Saturday, February 7, 2026

चिठीमा पारिजात



नब्बेको दशक र त्यसपछि जन्मेका धेरैका लागि चिठी लेखन एक नौलो बिधा हो । नौलोपनले कहिलेकाही बढी जिज्ञासु बनाउँछ । सायद नजिकबाट चिठी लेखन नदेखेर र नलेखेको कारण पनि हुनसक्छ यसमहिना लगभग मैले चिठीहरु मात्र पढेँ । भारतिय साहित्यकार अमृता प्रितमले आफ्नो प्रेमी इमरोजलाई लेखेका पत्रहरु पढिरहँदा उनीहरु बिचको प्रेम र भाषाशैली दुबैले म पुलकित भए । चिठी साहित्य र अभिब्यक्तिको कति सुन्दर माध्यम रहेछ भन्नेकुरा पहिलोपटक अनुभूत पनि भयो । थाहा छैन किन मलाई पारिजात र अमृता भिन्न भुगोलका तर आफ्नै भुगोललाई नाघेका उन्मूक्त आत्माझै लाग्छ ।

अमृता पछि म पारिजातलाई पढ्न चाहन्थेँ । एक दिन अचानक कुनै पुस्तक पसलमा पारिजातको नयाँ संस्मरणलाई भेटेँ सय पाना कम भएको पुस्तकको मुल्य थियो करिब चार सय । जीवनभर लेखकको रुपमा स्थापित भएर पनि आर्थिक अभावमा जीएकी पारिजातको संस्मरणको त्यो आकाशिएको एलिट मुल्य देखेपछि मेरो हृदयले किन भनेन । जीवनभर आर्थिक अभावमा गुजारेकी पारिजातका लागि त्यो ठूलो ठट्टा थियो । त्यो एक दुखद् मजाकझै लाग्यो । 

घर फर्के त्यो मुल्यले छोडेन । अभावकी पारिजातलाई पढ्न अब सम्पन्न बन्नुपर्ने कुराले कताकता घोच्यो । जीवनभर लेखेर बाच्दा अभावले नछोडेको पारिजातका नाममा अहिले राखिएका आकाशियका पुस्तकका पानाहरुले सायद उनको मुल्यभन्दा कयौ गुना उचो कद र उनले बोकेको हिडेको बिचारलाई अनादार गरेको हो कि भन्ने पनि महशुस भयो ।

परिजातका जीवनका कयौ पहेलीहरु मेरा लागि सधैँ बुझ्ने र बुझाउँने माध्यम बनिराखेँ ।  स्नातकोत्तरको सोधपत्रमा मैले पारिजातको जीवनलाई उनको आफ्नै प्रिय पात्र सकमबरिसँग जोडेर हेरेको थिएँ । किन उ चुरोट पिउँछे पारीजातझै, किन सकमबरि फूललाई प्रेम गर्छे पारिजातझै । यीनै यीनै प्रश्नहरुको  उत्तरको खोजिमा सिद्घिएको मेरो सोधपत्र कयौ चीजहरु आज आएर अनुत्तरीत झै लाग्छ । सँस्मरण मुल्य देखेर निराश बनेर फर्केपछि म पारिजातले दिल्लीमा रहदा आफ्नी बहिनी सुकन्याका लागि लेखेका पत्रहरु पल्टाउँछु । “अपराजिताः पारिजातका चिठीहरु” भनेर नामाङ्कन गरिएको यस पुस्तक, पारिजातले सन् १९९३ देखी १९९५ सम्म उपचारको क्रममा दिल्लीमा रहँदा बहिनी सुकन्या र परिवारका अरु सदस्यका लागि लेखिएका चिठीहरुको स्ांकलन हो । तीन वर्षसम्म लेखेका पत्रहरु पल्टाउँदा पारिजातले प्राय सुकन्याका लागि लेखेका सबै पत्रहरुमा पैसाको अभावको कुरा उठाएकी छन् । एक त्यस्ती लेखक जसले आफ्नो समयको लेखनलाई अनेकौ बाधाहरु विच समयभन्दा अझै अगाडी पुर्याएकी थिइन, तथापि पैसाको अभावले कहिल्यै छोडेको रहेनछ भन्नेकुरा पत्रहरुले मजाले बोल्छन् । तर आज उनको मृत्यूपश्चात उनको नाम मात्र कमाउने र चर्चामा आउँने एक मानक बनेको छ । चाहे गत बर्ष प्रकाश सपुतको सकमबरी गीत होस् वा अरु कुनै उनको नाममा आज जे पनि बिक्ने भएको छ । यस आलेख उनको जीवन र उनले भोगेको रोग र अभावको अनुभूतीलाई उनकै पत्रहरुमार्फत केलाउने प्रयास मात्र हो । 

पुस्तकको सुरुवातमै सुकन्या लेख्छिन्, “रोगसँग अटुट सङ्घर्षले तिम्रो पूवाद्र्घ निश्चय नै नैराश्यपूर्ण थियो । त्यही रोगसँग जीवनको उत्तराद्र्घमा तिमी कस्तरी लड्न सक्यौ, यही विवरणहरु कोरिएका चिठीहरु आफैँ बोल्छन् । सही मुल्याङ्कनका पक्षधर साहित्यकारहरुलाई  पनि तिमीलाई  भित्रैदेखी चिन्न, बुझ्न सहयोग पुग्ला कि भन्ने अर्को पक्षलाई ध्यानमा राख्दै प्रस्तुत गर्न लागिरहेछु ।” सुकन्याले पुस्तकको पाककथामै लेखेका यी कुराहरुले किताबको महत्व के छ र किन छापियो पक्कै पनि बोल्छ । पुस्तकले समग्रमा उनको कठिनाइ र रोगसँगको यात्राबारे मिहिन जानकारी उनका प्रशम्सक पाठक र अध्धेता सबैलाई दिन्छ । 

पारिजात र सुकन्याको सम्बन्ध

पुस्तकमा संकलन गरिएका अधिंकास चिठीहरु पारिजात आफ्नी बहिनी सुकन्याका लागि लेखेका छन् । चिठीको संकलनकर्ता पनि सुकन्या नै छन् । तथापि पुस्तकले पारिजात र सुकन्याबिचको सम्बन्धलाई मजाले बोल्छ । नाताले बहिनी र आफूभन्दा सानि भएपनि सुकन्याको भुमिका अभिभावकोझै लाग्छ । कतिपय चिठीहरुमा पारिजात आफैँले पनि त्यो कुरा ब्यक्त गरेकी छन् ।  “पैसाको अभाव भएको बेला लामाजीलाई  गुनासो नपोख्नु है ! म तेरो गृहस्थीको धड हौइन, ऐँजेरु हुँ, जसलाई तिमीहरुले मलजल पुर्याउनुपर्छ अर्थात् पुर्याइराखेका छौ । यति भन्दा पनि तँ त फेरि चित्त दुखाउँछेस् नि ! बाँच्नलाई जहाँ बाँचू, मर्नलाई तेरै घरको संघार चाहिन्छ, सुकन ।” चिठीमा उल्लेखित यी कुराहरुले पारिजात र सुकन्याबिचको सम्बन्ध र त्यसको गहिराइ बारे धेरै कुरा बोल्छ ।

  चिठीहरु पठिराख्दा यस्तो लाग्छ पारिजातले जसरी लेखिन् वा जे बनिन् त्यो सुकन्या बेगर गर्न सम्भब थिएन । सायद सुकन्याको उपस्थिति यो धर्तिमा भइरहँदा सम्म पारिजातलाई बुझ्न असम्भब छैन । सायद सुकन्याले गरेको यो काम पनि पारिजातलाई नै बुझाउँने प्रयास हो ।

अभाव र शारीरीक अस्वस्थता

  चिठीका अधिकांश प्रसङ्गहरु हस्पिटलका छन् । त्यो सँगै महङ्गी र आर्थिक कठिनाइ पनि छन् । कतिपय प्रसङ्गहरु रमाइला लाग्छन् । दुखका दिनहरुमा पनि मानिस केही उज्याला दिनहरुसँग पनि ठोकिन्छ झै लाग्छ । दिल्लीमा उपचारको क्रममा उनले जे जस्तो सम्मान पाइन त्यो सम्मानको अनुभूती हामी सबैलाई हुन्छ । तथापी अभाव र अस्वस्थता उनीसँग सधै रहन्छ । प्रत्येक चिठीमा उनी आफ्नो बहिनी सुकन्यालाई पैसाको कमि बारे अवगत गराउँछिन् । रोग र अभाव, सायद त्यसैको उपज हुनुपर्छ  अभावसँगै उनीसँग निराशा पनि भेटिन्छ ।

कयौपटक उनले मृत्युबारे पनि बोलेकी छन् । “फूलहरु कहिल्ये सिद्घिँदैनन् । एक जना मरे पनि अर्को बाँचिरहन्छ । एउटा मरे पनि अर्को फुलिरहन्छ ।” पढिरहँदा यदाकदा लाग्छ पारिजात सकमबरी नै हुन् । यदाकदा निराशझै लागे पनि निस्सार भने लाग्दैन ।  सुकन्यालाई उनी लेख्छिन्, “ शरीरको मलाई त्यती माया मोह छैन सुकन । मृत्यूले के गर्छ र ? एउटा मिठो छुटकारा दिन्छ, शारिरिक यातनादेखी । तर मैले जुन दुईचारवटा काम सुरु गरेकी छु, त्यो सिद्घाउँनैपर्छ । जतिकै सघर्ष किन नपरोस् ।” जति नै कष्ट भएपनि आफ्नो काम र लेखनप्रति उनको लगाव र जिम्मेवारीबोध सधै भेटिन्छ ।

चिठीहरुमा कहिले पारिजात निडर लाग्छ त कहिले निस्सार । रोगले उनलाई बलियो र कमजोर दुबै बनाएझै लाग्छ । तर समग्रमा चिठी पढिरहँदा रोग र अभावसँग जुध्दा जुध्दै पनि पारिजात जसरी आफूलाई अगाडि बढाएकी छन् त्यसले हामी सबैलाई अगाडी बढ्न प्रेरणा अवस्य दिन्छ ।

अप्रकाशित संस्मरण

कतिपय उनकै बिषयमा अध्ययन गर्ने अध्येताहरुले, जीवनीकारहरुले पनि पारिजात आफैले उनको आफ्नो आत्मसंस्मरण आफ्नो जीवनकालमा प्रकाशित गर्न नखोजेको भन्ने जीकिर गरेका छन् । तथापि संकलित चिठिहरुमा पारिजातले कयौ पटक संस्मरण प्रकाशित गर्न चाहेको कुरा लेखेकी छन् । “सम्भव हुन्छ भने मेरो संस्मरणको भोल्युम छपाउने  प्रकाशक पनि खोज्दै गर्नु है । पैसा मिले त हामीले छापेकोमा धेरै नाफा हुन्छ । “बैशको मान्छे जत्रो चार भाग हुन्छ ।” पारिजातले सुकन्यालाई पढाएका चिठिहरुमा भने लास्ट भाग नछाप्नेबारे केही भनेकी छैनन् । “बैशको मान्छेको लागि कोशिस गर्नु नि हौ । त्यो किताब कतिलाई पुगको छैन । उपन्यास लेख्नेवाला छ, आत्म संस्मरणभन्ला त्यो किताब नै पहिले निस्कनेलाजस्तो छ” । यसरी पारिजातका चिठिहरुले उनको अप्रकाशित संस्मरण जसको अन्तिम भाग भर्खरै बजारमा आएको छ त्यसबारे पनि केही अवस्य बोल्छ । तर जीवनपर्यन्त प्रकाशन गर्न नचाहेको कुरा भने भन्दैन । 

जिद्घिपन र अठोट 

चिठीहरुमा जति पारिजात निराश देखिन्छन् उतिनै जिद्घि र आटिलि पनि । सायद पारिजातको आटिलोपनले  उनलाई जीउन र लेख्न सिकायो । “ धेरै गुनासो पनि के गर्नु हगि ? यस्तो भै नै रहन्छ । सहनै पर्दो रहेछ तर यसपालि मैले औषधीलाई नै चुनौति दिएँ । सबै औसधि ममा परस्पर बिरोधि भैसकेछन् ।” यस्ता वाक्यहरु चिठीमा धेरै भेटिन्छन् । सायद उनले आफ्नो जिद्घिपनलाई नस्विकारेको भए त्यती सजिलै ति सबै रोग र चुनौतिहरुसँग सजिलै जुद्घन सजिलो थिएन ।

यो उनका चिठीहरु मार्फत उनलाई बुझ्न गरिएको एक पाठकिय अवलोकन मात्र हो । चिठीमा अभाव, पिडा मात्र छैन  जीउन र लेख्नको लागि उनले गरेको सघर्ष र जिद्घिपन पनि छ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...