यो गुडबाइ नहुन पनि सक्छ । हुन पनि सक्छ । मलाई बर्षौ बर्ष आफ्नो हो भन्ने नाउँमा अडिरहनु पनि छैन । सायद म यसरी नै बाचिरहेँ भने निस्सासिने पनि छु । कहि जानु छ तर कहाँ थाहा छैन । सायद आफैँभन्दा पर । वा भनौ अरु भन्दा पर तर जाँदै गर्दा बिदाइको हात हल्लाउँन चाहन्छु ।
गुमनाम हुन पनि चाहन्छु । हुन पनि चाहन्न । कथाभैm केही लेख्नु छ जो आफ्नो होइन । मेरो इतिहासले पाइला नटेकेको कुनै जमिनमा पुगेर मलाई रुमलिनु छ । कहिलेकाही त लाग्छ कति हेरौ तिनै मानिसहरु । कति जुधौँ त्यही बाध्यताहरुसँग । कति सुतौ त्यहि ओछ्यानमा । मलाई कहि अपरिचित बिम्ब बोकेर रुमलिनु छ ।
यो सपना पनि हो । यो आशा पनि हो । यो आशा भन्दा पर अरु नै केही पनि हो । यो नलेखेको कथा पनि हो । सायद यो बिम्ब र रुपक बिनाको कविता पनि हो । तर कहि पुग्नुछ जसको आशामा म हरेक दिन यो शहरमा पाइला चालेझै गर्छु । यो शहरमा कुनै दिन किताब कापी बोकेरर म यसरी नै आएकी थिएँ । अन्त कतै जाँदा पनि म यसरी नै जाँन चाहन्छु । मलाई लाग्छ म यहाँबाट जाँदै गर्दा मसँग अरु केही नभए पनि मेरा मनपर्ने केही कथाका किताबहरु र मेरा डायरीहरु रहुन् । तर म गएर पनि फर्कन चाहन्छु । सायद कुनै दुर देशबाट आफैँलाई चिहाउँन चाहन्छु ।
कसैले मलाई कथा भन भन्यो भने म मनमनै भन्छु । मलाई लाग्छ मेरा कथाहरु आवाजमा भनिएँ भने कर्कश सुनिनेछन् । हुन त म सुमधुर कहिले पनि थिइन । म एक अड्मिल्दी केटी थिएँ जसलाई जीवनका मानकहरु भित्र पर्नु थिएन । एक आउटसाइडरको परिचय बोकेर म हुर्कन चाहन्थेँ । हुन त त्यही चिज म आज पनि चाहन्छु । हरेक मानिसलाई चिहाउँछु र एक खोक्रो र निराश मानिससँग परिचित बनिदिन्छु । मलाई लाग्छ यो समयमा बाच्नु भनेको निराश नै हुनु हो । मलाई आशा जस्तै निराशासँग पनि कुनै आशक्ति छैन । तर यीनै अन्योलहरु बिच म कहि जान चाहन्छु । त्यस्तो ठाउँ जहाँ म मेरो भाषा बोल्दा नबुझिने ठहरिउँ । मलाई भाषा बेगरको दुनिया हेर्नु छ । म अहिलेसम्म जे बाचेँ भाषाहरुमा मात्र बाचेँ हो । हो म भाषाको परिधिलाई नाघ्नु छ । सायद अर्को कुनै परिधिभित्र भएर बाच्नु छ ।
हिजोझै आज पनि त्यही पर पुग्ने आशा बोकेर आफ्ना अक्षरहरु किबोडमा दौडाउँछु । औषधी निराशा हुन नसकेको कामको चटारोबिच म आफूलाई निम्सरो भेट्छु । तर यसले केही अर्थ राख्दैन मलाई कही पुग्नु । जहाँ मेरा कथाहरुले मलाई फेरी बोलाउँन आउँन् ।
No comments:
Post a Comment