भर्खरै बिहानी भएको छ । शहरमा हलचल बढीसकेको छैन । आकाशमा बादल यथावत नै छ । सदाझै आज पनि बिहानै बिउँझिएकी छु । आज काममा जानु छैन तथापी सुतिरहन सक्दिन । बाहिर आकाश हेर्छु मलाई बिना हलचलका शान्त बिहानीहरु मनपर्छ । झ्याल खोलेर बाहिर एकटङ्कारले हेर्दै छु ।
अबका पाँच दिन मेरा आफ्ना हुन्, कसैलाई बाड्नु नपर्ने केबल आफ्ना । आधि पढिभ्याएको किताब सिरानीमा छ । आधि जाचेका कापीहरु अर्को टेबलमा छन् । ल्यापटप बन्द छैन । सबै चीज अधुरो यात्रामा छन् । सायद म जस्तै । यो अधुरोपन सायद मेरो आफ्नो हो । म गरीभ्याएको कामलाई सेलेब्रेट गरेर बसीरहन सक्दिन । अप्राप्तीले सदा पोल्छ ।
यहि अधुरोपनमा आफैलाई खोज्छु कहिलेकाही । यदाकदा लाग्छ, जे देखे जे जीउँदैछु मेरो आफ्नो हो । आफैसँग गुनासो नभएको पनि होइन तर कहिल्यै लाग्दैन कोही अरुको मूलबाटोमा हिडेँ । आफू वरीपरीका मानिसहरु भेट्छु सबैको गुनासो छ समय नभएकोका । आफूलाई हेर्छु, चाहिनेभन्दा बढी समय पाउँछु । सायद समय मेरो मात्र भएर हो । मसँग समय नै समय छ । सायद अरुकोझै मेरो जीवन दौडँदैन । कहिलेकाही त म घडिका सुई गनेर पनि बसिदिन्छु ।
मसँग समयनै समय छ । हप्ताको एउटा पुस्तक प्राय पढ्छु । आफैसँग बोलिरहन्छु । आफैलाई मनलागेको चिज गर्छु । समयसँग गर्नुपर्ने गुनासाहरु केही छैनन् । बन्धनहरु छैनन् बाध्यताहरु छैनन् । केही मनोकामनाहरु नभएका होइनन् । माया मोह र बासना बाहेक हरु चिजलाई हेर्ने हो भने म एक जोगीझै हुँ । मसँग बाध्यता र जिम्मेबारीका गह्रौ पोकाहरु छैनन् ।
भर्खरै मार्खेजको पुस्तक पढिभ्याएकी छु । मलाई हृदयले लेख्नेहरु असाध्दै मनपर्छ । जीवनलाई नचाहिने ढङ्गले रोमान्टीसाइज गर्नेहरु देखेर हाँसो पनि उठ्छ । सतहमा बाच्नेहरुलाई लाग्ला जीवन जे देखिन्छ त्यही मात्र हो गहिरेर हेर्दा हामी सबैसँग अत्यासलाग्दा निरास रातहरु छन् । हृदय खालेर बोल्यौभने हाम्रा आँखा ओभाना बाकी रहँदैनन् । सपनाका, सम्बन्धका अनैकौ चोटहरुको साक्षी हामी सबै भएका छौ । तर दुनियासँग यस्तो भैदिन्छौ लाग्छ हामीसँग हिडिआएको बाटामा फूलहरु मात्र थिएँ । र छन् ।
अचेल काठमाडौ अत्यासलाग्दो लाग्छ । कहिलेकाही लाग्छ यो निराशाको पुञ्ज हो । मैले जीएको काठमाडौ यो भन्दा निराश कहिल्यै थिएन । नानीहरुलाई लाग्छ सपना भनेको पैसा हो । मेरा हाइस्कुल भ्याइसकेका बिथार्थीहरुलाई तिमीले जे बुझ्दैछौ त्यो सत्य होइन भनेर सम्झाउँन सक्दिन । उनीहरुलाई लाग्छ पैसा भनेको सपना हो । सायद यहि समयको काठमाडौँलाई कोही कविले चित्रण गर्यो भने ग्रिन्सबर्गले साट्ठिको दशकका लेखेका कविताभन्दा फरक नबन्ला । आदर्शबादी हुनु, कम्यूनिष्ठ हुनु अबको समाजको लागि आउटडेटेड हुनु हो । कहिलेकाही लाग्छ यो सहर सुपरमार्केट हो यहाँ केही चर्चा हुन्छ भने त्यो डेबिट क्रेडिट कार्डको हुन्छ ।
यहि गतिमा सहर अघि बढ्यो भने यस्तो समय आउँनेछ, सहरले अफिसमा काम गर्ने कर्मचारी भेट्ने छैन । विचार निर्माण गर्ने अध्यताहरु रहेनेछैनन् । स्कुलहरुले शिक्षक नपाउँन सक्छन् । तर यस्तो झुर कल्पना कसले गरीबस्छ यो सहरमा । यस्तो काम काम नभएका म जस्ताको हो जोसँग सोच्ने समय मात्र छ ।
सहरमा साथीहरु कम छन् । नाटक हेर्न र पुस्तक किन्न एक्लै हिड्न थालेको बर्षै भैसक्यो । कहिलेकाही त समाजले देश नछोड्नेहरु किनाराझे कहशुस गराउँछ ।हुन त किनारा हुनु र मानिस हुनु अस्तित्वको हिसाबले एउटै हो । तथापी आफ्नो भागको गल्ति पनि देशकै हो भन्न सक्दिन ।
भखरै बिस बाइसका नानीहरु मेरो लोग्नेले जाँड खाँदैन भनेर टिकटक बनाउँछन् आमाहरु छोरीले संसारै जीतिझै गरी सेअर गर्छन् । लागेको थियो म पछि बैनीहरुको लागि सपनाका आयतनहरु र जीवनका परिभाषाहरु फराकिला भन्नेछन् । तर समाज उल्टो बगेझै लाग्छन् । बैनीहरु लोग्ने जाँड नखानेको परेकोमै खुसी छन् ।
लेखीरहँदा लाग्यो मसँग पनि गुनासाका पोकाहरु मात्र रहेछन् ।
सायद यस्ते नदेखिने हलचलहरु बोकेर म हरेक दिन हिड्छ । यो गत बर्षको डायरी थियो । यहि दिनको । आज पनि लेख्न लागि मसँग यो बाहेर अब शब्दहरु कम बाकी छन् । आज पनि गत बर्षको यही दिनझै एउटा किताब भ्याएँ । चियाका र कफिका कपहरुले आज पनि पछ्यायो ।
गत बर्षझै आज पनि दिन चिसोछे । काठमाडौँमा , पुस र माघ कसैले केही नगर्दा पनि हुँन्छ । ओछ्यान पल्टेर, सुन्तला र बदाम खाएर पनि जान सक्छ । तर हलचल त छ नि । कसैले नदेख्देमा मान्छे कहाँ शान्त हुन्छ र । म शान्त भैदिन सक्दिन । केही नभएपनि मानिस नउठ्दैको बिहानीले मलाई सधैँ उठाउँछ । मान्छेका पदचाप बिनाको सडक र मैले बिहानीलाई एकैसाथ साक्ष्यात्कार गर्छौ । कहिलेकाही त लाग्छ म कामको नाममा सोच्ने काम मात्र गर्छु । हुनसक्छ यो नै मानिस हुनु हो ।
आज सबेरै बिहानीको साक्षि भएकी थिएँ । अब रातको हुनेछु । रात आफ्नो हो । रातले बिना कारण बर्बराउँने र रुने स्वतन्त्रता दिन्छ । मलाई आज रातको हुनु । म भित्रका हलचललाई पोख्नकै लागि पनि मलाई रात चाहिन्छ । रातले मलाई नाङ्गै देखे पनि प्रश्न गर्दैन । दिनमा त मानिसहरुले कपडामा पनि नाङ्गो देख्छन् ।
हिजो देखि कुनै किताबको प्रतिक्षामा छु । आजसम्म डलिभरी भएको छैन । अब प्रतिक्षाको नाममा पनि मसँग किताबहरु मात्र बाकी छन् । आजकल म मानिसहरुको प्रतिक्षा गर्दिन । गरेको पनि हो । गरेर थाकेको पनि हो ।
यो हलचल बिच पनि कही कतै शुन्यता लुकेको छ । त्यो भन्दा पर कतै सान्नाटा पनि छ । के हलचलको कुरा गर्नु ।
No comments:
Post a Comment