Sunday, June 1, 2025

एक अर्को कथा


फेरी अर्को कथाको किताब भ्याएकी छु । यस्तो कथा जुन म नपढू भन्ने चाहन्थे । मलाई दोहोरीनु पनि थिएन । दोहोरीएको स्थितिमा पुग्नु पनि थिएन । मलाई किन किन कथाहरु जीवनझै लाग्छ । कहिलेकाही जीवनका घटनाहरुलाई नै म कथा भनेर भनिदिन्छु । सायद यो पनि त्यस्तै कुनै कथा हो । तर यो आत्मियताले भरीपूर्ण एक सग्लो कथा होइन । पढिसकेपछि म थिचिएझै महसुस गरेकी छु । सायद यो कथाभित्रको चित्कार सधैँ म सँग रहिरहनेछ । म चाहेर पनि छोड्न सक्ने छैन ।

  मलाई कहिलेकाही मान्छेहरु कथा बोकी हिड्ने हुलाकी जस्तो लाग्छ । हिजै कसैले कथाजस्तै स्वरुपमा मलाई एक पटक फेरी मारेर गयो । म मरेझै गरेँ र फेरी अर्कोपटक ज्यूदोझै गरेँ । उसलाई लाग्यो होला म मर्नुपथ्यो । सायद त्यो उसको बिजय थियो । एक अहंकारको जित । उ भित्रको अंहको जित । तर एक पटक फेरी मरेर पनि म उठेँ । उसलाई थाहा छैन होला कयौ पटक मरेर पनि फेरी उठ्नेहरु हजारौलाई मार्नेभन्दा शक्तीशाली हुन्छन् । हिजै म एकपटक मरेँ र बाचेझै गरेर फेरी उठेँ । 

यो एक कोमल झै लाग्ने एक कठोर केटीको कथा हो । हामी बाचेझै गरेर पनि कयौ पटक मर्छौ । कहिलेकाही आफ्नै अगाडी कहिलेकाही अरुको अगाडी । मरेर पनि फेरी अर्कोपटक म बिउँझिएकी छु ।  फेरी अर्कोपटक पहिलोपटक बामे पाइलाहरु सार्दै छु । आफैलाई बचाउँदै र आफ्नै अगाडी बाच्दै पनि छु ।

Thursday, May 29, 2025

खालीपन


  हाम्रा बिच नियमहरु कहिले पो थिए र ! एक खाली जमिनझै हामीले एक अर्कालाई समेट्यौ मात्र । तिमी तिमीजस्तै थियौ । म मजस्तै थिएँ । दुई पन्छिहरुका उड्नुपर्ने आ–आफ्नै उडानहरु थिए । नियमहरु थिएनन् । पुरा गर्नुपर्ने अपेक्षाहरु थिएनन् । एक अर्कालाई आफूजस्तो बनाउनुपर्ने बाध्यताहरु थिएनन् । त्यसैले तिमी पर भाग्दा पनि तिमी किन भाग्यौ मैले भनिन ।

तिमी गयौ । मैले बिदाइका हातहरु हल्लाए । किन जान्छौ भनेर प्रश्नहरु सोधिन । तिमी गएपछि खाली जमिन पनि भेट्छु । तर समेटिदिने कोही भेट्दिन । खालीपन त छ नि । तिमी नभएको खालीपन कहिलेकाही शब्दहरुमा उर्ताछु । कहिलेकाही सपनिमा पुरा गर्छु । कहिलेकाही आशु बनेर पनि पोखिन्छन् । यदाकदा याद बनेर पनि आइदिन्छ । तिमी नहुनुको अपुरोपन त छ नि !

जाँदै गर्दा तिमीले भनेका थियौ – यो यात्रामा भेटिएकी तिमी सबैभन्दा बिशेष ब्यक्ति हौ । मैले ती शब्दहरुलाई हृदयमा लुकाएर राखेकी छु । तिमी गएको, तिमीलाई गुमाएको पिडा छैन । तर तिमी नहुनुको खाली पन त छ नि । 

यदाकदा बाटो छेउ हरियो चौर देख्छु । कुनै दिन हामी बस्ने त्यो चौरमा कोही अरु बसेको पनि देख्छु । सम्झन्छु तिमीलाई । हुन त हामीले एक एकालाई केही दिएका थिएनौ न मन, न हृदय न शरीर । तथापी तिमीले खालीपन त दिएका रहेछौ नि । कहिलेकाही लाग्छ म बिदाइलाई गुमाएको ठान्दिन । र पनि किनकिन कहिलेकाही गुमाएझै पनि लाग्छ ।

के यो कठोर कुरा हो ? के म कुनै नियमझै कठोरताका सिमानाहरु बोल्दैछु । थाहा छ बग्नु त नियती हो । तिम्रो बगाइले मलाई खुशी दिनुपर्ने ? तर किन दिएन । म आफैलाई सोध्छु र अनुत्तरीत भेट्छु ।  

Wednesday, May 28, 2025

तिम्रो बारेमा


केही भन्नु थियो, तिम्रो बारेमा । तर भन्छु भन्दैमा भन्न सकिन्छ र ! मैले भन्छु भनेपछि पनि एक कप चिया खाएँ । दुई पाना किताब पढेँ । झ्यालबाट आकाश चिहाएँ । तर भनिन । भन्छु भनेको पनि हो । भन्न नसकेको पनि हो । भन्छु भन्दाभन्दै समय बितेको पनि हो । 

यतिका बर्षपछि पनि भन्छु भनेका बाक्यहरुले यदाकदा पिरोल्छन् । याद न हो पटकपटक आइदिन्छ । अब त सम्झनामा मात्र बाकी रहेकी तिमीलाई के भन्नु । के भनिरहनु । तर भनेको भए हुने भन्ने सदा लाग्छ । मन न हो यदाकदा यही कुराले बिथोलिन्छ ।

आज दिउँसो सडक छेउ तिमीजस्तै कोही देखेँ । तिमी नै पो हौकि भन्ने नलागेको पनि होइन । तर बोलाउँन सकिन । सायद तिमी नै पो होकि । बोलाउँन सकेको भए भन्नेथिएँ । तर बोलाउँन सकिन । तिमी होइनौ कि । तिमी जस्तै अरु कोही हो की । तर किन मलाई लाग्यो तिमी नै हौ । 

हिजो घर फर्केपछि फेरी पुराना डायरीहरु पल्टाएँ । तिमीलाई खोजेँ ।  भन्न नसकेका वाक्यहरु फेरी पढेँ एकपटक । मन न हो लाग्यो तिमीलाई भनेको भए हुने । तर भन्न सकिन । भनेको भए जे पनि हुन सक्थ्यो । तर किन सधै लाग्छ मैले भन्नुपथ्र्यो । फेरी अर्कोपटक भन्न चाहेको त्यही दिनझै फेरी  चिया पिएँ । किताब पल्टाएँ । आकाश हेरेँ .................

Tuesday, May 27, 2025

झ्यालबाट आकाश



झ्यालबाट आकाश । एक सानो खिड्की । एक उन्मूक्त  संसार । देख्नुको बृहतता ।

दृष्टिको साघुरोपन । हो हरेक दिन म पनि झ्यालबाट आकाश नै हेर्छु । मानौ एक बिन्दुले संसार कोरीरहेछ । आकाश बुझ्न संसार चहार्न नपर्ने रहेछ एक खिड्की नै काफी रहेछ । 

सानो कति सानो । ठूलो कति ठूलो । बृहतता र साघुरोपन भित्र रुमलिन्छ स्ांसार । म झ्यालको खिड्की खोल्छु र चिहाउँछु आकाश । मानौ म कुनै चरा हुँ उड्न सक्छु देशदेशावर । मानौ बादल हुँ आकाशको साथी । तर खिड्कीको क्यानभाषभित्र रुमलिएको संसारले नी कल्पना त आकाशकै गर्छ । बिना सिमानाको मेरो दृष्टिले नि आकाश नै हेर्छ । थाहा छैन आकाशबाट चिहाउँनेले मेरो झ्याललाई कसरी हेर्छ .........

गाह्रो \ सजिलो

     एक झ्याल । एउटा ओछ्यान । एक जोर कपडा । एउटा ल्यापटप । ल्यापटपमा एक जोर हातहरु । एउटा हृदय । आफैँलाई हेर्छु एक म । सजिलो छैन त जिउँन । एक म एक तिमी । गाह्रो पनि सजिलो पनि ।

कयौ दिनहरु म यसरी नै बिताइदिन्छु मानो यो कुनै जनत्त हो । वा कुनै मायावी संसार । न कसैका अपेक्षाहरु । न कैसँग आशाहरु । मानौ जीवनको नोकर मै हुँ र मालीक पनि । आफ्नै ओछ्यान । आफ्नै कपडाहरु । आफ्नै मौनता । आफ्नै कोलाहल । मलाई लाग्छ स्वर्ग यही हो । 

कतिलाई लाग्ला एक्लो हुनु गाह्रो हो । तर एक्लो त हर कोही छ । चिहाएर त हेर कसैको हृदयमा उ बाहेक अरु कोही छैन । चाहेको पनि यही हो । एक्लोपनमा म यसरी रमाउँछु मानौ म जे अनुभुत गर्छु त्यसमा बिथोल्ने कोही छैन । पकाउँने मै हुँ । खाने पनि मै हुँ । मानौ यो मेरो मात्र भूगोल हो । मानौ मेरो भूगोलको  म मात्र हुँ ।

ग्राहो माने सबै चिज ग्राहो । एक्लो हुनु भनेको ग्राहोपन बाट भाग्नु हो । आमा भन्नुहुन्छ तँ काँतर छेस् तँलाई परिवार झन्झटिलो लाग्छ । हो खोजेको पनि यही हो । यो सजिलोको खोजी हो । 

Saturday, May 24, 2025

तिम्रो नाममा अर्को पत्र


प्रिय तिमी,

पत्रको बदलामा अर्को पत्रको आशा थिएन । मलाई लागेको थियो मेरो पत्र ति सबैको लागि हो जो असम्बोधित छन् । बादलमा नकोरीएका, हिउँमा नलेखिएका, परेवाले नबोकेका, हुलाकसम्म नआइसकेका ति सबै सबै नाममा पत्र कोरेकी थिएँ । तर संयोग भनौ मैले पत्रको बदला पत्र पाएँ ।

पहिलोपटक आफैँ सम्बोधित हुदाको अनुभव अलौकिक थियो । पत्र लेख्ने तिमीलाई धन्यवाद । पत्रलाई महशुस गरेकोमा अझ धन्यवाद । मैले पत्रको अन्त्यमा भनेकी थिएँ मेरो कर्कश आवाजलाई सुमधुर मानि सुनिदिनु । तिमीले सुमधुर ठानिदिया,ै म धन्न भएँ । पहिलोपटक आफ्नै  नाममा पत्रमञ्जुसा बोकि कोही आयो, बर्षौदेखी सँगालेको सपना फेरी एकपटक ब्यूझिएझै लाग्यो ।

सायद मैले यस्तै अक्षरका सपनाहरु बोकी बाचेको थिएँ । सायद तिमी पनि त्यसरीनै बाच्यौ । आज लाग्यो आफैँ सम्बाोधित हुन पनि आफूले कसैलाई सम्बोधन गनुपर्ने रहेछ । आज पनि पानी पर्यो, घाम लाग्यो, बादल आफ्नै उडानमा निस्क्यो , चराहरु उडे, फूलहरु फुले यीनै नियमितता बिच अर्को अनियमितता भयो । मेरो नाममा चिठी आयो । पहिलो पटक अनियमितता पनि मिठ्ठो लाग्यो । 

मैले असम्बोधित सामूहिकतालाई सम्बोधन गरेको थिएँ । तिमीलाई किन लाग्यो त्यो तिम्रै लागि थियो । सायद तिमीले पनि मैलेझै मौनतामै केही हरफहरु कसैको लागि लेख्यौ होला । कसैले नदेख्ने गरी हिउँमा कसैको नाम लेखेर मेट्यौ होला । डायरीका पानाहरुमा अझै कोही बाचिरहेको छ होला । किन किन मलाई मैले जस्तै तिमीले यो सब गर्यौ भन्ने लाग्छ । मेले भनेकी थिएँ कोही त होला जसले हाम्रै लागि लेखिरहेछ । तिम्रो चिठ्ठीले अझ बढी लाग्न थाल्यो । कोही त रहेछ, जो मेरै लागि लेखिरहेछ ।

यो पत्र हालखबरको बदला हालखबर होइन । न स्नेहको बदला स्नेह । यो उत्तरको बदला प्रतिउत्तर पनि होइन  । यो त सपनाको प्रतिउत्तरमा पठाएको अर्को सपना हो । मलाई लाग्छ मेरा जस्तै तिम्रा अक्षरहरु पनि खिरिला र मसिना छन् । हामी शुष्मता बाच्छौ र बाचिरहनेछौ । यो तिम्रो पत्रको प्रतिपत्र होइन । यो कृतज्ञ पत्र हो । कृपया उत्तरको लागि अर्को प्रतिउत्तर न मैले तिमीलाई दिनेछु न तिमीबाट आशा गर्नेछु ।

उही

पहिलो पत्रको प्रापक

Wednesday, May 21, 2025

मेरो भर्सनको हाम्रो कथा



“ल है के छ खबर ?” अब कहिल्यै तिमी भन्छौ कि भन्दैनौ । “ के छ केटी फिल्म हेर्न कहिले जाने ?” नसुनेको पनि कयौ बर्ष भयो । थाहा छैन यी हरफहरु  तिम्रा लागि कोरीएका अन्तिम हरफ बन्ने छन् वा छैनन् । तिमी छैनौ भन्दा छौ, छौ भन्दा छैनौ को भ्रममा मैले तिमीलाई यतिका वर्ष लिएँ । यदाकदा लाग्छ मैले भेटेका अधिकांश असल पुरुषहरु तिम्रै केही अंश हुन् । दुखेसो नभएको त होइन दुखेसोभन्दा पर केही तिम्रा लागि बाकी छ भने अब स्नेह मात्र बाकी छ । 

तिमी किरण नभएर किरा जस्ता छौ भनेर मैले नभनेको पनि होइन । तिमीले हाँसीहाँसी स्विकारेका पनि हौ । रिसाएको बेला तिमीलाई अंहमबादी पुरुष हौ भनेको पनि हो । तिमीलाई नर्कान नसकी अलिअलि हुँला भनेका पनि हौ । यदायदा गाली पनि गरेँ होला । रिसाएझै गरी मन चोर्न खोजेकै हो । तर तिम्रो मन चोर्न नसकेको पनि हो । तिमीले साथीले पनिमन चोर्ने    हो त मन पो मिलाइदिनेँ हो भनेका पनि हौ ।

तिमी साथी हौ कि प्रेमी हौ भनेर बुझ्न गुगलमा प्रेमीले देखाउँने ब्यबहार बारे खोजेको अवस्य हो । त्यसपछि तिमीले पनि मलाई प्रेम गर्ने रैछौ ठानेर मनमनै गदगद भएकी पनि हुँ । तिमीले यदाकदा पठाएका म्यासेजलाई पटकपटक पढेकी पनि हँु । तिमीले कहिलेकाही केही भन्दै छु भन्दा खुसीमा आफैँ एक्लै रमाउँदै हिडेँकी पनि हुँ । साथीहरुले तिम्रो नाम लिँदा आफ्नै नाम लिएँझै एकाग्र भएर सुनेकी पनि हुँ । यी सबसब गरेकी हुँ ।  

“तिमी किरण र म कविता” एक अर्काको नामलाई जोडेर हेरेकी पनि हुँ । यी सब गर्दा जे महशुस गरेँ त्यो तिम्रो कारणले गरे । बर्षौबर्षको प्रेमको भर्म सुन्दर नै थियो । त्यो प्रेम थियो वा थिएन त्यो म जान्दिन तर प्रेमको भ्रम अवस्य थियो । 

तिम्रो लागी म को थिएँ मैले कहिल्यै बुझिन । कहिलेकाही सबै खोतल्थ्यौ आफ्नो भडास र एकाएक पर पुग्थ्यौ । परको क्षितिजले झै वरको संसारलाई फेरी फर्केर हेथ्यौ वा हेदैनथ्यौ मलाई थाहा छैन । कहिलेकाही साँझपख आउँने पाउँनाझै मेरा जीवनका अनेकौ मोडहरुमा तिमी फर्केका पनि हौ । तर तिमीले मलाई देखाउँने स्नेहलाई प्रेमको ढोका ठानेर म भित्र पसेँकीे पनि हुँ । र अन्त्यमा तिम्रो साथीत्वलाई साथीत्व नै ठान्नुपर्छ भनेर आफ्नै बाटो  फर्केकी पनि हुँ ।

साथीत्वले कस्तो स्नेहको माग गर्छ मैले नबुझेकी पनि हुँ । एक साथी गुमाउँने डरले तिम्रो अस्विकारोक्तीलाई ठिकै हो भनेकाी पनि हुँ । र भित्रभित्रै दुखी भएकी पनि हुँ ।  दुखी हुँदाहुँदै नभएझै देखाएकी पनि हुँ । र तिम्ले त्यसलाई एक साथीत्वको स्नेहको रुप ठानेर सदाझै “के छ केटी ?” भनेका पनि हौ ।

मेरो लागी तिमी त्यो खुल्ला बाटो थियौ तिम्रो उपस्थितिले मेरो आफ्नो यात्रा कहिल्यै साघुँरो लागेन । तिमीले साथीमात्र ठानेउँ मैले साथीभन्दा माथी बुझेँ । बुझाँइका दुरीहरुले साँच्चिकै दुरीहरु बनाए । यी यात्राका दुरीहरु थिए । तिमी तिम्रै यात्राको मालिक थियौ म आफ्नै यात्राको । र हाम्ले आफ्नै यात्रा गर्यौ ।

कहिलेकाही लाग्छ तिमीलाई साथीमात्र हौ भन्दिउँ । यदाकदा प्रयास गरेकी पनि हुँ । नसकेकी पनि हँु । साथीमात्र बुझ्दा सजिलो थियो । मसँग आसाहरु कम थिए । तिम्लाई बोलाउँन सजिलो थियो । तिम्ले मलाई “के छ केटी भन्न पनि सजिलो , सम्बन्धको रफ्तार आफ्नै लयमा थियो ।

तिमीसँग पहिलेझै नबोलेको बर्षौ भएछ । यदाकदा लाग्छ मन खोलेर बोलीदिउँ । मन खोलेर प्रेम गर्छु भनिदिउँ । मन खोलेर प्रेम गनेसँग पर जानु हुँदैन भनिदिउँ । किरण अब सबै बिर्सिएर साथीमात्र भैदिउँ भनिदिउँ । हुन त तिम्रा लागी म साथीमात्र थिएँ । मेरा लागी तिमी केही अरु बन्यौ । दुई केटाकेटी साथीमात्र हुनसक्छन् नबुझेको होइन तर किनकिन तिम्लाई साथीमात्र मान्न नसकेको अबस्य हो ।

आज मसँग तिमीजस्तै लाग्ने लोग्ने जातीका साथीहरु प्रशस्तै छन् र पनि तिन्लाई प्रेम गर्छु भन्न सक्दिन साथीमात्र मानीदिन तयार छु । तर तिम्रा लागि साथीमात्र हौ भन्न सकिँन र सक्दिन पनि । तिमीले “ साथीमात्र हौ” भन्दा हुन्छ भनिरहन पनि सकिन । कहिलेकाही लाग्छ म स्वार्थी भए आफ्नै अनुकुलको प्रेम स्नेह खोजेँ, दुख मानेँ ,पर भागेँ ।

तिम्रा लागि म स्वार्थी भएँ हुँला, मेरा लागि तिमी कठोर भयौ होला । तर दुबैले साथी हुनुको स्नेहलाई छोड्नपर्दैनथ्यो त्यो हामी दुबैले गर्यौ । म पर भागेँ तिमी वर कहिल्यै आएनौ । कहिलेकाही , “के छ केटी” भन्छौ कि भन्ने आश आवश्य थियो तर अव बिस्तारै कम हुँदै छ । “तिमी ठिकै त छौ नी किरु” भनेर बोलाउँन मन नलागेको पनि होइन तर नसकेको  पक्कै हो ।

पहिले तिमीसँग दुखेसो थियो । अचेल आफैँसँग छ । यदाकदा लाग्छ प्रेमको फराकिलो क्यानभाषलाई मैले साँघुराएर सम्बन्धको कसिलो बन्धन ले बाध्न खोजेँ । बन्धनमा प्रेम खोज्नु कति सहि कति गलत मैले बुझ्न सकिन । सायद कहिल्यै सक्दिन पनि । तर तिमीसँग फेरी भेट्ने चाहना नभएको अबस्य होइन । तिमीलाई पहिलेझै “ए किरु” भन्न आज पनि चाहन्छु ।

आजकल लाग्छ नदिको किनाराझै तिमी एक किनारा थियौ म अर्को किनारा । दुई किनाराको यात्रा मिलनको यात्रा होइन सहअस्तित्वको यात्रा मात्र हो । तर अब सम्बन्धको त्यो किनारा पनि फेरीएको छ । चाहेर पनि अब तिमीलाई भेट्ने छैन र भेटेर पनि पहिलेझै बोलाउँन सक्ने छैन । 

बषौबर्ष दोबाटोमा हिडेँ लाग्यो तिमी हिडेको बाटो पनि मेरो आफ्नै हो । आजकल गारेटोमा हिड्दै छु तर कहिलेकाही दोबाटोले पनि झक्झक्याउँदो रहेछ । तिम्रो लागी त्यो फराकिलो साथीत्वको यात्रा थियो मेरो लागी प्रेमको एक कठिन यात्रा । रोज्नुपर्ने मूलबाटो छोडेर अध्यारो गोरेटो रोज्नु साथीत्वलाई प्रेम मान्नु रहेछ आजकल बुझ्दैछु ।

तिमी बाट टाढा भएपछि जीवनमा कोही नभेटिएका कोही नआएका पनि होइनन् । साथीहरु पनि आए प्रेम गर्छु भन्नेहरु र नभनिकन स्नेह देखाउँनेहरु पनि आए । तर तिमीजस्तो, “ए केटी के छ खबर” भन्नेहरु, तिमी किरा हौ भन्दा नरिसाउँनेहरु, प्रेम गर्छु भन्दा साथी मात्र मान भन्नेहरु कहिल्यै आएनन् । 

प्रेमको सप्ताह चल्दैछ । प्रेमको नाममा, सम्बन्धको नाममा बोल्नेहरु धेरै छन् । जे पर्ला पर्ला ठानेर मैले पनि आज बोलीदिएँ । यो तिम्रो र मेरो कथा भएपनि यो मेरो भर्सनको हाम्रो कथा हो । यो  प्रेम कथा र्होइन । यो साथीत्वभन्दा माथी उठ्न नसकेको एक अड्मिल्दो अकथा हो । र यो प्रेमजस्तो लाग्ने तर प्रेमको भूगोललाई न छुन सकेको न पर भाग्न सकेको एक अमूत अकथा हो ।


.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...