Tuesday, December 19, 2023

निशब्दता


म बोल्न सकिन, लाग्यो अब शब्दको कुनै अर्थ छैन । थाहा छैन के भयो उसले केही नभनी फोन काट्यो । मैले आफ्ना आशुहरुलाई रोक्न सकिन । 

हाम्रो सम्बन्ध हेल्लो हाइ बाट सुरु भएको होइन । सायद अरु कोही र्यान्डम मान्छेलेझै बोलाएको भए वा क्रिपि तरिकाले बोल्न सुरु गरेको भए म सायद उसँग कहिल्यै बोल्दैनथेँ । सायद उ मेरो बल्ग पढ्ने गथ्र्यो । एकदिन अचानक मेरो कुनै र्यान्डम बल्ग तल एक लामो कमेन्ट भेँटेँ.............. 

सायद लेख्नु आफैँमा सुन्दर कुरा हो । तर सम्झिराख्नु सबैसँग चाहेर पनि शब्दहरुसँग खेल्ने कला हुँदैन । जब तपाईका ब्लगहरु पढ्छु यस्तो लाग्छ तपाईसँग झै मसँग पनि रिक्तताको कहिल्यै नपुरीने खाडल छ । सायद सबै मानिसहरु अपुरा छन् । हुनसक्छ तपाईझै म पनि आफ्ना रिक्तताहरु सहित बाचिरहेछु । यदाकदा लाग्छ शब्दले रिक्ततालाई कसरी सम्बाोधित गर्ने । तर तपाईलाई पढेपछि लाग्छ सबैचिज सम्भव छ । लेखिरहनुस्......... म तपाईको सेक्रेट एडमाएरर

सायद उ मसँग बोल्न चाहन्थ्यो । सायद सबै मानिस आफूलाई सजिलोसँग ब्यक्त गर्न सक्ने मानिसको खोजिमा सधै रहन्छन् । सायद उ पनि त्यस्तै मानिसको खोजिमा थियो । सायद म पनि । सायद त्यही नै कारण थियो हामी दुबै सजिलै कनेक्ट भयौ । मलाई लाग्यो उ मेरो नाजुकतालाई कठोर बनेर बुझ्दैन । मलाई मैरै पोजिसनमा बसेर सुनिदिने मानिस चाहिएको थियो । सायद उसलाई पनि ।

यसरी दिनहरु बित्दै गए । कमेन्टबाट हामीहरु इमेलमा पुग्यौ, इमेलबाट फोन कलमा , फोन कलबाट भिडियो कलमा । सायद आजकल सम्बन्धहरु यसरीनै बन्दै जान्छन् । सायद मसँग यस अघि भन्नको लागि सिंगो साम्रराज्य थियो तर सुनिदिने मानिस थिएँन । उ यसरी जीवनमा आयो लाग्यो अब मलाई सुनिदिने मानिसको कमि छैन ।

 म उसलाई धक नमानिकन सबै चिज सुनाउँने गथेँ । उसँग त्यस्तो केही चिज छैन जो मैले नसुनाएको होस् । प्रेमको, शरीरको , भावनाको सायद सबै सबै सुनाउँन मिल्ने र सुनाउँन सक्ने सबैसबै म सुनाउँथेँ । उ भन्थ्यो, “ जीवन यस्तै नै हो । यो त नियती हो जीवनको । यस्तो कुरालाई सामान्य घटना मानेर अघि बढ्नुपर्छ ।” सायद मेरा लागि उसले भनेका सबैभन्दा सुन्दर वाक्यहरु यीनै थिएँ । यस्तो लाग्थ्यो कोही जीवनमा यसरी आएको छ जसले आगमनले जीवनका अनेकौ अप्राप्तिहरु प्राप्तिझै बनेका छन् ।

ति सब अनुभवहरु मेरा लागि सधै अनौठा थिएँ । मैले कहिल्यै नजिकबाट यसरी कसैलाई भेटेको थिइन । सायद कहिल्यै सोचेको पनि थिइन जीवनमा कोही त्यस्तो आउँनेछ जसले म भित्रका बिरोधाभाषहरुलाई अप्राप्तिहरुलाई एकाएक प्राप्तिझै बनाइदिनेछ ।

थाहा थिएन उ म बाट के चाहन्थ्यो । सायद उसको लागि त्यो सब सधै कोहीसँग भेट्टिएपछि वा नजिकिएपछि हुने सामान्य बदलाव मात्र थियो । तर मेरो लागि ति सबै सबै चिज सुन्दर अनुभूतीहरु थिएँ । म यदाकदा भन्ने गर्थे जीवनमा तिमीले जे दिएका छौ त्यसले मेरो जीवनमा ठूलो अर्थ राख्छ । सायद उ चाहन्थ्यो मैले यी सब चीजलाई एक सामान्य घटना मानेर अघि बढुँ । उ भन्नेगथ्र्याे , “ तिमीले जे अनुभव गर्यौ त्यो सामान्य चीज हो । हरेक सामान्य घटना जब पहिलोपटक हुन्छ त्यो सधै असामान्य झै लाग्छ । तर जीवनमा एक .खाले दुरी सधै आवस्यक पर्छ । मैले भनेको मान्छेउ भने कृपया केही दुरीबाट मात्र हेरीदेउँ । डिट्याचमेन्ट सधै जीवनमा आवश्यक पर्छ । जहिले पनि जोसँग पनि”। सायद उसलाई जे भन्नु थियो त्यो उसले भनिसकेको थियो । 

मसँग उसका लागि त्यती धेरै अपेक्षाहरु थिएनन् । म त एक अपेक्षा बिहिन मान्छे थिएँ । स्कुलमा घरपरिवारबाट पनि मसँग केही अपेक्षा थिएन । म त केवल एक बतास थिएँ । सायद मसँग उड्नको लागि केही अक्षरहरु थिएँ । मैले नलेखेकोमा वा लेखेकोमा परिवारले मसँग न गुनासो गथ्र्यो न खुसी ब्यक्त नै गथ्र्यो । मेरा लागी शब्दको दुनिया आफैले आफैलाई खोज्नको लागि आइपरेको थियो । म लेख्थेँ किनकी म दुखी थिएँ । समाजसँग परिवारसँग मेरा केही गुनासाहरु थिए । सायद ति गुनासाहरुलाई बाहिर निकाल्न मसँग कुनै अर्को माध्यम थिएन ।

उसको आगमनले म खुसी त भएँ तर किनकिन उसको प्रवेशसँगै मैले मेरो अक्षरसँगको सम्बन्धलाई बचाइराख्न सकिन । उ भन्ने गथ्र्यो , “ म तिमीलाई सबैभन्दा सुन्दर तिम्रा लेखाइहरुमा भेट्छु । लेख्ने काम कहिल्यै नछोड्नु ।” तर थाहा छैन किन उ जीवनमा आएसँगै मैले चाहेर पनि लेख्न सकिन । म चाहन्थे अब मैले धुमिलताका होइन केही उज्याला संयोगका कथाहरु लेख्नुपर्छ । तर थाहा छैन किन मैले संयोग र प्रेमका कथाहरु कहिल्यै लेख्न सकिन । 

उ कहिलेकाही भन्ने गथ्र्यो – “म आजकल तिमीसँग भएर पनि नभएझै महसुस गर्छु । मलाई लाग्थ्यो मेरो साथले तिमीमा रहेको लेखाइको कन्फिडेन्स अझ बढ्नेछ । तर किनकिन लेखकसँग नजिकिनु एक र्दुभाग्य रहेछ । यदाकदा मलाई तिमीसँग नजिकिएकोमा पछुतो लाग्छ ।” सायद उसले जे भन्यो त्यो एक पाठकको रुपमा असाद्घै सुन्दर अभिब्यक्ति थियो । तर एक साथिको रुपमा एक कठोर अभिब्यक्ति । किन किन म ति दुबै सम्बन्धहरुलाई गुमाउन चाहदैनथेँ । 

थाहा छैन किन किन तर म उसलाई गुमाउँन पनि चाहँदैनथेँ तर लेख्न नसकेकोमा पनि खुसी थिइन । म जे थिएँ म दुखी भएर पनि लेखाइमा थिएँ । मलाई आफूलाई गुमाउँन लागेकोमा एक खाले अनौठो ग्लानी थियो । तर उ मेरो जीवनमा यसरी आएको थियो जसले मलाई मान्छेको रुपमा एक पूर्णताको अनुभूती दिएको थियो । म त्यो अनुभूतीबाट पर भाग्न पनि चाहँदैनथेँ।

थाहा छैन के भयो एक दिन अचानक घुम्न जान्छु भनेर निस्केको उ पहिलेझै मेरो जीवनमा फेरी फर्केन । थाहा छैन उसले के सोच्यो । सायद उसलाई म भन्दा मेरो लेखाइ प्यारो थियो । उ बिनाका ति कयौ दिनहरु मेरा लागि सजिला थिएनन् । फेरी म अनौठो रित्तताको अनुभूती सहित बाच्न थालेको थिएँ । उ बिनाको अनुभूतीले फेरी म अक्षरसँग नजिकिन पुगेँ । सायद अक्षरसँग नजिकिनु भनेको आफैँििभत्रको अपूर्णतालाई सम्बाोधित गर्नु हो । उसको अनुपस्थितिले फेरी मलाई लेख्ने कर्म सँग नजिक बनायो । 

करिब दुई महिनापछि फेरी उ फर्कयो तर त्यही स्वरुपमा होइन । सायद उ मसँग जानाजान केही दुरी राख्न चाहन्थ्यो । थाहा छैन किन आज जब फेरी उसँग फोनमा बोलेँ मैले आफ्ना आँशुहरुलाई रोक्न सकिन । थाहा छैन उसले के सोच्यो उसले अनायास फोन काट्यो .................................................

No comments:

Post a Comment

अकथा

दिन ओसिलो छ । सडकमा मानिसहरु दौडिँदैछन् । हिमाललाई बादलले ठाकेको छ । भर्खरै एक कप चिया भ्याएकी छु । साथमा बुवाले दिएको पर्पल डायरी छ । डाय...