आकाश धुमिल छ । अबका केही महिना चराहरुको उडान देख्न सक्दिन । बिहान बिहानै आफ्नै यात्राको उडानमा उडिँरहेका चराहरु देख्दा कहिलेकाही संसार चलेझै महसुस हुन्छ । फूलेका फूलहरु पनि चिसोले चिम्सा भएर बसेका छन् । उनीहरु फर्केको हेर्न केही घण्टा कुर्नु पर्नेछ । बिहानै हिड्नेहरुको लर्को कम हुन थालेको छ । सायद सबै चियाका बाफहरुमा रुमलिरहेछन् ।
बिहानै उठेकी छु । सब सुनसान छ । यो सुन्यता सुन्दर लाग्छ । दिन ठल्कदै जाँदा बिहानको सुन्यता फेरी अत्यासलाग्दो एकात्मकता बन्न पुग्छ । तर बिहानीमा यो सुन्दर नै लाग्छ । यो सुनसान बिहानीको साक्षि बनेकी छु । सायद अस्तित्वको यो सुन्यतामाथी कसैले प्रश्न गर्यो भने कठगरामा म पनि उभ्भिनेछु ।
केही दिनदेखी भिडलाई देखेर तर्सदैछु । हिजो सडकमा एक हुल मानिसहरु धर्मको नाममा नारा लगाए । भोली कसैले भन्देला हिन्दुहरु मात्र महान् हुन् । मलाई आस्थाका नाममा लगाइएका नाराहरु कुरुप लाग्छ । यो सुन्यता र सहअस्तित्व मात्र हो । धर्मको नाममा नारा लगाउँनु निर्ममको छातीमा टेकेर आदर्शको शब्दहरु बोल्नु जस्तै हो । यो कुरुप समयको साक्षि भएकोमा सदा पिडाबोध हुन्छ ।
जब जब धर्मको नारा लाग्छ म आफ्नै छिमेकीहरुलाई सम्झन्छु । हिजो पनि उमर खालीदको भिडियो हेरेँ र आफ्ना आँखाहरु भिजाएँ । मेरो सूभेच्छ्याले केही हुन्न भन्ने पनि थाहा छ तर यदाकदा उसको लागि पनि म केही माग्छु । त्यो कुरुप इतिहास मेरो परिवारले नभोगोस् झै लाग्छ । मेरो भुगोलमा नआइपुगोस् झै लाग्छ ।
बोल्नेहरु के बोल्दैछन् ले आम मानिसहरु बिथोलिनु, मानिसबिच भाइचारा र सहअस्तित्व नहुनु सायद यहि जीवनको यर्थाथ हो । सायद यसरी नै देश, भूगोल र पर्खालहरु बने । यसरी नै मानिहरुले आफ्नो अस्तित्वलाई संसारकै सबैभन्दा महान् र उत्कृष्ठ यर्थाथ ठाने ।
कहिलेकाही लाग्छ केका लागि हुन् यी चर्का आवाजहरु, यी तालिहरु र यी ढुङ्गाहरु । कसरी आफूले हाफैलाई म महान् हुँ भनेर दावी गर्न सक्छ ? त्यो दावीलाई कसरी कसैले पत्याएर हिड्न सक्छ ? तर संसारमा यही चलिरहेछ । सायद संसारलाई लाग्दो हो चर्को बोल्ने नै सत्य बोलिरहेछन् ।
यो समयको साक्षी हुनु सायद कठोरता र कुरुपतालाई आफ्नो ठान्नुझै हो । यी यस्तै कुराहरु बिहानै अक्षरहरुमा उर्तानु कुरुप यूद्वलाई फाटोमा कैद गर्नु जस्तै हो । थाहा छैन यसले केही अर्थ राख्छ वा राख्दैन । वा म झै अर्को कोही पनि यही चिज सोच्छ वा सोच्दैन । यी भावनाका तंरगहरु हुन् । यी सायद बाच्दैछु भनेर भन्न सकिने हृदयका केही हलचलहरु मात्र हुन् ।
यी यीनै कुराहरुले बिथोलिँदैछु । सायद बाँच्दैछु । यी बाचेको छु भनेर भन्न मिल्ने अस्तित्वका छालहरु मात्र हुन् । हिजोझै आज पनि लाग्दैछ फेरी लाग्दैछ हिजोझै आज पनि फेरी चर्को आवाजलाई यर्थाथ ठानेर भिड आफै नरुमलियोस् ।
No comments:
Post a Comment