Friday, February 13, 2026

अनुत्तरित सम्झना

 

सम्बोधनहरुको भिडमा हराएका तिमीलाई के भनी सम्बोधन गरौँ । मायालु भनौ भने मायालु भन्ने हक पनि छैन । साथी भनौ भने साथी मात्र पनि होइनौ । केही हौ भनौ भने केही थियौ भन्नका लागि बाकी केही पनि छैन । तर पनि सम्झन्छु । जसरी आज सम्झे । हिजो पनि सम्झेकी थिएँ । सायद भोली पनि सम्झनेछु । यो एकोहोरो सम्झना हो । अनुत्तरित सम्झना । अपरिभाषित सम्झना । तर पनि सम्झन्छु । तिमीलाई थाहा छैन एकोहोरो सम्झनाहरु अत्यासलाग्दा हुन्छन् ।

हिजो पनि सम्झे र तिम्रो पनि सम्झनाको आशा राखेँ । आशा नै हो जो अझै केही बाकी छ । तर मेरो एकोहोरो आशाले केही नहुने रैछ । हरेक सम्झनालाई अन्तिम ठान्ने म कोशिस गर्छु । कुनै खाली कागजमा आफैँलाई लुकाउँन खोज्छु । कुनै नदेखिने बिन्दुझै आफ्नो झिनोपन र निर्दोपनलाई सराप्छु । तिमीलाई थाहा नहुन सक्छ नदेखिनु भनेको के हो । अनुत्तरीत हुनु भनेको हो । एकोहोरो कसैलाई सम्झनु भनेको के हो । आफ्ना लागि पनि तिम्रो नामको पत्र आफैँले लेख्नु भनेको के हो । 

हिजो तिमीलाई सम्झेर चिठीझै केही लेखेँ । थाहा छ यो एकोहोरो लेखाइ हो । र पनि लेखेँ । लेखेर राखेँ  । र लेखेर च्यातेँ पनि । तिमीलाई पठाएका पत्रहरु मेरा सम्झनाका खतहरु हुन् । हरेक दिन यस्तो लाग्छ म सम्झनाको नाममा अर्को जीवनको डोब कोदैछु । र कताकता मनले भन्छ म जे हुनुपर्ने थियो त्यो भैन ।

म सफा थिएँ । कविता लेखिनुअघिको कागजझै मेरा म जस्तो देखिन्थेँ त्यस्तै थिएँ । तिमी आयौ र भन्यौ तेरो जीवन साघुरो छ रंगहरु पोत । आफ्नै क्षितिजहरुलाई नाघ । त्यो पोतेको रंग र त्यो नाघेको क्षितिज पनि तिम्रो थियौ । मेरो चौघेरा साघुँरो थियो तर म जस्तो थियो । तर म अब आफ्नो रहिन । सम्झनामा पोखिने अक्षरहरुमा पनि कहाँ कहाँ म तिम्रो गन्ध देख्छु । तिमीले जसरी धमिल्यायौ त्यो रंग थिएन रंगभैे देखिने केही क्षणको इन्द्रेणी मात्र थियो । इन्द्रेणीझै कहिलेकाही मात्र झुल्किनु सायद तिम्रो रोजाइ हो । म त जे थिएँ त्यो कागजझै थिएँ । चाहेर पनि तिम्रा रंगहरुलाई मेट्न सक्दिन । सम्झिन्छु तर सम्झनाले आफ्नो झिनोपन र अपुर्णताको आभाष मात्र दिलाउँछ । 

सम्झनाझै यो पत्र पनि अधुरो नै छोडेकी छु । न म पूर्ण छु न मेरा सम्झनाहरु ...................

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...