Tuesday, February 24, 2026

परिचित..... अपरिचित


हरेक पाँच बजे किताब बाकेर काममा निस्कनु मेरो दैनिकी हो । ब्याकप्याकमा किताब बोकेर हिडेको पनि बर्षौ भैसकेछ । झोलाका किताब । कोठाका किताब । पठिहाल्छु कि भनेर ओछ्यान नजिकै टेबलमा राखेको किताब । नानाीहरुलाई पठाउँनको लागि झोलामा बोकेका किताब । यस्तो लाग्छ हरेक दिन झोलामा किताब होइन किताबका कथा बोकी हिड्छु । सायद रोजाइ पनि यही हो । हुनसक्छ म बर्षौ बर्ष यहि किताबका कथाहरु पोको पारेर हिड्नेछु र कुनै दिन बिदा लिनेछु ।

  कति किताब परिचितझै लाग्छ । कति अपरिचित । मानिसझै म किताबलाई पनि परिचित र अपरिचितको कोटामा राख्छु । आज पनि मसँग अपरिचितझै लाग्ने कुनै परिचित किताब छ । किताबसम्म आइपुग्न पनि सजिलो थिएँन । केटाकेटी बेला चाहेर पनि चित्र सहितका किताबहरु थिएनन् । रात्रिशिक्षामा आमाहरुका लागि बनेका किताबहरु कथाका किताब बनेँ । समयसँगै ति परिचित बने । टिन एज बंगाली नारीबादी लेखक तसलिमा नसरिनका अरसिक नेपाली अनुवाद पढ्दानै सिद्धियो । कठोर नारीवारी किताबले मेरो कोमलतामा यसरी कैचि चलाए बनाए मानौ म उनीहरुझै बनेँ । त्यो एक किशोरीका लागि कठोर यात्रा थियो । 

समयले किताबसम्म पुर्याएकोमा म भाग्यमानी सम्झन्छु । आफूले चाहेका किताब किन्न सक्ने अवस्थामा पुगेकोमा पनि भाग्यमानी सम्झन्छु । किताब मेरा लागि मायावी दुनिया थियो । एक्ली किशोरीका लागि समाज बुभ्ने, प्रेम बुझ्ने , मानिस बुझ्ने धरो किताब थियो । मलाई लाग्छ मैले मानिससँग सँगत गर्न पनि किताबबाट सिकेँ ।

किताबले के दियो के दिएन भनेर छलफल हुँन्छ । हाम्रो जस्तो समाज जहाँ परिक्षा पास गर्न मात्र किताब पढिन्छ त्यो दुनियाका लागि किताब पढ्नु अरु भन्दा फरक हुनु थियो । म आज पनि रिसाउँन जान्दिन । सायद मैले भावनालाई ब्यक्त गर्न पनि किताबबाट सिकेँ । ममि भन्नुहुन्थ्यो अंक्षर भनेको नदी हो यसले तिमीलाई पर लग्नेछ । स्कुले शिक्षा भ्याउँदा नभ्याउँदै डोलिमा अन्मिएकी मेरी आमाका लागि किताब छोरीको लागि रोजिदिएको बाटो थियो  । कहिलेकाही लाग्छ मसँग मैले चाहेको किताब हुनु मेरा आमा हजुरआमाले पाखुराले मात्र चलाएको इतिहासलाई अक्षरले ठालिदिनु हो । आज पनि बोलेर भन्दा लेखेर नै ब्यक्त हुन सजिलो लाग्छ । फोन कलमा बोल्न भन्दा लामा लामा इमेल लेख्नु मेरा लागि सजिलो काम हो । यसरी अपरिचित झै भेदिएका किताबहरु आज मेरा परिचित मित्र भएका छन् । एक अर्थमा किताब मेरा लागि सबै चिज हो । मैले हिडेको बाटो पनि हो मैले हिडेको बाटो पनि हो ।

किताबप्रेम भए पनि किताब उपहारको रुपमा कहिल्यै पाएकी थिइन । गत बर्ष कुनै अपरिचिले मेरो ठोकामा किताब उपहार स्वरुप पठाइन् । त्यो मेरो लागि सपना थियो । मेले किताबहरुलाई अँगाले र मनमनै जसले पठाएकी थिइन् उनीलाई धन्यवाद भने । उनले पठाएका किताबमैले मायाले पढेँ । करिब एक बर्ष भयो मैले उनलाई देखेको छैन । 

प्रिय अपरिचित,

आशा छ यी मेरा अक्षरहरुले तिमीलाई प्रेम मात्र गर्नेछन् । कुनै दिन मेरा लागि सपनाको  एक पोटली बोकेर मेरो घरसम्म आइपुग्ने तिमी थाहा छैन आज कहाँ छेउ । यो माया मात्र पनि होइन । यो त किताबले बाधेको साइनो हो । सायद किताब थिएन भने म आज तिम्रा लागि पक्कै लेख्ने थिइन । तर यी अक्षरहरुको साइनो बिच तिमी कतै हराएकी छौ । सायद तिमी यतै कतै छौ । 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...