Saturday, March 7, 2026

ह्याप्पी नारी दिवस

 

यो कथा होइन । यो दिवस बारेको एक हल्ला हो । म हल्ला गर्न मनपराउँछु त्यसैले लेख्दैछु । ह्याप्पी नारी दिवस नभन्दा पनि हुन्थ्यो तर भने । र फेरी पनि भन्न चाहन्छु । तर यो गनथन होइन यो हल्ला हो । हो म पनि पुरुषहरुझै चिया पसलमा, भट्टीमा, बिधालयमा , क्याम्सपसमा हल्ला गर्न चाहन्छु । पुरुषहरुझै म पनि कमजोरी नै कमजोरीले भरीएकी महिला हुँ । तर म कमजोरीहरुलाई बिरलै देखाउँछु किनकी जन्मजात मलाई कमजोरी बिहिन हुनुपर्ने बोझ छ । हो म बोझले थिचिएकी छु । म थिचिएर उठ्न नपाएकी पनि हँु ।  म थिचिएर उठेकी पनि हुँ । केही अपुरा बन्धनहरु बोकेर उड्न खोज्ने पनि हुँ । म सबैसबै हुँ ।

हो मलाई पनि हल्ला गर्न मन पर्छ । तर म बिरलै हल्ला गर्छु । किनकी मसँग हल्ला गर्ने समय छैन । तर म सँग छ । तर भए पनि  म गर्दिन किनकी म हल्ला गरेको राम्रो सुनिन्न । अथवा मेरो हल्ला रुचाइन्न । त्यसैले यी शब्दहरु मार्फन हल्ला गरेँ । त्यसैले मलाई आवाजमा हल्ला गर्नु छैन । म हल्ला पनि सुनसान गर्छु । चिया पसलमा चुपचाप चिया खाने । अफिसमा चाहिएको बोल्न अनकनाउने । बोले पनि अरुले नसुन्ने मलाई नै हो । त्यसैले म हल्ला पनि सुनसान गर्छु । 

केही महिना अघि म निराश थिएँ । रातभरी सुत्न नसकेपछि भोलिपल्ट ब्राह बजे तिर म बसन्तपुरको एक छिडिमा सुतिदिएँ । मेरो अघि अर्का पुरुष पनि सुत्दै थिएँ । अचानक कोही आयो र त्यो खुल्ला ठाउँमा सुत्नबाट मलाई रोकियो । तर म अघिका पुरुष निष्प्रबाह सुते । कथा यही नै हो । बुझ्नुभएन ? बुझ्नुभयो भने ह्याप्पी नारी दिवस भन्नुस् है । 

गत बर्ष होइन त्यो भन्दा पनि अघिल्लो बर्ष होइन म जन्मदा देखिनै म जस्तो हुनुपर्ने त्यस्तो नभएकोमा दुखेसो पोखियो । किन थाहा छ किनकी म सानी थिएँ अनि काली पनि थिएँ । अनि सबैलाई जन्मेदेखी नै लाग्न थाल्यो यसको बिहे कसरी गर्ने । कसैले लाँदैनन् कि । हुन त अहिले पनि धेरैलाई म जस्तो हुनुपर्ने त्यस्तो भैन  त्यसैले बिहे हुन सकेन भन्छन् । तर कथा यो होइन । तर पनि मेरा वरिपरिका मानिसले मलाई यसै भन्छन् । अनि कहिलेकाही मेरो काखमा सन्तान नभएकोमा मेरो सिँउदोमा सिन्दुर नभएको भोली के होला भनेर लामो सास फेर्छन् । मेरै अगाडी । यसपटक फेरी मलाई ह्याप्पी नारी दिवस भन्नुस् । 

एक हप्ता अघि म भोट हाल्न घर जाँदै थिएँ । बिचमा मेरै उमेरकी तर १७ बर्षकी छोराकी आमा भेटिइन् । त्यो संयोग थियो ।  दुई छोराकी आमा तर उमेर मेरी सखी आफ्नो लोग्ने गुमाएकोमा दुखेसो पोखिन् । उमेरले मेरै दमली भए पनि जीवनमा भोगाइले उसको उमेर मेरी हजुरआमाकै थियो । डेढ घन्टा सँगै बिताएपनि, एकै उमेकी भएपनि, हामीले जीएको भूगोलमा करिब असि नै बर्षको अन्तर थियो । मैले उसलाई हात हल्लाए र आफ्नो पोल्टामा परेका सुबिधाको खातिर आफैँलाई भाग्यमानी ठाने । आज पनि त्यस दिनझै उ मल बोक्दै होली । कुनै यूगमा छुटेकी डेढ घण्टाकी  मेरी सखीलाई पनि ह्याप्पी नारी दिवस भन्न चाहन्छु ।

तर मसँग तर भोगाइ मात्र होइन किताबमा भेटिएका नायीकाहरु पनि त छन् । प्रिय स्परेन्जा तिम्रा कपाल घुम्रो थियो होला । तिम्री काकीले तँजस्ती लाई कसली लान्छ पनि भनिन होला । लेफ्ट आउँट हुने डरमा रातो लिपिस्टक र रातो जुत्ता लगाएर पुरुष छेउ पनि गयौ होला । तर पनि तिमीले कथाको बाटो रोज्यो । कसैले भनिदियो मेक्सिन घर छोड र आफ्नै घर रोज । तिमीले लोग्नेको घर भन्दा अक्षरहरु रोज्यौ । प्रिय नायिका, यो भूगोलमा तिमी र मजस्ता आउटलाएरहरु अक्षरभित्र मात्र रोजिँदा रहेछौ वा अटाउँदा रहेछौ । म जति आफूलाई माया गर्छु तिमीलाई पनि त्यती नै गर्छु । समाजको मानकभित्र नअटेपछि संसार नै घर र भूगोल बन्दो रहेछ । प्रिय नायीका ह्याप्पी नारी दिवस ।

प्रिय सकमबरी, तिमी हुनु भनेको एउटा यूगलाई अर्को यूगतिर लग्नु हो । हुन त धेरैले तिमीलाई निराश र निस्सार मात्र देख्छन् तर तिमी त आशा मात्र हौ । निराश भित्रको एक उज्यालो । म तिम्रो निस्सारतालाई मात्र होइन तिम्रा खिरिला औलाहरु र तिम्रो मुडुलो टाउँकोलाई पनि प्रेम गर्छु । आउँ हामी दुबै मिलेर आफ्नै मनको भूगोलमा राज गरौँ । ह्याप्पी नारी दिवस सकमबरी । 

यी त अक्षरका नायीकाहरु हुन् किताबमाझै जीवनमा पनि अनायिका झै लाग्ने तर नायिकाहरुको कुनै कमि छैन । बिच बाटोमा । किताब पसलमा । सडक छेउँको चिया पसलमा । किताबको कभरमा । सिनेमाको पोस्टरमा । मनमा जसले जीवनको भूगोल आफैँ समाले वा समालेनन् । सबै सबैलाई ह्याप्पी नारी दिवस भन्न चाहन्छु । र मेरी आमालाई पनि । 


No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...