Thursday, February 26, 2026

जो अब छैन – अनुपस्थिति


यो फागुन हो । केही दिनमा चैत हुनेछ । फेरी बर्षमा नयाँ अंक थपिनेछ । जे थियो त्यो हुनेछैन । कुनै फागुनमा तिमी त्यसरीनै गएका थियौ । चैत आयो । नयाँ बर्ष आयो । समयसँगै चाउरीहरु थपिए । कपाल सेतो भयो । तर तिमी उपस्थित भएनौ । यो गुनासो पनि हैन । तर खालीपन त छ नी जसले अझै बिझाउँछ । तिमी कतै जान्छौ भन्ने पनि थिएन । म तिम्रो अनुपस्थितिलाई सम्झिनेछु भन्ने पनि थिएन । तर गएपछि तिमी नहुनुको खालीपन त छ नी । 

आज पनि म तिम्रो बारेमा केही लेख्न चाहन्थेँ । मलाई लाग्यो अक्षरहरु त स्मृति मात्र हुन् बिझाउँछ मात्र । हुन त म रंगमा केही कोर्न सक्थेँ । तर थाहा थिएँन सम्झनाझै आकृतिहरु तिख्खर बनेर नबस्दा रहेछन् । थाहा छैन किन तर मलाई तिमी धुमिल मनपर्दैन । मैले तिमीलाई कोर्न सकिन । 

जो छैन त्यो भएको भएँ नलाग्ने पनि होइन । तर खै किन गुनासो गरिराख्नु पनि छैन । यात्रा न हो चाहेर पनि कति नै फर्कन सकिन्छ र । मलाई सधैँ फर्कन पनि चाहन्न । सायद फर्केर हेरिराखेर कति बस्नु । नफर्कने तिमीलाई कति पर्खनु । आजकल त छाँयालाई पनि फर्केर हेर्दिन यस्तो लाग्छ छाँया तिम्रो त होइन ।

जाँदै गर्दा

 

यो गुडबाइ नहुन पनि सक्छ । हुन पनि सक्छ । मलाई बर्षौ बर्ष आफ्नो हो भन्ने नाउँमा अडिरहनु पनि छैन । सायद म यसरी नै बाचिरहेँ भने निस्सासिने पनि छु । कहि जानु छ तर कहाँ थाहा छैन । सायद आफैँभन्दा पर । वा भनौ अरु भन्दा पर तर जाँदै गर्दा बिदाइको हात हल्लाउँन चाहन्छु ।

गुमनाम हुन पनि चाहन्छु । हुन पनि चाहन्न । कथाभैm केही लेख्नु छ जो आफ्नो होइन । मेरो इतिहासले पाइला नटेकेको कुनै जमिनमा पुगेर मलाई रुमलिनु छ । कहिलेकाही त लाग्छ कति हेरौ तिनै मानिसहरु । कति जुधौँ त्यही बाध्यताहरुसँग । कति सुतौ त्यहि ओछ्यानमा । मलाई कहि अपरिचित बिम्ब बोकेर रुमलिनु छ ।

यो सपना पनि हो । यो आशा पनि हो । यो आशा भन्दा पर अरु नै केही पनि हो । यो नलेखेको कथा पनि हो । सायद यो बिम्ब र रुपक बिनाको कविता पनि हो । तर कहि पुग्नुछ जसको आशामा म हरेक दिन यो शहरमा पाइला चालेझै गर्छु । यो शहरमा कुनै दिन किताब कापी बोकेरर म यसरी नै आएकी थिएँ । अन्त कतै जाँदा पनि म यसरी नै जाँन चाहन्छु । मलाई लाग्छ म यहाँबाट जाँदै गर्दा मसँग अरु केही नभए पनि मेरा मनपर्ने केही कथाका किताबहरु र मेरा डायरीहरु रहुन् । तर म गएर पनि फर्कन चाहन्छु । सायद कुनै दुर देशबाट आफैँलाई चिहाउँन चाहन्छु । 

कसैले मलाई कथा भन भन्यो भने म मनमनै भन्छु । मलाई लाग्छ मेरा कथाहरु आवाजमा भनिएँ भने कर्कश सुनिनेछन् । हुन त म सुमधुर कहिले पनि थिइन । म एक अड्मिल्दी केटी थिएँ जसलाई जीवनका मानकहरु भित्र पर्नु थिएन । एक आउटसाइडरको परिचय बोकेर म हुर्कन चाहन्थेँ । हुन त त्यही चिज म आज पनि चाहन्छु । हरेक मानिसलाई चिहाउँछु र एक खोक्रो  र निराश मानिससँग परिचित बनिदिन्छु । मलाई लाग्छ यो समयमा बाच्नु भनेको निराश नै हुनु हो । मलाई आशा जस्तै निराशासँग पनि कुनै आशक्ति छैन । तर यीनै अन्योलहरु बिच म कहि जान चाहन्छु । त्यस्तो ठाउँ जहाँ म मेरो भाषा बोल्दा नबुझिने ठहरिउँ । मलाई भाषा बेगरको दुनिया हेर्नु छ । म अहिलेसम्म जे बाचेँ भाषाहरुमा मात्र बाचेँ हो । हो म भाषाको परिधिलाई नाघ्नु छ । सायद अर्को कुनै परिधिभित्र भएर बाच्नु छ । 

हिजोझै आज पनि त्यही पर पुग्ने आशा बोकेर आफ्ना अक्षरहरु किबोडमा दौडाउँछु । औषधी निराशा हुन नसकेको कामको चटारोबिच म आफूलाई निम्सरो भेट्छु । तर यसले केही अर्थ राख्दैन मलाई कही पुग्नु । जहाँ मेरा कथाहरुले मलाई फेरी बोलाउँन आउँन् ।

Tuesday, February 24, 2026

पुस्तकले देखाएको उज्यालो

 


  हामी धेरैलाई लाग्छ पढ्नेहरुको संसार उराठलाग्दो हुन्छ, उनीहरुले जीउने जीवन अरुभन्दा अरसिक हुन्छ । तर जापानी लेखक स्याटोसी यागिसावाले आफ्नो उपन्यास “ डेज एट मोरीसकी बुकसप” मा पुस्तकले डोर्याएको उज्यालो संसार देखाएका छन । उनका पात्रहरु पढाकु छन्, पुस्तकलाई प्रेम गर्छन् । तर पढिरहँदा उनीहरुको जीवन उराठलाग्दो र निरास मात्र लाग्दैन । उनले आफ्नो पुस्तकमा किताबको वरीपरी रहेका उज्याला र रमाइला कथानकलाई कहेका छन् । पुस्तकमार्फत यागिसावाले प्रस्तुत गरेको संसारले हामीलाई पुस्तकप्रेमीको अनौठो यात्रामा लग्छ । 

  कथाकी प्रमुख पात्र टाकाकोलाई पच्चिसकी पुग्दा सम्म पुस्तकको संसार अनौठो लाग्छ । हुन त उनका मामली खलक तिन पुस्तादेखी  पुस्तक पसल चलाउँछन् । तर उनलाई कहिल्यै पुस्तकका पानाहरुले तान्दैन । जब उनका प्रेमीले उनलाई धोका दिन्छन् । उनलाई थाहै नदिई कोही अरुको प्रेममा रहन्छन् । जब आफ्नो प्रेमीले एकाएक अरु कसैसँग बिहे गर्छु भन्छन् उनी गहिरो पिडामा पुग्छिन् । त्यो अप्ठ्यारो समयमा उनीलाई साथ दिन उनका मामा आउँछन् । उनका मामा मोरीसकी नाम गरेको पुराना पुस्तक बेच्ने पुस्तेनी पुस्तक पसल चलाउँछन् । कहिल्यै पुस्तकको संसारसँग साक्षयात्कार नभएकी टाकाकोको लागि एकाएक पुस्तकसँग नजिक हुन सजिलो हुदैन  । तथापी जब उनी नजिक हुन थाल्छिन् बिस्तारै उनले आफ्नो पिडाबाट मूक्त हुँदै गएको महसुस गर्छिन् । पढ्दैगर्दा हामी धेरैले टाकाकोमा आफैलाई भेट्छौ । देख्दा सामान्य जीवन बिताइरहेझै लाग्ने टाकाकोले देखाएको संसार सायद हामी सबैले सामान्य ठानेर सामान्निकरण गरेका असामान्य घटनाहरुको रोचक ब्याख्या हो ।

  हामी धेरैलाई लाग्छ प्रेम, बिछोड, धोका यी सबै चिज अल्लारे उमेरमा हुने सामान्य घटना मात्र हुन् । तर जब भोग्छौ ति सामान्य कहिल्यै बन्दैनन् । ति सबैभन्दा पिडादायक बन्छन् । त्यही असामान्य समयमा टाकाकोको जीवनमा पुस्तक आउँछ । उनी आफ्नो मामाले चलाएको उक्त पुस्तकपसलबाट किताबले लैजाने अनौठो दुनियामाझ पुग्छिन् । किताबलाई प्रेम गर्नेहरुलाई भेट्छिन् ।  र बिस्तारै उनलाई मननपर्ने पुस्तकको अनौठो गन्धलाई पनि मनपराउन थाल्छिन् । पुस्तककै कारण आफूजस्तै लाग्ने धेरै मानिस भेट्छिन् । आफूजस्तै अरुको जीवनमा पनि पिडा रहेछ भन्ने महसुस गर्छिन् ।

  पहिले पहिले मननपर्नेे आफ्ना मामा पनि उनलाई बिस्तारै मन पर्दै जान्छ । पहिले उराठ र भिन्न लाग्ने आफ्ना मामा पनि उनलाई बिस्तारै बुझ्दै जाँदा आफूजस्तै लाग्छ ।  मामाले उनलाई पिडाको समयमा साथ मात्र दिँदैनन् एक तरिकाले भन्दा प्रेम केहो भनेर पनि सिकाउँछन् । आफूलाई छाडेर गएकी आफ्नी श्रीमतीलाई पनि सदा प्रेम गर्छन् । त्यो मात्र होइन टाकाकोलाई पनि प्रेम गर्न नभुल्न सल्लाह दिन्छन् । उनी भन्छन्, “प्रेम असाद्घै सुन्दर चिज हो भन्नेकुरा तिमीले कहिल्यै भुल्नु हुन्न”  (६५) । मामाजस्तै पुस्तकलाई प्रेम गर्ने मानिसहरुको संगतले बिस्तारै उनले आफ्नो पिडालाई भूल्दै जान्छिन् ।

यागिसावाको लेखनको सरलता र बिषयबस्तुले सबैलाई तान्छ । पात्रहरु सामान्य देखिन्छन् तर जब उपन्यासकार उनीहरुको जीवनभित्र घुस्छन् ति सामान्य लाग्ने मानिसका कथा असामान्य लाग्छन् । प्रेम गर्दागर्दै अरुलाई बिहे गर्छु भनेर प्रेमीले भनेपछि बिक्षिप्त बनेकी टोकाको, श्रीमती छोडेर गएपनि केही समयपछि केही नभनी फर्किदा  पहिलेझै प्रेम गरिरहने उनका मामा, मातृत्वको अभावमा आफ्नो लोग्नेबाट पर भागेकी उनकी माइजु, आफ्नो हुनेवाला लोग्नेले अरु कसैलाई धोका दिएको थाहा पाएपछि टुटेकी टाकाकोकी प्रेमीकी हुनेवाला श्रीमती यी यस्ता कथाबोकेका पात्रहरुले उपन्यासलाई अझ रोचक बनाएका छन् । देख्दा यी सब सामान्य हासीखुसी बाचेका मानिसझै लाग्छन् तर अन्तरकुन्तरमा उनीहरु सबै आफ्नै अनौठा कथाहरु बोकेर बाचेकाझै लाग्छन् ।

यी कथाहरु बिच केही चिज केन्द्रमा छ भने त्यो पुस्तक रहेको छ । पुस्तकका धेरै पात्र किताबका प्रेमी रहेका छन् । जसका कारण उनीहरुको कथाहरुबिच पुस्तकनै केन्द्रमा रहन्छ । हरेकले जीवनमा पुस्तकले उनीहरुको जीवनमा रहेको उदासी, एक्mोपन र प्रेमबारे बुझ्न सजिलो बनाउँछन् । हरेक टुटेका छन् तर टुट्नुको थर्थाथलाई जीवन ठानेर अगाडी बढेका पनि छन् । यागिसावाले प्रस्तुत गरेको यो संसार पुस्तक वरिपरिका मान्छेको कथामात्र होइन त्योसँगै अगाडी बढेको  उन्यालोको कथा पनि हो । त्यो उज्यालो घामको किरणझै विश्बब्यापी र फराकिलो लाग्छ । यो उपन्यास पुस्तकलाई मनपराउँने हरेकको हृदयमा पुग्न सक्छ ।

उपन्यासमा पात्रहरुको संसारमा अध्यारो मात्र भेटिँदैन । त्यही अध्यारोसँगै अगाडी बढेको आशा, भरोषा र यर्थाथबोधको उज्यालो पनि भेटिन्छ । टाकाकोको जीवनमा  प्रेमले दिएको पिडामात्र भेटिँदैन कथासँगै  तिमीले मेरो जीवनमा उज्यालोमात्र दिएकी छौ भनेर धोका दिने प्रेमीलाई माफी माग्न लगाउँने मामा पनि छन् । त्यसलै टाकाको मार्फत लेखकले प्रस्तुत गरेको यो संसार  अध्यारोमा गुम्सिएको एक्लो कथा होइन । यो त एक्लोझै लागेर पनि धेरैले आफ्नोझै भन्न मिल्ने भूगोल, वर्ग, र लिङ्ग भन्दा पर उठेको बिश्वब्यापी कथा हो । पुस्तक पढिरहँदा यसले देखाएको संसार तपाई हाम्रै संसारझै लाग्छ जहाँ मान्छेहरुसँग पिडा र दुख छ तथापी उनीहरुले त्यसलाई उनीहरु सामान्य ठानेर अधि बढ्दैछन् । उपन्यासले प्रस्तुत गरेको भूगोल फराकिलो छ जसले तपाई हामी झै धेरै मानिसहरुलाई छुन्छ ।

  यो एउटा पुस्तक प्रेमीले अर्को पुस्तक प्रेमीको संसारलाई हेर्न सकिने रमाइलो शब्द यात्रा हो । पढिरहँदा धेरैलाई लाग्न सक्छ यो उनीहरुको आफ्नो कथा हो । पढ्नेहरु एकान्त रोज्छन् र कुनै समय एकान्त एकान्त मन पराउँने एक पनि हुन्छन् । पुस्तककलाई पढिरहँदा संसारभरीकै पुस्तकप्रेमीहरु एक भएझै लाग्छ । यस्तो लाग्छ यो पुस्तकप्रेमीहरुको साझा संसार हो । 

उपन्यासकारले कथानकलाई  पुस्तक पसलको सेटिङ बनाएर पुस्तकले दिने फराकिलोपन, उन्मूक्तता र ब्यापकताबारे मजाले बोलेका छन् । टोकाकोको मामा पुस्तक प्रेमी मात्र होइनन् उनीसँग पुस्तकसँगै अघि बढेको जीवनको ब्यापकताको कथा छ । पुस्तकसँगै उनी पनि अघि बढेका छन् र अरुभन्दा खुल्ला र अझ बढी प्रेमिल बनेका छन् । उनले प्रेमलाई सम्बन्धको साँघुरो बन्धनमात्र ठानेका छैनन् । उनीसँगै हामी धेरैलाई प्रेमको ब्यापकताबारे अबगत पनि गराएका छन् । उनी बोल्दा यस्तो लाग्छ लेखक बोल्दैछन् । पुस्तकले दिने पराकिलोपन गैरआख्यानमा बोल्दा अररो र अरसिक बन्न सक्छ तर  आख्यानमा भन्दा त्यो रसिलो लाग्दो रहेछ । सायद देखकले आख्यानमा यो सब भन्नुको कारण यही हो । यो पुस्तकप्रेमीहरुको घोषणपत्र जस्तै हो जसले पुस्तक मनपराउँनु र त्यो वरिपरी रहेर बाच्नुको यर्थाथलाई मज्जाले बोल्छ ।  

टाकाकोमार्फत यागिसावाले गराएको यो आख्याानको यात्राले हामीलाई पुस्तकले दिने रमाइलो यात्राबारे मात्र जानकार गराउँदैन किन मानिस पुस्तकको नजिक पुग्छ र कसरी पुस्तकले मानीसलाई पिडामूक्त हुन सहयोग गर्छ भन्ने बारे पनि बोल्छ । अरुभन्दा भिन्न लाग्न,े अरुभन्दा अल्लि फरक बोल्ने तिनै पढाकुहरुकोहरुको संसारलाई उपन्यासमा उतारेर धेरैको मनचोर्ने साटोसिको लेखनकला लोभलाग्दो छ । पुस्तक पढिरहँदा पाठकको रुपमा आफैलाई पढिरहेझै पनि महसुस हुन्छ । एक बसाइमा बढ्न सकिने यो पुस्तकले नचाहेरै पनि हामी धेरैलाई बाध्छ ।

अन्त्यमा यो त्यस्तो पुस्तक हो जसले पुस्तकको उज्यालोबारे बोल्छ । पढ्नुलाई  एक कठोर तपस्या र ज्ञान प्राप्ती मात्र ठान्ने हाम्रो समाजको लागि  यस उपन्यासले किन पुस्तक पढ्ने भन्ने प्रश्नको उत्तर आख्यान मार्फत दिन्छ ।

परिचित..... अपरिचित


हरेक पाँच बजे किताब बाकेर काममा निस्कनु मेरो दैनिकी हो । ब्याकप्याकमा किताब बोकेर हिडेको पनि बर्षौ भैसकेछ । झोलाका किताब । कोठाका किताब । पठिहाल्छु कि भनेर ओछ्यान नजिकै टेबलमा राखेको किताब । नानाीहरुलाई पठाउँनको लागि झोलामा बोकेका किताब । यस्तो लाग्छ हरेक दिन झोलामा किताब होइन किताबका कथा बोकी हिड्छु । सायद रोजाइ पनि यही हो । हुनसक्छ म बर्षौ बर्ष यहि किताबका कथाहरु पोको पारेर हिड्नेछु र कुनै दिन बिदा लिनेछु ।

  कति किताब परिचितझै लाग्छ । कति अपरिचित । मानिसझै म किताबलाई पनि परिचित र अपरिचितको कोटामा राख्छु । आज पनि मसँग अपरिचितझै लाग्ने कुनै परिचित किताब छ । किताबसम्म आइपुग्न पनि सजिलो थिएँन । केटाकेटी बेला चाहेर पनि चित्र सहितका किताबहरु थिएनन् । रात्रिशिक्षामा आमाहरुका लागि बनेका किताबहरु कथाका किताब बनेँ । समयसँगै ति परिचित बने । टिन एज बंगाली नारीबादी लेखक तसलिमा नसरिनका अरसिक नेपाली अनुवाद पढ्दानै सिद्धियो । कठोर नारीवारी किताबले मेरो कोमलतामा यसरी कैचि चलाए बनाए मानौ म उनीहरुझै बनेँ । त्यो एक किशोरीका लागि कठोर यात्रा थियो । 

समयले किताबसम्म पुर्याएकोमा म भाग्यमानी सम्झन्छु । आफूले चाहेका किताब किन्न सक्ने अवस्थामा पुगेकोमा पनि भाग्यमानी सम्झन्छु । किताब मेरा लागि मायावी दुनिया थियो । एक्ली किशोरीका लागि समाज बुभ्ने, प्रेम बुझ्ने , मानिस बुझ्ने धरो किताब थियो । मलाई लाग्छ मैले मानिससँग सँगत गर्न पनि किताबबाट सिकेँ ।

किताबले के दियो के दिएन भनेर छलफल हुँन्छ । हाम्रो जस्तो समाज जहाँ परिक्षा पास गर्न मात्र किताब पढिन्छ त्यो दुनियाका लागि किताब पढ्नु अरु भन्दा फरक हुनु थियो । म आज पनि रिसाउँन जान्दिन । सायद मैले भावनालाई ब्यक्त गर्न पनि किताबबाट सिकेँ । ममि भन्नुहुन्थ्यो अंक्षर भनेको नदी हो यसले तिमीलाई पर लग्नेछ । स्कुले शिक्षा भ्याउँदा नभ्याउँदै डोलिमा अन्मिएकी मेरी आमाका लागि किताब छोरीको लागि रोजिदिएको बाटो थियो  । कहिलेकाही लाग्छ मसँग मैले चाहेको किताब हुनु मेरा आमा हजुरआमाले पाखुराले मात्र चलाएको इतिहासलाई अक्षरले ठालिदिनु हो । आज पनि बोलेर भन्दा लेखेर नै ब्यक्त हुन सजिलो लाग्छ । फोन कलमा बोल्न भन्दा लामा लामा इमेल लेख्नु मेरा लागि सजिलो काम हो । यसरी अपरिचित झै भेदिएका किताबहरु आज मेरा परिचित मित्र भएका छन् । एक अर्थमा किताब मेरा लागि सबै चिज हो । मैले हिडेको बाटो पनि हो मैले हिडेको बाटो पनि हो ।

किताबप्रेम भए पनि किताब उपहारको रुपमा कहिल्यै पाएकी थिइन । गत बर्ष कुनै अपरिचिले मेरो ठोकामा किताब उपहार स्वरुप पठाइन् । त्यो मेरो लागि सपना थियो । मेले किताबहरुलाई अँगाले र मनमनै जसले पठाएकी थिइन् उनीलाई धन्यवाद भने । उनले पठाएका किताबमैले मायाले पढेँ । करिब एक बर्ष भयो मैले उनलाई देखेको छैन । 

प्रिय अपरिचित,

आशा छ यी मेरा अक्षरहरुले तिमीलाई प्रेम मात्र गर्नेछन् । कुनै दिन मेरा लागि सपनाको  एक पोटली बोकेर मेरो घरसम्म आइपुग्ने तिमी थाहा छैन आज कहाँ छेउ । यो माया मात्र पनि होइन । यो त किताबले बाधेको साइनो हो । सायद किताब थिएन भने म आज तिम्रा लागि पक्कै लेख्ने थिइन । तर यी अक्षरहरुको साइनो बिच तिमी कतै हराएकी छौ । सायद तिमी यतै कतै छौ । 

Saturday, February 21, 2026

बिष्मृति


बर्षौ भयो केही बिसर््ान खोजिरहेको । बिर्सन खोजेर पनि सम्झिरहन्छु । बिर्सन खोजेको पनि हो । बिर्सन नसकेको पनि हो । सम्झन मन नलागेको पनि हो । कहिलेकाही लाग्छ बिर्सेर म कहाँ जाउ । मैले टेक्ने जमिन । मैले समाउँने जरा र मैले बाच्ने समाज यही हो । तर बिर्सन चाहन्छु । बिर्सेर कतै हराउँन चाहन्छु । कुनै अन्जान सडक अपरिचित बनेर आफैलाई खोज्न चाहन्छु ।

यो अध्यारो कथा बनी मसँगै बाचिरहेछ । हरेक चैत एक हुरी बनेर आउँछ । म टाइमलाइनमा एक सन्त महात्माझै आफ्नै आघातहरुलाई शिद्घान्तमा बाध्छु र कसैले नबुझ्रने भाषामा केही बोल्छु । म बिम्बमा बोलेझै गर्छु । पढ्नेलाई लाग्दा यी सुन्दर शब्दहरु कुनै उज्यालो क्षितिजको एक उज्यालो पाना हो । तर त्यस्तो होइन म बिर्सनलाई अन्तिमपटक सम्झेझै गर्छु । सायद आघातका कथाहरु यसरी नै लेखिन्छन् । म चाहन्छु मलाई संसारले संग्लो मानिसको रुपमा बुझोस् । तर म सग्लो मानिस कहिल्यै थिइन । र हैन । मेरा लागि हरेक फागुन र चैत हुरी बनेर आउँछन् अब त्यसमा मंशिर पनि थपिएको छ ।

केटाकेटीमा साथी नभएर कुनामा लुक्ने मानिस, अल्लि ठूलो भएपछि आफन्तको भिडबाट अझ पर भाग्ने मानिस । आज पनि भिडमा हराइदिने मानिस म भित्रै छ । कहिलेकाही लाग्छ चिच्याएर कसैलाई भनिदिउँ सग्लो हुन सजिलो छैन । म सग्लो हुँदै होइन । म चाहेर पनि सग्लो बन्न सक्दिन । 

थाहा छैन यी किबोडहरु मेरा बिष्मृतिका साक्षिहरु कहिलेसम्म बन्नेछन् । मलाई अपनाउनेछन् वा कुनै दिन आत्तिएर छोडिदिनेछन् । तर म यी सब कुरा बिर्सन चाहन्छु । एक शुन्य सुरुवातको आशामा छु जहाँ म सँग मेरा आफ्नो इतिहासको अबसेस रहनेछैन । म आफैँलाई प्रेम गर्न थाल्नेछु र आफैँजस्तो अरु कोहीलाई पनि प्रेम गर्न थाल्नेछु । म सँग मानिस हुनुको आत्मासम्मान बाकिरहनेछ । तर थाहा छैन त्यो दिन आउँनेछ वा आउँनेछैन ।

अरुको अगाडी अघुताभाषको अनुभूती सँगै जीउनेहरुको सायद यो साझा कथा हो । कहिलेकाही लाग्छ लेख्नु मेरो लागि मेमोरी वर्क मात्र हो । किनकी यसपछि म हलुका हुन्छु । कहिलेकाही अक्षरहरुले त्यस्तो स्वतन्त्रता दिन्छन् जो अरु चिज केहीले दिन सक्दैनन् । हो मेरा पखेटा र मेरा जराहरुको आधार अक्षरहरु नै हुन् । म हिड्ने आधार र म बाचेका भूगोल पनि अक्षरहरु मात्र हुन । सम्भव भए म सबैसँग लिखित अक्षरहरुमा बोल्थेँ ।

कहिलेकाही लेख्न सक्ने भएकोमा भाग्यमानी ठान्छु । सायद म सँग लेख्ने सिप नभएको भए मैले टेकेको आधार हलुका र अझ झिनो बन्ने थियो । कहिलेकाही आफैँलाई प्रमाणित गर्नको लागि पनि मानिसले अप्ठ्यारो बाटो रोज्छ । सायद लेखाइ मेरो लागि यो त्यस्तै केही हो । 

बिरलै संरचनामा लेख्छु किनकी यो मेरो रोजाइ थिएन । जब मानिस आफ्नै लागि केही बाटाहरु रोज्छ त्यसमा रोजाइ भन्दा उपलब्ध स्रोत साधन नै पहिलो आधार बन्छ । म चित्रकार पनि बन्न सक्थेँ । मलाई रंगहरु आज पनि असाध्दै मनपर्छ । तर हुर्कदै गर्दा समँग रंगसम्म पुग्ने स्रोतसाधन थिएन । अक्षरसम्म पुग्न सजिलो थियो किनकी अक्षरहरु सस्ता थिएँ । एक मानेमा सजिला पनि थिए ।

कहिलेकाही आफ्नै द्धोयस र आघात बोकी लेखेकोमा पछुतो पनि लाग्छ । मलाई लेख्ने मान्छे बिना पिडा पनि लेख्न सक्नुपर्छ भन्ने लाग्छ । लेखाई स्मृति  वा बिस्मृतिरमण होइन । र पनि कति कुरा बिर्सनैको लागि लेख्छु । मलाई लेखाई शिल्प हो भन्ने बिरलै लाग्छ । हुनसक्छ लेख्दै गर्दा मानिसले आफ्नै खाले लेख्ने कला समाउँछ त्यो स्वभाविक हो । एक छोरी मान्छेले म लेख्न मनपराउँछु भन्नुलाई आज पनि समाज महत्वपूर्ण ठान्दैन । मेरो परिपारलाई आज पनि लाग्छ मैले लेख्नुले केही महत्व राख्दैन ।त्यसैले यो निजात्मक तर मैले आफ्नै लागि रोजेको राजनैतिक बाटो पनि हो । म आफ्नो कथा आफ्नै तबरले लेखेर मर्न चाहन्छु । म चाहन्न म मरेपछि मानिसहरु मलाई रोमान्टिसाइज गरुन् । व एक मानिस हुनुका आघातहरु चाहेर नचाहेर हामी सबैसँग नै हुन्छन् । म त्यो आघातहरुलाई आफ्नै तबरले अकाईभ गर्न चाहन्छु ।

थाहा छैन किन मलाई यी असंरचनात्मक अक्षरको यात्राले आफै आफ्नै आघातहरु बाट मूक्त  हुन खोजेको अनूभूती दिन्छ । यो लेख्दै बिर्सदै गर्ने छायाँको बाटो हो । बिर्सन खोज्नु भनेको अगाडि बढ्ने प्रयास गर्नु पनि हो ।

आफ्नै एकान्तको साक्षि बनेर आफैँलाई चिहाउँन सजिलो छ पनि छैन पनि । तर यो रोजाइ थिएन । हुर्कदै गर्दा आफ्नो समाजभित्र अट्न नसकेको अनुभूती गर्ने एक किशोरीले रोजेको आफैँसँग वार्तालाप गर्ने एक बाटोमात्र थियो । आज आएर कहिलेकाही अनुभूती हुन्छ अभिब्यक्ति भन्दा ठूलो स्वतन्त्रता अरु केही रहेनछ । आज पनि कहिलेकाही त्यो दुखी, एक्ली, सबैले नराम्री काली भनिदिने फूच्ची किशोरीलाई देखेर माया लाग्छ । यो उसले रोजेको बाटो थियो । त्यो बाटो सजिलो थिएन । कसैले उसलाई पढिदिएला की भन्ने डर पनि थियो । नबुझिने तरिकाले लेख्ने शिल्प थिएन । अरुले बुझेँ भने के भन्लान भन्ने लज्जा पनि थियो । 

यही लज्जा, पिडा र स्वतन्त्रता बिच कोही लेखिरहेछ भने त्यो आफैँलाई बुझ्न रोजको मेमोरी वर्क मात्र हो । यसलाई जे ठान्दा पनि हुन्छ स्वतन्त्रता, रोजाइ वा अचल्तिको बाटो ।

निरन्तरता


हो हरेक दिन सधैँ झै दोहोरीनु छ । आज हिजोको निरन्तरता । हिजो अस्तिको निरन्रता । हरेक दिन केही छोड्दै केही समेट्दै दोहोरीनु त छ दै छ । एक हप्तादेखी औषधीले साथ दिएको थियो । आजबाट औषधीले पनि साथ छोडेको छ । एक्लो छु । तर छैन पनि । भिडझै म समेट्न खोज्छु । भिडले नसमेट्नु एउटा कुरा समेट्न खोज्नु अर्को कुरा 

एक नेपथ्यझै कराएको पनि धेरै भयो । सुनाएको पनि सायद आफैँलाई नै हो । तर पनि कहिलेकाही लाग्छ  किन सुनाउँनु । कसको लागि सुनाउँनु । हो म अब सुनाउँन र सुन्न दुबै छोड्नेछु । बर्षौ पहिले कोही आयो जीवनमा । लाग्यो खोजी उसैको थियो । तर बर्षहरुसँगै यस्तो लाग्दैछ उ आएकै थिएन । यो बिष्मय हो । आएझै लाग्नु वा भेटेझै लाग्नु तर अन्त्यमा एक लामो मौनताझै सुस्केरा बनेर जीवनमा नरहनु ।

Friday, February 13, 2026

अनुत्तरित सम्झना

 

सम्बोधनहरुको भिडमा हराएका तिमीलाई के भनी सम्बोधन गरौँ । मायालु भनौ भने मायालु भन्ने हक पनि छैन । साथी भनौ भने साथी मात्र पनि होइनौ । केही हौ भनौ भने केही थियौ भन्नका लागि बाकी केही पनि छैन । तर पनि सम्झन्छु । जसरी आज सम्झे । हिजो पनि सम्झेकी थिएँ । सायद भोली पनि सम्झनेछु । यो एकोहोरो सम्झना हो । अनुत्तरित सम्झना । अपरिभाषित सम्झना । तर पनि सम्झन्छु । तिमीलाई थाहा छैन एकोहोरो सम्झनाहरु अत्यासलाग्दा हुन्छन् ।

हिजो पनि सम्झे र तिम्रो पनि सम्झनाको आशा राखेँ । आशा नै हो जो अझै केही बाकी छ । तर मेरो एकोहोरो आशाले केही नहुने रैछ । हरेक सम्झनालाई अन्तिम ठान्ने म कोशिस गर्छु । कुनै खाली कागजमा आफैँलाई लुकाउँन खोज्छु । कुनै नदेखिने बिन्दुझै आफ्नो झिनोपन र निर्दोपनलाई सराप्छु । तिमीलाई थाहा नहुन सक्छ नदेखिनु भनेको के हो । अनुत्तरीत हुनु भनेको हो । एकोहोरो कसैलाई सम्झनु भनेको के हो । आफ्ना लागि पनि तिम्रो नामको पत्र आफैँले लेख्नु भनेको के हो । 

हिजो तिमीलाई सम्झेर चिठीझै केही लेखेँ । थाहा छ यो एकोहोरो लेखाइ हो । र पनि लेखेँ । लेखेर राखेँ  । र लेखेर च्यातेँ पनि । तिमीलाई पठाएका पत्रहरु मेरा सम्झनाका खतहरु हुन् । हरेक दिन यस्तो लाग्छ म सम्झनाको नाममा अर्को जीवनको डोब कोदैछु । र कताकता मनले भन्छ म जे हुनुपर्ने थियो त्यो भैन ।

म सफा थिएँ । कविता लेखिनुअघिको कागजझै मेरा म जस्तो देखिन्थेँ त्यस्तै थिएँ । तिमी आयौ र भन्यौ तेरो जीवन साघुरो छ रंगहरु पोत । आफ्नै क्षितिजहरुलाई नाघ । त्यो पोतेको रंग र त्यो नाघेको क्षितिज पनि तिम्रो थियौ । मेरो चौघेरा साघुँरो थियो तर म जस्तो थियो । तर म अब आफ्नो रहिन । सम्झनामा पोखिने अक्षरहरुमा पनि कहाँ कहाँ म तिम्रो गन्ध देख्छु । तिमीले जसरी धमिल्यायौ त्यो रंग थिएन रंगभैे देखिने केही क्षणको इन्द्रेणी मात्र थियो । इन्द्रेणीझै कहिलेकाही मात्र झुल्किनु सायद तिम्रो रोजाइ हो । म त जे थिएँ त्यो कागजझै थिएँ । चाहेर पनि तिम्रा रंगहरुलाई मेट्न सक्दिन । सम्झिन्छु तर सम्झनाले आफ्नो झिनोपन र अपुर्णताको आभाष मात्र दिलाउँछ । 

सम्झनाझै यो पत्र पनि अधुरो नै छोडेकी छु । न म पूर्ण छु न मेरा सम्झनाहरु ...................

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...