कुकुरहरुको भुकाइसँगै बिउँझिएकी छु । सायद उनीहरु केही भन्दैछन्, के भन्दैछन् म बुझ्न सक्दिन । कहिलेकाही लाग्छ उनीहरु पनि हामीले झै सोच्दा हुन् । बिग्रीएको प्रकृति, उन्मूक्त बिना लगामका र दायित्व बिहिन मानिसहरु देखेर आजित हुँदा हुन् । हामीहरुलाई गाली गर्दा हुन् । कहिलेकाही लाग्छ हामीले आफ्नो घर भनेर अरु कसैको घरलाई पनि उजाड बनाउँदैछौ ।
यी यस्तै सोच्दै छु । घडिमा बिहानको पौने पाँच भएको छ । बाहिर झ्यालबाट देखिने दृश्य निष्पट्ठ अध्यारो छ । स्कुल कलेजका लागि हिड्ने केटाकेटीहरु बिउँझि सकेका छैन । यो शान्त बिहानीमा किबोड चलाउँदैछु । आफ्नै अनुभूतीहरुलाई पोख्दैछु । मलाई यसरी किबोड अगाडी नबसेका दिनहरु अत्यासलाग्दा लाग्छन् । कहिलेकाही लाग्छ म मान्छेहरु भन्दा किबोडसँग धेरै बोल्छु ।
मलाई लेख्ने प्रकृया बोल्नेझै लाग्छ । म भित्रका कयौ आवेगलाई म शब्दले मात्र ब्यक्त गर्न सक्छु । भाषाको यात्रा मलाई सधै सुन्दर लाग्छ । जब त्यो लेख्य स्वरुप आउँछ यस्तो लाग्छ यो कयौ बर्षपछि आफैँलाई फर्केर हेर्ने समययात्रा हो । यसरीनै दिनहरु बित्दैछ । कयौ बिहानीहरु मैले यसरी नै बिताएँ, सायद यसरीनै जीन्दगी सिद्घिनेछ ।
मलाई सुरुवातझै अन्त्य पनि रसिक लाग्छ । कहिलेकाही आफ्नै मृत्युबारे पनि आकलन गरि बस्छु । म मरेको दिन कसले के भन्लान भनेर पनि कल्पना गर्छु । मृत्युबारे सोचेपछि मलाई जीवन साँघुरो लाग्छ । यस्तो लाग्छ बाच्ने दिनहरु साँघुरीदै छन् । गर्ने कामहरुको लर्को लागो छ । तर जीवनले आज म सिद्घिदैछु भनेर पनि त जाँदैन । सायद कुर्नै अर्को अप्रत्यासित बर्हिगमन झै मृत्युलाई अगाल्न सजिलो छैन ।
हिजो थालेको पुस्तक भ्याइसकेको छैन । आजकल धेरै पुस्तकहरुलाई छिचोल्न सक्दिन । कमजोर शिल्पले तानिरहन सक्दैन । लेख्नेहरुको सुन्दर शिल्पले सदा तान्छ । बिना शिल्पको शब्द यात्रा चाहेर पनि छिचोल्न ग्राहो छ । सायद सुन्दर लेख्नेहरु लयमा लेख्छन् । सान्द्रा सिस्नेरोज लेखकको रुपमा असाद्घै मनपर्छ । यस्तो लाग्छ राम्रो लेख्नु भनेको उनीलेझै लेख्नु हो । शब्दले भूगोलभन्दा पर यात्रा गर्छन् । ओसन बोङ र सान्द्रा सिस्नेरोज त्यस्तै लाग्छ । कहिलेकाही लाग्छ उनीहरु यतै असनका गल्लिहरु र पाटनका पसलहरुकमा कतै रुमलिँदैछन् । त्यी शब्दका जादुगर हुन् । कम शब्दमा धेरै चिज बोलिदिन्छन् ।
सायद आज पनि हिजोझै यीनै कुरा भन्नु रहेछ । मलाई लेख्दै जाँदा आफ्नै सिमितता र असिपितता दुबैको अनुभूती हुन्छ । हामी नचाहेर पनि दोहोरीरहन्छौ । कहिलेकाही लाग्छ आफ्नै सिमितताले आफैँलाई थिच्दैछ । म चाहेर पनि खुल्ला बन्न सकिरहेको छैन । चाहेर पनि आफ्नो क्षितिजलाई नाध्न सकिरहेको छैन । सायद सबैलाई यस्तै लाग्दो हो । अनुभूतीहरु ँसाझा कुरा हुन् । धर्म लिङ्ग र जातले केही मान्यता राख्दैन । त्यसैले लेखक कलाकारले भूगोललाई नाघ्छन् । बाधिएर पनि उनीहरु बाधिएका हुँदैनन् ।
अहिले लाग्दैछ जे भन्न खोजेथेँ त्यो भनिन आज । सधै सोचेको कुरा भन्न सकिँदैन । हुनसक्छ आज त्यस्तै कुनै दिन हो ......................................
No comments:
Post a Comment