Thursday, May 1, 2025

कथा र अकथा बिच कतै अल्झिएको म

 

के म कथा हुँ ? होइन, होइन भने किन कथाझै संरचनामा बाचिरहेछु । मलाई कथाहरु सधै संरचनाका उपच लाग्छ । किन कथाले पात्र माग्छ । परिबेश माग्छ । कथानक माग्छ । द्घन्द माग्छ । द्घन्दको उचित अन्त्य माग्छ । हो जीवन पनि कथाझै हो । वा भनौ कथालाई जीवन भनिदिन्छौ ।

तर म कथा होइन । म जीवनको कथाझै अधुरो अन्त्य चाहन्न । द्घन्दको उचित अन्त्य चाहन्न । म त मेरा कथाझै आफ्नै खाले यात्रा चाहन्छु । हो म कथा लेख्दिन । म आफैँलाई लेख्छु । तर मेरो जीवन कथाझै छ ? छैन , छैन भने किन लेखिरहेछु ? किनभने म लेख्न चाहन्छु । मैले बुझेँदेखी म लेख्न नै चाहन्थे । मलाई संसारलाई भन्नु थियो म पनि लेख्न सक्छु । मलाई आफ्नै जस्ता कथा भन्नु थियो बिना संरचनाका । हो मलाई बिना संरचनामा बाच्नु थियो । बाचेको कुरा दुनियालाई सुनाउँनु पनि थियो । नसुनाएझै गर्नु पनि थियो । म यस्तै नै हो म मेरा कथाहरु सुनाउँन पनि चाहन्छु तर कथाकै रुपमा होइन । म कथाभित्र अठ्दिन । मेरो जीवन पनि अट्देन । तर मलाई केही भन्नु छ । र भनेको कुरा सुनाउँनु पनि । तर आफ्नै लागि लेखेझै गर्नु पनि छ । 

कहिलेकाही मलाई आफू चित्रकार नभएकोमा दुखेसो लाग्छ । म जे छु चित्रझै प्रष्ट छैन । धुमिलताहरु, संरचनाबिनाका अक्षरहरु मसँग बाच्छन् जो म लेखिदिन्छु । मेरो दिमाग मेरो लेखाइ हो । सक्ने भए म भित्रका सबै अनुभूतीहरु लेखिदिन्थेँ । आफैँलाई दावी पनि गर्थे र आफैँलाई मेटिदिन्थेँ पनि । 

तर थाहा छैन यी बिनाअर्थका कामले मलाई खुसी मात्र बनाउँछ । तर म दुखी हुँदा लेख्छु । कथाहरु मेरा दुखका साक्षि हुन् ।  तर कहिलेकाही लाग्छ  यी बिना मतलबका अकथाहरु लेखिबस्नुको कुनै अर्थ छ? छैन भने म किन लेखिरहेछु । 

एक मन भन्छ जे मनपर्छ त्यो गर्नु राम्रो हो । कहिलेकाही लाग्छ मलाई किन यस्ता बिनामतलबका असंरचनाका लहडी काम मनपर्छ । म यी कुरा दुनियालाई भन्न सक्दिन । परिवारलाई भन्न सक्दिन । साथीभाईलाई पनि बिरलै भन्छु । तर भन्न आवश्यक पनि त छैन । 

Wednesday, April 30, 2025

Ode to the Letters

 प्रिय तिमी ,

बर्षौ देखी पत्रहरुको प्रतिक्षामा तिमी थाक्यौ होला । पत्रमञ्जुषा बोकी हिड्ने हृदयहरु तिम्रा नजिक परेनन् होला । बादलका अक्षरहरु मेटिए होलान् । नदि किनारामा कसैले तिम्रा लागि कोरेका तिम्रा नामका डोबहरु छालसँगै मेटिए होलान् । परेवाहरुले तिम्रा नामका चिठिहरु भेटेनन् होला । हुलाकमा तिम्रा नामहरु लेखिएनन् होला । सायद अक्षर बोकि हिड्ने काँगजका पानाहरुले तिमीलाई चिनेनन् होला । 

तर कोही त होला तिम्रा लागि नै भनेर मौनतामै सहि केही लेखिरहेछ । हिउँमा तिम्रमो नाम लेखेर फेरी मेटेको पनि हुनसक्छ । पत्रहरु लेख्दालेख्दै उसका हाँतहरु कापेर रोकिएका पनि हुनसक्छन् । पर दुर देशको कुनै रुखमा खोपिएको तिम्रो नाम हुनसक्छ । कोही त होला जसले तिम्रै लागि लेखिरहेछ । वा तिमी आफैँ आफ्नै लागि लेखिरहेछौ ।  

कसैले नलेख्दैमा तिमी नलेखिने पनि त होइन । आज नै त हो मैले मेरा र तिम्रा दुबैको लागि लेखेको । यो चिठि ति सबैका लागि हो जसको नाममा हुलाकमा चिठिहरु आएका छैनन् । यो सबैका लागि हो जसको नाम हिउँमा लेखिएको छैन । यो सबैका लागि हो जसको नाममा कविताहरु कोरीएका छैनन् । 

हो, यो चिठि नलेखिएका का लागि हो ।  आज मैले कोरेका अस्तित्वका यी बेमेल अक्षरहरु ति सबैका लागि हो जसले अहिलेसम्म प्रेमले भरिपूर्ण पत्रहरु भेटेका छैनन् । थाहा छैन कसरी यी बेमेलहरुकोे पनि मेल हुने रहेछ । आज बेमेल बेमेलहरु एक भएर सामूहिकताका पत्रहरु लेखरहेछौ । स्विकार आज यी अक्षरहरुले तिमीलाई नै सम्बोधन गरिरहेछ ।

थाहा छैन यी बिना बिषयको पत्रलाई हुलाकले स्विकार्छ स्किार्दैन । यो अस्विकृत र असम्बोधितहरुको सामूहिक आवाज हो । प्रेसक र प्रापक बनेकोमा म आफैँलाई धन्यवाद भनिरहेछु । मौनतामा लेखिएका, नदिकिनारामा मेटिएका, हिउँले छोपिएका यी सबै सबै नाममा यो पत्र लेख्दैछु । आशा छ तिमीले यी कर्कष आवाजहरुलाई े सुमधुरताका साथ स्विकार्नेछौ ।

उहि 

पत्रहरु बिनाको म

Monday, April 21, 2025

तिमी खुसी त छौ नि भनन ?


एका बिहानै घाम लाग्यो । चराहरु उडानमा निस्के । फूलहरु मुस्कुराए । बाटामा मानिसहरुको पदचाप पर्न थाल्यो । बादलले आकाश छोड्यो । आकाश आफ्नै रंगमा फर्कयो । के सबै खुसी भए ? 

टेबलमा चियाको कप र औलाहरु किबोडमा छन् । के म खुसी छु ? कुनै अर्को दिनझै मेरो मन खाली छ । सायद कविता अघिको सेतो कागजझै  । मलाई अहिलेसम्म कसैले तँ खुसी छस् कि छैनस् भनेर सोधेको छैन । मैले पनि त सोधेको छैन ........ 

दौडनु हिड्नु आफैँमा फर्कनु । फर्केर पनि आफैमा चिहाउँनु । मेरो लागि संसार मेरै वरिपरि घुम्छ । सायद चाहेको पनि यही हो । यहाँ पाबन्धी छैन । कसैले सिमारेखाहरु तोकिदिएको छैन । हिड्नु पनि आफ्नै लागि छ । कहि पुग्नु पनि आफ्नै लागि छ । फर्कनु पनि आफ्नै लागि छ । र पनि म खुसी छु वा छैन थाहा छैन । बस् बाचेझै गरिदिन्छु । 

कोठाका किताबहरु चिहाउँछु । कहि मिलेका, कहि अलपत्र, कहि धुलो जमेका, केहीमा बुकमार्क भएका, केहीमा नभएका । कहिलेकाही यी किताबहरु मेरा प्रतिबिम्बहरु झै लाग्छ । कहि सम्मालिएको म कहि अलपत्र म ।  सान्द्राले कुनै दिन भनेकी थिइन – म मेरो पिताको र लोग्नेको घर चाहन्न, मेरो घर मेरो आफ्नो मात्र बनोस् । सायद उनलाई पछ्याउँन चाहेको पनि हो । यदाकदा एक्लोपनले निस्सासिएको पनि हो । तर यो बिग्रिएका सप्रिएका सबै चिज मेरा हुन् । यसमा कुनै गुनासो छैन ।

एक्लो भएर पनि कयौ दिनहरु मेरा लागि एक्ला छैनन् । के यसरी एक्लै खुसी भैदिन मिल्छ । यति धेरै टुक्रिएर फेरी जोडिन मिल्छ । कहिलेकाही आफैँलाई चिहाउँदा त्यस्तै लाग्छ । 

याी दुरीहरु थिए । अमिल्दा दुरीहरु । आफ्नै लागि बचाएका । कहिलेकाही आफैँबिच पनि म दुरीहरु राख्ने गर्छु । एक शब्द अर्को शब्द बिच झै । दिनदिनै केही हुँदैन । र पनि भएभmै लाग्छ । हिजोको म आज छैन । आजको म भोली हुने छैन । 

खुसी त म झै अरु पनि नहोलान् । र पनि आफैलाई पोख्ने र आफैसँग बोल्ने स्वतन्त्रता छ । जुन मेरी आमा र हजुरआमासँग थिएन । उनीहरु चडेको पहाडको देउरालीमा कहिलेकाही आफू नाचेझै लाग्छ । कृतज्ञ छु र रहनेछु । मैले प्रेम गरेका किताबहरुसँग । मैले प्रेम गरेका मानिसहरुसँग । कहिलेकाही लाग्छ म जे हुँ उनीहरुको कारण हुँ । र पनि कहिलेकाही लाग्छ म खुसी छैन । मलाई कहि पुग्नु थियो जहाँ म पुगेको छैन । तिमी खुसी त छौ नि भनन......

Sunday, April 20, 2025

एप्रोचिङ थट्टी

 

यो तिसको कथा हो । अंकहरुले कहिल्यै तानेन । उमेरमा थपिने अंक पनि त्यस्तै लाग्ने गर्छ । कुनै दिन तिस टेक्ने बित्तिकै लाग्ने तिस कुरा लेख्न बसेको थिएँ र तेह्रमा टुङ्ग्याएको थिए । आज थप सत्र कुरा गर्दै छु ।

यो उमेरको कथा हो । मलाई लाग्छ हामी आफ्नो उमेरको कहिल्यै महसुस गर्दैनौ । कहिलेकाही लाग्छ आमाको काखमा रोइरहने एकको भैदिउँ । कहिलेकाही लाग्छ बिनामतलब आगँनमा खेल्ने सातको भैदिउँ । कहिलेकाही लाग्छ आफूमा अत्यधिक बिश्वास गर्ने सत्रको भैदिउँ । तिसलाई टेकेर केही बर्षहरु बिताए पनि म तिसको पट्क्कै महसुस गर्दिन । म भित्रका एक दुई तिन चार पाँच छ सात आठ नौ सधै झगडा गर्छन् म सँग । हुन त जसरी दश सजिलो थिएन त्यसरीनै बिस पनि सजिलो थिएन । तिसमा त अझ म बढी बिथोलिएकी छु । सधैँ झै म मेरो उमेरलाई महसुस गर्दिन । डुलिहिड्ने बचपन, सन्कि किशोर अझै कहि कतै म भित्रै अल्जन्छन् । कहिलेकाही म मेरा हाइस्कुले केटाकेटीलाई भन्ने गर्छु , “ म पनि तिमीहरु जस्तै एक अधुरो अपुरो केटाकेटी मनस्थिति बोकी हिड्ने लडाकु मानिस हुँ ।” उनीहरुलाई लाग्ला एक शिीक्षकाले कसरी त्यस्तो भन्न सक्छे – हो तर म तिसमा पनि दशको नै महसुस गर्छु ......

तिसका थप सत्र कुरा

१४. मानिसहरु र बिषयहरु कम रोचक लाग्न थाल्नेछन् 

१५. तपाईले आफ्नो कम्फर्टजोनलाई यती प्रेम गर्नुहुनेछ त्यसलाई नाध्न सजिलो हुनेछ

१६. केही बिशेष लाग्ने मानिस र किताबहरु झुर लाग्न थाल्नेछ 

१७. यदि तपाई पनि म जस्तै अविबाहित हुनुहुन्छ भने बिबाहलाई डरलाग्दो नजरले हेर्न थाल्नुहुनेछ 

१८. बिसमाझै तिसमा पनि जीवनका सर्घषहरु कम नभै अझ बढेर जानेछन् 

१९. साथिहरु कम हुँदै जानेछन् 

२०. आफ्ना सिमितताहरुबारे अझ जानकार भैनेछ

२१. कहिलेकाही आफ्नै घर पनि कारगार जस्तो लाग्न थाल्नेछ

२१. बाआमाले दिने सुझावमा कमि आउँनेछ

२२. खाना कम पच्न थाल्नेछ 

२३. सामाजिक सन्जाल अझ बकवास लाग्न थाल्नेछ

२४. सबै अगाडि बढिरहेको र आफूमात्र अड्केको महसुस हुनैछ

२५. गुमाएका मानिसहरुको संख्या बढ्नेछ 

२६. बिस्तारै जो थिएँ त्यो रहिन भन्ने लाग्नेछ 

२७. बिस्तारै आन्टि भन्नेको संख्या बढ्र्नेछ 

२८. अरु मात्र होइन आफू पनि कम रोचक लाग्न थाल्नेछ

२९. बाआमाको महत्व अझ बढी महसुस हुनेछ । 

३०. तर तिसको कहिल्यै महसुस हुनेछैन ।


(यो मेरो प्रिय लेखक सान्द्रा सिस्नेरोज प्रति सर्मपित । )

प्रिय जूनतारा,

 

यी भूगोलहरु कहिलेकाही अभावका बिम्बहरु बनिदिन्छन् । तिमी भूगोल नाघेर हामीमाझ आइपुगे पनि तिमी सँगै उभिएको भूगोलले तिमीलाई छोडेको छैन । कुनै दुरदराजकी चम्किली तारा तिमी कहि कतै हामीले आफैँबाट लुकाउँदै हिडेकी तारा पनि हौ । सायद तिमी कथा बन्यौ । शब्दहरुले हाम्रो मन छोयो । तर कथा नबनेका ति तमाम जूनताराहरु हरेक दिन किताबको साटो तिमीजस्तै नानिहरु खेलाउँछन् । र त्यसैलाई नियती ठानी आफ्नो भूगोललाई स्विर्कारीरहेछन् । स्विारोक्ती आफैँ नियती बनिदिन्छ । र सपना सपना नै बिनिदिन्छ । 

जूनताराको कथा जूनताराझै चम्किलो हुनुपर्थो । खै किन कथाभित्र तारा र जून दुबै हराए । भूगोलको कठिनाइले सिमानाहरु नाघेन । गुराँसहरु ओइलाए । क्षितिजपारीको घाम अस्तायो ।  सायद जूनताराहरु यसरी नै हराइरहनेछन् । केन्द्रको उज्यालो न त्यो भूगोलमाझ पुग्यो । पुर्याउँछु भन्नेहरु आफैँ ताराहरु बने र जमिनबाट हराए । जमिनलाई बिर्से । जमिनमा छुटेकाभाझ जून र ताराहरु अपरिचित बनिदिए ।

एक चट्याङ पिताले जूनताराझै चम्किली छोरी चाहेका थिए । उनको बिद्रोह बिद्रोह मात्र बन्यो । न उज्यालोले भूगोल नाध्यो । न उनका दुखका फेरिस्तहरु सिद्घिए । समृद्घि र बिकासले पहाडहरु छिचोलेनन् । एक बालिका फेरी अर्को बालिकाकी आमा बनिन् । प्रिय जूनतारा, मातृत्वले तिम्रो बालापन र सपनाहरु उडायो । छोडेका सपनाहरुलाई तिमीले सम्झियौ । त्यो तिम्रो जीवन थियो बालखैमा बुढी भएझै गर्यौ । सायद उमेर पनि नियतीले बढाउँछ । उमेरमा थपिने अंकभन्दा तिमीले धेरै चाडो जीवन जियौ ।

प्रिय जूनतारा, तिम्रो कथा तिम्रो मात्र होइन । सायद तिम्रो कथा अरुको भन्दा कठोर छ त्यो सत्य हो । तर तिमीभmै एक पाइला अगाडी बढाएर दुई पाइला पछाडी हामी सबै सरेका छौ । सपनाको पछि दौडेका पनि छौँ र सपनाहरुलाई नियती ठानी छोडेका पनि छौ । सायद नियतीका भूगोलहरु फरक होलान् । संरचनाका पर्खालहरु हाम्रा भन्दा तिम्रा कठोर होलान् । तर तिमी झै कहिकतै हामी पनि जूनतारा नै हौँ ।

Saturday, April 19, 2025

धुमिल डायरी



“ताराहरु आकाशमा चम्किदैछन् । चम्केकासँग म प्रश्नहरु गर्न सक्दिन । मलाई लाग्छ धेरै चम्किलो चकमन्न अध्यारो नै हो । अध्यारोझै देखिनेले अध्यारोलाई नै प्रश्न गर्नु आफ्नै परिधिलाई आफैँ  प्रश्न गर्नु जस्तै हो । म चाहन्न मेरो उपस्थितिमाथि म आफैँले प्रश्न गरुँ । यतिका बर्ष म प्रश्नहरुको गन्जागोलमा रुमलिएकी थिएँ । त्यो दुखोद् थियो । र म दुखको निरन्तरता अबश्य चाहन्न । चाहन्छु त केबल एक सुकुन, मूक्ति र एक शान्त शून्यता ।”

यो उसको डायरीको अन्तिम पाना हो । ऊ को हो म चिन्दिन । कसैको अभिब्यक्तिको अन्त्य यति कठोर र यति सुन्दर पनि हुनसक्छ मलाई कहिल्यै लागेको थिएन । उसको डायरी एक धुमिल रंगको छ । सायद धुमिलता नै उसको परिचय  हो ।  म उसलाई चिन्दिन र चिन्दछु पनि । चिन्दछु त केबल डायरी मार्फत । त्यो खैरो रंगको डायरी मैले माइक्रो बसको अन्तिम सिटमा फेला पारेको थिएँ । बिना नामको त्यो डायरी कसको थियो र हो म बेखबर छु ।

किन आफ्नै डायरीमा पनि आफ्नै नाम लेख्दैन मानिस ? मलाई ऊ देखेर किनकिन रिस उठ्छ । उसले प्रयोग गरेको भाषा हेर्दा लाग्छ यो कुनै छोरीमान्छेको डायरी हो । तर रंग..... भने खैरो छ लाग्छ यो कुनै उदास बेरंग पुरुषको डायरी हो । तर किनकिन ऊ पुरुष हो भनेर म मान्न तयार छैन । उसका अक्षरहरु खिरिला छन् ..... उदासीले बेरंगीएका कुनै आधुनिक फकिरका अक्षरहरु जस्ता ।

मलाई ऊ कस्ती होली भन्ने लागिरहन्छ र सदा लागिरहनेछ । उसले प्रयोग गरेको क्रियापदले म ऊ कुनै छोरीमान्छे हो भन्नेमा प्रष्ट छु । तर डायरी भएर पनि किन यो डायरी जस्तो छैन । किन उसले ऊ को हो ? कहाँ बस्छे ? कस्ती छे ? भनिन् । किन उसले आफ्नो उपस्थितिलाई आफ्नो परिचयसँग  जोडिन ? म अचम्ममा छु ।

  एक अपरिचित डायरीको पाठक बनेको छु । उसका अक्षर र शब्दहरुले मलाई तान्दैछन् ।

करिब सय पेजको डायरी पढिसक्दा पनि म उस्लाई अझ पढ्न चाहिरहेको छु । उसको डायरीको

सुरुवात र अन्त्यमा अनौठो सामञ्जस्यता छ । पढ्दा यस्तो लाग्छ यो कुनै बिम्बमा बाच्ने कविको कवितात्मक डायरी हो ।

बन्द कोठामा बेस्सरी निस्सासिएझैँ

कहिलेकाही आफैँसँग निस्सासिन्छु

हेर्छु वरपर आफ्नै उडानमा मस्त चराहरु

आफ्नै खुसीमा मस्त फूलहरु 

किन कुण्ठित हुन्छु आफैँसँग ?

किन बिर्सन सक्दिन बिर्सनेहरुलाई?

किन मानिस यतिधेरै साँघुरो छ ?

आफ्नै पदचापले आफैँलाई थिचेजस्तो 

आफ्नै शब्दभित्र आफ्नै अक्षर लुकेजस्तो 

यतिधेरै बिरोधाभाष

अह! म चाहन्न तिम्रो आँगन मेरो बनोस्

म तिम्रो बनुँ

तिमी मेरो बन

आफ्नै लागी आफ्नै मूक्तिको घोषणा गर्दैछु

अबबाट मेरा शब्दहरु केबल मेरा हुनेछन् ।

यो असोज १ को पहिलो दिनको डायरी थियो । मैले भेटेको उक्त डायरीको पहिलो पाना । उसको डायरीको रंगझै उसको लेखाईमा पनि एक खालको धुमिलता भेट्टिन्थ्यो जसले मलाई ऊ बारे अझ जिज्ञासु बनाउँदै थियो । मैले निरास र गम्भिर  बहस गर्ने छोरीमान्छे पट्टकै भेटेको थिइन । उसको डायरीले मैले बुझेको छोरीमान्छेको सामान्यकृत परिभाषालाई नराम्ररी तोडिदिएको थियो । हुनतः म आफैँ गम्भिर बहसमा रमाउँने छोरामान्छे पट्टकै होइन र पनि उसले जे लेखेकी छ त्यसले मलाई गम्भिर बन्न बाध्य बनाएको छ ।

मैले गम्भिर भएर केही लेखेको छैन । उसका आफ्नै भावना माथीका ति निर्मम अक्षरहरु किनकिन मलाई अमूर्ततका अर्को अध्याय जस्तो लाग्छ । हुन त भावनामाथी कलमको सहायता लिनुको कला अर्कै होला । म त्यो कला बेगरको मानिस हो । मैले आफ्ना लागि कहिल्यै लेखिन । 

रातो गुलाफ चाहेको दिन 

कालो बादल उपहार दियौ 

कालो बादलले मात्र बिनास गराउँछ

भो प्रिय मलाई छोडिदेउ। 

स्कुले जीवनमा आफूले बनाउँन नसकेको प्रेमिकालाई मैले लेखेको यी पहिला र अन्तिम हरफहरु थिए । मलाई लाग्थ्यो लेखक भनेकै प्रेम लेख्नेहरु हुन् । तर बिना प्रेम पनि कोही किन त्यति गम्भिर बन्न सक्छ भन्ने कुरा उसको डायरी बुझाएको छ मलाई । डायरीको बिच पानामा ऊ लेख्छे, “ म बिम्बझै अपब्याख्याको पुरानो फेरिस्त बन्न चाहन्न ।  आज पनि मेरा कलमका मसिहरुले कालो रंग मात्र लेख्न सक्छ । मान्छेहरुले बुझ्लान् यो बिरोधको रंग हो । तर होइन म निराश छु । यो शून्य निराशा यदाकदा मलाई ठिकै लाग्छ तर सधै होइन । कहिलेकाही  लाग्छ म सामान्य भैदिउँ । तर म बन्न सक्दिन । सामान्य बन्न चाहिने ति असामान्य  गुणहरु मसँग छैनन् । भ्यानगग झै कोही कसैले मलाई मनपराउँन सक्छ भन्ने बुझेको दिन मलाई लाग्नेछ म सामान्य नै हुँ । तर उसले झै म मनपराउँछु भन्नेलाई असामान्य उपहार पक्कै दिने छैन । म सामान्य नै बन्नेछु । म त्यो दिन जीवनलाई गुलाफी रंगले ब्याख्या गर्नेछु । म मेरो कालो मसिको अन्त्य चाहन्छु । तर यो सामान्य इच्छा मेरा लागी असामान्य बन्दैछ किन म बुझ्न सक्दिन ।”

  यो कुनै कथाको द्वन्द्धझै उसको जीवनको द्धन्द्ध हो की भन्ने मलाई लाग्दैछ । तर नहुन पनि सक्छ । तर किन उसलाई मनपराउँछु कसैले भनेको छैन मलाई किनकिन लाग्छ ऊ मनपराउँन लायक छ । उसको कालो मसिले उसको निख्खरतालाई यसरी पोतिदिएको छ लाग्छ ऊ कुनै जादुवी परी हो जसको भाषामा मजस्ता धेरै डुब्न सक्छन् । तर किनकिन म उसको निराशाले चिन्तित भएको छु । जीवनका तमाम रसमध्धे नबरस भित्र नअटेको यो जीवन एक धुमिल रस हो । तर ऊ निराशाको रंगमा यसरी पोतिएकी छ लाग्छ त्यो नै ऊ हुनु हो । बिनाकारण म उस्लाई ब्याख्या गर्न खोज्दैछु किन गर्दैछु मसँग उत्तर छैन ।

डायरीका पानाभित्र बिना परिचय, बिना कुनै नाम, र बास्तबिक घटना विवरण  नै ऊ आफ्नैपनको भाषामा परिचित छ । के ऊ लेखक हो सायद होइन मैले निराशा लेखेर लेखक बनेको कोही भटेको छैन । उसको लेखाइमा सत्य र झुटका परिधिहर भेटिदैनन् । म उसलाई सत्य र झुट दुवै मान्न सक्छु । उ कुनै अक्षर होइन सायद कुनै बिन्दु हो आकारको स्पष्टताले उसलाई ब्याख्या  गर्न मिल्दैन । सायद अनुभूतिका तहहरुमा ऊ एक अनुभुती मात्र हो, कस्तो म भन्न सक्दिन ।

ऊ चाहन्छे जीवनलाई गुलाफी रंगले ब्याख्या गर्न । किन किन म पनि चाहन्छु उसको गुलाफी जीवन ब्याख्या पढ्न । तर के गुलाफी रंगले ऊ जीवनलाई ब्याख्या गर्न सक्लि ? यीनै प्रश्नहरु मसँग उसका लागि बाकी छन् । ऊ के भेटिएली ? अथवा हराएको पुरानो डायरी खोज्दै मेरो छेउ आइपुग्लि । के म उसँग म अनिल तपाईको डायरीको पाठक भन्दै परिचय दिन सकुँला ? यी सोचाइका तरंगहरुले मलाई रोमाञ्चक र निराश दुबै बनाएको छ । 

कसैको डायरी पढेर ऊ बारे यति धेरै गम्भिर बन्नु सहि हो कि गलत हो म बुझ्न सक्दिन । सहि गलतको सम्बन्धले मानव सम्बन्धलाई बिरलै ब्याख्या गर्न सक्छ । तर म उसको डायरी पढेपछि किनकिन नराम्ररी बिरक्तिएको छु । बिरक्तिनुको आफ्नै कारण छ । किनकिन म उसँग भेटेर भन्न चाहन्छु , “म तिमीलाई मनपराउँछु । तिमीसँग नभेटी नबोली पनि मनपराइदिन सक्छु । तर कृपया जीवनलाई कालो मसिले नै ब्याख्या गर अन्ततः तिमी धुमिलतामै सुन्दर देखिन्छेउ । “

Saturday, April 12, 2025

अन्तिम दिन


बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा छैन । फूलहरु फुल्ने छन् वा छैनन् । चराहरु गीत गाउँनेछन् वा छैन । प्रिय बर्ष, तिमी जाँदै गर्दा सम्झनको लागि म सँग यती मात्र छ ।

  आज बर्षको अन्तिम मध्धेको एक दिन हो । बर्षभरी म दिनहरु जोगाउँन चाहन्थे । तर थाहा छैन किन दिनहरु उराठ मानेर मेरो जीवनवाट गए । गएका दिनहरुलाई म समेट्न चाहन्थेँ । तर सकिन । तर उनीहरु जाँदेमा गएका पनि त थिएनन् । आज नगएका चिजबारे बोल्दै छु ।

नगएका मेरा प्रिय चिजहरु,



प्रिय फूयूको, 

कावाकामीले जन्माएको तिमी सबैभन्दा निराश प्रेमी थियौ । कुनै दिन, कुनै रात तिमीझै कोही अरु भेटेँ भने अङ्गाल्नेछु । तिमी म पनि हौ । आफूझै किताबका पानाहरुमा तिमीलाई भेटेर म खुसी थिइन । तर दुखी पनि थिइन । थाहा छैन  तिमी कहिल्यै भेटिने छौ वा छैनौ । वा मेरा निराश दिनहरुको तिमी सधैँ साक्षी बन्नेछौ । आशा छ कुनै तिमीले आफैँलाई भेट्नेछौ । आफूलाई प्रेम गर्नेलाई पनि भेट्नेछौ । यो मैले तिम्रो र मेरो लागि देखेको साभmा सपना हो ।

प्रिय संवत,



दिन महिना र बर्षहरुसँगै तिमीले बुझेको घरको परिभाषा एक कठोर परिभाषा थियो । घर कुनै स्वप्न संसार थिएन र हुँदैन पनि । बाले सानिआमा रोजे । आमाले तिमी रोजिन् । तिमीले इस्बी रोज्यौ । रोजाइहरु बिच सम्बन्धका पर्खालहरु भत्किए । तिमी जो थियौ त्यो रहेनौ । तिमी जे भयौ तिनै सम्बन्धहरु बन्यौ । कहिलेकाही लाग्दैन भत्केका मानिसहरु भत्केका घरका प्रतिबिम्बहरु हुन्  तिमी जस्तै ।

प्रिय इमरोज, 




प्रेम गर्न त कसैले तिमीबाट सिकोस् । सायद संसारमा कथाहरु बाचिन्जेल तिमी प्रेमको पर्याय बन्नेछौ । वा भनौ तिमी बाच्नेछौ । कसैले भन्ला अमृताको लेखाइले लामो यात्रा गर्नेछ तर किनकिन लाग्छ अमृताको लेखाइ भन्दा लामो त तिम्रो प्रेमले गर्नेछ ।

प्रिय बेक सी, 



आफूले आफैँलाई अध्यारोमा छु भन्न तिमीलाई पक्कै सजिलो थिएन । सायद दुखी छु भन्न खुसी छ भन्न जस्तो सजिलो छैन । तिम्रा अध्यारा दिनका साक्षि शब्दहरुमाफृत म पनि भएकी छु । तिमी जस्तै अलिअलि निराश भैराख्ने मेरो पनि बानि छ ।  म पनि तिमी जस्तै आफ्ना निराशाहरुलाई शब्द मार्फत ब्यक्त गर्छु । सायद त्यसैले हामी लेख्छौ । र लेखेको कुरा नलेखेझै पनि गर्छौ । अन्त्यमा तिमीले भनेकै कुरालाई दोहोर्याउँन चाहन्छु, “महत्वपूर्ण कुरा तिमीले माया पाउँछौ वा पाउँदैनौ भन्ने होइन, प्राप्त मायालाई कसरी लिन्छौ भन्ने हो ।”

प्रिय म,

माथिका पात्रहरुझै, यसबर्ष म पनि पात्रहरुझै टुङ्गिएँ । दशैँ दशैँ जस्तो भएन । तिहार तिहार जस्तो पनि भएन । मंशिरमा जानेहरु रहेनन् । कथाझै जीवनको पल्टमा म पनि रुमलिएँ । रुमलिनु सजिलो थिएन । आफैँलाई भेट्न पनि सजिलो थिएन । समाज परिवार सबैबाट एक्लोझै भएँ । जीउन र जुध्न दुबै सिकेँ । मेरो कथाहरु मेरा मात्र रहेछन् भन्ने अनुभूती पनि भयो । यीनै यीनै चिजहरु भएँ । आफैँलाई गुमाएँ । आफैँलाई पाएँ । दह्रो र कमजोर दुबै भएँ । सायद अर्को बर्ष पनि यसरी आफ्नो बन्न चाहन्छु । बिन्दु र पहाड दुबै म हुँ । सिमितता र असिमितता पनि । जानेहरुलाई रोक्न सकिन । फेरी फर्कनेहरुलाई पनि अपनाएँ । सायद बर्षहरुले मलाई आफ्नै क्षितिजमा रमाउँन सिकाउँदै छ । जे छु र जे भोगे त्यसमा कुनै गुनासो रहनेछेन ।

प्रिय तिमी , 

जाँदै गर्दा धन्यवाद ..................

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...