कहिलेकाही लाग्छ आफैले बनाएका मानकहरु आफैँले भत्काइदिउँ । आज त्यस्तै कुनै दिन हो । चिसो दिन छ । यी पुसका चिसा दिनहरु अति नै अप्रिय लाग्छ । सबैतिर तुवालोले ठाकेको छ । चिसो सिरेठोले झ्याल छोड्न सकेको छैन । चिसो बिहानीलाई टक्कर दिन चिसै पानीले नुहाएर आएकी छु । लाग्छ चिसोलाई चिसै ठानेर कतिदिन यसै कटाउँ ।
न फूलहरु फर्किएका छन् न चराहरु उडेका छन् । प्रकृति पनि नखुलेको बेला मान्छे कसरी खुल्न सक्छ । सबैतिर धुमिलता छ । यस्तो चिसो समयमा कहिलेकाही चिसा बिचार पनि आउँछन् । चिसो हिमाललाई सुन्दर ठान्नु सायद कुनै भ्रम हो । चिसा चिजहरु कसरी सुन्दर बन्न सक्छन् ? यी दुरीहरुबिच सुन्दर देखिने, सायद चित्रझै लाग्ने केही प्रतिबिम्ब मात्र हुन् हिमालहरु । थाहा छैन कुनै दिन नजिकबाट हिमाल देखेँ भने सायद म भित्र आउँने यी–यस्ता भावनाहरुमा केही पर्विवर्तन पो आउँने छ कि ?
बिहानै यी यस्तै भावनाहरुले रुमलिन्छु । सायद बिहानी आफैँले आफैँलाई एक पटक फेरी फर्केर हेर्ने समय हो । आफैसँग धुमिलिँदैछु र आफैँलाई सङ्ल्याउँदैछु । धमिलिनु सङ्गलिनु सायद नियती हो । जिउनुको नियती । नियती भन्दा पर सायद कोही छ र ? कहिलेकाही रुखहरुलाई एकोहोरो हेर्ने गर्छु यस्तो लाग्छ कसरी स्थिर भैदिन सक्छ कोही । मलाई उनीहरुको स्थिरता देखेर लोभ पनि लाग्छ माया पनि लाग्छ । कयौ हुरी हन्डरहरु त्यसै केही नभएझै कसरी सहिदिन सक्छन् ?
मंशिरको महिना भर्खरै भ्याइएको छ । अब मंशिरमा जस्तो चहलपहल रहने छैन । मलाई मंशिर असाद्वै कुरुप लाग्छ । परम्पराको नाममा, नियतीको नाममा, देखासिखिको नाममा कयौ मंशिरले स–साना नानीहरुलाई आफैँ नबुझ्दै अन्माउँछ, यो देख्नु मेरो अाँखाका लागि असाद्वै अप्रिय समय हो । धेरै नानाीहरुलाई लाग्छ यसले उनीहरुलाई पूर्ण बनाउँनेछ , उनीहरुका आमाहरुझ,ै हजुरआमाहरुझै उनीहरुलाई फेरी लाग्छ नियती यही हो । यो सँग रमाएर हिड्नेहरु मात्र महान् हुन् । यो भास्य सहित समाज चलिरहेछ । थाहा छैन कुनै दिन हामी आफैँले हाम्रो आफ्नै भास्यलाई फर्केर हेर्यौ भने कतिधेरै धुमिलिनेछौ ।
केही वर्ष अगाडी सम्म लाग्थ्यो अब बिस्तारै समय बद्लनेछ । छोरी भएको नाममा, परम्पराको नाममा, बंश र कुलको नाममा अब हामीले आफैँलाई मार्नेछैनौ । कोसँग कसरी जीवन बिताउनेमा हाम्रो आफ्नै रोजाइ हुनेछ । छोरीहरुले वा छोराहरुले आफ्नै रोजाइको यात्रा त गर्नेछन् तर उनीहरुको रोजाइसँगै समाज बद्लनेछ । अहिले लाग्छ समय मात्र बद्लने रहेछ रोजाइ फेरी दोहोरीनेरहने रहेछ । स–साना घुम्टोको साटो भूई लत्रने घुम्टोहरु दोहोरिएका छन्, फूली, तिलहरी र पोतेहरु दोहोरीएका छन् । सायद हामी बद्लन चाहँदैनौ । सायद हामीलाई यही चिज मनपर्छ । सायद हामी यसैमा रमाउँछौ ।
हिजो परिर्वतनका नारा लगाउँनेहरु आज परिवर्तनको अर्कै स्वरुपमा देखिन थालेका छन् । थाहा छैन हामीले लगाएका नाराहरु कहा कता हराए । आधुनिक भनिनेहरु साडीका र चोलीका डिजाइनमा आधुनिकता खोजीरहेछन् । समाजको यो बिद्रपु स्वरुप देख्दा यदाकदा लाग्छ अब समाज होइन समाजसँगै आफू नभिटिएकोमा ै आफैलाई खोज्ने पर्ने समय आएको हो की ?
पुस सिद्विनेछ फेरी माघ र फागुन यसरी नै फर्कनेछन् । असनका गल्लीहरुमा भिड बढ्नेछ । भिडले फेरी पनि त्यही भाष्य बोकाएर अर्को पुस्ता हुर्काउनेछ । परम्परा देखाउँने नाममा, समाजसँगै चल्ने नाउँमा,अरुझै बाच्ने नाउँमा फेरी पनि त्यही भाष्य दोहोरीरहनेछ । सायद दोहोरीनुको यो नियतीलाई हामीले छा्ड्नेछैनौ । हाम्रा आमाहरु, हाम्रा हजुरआमाहरुझै हाम्रा नानीहरुले पनि समाजले बुझाएको यो संरचनालाई नियतीको अन्त्मि बिन्दु ठानेर हिड्नेछन् ।
कहिलेकाही लाग्छ यी सब बोझहरुबाट हामी कहिले मूक्त हुने । सायद मेरी आमाझै कुनै समय मलाई पनि यही भाष्यले पिरोल्नेछ । अरुकाझै मेरी छोरीको सिउँदोमा पनि समयमै सिउँदो रंगिनुपर्छ भन्ने लाग्नेछ । हामी फेरी साडिका रंग र चुराका डिजाइनमा वा अरु कसैको अस्तित्वलाई नियती ठानेर बाचिरहनेछौ ।
सायद यी सबै सबै बारे सोचिबस्नु दुखी हुनु हो । हुनसक्छ आफैलाई फर्किहेर्ने एक बाहाना मात्र हो ........................
No comments:
Post a Comment