Monday, January 19, 2026

सिटी टेल ः यो सहर कसको हो ?

 

  शहर छिरेको पनि पन्ध्र बर्ष भएछ  । कहिलेकाही वा सधैँ सोध्ने गर्छु आफैँलाई यो सहर कसको हो ? कहिलेकाही लाग्छ यो सहर मेरो पनि हो । सहरका गल्लिहरुमा, सडकमा, सार्वजनिक यातायातमा, पुस्तक पसलमा मेरा पाइलाहरु परेका छन् । तर हरेक महिना जब सिद्घिन्छ घरबेटीले चाहिएको भन्दा बढी पानीको बिल, बिजुलीको बिल यसरी तेर्साउँछन् जस्तो उनी मालिक हुन् , हामी नोकर, लाग्छ यो सहर मेरो होइन । हुन त उनी पनि सहरका कहाँ थिएँ र । एउटा उभ्याएको छानोले उनलाई मालिक बनाएको छ । हरेक महिना यस्तो लाग्छ उनी लुट्नका लागि उपस्थित छन् । कहिलेकाही त लाग्छ सहरमा आफ्नो नाउँ गरेको छानो नहुनु भनेको सहरको कहिल्यै नहुनु हो ।

बधलेएर, फ्रान्सेली कवि भन्ने गर्थे यो सहर मेरो होइन । सहरमा मेरो उपस्थिति केबल एक दर्शकको जस्तै हो । म यसको भित्रि मानिस बन्न कहिल्यै सक्दिन । शहरमा नर्मल मानिसको एक आयू बिताइसक्नुभएका, अभि सर आफ्नो निबन्धमा भन्नुहुन्छ म सहरको होइन । उहाँ बधलेएरलाई उद्धृत गर्नुहुन्छ र भन्नुहुन्छ म पनि एक फ्लानर नै हुँ । म सहरको भित्रि मानिस होइन । तर सहरको होइन भन्ने लागत पनि मसँग बधलेएर र अभि सरको जस्तो छैन । एक कविले विम्वमा भन्नु र एक सामान्य मानिसले आफ्नो भावनामा भन्नु वा भन्न नसक्नु फरक कुरा हो । उहाँहरुको जस्तो भाषा नहोला । विम्व पनि नहोला । तर सत्य यही हो सहरको हुन सजिलो छैन । 

हुन त म गाउँको पनि कहाँ थिएँ र । मेरा लागि आज त्यो पहाड र नदी हो र मेरा बाआमाको माटो हो । म त्यसैका लागि जान्छु । म गैन भने पनि उ किन आइन कसैले भन्ने छैन । कुनै दिन अकालमै बिदा लिएँ भने पनि एक छिनको शोकपछि सबैले बिर्सनेछन् । तर यसो भन्दै गर्दा एक आप्रवासिको लािग सहर पनि कहाँ आफ्नो हुन्छ र । हरेक महिना तिर्ने बिलले मात्र शहरले मलाई सम्झने गर्छ । हुनसक्छ म शहरका लागि अरु कोहीझै एक कर तिर्ने करदाता मात्र हुँ । 

हुन त सहरले अरुलाईझै मलाई पनि तँ मेरी होइनस् कहिल्यै भनेन । अँगाल्यो तर त्यो चिसो अँगालो थियो । यो चिसो समयमा त्यो पनि न्यानो लाग्नु स्वभाविक हो । तर सहर चिसो छ । सहरमा जसको छानाहरु छन् ति झन् चिसा छन् । तर केही त छ जसले मलाई यो भन्दा पर भाग्न दिँदैन । म कुनै दुर गाउँमा छिरे भने पनि म सम्झनामा सहरनै बोकेर हिड्नेछु । जसरी म अहिले गाउँ बोकेर हिड्छु । अथवा म कुनै अरु सहर पुगेँ भने पनि झोलामा, किताबमा, डायरीमा, बुकमार्कमा म यही सहर बोकेर हिड्नेछु । तर सत्य यही हो म सहरको होइन ।

कथा पछि अन्र्तकथाहरु बाकी रहन्छन् । यो सहरको कथा पनि होइन । यो त सहरभित्र लुकेको वा सहरले लुकाउँन खोजेको अन्र्तयको कथा हो । बाहिर झिलिमिलि देखिने सहरको हरेक कोठामा हरेक दिन एक निस्सार कथा पाक्छ । जसलाई सहरले नसुनेझै गरी पन्र्छाउँन खोज्छ । तर सहरलाई सहरझै बनाउँने मानिस तिनै हुन् । कोठा तिनै हुन् । ति भएनन् भने सहर पनि रहने छैन ।

लगभग १९६० नजिक अमेरिकी पुँजिबादले दिक्क भएका ग्रिन्सवर्ग भन्ने गर्थे मलाई लाग्छे मेरो देश कुनै सुपरमार्केट जस्तै हो । करिब करिब म बसेको अहिलेको सहर पनि त्यही हो । सहरकमा मेयर भन्छ म शुकिलै शुकिलाको सहर बनाउँछु । अब उनी देश बनाउँन निस्केका छन् । मेयरलाई थाहा छैन सहरका आदी मानिस मैला र भोका छन् । धुलोमा तरकारी बेच्नु, चटपटे बेच्नु कुनै सोख नहुन सक्छ । तर उनलाई लाग्न सक्छ सुपरमार्केट मात्र हुनु सहरको हुनु हो । म पनि त्यही एक मैलो मानिस हुँ । निहालेर हेर्नुभयो भने म भित्र धुलैधुलो छ । तर सहरले मलाई पखालिन कहाँ दिन्छ र म त सहरकै चस्मा लगाएर फेरी अर्को मानिसलाई मैलो देख्छु । मेरो घरबेटी पनि वा अधिकांश घरबेटीहरु यसरी नै मैलो बनेर कुनै दिन सहर छिरेका थिएँ । आज उनीहरुलाई लाग्छ उनीहरु सुकिला भए अरु मैला । कहिलेकाही लाग्छ सहरमा छानो हुनु भनेको मानिस नहुनु रहेछ ।

कहिलेकाही लाग्छ यो घण्टाघर । यो चियापसल । यो असन र इन्द्रचोक मेरा पनि हुन् । तर हरेक दिन जब घरभित्र र्छिछु यस्तो लाग्छ यो सहर मेरो होइन । म सहरको भित्रि मानिस होइन । हरेक दिन अन्यको परिचय बोकेर म सहरका गल्लिहरमा आफैँलाई खोज्दै रुमलिन्छु । सायद यो सहर मेयरको हो । सायद यो सहर कुनै अमूक घरबेटीको हो । सायद यो सहर कुनै नेताको हो । तर यो सहर बिध्यार्थीको होइन । चिया पसलेको होइन । तरकारी पसलेको होइन । ठेलामा मकै बेच्नेको होइन । सडकमा लुगा बेच्नेका होइन । वा म जस्तै कुनै अमूक किताबमा रुमलिने र कलम चलाउँनेको होइन । सायद यो सहर अरु कसैको हो । सधैँ लाग्ने गर्छ, खासमा यो सहर कसको हो ?

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...