Monday, October 27, 2025

पाइला

 

कहिलेकाही जीवन साघुरो लाग्छ  । पाइलाहरु गह्रौ लाग्छ । मन नै त हो मन पनि गहुङ्गो हुन्छ । फूल, रुख र चराहरुलाई देख्दा ईष्या पनि लाग्छ । कोठा सानो लाग्छ । पर्दाहरु पुराना लाग्छन् । भित्तामा झुण्डाएको ऐना आजै पुछेको भए पनि फोहोरझै लाग्छ  । किताबका पानाहरुमा पनि धुलो जमेझै लाग्छ । तर तिम्रो प्रतिक्षा त छ नी ।

यो साघुुरो कोठा पनि  तिमी आइदियौ भने फराकिलो बन्नेछ । वा म गैदिएँ भने सायद तिम्रो अाँगन पनि फराकिलो बन्नेछ । तिमीलाई मैले कुरेको मैले तिमीलाई कुरेको पनि चार बर्ष भैसकेछ । मैले चाहेर पनि क्षितिजहरु नाध्न सकिन । तिमीले चाहेर आफ्नो गुडमा फर्कन सकेनौ । तिमीलाई कुर्दाकुर्दा कहिलेकाही आँखाहरु थाकेझै लाग्छन् । तर किन हो थाहा छैन मन थाकेको छैन । लाग्छ तिमी आयौ भने – यो साघुरो कोठा पनि फराकिलो बन्नेछ । मैले हेर्ने ऐना पनि सफाझै लाग्नेछ । सायद सबैसबै नयाँझै लाग्नेछ ।

कहिलेकाही जीवन छोटो र अप्रत्यारिलो छ । म कहिले बिदा हुन्छु तिमी कहिले बिदा हुन्छौ टुङ्गो छैन । तर मनले त भन्छ नि जाँदैगर्दा एकपटक तिमीलाई अगाल्न चाहन्छ चुम्न चाहन्छ । तिम्रा हातहरुलाई मज्जाले स्पर्श गर्न चाहन्छ । मन न हो यो सब चाहन्छ ।

कहिलेकाही पर क्षितिजमा उडिरहेका चराहरु देख्छु उनीहरुलाई देखेर इष्र्या पनि लाग्छ । लाग्छ म पनि उनीहरुझै उड्न सकेको भए । कहिलेकाही भूगोलहरु दुरी बनिदिन्छन् । चाहेर पनि नाघ्न नसकेको आफ्नै क्षितिजले पोल्छ । कहिलेकाही त म समयलाई पनि गालि गर्छु । किन समयले हामीलाई केही वर्ष अघि भेटाएन । वा हामीलाई भेटाएन । यति भनिरहँदा पनि प्रतिक्षा त तिम्रै छ ।

पर्खाइ

हरेक दिन पर्खन्छु जसरी दिनले घामलाई पर्खन्छ । जसरी रातले जुनलाई पर्खन्छ । जसरी कागजले अक्षरलाई पर्खन्छ । हो पर्खिरहेछु । मैले दिनहरु गन्न छोडेकी छु । रातहरु आफ्ना झै लाग्छन् । सपनाहरुमा यदाकदा झुल्कन्छौ । तर सपनामा तिमीलाई भेटेर पनि भेट्न सक्दिन । सपनाहरु अधुरा नै बनेर टुगिन्छ ।

सायद एक सपना । सायद एक पर्खाइ । बर्षौ देखी कुरेकी कुनै लाहुरेकी स्वास्नीझै म पनि यदाकदा तिम्रै नाममा फूलहरु फुलाउँछु । यदाकदा मन्दिरमा जाँदा धुपबत्ती बाल्छु । तिम्रा लागि केही भाकल गर्छुृ । अधुरो नै सही पर्खन्छु र पर्खिरहन्छु । 

कहिलेकाही निद्रामा तिमी देखियौ भने म बिउँझन चाहन्न । सपनामै सहि तिमी हुनुको अनुभूती सुन्दर बनिदिन्छ । कथाझै म आफूलाई कल्पिन्छु । नहनु पनि कति पिडादायक छ । पर्खदा पर्खदा आँखाहरु नथाक्लान् भन्न पनि त सकिन्न । कथाझै तिमी कतै फर्किएनौ भने । भूगोल कुनै दस्चर्क बनेर हामी बिच आइदियो भने । मनले त के के भन्छ । तर पर्खन्छु । सायद म जीवनभरी पर्खिदिन सक्छु ।

हिजो राती पर्खे । अस्ति बिहान पर्खे । बर्षहरु पर्खे । उडेका तिमी फेरी उडेरनै फर्कन्छौ कि भन्ने नलागेको पनि होइन । खोइ थाहा छैन कहिले तिमी फर्कनेछौ । कहिले मेरो पर्खाइ सिद्घिनेछ ।


रातः एक भावना


 २०२५– १०– २६

म अनिदो छु । रात पनि त अनिदो छ । सबै अनिदा रातहरु अप्रिय हुँदैनन् जस्तो कि आज । म रातलाई अँगाल्छु । म उससँग रोइदिन्छु । उसले मलाई बेप्रवाह रुने स्वतन्त्रता दिएको छ । म उसको अँगालोमा रोइदिन्छु । सबैस्ाँग कहाँ रुन सकिन्छ र ! मध्य दिउसो कहाँँ रुन सकिन्छ र ! तर रातले रुन दिन्छ । म उसलाई मनमनै धन्यवाद भन्छु ।

आफू हुन पनि रात पर्नु पर्छ । दिनको उज्यालोले सबै चिज छेकिदिन्छ । रात आफ्नो हो । म रातमा नांगिन सक्छु । म रातमा बौलाउँन सक्छु । म रातमा चिच्याउँन सक्छु । हो सबै रातहरु अप्रिय हुँदैनन् । रातको एक बजेको छ । म कसैको पर्खाइमा छु । मैले आफैँलाई पर्खिरहेको पनि हुनसक्छु । कति सुन्दर पर्खाइ । म उसँग नाँगिन सक्छु । आँशु झारिदिन सक्छु । रिसाएर नबोलिदिन पनि सक्छु । उसको पर्खाइमा म खुसी छु जस्तो कि आज । म पर्खेर पनि खुसी छु । कसैको अनुपस्थितिमा पनि खुसी छु । 

मलाई हेर्ने कोही छैन । रातले मलाई गिज्याउँदैन । मेरा छाँयाहरुलाई नाप्दैन । मेरा कथाहरुलाई फाल्दैन । रातले त अँगाल्न मात्र जानेको छ । म रातलाई अँगाल्न सक्छु । उसले मलाई चुम्न सक्छ । यहाँ परिधिहरु छैनन् । पावन्धिहरु छैनन् । निस्सासिएका कथाहरु छैनन् । सबै रातहरु अप्रिय हुँदैनन् जस्तो कि आज ।

आज रात मेरो भएको छ । म रातकी भएकी छु । म उसको अँगालोमा अनिदो भएर पनि खुसी छु । म कसैको पर्खाइमा पनि खुसी छु । कोही नहुनुमा पनि खुसी छु । कोही भैदिएको भए पनि खुसी हुनेथिँएँ । सबै अनिदा रातहरु अप्रिय हुँदैनन् जस्तो कि आज ।

एकात्मकता र प्रेमको चरम बिन्दु


भर्खरै बुकर पुरस्कारको ओवसाइडमा एउटा लेख प्रकाशित भएको छ । जसमा किन जापानी र कोरीयन लेखकहरु अंग्रेजी पाठकमाज बिश्वभरी चिनिदैछन् भनेर ब्याख्या गरीएको छ । लेखमा सारा साफी भन्छिन्, “ जापानी लेखकहरु मानविय संवेदनाका त्यस्ता पाटाहरुबारे बोल्छन् जो हामी दजरअन्दाज गरीदिन्छौ । “ लेखमा उनी मियाको कावाकामीको नाम पनि लिन्छिन् । जापानी भाषामा लेखे पनि बिश्वभरीकै पाठकका लागि मियाको कावाकामी नौलो नाम होइन । यसअघि प्रकाशित उनका पुस्तकहरु “बिस्ट एन्ड एग” र “हेवेन” ले उनलाई बिश्व पाठकमाझ मात्र पुर्याएन बुकर पुरस्कारमा सुचिकृत पनि गरायो । उनी अहिले बिश्वभरी पठिने जापानी लेखकमा पर्छिन् । उनका आख्यानका बिषयबस्तुले ठूला कुरा त गर्दैनन् तर पाठकको मन भने मज्जाले चोर्छन् । 

पछिल्लो समय उनको पुस्तक “अल द लभर्स इन द नाइट” ले उनलाई फेरी बिश्वमाझ पुर्याएको छ । पुस्तकको शिर्षकले प्रेमीहरुको रातको कुरा गरे पनि उपन्यास प्रेम कथा भने होइन । यो त्यस्तो कथा जसमा एकात्मकता छ, उपन्यासको प्रमुख पात्र फूडियाकोलाई नियाल्दा लाग्छ संसार प्रेममा अडिएको छ भने पनि सबैले सोचेजस्तै प्रेमलाई अनुभूत गर्न सजिलो छैन । कविताझै सरर बग्ने उनको कथा बाचन शैलीले हामी सबैलाई पात्रको दुख र सुखको साक्षि बनाउँछ ।

उपन्यास फुडियाकोको कथा हो । उमेरले तीस कटिसकेकी उसको जीवनमा एकान्त र एक्लोपन बाहेर अरु केही छैन । उ कुनै अमूक प्रकाशकको लागि पु्रफरिडरको काम गर्छे । उसलाई नियाल्दा यस्तो लाग्छ उसँग जीवनमा सेलेब्रेट गर्नको लागि एक्लोपनबाहेक अरु केही छैन । प्राय अरु मानिसझै उ पनि उमेरको एक कठिन परिस्थितमा छ । तीसले उसलाई जीवनका ठहरावहरु मात्र दिएको छैन जीवनबारे अरु धेरै तनावहरु पनि थपिदिएको छ । उ सधै गरिरहेको काममा खुसी पनि छैन । एक्ली छ तर एक्लोपनमा रमाएकी पनि छैन । उसलाई गहिरेर हेर्दा उ त्यस्तो पात्र हो जोसँग जीवनको निस्सारताको एक अर्को अध्याय छ । तर  उसको उपस्थितिलाई हामी निस्सार भन्न  भने सक्दैनौ । सायद उ हुनुको सार त्यही निस्सारता भित्र नै छ ।

  उपन्यासको सुरुवातमै प्रमुख पात्र भन्छिन्, “रात किन यति सुन्दर हुन्छ थाहा छ किन कि यसले हामीलाई रुने स्वतन्त्रता दिन्छ” , सायद लेखकले दिएको रातको बिम्बले कथानक बारे धेरै बोल्छ । उमेरले तीस कटिसक्दा पनि कहिल्यै प्रेमलाई अनुभुत नगरेकी फुडियाकोको लागि सायद रात त्यस्तो समय हो जहाँ उ खुलेर आफूलाई पोख्न सक्छे । सायद उसको स्त्रित्वको कसैले सम्बोधन गर्न सक्छ भने सायद रातले नै गर्न सक्छ ।

उपन्यास धेरै पात्रहरुले भरीएको छैन । सायद लेखकलाई लाग्यो उनले जे बोल्दैछ फूडियोको मार्फत नै बोल्दैछन् । तथापी उसँगै उ भन्दा फरक अर्कि पात्र छ हिजारी जो फूडियोको भन्दा फरक छ । उमेर र कामको उहिँ परिस्थितिमा अल्झिएपनि फूडियोको जस्तो उसको जीवन एक्लो छैन । उसले प्रेमलाई बुझेकी पनि छ र प्रेम भन्दा बाहिर निस्किएकी पनि छ ।

Saturday, October 18, 2025

निराशा

 

निराश छु भन्न पो सजिलोझै लाग्ला भोग्न कहाँ सजिलो छ र । निराशा मेरो पुरानो इतिहास हो जो दोहोरीरहन्छ । पहिलोपटक साच्चै निराश भएको अनुभूती बिए पहिलो बर्ष पढ्दा भएको थयो । त्यो बर्ष मामा बित्नुभएको थियो । ममिलाई आफूभन्दा सानो मानिस गुमाउनु सजिलो थिएन । पारिवारिक माहोल त्यस्तै थियो । तर त्यो निराशा थिएन त्यो दुख थियो । पहिलोपटक निराशा र दुख फरक रहेछ भन्ने मलाई त्यो बर्ष थाहा भएको थियो ।

सत्र बाट अठार पनि भएको थिइन । ममि बुबाले कसैको घरको माथिल्लो कोठा जसमा म बाहेक कोही बस्दैनथेँ त्यहा डेरा खोजिदिनु भएको थियो । इन्टरनेट आइसकेको थिएन । घरमा दिनको बिरलै एक दुई मिनेट गफ हुन्थ्यो । त्यो बर्ष म चाहेर पनि अघिल्लोबर्ष जस्तो हुन सकिन । जतिखेरै मुटु धड्कने, हातमा पसिना आउँने निद्रा नलाग्ने, जतिखेरै गर्मि भएझै हुने । तर किन कारण थाहा हुन सकेन । सबैलाई लाग्थ्यो त्यो होमसिक मात्र थियो तर त्यो होमसिक मात्र थिएन । टिनएज पनि क्रस नगरेकि किशोरीको लागि त्यो जीवनमा पहिलोपटक पहिरो गएझै थियो । किन त्यस्तो भयो कारण थिएन । म निराश थिएँ भने पनि कसैलाई त्यो निराशा हो भन्ने लागेन । सबैकुरा भन्न सक्ने साथी पनि थिएनन् । दिदीबहिनी थिएनन् । करिब दुई बर्ष म मज्जाले निदाउँन सकिन । बिस्तारै त्यो कम हुँदे गयो म पहिलेझै भएँ । तर त्यो पटकपटक नदोहोरीएको भने होइन । ट्रिगर गर्ने चिज धेरै थिएँ । आज पनि बेलाबेला हुने गर्छु । त्यो अध्यारो समय सम्झिदा आज पनि तर्सिन्छु । मलाई त्यो निराश निदाउँन नसक्ने एक्ली किशोरी सम्झदा आज पनि माया लाग्छ ।

गत बर्ष म जीवनको लगभग त्यस्तै  मोडमा थिएँ जसमा उज्यालो भन्दा बढी अध्यारो थियो । एक दिन त्यसै एजुकेसन बुक हाउसमा बरालिँदा बेक सीलाई देखेँ । थेरापिष्ट सँगको कुराकानी रहेछ भन्ने कुरा कभरले नै भन्यौ । मैले डराइ डराइ किताब समाए । आफैँ निराश भएको बेला झन निराश पो बनाउँलाकी भन्ने डर थियो । घर ल्याएर फुकाउँदा डिप्रेसनबारे लेखिएको भएपनि किताब मैले सोचेझै डिप्रेसिङ थिएन । 

प्रिय बेक सी, तिमीलाई पढ्नु एक निराशले अर्को निराशलाई पढ्नु थियो । आफूजस्तै अर्कोलाई भेट्नु पनि थियो । तिम्रो निजि कथा भएपनि त्यो तिमीजस्तै धेरैको कथा थियो । निराशा र खुसी बिच कहि कतै उभिएर हामीले आफैँलाई हेरीरयौ । तिमीले जस्तै कयौ दिनहरु नसुतिकन बिताएकी छु । तर त्यो डप्रेसन थियो वा थिएन मलाई थाहा छैन । तर निराश हुनु सामान्य रहेछ भन्नेकुरा तिमीले मात्र सिकाउँन सक्यौ । 

तिमीले सजिले भनिदियौ – जब तिमी कठिन समयमा हुन्छौ, तिमीलाई यो संसारकै सबैभन्दा कठिन समय तिम्रो चल्दैछ भन्ने पनि लाग्ला । र त्यस्तो सोच आउनु कुनै अपराध होइन । तर खोइ के भयो तिमीले अकालमै बिदा लियौ ।

चिन्ता नलिनु सबै ठिक हुन्छ भन्दे तिमी बिदा लियौ । सायद अब कसैले किताबमा पानाहरुमा यसरी भन्नेछैन । जीउन सजिलो छैन । र जीउँदिन भन्न पनि त सजिलो छैन । सायद तिमीले आफ्ने लागि रोज्यौ ।

तिमीलाई पढेको करिब एक बर्ष भएछ । मस्र्याङ्दीमा धेरै पानी बग्यो । म पनि त्यही पानीसँगै बगेहोला । तर यो एक बर्षमै तिमीलाई गुडबाई भन्ने रहर पटक्कै थिएन । दशै अघि, मैले तिम्रो किताबलाई एकपटक पुछेर बिदा भएकी थिएँ लागेको थिएन तिमी म फर्कदा सम्म किताबमा मात्र बाकी रहन्छ्यौ भने ।

प्रिय बेक सी , जाँदै गर्दा यती भन्न चाहन्छ तिम्रा न्याना शब्दहरुले मलाई धेरै चिज दिएको छ । सधै कृतज्ञ भेरहनेछु ।

Wednesday, October 15, 2025

आइ वाज बर्न दिस् मर्निङ

 

मनमनै भन्छु “ के ले बाधेको छ तँलाई, अह! अब अगाडी बढ । समयले तँलाई पर्खदैन” यतिकैमा कोही आइपुग्छ, म केही नभएझै गरिदिन्छु । को हो उँ म चिन्दिन । उ सोध्छ, “सन्चै हुनुहुन्छ ?” "ठिक छु " म केही नभएझै गदिदिन्छु । उसले थप केही सोध्दैन । मलाई लाग्छ उ कोही हो । को हो म चिन्न चाहन्न । सायद उसले मलाई चिन्छ । मनले भन्छ, “ चिनेर के भो त, चिनेकाझै गर्नेले चिनेका छन् त,  छैनन् , उसले चिने पनि नचिने पनि मलाई  के”

म सडकमा एकतमासले हिड्छु । ब्राह बजेको छ । ब्राह त जीवनमा पनि बजेको छ । तर म केही नभएझै हिडिदिन्छु । मेरा पाइलाहरु छोटा भएका छन् । म आफूलाई भएको भन्दा पनि पुड्को देख्छु । हुन त म पाँच फिटकी पनि छैन । मनले भन्छ हो म यस्तै हो । हो कतिले डल्लि भने । कतिले काली भने । कतिले कुरुप भने । मनमनै भन्छु तर मलाई फरक पर्दैन । तिनीहरुले भनेको म केही होइन । म जे हु मेरो हुँ । म मैले सोचेजस्तै हुँ । उनीहरुले जे सुकै भनुन् । बस् म आफूलाई आफ्नो नजरले मात्र हेर्न चाहन्छु ।

यसो भन्दै म लामा लामा पाइला चाल्छु । कसैले फेरी बोलाउँछ  म नसुनेझै गरिदिन्छु । कोही अरुले अर्कोपटक नमस्कार गर्छ , “अह म फेरी अर्कोपटक पनि नसुनेझै गदिदिन्छु । मनले भन्छ अगाडी बढ । तँ जे होस् तेरै होस् । बस् अगाडी बढ ।”

मलाई थाहा छैन आज म कहाँ जाँदैछु  । हुन त म सँग कहाँ जान्छु भन्ने प्लान कहिले पो हुन्थ्यो र । एक मानेमा बरालिएकी केटी हुँ । मलाई असल छोरीमान्छे हुनुछैन । म असल पटक्कै हुन चाहन्न । सडकमा एक खिलि चुरोट किन्छु । चुरोट बेच्नेले पनि मलाई अनौठा आँखाले हेर्छ । तर केही बोल्दैन । मलाई उसले हेरेको तरिका मन पर्दैन । तर म केही भन्दिन । म बेपरर्वाह चुरोट सल्काउँछु । सडकमा कुनै पुरुषलेझै मज्जाले धुवा उडाउँछु । यो मेरो जीवनको पहिलो चुरोट हो । तर मैले यसरी तानिरहेछु मानौ म कुनै चुरोटको अम्मली हुँ । अह मलाई आज लाज लागेको छैन । मलाई आज आफैँलाई बेचिदिनु छ बजारमा । बेप्रवाह । मेरो इज्जयतले ममलाई के दियो र । दियो भने केही बन्धनहरु दियो । मलाई सडकमा चुरोट तानेकोमा कुनै पछुतो छैन । बस् हल्का रिगाएको फिल भएको छ । 

बिच बजारमा म बेप्रवाह बस्दैछु । मलाई पहिलोपटक म पनि सडकको हुँ भन्ने महसुस हुँदैछ । कोही लोग्ने मान्छेले बोलायो भने म गैदिन पनि सक्नेछु । हुन त मलाई अहिलेसम्म कोही लोग्ने मानिसले यसरी सोधेको छैन । तर सोधेन भन्ने कुरामा मलाई कुनै गर्वबोध छैन । म मनमनै लज्जित छु म छोरी मान्छे भएर पनि अहिलेसम्म छोरी मान्छे भएको महशुस गरेकी छैन । अह मसँग अब लज्जा छैन । मलाई जाउँ भन्नेसँग म गैदिन पनि सक्नेछु ।

नजिकै औषधी पसल देख्छु । मसँग आज लाज छैन । म औसधि पसलेसँग एक प्याकेट कन्डम माग्छु । औषधी पसलेले फेरी अर्कोपटक मलाई अनौठो आँखाले हेर्छ । मलाई उसको  हेराइ मनपर्दैन तर म केही भन्दिन । तर उसले मुखले केही भन्न सक्दैन । उसले मलाई चिनेको पनि हुनसक्छ । यो बजारमा मलाई नचिन्नेहरु बिरलै होलान् । वा उसले मलाई देखिरहेको पनि हुनसक्छ । उसले मलाई सोध्छ कुन फ्लेबरको दिउँ, “म रिसाएझै गरी थाहा छैन भनिदिन्छु ।” खोइ उसलाई के लाग्छ उसले मलाई चकलेट फ्लेवरमा दिन्छ । म एक पाकेट कन्डम आफ्नो झोलामा राख्छु । यो मैले किनेको पहिलो प्याकेट कन्डम हो । तर म लजाउँदिन । मलाई आज कोही छोरामान्छेले जाउँ भन्यो भने गैदिन पनि सक्नेछु ।

फेरी पाइला चाल्छु लामालामा । थाहा छैन म कहाँ पुग्नेछु ।  पहिलोपटक मलाई म मानिस भएझै अनुभूत हुँदैछ । मैले चालिस बर्ष मानिस भएर बाचिन । म किताब भएर बाचेँ । किताब पढाउँने मानिस भएर बाचेँ । कसैकी हुननसकेक िदुखी छोरीमान्छे भएर बाचेँ । तर मानिस हुनु कसैको हुनु हो र ! होइन भने किन मलाई देख्नेबित्तिकै मानिसहरुले बिचरा भने । अह मलाई बिचरा हुनु छैन । आज मलाई कसैले बोलायो भने एक रातको लागि भएपनि गैदिन सक्छु । मलाई पनि मानिस हुनु के हो भनेर अनुभूत गर्नु छ । म प्रेम के हो बुझ्दिन । मलाई बुझ्नु पनि छैन । तर कोही छोरामान्छेले आजको लागि जाउँ भन्यो भने म गैदिन पनि सक्नेछु । मलाई कुनै चराझै अन्नत उड्नुछु । तर म पहिलो र अन्तिमपटक मानिस हुन चाहन्छु ।

 पाइला चाल्दा चाल्दै म कुनै चौतारामा आइपुगेकी छु । चौतारामा मानिसहरु  छैनन् । पहिलोपटक कुनै चौतारामा म पहिलोपटक एक्लै छु । थाकेकी पनि छु । म आफ्नो झोलालाई सिरानी बनाएर एकछिन आँखा चिम्लन्छु । पहिलोपटक कुनै खुल्ला आकाशमुनी सुतेझै अनुभूत भएको छ । म गीत पनि गाइदिन्छु । म आज एक्लै नाचिदिन पनि सक्नेछु । मलाई किन किन आज पहिलोपटक जन्मिएझै अनूभूत हुँदैछ । तर म अरु कुरा पनि चाहन्छु । कस्ौले मलाई जाउँ भन्यो भने म गैदिन पनि सक्नेछु ।

पर आकाशमा एकहुल चराहरु उडानमा छन् । किन किन म पनि उनिहरुझै उड्न चाहन्छु । मलाई मानिस हुनुमा कुनै मोह छैन । मलाई मानिसहरु चुतिया लाग्छ । मनमनै भन्छु मानिसहरु कुरुप छन् । मानिसको मन झन् कुरुप छ । मानिसभन्दा कयौ गुना मानिस जस्ता त यी चराहरु छन् । खोई मैले मानिस भएर के गरेँ । बाचेझै मात्र गरेँ । पहिलोपटक बल्ल आज बाचेको छु । कसैले मलाई आज उमेर सोध्यो भने म एक दिन भनिदिन्छु । म भन्न सक्छु “ आइ वाज र्वन दिस् मर्निङ” ।  हो मानिसको रुपमा आज मेरो पहिलो दिन हो । कसेले होइन भन्यो भने उसलाई जे भनिदिन पनि सक्नेछु ।

मनमनै आफैँलाई भन्छु “ तँ आजबाट जन्मिएकी छस् । जस्तो बाच्न चाहन्छेस् त्यस्तै बाँच । अगाडि बढ ।” हो म आज जन्मिएकी हुँ । कोही छोरामान्छेले जाउँ भन्यो भने म गैदिन पनि सक्नेछु ।


Tuesday, October 14, 2025

अलबिदा

  

मलाई कथा भन्न मनपर्छ । म मनमनै भन्नेगर्छु । हुलाकीले तिम्रो चिठी यहाँ छ, “तिम्रो चिठि” भनिसकेपछि म भन्ने गर्छु ।

म आफ्नो जीवनको लागी एउटा कथा बुन्छु, जसरी मेरा खैरा जुत्ताहरुले एक एक पाइला चाल्छन्  त्यसरीनै ।  म भन्छु, “ र त्यसैले ऊ अफ्ठेरोसाथ काठका खुट्टिकलाहरुमा पाइला टेक्छे , उसका निराश खैरा जुत्ताहरुले उसलाई त्यो घरमा लाँदैछन् जुन उसलाई कहिल्यै मनपरेन ।”

मलाई कथाहरु भन्न मनपर्छ । म त्यो केटीको कथा भन्दै छु जो यो आँप सडकको घरभित्र कहिल्यै अट्न चाहिन ।

 हामी सधैं सडकमा बसेनौं । त्यो भन्दा पहिले  लुमिजको तेस्रो तलामा बस्थ्यौं । त्यो भन्दा पनि पहिले केलरमा बस्यौं । केलर अगाडि पौलिनमा, तर म धेरै आँप सडकलाई नै सम्झन्छु, त्यो रातो र निराश घर, जसलाई म आफ्नो ठान्छु ।

म यी सबै कुराहरु पानामा उर्ताछु  तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाधेर राख्दैन । मलाई उड्न दिन्छ आफ्नै सपनाको उडानमा ।

एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु । र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु । तब म उसलाई सदासदाका लागी हृदयमा  राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।

साथीहरु र छिमेकीहरुले भन्नेछन् के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापी सँगै गैइ ? किन ऊ यति पर गैइ ?

तर उनीहरुलाई थाहा हुनेछैन म फर्कनकै लागी गएकीे हु  ।  उनीहरुको लागी जसलाई मैले पछाडि छोडे ।  उनीहरुको लागी जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।

    यो सान्द्रा सिस्नेरोजको कथा हो । वा भनौ यो स्परेन्जाको कथा हो । उसलाई कहिँ जानु छ तर कुनै अन्जान पुरुषको घर होइन । पिताको घर पनि होइन । उ त्यहाँ जान चाहन्छे जसले उसलाई आफ्नो हो भन्ने अनुमति दियोस् । छोरीमान्छेको कहाँ घर हुन्छ र । कि लोग्नेको हुन्छ । कि पिताको हुन्छ । ति स्वतन्त्रताका घरहरु होइनन् । नबाधेझैँ गरेर पनि तिनले बाध्छन् मात्र । आफ्नो आफ्नै भुगोल हुनु पो घर हुनु हो । निस्सासिनुपर्ने अनुमतिकका बन्धनहरुलाई कहाँ घर मान्न सकिन्छ र ।

    त्यसैले पनि मलाई नदिहरु मनपर्छ किनकि ति बग्छन् । समयसँगै बग्नु पो जिउँनु हो । नियतीलाई जीवन ठानेर घर्षनु कहाँ जीउँनु हो र । हो मेरो कथा पनि यस्तै हो  । मलाई लाग्छ म घिर्षदै छु । जिउँन छोडेको पनि कयौ बर्ष भै सक्यो । केही डायरीहरु छन् जसले मलाई जीउँदा झै बनाउँछन् ।     इतिहासले बाधेर राखेको मलाई मनपर्दैन । म चाहन्छु बन्धनको नाउँमा आफू पनि नरहु । त्यसको लागि पनि मलाई कहि जानु छ । कहि पुग्नु छ । आफ्नो यात्रा अधुरोझै लाग्छ । म जो हु त्यो हुन सकिन भन्ने पनि लाग्छ । म जहाँ छु मैले दावी नै गरे पनि यो मेरो भुगोल होइन । स्वतन्त्रताको भुगोल हुँदेन । कथाको भुगोल हुँदैन । रंगको भुगोल हुँदैन । धुनको भुगोल हुँदैन । स्वतन्त्र हुनु भनेको कहिको नहुनु हो । पितापूर्खाको नहुनु । लोग्नेको नहुनु । आफ्नो पनि नहुनु ।

    हो म गुडबाइ भन्न चाहन्छु । त्यस्तो गुडबाइ जसले मलाई उड्ने स्वतन्त्रता दियोस् । महिनौ हराउँदा खोज्ने कोही नहोस् । सिरानीले आशु नरोजोस् । हो म बेपर्वाह बतासझै कही भाग्न चाहन्छु । जहाँ जीवनको लय त होस् तर लयले कुनै बाटो नरोजोस् । कथाको अन्त्यझै म जे पनि बन्न सकुँ । कसले के भन्ला भन्ने भयहरु नहुन् । 

    हो म सान्द्राको कुनै छुटेको स्वरुप हुँ । उ झै म पनि कथा भन्न चाहन्छु । तर छाप्नेलाई लाग्ने गर्छ मेरा कथा कथा जस्ता छैनन् । म पनि त अरु जस्तो छैन । अचेत म मेरो पाण्डुलिपिहरुलाई यसरी नै कहि कतै छोडिदिन्छु । थाहा छैन कथा बन्न के बन्नु पर्छ । बस् म लेख्न चाहन्छु । लेखेका शब्दहरु म मात्र होइन म भित्रका अनेकौ म हुन् । हुन छोरीमान्छेले लेख्नु लेख्नु मात्र हो । लेख्नु बाहेर अरु सबै हो तर उ लेख्ने मान्छे होइन । हामी सबै अन्जान कथाहरु बोकेर हिड्नेहरु हौँ । हाम्रा कथा कथा होइनन् । हामीले लेखी हाल्यौ भने पनि ति कथा कथा जस्ता बन्दैनन् । 

    मेरो परिवारलाई अझै पनि म लेख्छु भन्ने थाहा छैन । किनकि त्यो सबैभन्दा अन्तिमको कुरा हो । मैले लेख्नुबाहेक अरु धेरै कुराको आशा परिवारले म बाट गर्छ । तर मलाई स्परेन्जालाई जस्तै लेख्न मनपर्छ । एक्लै एक्लै कुनै अन्जान सडकमा हिड्न पनि मनपर्छ । कुनै अन्जानसँग बोल्न पनि मनपर्छ । बस् मलाई लाग्दैन म जहाँ छु त्यहाँको हुँ । म पटक्कै यहाँको होइन । यो घर यो ओछ्यान यी सडकहरु मेरा आफ्ना पटक्कै होइनन् । म गुडबाइ भन्न चाहन्छु ।

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...