Tuesday, February 24, 2026

पुस्तकले देखाएको उज्यालो

 


  हामी धेरैलाई लाग्छ पढ्नेहरुको संसार उराठलाग्दो हुन्छ, उनीहरुले जीउने जीवन अरुभन्दा अरसिक हुन्छ । तर जापानी लेखक स्याटोसी यागिसावाले आफ्नो उपन्यास “ डेज एट मोरीसकी बुकसप” मा पुस्तकले डोर्याएको उज्यालो संसार देखाएका छन । उनका पात्रहरु पढाकु छन्, पुस्तकलाई प्रेम गर्छन् । तर पढिरहँदा उनीहरुको जीवन उराठलाग्दो र निरास मात्र लाग्दैन । उनले आफ्नो पुस्तकमा किताबको वरीपरी रहेका उज्याला र रमाइला कथानकलाई कहेका छन् । पुस्तकमार्फत यागिसावाले प्रस्तुत गरेको संसारले हामीलाई पुस्तकप्रेमीको अनौठो यात्रामा लग्छ । 

  कथाकी प्रमुख पात्र टाकाकोलाई पच्चिसकी पुग्दा सम्म पुस्तकको संसार अनौठो लाग्छ । हुन त उनका मामली खलक तिन पुस्तादेखी  पुस्तक पसल चलाउँछन् । तर उनलाई कहिल्यै पुस्तकका पानाहरुले तान्दैन । जब उनका प्रेमीले उनलाई धोका दिन्छन् । उनलाई थाहै नदिई कोही अरुको प्रेममा रहन्छन् । जब आफ्नो प्रेमीले एकाएक अरु कसैसँग बिहे गर्छु भन्छन् उनी गहिरो पिडामा पुग्छिन् । त्यो अप्ठ्यारो समयमा उनीलाई साथ दिन उनका मामा आउँछन् । उनका मामा मोरीसकी नाम गरेको पुराना पुस्तक बेच्ने पुस्तेनी पुस्तक पसल चलाउँछन् । कहिल्यै पुस्तकको संसारसँग साक्षयात्कार नभएकी टाकाकोको लागि एकाएक पुस्तकसँग नजिक हुन सजिलो हुदैन  । तथापी जब उनी नजिक हुन थाल्छिन् बिस्तारै उनले आफ्नो पिडाबाट मूक्त हुँदै गएको महसुस गर्छिन् । पढ्दैगर्दा हामी धेरैले टाकाकोमा आफैलाई भेट्छौ । देख्दा सामान्य जीवन बिताइरहेझै लाग्ने टाकाकोले देखाएको संसार सायद हामी सबैले सामान्य ठानेर सामान्निकरण गरेका असामान्य घटनाहरुको रोचक ब्याख्या हो ।

  हामी धेरैलाई लाग्छ प्रेम, बिछोड, धोका यी सबै चिज अल्लारे उमेरमा हुने सामान्य घटना मात्र हुन् । तर जब भोग्छौ ति सामान्य कहिल्यै बन्दैनन् । ति सबैभन्दा पिडादायक बन्छन् । त्यही असामान्य समयमा टाकाकोको जीवनमा पुस्तक आउँछ । उनी आफ्नो मामाले चलाएको उक्त पुस्तकपसलबाट किताबले लैजाने अनौठो दुनियामाझ पुग्छिन् । किताबलाई प्रेम गर्नेहरुलाई भेट्छिन् ।  र बिस्तारै उनलाई मननपर्ने पुस्तकको अनौठो गन्धलाई पनि मनपराउन थाल्छिन् । पुस्तककै कारण आफूजस्तै लाग्ने धेरै मानिस भेट्छिन् । आफूजस्तै अरुको जीवनमा पनि पिडा रहेछ भन्ने महसुस गर्छिन् ।

  पहिले पहिले मननपर्नेे आफ्ना मामा पनि उनलाई बिस्तारै मन पर्दै जान्छ । पहिले उराठ र भिन्न लाग्ने आफ्ना मामा पनि उनलाई बिस्तारै बुझ्दै जाँदा आफूजस्तै लाग्छ ।  मामाले उनलाई पिडाको समयमा साथ मात्र दिँदैनन् एक तरिकाले भन्दा प्रेम केहो भनेर पनि सिकाउँछन् । आफूलाई छाडेर गएकी आफ्नी श्रीमतीलाई पनि सदा प्रेम गर्छन् । त्यो मात्र होइन टाकाकोलाई पनि प्रेम गर्न नभुल्न सल्लाह दिन्छन् । उनी भन्छन्, “प्रेम असाद्घै सुन्दर चिज हो भन्नेकुरा तिमीले कहिल्यै भुल्नु हुन्न”  (६५) । मामाजस्तै पुस्तकलाई प्रेम गर्ने मानिसहरुको संगतले बिस्तारै उनले आफ्नो पिडालाई भूल्दै जान्छिन् ।

यागिसावाको लेखनको सरलता र बिषयबस्तुले सबैलाई तान्छ । पात्रहरु सामान्य देखिन्छन् तर जब उपन्यासकार उनीहरुको जीवनभित्र घुस्छन् ति सामान्य लाग्ने मानिसका कथा असामान्य लाग्छन् । प्रेम गर्दागर्दै अरुलाई बिहे गर्छु भनेर प्रेमीले भनेपछि बिक्षिप्त बनेकी टोकाको, श्रीमती छोडेर गएपनि केही समयपछि केही नभनी फर्किदा  पहिलेझै प्रेम गरिरहने उनका मामा, मातृत्वको अभावमा आफ्नो लोग्नेबाट पर भागेकी उनकी माइजु, आफ्नो हुनेवाला लोग्नेले अरु कसैलाई धोका दिएको थाहा पाएपछि टुटेकी टाकाकोकी प्रेमीकी हुनेवाला श्रीमती यी यस्ता कथाबोकेका पात्रहरुले उपन्यासलाई अझ रोचक बनाएका छन् । देख्दा यी सब सामान्य हासीखुसी बाचेका मानिसझै लाग्छन् तर अन्तरकुन्तरमा उनीहरु सबै आफ्नै अनौठा कथाहरु बोकेर बाचेकाझै लाग्छन् ।

यी कथाहरु बिच केही चिज केन्द्रमा छ भने त्यो पुस्तक रहेको छ । पुस्तकका धेरै पात्र किताबका प्रेमी रहेका छन् । जसका कारण उनीहरुको कथाहरुबिच पुस्तकनै केन्द्रमा रहन्छ । हरेकले जीवनमा पुस्तकले उनीहरुको जीवनमा रहेको उदासी, एक्mोपन र प्रेमबारे बुझ्न सजिलो बनाउँछन् । हरेक टुटेका छन् तर टुट्नुको थर्थाथलाई जीवन ठानेर अगाडी बढेका पनि छन् । यागिसावाले प्रस्तुत गरेको यो संसार पुस्तक वरिपरिका मान्छेको कथामात्र होइन त्योसँगै अगाडी बढेको  उन्यालोको कथा पनि हो । त्यो उज्यालो घामको किरणझै विश्बब्यापी र फराकिलो लाग्छ । यो उपन्यास पुस्तकलाई मनपराउँने हरेकको हृदयमा पुग्न सक्छ ।

उपन्यासमा पात्रहरुको संसारमा अध्यारो मात्र भेटिँदैन । त्यही अध्यारोसँगै अगाडी बढेको आशा, भरोषा र यर्थाथबोधको उज्यालो पनि भेटिन्छ । टाकाकोको जीवनमा  प्रेमले दिएको पिडामात्र भेटिँदैन कथासँगै  तिमीले मेरो जीवनमा उज्यालोमात्र दिएकी छौ भनेर धोका दिने प्रेमीलाई माफी माग्न लगाउँने मामा पनि छन् । त्यसलै टाकाको मार्फत लेखकले प्रस्तुत गरेको यो संसार  अध्यारोमा गुम्सिएको एक्लो कथा होइन । यो त एक्लोझै लागेर पनि धेरैले आफ्नोझै भन्न मिल्ने भूगोल, वर्ग, र लिङ्ग भन्दा पर उठेको बिश्वब्यापी कथा हो । पुस्तक पढिरहँदा यसले देखाएको संसार तपाई हाम्रै संसारझै लाग्छ जहाँ मान्छेहरुसँग पिडा र दुख छ तथापी उनीहरुले त्यसलाई उनीहरु सामान्य ठानेर अधि बढ्दैछन् । उपन्यासले प्रस्तुत गरेको भूगोल फराकिलो छ जसले तपाई हामी झै धेरै मानिसहरुलाई छुन्छ ।

  यो एउटा पुस्तक प्रेमीले अर्को पुस्तक प्रेमीको संसारलाई हेर्न सकिने रमाइलो शब्द यात्रा हो । पढिरहँदा धेरैलाई लाग्न सक्छ यो उनीहरुको आफ्नो कथा हो । पढ्नेहरु एकान्त रोज्छन् र कुनै समय एकान्त एकान्त मन पराउँने एक पनि हुन्छन् । पुस्तककलाई पढिरहँदा संसारभरीकै पुस्तकप्रेमीहरु एक भएझै लाग्छ । यस्तो लाग्छ यो पुस्तकप्रेमीहरुको साझा संसार हो । 

उपन्यासकारले कथानकलाई  पुस्तक पसलको सेटिङ बनाएर पुस्तकले दिने फराकिलोपन, उन्मूक्तता र ब्यापकताबारे मजाले बोलेका छन् । टोकाकोको मामा पुस्तक प्रेमी मात्र होइनन् उनीसँग पुस्तकसँगै अघि बढेको जीवनको ब्यापकताको कथा छ । पुस्तकसँगै उनी पनि अघि बढेका छन् र अरुभन्दा खुल्ला र अझ बढी प्रेमिल बनेका छन् । उनले प्रेमलाई सम्बन्धको साँघुरो बन्धनमात्र ठानेका छैनन् । उनीसँगै हामी धेरैलाई प्रेमको ब्यापकताबारे अबगत पनि गराएका छन् । उनी बोल्दा यस्तो लाग्छ लेखक बोल्दैछन् । पुस्तकले दिने पराकिलोपन गैरआख्यानमा बोल्दा अररो र अरसिक बन्न सक्छ तर  आख्यानमा भन्दा त्यो रसिलो लाग्दो रहेछ । सायद देखकले आख्यानमा यो सब भन्नुको कारण यही हो । यो पुस्तकप्रेमीहरुको घोषणपत्र जस्तै हो जसले पुस्तक मनपराउँनु र त्यो वरिपरी रहेर बाच्नुको यर्थाथलाई मज्जाले बोल्छ ।  

टाकाकोमार्फत यागिसावाले गराएको यो आख्याानको यात्राले हामीलाई पुस्तकले दिने रमाइलो यात्राबारे मात्र जानकार गराउँदैन किन मानिस पुस्तकको नजिक पुग्छ र कसरी पुस्तकले मानीसलाई पिडामूक्त हुन सहयोग गर्छ भन्ने बारे पनि बोल्छ । अरुभन्दा भिन्न लाग्न,े अरुभन्दा अल्लि फरक बोल्ने तिनै पढाकुहरुकोहरुको संसारलाई उपन्यासमा उतारेर धेरैको मनचोर्ने साटोसिको लेखनकला लोभलाग्दो छ । पुस्तक पढिरहँदा पाठकको रुपमा आफैलाई पढिरहेझै पनि महसुस हुन्छ । एक बसाइमा बढ्न सकिने यो पुस्तकले नचाहेरै पनि हामी धेरैलाई बाध्छ ।

अन्त्यमा यो त्यस्तो पुस्तक हो जसले पुस्तकको उज्यालोबारे बोल्छ । पढ्नुलाई  एक कठोर तपस्या र ज्ञान प्राप्ती मात्र ठान्ने हाम्रो समाजको लागि  यस उपन्यासले किन पुस्तक पढ्ने भन्ने प्रश्नको उत्तर आख्यान मार्फत दिन्छ ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...