Saturday, March 28, 2026

पटक पटक


यो पटकपटक दोहोरीने कथा हो । अथवा कथा नभन्दा पनि हुन्छ । तर दोहोरीनु सजिलो काम होइन अझ केही नभएझै दोहोरीनु अझ सजिलो काम होइन । पाइला चाले पनि पाइला नचालेझै गर्नु । बाचेँ पनि नबाचेझै गर्नु । शास फेरे पनि सास नफेरेझै गर्नु । एक लिलिपुटझै भएर पनि नरहनुको यर्थाथ सायद दोहोरीनु हो ।

हो पटकपटक दोहोरीन्छु । कहिले भान्छाघरमा । कहिले कक्षाकोठामा । कहिले पुजाघरमा । कहिले साथीसँग । कहिले भिडमा । कहिले एकान्तमा । कहिलेकाही त आफैँसँग पनि । यस्तो लाग्छ  आकाशामा बादलरहेझैँ । घाम लागेझैँ । अथवा पानी परेँझै । वा केही नभएझै पटकपटक म आफू हुनुको पट्यारलाग्दो झिनोपनलाई महशुस गर्छु ।

हरेक दिन करिब आदा दर्जन चिया कपहरु रित्तन्छन् । न त्यो रित्याइ नौलो न चियाका कपहरु तर पनि केही नभएझै । वा केही भएझै उत्साह बोकेर , म चिया उमाल्छु । म दुध उमाल्छु । अदुवा कोरेर राख्छु । यस्तो लाग्छ मानौ म कुनै नयाँ चियाको रेसिपि बनाउँदैछुु । कापिका पानाहरुमा पटक पटक दोहोरिन्छु । किताबका पानाहरुमा । गोरेटो मूलबाटो र गल्लिहरुमा । रित्तिन्छु र दोहोरिन्छु ।

एक अत्यासलाग्दो सुनसान बिहानीलाई केही भएझै ठानेर म किबोडमा औलाहरु चलाउँछु 

Saturday, March 21, 2026

अधुरो ः एक याद एक सम्झना


  बिहानी, दिन, रात । चक्रझै चलेको छु । आज दिन घमाइलो भयो । पानी पर्यो झरीले रुझेँ । आज घाम लागेन चिसो भयो । सधैँझै चल्ने यही नै हो । तर घाम पानी र बादल बिच पनि केही छ । यती धेरै सुनसान मलाई लाग्छ जे जिउँदैछु सबैभन्दा गहिरो जिउँदैछु । कसैले बिहान भयो उठ् भन्दैन । चियाको गिलास थमाउँने पनि त कोही छैन । किचनमा छिर्छु बेल्का पकाएका भाडा बेसिनमा असरल्ल छन् । सिरक ओछ्यानमा असरल्ल पल्टेको छ । दराजका किताब भुइँमा छन् । बादल पनि लागेको छ । पानी पनि परेको छु । तर अधुरो छु  तिमीझै उझै वा आफैँझै । 

जीवन एक अधुरो बिम्ब । एक याद । एक सम्झना । एक अधुरो कविता । एक बन्न नसकेको कथा । हो जे छ टुक्रा टुक्रामा छ । यो उदासी होइन । यो सम्झना  हो तर सम्झना पनि होइन । यो अर्थ र अर्थहिनता दुबै हो । जे छ गहिरो छ । जे छ सतहमा छ । चाहेर नचाहेर म जीवनलाई सम्झेर हेर्छु भएभरका बिन्दुहरुलाई जोड्छु र एक आकारझै केही भेट्छु । तर म त्यो आकार यो हो भन्न सक्दिन । कुनै धुमिल सम्झनाझै म आकार ठानेर कुनै यादलाई झै फेरी फर्केर हेर्छु । र फेरी पुग्नुपर्ने बाटोबारे सोच्छु ।

मलाई लाग्दैन जो आज जिउँदैछ उसले चाहेर पनि यो समयलाई कुनै प्रष्ट बिम्बले ब्याख्या गर्न सक्दैन । यहाँ उदासी छ । तर उदासीमात्र छैन उदासीभित्र एक्लोपन पनि छ । उदासीले एक्लोपनलाई चिन्दैन । एक्लोपनले उदासीलाई चिन्दैन । अनौठो बिष्मयबिच हामी कुँदिरहेछौ । एक अनौठो यात्रा । एक अनौठो रेस । फर्केर हेर्यौ भने त्यो हिडाइमा केही भेटिँदैन । तथापी देखाउँनलाई नै भनेपनी दौडन छोड्दैनौ ।

जब चिहाएर आफैँलाई हेर्छु आफूँ बाचेको समयलाई हेर्छु यस्तो लाग्छ जे छ अधुरो छ । जे छ अपूर्ण छ । तर अपूर्णतालाई सराप्दैमा पूर्ण भैन पनि त होइन । यस्तो लाग्छ जे छ टुक्राटुक्रामा छ । यो समयमा खुसी हुनुभन्दा अनौठो कुरा केही छैन । यादहरु अपुरा छन् । जे छ धमिलो छ ।

मैले हरेर दिन लेख्ने डायरी पनि यस्तै छ । याद पनि छ  । सम्झना पनि छ । तर दुरीहरु अझ बढेका छन् । सम्झेको छु भन्न पनि फेरी अर्को दुरी नाघ्नुपर्ने छ । केही नभएझे सग्लो भएर जीएझे म हरेक दिन केही राम्रो भएझै लेख्छु । तर म पनि त निराश नै छु तिमीझैँ उझैँ वा आफैँझै । तर म निराशालाई केही नभएझै छोपी दिन्छु । गहिरोपनलाई सतह भनिदिन्छु ।  र कुनै बिशिष्ट समयमा बाचेँझै फूल रुख र चराहरको कुरा गर्छु । 

हरेक दिन त्यही दोहोर्याउँछु डायरीमा र भन्छु हरेक दिन केही भएझै गर्छु । छाडी  गएकालाई याद गर्नु । नहुनेको सम्झना गर्नु पनि कुनै दूलर्भ कथा बनेको छ । मलाई लाग्छ यो खोक्रोपन भित्र आफूलाई बाचाल देखाउँन हामी कुद्दैछौ र कतै हराउँदै छौ । 

Wednesday, March 18, 2026

एक निजत्व एक प्रेम


मैले आकाशलाई हेरेँ । जमिनलाई पनि हेरेँ । नजिकैकका फूलहरु र रुखहरुलाई पनि हेरेँ । र आफैँलाई फेरी अर्कोपटक ऐनामा हेरेँ । मायाझै केही लाग्छ कसैले भनिदियो भने म फेरी अर्कोपटक यीनैलाई हेर्नेछु । म सारमा केही भेट्दिन । हरेक दिन आजलाई बिदा गरेको मा खुसी हुन्छ । तर भोली र हिजो जो थिएँ जो हुनेछन् जसले मलाई बाधेका छन् । धरती र फूलहरुझै कहाँ सजिलो छ र आज बनिदिन । 

हरेक बिहानीझै आज भएर म बाच्न चाहन्छु । यूद्धमा आफ्नो प्रेमी गुमाएकी प्रेमीकाका यस्तो लाग्छ मसँग क्रोध मात्र बाकी छ । यस्तो लाग्छ यो समयमा आफू भएर बाच्न चाहनु सबैभन्दा ठूलो यूद्ध  हो ।

Sunday, March 15, 2026

अपरिचित सडक


प्रिय सडक,

हो म हल्ला पनि सुनसान गर्छु । कुनै मुर्दाघर । कुनै चिहान । कुनै बाग्मतीको किनाराझै तिमी आयौ भने पनि म भैदिन सक्छु एक अर्को मूर्दाघर । तर आज म तिम्रो पर्खाइमा छु किनकी म हल्ला गर्न चाहन्छु । मेरा घर , मेरो सडक , मेरो ओछ्यानले मलाई सुनसान बनाउँछ । थाहा छ हिजो त म चाहेर पनि खोकिन किन थाहा छ किनकी मलाई हल्ला गर्न लाज लाग्छ । तर म लज्जालु छैन तिमी आयौ भने म मन फूकाएर कुनै बन्धनबाट छुटेको बन्धनमूक्त जनावरझे उर्फन पनि सक्नेछु । कराउन पनि सक्नेछु । हाँस्न पनि सक्नेछु र तिमीलाई अँगाल्न पनि सक्नेछु । हो पर्खाइत तिम्रो हो ।

बर्षौ देखी मैले चाहेको कुनै अपरिचित सडक नै हो । हो मेरो घरअगाडीको मूलबाटोले मलाई चिन्दैन र पनि खुल्न दिँदैन । मूलबाटोमा एक हुल जब मानिसहरु हिड्छन् यस्तो लाग्छ यीनिहरु म्ोरो आवाजलाई नाप्ने र सँजाय तोक्ने वकिलहरु हुन् । म त उन्मूक्तता चाहन्छु । मेरो डेक्सटपमा बाकी बसेका मेरा कथाहरुलाई मेरो अनुहार नहेरी , मेरो अनुभव नहेरी मलाई माया गरिदिने मानिसहरु चाहन्छु । कुनै अन्जान सडकमा हराउँन चाहन्छु । अपरिचित माटोमा मेरो माटोको गन्धलाई फर्केर हेर्न चाहन्छु । म कतै पुगेर आफैँलाई दुरीमा राखेर फेरी फर्कन चाहन्छु 

प्रिय अपरिचित हो म हल्ला गर्न चाहन्छु तर सडकमा.......

Saturday, March 7, 2026

ह्याप्पी नारी दिवस

 

यो कथा होइन । यो दिवस बारेको एक हल्ला हो । म हल्ला गर्न मनपराउँछु त्यसैले लेख्दैछु । ह्याप्पी नारी दिवस नभन्दा पनि हुन्थ्यो तर भने । र फेरी पनि भन्न चाहन्छु । तर यो गनथन होइन यो हल्ला हो । हो म पनि पुरुषहरुझै चिया पसलमा, भट्टीमा, बिधालयमा , क्याम्सपसमा हल्ला गर्न चाहन्छु । पुरुषहरुझै म पनि कमजोरी नै कमजोरीले भरीएकी महिला हुँ । तर म कमजोरीहरुलाई बिरलै देखाउँछु किनकी जन्मजात मलाई कमजोरी बिहिन हुनुपर्ने बोझ छ । हो म बोझले थिचिएकी छु । म थिचिएर उठ्न नपाएकी पनि हँु ।  म थिचिएर उठेकी पनि हुँ । केही अपुरा बन्धनहरु बोकेर उड्न खोज्ने पनि हुँ । म सबैसबै हुँ ।

हो मलाई पनि हल्ला गर्न मन पर्छ । तर म बिरलै हल्ला गर्छु । किनकी मसँग हल्ला गर्ने समय छैन । तर म सँग छ । तर भए पनि  म गर्दिन किनकी म हल्ला गरेको राम्रो सुनिन्न । अथवा मेरो हल्ला रुचाइन्न । त्यसैले यी शब्दहरु मार्फन हल्ला गरेँ । त्यसैले मलाई आवाजमा हल्ला गर्नु छैन । म हल्ला पनि सुनसान गर्छु । चिया पसलमा चुपचाप चिया खाने । अफिसमा चाहिएको बोल्न अनकनाउने । बोले पनि अरुले नसुन्ने मलाई नै हो । त्यसैले म हल्ला पनि सुनसान गर्छु । 

केही महिना अघि म निराश थिएँ । रातभरी सुत्न नसकेपछि भोलिपल्ट ब्राह बजे तिर म बसन्तपुरको एक छिडिमा सुतिदिएँ । मेरो अघि अर्का पुरुष पनि सुत्दै थिएँ । अचानक कोही आयो र त्यो खुल्ला ठाउँमा सुत्नबाट मलाई रोकियो । तर म अघिका पुरुष निष्प्रबाह सुते । कथा यही नै हो । बुझ्नुभएन ? बुझ्नुभयो भने ह्याप्पी नारी दिवस भन्नुस् है । 

गत बर्ष होइन त्यो भन्दा पनि अघिल्लो बर्ष होइन म जन्मदा देखिनै म जस्तो हुनुपर्ने त्यस्तो नभएकोमा दुखेसो पोखियो । किन थाहा छ किनकी म सानी थिएँ अनि काली पनि थिएँ । अनि सबैलाई जन्मेदेखी नै लाग्न थाल्यो यसको बिहे कसरी गर्ने । कसैले लाँदैनन् कि । हुन त अहिले पनि धेरैलाई म जस्तो हुनुपर्ने त्यस्तो भैन  त्यसैले बिहे हुन सकेन भन्छन् । तर कथा यो होइन । तर पनि मेरा वरिपरिका मानिसले मलाई यसै भन्छन् । अनि कहिलेकाही मेरो काखमा सन्तान नभएकोमा मेरो सिँउदोमा सिन्दुर नभएको भोली के होला भनेर लामो सास फेर्छन् । मेरै अगाडी । यसपटक फेरी मलाई ह्याप्पी नारी दिवस भन्नुस् । 

एक हप्ता अघि म भोट हाल्न घर जाँदै थिएँ । बिचमा मेरै उमेरकी तर १७ बर्षकी छोराकी आमा भेटिइन् । त्यो संयोग थियो ।  दुई छोराकी आमा तर उमेर मेरी सखी आफ्नो लोग्ने गुमाएकोमा दुखेसो पोखिन् । उमेरले मेरै दमली भए पनि जीवनमा भोगाइले उसको उमेर मेरी हजुरआमाकै थियो । डेढ घन्टा सँगै बिताएपनि, एकै उमेकी भएपनि, हामीले जीएको भूगोलमा करिब असि नै बर्षको अन्तर थियो । मैले उसलाई हात हल्लाए र आफ्नो पोल्टामा परेका सुबिधाको खातिर आफैँलाई भाग्यमानी ठाने । आज पनि त्यस दिनझै उ मल बोक्दै होली । कुनै यूगमा छुटेकी डेढ घण्टाकी  मेरी सखीलाई पनि ह्याप्पी नारी दिवस भन्न चाहन्छु ।

तर मसँग तर भोगाइ मात्र होइन किताबमा भेटिएका नायीकाहरु पनि त छन् । प्रिय स्परेन्जा तिम्रा कपाल घुम्रो थियो होला । तिम्री काकीले तँजस्ती लाई कसली लान्छ पनि भनिन होला । लेफ्ट आउँट हुने डरमा रातो लिपिस्टक र रातो जुत्ता लगाएर पुरुष छेउ पनि गयौ होला । तर पनि तिमीले कथाको बाटो रोज्यो । कसैले भनिदियो मेक्सिन घर छोड र आफ्नै घर रोज । तिमीले लोग्नेको घर भन्दा अक्षरहरु रोज्यौ । प्रिय नायिका, यो भूगोलमा तिमी र मजस्ता आउटलाएरहरु अक्षरभित्र मात्र रोजिँदा रहेछौ वा अटाउँदा रहेछौ । म जति आफूलाई माया गर्छु तिमीलाई पनि त्यती नै गर्छु । समाजको मानकभित्र नअटेपछि संसार नै घर र भूगोल बन्दो रहेछ । प्रिय नायीका ह्याप्पी नारी दिवस ।

प्रिय सकमबरी, तिमी हुनु भनेको एउटा यूगलाई अर्को यूगतिर लग्नु हो । हुन त धेरैले तिमीलाई निराश र निस्सार मात्र देख्छन् तर तिमी त आशा मात्र हौ । निराश भित्रको एक उज्यालो । म तिम्रो निस्सारतालाई मात्र होइन तिम्रा खिरिला औलाहरु र तिम्रो मुडुलो टाउँकोलाई पनि प्रेम गर्छु । आउँ हामी दुबै मिलेर आफ्नै मनको भूगोलमा राज गरौँ । ह्याप्पी नारी दिवस सकमबरी । 

यी त अक्षरका नायीकाहरु हुन् किताबमाझै जीवनमा पनि अनायिका झै लाग्ने तर नायिकाहरुको कुनै कमि छैन । बिच बाटोमा । किताब पसलमा । सडक छेउँको चिया पसलमा । किताबको कभरमा । सिनेमाको पोस्टरमा । मनमा जसले जीवनको भूगोल आफैँ समाले वा समालेनन् । सबै सबैलाई ह्याप्पी नारी दिवस भन्न चाहन्छु । र मेरी आमालाई पनि । 


Thursday, February 26, 2026

जो अब छैन – अनुपस्थिति


यो फागुन हो । केही दिनमा चैत हुनेछ । फेरी बर्षमा नयाँ अंक थपिनेछ । जे थियो त्यो हुनेछैन । कुनै फागुनमा तिमी त्यसरीनै गएका थियौ । चैत आयो । नयाँ बर्ष आयो । समयसँगै चाउरीहरु थपिए । कपाल सेतो भयो । तर तिमी उपस्थित भएनौ । यो गुनासो पनि हैन । तर खालीपन त छ नी जसले अझै बिझाउँछ । तिमी कतै जान्छौ भन्ने पनि थिएन । म तिम्रो अनुपस्थितिलाई सम्झिनेछु भन्ने पनि थिएन । तर गएपछि तिमी नहुनुको खालीपन त छ नी । 

आज पनि म तिम्रो बारेमा केही लेख्न चाहन्थेँ । मलाई लाग्यो अक्षरहरु त स्मृति मात्र हुन् बिझाउँछ मात्र । हुन त म रंगमा केही कोर्न सक्थेँ । तर थाहा थिएँन सम्झनाझै आकृतिहरु तिख्खर बनेर नबस्दा रहेछन् । थाहा छैन किन तर मलाई तिमी धुमिल मनपर्दैन । मैले तिमीलाई कोर्न सकिन । 

जो छैन त्यो भएको भएँ नलाग्ने पनि होइन । तर खै किन गुनासो गरिराख्नु पनि छैन । यात्रा न हो चाहेर पनि कति नै फर्कन सकिन्छ र । मलाई सधैँ फर्कन पनि चाहन्न । सायद फर्केर हेरिराखेर कति बस्नु । नफर्कने तिमीलाई कति पर्खनु । आजकल त छाँयालाई पनि फर्केर हेर्दिन यस्तो लाग्छ छाँया तिम्रो त होइन ।

जाँदै गर्दा

 

यो गुडबाइ नहुन पनि सक्छ । हुन पनि सक्छ । मलाई बर्षौ बर्ष आफ्नो हो भन्ने नाउँमा अडिरहनु पनि छैन । सायद म यसरी नै बाचिरहेँ भने निस्सासिने पनि छु । कहि जानु छ तर कहाँ थाहा छैन । सायद आफैँभन्दा पर । वा भनौ अरु भन्दा पर तर जाँदै गर्दा बिदाइको हात हल्लाउँन चाहन्छु ।

गुमनाम हुन पनि चाहन्छु । हुन पनि चाहन्न । कथाभैm केही लेख्नु छ जो आफ्नो होइन । मेरो इतिहासले पाइला नटेकेको कुनै जमिनमा पुगेर मलाई रुमलिनु छ । कहिलेकाही त लाग्छ कति हेरौ तिनै मानिसहरु । कति जुधौँ त्यही बाध्यताहरुसँग । कति सुतौ त्यहि ओछ्यानमा । मलाई कहि अपरिचित बिम्ब बोकेर रुमलिनु छ ।

यो सपना पनि हो । यो आशा पनि हो । यो आशा भन्दा पर अरु नै केही पनि हो । यो नलेखेको कथा पनि हो । सायद यो बिम्ब र रुपक बिनाको कविता पनि हो । तर कहि पुग्नुछ जसको आशामा म हरेक दिन यो शहरमा पाइला चालेझै गर्छु । यो शहरमा कुनै दिन किताब कापी बोकेरर म यसरी नै आएकी थिएँ । अन्त कतै जाँदा पनि म यसरी नै जाँन चाहन्छु । मलाई लाग्छ म यहाँबाट जाँदै गर्दा मसँग अरु केही नभए पनि मेरा मनपर्ने केही कथाका किताबहरु र मेरा डायरीहरु रहुन् । तर म गएर पनि फर्कन चाहन्छु । सायद कुनै दुर देशबाट आफैँलाई चिहाउँन चाहन्छु । 

कसैले मलाई कथा भन भन्यो भने म मनमनै भन्छु । मलाई लाग्छ मेरा कथाहरु आवाजमा भनिएँ भने कर्कश सुनिनेछन् । हुन त म सुमधुर कहिले पनि थिइन । म एक अड्मिल्दी केटी थिएँ जसलाई जीवनका मानकहरु भित्र पर्नु थिएन । एक आउटसाइडरको परिचय बोकेर म हुर्कन चाहन्थेँ । हुन त त्यही चिज म आज पनि चाहन्छु । हरेक मानिसलाई चिहाउँछु र एक खोक्रो  र निराश मानिससँग परिचित बनिदिन्छु । मलाई लाग्छ यो समयमा बाच्नु भनेको निराश नै हुनु हो । मलाई आशा जस्तै निराशासँग पनि कुनै आशक्ति छैन । तर यीनै अन्योलहरु बिच म कहि जान चाहन्छु । त्यस्तो ठाउँ जहाँ म मेरो भाषा बोल्दा नबुझिने ठहरिउँ । मलाई भाषा बेगरको दुनिया हेर्नु छ । म अहिलेसम्म जे बाचेँ भाषाहरुमा मात्र बाचेँ हो । हो म भाषाको परिधिलाई नाघ्नु छ । सायद अर्को कुनै परिधिभित्र भएर बाच्नु छ । 

हिजोझै आज पनि त्यही पर पुग्ने आशा बोकेर आफ्ना अक्षरहरु किबोडमा दौडाउँछु । औषधी निराशा हुन नसकेको कामको चटारोबिच म आफूलाई निम्सरो भेट्छु । तर यसले केही अर्थ राख्दैन मलाई कही पुग्नु । जहाँ मेरा कथाहरुले मलाई फेरी बोलाउँन आउँन् ।

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...