बिहानी, दिन, रात । चक्रझै चलेको छु । आज दिन घमाइलो भयो । पानी पर्यो झरीले रुझेँ । आज घाम लागेन चिसो भयो । सधैँझै चल्ने यही नै हो । तर घाम पानी र बादल बिच पनि केही छ । यती धेरै सुनसान मलाई लाग्छ जे जिउँदैछु सबैभन्दा गहिरो जिउँदैछु । कसैले बिहान भयो उठ् भन्दैन । चियाको गिलास थमाउँने पनि त कोही छैन । किचनमा छिर्छु बेल्का पकाएका भाडा बेसिनमा असरल्ल छन् । सिरक ओछ्यानमा असरल्ल पल्टेको छ । दराजका किताब भुइँमा छन् । बादल पनि लागेको छ । पानी पनि परेको छु । तर अधुरो छु तिमीझै उझै वा आफैँझै ।
जीवन एक अधुरो बिम्ब । एक याद । एक सम्झना । एक अधुरो कविता । एक बन्न नसकेको कथा । हो जे छ टुक्रा टुक्रामा छ । यो उदासी होइन । यो सम्झना हो तर सम्झना पनि होइन । यो अर्थ र अर्थहिनता दुबै हो । जे छ गहिरो छ । जे छ सतहमा छ । चाहेर नचाहेर म जीवनलाई सम्झेर हेर्छु भएभरका बिन्दुहरुलाई जोड्छु र एक आकारझै केही भेट्छु । तर म त्यो आकार यो हो भन्न सक्दिन । कुनै धुमिल सम्झनाझै म आकार ठानेर कुनै यादलाई झै फेरी फर्केर हेर्छु । र फेरी पुग्नुपर्ने बाटोबारे सोच्छु ।
मलाई लाग्दैन जो आज जिउँदैछ उसले चाहेर पनि यो समयलाई कुनै प्रष्ट बिम्बले ब्याख्या गर्न सक्दैन । यहाँ उदासी छ । तर उदासीमात्र छैन उदासीभित्र एक्लोपन पनि छ । उदासीले एक्लोपनलाई चिन्दैन । एक्लोपनले उदासीलाई चिन्दैन । अनौठो बिष्मयबिच हामी कुँदिरहेछौ । एक अनौठो यात्रा । एक अनौठो रेस । फर्केर हेर्यौ भने त्यो हिडाइमा केही भेटिँदैन । तथापी देखाउँनलाई नै भनेपनी दौडन छोड्दैनौ ।
जब चिहाएर आफैँलाई हेर्छु आफूँ बाचेको समयलाई हेर्छु यस्तो लाग्छ जे छ अधुरो छ । जे छ अपूर्ण छ । तर अपूर्णतालाई सराप्दैमा पूर्ण भैन पनि त होइन । यस्तो लाग्छ जे छ टुक्राटुक्रामा छ । यो समयमा खुसी हुनुभन्दा अनौठो कुरा केही छैन । यादहरु अपुरा छन् । जे छ धमिलो छ ।
मैले हरेर दिन लेख्ने डायरी पनि यस्तै छ । याद पनि छ । सम्झना पनि छ । तर दुरीहरु अझ बढेका छन् । सम्झेको छु भन्न पनि फेरी अर्को दुरी नाघ्नुपर्ने छ । केही नभएझे सग्लो भएर जीएझे म हरेक दिन केही राम्रो भएझै लेख्छु । तर म पनि त निराश नै छु तिमीझैँ उझैँ वा आफैँझै । तर म निराशालाई केही नभएझै छोपी दिन्छु । गहिरोपनलाई सतह भनिदिन्छु । र कुनै बिशिष्ट समयमा बाचेँझै फूल रुख र चराहरको कुरा गर्छु ।
हरेक दिन त्यही दोहोर्याउँछु डायरीमा र भन्छु हरेक दिन केही भएझै गर्छु । छाडी गएकालाई याद गर्नु । नहुनेको सम्झना गर्नु पनि कुनै दूलर्भ कथा बनेको छ । मलाई लाग्छ यो खोक्रोपन भित्र आफूलाई बाचाल देखाउँन हामी कुद्दैछौ र कतै हराउँदै छौ ।
No comments:
Post a Comment