यो सपना थियो वा सपना थिएन । सपना नै भए पनि सपनाहरु बद्लन्छन् । अनौठो सपनाबाट बिउँझिएकी छु । बिहान भएको छ तर बिहानी भैसकेको छैन । चराहरु सायद आफ्नै गुडमा छन् । नानीहरुको रुवाई सुनिएको छैन । बाटोमा हिड्नेको पदचापका आवाजहरु मेरा कानमा आइसकेका छैनन् । बिहानी एक मधुर आवाज बोकेर सायद आफ्नै धुनको यात्रामा छ ।
सायद यो बिहानलाई आफ्नै लयमा अर्काइभ गर्दैछु । सायद म चाहन्छु म जे होइन त्यो मेरो बिहानीमा नआओस् । सायद म चाहन्छु त्यसलाई भन्न सकुँ । त्यसैले बिहानीनै रोजेकी छु । यो निर्मम समय हो । तपाई रातलाई झै बिहानी ठाट्न सक्नुहुन्न । तपाई नचाहेर पनि तपाइलाई पोखिदिनुहुन्छ । सायद म त्यही गर्दैछु ।
यी मेरा वाक्यहरु मैले जीएको बिहानीका साक्षिहरु हुन् । म चाहन्छु बिहानीहरु बिहानी नै बनुन् । तर किनकिन कहिलेकाही बिहानीहरु पनि रातझै बनिदिन्छ । सायद यो यस्तै यात्रा हो । अनुभूतीको यात्रा । आफ्नोझै लागेर आफ्नो नभएको बिहानीको यात्रा । सायद जीवन भनेको यस्तै नै हो समयसँगै सबै चिजलाई केही नभएझै निहाल्नुपर्छ र एक कुरुप सपना ठानेर बिर्सिदिनुपर्छ । सायद सपनाका पनि डोबहरु रहनेछन् । सायद डोबहरुले कहिलेकाही बिजाउँनेपनि छन् ।
सायद यात्रा न हो । नदीझै यसको गति कुनै दिन फरक भैदेला । आज कुरुप झै लागेको चिज कुनै दिन सुन्दर झै पनि बनिदिएला । एक शान्त तर सान्नाटामय बिहानीमा सोचमग्न आयामहरुले बिचलित छु । त्यसैले शब्दहरुले पोखिएकी छु ।
प्रिय सपना फेरी अर्को पटक आउँदा केही स्थिरता बोकेर आउँनु । बिहानीझै बनिदिनु । रातहरु चमकता केही दिनको हो । मलाई त सधै उदाउँने सुन्दर बिहानी चाहिएको छ ।
यो डायरी थियो । केही बर्ष अघिको । सायद तीन बजे बिउँझिएकी थिएँ । आज चार बजे बिउँझिएँ । बिहानी त्यस्तै नै छ । चिसो पनि त्यस्तै नै छ । मेरा औलाहरु किबोडमा दौडन सकिरहेका छैनन् । औलाहरु माघको चिसोको साक्षि भएका छन् । तथापी अनुभूती उही हो । रातझै बिहान निर्मम बन्दैन । तथापी यसले आफू बन्ने स्वतन्त्रता दिँदैन । रात निर्मम भएर पनि त्यसले स्वतन्त्रता दिन्छ । बिहानीले त बाध्छ मात्र ।
हिजोको बिहानी अन्त्य कतै भएको थियो । आजको बिहानी यो उपन्यकाको खाल्टो भित्र भएको छ । चिया कपहरु रित्तिएका छन् जसरी भावनाहरु खाली पानामा रित्तिन्छन् । यसरी पानामा भावना लेख्न छोडेको पनि बर्षौ भैसकेको छ । आजकाल किबोडहरु पनि कलम जस्तै लाग्छ । तथापी मानिस नबिउझदैको बिहानी सुन्दर लाग्छ । सडकमा पैतला नपुग्दैको बिहानीले सडकलाई आफ्नो बन्ने स्वतन्त्रता दिन्छ । मलाई बिना मानिसका ल्यामपोष्टको छाया पर्ने सडक पनि सुन्दर लाग्छ ।
तपाइहरुलाई लाग्ला हरेक दिन डायरीझै यो के लेख्छे । तर यो डायरी नै हो । कहिलेकाही त यो डायरी लेख्ने समय भएकोमा पनि भाग्यमानी सम्झन्छु । मलाई सधैँ लाग्छ आफू हुनु भनेको डायरीमा आफूलाई पोखिदिनु हो । डायरी कथा पनि हो । डायरी कविता पनि हो । डायरी निबन्ध पनि हो । डायरी सँस्मरण पनि हो । डायरी कुनै बिधाको होइन तर सबैको हो । मलाई लाग्छ डायरी लेख्नु भनेको लेखिरहनु हो । बिना कुनै आशा उद्घेश्य जे छ त्यसैलाई अर्काइभ गर्नु हो । यो लेख्नुको कुनै अर्थ नहुन पनि सक्छ । सायद यो इमान्दार हुने प्रयास हो ।
कहिलेकाही त लाग्छ नि प्रष्टता कहाँ छ । न लेख्नुमा छ न नलेख्नुमा नै छ । तथापी मनले भन्छ जे छ त्यसैलाई लेख । यो दोहोरीने प्रक्रिया हो । जसरी बिहानी दोहेरीन्छ । कुनै पुरानो मिथ लेखनझै म पनि डायरीको पुरानो संरचनामा दोहोरीन्छु । यति हो म मेरो डायरीमा के खाएँ । कतिबजे सुतेँ । के गरेँ भन्दैन । यो डायरी तपाइको पनि हुनसक्छ । यसमा केही तथ्य छैन । तर सत्य यही हो म अहिले यहि महसुस गर्दैछु । अनुभूती बाहेक तपाई मेरो डायरीमा केही भेट्नुहुन्न । म जे छु यही अनुभुतीहरुमा मात्र छु । हरेक मधुरा अक्षरहरुझै म पनि धुमिल नै छु ।
मिर्मिरे साँझ । धुमिल बिहान । मधुर अक्षरहरु । अप्रष्ट दृष्टि मानिसहरु हुन् । चहकिला देखिनेहरु कति छन् र यो दुनियामा । यो बिहानीझै हर कोही धुमिल नै छ । अष्पष्टता केबल मेरो होइन यो दुनियाको पनि त हो । तर म चाहन्छु म अष्पष्ट नै रहिरहुँ । कसैले मलाई तँ यही होस् भनेर निर्कोल नगरोस् । पानीझै, बाफझै स्वरुप बदल्न सकुँ । हलुका बनु ताकी कसैले जोख्न नखोजोस् । सिमलको भूवाझै बिना मतलब परपर उड्न सकुँ ।
यी अक्षरहरु , यो भाषा पनि कुनै संरचनामा छैन । म यसलाई कथा पनि भनिदिन सक्छु । यो संस्मरण पनि हो । यो कल्पना पनि हो । यो यर्थाथ पनि हो । यो लेखिरहँदा म कुनै बनिबनाउँ संरचनामा बाधिएकी छैन । कुनै यायावरझै यो कुनै अक्षरको यायावरीपन यो । यो अक्षरको यात्रा हो । मेरा औलाहरुले के रोज्छन् मलाई थाहा छैन । तर यसले मलाई आफू हुनुको अनुभूती दिन्छ । यात्राको अनूभूती दिन्छ । सायद मेरो भर्सनको यात्रा यही नै हो ।
यो आजको डायरीको अंश हो । भोलीको डायरी पनि सायद यस्तै नै हुनेछ ।
No comments:
Post a Comment