यो फागुन हो । केही दिनमा चैत हुनेछ । फेरी बर्षमा नयाँ अंक थपिनेछ । जे थियो त्यो हुनेछैन । कुनै फागुनमा तिमी त्यसरीनै गएका थियौ । चैत आयो । नयाँ बर्ष आयो । समयसँगै चाउरीहरु थपिए । कपाल सेतो भयो । तर तिमी उपस्थित भएनौ । यो गुनासो पनि हैन । तर खालीपन त छ नी जसले अझै बिझाउँछ । तिमी कतै जान्छौ भन्ने पनि थिएन । म तिम्रो अनुपस्थितिलाई सम्झिनेछु भन्ने पनि थिएन । तर गएपछि तिमी नहुनुको खालीपन त छ नी ।
आज पनि म तिम्रो बारेमा केही लेख्न चाहन्थेँ । मलाई लाग्यो अक्षरहरु त स्मृति मात्र हुन् बिझाउँछ मात्र । हुन त म रंगमा केही कोर्न सक्थेँ । तर थाहा थिएँन सम्झनाझै आकृतिहरु तिख्खर बनेर नबस्दा रहेछन् । थाहा छैन किन तर मलाई तिमी धुमिल मनपर्दैन । मैले तिमीलाई कोर्न सकिन ।
जो छैन त्यो भएको भएँ नलाग्ने पनि होइन । तर खै किन गुनासो गरिराख्नु पनि छैन । यात्रा न हो चाहेर पनि कति नै फर्कन सकिन्छ र । मलाई सधैँ फर्कन पनि चाहन्न । सायद फर्केर हेरिराखेर कति बस्नु । नफर्कने तिमीलाई कति पर्खनु । आजकल त छाँयालाई पनि फर्केर हेर्दिन यस्तो लाग्छ छाँया तिम्रो त होइन ।
No comments:
Post a Comment