्यता सुन्दर लाग्छ । दिन ठल्कदै जाँदा बिहानको सुन्यता फेरी अत्यासलाग्दो एकात्मकता बन्न पुग्छ । तर बिहानीमा यो सुन्दर नै लाग्छ । यो सुनसान बिहानीको साक्षि बनेकी छु । सायद अस्तित्वको यो सुन्यतामाथी कसैले प्रश्न गर्यो भने कठगरामा म पनि उभ्भिनेछु ।

केही दिनदेखी भिडलाई देखेर तर्सदैछु । हिजो सडकमा एक हुल मानिसहरु धर्मको नाममा नारा लगाए । भोली कसैले भन्देला हिन्दुहरु मात्र महान् हुन् । मलाई आस्थाका नाममा लगाइएका नाराहरु कुरुप लाग्छ । यो सुन्यता र सहअस्तित्व मात्र हो । धर्मको नाममा नारा लगाउँनु निर्ममको छातीमा टेकेर आदर्शको शब्दहरु बोल्नु जस्तै हो । यो कुरुप समयको साक्षि भएकोमा सदा पिडाबोध हुन्छ ।

जब जब धर्मको नारा लाग्छ म आफ्नै छिमेकीहरुलाई सम्झन्छु । हिजो पनि उमर खालीदको भिडियो हेरेँ र आफ्ना आँखाहरु भिजाएँ । मेरो सूभेच्छ्याले केही हुन्न भन्ने पनि थाहा छ तर यदाकदा उसको लागि पनि म केही माग्छु । त्यो कुरुप इतिहास मेरो परिवारले नभोगोस् झै लाग्छ । मेरो भुगोलमा नआइपुगोस् झै लाग्छ । 

बोल्नेहरु के बोल्दैछन् ले आम मानिसहरु बिथोलिनु, मानिसबिच भाइचारा र सहअस्तित्व नहुनु सायद यहि जीवनको यर्थाथ हो । सायद यसरी नै देश, भूगोल र पर्खालहरु  बने । यसरी नै मानिहरुले आफ्नो अस्तित्वलाई संसारकै सबैभन्दा महान् र उत्कृष्ठ यर्थाथ ठाने ।

कहिलेकाही लाग्छ केका लागि हुन् यी चर्का आवाजहरु, यी तालिहरु र यी ढुङ्गाहरु । कसरी आफूले हाफैलाई  म महान् हुँ भनेर दावी गर्न सक्छ ? त्यो दावीलाई कसरी कसैले पत्याएर हिड्न सक्छ ? तर संसारमा यही चलिरहेछ । सायद संसारलाई लाग्दो हो चर्को बोल्ने नै सत्य बोलिरहेछन् । 

यो समयको साक्षी हुनु सायद कठोरता र कुरुपतालाई आफ्नो ठान्नुझै हो । यी यस्तै कुराहरु बिहानै अक्षरहरुमा उर्तानु कुरुप यूद्वलाई फाटोमा कैद गर्नु जस्तै हो । थाहा छैन यसले केही अर्थ राख्छ वा राख्दैन । वा म झै अर्को कोही पनि यही चिज सोच्छ वा सोच्दैन । यी भावनाका तंरगहरु हुन् । यी सायद बाच्दैछु भनेर भन्न सकिने हृदयका केही हलचलहरु मात्र हुन् ।

यी यीनै कुराहरुले बिथोलिँदैछु । सायद बाँच्दैछु । यी बाचेको छु भनेर भन्न मिल्ने अस्तित्वका छालहरु मात्र हुन् । हिजोझै आज पनि लाग्दैछ फेरी लाग्दैछ हिजोझै आज पनि फेरी चर्को आवाजलाई यर्थाथ ठानेर भिड आफै नरुमलियोस् ।

Tuesday, November 21, 2023

मसिना कुरा– भाग ७

 

कहिलेकाही चिसो बिहानी चिसो मानिसझै लाग्छ । आकाश तुवालोले ठाकेको छ । चराहरु तिनै तुवालोमा हराएका छन् । फूलका पातहरुमा शितका थोपा अड्किएका छन् । संसार चल्दैछ । करिब एक महिनाको बिदापछि काममा फर्कनु छ । अब फेरी यो गर, यो पढ भन्ने दिन सुरु हुँदैछन् । कहिलेकाही लाग्छ मैले उनीहरुलाई होइन मलाई उनीहरुले सिकाउँदैछन् । जीवन सिकाइको चक्रझै लाग्छ ।

दिनहरु असाद्घै चाडो जान्छन् । हिजो साना देखेका नानीहरु आज हलक्क बढेको देख्दा बुढो भएभmै महसुस हुन्छ । आफैँले आफैलाई हेर्दा उस्तै झै लाग्छ । सायद सबैलाई त्यस्तै लाग्दो हो । फरक त आफ्नो अनुहार अरु कसैको ऐनामा हेर्दामात्र लाग्ने रहेछ ।

फेरी अर्को बर्षले बिदा लिँदै छ । बर्षको अन्त्यमा किन केही नगरेझै महसुस हुन्छ । गर्नुपर्ने कामको चाङ छ तथापी आदी सकेको कामको थुप्रो बोकर जिवन चलाउँदैछु । सामान्य देखिने चिजहरु असामान्य बन्दैछन् । सफलता असफलता बिच बाचेझै गर्नुको नियतीले छोछ्न सकेको छैन । तथापि गुनासो छैन । गुनासो गरिराख्नु राम्रो पनि होइन ।

यी चिसा दिनहरुमा चिसा बिचारहरु आउँनु नौलो पनि होइन । किनकिन मलाई चिसो कठोर लाग्छ । चिसो दिनझै चिसा मान्छेहरु जीवनमा नआउँन भन्ने पनि लाग्छ । 

न्यानोपन चिसोपन सायद जीवनका अटुट पाइलाहरु हुन् । चाहेर नचाहेर यिनिहरुको उपस्थितिलाई नर्कान सकिँदैन । कहिलेकाही लाग्छ बाँचेझै गरेर अगाडी बढाएका यी पाइलाहरु कसरी रोकिनेछन् । रोकिएपछि जमिनमा डोब रहनेछ कि छैन । वा मेरा पाइलाहरुको उपस्थितीले म हुनु र नहुनुको यर्थाथलाई सम्बोधन गर्छ वा गर्दैन । आफैँलाई केन्द्रमा राख्दा  आफ्नो उपस्थिती महसुस गर्नु सामान्य हो तर संसारको बृहतताको अगाडी आफू हुनुको नगन्यपनलाई पनि एदाकदा पिरोल्छ ।

Monday, October 30, 2023

दुरीहरु


कापीका एक साइडमा एक बिन्दु अर्को साइडमा अर्को बिन्दु रहेको छ । सायद उनीहरुलाई लाग्ला उनीहरु बिचको दुरी कहिल्यै मेटिदैन । दुई बिन्दु बिचको यो दुरी नै सायद हामी सबै बिचका दुरीहरु हुन् । 

यो घर छोड्ने दिन हो । घर छोड्ने रात म आफैले पार गरेका दुरीहरु सम्झन्छु । सायद हामी सबैसँग आफैले सोचिराखेका दुरीहरु रहन्छ । कहिलेकाही लाग्छ के मेट्दैमा मेटिन्छन् वा मेटेर पनि डोबझै बाकी रहन्छ दुरीहरु ।

यी पैतालाका दुरीहरु मात्र होइनन् । सायद यी चक्रझै चल्ने नियतीका दुरीहरु हुन् । पहिलेपहिले लाग्थ्यो घर छोड्दैमा छोडिन्छ र घर ? पैतलाको डोबसँगै बड्छन् र दुरीहरु ? तर समयसँगै लाग्न थाल्यो पैतलासँगै सबै चिज छुड्दो रहेछ । छुटेकालाई भेट्न नसकिँदो रहेछ । पार गरेको दुरीलाई फेरी फर्केर हेर्दा धमिलो डोबमात्र बाकी रहदो रहेछ ।

हामी आफैँ बिच पनि एक आफू र अर्को आफू बिच कोसौका दुरीहरु रहने रहेछन् । कहिलेकाही लाग्छ म भित्रका महरुले एकले अर्कालाई चिन्दैनन् । एक भन्छ जे गर्दैछस् राम्रो गर्दैछस् जीउँने यसरी नै हो । अर्को मन भन्छ यसरी जीवन चल्दैन । कहिलेकाही लाग्छ यी दुरीहरु कहिल्यै मेटिदैनन् । सायद समयसँगै बढ्नेछन् । जीउँने नाममा एकअर्कालाई नचिनेझै गर्नेछन् । देखे पनि नदेखेझै गर्नेछन् ।

कहिलेकाही लाग्छ पाना एक र अर्को कुनाका दुबै डटहरु म नै हुँ । जोडिन सक्ने पनि म नै हुँ । नजोडिन चाहेकी पनि म नै हुँ । यी बिरोधाभाषहरु  बिच आफैँलाई खोज्दैछु । कहिले एउटा बिन्दु हावी भैदिन्छ कहिले अर्को बिन्दु । तर दुबै बिन्दुलाई लाग्छ एक अर्काको मिलन सम्भव छैन । अरुसँग त परको कुरा कहिलेकाही आफैँबिचका दुरीहरुले पनि पिरोल्छ ।

यीनै दुरीबिच आफैँलाई खोज्दैछु ।  चाहेर नचाहेर हामी यीनै स–साना बिन्दुहरु रहेछम् । जोसँग दुरीहरुका कथाहरु छन् । नमेटिएका यीनै दुरीहरुलाई साथ लिएर मानीसहरु दुरदुरको यात्रामा निस्कन्छन् । देशदेसावरको यात्रा बिच लाग्छ घर बिरानो भयो मानीसहरु बिराना भए । चरा र फूलहरु बिराना भए ? कहिलेकाही  लाग्दैन आफ्नो आफू नै बिरानो भयो ?

Thursday, October 26, 2023

यो कुनै आकाश होइन

 'यो कुनै आकाश होइन। चाहेर पनि तिमीले अनन्त शान्त खुल्ला मैदान भेट्ने छैनौ। ताराहरू र ताराहरू बेगरका शान्त अँध्यारा रातहरू केवल एक कल्पना हो। तिमी अन्धकारमा चाहेर पनि शान्ती भेट्ने छैनौ। हामी बन्धनमा छौ। र हाम्रा आफ्नै बन्धनहरू छन्। हामी असीमित बन्धनहरूले सीमित छौ। मानिस केवल सीमितताको पर्याय हो, असीमितता त केवल एक भ्रम हो।'

ऊ एक फोटोग्राफर हो, ऊ आफ्ना फोटोहरूमा लामा-लामा क्याप्सन लेख्ने गर्छ। मलाई उसका फोटाहरूभन्दा उसले लेखेका क्याप्सन मनपर्छ। माथिका अक्षरहरू उसको रात्रीकालीन फोटोको एक क्याप्सन हो।

उसका फोटाहरूमा म बिरलै उज्याला दिनहरू भेट्छु। किन ऊ अँध्यारोलाई यति धेरै प्रेम गर्छ, मलाई थाहा छैन। मेरो नाम सन्ध्या भए पनि मलाई उज्याला दिनहरू मनपर्छ। तर किन-किन मलाई ऊ पनि मनपर्छ र उसले लेख्ने क्याप्सनहरू पनि। उसका क्याप्सन झैँ ऊ अनौठो छैन। उसलाई देख्दा मलाई कहिल्यै लाग्दैन ऊ कुनै फोटोग्राफर हो र ऊ यति सुन्दर क्याप्सन लेख्छ।

मैले उसलाई कुनै फोटोग्राफरको रुपमा चिनेको पनि होइन। उसले मलाई मेरा फोटाहरू कस्तो लाग्छ भनेर सोध्दा पनि सोध्दैन। म उसलाई 'गोपी' भन्छु, नाम गोपाल भए पनि। ऊ मलाई सन्ध्या नै भन्छ। ऊ मेरो डेरावाला छिमेकी हो। जब म ग्वार्कोबाट चाबहिल बस्न पुगेँ ऊ अनायासै मेरो छिमेकी बन्न पुग्यो। यदाकदा चाबहिलको गणेस्थान वरपर क्यामरा बोकेको देखेपछि मात्र मलाई ऊ फोटोग्राफर हो भन्ने थाहा भएको हो।

मैले उसलाई खासै कोठामा देख्दैन थिएँ। एकदिन क्यामरासहित देखेपछि प्वाक्क सोधेकी थिएँ, 'तिमी फोटो पनि खिच्छौ हो?'

उसले हाँस्दै 'हो' भनेको थियो। म फोटोप्रति त्यति धेरै जिज्ञासु नभएको कारण मैले थप केही भनिनँ। एकदिन अचानक केही कारणबस उसको कोठामा छिर्दा बल्ल थाहा पाएँ कि ऊ कुनै मामुली फोटोग्राफर होइन रहेछ, ऊ सुन्दर क्याप्सन लेख्ने लेखकीय फोटोग्राफर रहेछ।



त्यसपछि भने म ऊ बारे जिज्ञासु भएकी हुँ। उसका प्रत्येक फोटाको क्याप्सनले मलाई अनौठो महसुस गराउँछ। मैले अहिलेसम्म यति लामो र सुन्दर क्याप्सन लेख्ने फाटोग्राफर भेटेकी छैन। त्यसैले पनि ऊ मलाई चाखलाग्दो लाग्छ। उसका प्रत्येक फोटो तल लामा-लामा क्याप्सन हुनेगर्छ जसले मलाई क्याप्सन सुन्दर कि फोटो भन्ने कुरामा सधैँ झुक्याउँछ।

यदाकदा 'किन तिमी यति लामा क्याप्सन लेख्छौ?' भन्दा ऊ सधैँ भन्छ, 'कलाले दिने परिणाम सधैँ एकोहोरो हुँदैन, म एक माध्यमले मात्र आफ्ना कुरा भन्न सक्दिनँ, यो मेरो कमजोरी हो सन्ध्या।'



मलाई किन-किन उसले प्रयोग गर्ने दुई माध्यम उसको कमजोरी हो जस्तो कहिल्यै लाग्दैन।

ऊ शान्त देखिन्छ। ऊ भित्रको हलचल मैले उसको अनुहारमा कहिल्यै देखेको छैन। ऊ सामान्य लाग्छ। अधिकांश फोटोग्राफरजस्तो लाग्ने उसमा केही त्यस्ता संकेतहरू छैनन्। ऊ रातमा कैद गरेका दृष्यहरूमा अनौठा क्याप्सन लेख्छ।

'अँध्यारामा दूरीहरू देखिँदैनन्। देखिन्छन् त केवल क्षितिज नाघेर आएका प्रकाशका कथाहरू। देख्नेहरूले त केवल नाघिआएका प्रकाशहरू मात्र देख्छन्। नाघ्नेहरूको सिंगो संसार कहीँकति तिनै दूरीहरूमा अड्किरहन्छ। र बन्छ एक अकल्पनीय अँध्यारो नजिर।'

रातमा परबाट आएको प्रकाशलाई उसले कैद गरेको यो पछिल्लो फोटोको क्याप्सन हो। जसले मलाई फेरि अर्कोपटक उथलपुथल बनाएको छ। तर ऊ शान्त लाग्छ। ऊ आफ्नै क्यामराका कामहरूमा मग्न हुन्छ।

म भन्छु, 'थाहा छ गोपी, तिमी जति सरल देखिन्छौ त्यति नै तिम्रा क्याप्सनहरू मलाई सरल लाग्दैनन्। मलाई थाहा छैन तिमी कसरी र किन फोटोग्राफर बन्न पुग्यौ तर तिम्रो सरलता भित्र लुकेको यो अनौठोपनले यदाकदा मलाई अचम्मित बनाउँछ।'

उसले केही प्रतिक्रिया दिँदैन र भन्छ, 'आज पनि म राति फोटो खिच्न जाँदैछु, राति फोन गर्छु गेट खोल्देऊ ल।'

म 'हुन्छ' भन्छु र ऊ सरासर आफ्नो बाटो लाग्छ।  

राति एक बज्दै गर्दा उसको फोन रिङले मलाई बिउँझाउँछ।

'ए तिमी आयौ?' भनेपछि 'अँ' भन्दै ऊ आफ्नो कोठाभित्र छिर्छ।

मलाई लागेको थियो उसले त्यस दिन कैद गरेका दृश्यहरूबारे केही भन्छ। भोलिपल्ट कतिबेला उसले कोठाको ढोका खोल्छ र म उसका फोटाहरू र क्पापसन पढ्न पाउँछु भनेर म हतारिन्छु। तर १२ बजिसक्दा पनि ऊ ढोका खोल्दैन।

बिरामी पो भएको छ कि भनेर ढोका ढकढकाउँदा थाहा पाउँछु ऊ बिउँझिसकेको रहेछ। 'तिमी किन अहिलेसम्म बाहिर ननिस्केको?' भन्दा ऊ त्यसै भनेर फेरि ढोका लगाउँछ।

यी यस्तै उसका बानीहरूले मलाई ऊ बारे निराश बनाउँछ। म चाहेर पनि ऊसँग नजिकिन सक्दिनँ। उसका फोटाहरू हेर्न र क्पाप्सन पढ्न पनि मैले धेरै नै कष्ट गर्नुपर्ने हुन्छ। किन-किन अघिल्लो रात उसले खिचेका फोटाहरूभन्दा मलाई उसका फोटाका क्पाप्सनहरू पढ्न हतार हुन्छ।

त्यस दिन पनि करिब चार बजेतिर हतारिँदै 'के छ गोपी? हिजोको फोटो देखाउन' भन्दै म उसको कोठाभित्र छिर्छु। ऊ डेक्सटपमा फोटोहरूमा क्पापसन लेख्दै रहेछ। रातको समयमा नदीमा बग्दै गरेका छालहरूलाई कैद गरेको फोटो तल ऊ लेख्छ,

'बगेर जानेहरूको कथा सायद यात्राको कथा हो। तर नबगेका हलचलबारे किन कोही बोल्दैन? चाहेर पनि बग्न नसक्नु कम पीडादायक हुँदैन। यात्राझैँ तरलता र बगाइका कथा मात्र किन मान्छे लेख्छ? यो अनौठो विस्मयको कथानक हो। चाहेर पनि यात्रा गर्न नसकेको अयात्राको कथा। आफ्नै परिधिमा कष्टपद लोप हुन पर्ने किल्लाको कथा। यो नदीहरूमा हराएका छालहरूको कथा हो।'

उसको क्याप्सनले फेरि अर्कोपटक मलाई हुरुक्क बनाउँछ। म भन्छु, 'कसरी तिमी यति सुन्दर क्याप्सन लेख्छौ गोपी?'

ऊ हाँस्छ र विस्तारै 'मलाई थाहा छैन सन्ध्या, सायद म दृष्यहरूमा बग्छु, भावनामा जस्तै।'

मैले सोधेका प्रश्नहरूमा उसका उत्तरहरू जहिले छोटा हुन्छन्। म चाहेर पनि अरु थप केही भन्न सक्दिनँ।

आज किन-किन म उसलाई केही प्रश्न सोध्ने मूडमा छु तर किन-किन सोध्न सक्दिनँ। उसले किबोर्डमा चलाएका अक्षरहरूमा मेरा आँखा पर्न जान्छन्। ऊ लेख्छ,

'यो सन्ध्याको उज्यालो हो, उज्यालोका आफ्नै परिभाषाभित्र पर्न नसकेको अँध्यारोको उज्यालो। यो जुनेनी रात होइन र पनि दिन झैँ उज्यालो छ। यो निराशामा फूलेको आशाको कथा हो। अँध्यारोको निमेशतालाई बुझेको यो उज्यालोको अर्को पाना हो। त्यस्तो पाना जहाँ बिना किरण फूल फुल्न सक्छ, घाम लाग्न साक्छ र मानिसहरू सदाझैँ प्रेमका गीतहरू गाउन सक्छन्।'

रातमा देखिएको चकमन्न जूनलाई कैद गरिएको उक्त फोटोको यो आशावादी क्याप्सन देखेर मलाई ऊ खुसी रहेछ कि भन्ने महसुस हुन्छ। म विस्तारै सोध्छु, 'के तिमी खुसी छौ हो आज?'

'किन?' ऊ भन्छ।

'किन-किन तिम्रो क्याप्सन पढ्दा यस्तै लाग्छ।'

केही प्रतिक्रिया नदिई ऊ भन्छ, 'अब म फोटो खिच्न जान्छु ल, म राति नआउन पनि सक्छु।'

म केही भन्दिनँ। ऊ क्यामरा बोकेर सरासर निस्कन्छ।

मलाई लाग्छ ऊ राति हिजोझैँ फर्कन्छ र म केही उसका बारे सोध्न सक्छु। तर आज रातिको दुई बझ्दासम्म पनि ऊ फर्केको छैन। म लामा-लामा क्याप्सन लेख्ने फोटोग्राफरको पर्खाइमा अत्तालिएकी छु। प्रश्न त मैले आफैलाई सोध्नुपर्ने भएको छ- किन म उसको पर्खाइमा उत्तालिदैँ छु?

बाहिर हेर्छु चकमन्न अँध्यारो छ। यस्तो लाग्छ, कसरी त्यो सरल देखिने गोपी यति असामान्य लाग्ने अँध्यारोमा फोटो खिच्दै हिँड्छ? किन ऊ रातदेखि डराउँदैन? थाहा छैन किन ऊ त्यस्तो गर्छ! तर मैले ऊ बारे सोचिरहनु आवश्यक छैन।

सोच्दासोच्दै म निदाएछु। बिहान ढोका खोलेर हेर्दा उसको कोठा बन्द नै छ। थाहा छैन ऊ आएपछि सन्धयाकालीन कस्ता दृष्यहरू र तीमाथि कोरिएका कस्ता अक्षरहरू बोकेर आउँछ। थाहा छैन फोटो र क्याप्सनमा अँध्यारो बोकी हिँड्न उसले उज्यालोलाई कसरी लिन्छ, प्रेमलाई कसरी लिन्छ?

म सोध्न चाहन्छु तर उसको र मेरो सम्बन्धको आकाश खुल्ला छ। म चाहन्न प्रश्न गरेर असीमितताको आकाशलाई सीमिततामा बदलुँ।

Saturday, October 14, 2023

राम्री


निर्जला अधिकारी

“त्यसै त यति राम्री छौ, भोली कस्ती हौली” सायद बिहे अघिको उसको यो अन्तिम म्यासेज हो । रातको एघार बजेको छ । घरभरी मान्छे छन् । हातमा उसको नामको मेहेन्दी सजिएको छ । तर म निदाउँन सकेकी छैन । दिदी र म एउटै खाटमा सुतेका छौ । दिदी निदाइसकेकी छ । 

घर माला र तोरणहरुले सजिएको छ । बिहेकै लागि भनेर थप बत्तिहरु थपिएका छन् । चारैतिर उज्यालो छ । त्यो उज्यालो म भित्र छैन । मन भित्रभित्र कुडिएको छ । सानै देखी बिहे भनेपछि भुतुक्कै हुने म ,आफ्नै बिहेका लागि उत्साहित छैन । “बस् जे हुन्छ राम्रो हुन्छ” एक मन भन्छ तर आँखाहरुले दिदीको मलिन अनुहारलाई छाड्न सकेका छैनन् ।

दिदी म भन्दा एक बर्ष जेठी छ । तर भन्नेले अग्लो भएकाले मैलाई दिदी भन्दिन्छन् । उ सुनिता अनि म अनिता । खासमा उ मलाई होइन मेरी दिदीको लागि हेर्न आएको थियो । ऊ आउँने दिन बाआमाले दिदीलाई भन्नुभएको थियो , “अल्लि राम्री भएर बस तँलाई हेर्न कोही आउँदैछ । घरपरिवार राम्रो छ, केटो पनि इन्जिनियर हो रे उसले मन परायो भने नाइ नभनेस् ।” दिदी केही बोलिन । ऊ दिदीको लागि हेर्न आएको पहिलो केटो थिएन । यो भन्दा पहिले कयौले उसलाई हेरे ।

आमाबासँग केही नभने पनि त्यो पटक दिदी खुसी देखिन्थी । उसलाई पढेका मान्छे मनपथ्र्यो तर जब बिहेका लागि कुरा चल्थ्यो उसको भागमा प्रमाणपत्रका धनिहरु कहिल्यै पर्दैनथे । उ बेलाबखत भन्थी, “मैले बिबिएस पास गरेर के काम लाग्यो त । “ तर कुरा चलाउँनेहरुले उसका लागि पढेकाहरु कहिल्यै देखाएनन् । उ पहिलो केटो थियो जो दिदीले खोजेझै पढेको थियो ।

आमाबाले हामीलाई उसको नाम भन्नुभएन । उ कस्तो छ के गर्छ त्यो पनि भन्नुभएन । तथापी दिदीका आँखाहरुमा एक खालको चञ्चलता देखिन्थ्यो । ऊ त्यस दिन अफिसबाट चाँडो घर फर्कि । बाआमाले भनेझै राम्री बन्न उसलाई सुहाउने कुर्था लगाई । अनुहारमा अलिअलि लिपपोत गरी ।

म र दिदी सँगै हिड्दा दिदीलाई राम्री कसैले भन्दैनन् । केटाकेटी बेला मलाई रमाइलै लाग्थ्यो दिदी भन्दा म राम्री रहेछु भनेर । अहिले पनि मलाई राम्री भन्नेले उसलाई राम्री कहिल्यै भन्दैनन् । आजकल कहिलेकाही मलाई राम्री भनिदिएकोमा दुख लाग्छ । म किन राम्री उ मेरो अगाडी किन नराम्री ? सँगै हुर्केका उ र म विच राम्री र नराम्रीको भेद सधै रहिरह्यो । 

उ हेर्ने आउँने दिन आमाले मलाई सुटुक्क भान्छामा बोलाएर भन्नुभयो “आज ति मान्छे आएका बेला दिदीको नजिक नगएस्” । मैले किन भनेर सोध्न सकिन । घरमा एकाएक नौला मान्छे आए । बैठक कोठामा चहलपहल सुरु भयो । दिदी निराश नभएपनि आत्तिएकी थिइ । आमाले बोलाएपछि उ पनि बैठकतिर गै । मलाई कताकता खसखस भयो । आफू पनि जाउँजाउँ भयो । एक्कासी सबै भए छेछ टपक्क टप्किएँ । आमाले झस्केर मलाई हेर्नुभयो ।  बाले बिस्तारै कान्छि छोरी भनेर सबैलाई चिनाउँनुभयो । मैले सबैलाई नमस्ते गरेँ । दिदीलाई हेर्न आएको ऊ दिदी छेउ थियो । एकछिनपछि दिदी र उसलाई अर्को कोठामा गफ गर्न पठाइयो । उ र दिदी गए । के गफ गरे मलाई थाहा भएन । उसँग को गफ पछि दिदीको आँखामा निराशा भने प्रष्ट देखिन्थ्यो ।

हामी तपाइहरुलाई पछि खबर गर्नेछौ भन्दै उनीहरु घरबाट निस्के । आमाले दिदीलाई कस्तो लाग्यो केटो भन्दा दिदीले ठिकै मात्र भनी । एकाएक त्यसपछि दिदी मसँग कम बोल्न थाली । भोलीपल्ट खबर आयो केटोले दिदीलाई होइन मलाई मनपरार्यो रे भनेर । त्यस दिन बाआमा केही बोल्नुभएन । दिदी अफिस गई आई तर कोहीसँग बोलिन । ... घरमा एकाएक सन्नाटा छायो  । दिदीलाई कसैले मनपराउँदिन भनेको, राम्री रैनछ भएको त्यो पहिलो पटक थिएन तर घरमा एकाएक मौनता छाएको थियो ।

भोलीपल्ट बिहान आमाले फेरी मलाई भान्छामा बोलाउँनुभयो । “आमा किन बोलाउँनुभएको” भन्दै म गएँ । “तँसँग एउटा कुरा गर्नुछ” आमाले भन्नुभयो । “दिदीलाई हेर्ने आएकोलाई तँ मनपरेछ । दिदी होइन तँ पाए बिहे गर्छु भन्छ रे , गर्छेस् त त्योसँग बिहे ? घरपरिवार राम्रो छ । हामीले निर्णय गर्यौ भने नाइ नभनेस् । दिदीको नभएनि तेरो गर्न पाएँ हाम्रो आधा शिर हल्का हुने थियो । त्यसैनि छोरो छैनन्ं..... दिदी छोरा भएर बस्नेछ ।” आमाले आँखामा टल्पलाएका आशु पुछ्दै भन्नुभयो । मैले आफ्ना आँखाका आशुहरु रोक्न सकिन । कोठाभित्र छिरे भित्रैभित्र बेस्सरी भक्कानिए ।

बेलुका फेरी बाले बोलाउँनुभयो । सधै दिदी बहिनीलाई सँगै बोलाउँने बाले आज मलाई मात्र बोलाउनुभयो । दिदी र आमा भान्छामा हुनुहुन्थ्यो । “तँलाइ एउटा कुरा भन्नुथियो कान्छी” कोठाभित्र छिर्नेबित्तिकै बाले भन्नुभयो ।  “ तेरी आमाले र मैले त्यो केटासँग तेरो बिहे गर्दिने निर्णय गर्यौ । घरपरिवार राम्रो छ । केटो पनि राम्रो स्वभावको छ भन्छन् सबैले । तेरो जीवन खुसी हुनेछ । हुन्छ भन” बाको बोलीले मलाई झन् बोल्न नसक्ने बनायो । ....दिदीको अनुहार सम्झे .... हुन्छ भन्न सकिँन । तर बाआमाको प्रस्ताबलाई नाई भन्न पनि सकिँन । आँखाका आँशुलाई रोक्न सकिँन.... बालाई नहेरी हुन्छ भनिदिएँ । 

बेलुकीको खानापछि सदाझै कोठामा छिरे । दिदी एकतमासले झ्याल बाहिर हेरेर बसेकी थिइ । सदाझै मैले दिदी भनेर बोलाउँन सकिन । त्यो दिन दिदी अरु दिनभन्दा चाडै सुती । म भित्रैभित्र भक्कानिय तर दिदीलाई भन्न सकिँन । .... त्यो मेरो जीवन पहिलो सान्नाटा थियो । म पहिलोपटक राम्री भएकोमा दुखी भएँ । त्यस दिन मैले आकाशका ताराहरुसँग बिताए । देख्दा चम्किला देखिने ति रातका किरणहरुझै मैले पनि एक्लो र चिसो महशुस गरेँ ।


भोलीपल्ट म नउठ्दै दिदी कलेज गैसकेकी थिई । आमाले चिया यहाँ छ कान्छी भनेपछि बल्लबल्ल ओछ्यानबाट बाहिर निस्के । मंशिरको महिना बाहिर चिसो हावा चल्दै थियो । आमाले आज दिउसो कुरा पक्का गर्न उनीहरु आउँछन् कही नगयस् भन्नुभयो । आमाले भनेझै गरीब दुई बजेतिर उनीहरु आए । आमाले मलाई आफ्नो लागि किनेको गुलाबि रंगको साडी लगाइदिनुभयो । सधै साडी लगाउँदा फरुङ्ङ हुने म, मन भित्रका कोलाहलहरुलाई छिचोलेर रमाउन सकिन । दिदी कलेजबाट डाइरेक्ट अफिस गैसकेकी थिई । देख्दा ठिकै देखिने उ मलाई देखेर दङ्ङ देखिन्थ्यो । एकअर्कालाई औठि लगाएपछि उसले मलाई उसँगै सेल्फी खिच्न आग्रह गर्यो । मैले हुनेवाला लोग्नेको त्यो आग्रहलाई टार्न सकिँन । तर आँखाले दिदीको मौनतालाई छोड्न सकेन ।

सदाझै अफिसबाट करिब ६ बजे दिदी घर फर्की । आमाबाका आँखा पनि उदास थिए । मैले मेरो हातको औठि उसलाई देखाउँन सकिन । तर दिदीले आफूभित्रको सान्नाटालाई कता छोडेर आइ त्यो दिन, आउँनेबित्तिकै, “खै कस्तो ल्याएछन् औठी देखाँ त” भनी । उसले केही नभएझै गरी । त्यो हृदयको कोलाहल खै कहाँ लुकाएर राखी उसले । 

त्यस दिनप्रश्चात उसको आगमन भयो मेरो जीवनमा तर उसको आगमनले न म खुसी थिए,ँ छु , न उत्साहित । मेरो लागि बस् उ हुने वाला लोग्ने हो ।

बिहेको लागि एक हप्ता पछिको दिन जुराइयो । उ मसँग भेट्न चाहन्थ्यो तर किनकिन मलाई उसलाई देखेपछि दिदीका आँखामा छाएको उदासी याद आउँथ्यो । “तिम्रा यी आँखाहरु मलाई असाध्दै मनपर्छ “ उसले एक दिन भन्यो मैले त्यही क्षण मेरा दिदीका आँखाहरु सम्झे ्। 

  आज उसको नामको मेहेन्दी लगाएको छु तर आँखामा दिदीको उदासी बोकेकी छु । दिदी खुसी भएझै देखाउँछे । भोली बाट उसलाई कुरुप ठान्नेलाई उसले ज्वाई भन्नुपर्छ । कुन हृदयलाई साक्षि राखेर उसले ज्वाई भन्नेछ ? वा कुन आँखाहरुले  उसले मेरो लोग्नेलाई स्वागत गर्नेछ ? वा कुन स्वाभिमानलाई कुल्चेर उ केही नभएझै गरी हास्नेछ ? थाहा छैन ... म कुन हृदय बोकेर दिदी छेउ उ मेरो लोग्ने भनेर चिनाउँनेछु ।

यो एक हप्तामा हृदय भरीएको छ । म उसलाई लोग्ने मान्दै गर्दा मसँगै हुर्केकी मेरी दिदीको हृदयलाई कुल्चनु पर्नेछ । भरीएको हृदयलाई म पोख्न चाहन्छु......तर कसरी थाहा छैन ......

प्रिय दिदी, 

थाहा छैन कुन भावनाको कोलाज बोकेर तँ बाचेकी छस् ? मेरो हातमा लेखिएको उसको नाम देख्दै गर्दा तँलाई कस्तो महसुस भयो ? तँलाई अस्विकार्नेलाई भोली तँ ज्वाई मानेर कसरी स्विकार्नेछस् ? म  बेहुली हुँदै गर्दा  तेरा उज्याला आँखाहरु देख्न चाहन्थे, यो अध्यारो क्यानभाषलाई साक्षि राखेर म कसरी जीवनमा उज्यालो रंग पोत्नेछु ? यी यस्तै प्रश्नहरुले म रुमलिएकी छु । मलाई माफी दे केटी । तँ जसरी उज्यालो भएर मसँग उभिस् त्यसरी म पनि अडिग भएर उसको प्रस्तावलाई कुल्चन सक्नुपथ्यो । तर मैले सकिन केटी म काँतर रहेछु ।  जाँदैगर्दा तँलाई खुसी भएको देख्न चाहन्छु । तर यो पढ्दै गर्दा आँखाबाट आँशु नझारेस् । 

Thursday, September 28, 2023

शुभकामना


निर्जला अधिकारी

  क्याफेमा एक्लो छु । बिहानको सात बजे क्याफेमा बस्नु नौलो त होइन तर नौलोझै भएको छ । वोटरले मेनु दिएर गएको छ । मलाई कफी खानु छैन । म उसँगै कफिको लतबाट पनि पर जान चाहन्छु । मलाई पहिलेको झै बन्नु छैन । म चकलेटको फ्यान होइन तर हटचकलेट मगाएको छु ।

उसको पर्खाइमा छु । म उसलाई अन्तिम पटक गुडबाई भन्न चाहन्छु । मलाई मौन बिदाइले असाद्घै पोल्छ । उसलाई अन्तिम पटक– म अब तिमीसँग बोल्दिन भन्न चाहन्छु । हुन त बोल्न छोडेको उसले हो । तर उसले कहिल्यै तिमीसँग बोल्न चाहन्न भनेको छैन । उसले अनेकौ पटक बोल्न नचाहेर पनि बोल्न भ्याइन अवस्य भनेको हो । तर मलाई आजबाट म बोल्दिन भन्नु अवस्य छ । मलाई पहिलो र अन्तिमपटक आफ्नै लागि कठोर बन्नु छ ।

  के म सोचेझै कठोर बन्न सकुँला । हुन त कयौ पटक – उसलाई मैले यो कुरा भन्न खोजेको पनि हो । र भन्न नसकेको पनि हो । तर यसपटक मलाई भन्नु छ । सायद आफ्नै लागि ।

उ त्यसरीनै आएको थियो जसरी कोही आएको थियो पहिलोपटक । उ त्यसरी नै बिदा हुँदै छ जसरी कोही अघिल्लो बिदा भएको थियो कुनै दिन । न पहिले सजिलो थियो न आज सजिलो छ । तर मलाई यसपटक अन्तिम पटक बोल्दैछु भनेर बिदा लिनु छ । मलाई नबोल्ने बाचा सजित केबल उबाट पर जानु छ । जाँदै गर्दा म चाहन्न उसले म खुसी भएर टाढा भएको भन्ने बुझोस् । उ राम्रो मान्छे हो भन्ने बुझोस् । म उसँगको सम्बन्ध जे महसुस गरेँ त्यो भन्न चाहन्छु । म पहिलेझै धन्यवाद भनेर टाढा गैदिएकोझै गर्न सक्दिन । वा मलाई गर्नु छैन ।

यो उसको लागि होइन मेरो आफ्नो खुसीको लागि हो । म भित्रभित्र टुटेर पनि केही नभएझै अब गर्न सक्दिन । मलाई यसपटक टुटेर पनि आफैँ बनेर उठ्नु छ । कोही अरु बनेर फेरी अहिलेको झै बन्नु छैन ।  मलाई फेरी कसैसँग अपनत्व लागि, प्रेमको लागि भिख माग्नु छैन ।  म आफ्नै आँखामा उठ्न चाहन्छु । सायद यो कठोर यात्रा हो । तर म कठोर बन्न चाहन्छु ।

आज मेरो बत्तिसौ जन्मदिन हो । यो जन्मदिनमा म टुक्रिएर पनि उठ्न चाहन्छु । टुक्रिएर पनि सङ्लो छु भन्न चाहन्न । उ आइपुगेको छ । उ आज पनि हतारमा छ कुनै अर्को दिन झै । उ हतारमा हुन थालेको केही वर्ष भएको छ । आउँने बित्तिकै उ भन्छ, “ म ठिला भएँ, आज अफिसमा चाँडो पुग्नु छ धेरै बेर नबसौ है ।” 

मलाई लागेको थियो आउँनेबित्तिकै उसले अरु केही नभने पनि मलाई जन्मदिनको शुभकामना दिनेछ । तर त्यस्तो भएन । सदाझै उ हतारमा छ । सायद उसले बिस्यो । उसले मेरो जन्मदिन बिर्सेको यो पहिलोपटक होइन । तर किन किन मलाई लाग्यो यो अन्तिम जन्मदिन हो उसले मलाई सुभकामना दिने ।

उसलाई मैले हतारमा भेटेको होइन । भेटेको पनि कयौ बर्ष भैसकेको छ । उसलाई भेटेका सुरुवाती दिनहरुमा मलाई लागेको थियो उ “ईसान” झै छैन । किन जहिले पनि एक पछि अर्कोलाई भेट्दा पहिलाको झै होइन भन्न्ने लाग्छ र अन्तिममा हो झै लाग्छ । 

ईसानले मलाई प्रेम स्नेह गर्यो वा गरेन मलाई थाहा छैन । यति हो मैलाई प्रेम गरेझै लाग्ने भएर म उसलाई प्रेमी भन्ने गर्छु । मलाई थाहा छैन प्रेम के हो तर मलाई प्रेम गरेझै लागेको अवस्य हो । 

उ मैले यसरी माया गर्न थालेको पहिलो ब्यक्ति थियो । सुरुवाती दिनहरुमा उ मलाई माया गरेझै गथ्र्यो । सायद म मायाकी भोकी थिएँ । यसअघि मलाई माया गरेझै पनि कसैले गरेको थिएन । मलाई लाग्यो म पनि कसैको मायाको काबिल रहेछु । उसले एकपटक फोन गर्दा म उसलाई पाँच पटक फोन गर्ने गर्थे । सायद पोखिन चाहन्थेँ । सायद मैले उसका लागि म भित्रको प्रेम र स्नेह सबै रित्ताएकी थिएँ । 

सायद रित्तिनु जरुरी पनि थियो । तर बिडम्बना आज पनि त्यसरीनै रित्तिएकी छु जसरी उसका लागि रित्तिएकी थिएँ । केही सामिप्यता बाहेक उनीहरुले मलाई एक झिनो र नगन्य मात्र महशुस गराएँ । त्यसैले म टुक्रिएर पनि फेरी उठ्न चाहन्छु । यसरी टुक्रिन चाहन्छु म फेरी उठ्दा त्यही पुरानो मानिस नबनु ।

“तिमी के लिन्छौ, उसले मेन्यूमा हेरेर भन्छ” 

“हटचकलेट मगाइ सकेकी छु, तिमी आफ्ना लागी मगाउ” उ सदाझै क्यापचिनो मगाउँछ

“केही भन्नु छ, किन बोलायौ” 

“उसले केही भन्नु छ भनेपछि म झन केही भन्न सक्दिन” सायद सोचेझै कसैको लगाडी ब्यक्त हुनु ग्राहो कुरा हो ।  म चाहन्छु म जे भन्न भेटेको हो त्यो भन्न तर भित्रभित्र मुटु यसरी धड्किन्छ म चाहेर पनि भन्न सक्दिन ।

“आज मेरो जन्मदिन हो । यही भन्नु छ ।”

“ओ सिट, म कसरी तिम्रो जन्मदिन बिर्सन सक्छु । तिमीलाई धेरैधेरै सुभकामना छ” उ भन्छ । “जन्म दिनको अवसरमा केही चाहन्छेउ मबाट ?” नाई, म केही चाहन्न । म तिमीलाई भेट्न चाहन्थेँ बस यती हो । उ हाँसेझै गर्छ । आजकल किनकिन लाग्छ हामीबिच अनौठो औपचारीकता मात्र बाकी छ  । उ सधैँ समय छैन भन्न थालेपछि म पनि उसँग खुलेर बोल्न सक्दिन । यतिकैमा नौ बज्छ । उ हतार छ भन्दै क्याफेबाट बाहिर निस्कन्छ ।

गह्रो मुटु लिएर म पनि क्याफेबाट बाहिर निस्कन्छु । म जे भनेर उबाट टाढा हुन चाहन्थेँ त्यही नभनीकन क्याफेबाट बाहिर निस्कँदैछु । किन किन उससँग भेटेपछि उसलाई जे भन्न चाहन्छु म त्यो भन्न सक्दिन । मैले इसानसँग पनि त्यहि गरेकी थिएँ । आज पनि उ कहिलेकाही मसँग बोल्न खोज्छ । तर म नबोल भन्न सक्दिन ।

म छोरा मान्छेहरुलाई आज पनि चिन्न सक्दिन । सायद मैले कहिल्यै बुझिन । म पाँचको हुँदा मेरी आमा मननपरेकाले मेरा पिता कोही अरुसँग बस्न थालेका थिए । म आज बत्तिसको भए, यतिका बर्षमा मैले मेरा पितासँग करिब दशपटक पनि बोलेको छैन । सानो हुँदा अरुले भन्थे यो पनि आमाजस्तै निस्की ठसक्क परेकी नराम्री । मलाई ति वाणीहरुले चसक्क घोच्थ्यो । तर भित्रभित्र सोच्थेँ जसले मलाई माया गर्नेछ उ मेरो पिताझै हुने छैन । उसलाई म संसारकै राम्री लाग्नेछ ।

मलाई सुरुसुरुमा इसान र द्रपित दुबैसँग आसा थियो उनीहरुले मलाई संसारकै सुन्दर ठान्नेछन् । तर समयसँगै जसरी स्कुलमा मलाई कसैले बेवास्था गर्थ्यो वा आफन्तको भिडमा म भएर पनि नभएझै महसुस गराउथ्यो । समयसँगै दुवैवाट मैले त्यस्तै अनुभूती पाएँ । कयौ पटक लाग्थ्यो मेरा कारणले मात्र सम्बन्ध चलिरहेछ । अब मलाई सम्बन्धहरुको घिसिपिटिमा हिडेझै गर्नु छैन ।...........

  यीनै कुराहरु सोच्दासोच्दै म घर फर्किएकी छु । मुटु गह्रौ भएको छ । सायद पोखिन चाहन्छु तर कसरी थाहा छैन । उसलाई मैले जे भन्न चाहन्थेँ त्यही नभनी फर्किएकी छु ।  तर मलाई भन्नु छ कसरी कुन रुपमा मलाई थाहा छैन .........................................................................................................................

Wednesday, September 27, 2023

मसिना कुरा– भाग ८


आकाश खुल्ला छ । घाम उदाइसकेको छ । सडकमा मानिसहरुको चहलपहल बाक्लो छ । एक हुल मानिसहरु आफ्नै लयमा हिडिरहेछन् । सायद यो  बाच्नुको चहलपहल हो । सडकमा मानिसहरु देखिनु, सहरको प्रतिबिम्ब हो । सायद सहरहरु यस्तै हुन्छन् ।

हिजो दिनभर बनारस गल्लिहरुका भिडियोहरु हेरेर बसेँ । करिब दुई बर्ष भयो, लोभ्याउँन थालेको । किन किन सधैँ लाग्छ मलाई पुग्नु छ त्यहाँ । हुन त पुग्छु भन्दैमा पुगिन्छ भन्ने पनि होइन । तर पुग्छु भनेपछि एक दिन पुगिन्छ भन्ने पनि लाग्छ । किन किन मलाई गंगामा मिसिनुको अन्तिम यर्थाथ असाध्दै मनपर्छ । मलाई मिथकिय इतिहासको त्यो हबमा पुग्नु छ जहाँ हाम्रो पुर्खाहरुले बाच्नुको अंहमलाई त्यागेर बर्हिगमनको यर्थाथलाई अंगालेका थिएँ । 

यस्तै यस्तै सपनाहरु छन् । कहिलेकाही लाग्छ हामी सबै सपनाका दासीहरु हौ । कहिलेकाही आफूले बाचेको समय असाध्दै बिद्रुप लाग्छ । आजकल लाग्छ यो कठोर समय हो । मानिसहरु यर्थाथ भनेर अंहमका बाणिहरुमा चिच्याइरहेछन् । चिच्याउनेहरु चिच्याइमात्र रहेछन् बुझ्नेहरुलाई  लाग्छ त्यो आवाज मात्र हो त्यसको कुनै अर्थ छैन । थाहा छैन चिच्याउँनेहरुलाई के भन्नु छ । कहिलेकाही आवाजका यी कुरुप अंशहरुले खल्बल्याउँछन् ।

करिब दश दिन भयो माइतिघर र बानेश्वर सडकमा मानिसहरुको हुल टुटेको छैन । इतिहासलाई हेर्ने हो भने यसरी पेशाकर्मिहरु कहिल्यै यस्तो यपस्थितिमा सडकमा उत्रिएका थिएनन् । ति गुरुहरु थिएँ ति गुरुआमाहरु थिएँ । उनीहरु निराश देखिन्थेँ । हुन त काठमाडौँका सडकहरुले बिरलै उनीहरुलाई चिन्छ । मलाई लाग्छ काठमाडौँलाई शिक्षकहरुलाई चिन्दैन । यहाँ शिक्षक हुनु भनेको दरिद्र हुनु हो । पुरानो सट पायट सधै लगाएर हिड्नु हो । यो समाज आदर्शले जिन्दगी चल्दैन भन्ने समाज हो । तर गाउँघरले शिक्षकहरुलाई अझै मान्छ । आज पनि गाउँघरलाई हाक्नेहरु उनीहरु नै हुन् । उनीहरु निराश देखिनु सायद हामीले बाचेको आदर्शको अन्त्य हुनु हो ।

यो आफू शिक्षक हुनुको आदर्श बोलको होइन यो त शिक्षकको बिराशतको अर्को अंश बोलेको हो । मैले जीवनमा भेटेका अधिकांश असल मानिसहरु शिक्षकका अंशहरु थिएँ । ति पुराना झोला र बिना आइरनका पायट र सर्टमा आएका मानिसहरुलाई सहरले चोर झै सम्झन्छ । सहरलाई लाग्छ उनीहरुले देश लुटिरहेछन् । सहरलाई लाग्छ शिक्षकहरुले आफ्नो हक हितको कुरा गर्नु शिक्षक हुनुको मूल्य तोड्नु हो ।

कहिलेकाही सहरले लोभ्याउँछ पनि तर कहिलेकाही लाग्छ सहरले सम्पनतालाई मात्र बोल्छ । आजकाल बिकास र सम्पन्ताको बिम्ब मात्र समाजमा बाचेझै लाग्छ । सडकमा झुत्रो देखिनु असफलताको बिम्ब हो । कसैले सडकका मानिसहरु बारे बोल्नु कि अति सम्पन्न हुनु हो कि अति दरिद्र हुनु हो । सहरलाई लाग्छ सहरमा बाच्ने भनेको ठूलो सिसाबाला भवनबाट तल खुल्ला सडकबाट हेर्नेले मात्र हो । कसैले उनीहरुबारे बोल्छ भने उनीहरुले कसैको पैसा बोलिरहेझैँ लाग्छ । सहर सडकबारे बोल्नेहरुलाई गाली दिन्छ । उसले खाने चामल र नुनको स्रोत सोध्छ र भन्छ उसले खाएको चामलको मूल्य कति हो  । कहिलेकाही लाग्छ आजकल सहरले बिना चस्मा कसैलाई हेर्न छोडिदिएको छ ।

थाहा छैन कुनै दिन मलाई नै तेरा अक्षरहरुमा कुनै बिदेशी दाताको पसिना गनाउँदैछ भनिदिने छ । थाहा छैन बुद्व र ऋषिमूनिहरुले घर छोड्दै गर्दा कसैले उनीहरुलाई अब कुन चामलको भात खान्छस् भनेर सोधेका थिए कि थिएन । यो सबै सोचिरहँदा यो समाजको हिस्सा भएकोमा दुख पनि लाग्छ ।

यो कुरुप यर्थाथलाई सुन्दर म मान्न सक्दिन । मलाई आजकल सहर कुरुप लाग्छ । करिब सत्र बर्षमा मैले बाचेको समाज यती कुरुप कहिल्यै देखेको थिएँ । गिन्र्सवर्ग भन्ने, “मैले भेटेका सबैभन्दा असल मानिसहरु कि गाँजाले कि भोकमरीले मर्दैछन्” आजकल मलाई त्यस्तै लाग्छ ।

Friday, September 22, 2023

अन्त्य

 अन्त्य

निर्जला अधिकारी

यो यात्राको अन्त्य होइन । न सुरुवात हो । वा यो  उसले भनेझै जीवनको अप्रत्याशितताको उपज पनि हुनसक्छ । थाहा छैन यो के हो ...... जे पनि हुनसक्छ ।

सम्बन्धलाई धागोले नाप्न खोज्ने हो भने यो केही होइन । ऊ अब सदाका लागी टाढा जाँदैछ । म पनि अलबिदा भन्दैछु शुभकामनाका साथ । यो उसको अन्तिम बिदाई  होइन तर उसको र मेरो सम्बन्धको बिदाई भने पक्कै हो । थाहा छैन त्यो पनि होइन की । म दुबिधामा छु, भावनाहरु उर्लीएका छन् तर शब्द छैनन् ।

अन्त्यमा म लेख्छु “धन्यबाद, मैले तिमीलाई भेट,े यो भर्चुअल संसारमा भौतिक संसारमा नभएपनि । म खुसी छु र हुनेछु” ...... मेरो अन्तिम डिएम उसको लागी यही थियो  । उसले लभ रियाक्ट गर्यो । र यो हाम्रो अन्तिम संवाद रहने कुरा जनायो ऊ भोलीपल्टबाट टुइटरको संसारबाट बिदा लिदैँ थियो ।  जुन उसको र मेरो सम्बन्धको अन्तिम यर्थाथ थियो । म उस्लाई यो यर्थाथलाई बदलौ भन्न पनि सक्दैनथेँ ।

मेरो लागी टुइटरको दुनियामा भेटेको र त्यहीबाट छुटेको ऊ पहिलो र अन्तिम ब्यक्ति होइन । र पनि बिशेष पक्कै हो । म उसलाई यो ढुङ्गा माटोको संसारमा भेटेपनि चिन्नेछैन । म खोज्दै हिटेपनि भेट्ने छैन ।  जीवनको यो अनौठो बिष्मयमा म आइपुगेकी छु । “उसलाई नसक्यिोस् भन्दाभन्दै सकिएको सपना ठानेर बिर्सने कोसिस गर्नेछु” म मनमनै भन्छु । मन त हो भित्रभित्र च्वास्स दुख्छ ।

टुइटरको संसार रमाइलो लाग्थ्यो किनकी त्यहाँ ऊ थियो । करिब पाँच वर्ष टुईटर चलाएर, म एक बर्ष अघि मात्र बिदा भएकी थिएँ । लाग्यो फेरी फर्कु,  मन न हो फर्किउँ फकिउँ भो फर्के । नयाँ आइडि खालेँ । मैले करिब एक बर्ष पहिले यसरीनै टुइटरमा भेटिएको ऊ मेरो लागि रहस्यको एउटा पोको थियो । मैले पहिलो आइडि उसकै फलो गरेँ । ऊ बास्तबमै को हो मलाई थाहा थिएन तर उसको टुइटरको नाम मलाई मनपथ्र्यो । 

नाम त म भन्दिन, तर उसको नाम बिशेष थियो । “नाममा के छ ? भन्छन् तर उसको टुइटरे नाममा केही थियो जसले मलाई कनेक्ट गथ्र्यो । पहिलो पटक मैले उसलाई भनेको थिएँ, “ मलाई तिम्रो नाम मनपर्छ ।  सेक्सपियरले जसरी मैले पनि नाममा के छ भनेर बसिरहन सकिँन ।” उसले फुर्काउँदै भनेको थियो, “ यो तिम्रो बडप्पन हो । खासमा म हाँवा हु ।” उसले किन आफैले आफूलाई हावा भन्यो मैले कहिल्यै सोधिन मलाई सधै लाग्यो उ अदृश्य बन्न चाहने भएर पो हो की ? मलाई लाग्थ्यो त्यसैले आफ्नो बास्तबीक परीचय बिनानै ऊ टुइटरमा छ ।

ऊ सँग बोल्नुनै पर्ने केही थिएन, न हामी कतै यात्रामा भेटिएका अपरिचित थिया,ैँ न बषौ पछि भेटिएका साथी, न कसैसँग बोलुबालु लाग्ने उमेरमा मान्छे । म तिसकी थिएँ उ बत्तिसको । हाम्रो उमेर, नौलो अपरिचितलाई देख्नेबित्तिकै बहकिने उमेर थिएन । 

उसको हेल्लो मा मेरा हाइ थपियो । यसरी बोल्ने बोलाउँने क्रम जारी रह्यो । उ को हो ? कस्तो छ मलाई थाहा थिएन । टुइटरमा उसको परिचय उसको विचारले मात्र निर्धारण गथ्र्यो । हाम्रा लागी एक अर्काको परिचय र चिनारी एकअर्काको विचार मात्र थिए । 

पहिलो गफमै उसले मलाई सोधेको थियो यदि तिमी अफ्ठेरो मान्दिनौ भने म तिमीलाई एउटा प्रश्न सोध्छु है? म तिम्रो प्रेम, विबाह, यौन र समग्र जीवन बारे धारणा बुझ्न चाहन्छु । उसले  मलाई नभन्न पनि पाउँने स्वतन्त्रता दिएको भएर मलाई उसका प्रश्नहरु त्यति अप्ठ्यारा लागेनन् । यौन बारेचैँ मैले भन्न चाहिन । त्यहि प्रश्न अरु कसैले अरुनै ढङ्गबाट सोधेको भए म  त्यति सहज हुन सक्दैनथेँ ।  सजिलै त्यो ब्यक्तिलाई ब्लक हान्न पनि सक्थेँ ।

उसँग बोल्न थालेको समय म भर्खरै एउटा एकोहोरो प्रेमबाट बाहिर निस्कन खोज्दैथिएँ ।  मलाई सजिलो थिएन फेरी अर्कोसँग सजिलै नजिक हुन । मैले उसलाई भनेकी थिएँ, “ बर्षौ आफ्नो ठानेर पनि आफ्ना नहुनेसँग न्यानोपन खोज्नु मेरो आफ्नै कमजोरी थियो । म  चाहन्न त्यही चिज फेरी दोहोर्याउँ ।   त्यहि अप्राप्तिको कुन्ठामा बाच्न म पुर्न तयार छैन । मलाई मौन अस्विकृतिसँग डर लाग्छ ।” उसले मलाई भनेको थियो अब तिमी त्यो सम्बन्धको चिसोपन बाट बाहिर निस्कन सक्नुपर्छ । संसारमा न्यानो दिनेहरुको पनि कमि छैन । मलाई कताकता लाग्यो सायद ऊ नै  त्यो ब्यक्ति पो हो की !

उसले र मैले एक महिना जीवन र जगतबारे गहिरा   े संवादहरु गर्यौ  जुन मैले यसअघि कोही अरु अपरिचित सँग गरेकी थिइन । मलाई थाहा थिएन जीवन जगतबारे ऊ मस्ाँग किन त्यस्ता गहिरा संवाद गथ्यो । मैले सोधिन पनि वा भनौ सोध्न पनि चाहिन । मलाई त उसँको बास्तबिक नाम पनि थाहा थिएन ।  बस् मलाई यति थाहा थियो ऊ किताबलाई प्रेम गर्छ जस्तो म गर्छु । अलिअलि आफूलाई पढाकुँ ढान्ने मेरो भ्रम उसैले तोडीदिएको थियो । 

कहिलेकाही ऊ मलाई कुनै उपन्यासको पात्र जस्तो लाग्थ्यो उसका प्रश्नहरु पनि त्यस्तै हुन्थेँ । मैले यसअघि ज–जसलाई प्रेम गरे ऊ ति भन्दा बिलकुल भिन्न थियो । ऊ त्यस्तो ब्यक्ति थियो जो सँग म प्रेम गर्न चाहन्थेँ । वा भनौ प्रेम गर्न चाहन्छु ।

भर्चुअल संवादहरु अल्लि लत लाग्ने किसिमका हुन्छन् । त्यस्तै भयो भनौ एक महिनामै म उसँग संवादको लतमा फसेँ । यसअघि प्रेममा मात्र फसेकी म यसपटक संवादको लतमा फसेँ । “ऊ भन्थ्यो जीवन र प्रेम दुवै अनिश्चयताका पर्याय हुन् ।” म भन्थेँ, “म फेरी अर्कोपटक एकोहोरो प्रेममा पर्न चाहन्न मलाई अनिश्चयता सँग डर लाग्छ” ऊ भन्यो “यो डराउँने बिषय होइन,  त्यसको लागी त जहिले पनि तयार हुनुपर्छ“ । म भन्थे, “म चाहेर पनि तयार हुन सक्दिन, मलाई तिमीलाई साथीमात्र सोच्छु प्रेम गर्न सक्दिन भन्नेसँग डर लाग्छ । म अब फेरी अर्को कोहीसँग प्रेम गरेर आफ्ना भावनाहरुलाई बली चढाउन सक्दिन । “

संवादहरु यी यस्तै हुन्थेँ । एक महिनापछि ऊ एकाएक हरायो । जसरी पानी परेपछि बादल हराउँछ । मैले कल्पना पनि गरेकी थिइन ऊ यसरी हराउला भनेर । उ अर्को क्षितिजको यात्री झै एकाएका मेरो डियमको इतिहासबाट हराउँदै थियो । मलाई लाग्यो अब मैले उसलाई यात्रामा भेटेको यात्री सम्झेर वा कहिलेकाही मात्र झुल्कने परको इन्द्रेणीभmै सम्झेर भुल्नुपर्छ । बिर्सनुबाहेक मैले उसलाई कही खोज्न सक्दिैनथेँ ।

एक महिनापछि ऊ टुइटरको दुनियामा त झुल्क्यो तर हेल्लो हाई पहिलेजस्तो गर्न छोड्यो । एक दिन “म मेरो काममा धेरै ब्यस्त भएकाले टुइटरमा कम आएको हुँ ।” उसले भन्यो । मैले किन आएनौ पनि भन्न सकिनँ । र स्माइलिका साथ भन्यो अब म भोलीबाट आउँनेछैन । मैले भने, “के अब गुडबाइ भन्ने समय आएको हो र ?  उसले हो भन्यो । मैले बिदाइका हातहरु हल्लाए । यो उसको मेरो डिजिटल सम्बन्धको अन्त्य थियो ।

थाहा छैन अब ऊ फेरी भेटिनेछ वा छैन । वा भेटिएपनि चिनिने छ वा छैन । यो अन्त्य हो वा सुरुवात ? अथवा यो केही होइन ? मैले बुझेकी छैन  वा मैले बुझेर पनि बुझने छैन । मलाई सधै लाग्थ्यो पर जान खोज्नेलाई जान दिनुपर्छ । मैले सधै परजानेहरुलाई बिदाइका हात हल्लाएँ । मलाई लाग्थ्यो कुनै दिन कोही आउँनेछ जीवनमा जो परजान्छु भनेर पनि फर्कनेछ । तर यो पटक ऊ फर्कनेँछ भन्ने आशा पनि रहेन मसँग । फर्किए पनि उसलाई मैले चिन्ने सम्भावनाहरु सारै कम छन् । 

सायद ऊ बादलमा कोरिएको चित्र पो हो की? जो सँग रमाउँन सकिन्छ तर भेट्न सकिँदैन । सायद ऊ त्यस्तै केही हो । मन चस्स घोच्छ । दुखेको मनलाई म  फेरी दुखाउँने मुडमा छैन । उसँगको सम्बन्धको यो अन्त्य हो । मैले यहि बुझ्नुपर्ने हुन्छ । जुन मैले चाहेकी थिइन त्यहि भयो । म फेरी अर्कोपटक अप्राप्तिको पिडा भोग्दैछु सायद उसले भनेझै यी सबका लागी  म अब तयार हुनुपर्छ ।.........................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................

 उसले पहिल्यै भनेको थियो म हावा हुँ । मलाई लागेको थियो ऊ हावाको चरम स्वरुप बतास हो । हुन त  निमेसभरमा जीवनमा छिर्ने र निमेसभरमै बाहिरिनेहरु हावाका झोक्काहरु नै हुन् । मलाई पनि लाग्थ्यो ऊ त्यस्तै केही हो ।  उसले गरेको अन्तिम डिजिटल गुडबाइ मलाई लागेको थियो हाम्रो डिजिटल यर्थाथको अन्तिम सत्य हो । 

तर त्यस्तो भएन । ऊ फेरी ट्विटरमा फक्र्याे र भन्यो , “तिमीले लेखेको कथा पढेपछि किनकिन मलाई फर्कूफर्कू लाग्यो । मेरो फर्काइमा तिमी खुसी त छ्याौ नि ? भनन् ?” त्यो मेरो कथाको अन्त्य थियो सायद मैले कल्पना गरेको उसको र मेरो सम्बन्धको पनि । तर उसले भनेझै जीवनको अप्रत्यासितता त्यहा पनि लागु भयो उ फेरी ट्विटरमा फक्र्याे ।

मैले भने, “ म खुसी छु  तिमीले सोचेभन्दा धेरै नै” त्यो दिन उसले हासेको दुइटा इमोजी मात्र पठायो । भोलीपल्ट बिहान ट्विटर खोल्दा हरियो बटन देखेँ । खोलेको उसको डियम रहेछ , डियम उसले लेखेको थियो “ तिमी बारे म के महशुस गर्छु मलाई थाहा छैन तर तिमीले कथामा जसरी हाम्रो सम्बन्ध ब्यक्त गर्यौ त्यो सुन्दर थियो । तिम्रो कथा पढेपछि मलाई लाग्यो म यर्थाथमा भन्दा कथामा रोचक लाग्दोरहेछु ।” उसको प्रतिउत्तरमा मैले भने, “तिमी बास्तबमै रोचक छौ, तिमीमा चाखलाग्दोपना नभएको भए तिम्रो बारे म कहिल्यै लेख्ने थिइन । झन् प्रकाशित त गर्नेनै थिइन । तिमी मेरो डायरीमा मात्र सिमित रहने थियौ ।” उसले “ ओ त्यसो पो ............चाखलाग्दो मान्छे म भनेर” प्रतिउत्तर दियो । यसरी रोकिएको हाम्रो सम्वाद फेरी दोहोरिन थाल्यो ।

“यो डिजिटल सम्वादको यूग हो । तिमी र म चाहेर पनि योबाट  टाढा हुन सक्दैनौ । तर जसरी मैले तिमीलाई कथामा प्रेमील र रोचक पात्र बनाएकी छु  यो मेरो आफ्नै स्वार्थ हो । तिमी आफूलाई कथाको पात्र जस्तै छु भन्ने नसोच । तिमी त्यो पात्र त हौ तर मेरो कल्पनाका,े यर्थाथमा तिमी त्यो भन्दा फरक पनि हुनसक्छौ । मैले बुझ्नै बाकी छ तिम्लाई” एक दिन हाम्रो सम्वादको क्रममा मैले च्वास्स भनिदिएँ । उसले त्यस बखत केही भनेन ठिकै हो मात्र भन्यो । मलाई थाहा छैन उसले त्यो दिन के सोच्यो । भोलीपल्ट सम्वादकै क्रममा उसले  एउटा महत्वपूर्ण कुरा भन्छु ल भन्यो । मैले हस् भने । उ त्यो दिन लगातार बोल्यो , “ जब मैले तिम्रो कथा पढेँ मलाई लागेको थियो तिम्ले मलाई साच्चै मनपराउँन थालेकी छौ । र मलाई लाग्यो लोभिएका मलाई हेर्न चाहने आँखाबाट म यति चाँडै ओजेल पर्नु हुँदैन । बास्तकमा म फेरी ट्विटर तिम्रै लागी फर्किएको थिएँ । सायद तिम्रो त्यो कथा नपढेको भए म फकर्ने पनि थिइन होला । तिम्रा अक्षरहले मलाई लोभ्यायो । वा तिम्रो म प्रतिको हेराइले । तर हिजो तिमीले जे भन्यौ त्यो सुनेपछि थाहा भयो कथा लेख्नु भनेको स्वार्थी हुनु रहेछ । तिमीले जे भन्यौ त्यसमा मैले तिम्रो लेखकीय स्वार्थ मात्र बुझेँ । कथालाई रोचक बनाउँन जसरी तिम्ले हाम्रो सम्बन्धको कृतिम प्रेमिलतालाई रोज्यौ यसले मलाई दुखि बनाएको छ ।”  उसले त्यो दिन गरेको सम्वादले मलाई दुखि मात्र होइन ऊ भन्दा झन् दुखि बनायो । मैले उसलाई म तिम्लाई मन पराउँदिन कहिल्यै भनेकी थिइन तर उसले यसरी बुझ्यो मानौ त्यो कथा झुटको पुलिन्दा थियो । मैले त्यो कथा झुटमाथि झुट थप्नको लागी लेखेकी थिइन ।  त्यो समयको अनुभूति थियो तर अनुभूति जस्तै यर्थाथ पनि पे्रमिल थियो आज पनि  म भन्न सक्दिन ।

यदाकदा लेखेर गर्ने सम्वादहरु अपूर्ण बन्न पुग्छन् । सायद शब्दहरुले बिरलै अनुभूतिलाई ब्यक्त गर्न सक्छन् । मैले चाहेर पनि त्यसपछि  उसलाई मन पराउँछु भन्न सकिन । उसलाई लाग्यो मेरो जीवनमा उ पात्र बन्यो र पात्रमै अन्त्य भयो । मलाई लाग्यो म कथाकार भए र एक सुन्दर सम्बन्धको अन्त्य कथामै गरेँ ।

मैले कथामा गरेको सम्बन्धको अन्त्य सुन्दर बन्यो तर उहि चिज जीवनमा एक अपूर्ण र कुरुप यर्थाथ बन्न गयो । त्यसपछि उ पहिलेझै मसँग कहिल्यै बोलेन । उसका र्यान्डम प्रश्नहरु जसले मलाई उ प्रति कायल बनाएको थियो त्यो मैले चाहेर पनि फेरी महशुस गर्न पाइन । त्यस दिनपछि उसले मलाई पहिलेझै के छ हजुर कहिल्यै भनेन र म उसको प्रिय मान्छेबाट लेखक महोदयमा रुपान्तरित भएँ ।

मलाई जहिले लाग्थ्यो जीवन कथाहरुको सुन्दर संयोजन हो । बिना कथा हामी सबै अपुरा छौ । तर मैले जीवनलाई हेरेको दृष्टिकोण केवल एक स्वप्न चित्र बन्न गयो । यर्थाथमा जीवन कथाभन्दा गयौ गुना कुरुप र कठिन रहेछ । जसरी उसको चित्रण पात्र हुँदा सुन्दर लाग्छ यर्थाथमा त्यो भन्दा कयौ गुना अमिल्दो लाग्दो रहेछ । आजकल म उसको र्यान्डमनेसमा आफूलाई समेट्न खोज्छु तर लेखक चाहेर पनि र्यान्डम बन्न सक्दोरहेनछ । अरुझै म पनि कथाको मिथिकल संरचनामा बाधिएकी रहेछु जीवनकोझै ।

यर्थाथमा कथा कहिल्यै जीवन बन्न सक्दो रहेनछ । र जीवन कहिल्यै पूर्ण कथा बन्न सक्दो रहेनछ । हामी अकथाभित्र कथा मात्र खोज्दा रहेछौ । र कथालाई सुहाउँने बनाउँन बास्तबिकतालाई बदल्दा रहेछौ वा भनौ एकल यर्थाथलाई पूर्ण सत्य बनाउँन प्रयास गर्दा रहेछौ । मैले त्यही गरेँ मैले कल्पना गर्ने प्रेमिलतालाई उसको र मेरो सम्बन्धको प्रेमिलतामा बदल्न खोजेँ र नराम्ररी पछारिएँ । आज म कथाकार भएँ तर किनकिन सम्बन्धको बागडोरमा बाहिरनै रहन पुगेँ । सायद यो कथाकारहरुको समस्या हो । हामी जीवनलाई दोहोरीरहने बिम्बझै कथा भनिदिन्छौ तर जीवन कथा हुँदै होइन । जसले बनाउँन खोज्छ उ जीवनका पात्रहरु माथी खेलवाड मात्र गर्छ ।

यर्थाथमा मैले कथा मेरो आफ्नो लागि लेखेकी थिएँ उसले बुझ्यो त्यो उसको लागि थियो । कथा लेख्नु आफैँमा एक इतिहासलाई आफ्नै नजरले केरमेट गर्नु हो । र केरमेट माथि प्रश्न गर्नु जायज पनि थियो उसले त्यहि गर्यो । उ कथाकार थिएन उ जीवनको नायक थियो त्यसैले यर्थाथताको खोजी गर्यो । म कथाकार भए र यर्थाथलाई मोड्न खाजेँ । के यो सामान्य हो वा मानिसको रुपमा मेरो कमजोरी हो म अझै बुझ्दै छु । तर एउटा त्यस्तो ब्यक्ति जसलाई चाहेर पनि गुमाए त्यसले मानिसको रुपमा मलाई सधै पिडा दिनेछ ।

बिस्तारै बिनाकारण उसको र मेरो सम्वाद पातलिँदै थियो । म चाहन्थे मेरो कथाले लेखेको इतिहास पुनरावृत्ति नहोस् । तर त्यहि दोहोरीएको छ जुन म नदोहोरीयोस् भन्ने चाहन्थे । करिब एक महिना भयो उससँग म बोलेकी छैन । उसले बोलाएको पनि छैन । उसको र मेरो सम्बन्ध वा भनौ डिजिटल सम्बन्ध अब पात्र र लेखकको रुपमा टुङ्गिएको छ । र जीवन आफैमा एक कथा बनेको छ एक अपूर्ण कथा । उ पात्र भएर खुसी छैन । म जीवनलाई केरमेट गरेर कथा बनाएकोमा पनि खुसी छैन । 

उ कता गयो के गर्दै छ न पहिले थाहा थियो न अहिले थाहा छ । उसको र मेरो विच जहिले पनि अर्ध सत्यहरु साक्षि थिएँ आज पनि त्यहि छ । उसलाई तिमी कथामाझै त्यति प्रेमिल चाखलाग्दो नभएर पनि प्रेमिल छौ किनकी मैले कथाको तिमी भन्दा पनि बास्तबिक तिमीलाई मनपराउँछु भन्न कहिल्यै सकिँन । कथाकारको रुपमा मलाई यी बाक्यहरु अपूर्ण लागे । तर मानिसको रुपमा मैले उसलाई हेर्ने नजर यहि हो । तर उ आफ्नो यात्राको लागि म बाट बिनाकारण टाढा भएको भए पनि म खुसि हुन्थे तर उ मेरो कथाको कारण म बाट टाढा भएको छ जसले मलाई सधै पोल्नेछ । कृपया यो कथा कहि कतैबाट पढ्दैछौ भने “तिमी खुसी त छौ नि भन्दै फेरी आइदिनु” म तिमीले सोचेभन्दा बढी खुसी हुनेछु ।

Monday, September 18, 2023

मसिना कुरा –भाग ७

 

दिन घमाइलो छ । आकाश खुल्ला छ । मानिसहरुको चहलपहल केही बाक्लो छ । पुजाकोठाबाट धुपको बास्नाले सडक र गल्लिहरु महकिँदै छन् । आजको बिहानी सोचेझै शान्त छैन । एकखाले चहलपहल हिजो देखीनै कायम छ । झ्यालमा बसेर बाहिर निहाल्दै छु । महिलाहरुमा बिसेष उत्साह छ, बिहानै नुहाएको कपाल फिजाउँदै दुवो र फूल टिप्दैमा उनीहरु मस्त छन् ।

यो तीजको बिहानी हो, आज टोल, छिमेक र सडक शान्त बन्न चाहेर पनि बन्न सक्दैन । आजबाट असोज लागेको छ । मौसममा चिसोपन बढ्न थालेको छ । बिस्तारै सयपत्रि र मखमली फूल्न थाल्नेछन् । हावामा सयपत्रिको महक मिस्निेछ । मलाई कहिलेकाही यो सब बारे सोचिबस्दा कुनै चक्रझै लाग्छ । हरेक बर्ष यसरी नै चाडबाडहरु भित्रने गर्छन् र यसरी नै हामीलाई लाग्छ यो कुनै नौलो चाड होइन र पनि नौलो हो ।

कहिलेकाही लाग्छ यी चाडबाडहरुलाई म अबलोकन मात्र गर्छु । म यसमा प्रत्यक्ष सहभागीता जनाउँदिन । हिजो जस्तो थियो मेरो लागि आज पनि उही हो । यति हो बाहिर हेर्दा अल्लि फरकझै लाग्छ । भर्खरै चियाको गिलास रित्ताएको छु । औलाहरु किबोडमा छन्, सिध्याउनुपर्ने काम चाङ लागेको छ । र पनि मलाई यसरी अक्षरहरुमा पोखिन रमाइलो लाग्छ ।  गर्ने भनेको रमाइलो लाग्ने काम नै हो नि, होइन र ?

आमासँग टाढा बस्न थालेको बर्षौ भयो र पनि चाडबाडको बेला आमालाई म नभएको अल्लि कम रमाइलो अवस्य लाग्छ । सायद आमाहरु यस्तै हुन्छन् । मलाई कहिलेकाही लाग्छ अरुलाई गुमाउनु भनेको आधा हो भने आमा गुमाउनु भनेको सिङ्गो हो । उहाँलाई आज पनि लाग्छ अरुका छोरीझै म पनि रातै रंगिएर नाचु, दिनभर बर्त बसुँ । म चाहेर पनि उहाँले सोचझै बन्न सक्दिन । उहाँलाई लाग्छ म  निरस छु । हुन त मलाई पनि कहिलेकाही त्यस्तै लाग्छ । 

सायद हामीले चाहेझै हामी पछिको पुस्ता कहिल्यै बन्दैन । अनेकौ बन्धनहरुलाई नियती ठानेर स्विकारेका मेरा आमा पुस्ताका सबैलाई लाग्छ छोरीहरुले धेरै कुरा नबुझे पनि स्विकार्नुपर्छ । तर समयसँगै स्विकारोक्तिका परिभाषाहरु बदलिँदा रहेछन् । मेरी आमाले मैले बुझ्ने जीवनका परिधिहरु अब बदलिएका छन् । म उहाँको खुसीको लागि उहाँले सोचेझै सबै गर्न सक्दिन । सायद यो पुस्तान्तरणको श्रृङ्खला यसरी नै चलिरहनेछ ।

मलाई  केटाकेटीदेखी नै नानिहरुलाई तिमी यस्तै खाले बन भनेर निर्कोल गर्ने बानी किनकिन उचित लाग्दैन । तीज आउन एक हप्तादेखी नै स्कुने नानीहरु रंगिएर साडी र चोलोमा स्कुल आएको पनि मन पर्दैन । मलाई लाग्छ केटाकेटीलाई आफैले निर्कोल गर्ने अवस्थामा पुगेपछि मात्र यी सब चिजको लागि खुल्ला गर्नुपर्छ । 

कहिलेकाही लाग्छ समाज बदलिसक्यो कहिलेकाही लाग्छ समाज उस्तै छ । चाडबाड स्वतन्त्रता बनुन् बन्धनहरु नबनुन् । कहिलेकाही संस्कृति भन्दा बजार डरलाग्दो लाग्छ । सायद आज संस्कृतिभन्दा पनि बजारले हामीलाई रङ्ग्याउन चाहन्छ । हामीलाई लाग्छ बजारझै बन्नु आफू हुनु हो । बेलुका सञ्जालमा फोटोमा उ राम्री की म राम्री भन्ने पोप्टहरु झुल्किन थाल्छन् । अनि हामीलाई लाग्छ यो सब सामान्य हो । तर के यो सब सामान्य हो ? बर्षौ भयो आफैलाई सोधिराखेको आज पनि सोधिरहेछु ।

Saturday, September 16, 2023

मसिना कुरा– भाग ६

“जिन्दगीले दियो यति छोटो मिलन, मैले चाहेजति माया गर्न सकिन, मलाई माफ गर” दुर्गा परियारको यो गीत मोवाइलमा बज्दै छ । दिन घमाइलो छ अनि रमाइलो पनि । आकाश खुल्ला छ । भर्खरै आफ्नै हातको चिया खाइभ्याएकी छु । कहि जानु छैन । कहिलेकाही आफैसँग मात्र बिताएका यी दिनहरु अति नै प्रिय लाग्छ ।

शनिवार भएकाले होला मान्छेहरुको चहलपहल कम छ । सबारीसाधनहरु सडकमा कम छन् । बिहानीको सान्नाटालाई कसैले बिथोलेको छैन । मार्खेजका दुई पुस्तकहरु र अरुण सरको पुस्तक रिडिङ टेबलमा छन् । भर्खरै स्मृति रबिन्दरको “द उमन हु क्लाइम्ड द ट्रि” पढिभ्याएकी छु । लामा पुस्तकहरु पढ्न मलाई अत्यास लाग्छ । करिब ४५० पेजको यो पुस्तक पढ्दा त्यस्तै अनुभव पाएको छु ।

आज शनिवार भएकाले होला मन शान्त छ । कहि भाग्नुपर्ने, सिद्वाउनुपर्ने कामका डेडलाइनहरु कम छन् । हुन त दैनिकलाई पेल्ने अत्यासलाग्दा काम गर्न छाडेको तीन बर्ष भै सकेछ । मन नपर्ने काम गर्दिन भन्ने अवस्थामा पुग्नु पनि लग्जरी नै रहेछ । दुर्गा परियारको यो गीतले अनाठो महशुस गराउँदैछ । हाम्रा गीतहरुमा  प्रेम र मिलनका कथाहरु असाद्वै भेटिन्छन् ।

प्रेम , मिलन, बिछोड यी यस्ता अमूर्त शब्दहरुलाई ब्याख्या गर्न कदापी सजिलो छैन । जीवनझै यी सब कुराहरु छ्यभङ्गुर छन् । केलाई प्रेम भन्ने, केलाई प्रेम नभन्ने मलाई प्रेम भन्ने शब्द असाद्वै मिसलिडिङ लाग्छ । प्रेम गरेझै महसुस गर्नु छुट्टै कुरा तर साँञ्चै प्रेम केहो भन्ने प्रश्न अर्कोतिर आउँछ । हुन त यी कुराहरु गर्नु बेकार छ । सायद संसार यीनै प्रेमका कथाहरु बेच्न आतुर छ । म मेरा कथाहरुमा मेरा पात्रहरुलाई , “म तँलाई प्रेम गर्छु भन्ने बनाउँन सक्दिन” । मलाई लाग्छ यो सब बेतुकको कुरा हो । सायद यो मेरो कमजोरी हो ।

मिलन र बिछोड सायद यी सब सुनिआएका आफ्नाझै लाग्ने अबधारणाहरु मात्र हुन् । गहिरेर हेर्दा यीनिहरुको अस्तित्व छ पनि छैन पनि । तथापी हामी आफ्ना अगावहरुलाई प्रेमकै अर्को स्वरुप ठान्छौ । सायद मिलन र बिछोड जीवनका नियतीहरु मात्र हुन् । छोड्नु र एक अर्कावाट टाढा हुनुको नियतीलाई हामी कसैले टार्न सक्दैनौ । 

यी गीतका कुरा भए जीवनमा पनि हामी सात जुनीका कुरा गर्दा रहेछौ । आजलाई नदेखी भोलीको कल्पना गर्नु सायद हाम्रो मिथकिय कल्पना हो । गहिरेर हेर्दा मानिस मानिस बिचको सहयात्रा केवल केही समयको लागि हो । आफ्नाहरुलाई बिस्तारै गुमाउँदै जानुको नियतीलाई हामी टारेर पनि टार्न सक्दैनौ । त्यसैले अजम्बरी कल्पना गर्नु बेअर्थ लाग्छ  र बेतुकको पनि ।

सायद मिलन बिडोडका कथाहरु हामी सधैँ गाइरहेनेछौ । बिडोडलाई सरापिरहनेछौ । र प्रेमका शब्दहरुलाई अगालिरहनेछौ । हुनसक्छ यी सब लगावका कथाहरु हुन् । हामी चाहेर पनि मूक्त हुन ग्राहो छ । यी माया मोहका जन्जालहरुमै हामी रुमलिरहनेछौ ।

Friday, September 15, 2023

मसिना कुरा– भाग ५

 

चराहरुको चिरबिरले बिउँझिएको छु । बिहानी रमाइलो छ तर शरीर फूर्तिलो छैन । बिरामी परेको बेला सम्झने भनेको घर र आमा नै हो । आलस्यताले छोड्न सकेको छैन । तथापी सुतिरहन सक्दिन । बिहानीलाई महसुस गर्न चाहन्छु ।

मानीसहरुको ओहोरदोहोरको रफ्तार सकिएको छैन । करबलले हिड्दा दुख ठान्नेहरु आफ्नो इच्छाले जति पनि हिड्छन् भन्ने बुझ्न ग्राहो छैन । हल्का चिसोपन बढेको छ । आकाश खुल्ला छ । प्रकृतिले दिने आनन्द सायद अरु केहीले दिन सक्दैन । तथापी बिरलै जीवनको खुसीको आधार प्रकृति भन्ने ठान्छौ ।

अब एकछिनमा कामको लागि निस्कनुछ । शरीरले जा भन्न सकेको छैन । तथापी जनि नै कठिन भएपनि कमामलाई कामकै रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । आफूलाई चलाएमान नबनाएको भोलिपल्ट समय आफ्नो हातमा रहँदैन । थुप्रै कामहरु  सिद्वयाउनुपर्ने छ । समयलाई हामी रोक्न सक्दैनौ । यी अनौठा भाष्यहरुभिज उठ्नु र दौडनुको नियतिलाई हामी नर्कान सक्दैनौ ।

कहिलेकाही लाग्दछ केको लागि यो भागदौड गर्दैछु के पाउँदैछु के गुमाउँदैछु । आफूले आफैलाई प्रश्न गर्न थालेको पनि कयौ बर्ष भयो । प्रश्न गर्नुको बिकल्प अरु केही छैन । आफूले आफैलाई प्रश्न गर्न छाडेको भोलिपल्ट आत्मरतिमा रमाउँन मात्र सकिन्छ । आफूले आफैलाई म गज्जबको मानिस हुँ भन्ने ठान्न गाह्रो छ । गुनासो त आफैँसँग पनि रहदो रहेछ ।

यी गुनासाहरुविच आफैलाई अघि बढाउनुको बिकल्प छैन । सायद हामी सबैले चलायममान हुनुको नियतीलाई स्विकार्छौ । गुनासो र कुण्ठालाई बोकेर हिडिरहन नसकिने रहेछ । 

कहिलेकाही लाग्छ, संसारलाई गह्रौ्र र उराठलाग्दा लाग्ने यी यस्ता कुरा कति गरिबस्नु । अरुझै भैदिनु पनि ठिकै हो । दुई चार ओटा टिकटक भिडियो बनाउँ, दुई चारवटा आत्मरतिका पोष्टहरु फेसबुकमा गरेर यहि हो जीवन भनेर रमाइदिउँ भन्ने पनि लाग्छ । धेरैको लागि जीवन भनेको त्यस्तै केही हो । तर मन मान्दैन । यो नमान्ने मनलाई म मनाइराख्न पनि सक्दिन ।

आज गफ गरिबस्ने बिषय पनि रहेनछ । सायद म रित्तो छु । कहिलेकाही यस्तो अबस्थामा रहनुले अर्कै आनन्द दिन्छ । सायद केही नरहनु सबैथोक हुनु हो । सबैथोक नभएको अबस्थामा हामी ठूलो आवाज निकाल्छौ । अपूर्णताको अवस्था असाद्वै अप्रिय अवस्था हो । हुन त पूर्णताको अनुभूति हामीसँग बिरलै हुन्छ । 

आज भन्नेकुरा यतिनै भएकाले यी मसिना गफहरुलाई यहि अन्त्य गर्न चाहन्छु । सायद अबको भेटमा अरुनै कुराहरु हुनेछन् ।

Wednesday, September 13, 2023

मसिना कुरा – भाग ४

 

पानी परेर आकाश खुल्ला भएपछिको बिहानी कविता लेख्नुअघिको कागजझै लाग्छ । मौसम सफा छ । मानिसहरुको चहलपहल उही गतिमा छ । भर्खरै घाम उदाएको छ । घामका किरणहरुले हल्का चिसो मौसममा हल्का न्यानोपन दिएका छन् । समग्रमा बिहानी रमाइलो छ । पर क्षितिजमा बादलका केही टुक्राहरु अझै केही छन् । मौसममा सरद र बर्षा ऋतु दुबैको प्रभाव छ ।

गर्नुपर्ने काम जम्मा भएर बसेका छन् । तथापी यी किबोडका किहरुलाई मैले नकार्न सकिरहेको छैन । चाडबाडहरु भित्रिएका छन् । राता सारीहरुमा हिड्नेहरुको भिड सडकमा बाक्लो छ । तिज आउनुअघिको अघिल्लो साता मलाई काठमाडौँका गल्लिहरु अचम्मका लाग्छन् । एक वर्गको लागि यो भब्यता र सम्पन्ताको प्रदशन हो, अर्कोको लागि देखासिकि त्यो भन्दा तल्लो बर्गको लागि केबल एक रमिता । यो समय मलाई सहरमा केही रमिता चलिरहेझै लाग्छ । म यसलाई स्वतन्त्रता मात्र भनेर आफूलाई सम्झाउँन सक्दिन । दायित्व बिनाका स्वतन्त्रताहरुले मलाई कहिल्यै आकर्सित गरेन । म यसलाई तिम्रो जीवन तिम्रो रोजाइ मात्र भनेर छोडिदिन सक्दिन ।

हुन त यो सहरमा सधै रमिता नै चलिरहेझै लाग्छ । साउँनमा पहेलो र हरियोको रमिता, भदौमा रातोको रमिता अनि त्यसपछि अर्काखाले रमिता । सायद हामीलाई यस्तै यस्तै गरीराख्न मनपर्छ । शक्ति र सत्तामा रहनेहरको अर्को खाले रमिता । गाह्रो त्यो वर्गलाई छ जसको छोरो सात कक्षा पढ्दापढ्दै गाडिको सहचालक बन्छ, छोरी आठ पढ्दापढ्दै गर्भवती बन्छे, बाआमा आफ्नो गाउँ फर्केर नागरीकता बनाउने हैसियतका छैनन्, त्यही कारण छोराछोरीसँग जन्मदर्ता छैन । उनीहरुको जीवनबारे सोचिबस्न कसैलाई फूर्सद पनि त छैन । सबैलाई  लाग्छ कसैको दुखबारे सोचिबस्नु बेकार हो । यस्तै यस्तै चलिराछ, जताततै रमिता नै त छ ।

यी रमिताहरुको भिडमा आफैँलाई खोजिबस्छु कहिलेकाही, आफ्नो  जीवन पनि एक रमिता नै पाउछु । हुन त भिड केवल एक कोलाहल हो । तर धेरैलाई लाग्छ भिडझै हुनु बास्तबमा जीउँनु हो । तर बिना मतलबको यो देखासिकिको भिडले हामीलाई कहाँ लग्नेछ । आफूले आफैँलाई खोज्दा कहाँ भेट्नेछनै । यो बिनाअर्थका देखासिकिका भिडलाई देखेर कहिलेकाही हाँसो पनि उठ्छ । 

  तिजलाई गालि गर्नेहरु अब तिजलाई स्वतन्त्रता र मूक्तिको प्रतिक ठानेर राता साडीहरुमा नाच्दैछन् । थाहा छैन यो के हो, के होइन ।  तर भिड भनेको आफ्नो विचार बोकेर हिड्ने समूह होइन रहेछ । भिडले त केबल जे देख्छ त्यही नक्कल गर्दो रहेछ । र त्यो नक्कललाई नै आफ्नो बिचार ठान्दो रहेछ  ।

राता साडिमा नाच्नेहरुको भिडमा ननाच्नेहरु बहिष्कृत छन् । ननाच्नेको भिडमा नाच्नेहरु । दुबैलाई आफ्ना अडानहरु सबैभन्दा बुद्विमतापूर्ण लाग्छ । सायद संसार यसरी नै चल्छ । र यसरी नै चलिरहन्छ । यो बारे  सोचिबस्नु सायद दुखी हुनु हो । 

आफ्नै जीवनका रमिताहरु छोडेर अरुबारे सोजिबस्नु मूर्खता हो । कहिलेकाही आफ्नो मूर्खता देखेर आफैलाई हाँसो उठ्छ । 

Tuesday, September 12, 2023

मसिना कुरा– भाग ३


र्मिमिरे बिहानीमा उठेको छु साथमा कुकुरहरुको एकतमासको भुकाइ छ । बाटोमा मर्निङ वाक गर्ने एक लर्को मानिसहरु लोहोरदोहोर गर्दैछन् । सडकमा भर्खरै परेका पानीका डोबहरु छन् । सबले एकतमासको दिनको सुरुवात गर्दैछन् । सायद बिहानीहरु सबैका यस्तै हुन्छन् । तर मलाई घाम झुल्किनु अघिको शितल बिहानी असाध्दै मनपर्छ । बिहानीमा अनौठो मोहकता हुन्छ, दिन अघि बढ्दै गएपछि बिस्तारै त्यो कम हुँदै जान्छ । 

मलाई बिहानी बाल्यकालझै लाग्छ । शान्त, चन्चल तर सुमधुर । घाम उदाएपछि, दिन ठल्केपछि उठ्नेहरु देखेर कहिलेकाही अचम्म पनि लाग्छ । उनीहरुले सिँगो बिहानीलाई मिस गरेझै लाग्छ । 

किबोड अगाडी बसेकी छु । चराका एक बतासहरु आफ्नै लयमा उड्दैछन् । मलाई चराझै स्वतन्त्र कोही लाग्दैन । उनीहरु देश देशावरको यात्रा बिना कुनै परिचय गरिदिन्छन् । चरालेझै संसारको बिबिधता कसले देखेको होला, कसले सम्झेको होला । मलाई चराहरु यायावरझै लाग्छन् । उनीहरुको यात्रा बिना सिमा र बन्धनको यात्रा हो । हामी त बन्धनमा बाधिएका छौ, हामी गर्ने उडान कल्पनाको मात्र हो ।

चराझै स्वतन्त्र भएको भए, बिना पासपोड र बिना भिसा यात्रा गर्न सक्ने भए म पनि म पनि कुनै पर भूगोलमा कोही मानिसलाई भेटी आउँथे । तर सम्भव छैन । हामीहरु सिमित छौ । जति पर पुगेपनि मानिस हुनुको नियती सिसितताको नियती हो । चाहेर पनि हामी आफ्ना सिमितताहरुलाई बिरलै नाघ्छौ ।

हामी जति पर पुगेपनि, आफैसँग भाग्न खोजेपनि रहने घाँम, जून र फूलहरु रहेछन् । माटो रहेछ, नदीहरु रहेछन् । सायद हाम्रा सारथीहरु याीनै हुन् । तर हामीहरुले उनीहरुले दिने साथको अनुभूति बिरलै महसुस गछौ । हामीलाई लाग्छ बाच्नको अरु कोही चाहिन्छ । हामी मानिसहरुमा मात्र साथको खोजी गर्दा रहेछौ । खासमा साथ त हामलिाई प्रकृतिले पो दिँदो रहेछ ।

मानिसले मानिसलाई दिने साथ केही बर्षको मात्र हो । जनम जनम सँगै बाच्छौ सँगै मर्छौ भन्नेहरु पनि केही बर्ष हो सँगै रहने । सायद मानिसले अब एक्लोपनलाई सेलेब्रेट गर्न सक्नुपर्छ । कहिलेकाही लाग्छ जनमजनम, दुरदुरको खोजीमा हामीले आज जीउँन छोडिसकेका छौ । कृतज्ञ हुनुपर्ने त दिनदिनैको साथको लागि रहेछ । आजकल लाग्छ एकतमासले एक्लै यात्रा गर्नुमा कुनै खराबी छैन कृतज्ञ त तिनीहरुसँग  हुनुपर्छ जो दिनदिनै भेटिन्छन् र केही सिकाएर जान्छन् । कहिलेकाही लाग्छ छोडी जानेसँग के गुनासो राख्नु । सायद छाडिहिड्नु मानिस हुनुको नियती हो ।

किनकिन आजकाल सबैकुरा यात्राझै लाग्छ । पाउँनु र नपाउँनुको यात्रा । सायद यात्रामा केही स्थायी हुँदैन मानिसको जीवन पनि त्यहि हो । हामीलाई लाग्छ हामी सधै यस्तै रहन्छौ तर प्रत्येक दिन हामी अघिल्लो दिनको मानिसझै रहदैनौ । तथापी साथ भने हामीलाई अजम्बरी चाहिँदो रहेछ । 

यी यस्तै कुराहरु हरेक दिन सोच्ने गर्छु । लाग्छ यो चिन्तनमनन बिना बाचेँ पनि बाचेझै नहुँदो रहेछ । कहिलेकाही यी कुरा सोचिबस्न लेखीबस्न कसैलाई समय छ र ? जस्तो पनि लाग्छ । समय भएकाले लेख्ने पो हो की भन्ने पनि लाग्छ । यस्तै यस्तै लेखिरहन थालेको पनि दश बर्ष भैसकेछ । लेख्दादेख्दै यस्तो लाग्छ यस्तो देख्नु सामान्य हो । जुन कुरा तपाई सधै गर्नुृहुन्छ त्यो सधै सामान्य नै लाग्दो रहेछ । मेरो लागि लेखाइ त्यही हो । मलाई नपढी नलेखी बसेका दिनहरु अत्यासलाग्दा लाग्छन् । सायद लेख्नु आफैलाई बुझ्नु हो । मलाई आजकाल लेखाई पनि यात्रा झै लाग्छ ।

लेखाई त्यस्तो यात्रा हो जो मलाई गर्नु थियो । यो मैले बाचेको सपना हो । नलेखेको भए यदाकदा लाग्छ म भिडमा त्यसै हराउँने थिएँ । दिन नपुगी जन्मेको हुनाले बुबाले आफन्तसँग भन्नुहुन्थ्यो रे यो ठूली भैन भने म यस्लाई झोलामा बोकेर हिड्नेछु । मलाई त्यहि झोलामा बोकेर हिड्ने मानिस बन्नु छ । मलाई कहिलेकाही लाग्छ लेख्नु भनेको कसैको झोलाबाट कसैको हृदयसम्म पुग्नु हो । मलाई कसैको हृदयसम्म पुग्नु छ ।

Monday, September 11, 2023

मसिना कुरा– भाग २

 

दिन सफा छ । घाम उदाएको छ । झ्यालबाट पर हेर्दै छु फूलका बोटहरु प्रफूलित छन् । बिहानीको घाममा अनौठो उत्साह हुन्छ । त्यो उत्साहले मलाई पनि छोएको छ । सञ्चो नभए पनि भएझै महसुस भएको  छ । काममा गएको छैन । कहिलेकाही काम बिनाका दिनहरु अति प्रिय लाग्छ । टेबलमा केही किताबहरु छन् भर्खरै मेरो कोठामा भित्रिएका, सायद अबको एक महिना यीनले मेरो साथ दिनेछन् । पुस्तकहरु पनि मजस्तै खिरिला छन् । मलाई स–साना स्वरुपका पुस्तकहरुले बढी आर्कसित गर्छन् ।

शरद ऋतुका यी बिहानीहरुले एक खाले सुबास बोकेका हुन्छन् । कहिलेकाही स्मृतिमा पनि पुर्याउँछन् । अबका बिहानीहरुले दशैको सुगन्ध बोकेका हुन्छन् । दशै भन्ने बित्तिकै दशै वरिपरिका हिमालहरुको सम्झना आउँछ । जब घामका किरणहरु हिमालमा पर्छन् त्यो सुनौलो रंगका हिमालहरु दशैका हिमालहरु हुन् ।  केटाकेटी बेला लाग्थ्यो सुनौलो हिमाल देखीनु दशै आउँनु हो । काठमाडौका बिहानीहरुमा त्यी हिमालहरु रहदैनन् तथापी मौसमले दशैको सुगन्ध अवस्य बोकेर आउँछ ।

अबको एक महिना अझ त्यही पुरानो दैनिकिलाई अघि बढाउनु छ । कहिलेकाही कामको निरन्तरता अत्यासलाग्दो लाग्छ । आफैलाई किन यस्तो लाग्छ भनेर  प्रश्न पनि गर्छु  यदाकदा तथापी अनुत्तरीत पाउँछु । मलाई निरन्तरता मन नपर्दो रहेछ आजकाल बुझ्दैछु । मलाई स्थिर मान्छेहरु देखेर असाध्दै लोभ लाग्छ । कहिलेकाही लाग्छ रुखहरुझै स्थिर हुनुपो जीउँनु हो । बिना हलचल जीउनुको नियतीलाई स्विकार्नु सायद जीवनको मध्यमार्गमा यात्रा गर्नु हो । तर आफूले आफैलाई हेर्दा बतासझै भेट्छु । सायद बहकिन्छु र पो लेख्छु । यी बिनाअर्थका लेखाइहरु पनि त्यसैका स्वरुपहरु हुन् ।

करिब दुई बर्ष भयो बनारसका गल्लिहरु लोभ्याउँन थालेको । थाहा छैन किन तर छिट्टैनै जान चाहन्छु । मलाई कसैले याद नगर्ने गल्लिहरुमा यात्रा गर्नु छ । चिनेजानकोहरुको भिडमा म आफूलाई आफैजस्तो देखाउँन सक्दिन । आज पनि कोही नौलो मान्छेहरुलाई भेट्न भन्दा लामा लामा इमेलहरु लेख्न सजिलो लाग्छ । किन किन लाग्छ लेख्दा म आफूले आफैलाई छल्न सक्दिन । आफै भएर यात्रा गर्न चाहन्छु जहाँँ मेरो भाषा कसैले नबुझोस् । म को हुँ कसैले नचिनोस् र्। कहिलेकाही कमिलाझै जीउँन मन लाग्छ । सायद शुस्म हुनु सबैभन्दा सुन्दर जीउँनु हो  मलाई भब्यतासँग कुनै लगाव छैन । 

मानिसहरुलाई लाग्दो रहेछ एक्लै सहर बजार बिना उद्घेश्य डुल्नेहरु निरासताका बिम्बहरु हुन् । हुन पनि सक्छ तर मलाई लाग्छ, ति आफैलाई बुझ्न हिडेका स–साना बुद्घहरु हुन् । यस्तै यस्तै सोचिरहँदा पल्टाउँने पुस्तक भनेको कि सिस्नेरोजको “द हाउस अन म्याङ्गो स्ट्टि” हो, कि अभि सरको “फ्लानरको डायरी” । मलाई यी दुवै पुस्तकहरु सस्वर पढ्न असाध्दै मनपर्छ सायद अभि सरको भाषामा भन्दा यी शहरमा बिना उद्घेश्य डुली हिड्नेहरु फ्लानर हुन् । चाल्स बदलेएरले अठारौ सताब्दीमा प्रयोग गरेको यो बिम्बमा कहिलेकाही आफैलाई बोकिहिड्छु । कहिलेकाही आफ्नै यात्राको भूगोल नापि हेर्छु । सायद यो बेकामेहरुमको काम हो । हुनसक्छ म पनि त्यस्तै बेकामे हु ।

मलाई कहि पुग्नुछैन भनेर म बुद्घझै बन्न सक्दिन तथापी आफ्ना यात्राहरुले यदाकदा पोल्छ  । सायद आमा लामा यात्रा छिटो छिटो गर्नेहरु सायद जीवनका म्याराथुन धावकहरु हुन् । यदाकदा महसुस हुन्छ म धावक हैन रहेछु म त कछुवाझै रहेछु । मैले गरेको यात्रा आफू भित्रको यात्रा मात्र रहेछ । कहिलेकाही लाग्छ कुनै उचाइमा पुग्नु भनेको आफैलाई भेट्नु हो । सायद हामी सबै आफैलाई भेट्न चाहन्छौ ।

आजको बिहानी यसै सिद्घिएको छ । म स–साना कुरा आफैँसँग गरीबस्न असाद्वै रमाउँछु । सायद यो एक्लो सम्वाद हो । कति ठूलाठूला कुरा कती गरी बस्नु भन्ने पनि लाग्छ । हामीसँग यस्तौ कुरा गरिबस्ने समय पनि त छैन । कहिलेकाही आफूसँग यस्तो कुरा गरीबस्ने समय भएकोमा भाग्यमानी ठान्छु । किताब किन्न सक्ने लागत भएकोमा, किताब पढ्ने समय भएकोमा, चाहिनेनचाहिने कुरा लेखिबस्ने समय भएकोमा म आफूलाई सबैभन्दा भाग्यमानी ठान्छु । सायद यो लग्जरी हो । यदाकदा लाग्छ मलाई यो लग्जरीको भरपुग प्रयोग गर्नुछ ।

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...