Wednesday, June 11, 2025

फर्केर हेर्दा

 

लामो यात्रापछि मैले हिडिआएको बाटोलाई फर्केर हेरेँ । हेरेको बाटोलाई थिइन । आफैलाई थिएँ । यात्रापछिका हातहरु हेरेँ । पैतालाहरु हेरेँ । अनुहारमा छरिएका पसिनाका बुदहरुलाई हेरेँ । बोकीआएको झोलालाई पनि हेरेँ । आफ्नै प्रतिबिम्बलाई हेरेँ । छोटोबाट लामो बनेर टुङ्गिएको प्रतिबिम्बमा केबल छोडीआएका थकाइका अबशेषहरु मात्र भेटेँ । 

यात्रापछि मनले सधैँ भन्छ आराम गर । तनले भन्छ यात्रा अझ बाकी नै छ फर्केर नहेर । तर किन किन कताकता लागिरहन्छ एक पटक फर्केर हेरु । कहिलेकाही लाग्छ फर्केर हेर्ने त  बानी छ मसँग । यी किबोडमा दौडिएका अक्षरहरुले पनि त्यहि फर्केर हेर्ने बानीको निरन्तरता मात्र हो । 

आमा भन्नुहुन्छ– छोड्नु तर फर्केर नहेर्नु । छोडीआएकासँग केको लगाव । मनले भन्छ जे हुँ त्यही छोडी आएको मानिस न हुँ । फेरी एकपटक छोडीआएका साथीहरु सम्झन्छु । छोडीआएको बाटो । छोडेको घर । यीनै त हुन् जसलाई छोडेर पनि जहिले समेटेझै गर्छु । 

जानुअघि कसैले भनेको थियो । जानेले दिएर जान्छन् । फर्केर हेर्यौभने उनीहरु मात्र भेटिन्छन् । कहिलेकाही हो भैm पनि लाग्छ । फर्केर हेर्दा जहिले पनि छोडिआएको बाटोमा छोडिआएको बाटो भेट्छु । यदाकदा लाग्छ नी जे थियो हिजो थियो । आज पनि हिजोलाई हेरेर नै बाच्छु ।

    फर्केर नहेर देखिने त केही रहेनछ । भोली कसले देखेको छ र ! आज को बाचेको छ र ! जे रहेछ हिजो नै रहेछ ।

माफी


हिजो नै त हो कसैले मेरो मन दुखायो । फेरी अर्कोपटक मैले आफैँलाई माफि दिएँ । कहिलेकाही चित्त दुखाउँनेसँग गुनासो गरु, नबोलू  वा पर पर भागिदिउँ । त्यस्तो लाग्छ है । त्यस्तो गरेको पनि हो । तर एकान्तमा जब आफैँलाई समेट्न खोज्छु लाग्छ माफी त मैले आफैँसँग माग्नुपर्नेछ  । कति दुखेर बसु कसैको माफीको प्रतिक्षामा । मन न हो भारी हुन्छ । हलुङ्गो बनाउँन पनि यदाकदा म आफैँलाई माफी दिन्छु । 

कहिलेकाही गर्मि भएको बेला घाम देखेर चित्त दुख्छ । पानी परेको बेला बादल देखेर चित्त दुख्छ । मन परेकोमान्छेले त कहिलेकाही ठूलो स्वरमा राम्रै कुरा गरेपनि चित्त दुख्छ । तर माफी कसैबाट आउँदैन । घाम, बादल र पानीसँग कसरी माफीको आशा राख्नु । यतिकैमा दुखेको मन सन्चो भै जान्छ । 

पटकपटक माफीको आशा गरेको पनि हो । आशा निराशामा बदलिएको पनि हो । तर मन न हो माफी चाहिरहन्छ । यदाकदा लाग्छ चित्त त मैले पनि दुखाएको छु । ठूलो स्वरमा त म पनि बोलेको छु । तर माफी अरुले झे मैले पनि मागेको छैन । सायद चित्त दुखाउँनु माफी नमाग्नुको बानी छ हामीसँग । 

तर कहिलेकाही  आफ्नो चित्त पनि आफैँले दुखाइन्छ । मन न हो आफैँसँग पनि दुख्छ । माफी त आफैँसँग पनि माग्न मन लाग्दो रहेछ । तर मागेझै दिन सजिलो छ र ! माफी त आफैँलाई पनि बिरलै दिँइदो रहेछ ।

Monday, June 9, 2025

अनिदो रात

 

हिजो पनि अर्को अनिदो रातको साक्षि बनेर फर्किएकी छु । बिना निद्रा पनि कहिलेकाही निदाएझै लाग्छ । हो म निदाएर पनि ननिदाएकी हुँ । कहिलेकाही रातहरु कोमल बनिदिन्छन् । अनिद्रा पनि सुन्दर बनिदिन्छ । जब बिहान हुन्छ यस्तो लाग्छ जीवन रात बनेर टुङ्गियोस् । 

कुनै जापानि लेखकले भनेकी थिइन– तिमीलाई थाहा छ रात किन यति सुन्दर हुन्छ किनकि त्यहाँ रुने स्वतन्त्रता हुन्छ । हुन त म दिनमा पनि रोइदिन्छु । तर रातमा रोएझै रुन सक्दिन । अनिदो रात यसकारण पनि सुन्दर बन्छ  किनकी म बिनाहिचकिचावट रुन सक्छु । 

तर म हिजो रोेइन । म रोएर अनिदो भएकी पनि होइन । तर अनिद्राको साक्षि बन्नुमा कुनै पछुतो छैन । अनिद्रा सुन्दर बन्यो । लाग्यो रात मेरो पनि हो । ताराहरु मेरा बने । सायद मेरो खुसीमा उनीहरु पनि मुस्कुराए । सायद आकाशले पनि कहि कतैबाट मलाई चिहायो । रातमा चिहाउँन त आकाश र ताराहरु मात्र थिए । सुन्दर त यसकारण पनि बन्यो कि आकाशलाई बादलले छेकेन । तर आकाशले मलाई चिहाइएकोमा सरम लागेन उ मेरो पनि हो । आफ्नासँग केको सरम । मैले कपडामा पनि बिना बस्त्रको नाङ्गो महसुस गरेँ । तर लाज लागेन ।

कहिलेकाही सुन्दर चिज कुरुपझै बनिदिन्छ । कहिलेकाही कुरुप चिज सुन्दर निद्रा पनि त्यस्तै हो । कहिलेकाही निद्रा पनि कुरुप बनिदिन्छ कहिलेकाही अनिद्रा पनि सुन्दर । अनिद्रा यसकारण पनि सुन्दर बन्यो त्यसले मलाई आफू बन्न दियो । तारा र आकाशले गिज्यायझै गरेनन् । मलाई जे मनपथ्र्यो त्यही सोचि बसेँ । अनिद्रामा त कल्पनाहरु पनि बिपनाझै लाग्दो रहेछ । ऐनामा आफूलाइै हेरेँ लाग्यो म पनि अरुझै त हुँ । मैले ऐनामा आफैँलाई पोखिदिएँ । रंगझै पोखिएँ । कहिल्यै महसुस नगरेको रंगमा पोखिए । पोखिनु पनि कति सुन्दर रहेछ महसुस पनि गरे । अनुभूति न हो सुन्दर थियो । 

Sunday, June 8, 2025

संवाद


एक सुनसान बिहान आफैँलाई साक्षि राखेर म आफैँसँगको संवादमा छु । चियाको कप । आदि पढिभ्याएको कविताको किताब । आदि खोलेर नओडेको ब्ल्याङ्केट । धुलो जमेको झ्यालको सिसा । हो संवादमा छु । यी सबै म जस्तै बिथोलिएका छन् ।

एक बिथोलिएको मानिसले गर्ने पनि एक अपुरो संवाद नै हो । यीनै कुराहरु म अरु कोही आफुजस्तै बिथोलिएको सँग गर्न चाहन्थेँ तर सुनिदिने कोही छ र छैननी । कहिलेकाही आफैँले सुन्दा त अल्छि लाग्छ अरु कसैले सुन्ला र ! सुन्दैननी । 

कापीका पानाभरी केही अड्मिल्दा रेखाहरु ताने । बेमतलबका । अर्थ खोजेर पनि के नै हुनेवाला छ र ? एक बिन्दुझै अस्ताउनु छ कुनै दिन । जे हुँ त्यो भन्न सक्दिन । जे होइन त्यसलाई कति प्रमाणित गर्नु । हो फैलिएको छु बिना कुनै मतलब जसरी चिया उम्लिएर किचन टेबलमा फैलन्छ । हो फैलिएको छु आफ्नै बर्बराहटमा तर समेटिनु पनि छैन । कसरी समेटिने त्यो पनि थाहा छैन । 

बिना मतलबका संबादमा म चिच्याउँछु ।  चिच्याएर आफैँलाई खोज्छु तर पाउँदिन । कोलाहलझै बेअर्थका बर्बराहटहरु म सँग छन् । कुनै दिन समेट्न खोजे भने त्यसको केही मतलब निस्केला पक्कै पनि निस्कदैन । कहिलेकाही म आवाजहरु र शब्दहरुको अर्थ भेट्दिन । हामी बोलेझै मात्र गर्दिन्छौ के बोल्छौ थाहा हुँदैन । 

हो म पनि त्यही गरिरहेछु । म निस्सासिएको पनि हो । तर गुम्सिनुले कुनै अर्थ राख्दैन । फैलिनुले पनि कुनै अर्थ राख्दैन । जसलाई हामी कुनै साम्राज्यझै बेतुकको उचाइ दिन्छौ त्यसले पनि कुनै अर्थ राख्दैन ।

कहिलेकाही त लाग्छ नि यो संसार पनि कुनै सुन्दर गीतझै लयमै छ । तर यो यूफोरीया केही क्षणको हो । अन्तमा संसारमा कोलाहल मात्र छ । हामीलाई आफ्नो कोलाहल, बिनाअर्थका आवाजहरु लयमा बोलिएझै लाग्ने मात्र हुन् । म आफ्नै आवाजमा पनि कोलाहल मात्र भेट्छु । धमिलो अष्पष्ट कोलाहल । यो संवाद पनि कुनै अर्थको खोजी होइन । बेतुकको बर्बराहट मात्र हो ।

Friday, June 6, 2025

पखाई ..................


.................. सायद यी बिन्दुहरुझै पर्खाइका रेखाहरु धुमिल हुन्छन् । “के तिमी फेरी पर्खन्छौ” सुन्दा अत्यासलाग्दो पनि लाग्न सक्छ । तर पनि पर्खनु सायद आफैलाई फर्केर हेर्नु हो । छोडी आएका दोवाटाहरु सजिला जस्ता पनि लाग्न सक्छन् । अथवा  गह्रौ पनि लाग्न सक्छ । तर कहिलेकाही छिचोलेको क्षितिजलाई केही नभएझै पर्खेर हेर्नु सायद आवस्यकता हो ।

कहिलेकाही लाग्छ पर्खाइ सायद आशाको बिम्ब हो । पर्खनेहरुलाई लाग्छ उनीहरुको पखाईले सायद केही राम्रो हुनेछ । छोराछोरीको घर फिर्तीलाई कुरेका आमाहरु, राम्रो खेतीबालीका आशामा पानी पर्खेका किसानहरु, बिदेशीएका लोग्नेलाई पर्खेका महिलाहरु यी सबैमा आशाहरु भेटिन्छ । 

Tuesday, June 3, 2025

पत्रको बदला अर्को पत्र

 

प्रिय तिमी ,

आज फेरी अर्को पत्रसहित आएकी छु । यो निरन्तरता मात्र होइन । यो त समयले दिएको उपहार हो । इमेलको जबाफमा एआइ जेनेरेटेड इमेल पाउँने समयमा पनि म फूर्सदिलो छु । मसि र कापिका पानाहरुले मलाई साथ दिएका छन् । सम्झ, यो तिम्रै लागि भनेर कोरीएका जीवनका रेखाहरु हुन् ।

मलाई आशा थिएन मैले नपठाउँ भनेको पत्रको बदलामा पनि तिमीले अर्को पत्र लेख्नेछौ भन्ने । पत्रमा तिम्रा अक्षरहरु कोमल थिएँ । म त्यती कठोर पनि थिइन जसलाई तिम्रा अक्षरहरुले नपगालोस् । म तिम्रा शब्दहरुले बहकिएँ । लाग्यो पर बादलमा तिम्रै नाम लेखूँ ।  लाग्यो नदि किनारामा फेरी अर्कोपटक तिमीलाई कोरुँ । लाग्यो मेरा डायरीका कविताहरु तिम्रै लागि थिएँ । आशा थिएन, जीवनको यो मोडमा चिठि मार्फत कोही तिमीजस्तो भेटिएला भन्ने । तर निराशाहरु  बिच पनि तिमी आशा बनेर आइदियौ ।

तिम्रा अक्षरहरु खिरिला, सुन्दर र गहिरा रहेछन् । मलाई लाग्यो तिम्ले अक्षर मात्र होइन अक्षर मार्फत तिम्री भित्रको गहिराइ र उचाइ दुबै मलाई दियौ । लाग्या,े तिम्ले जे दियौ त्यसैको बदलामा म नचाहेरै पनि फेरी अर्को केही कोर्नेछु । किन किन मेरो मनले भन्छ तिमी भित्र एक अलिखित कविता छ जसलाई म मात्र लेख्न सक्छु । तर त्यसको लागि म तिम्रो अनुमति चाहन्छु । आशा छ तिमीले मलाई अनुमति दिनेछौ । 

अर्को पत्र तिमीले पठायौ भने बुझ्नेछु मैले कविता लेख्ने अनुमति पाएँ ।

उही तिम्री प्रापक

Sunday, June 1, 2025

एक अर्को कथा


फेरी अर्को कथाको किताब भ्याएकी छु । यस्तो कथा जुन म नपढू भन्ने चाहन्थे । मलाई दोहोरीनु पनि थिएन । दोहोरीएको स्थितिमा पुग्नु पनि थिएन । मलाई किन किन कथाहरु जीवनझै लाग्छ । कहिलेकाही जीवनका घटनाहरुलाई नै म कथा भनेर भनिदिन्छु । सायद यो पनि त्यस्तै कुनै कथा हो । तर यो आत्मियताले भरीपूर्ण एक सग्लो कथा होइन । पढिसकेपछि म थिचिएझै महसुस गरेकी छु । सायद यो कथाभित्रको चित्कार सधैँ म सँग रहिरहनेछ । म चाहेर पनि छोड्न सक्ने छैन ।

  मलाई कहिलेकाही मान्छेहरु कथा बोकी हिड्ने हुलाकी जस्तो लाग्छ । हिजै कसैले कथाजस्तै स्वरुपमा मलाई एक पटक फेरी मारेर गयो । म मरेझै गरेँ र फेरी अर्कोपटक ज्यूदोझै गरेँ । उसलाई लाग्यो होला म मर्नुपथ्यो । सायद त्यो उसको बिजय थियो । एक अहंकारको जित । उ भित्रको अंहको जित । तर एक पटक फेरी मरेर पनि म उठेँ । उसलाई थाहा छैन होला कयौ पटक मरेर पनि फेरी उठ्नेहरु हजारौलाई मार्नेभन्दा शक्तीशाली हुन्छन् । हिजै म एकपटक मरेँ र बाचेझै गरेर फेरी उठेँ । 

यो एक कोमल झै लाग्ने एक कठोर केटीको कथा हो । हामी बाचेझै गरेर पनि कयौ पटक मर्छौ । कहिलेकाही आफ्नै अगाडी कहिलेकाही अरुको अगाडी । मरेर पनि फेरी अर्कोपटक म बिउँझिएकी छु ।  फेरी अर्कोपटक पहिलोपटक बामे पाइलाहरु सार्दै छु । आफैलाई बचाउँदै र आफ्नै अगाडी बाच्दै पनि छु ।

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...