यो अध्यारो घाम उदाउनुको अघिको बिहानी सायद चित्र र्कोनु अघिको क्यानभाष जस्तै हो । सबैचिज शान्त छ । गाडीहरु सडकमा छैनन् । बिहानी हिड्नेहरु निस्केका छैनन् । एक अनौठो सान्नाटा छ । चाहेर पनि म त्यो यो सान्नाटालाई ब्याख्या गर्न सक्दिन ।
तिहार पछि घर छोडेको एक हप्ता भएको छैन । घर छोडेर आएको हप्ता शहर बिरानो लाग्छ । घर छोडेका यतिका बर्ष भैसक्दा सबैभन्दा प्यारो घर नै लाग्दो रहेछ । यहाँ बोल्ने र बोलाउँने कम छन् । एकतमासले जीवन बितेझै लाग्छ । काम बिनाको काठमाडौं अरसिक लाग्छ । कहिले रुमलिए पनि यो रुमलिने सहर होइन ।
मलाई सहर कथाहरुको संग्रह झै लाग्छ । यहाँ खोजी बस्ने हो भने हरेकसँग रुवाउँने कथाहरु छन् । तर सहरको रोदनलाई यसको झिलीमिली पनले छोपीदिन्छ । यस्तो लाग्छ निराश हुनु पनि सहरमा रमाउँनु हो । सायद यसको अस्तित्व यसैको चहकमहकमा कतै रुमलिएको छ ।
यो एकतमासको दैनिकीबाट कहिलेकाही केही फरक भैदियोस् भन्ने पनि लाग्दो रहेछ । कहिलेकाही लाग्छ पर दुर आफ्नै सुरमा हिडिदिउँ । आफ्नै प्रतिबिम्बले आफैँलाई छोपेझै लाग्छ । सायद सबैलाई यस्तै लाग्दो हो ।
खुसीझै निराशालाई पनि कहिलेकाही रमाइलो झै ठान्नुपर्ने रहेछ । कहिलेकाही खुसीहरु आएझै लाग्छ फेरी निमेशभरमै सिद्घिएझै लाग्छ । तर पनि यात्राझै नलाग्ने यात्राको कुनै बिकल्प छैन हिड्नु त छँदैछ ।
No comments:
Post a Comment