Saturday, March 8, 2025

नेपथ्य


यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ जसरी खाली पानाहरु गरीदिन्छन् । जसरी उडीरहेका पन्छिहरु गरिदिन्छन् । जसरी फूलीरहेका फूलहरु गरीदिन्छन् ।

किन मानिस मात्र आफ्नो अस्त्विलाई दावी गर्छ । कहिलेकाही पूर्नदावी पनि गरिदिन्छन् । तर प्रकृतिले त गर्दैन । के मानिस प्रकृतिको अंश होइन ? अथवा मानिससँग अरु केही छ जसले उसलाई मानिसझै बनाएको छ । .........

सोचिबस्नु बाहेक मसँग अरु केही छैन । म बाचेको झै गर्न सोचिबस्छु । समय छ त्यसैले सोच्छु । अथवा नभएको भए पनि सोच्ने गर्थे । तर म सोच्न चाहन्न । बाच्न चाहन्छु । आज पनि म बाच्न चाहन्थे तर सोचिरहेछु ।

शनिबारको बिहानीलाई मैले सदाझै स्वागत गरेँ । आज बिहानीलाई मैले होइन बिहानीले मलाई स्वागत गर्यो । शनिवार भएकाले नानीहरु बिहानै किताबकापी बोकेर बाहिर निस्केनन् जसरी म निस्कन्थे । एकलाशको बिहानीसँग चियाका चुस्की थिएँ । उनीहरुलाई मैले रित्ताए । उनीहरु रित्तिए । किताबहरु मेरा साथी हुन् सधैका साथी । आदि पढिसकेको पुस्तक निकालेँ तर पढिन । मोबाइ हेरेँ । बिहानै बिहानै मानिसहरु चर्का बहसमा थिए । आज नारी दिवस – आक्रोश र शुभकामनाका कयौ शब्दहरु । केही गाली, केही उत्साह केही दुखेसा । सायद संसार यसरी नै चल्छ । केही भन्नु थिएन । सायद कसैले भनिसकेको कुरा फेरी दोहोर्याउनु आवस्यक पनि थिएन ।

मैले शुभकामनाका शब्दहरु लेखिन । म समानता चाहन्छु । म नारीवादी पनि हुँ तर कस्तो नारीवादी थाहा छैन । महिला नै भएपनि म सँगैका छोरीमान्छेको जस्तो मेरो जिन्दगी रहेन । त्यसमा केही गुनासो पनि छैन । कट्टर नारीवाद नपढेको पनि होइन । तर मानिसझै बन्न नदिने कट्टरतामा म अब अडिरहन सक्दिन । अगाडी बढ्नु पनि छ इतिहासप्रति केही गुनासाहरु पनि छन् । इतिहासलाई दोहोर्याउनु पनि छैन ।

म दोधारमा छु समयसँगै म अल्लि बढी सहनशील भएकी पनि हुनसक्छु । तर मेरो ब्यक्तिगत नारीवादको अबधारणालाई सर्वमान्य बनाउँन म सक्दिन । मैले देखेको इतिहास एक पहाडी सामान्य लेखपढ गर्न सक्ने पढ्र्नुपर्छ भने पनि आफ्नै खाले सामाजिक परिबन्धलाई बोकेको इतिहास हो । मसँग जातले, संरचनाले, पारीवारीक बिरासतले दिएका केही अवसरहरु थिए । जो अरुसँग नहुन सक्छन् । अथवा मैले पाएको शिक्षाको कारण मस्ाँग अरु महिलाभन्दा केही दब्भ र आट पनि हुनसक्छ । अथवा मलाई अरु कम आटिला पनि लाग्न सक्छ । तथापी यो बिचारको लडाइ हो । समान कामको लागि समान ज्यालाको लडाइ हो । राजनैतिक अवसरका लागि बोलीने पृष्ठभूमी हो जसलाई नकार्न सक्दिन । नारीवाद कुनै बिशेष बाद होइन एक राजनैतिक बिचारधारा हो जसले समानता चाहन्छ । समानता सापेक्ष शब्द हो । यसका आफ्नै लुपहोलहरु हुनसक्छन् । 

अब लँैगिकता एक तरल अबधारणा हो । यो स्त्री पुरुषको कुरा मात्र होइन लँैगिक तथा यौनिक अल्पसंख्यकको कुरा पनि हो । नारीवादले पृत्तिसत्ताको बिरुद्घ बोले पनि, यसबाट पीडित महिलाहरु मात्र र यसका पिडक पुरुष मात्र होइनन् । यो तँ ठूलो कि म ठूलो भन्ने इगोको लडाइ होइन । यो त समानताको लडाइ हो । यो त खराब अबधारण बिरुद्घको एक साझा मोर्चा मात्र हो ।

  समाज कहिल्यै सपाट थिएन । शक्ति र सत्ताको यो हजारौ बर्षको इतिहासले हामीलाई सबैभन्दा बढी केही दिएको छ भने त्यो असमानता दिएको छ । यस बिरुद्घ कसरी लड्ने यसलाई कसरी लिने यो समाज र ब्यक्ति सापेक्ष कुरा हो । लडाइ र असमक्षदारीका तहहरु ब्यक्ति र समाज पिक्षे फरक हुनसक्छ ।

Thursday, March 6, 2025

एक मानिस एक कथा


“यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ– “मानिस कथा हो । मात्र कथा । एक मानिस एक कथा” 

उ सपनामा यस्तै यस्तै भन्छ । म सपनाबाट बिउँझन्छु । सोच्छु मानिस कथा हो वा अंक हो । वा केही होइन । उसले दिएका मानिस र जीवनका प्रतिकहरु बारे म किन सोचौ । तर उ सपनामा आइरहन्छ र यस्तै कुरा गर्छ । उ सपनामा किन आउँछ र किन यस्ता कुरा गर्छ । कयौ पटक सपनामै उसले मलाई तर्साएको पनि छ । म उ देखी डराएकी पनि छु । उ सपनाको मानिस हो । म यस्ता कुरा गने मानिस बिपनामा भेट्दिन । बिपनामा भेटौ भेटौ भन्ने नलागेको पनि होइन । तर भेट्दिन । दुखी छु उ सपनामा मात्र आउँछ ।

आज दिनभर घाम लागेन । कामबाट फर्के । लाग्यो बिना घामको दिनलाई साथ दिनु भन्दा बिना सिमानाको सपनालाई साथ दिउँ । आज दिउसै सपनामा उ आयो र यस्तै यस्तो कुरा गर्यो । किन किन आज मलाई सपनामानै लाग्यो किन तिमी बिपनामा आउँदैनौ । मैले उसलाई बिपनामा आउँन आग्रह गरेँ । उसले मेरो आग्रहलाई नकार्यो र भन्यो “एक सपना एक मानिस, म सपनाको मानिस हुँ “ । यति भनिसकेपछि म बिउँझे तर उ मसँग थिएन । उ त सपनाको मानिस थियो । उ सपनाबाटै बिदा भयो ।

फेरी सोचे किन उ सपनामा मात्र आउँछ र यस्तै यस्तै कुरा गर्छ । किन म बिपनामा उ झै अरु भेट्दिन । तर सोचिबस्छु किन उ सपनामा आउँछ भनि । सायद उसले भनेको ठिकै हो । उ कथा हो । उ कथाकै स्वरुपमा आउँछ र कथाकै स्वरुपमा बिदा हुन्छ । तर बिपना किन सपना झै हुँदैन । म  उसलाई बिपनामा नभेटेको मा दुखी छु । दुखी भन्दा बढी बेखुस छु । 

प्रिय सपनाको मानिस, 

सपनामा मात्र होइन बिपनामा पनि तिम्रो पर्खाइमा छु । सायद पर्खनु मेरो नियती हो । सायद पर्खाउँनु तिम्रो नियती हो । हुनसक्छ पर्खाउँनु पर्खिनु हामी दुबैको नियती हो । तिमीझै अरु कोही बिपनामा नभेटेकोमा दुखी छु । तिमीलाई सपनामा भेटेकोमा खुसी छु । म जीवनलाई अंक मान्छु । तिमी जीवनलाई कथा मान्छौ । थाहा छैन कुनै दिन मेरो अंक र तिम्रो कथा जोडिनेछ र हामी एक कथा बन्नेछौ  कि छैनौँ । म अंकको पर्खाइमा छु । हुनसक्छ तिमी कथाको पर्खाइमा छौ । तर म तिम्रो जीवनको कथा बन्न चाहन्न । म त अंक बनेर जोडिन चाहन्छु ।

 नोट टु बि नोटेड्– यो कथा पनि होइन । उ सपनामा आएको पनि होइन । तर लेखिका चाहन्छीन उ सपनामा आओस् । लेखिका त उ  बिपनामा आएको पनि देख्न चाहन्छीन् । यो लेखिकाको आफैँभित्रको मनोभाव मात्र हो । न जीवन अंक हो । न जीवन कथा हो ..............

Sunday, March 2, 2025

अब्यक्त

 

के पानाहरु खाली छोडिदिउँ कविता अघिको कागज झै । यो बिरक्ति होइन । निसारता पनि होइन । थाहा छैन यो के हो । ब्यक्त गर्न जति सजिलो छ बिना कुनै अभिब्यक्ति  बाच्न  पनि त गाह्रो छ । 

इस्परेन्जा आएकी छ सपनामा । उ चाहन्छे उ झै म पनि मेरो आफ्नो नामाकरण आफैँ गरु । हुन त म पनि उ झै बन्न चाहन्थेँ । उ सान्द्रा सिस्नेरोजको भूगोलबाट मेरो आगनमा आइपुगेकी म थिइ । पहिलोपटक उस्लाई भेट्दा लागेको थियो उ म नै हो । फरक यति हो उसको झै मेरो कपाल कुच्चो जस्तो छैन ।  उ झै म पनि कुनै दिन आफ्ना कथाका किताबहरु बोकेर पर भाग्न चाहन्थे र फेरी फर्कन चाहन्थे ।  तर त्यस्तो भएन म मेरा कथाहरुलाई बोकेर कही हिड्न सकिन । मेरा कथाहरु कहि कतै मेरो ल्यापटपको किबोडहरुमा चिप्किराखे जसरी रुखहरु जमिनमा चिप्कन्छन् । म कथा बोकेर कहि कतै पर भाग्न चाहन्थेँ । खै किन मैले भाग्ने भुगोल भेटिन ।

प्रिय स्परेन्जा सपनामा तिमी आउनु नौलो होइन । तर तिमी किन आयौ भन्ने कुराले यदाकदा मलाई झस्काउँने गर्छ । म कथाका किताबहरु बोकेर कहि कतै पर भुगोलमा अरु कुनै कथा खोज्न म जान सकिन । मलाई थाहा थियो मसँग त जन्मदै मस्र्याङ्दीको धुन थियो र साथमा किनारा पनि थियो । मसँग बग्ने डुब्ने दुबै स्वतन्त्रता थियो । मस्र्याङ्दीले मलाई भाषा र लय दुबै दिएको थियो । तर नदिको भाषा बुझ्न पनि नदिभन्दा पर पुग्नु पर्ने रहेछ । बिना दुरी त आफैँलाई पनि नदेखिदो रहेछ ।

तिमी झै थाहा छैन कुनै आफैँलाई खोज्दै निस्कनेछु र आफूलाई भेट्ने छैन । नभेटिएकी आफूलाई खोज्न खै कहाँ धाउँनेछु । सायद तिमीलेझै लेख्नेछु अनि लेखेकोमा लाज मान्नेछैन । कुनै दिन तिम्रा पानाहरु कहि कतै तिमीले भनेकी थियौ “सेम इज ब्याड यू नो” । सायद कुनै दिन मैले पनि आफूले आफैँलाई भन्नेछु । 

  तर थाहा छैन किन तिमी सपनामा आएर गएको दिन मलाई सधै लाग्छ  मैले आफैलाई भेटेँ । यो यत्रो दुनियामा आफूझै लाग्ने तिमीझै अरु कोही भेटेकी छैन । कथाहरु बोकेर कही कतै भाग्ने फेरी आफ्नो झै लाग्ने हामी दुबैका सपनाहरु हुन् । मैले पुरा गरे तिम्रो हुनेछ । तिमीले पुरा गरे मेरो हुनेछ । अनि   कसैले नि पुरा नगरे थाहा छैन हाम्रा सपनाहर अरु कसको हुनेछ । 

म यी सबै कुराहरु पानामा उतार्छु तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाँधेर राख्दैन । मलाई उड्न दिन्छ, आफ्नै सपनाको उडानमा ।

एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु तब म उसलाई सदासदाका लागी हृदयमा राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।

साथीहरु र छिमेकीहरुले भन्नेछन्, के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापीसँगै गई ? किन ऊ यति पर गई ?
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ । उनीहरुका लागि जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।

Saturday, March 1, 2025

प्रिय फागुन,

 

यो सम्बोधनहरु बिचको सम्बोधन मात्र हो । म तिमीलाई अप्रिय पनि भन्न सक्थेँ तर भनिन । मलाई हुरी र बतासहरु कथा र सिनेमामा मात्र मन पर्छ । तिमीसँगै भित्रने बतासलाई म आज पनि अपनाउँन सक्दिन । यो अस्विकृतिलाई तिमीले स्विकानैर्छ ौ भन्ने मलाई लाग्छ । हुन त स्विकृती र अपनत्वबिना बाच्नु के हो मलाई थाहा छ । तर माघ सक्किने बेला हरेक बर्ष मलाई लाग्ने गर्छ तिमी नआइकन चैत आओस् वा बैशाख नै आइदियोस् ।

यो कठोर महिनाको कोमल दिन हो । दिनभर हुरी चल्यो तर घाम पनि लाग्यो । बतासले घामलाई लखेट्न सकेन । सायद साँझपख पानी पर्नेछ । पानीका थोपाहरु सुकेका सुख्खामाटाका डल्लाहरुमा पर्नेछन् र अनौठो बास्ना छाउनेछ् । हो म यहि पर्खाइमा छु । मलाई माटोको बास्ना सुघ्नु छ । मलाई फेरी माटोझै भएर धुमिलिनु छ र आफ्नै लयमा सग्लिनु पनि छ ।

आज म कथा लेख्न चाहन्थेँ कसको बारेमा तिम्रो बारेमा । तर के तिमी बारे लेख्दैमा तिमी मेरो प्रिय बन्नेछौ..... कदापी बन्ने छैनौ । तिमीसँगै उडेका म भित्रका केही स्थिरताहरु म आज पनि बोटल्न खोज्छु । तर सक्दिन । तिमीले उजाडेको सिँगो म फेरी कहिल्यै सिँगो हुनेवाला छैन । हरेक फागुनले मलाई फेरी अर्को पटक त्यही बिष्मृतिमा लग्छ जहाँ म कहिल्यै फर्कन चाहन्न । जहाँ म कहिल्यै पुग्न पनि चाहन्न तर प्रत्येक वर्ष पुग्ने गर्छु । 

तिमी बारे लेख्छु पनि मेट्छु पनि । कहिले मेट्छु अनि फेरी लेख्छु । तर प्रत्येक पटक बिम्बमा लेख्छु । कसैले नबुझुन् झै लेख्छु तर यदाकदा बुझुन भन्ने पनि लाग्छ । कहिलेकाही लाग्छ म मेरो भावनाको सबैभन्दा खराब अनुवादक हो । म चाहेर पनि म मेरा भावनालाई निष्बस्त्र नाङ्गै प्रस्तुत गर्न सक्दिन । म काँतर छु । कठोरतासित म कोमल भएर प्रस्तुत हुन्छ । हुरी बतासहरुलाई पनि केही सिँगारेर प्रस्तुत गर्छु । भावनाहरु नाङ्गा हुन्छन् तर यदाकदा तिनलाई पनि कोमल बिम्बमा प्रस्तुत गर्छु । सायद शब्दमा प्रस्तुत गर्दा पनि म आफू कम र शब्दहरुको लालित्यता बढी हुन्छ ।

यो तिमीलाई लेखेको अस्विकृती पत्र हो । म तिमीलाई स्विकार्न चाहन्न । मलाई तिमीसँगै भित्रने बतास, हुरी र असिनासँग डर लाग्छ । तर यो पढिरहँदा तिमीलाई प्रेम पत्रझै पनि लाग्न सक्छ । मैले पनि आजसम्म सबैभन्दा सुन्दर पत्रहरु अस्विकृति पत्र नै पाएकी छु । स्विकृती दिन सजिलो छ, प्रेम गर्न सजिलो छ तर प्रेमपूर्वक अस्विकृती ब्यक्त गर्न गाह्रो छ । सायद म त्यही गर्दै छु । म तिमीलाई जीवनबाट टाढा पठाउँन चाहन्छु तर प्रेमपूर्वक । सायद म घृणालाई प्रेममा ब्यक्त गर्न खोज्दै छु । 

प्रिय फागुन, फेरी पनि मेरो अस्विकृती पत्रलाई प्रेम पूर्वक स्विकार । चाहेर नचाहेर तिमीले जे दियौ त्यो मलाई स्विकार्य थिएन । म त यदाकदा आफैँलाई पनि स्विकार्दीन तिमीलाई त परको कुरा । म फेरी सिँगो हुन चाहन्छु । आफैँसँग जुध्न चाहन्छु । आफैँलाई भेट्न चाहन्छु । नदी र हिमालझै अग्लिन र डुब्न दुबै चाहन्छु । तिमी आएपछि मैले बिर्सेकी छु म त नदीकिनाराकी हुँ । मेरा डोबहरु क्षणिक हुन्  । मेरा पाइलाहरु, मेरा दुखसुख, मेरा पाइलाहरु सबैसबै निमेशभरका हुन् भनेर । म चाहन्न म टुक्रिएर बनेका चोइटाहरुले मलाई नै बिझाउँन । म त बाफ झै उड्न र नदी झै बग्न चाहन्छु । तर मलाई तिमीसँगै भित्रने बताससँग डर लाग्छ । के तिमी मलाई बर्षात् मात्र दिन सक्दैनौ ?

Friday, February 14, 2025

अमृता र इमरोज –एक प्रेम कथा



  फेब्रबरीको महिना छ, सामाजिक संजालका भित्ताहरु प्रेमका अभिब्यक्तिले भरीएका छन् । हातमा पञ्जावी लेखक अमृता प्रितम र उनका प्रेमी इमरोजले एक अर्काको लागि लेखेका प्रेम पत्रहरु छन् । हुकअप, क्याजुअल तथा अनलाइन डेटिङमा रमाइरहेको अहिलेको पुस्तालाई उनीहरु बिचको गहिरो र आत्मिक प्रेमबारे लेख्न जाँदैछु । पढिरहँदा लाग्छ, प्रेम सजिलो चिज होइन तर प्रिय चिज अवस्य हो ।

  “इन द टाइमस् अफ लभ एन्ड लङ्गिङ” भनेर अंग्रेजीमा अनुवाद गरिएको यस पुस्तकको अनुवादक अरविन्द्रर र सम्पादक उमा र्तिलोक हुन् । पुस्तक अमृता र इमरोजले एक अर्काको लागि पठाएका प्रेम पत्रहरुको संगालो हो । पुस्तकको परिचयमै लेखिएको छ, “ यो पुस्तक प्रेम कथा हो । त्यस्तो प्रेम कथा जहाँका शब्दहरु अमृता र इमरोजका हुन्, एक लेखक हुन् त एक चित्रकार तर जीवनभरका साथी । यस्तो सम्बन्ध जहाँ रंग र शब्दहरु जोडिन्छन् ।” इमरोज अमृताका पहिला प्रेमी थिएनन् । इमरोजलाई भेट्नु कयौ बर्ष अघि नै अमृता, कोही अरुकी श्रीमती र दुई सन्तानकी आमा भैसकेकी थिइन् । अमृता कवि हृदयलाई बिबाहको बन्धनले बाधिराख्न सकेन । उनी बिबाहबाट मूक्त भैइन् । त्यही क्रममा उनको भारतिय कवि सायर लुधियानवी सँग भेट भयो । दुबै कवि थिए । कवि सम्मेलनहरुमा भेट हुन्थ्यो ।  दुइर्ले एकअर्कालाई मन पराउँथेँ माया गथेँ तर सार्वजनिक रुपमा प्रेम जताउँन सक्दैनथेँ ।  दुबैसँग सामाजिक बन्धनहरु थिए । बन्धनलाई तोड्ने हिम्मत थिएँन ।  यो भारत पाकिस्थान नटुक्रिनु अघिको कुरा हो । तर भारत पाकिस्थान छुट्टिएपछि अमृता दिल्लि गैन भने सायर मुम्मबै गए । सायर हिन्दी सिनेमाको लागि गीत लेख्न थाले र चर्चित पनि भए । दुवैबिच प्रेम र आकर्षण भए पनि सायरले कहिल्यै उनीहरु बिचको सम्बन्धलाई नाम दिएनन् । यसैबिच दुबैबिचको प्रेम प्रेममा मात्र सिमित रह्यो । त्यही अधुरो प्रेमको क्यानभाषमा इमरोज अमृताको जीवनमा भित्रिएका थिए । दुवैबिच उमेरको अन्तर थियो । तथापी उनिहरु बिचको प्रेमलाई ति सबैसबै कुराले रोकेन । जीवनको उत्तरार्धमा भेटिएका उनीहरु, बिना कुनै नाम, बिना कुनै बैबाहिक बन्धन जीवनको अन्त्यसम्म सँगै रहिरहेँ । यो थियो अमृता र इमरोजको सक्षिप्त प्रेमकथा । तर आज मैले चर्चा गर्न जाँदै गरेको पुस्तक उनीहरुको प्रेमकथाको होइन प्रेमपत्रको सँगालो हो । सन् १९५९ देखी १९७५ सम्मको प्रेमपत्र पुस्तकमा संग्रहीत छन् ।

इमरोजका लागि ब्यक्तिभन्दा माथि अमृता

  उमेरको उत्तरार्धमा एकअर्कासँग भेट भएका अमृता र इमरोज सम्बन्धको प्रेमीको जस्तो मात्र थिएन । पत्र पढिरहँदा लाग्छ उनीहरु एकअर्काका सृजनात्मक प्रेरणाका स्रोत पनि थिएँ । अझ इमरोजका लागि अमृता सबैचिज थिइन । उनले एक पत्रमा लेखेका छन् , “ जब तिमीलाई पहिलोपटक देखेँ मैले एउटा घरको कल्पना गरेको थिएँ । तर जब साच्चै भेटेँ मैले चाहेकीभन्दा पनि बढी थियौ । मलाई बिश्वास गर, मेरो प्रेमलाई बिश्वास गर । म तिमीसँग जीवनको अन्तिम सिमासम्म रहनेछु । मेरो भूत बर्तमान र भविष्य सबै तिम्रो हो ।” इमरोज अमृताका लागि गरेको प्रेममा सिमानाहरु भ्ोटिँदैन । सायद सिमाबिहिनता उनीहरुलाई जीवनभर सँगै अगाडी बढ्न सजिलो बनायो । प्रेमी प्रेमीकाबिच   नचाहेर पनि अनेकौ बन्धनहरु हुन्छन् । तर इमरोजका लागि अमृता प्रेमी मात्र होइन सबैचिज थिइन । सायद उनले समुच्चतामा अमृतालाई प्रेम गरे उनका सबै आयामहरुलाई अंगाले । त्यो त्यस्तो अंगालो थियो जसले अमृतालाई हरेक बन्धनहरुबाट मूक्त गरिदियो । इमरोजको हरेक रचनाको प्रेरणाको स्रोत अमृता थिइन । 

अमृताको नेपाल भर्मण

यस पुस्तकका संकलित कतिपय चिठिहरुमा अमृता नेपालको चर्चा गर्छिन् । “काठमाडौँमा कसैले मेरो कविता हिन्दीमा पढ्यो । मलाई लाग्यो मानिसहरु जहाँ बसेपनि जहाँको भएपनि पिडाहरु एकै हुन् । उनीहरुको पिडा मैले पनि महशुस गरेँ । उनी पत्रमा काठमाडौमा कवि सम्मेलनमा भाग लिन आएको टेगोरको कविता पढेको पनि जानकारी दिन्छिन् ।


धैयर्ता र सम्मान  

कतिपय भन्छन् धैयर्ता बिनाको प्रेम के प्रेम । उनीहरुले एकअर्कालाई पठाएका चिठीहरुमा त्यो धैरर्ता र सम्मान भेटिन्छ । इमरोज लेख्छन्, “प्रिय जिति, तिमी हाम्रा नियतीहरु पmरक देख्छ्यौ । तर तिम्रो नियती मेरो हो । तिमी भाग्यमानी हौ । तिम्रो प्रेमीले तिम्रो लागि जे पनि गर्न सक्छ । तिमी भनिराख्नु पर्दैन । म अभागी हुँ ।” इमरोजले अमृतालाई बिभिन्न नामहरुले पुर्कार्नै गर्थे । चिठीहरुमा ति नामहरुको प्रयोग भएको देखिन्छ । कतै जिति, कतै माजा, कतै जोब्रा यस्तै । तर सबै सम्बोधनहरुमा पनि एकअर्का प्रति अथाहा सम्मान भेटिन्छ ।

यो पुस्तकले उनीहरु बिचको प्रेम कथालाई मात्र बोल्दैन त्यसको गहिराइलाई बोल्छ । समपर्णलाई बोल्छ । अक्षर र रंगको मिलनलाई बोल्छ । बाधाहरु बिचको बन्धनलाई बोल्छ । सम्बन्धमा रहेको लचकता र मूक्ततालाई नि बोल्छ ।

Monday, February 3, 2025

अक्षरको यात्रा –

  म आज कुनै रुमानी यात्राबारे बोल्दैछैन । यो त बिना पदचापको यात्रा हो । यस्तो यात्रा जसको कुनै सुरुवात र अन्त्य रहने छैन ।  घमाइलो बिहानीले मेरो यात्रालाई साथ दिएको छ । साथमा बेक सी र तिर्थ गुरुङ छन् । एकलाई पढि भ्याइसकेको छु अर्कोका केही पानाहरु बाकी छन् । न्यानोपन र चिसोपन दुबैले मलाई साथ दिएका छन् । बाटोमा एक हुल केटाकेटीहरु स्कुलका लागि निस्किसकेका छन् । आज त सरस्वतीको दिन हो । नानीहरुमा एक खाले उत्साह बाकी नै छ ।

म सरस्वतीलाई ज्ञान सँग जोड्दिन । मलाई उनी अक्षर झै लाग्छ । मेरा लागि अक्षर र सरस्वती उही हुन् । म उनीहरुलाई प्रेम गर्छु । उनीहरु माध्यम बने जसले बोल्ने माध्यम र तरिका सिकाए । मलाई बोलिमा भन्दा अक्षरमा पोखिनु सजिलो पनि लाग्छ । रमाइलो पनि लाग्छ । मेरा लागि अक्षर निराशा र आशा दुबै हुन् । मेरा अध्यारा दिनहरुका साक्षि कोही भएका छन् भने अक्षरहरु मात्र भएका छन् । उनीहरुले मलाई जीउन सिकाए । मानिसहरु चिनाए, भेटाए । एक खिरिलो स्वरुपका रेखाहरुले मजस्ता अनेकौलाई स्विकारोक्तिका भाषाहरु सिकाए । म त किनाराको मानिस थिएँ । तर मलाई थाहा थिएन म पनि एक किनारा हु , हुलले मलाई चिन्दैन र अस्तित्वलाई स्विकार गर्दैन । म त उनीहरु झै नभएको दुखी थिएँ । केही आफ्नोपन चाहन्थेँ र कही कतै पोखिन चाहन्थेँ । अक्षरहरुले मलाई पोखिने स्वतन्त्रता दिएँ । उनीहरु नभएको भए म गुम्सिँदा गुम्सिँदै थाहा छैन कता भड्किने थिएँ वा मूलबाटोमा बसेर भिडमा आफूलाई खोजिरहने थिएँ । जुन आफ्नोझै कहिल्यै थिएन । 

यो त एक एकलकाटे केटीको यात्रा हो । जसलाई लाग्थ्यो मानिसहरु भन्दा बुझ्ने त नदी र हिमालहरु छन् । तर त्यो एक्लो यात्राको कोही साक्षी छन् भने ति अक्षरहरु मात्र छन् । उ झै खिरिला अक्षरहरुले उसलाई अगाँले । जुन जरुरी थियो । भत्किएको बेला, टुटेको बेला मानिसहरु भन्दा मायालु त अक्षरहरु हुन्छन् । उनीहरु सजिलै एकाकार बनिदिन्छन् र उतारिदिन्छन् पानाहरुमा । यो एक सानी र लजालुझै लाग्ने केटीको अक्षर प्रेम हो ।

यात्रामा अक्षरहरु माध्यम बने र मानिसहरुसँग जोडिदिएँ । अक्षरहरुले उसलाई मानिसहरुसँग भेटाए । त्यो सजिलो यात्रा थिएँन । त्यो त यात्राको मध्यान्तर थियो । जसमा उसलाई लाग्यो अक्षर र मानिसहरु भनेका त एकै रहेछन् । हरेकको अस्तित्व फरक रहेछ । अरुझै नहुनु र नदेखिनु सामान्य रहेछ । हरेकका आफ्नै यात्राहरु रहेछन् । 

माध्यम बनेका अक्षरहरु सायद उ झै केही असामान्य छन् । दुबैले एक अर्काको असामान्यपनलाई सामान्य बनाएर अघि बढेका छन् । तर दुबैलाई केही भन्नु छ । के भन्ने दुबैलाई थाहा छैन । यही अर्थहीनतामा अर्थ खोजिरहेछन् । यो अक्षरको पुजाई होइन । यो त अक्षरसँगको सहकार्यता हो । सायद एक यात्रा जहाँ एकले अर्काको अस्तित्वलाई सजिलै स्विकार्न सक्छन् । सायद यो यात्राको कुनै गन्तब्य रहने छैन । एकलाई फेरी फर्कनु छ । एकलाई फेरी अघि बढ्नु छ । कसरी अगाडी बढ्ने वा फर्कने दुबैलाई थाहा छैन । 

Saturday, January 25, 2025

चौँतिस

निर्जला अधिकारी

बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त म बिसकी होइन । तिस काटेको पनि चार बर्ष भैसकेँछ । तथापी मलाई लाग्छ मेरो थाक्ने उमेर भएको छैन ।

किन बाटोमा कोही भेटिदैनन् । मलाई किन लाग्छ म हिड्दै गर्दा बाटोमा कोही भेटियोस् । यो मेरो पहिलो एकल यात्रा होइन । दोस्रो पनि होइन । तेस्रो पनि होइन । र पनि किन लाग्दैछ यात्रामा एक्लो महसुस गर्नु ठिक होइन । म एक्लो महसुस गर्न चाहँदिन भने किन मलाई एकल यात्राको भुत चढेको छ ? 

यी दुई किनाराका रुखहरु मेरा साथी भएका छन् । तर यीनिहरुसँग गुनासो छ मेरो । किन यति धेरै स्थिर छन् यीनीहरु ? मलाई यीनीहरुको स्थिरता देखेर लोभ लाग्छ, ईष्र्या लाग्छ । किन म यीनीहरु झै स्थिर बन्न सकिन । म हावाको झोकाझै जीवनका बाहाबहरुसँग किन यति धेरै ठोकिएँ । किन लागेन म जहाँ छु जे छु ठिकै छु । म किन यीनीहरुझै आफू हुनुमा रमाउँन सकिन । के जीवन जीउँन अस्थिर नै हुनुपर्ने हो र ? जे छ त्यसैमा खुसी भैदिँदा हुँदैन र ?

  अब खोला नजिकै आइपुगेकी छु । सायद यो खहरे हो । त्यसैले यो बर्खामासमा गड्गडाउँदै छ । कहिलेकाही लाग्छ म आफैँ पनि खहरे नै हुँ ।  यो खोलाझै म पनि कहिलेकाही मात्र गडगडाउँछु । यदाकदा लहडीझै बडबडाउँछु पनि । तर मेरो भेलमा अहिलेसम्म कोही बगेको छैन  । खहरेको भेलमा पनि मानिसहरु बिरलै बग्छन् । र पनि किनकिन खहरेहरु जीवनझै लाग्छ यीनीहरुसँग मानिसको झै उत्तारचडाबपूर्ण जीवन छ । यीनीहरु रुखझै स्थिर कहिल्यै रहँदैनन् ।

यस्ता खोलाहरु मैले धेरै तरेँ । म त मस्याङ्दी र र्दोदि किनारकी केटी हुँ । मसँग बाल्यकालका केही धुनहरु बाकी छन् भने ति नदि किनारका धुनहरु मात्र बाकी छन् । र पनि किन लाग्दैछ म नदिका धुनसँग पनि निस्सासिएकी छु । नदीसँग निस्सासिनु राम्रो होइन । के म बिरत्तिएकी हुँ वा म त्यो केटी रहिन जो नदि किनारा छेउ एउटा सुन्दर घर बसाउँन चाहन्थी । ऊ सँग नदी र हिमाल बाहेकका स्वप्निल क्षितिजहरु अरु केही थिएनन् । वा ऊ नदिसँगै बहकिन सक्थि । म त्यो केटीलाई प्रेम गर्छु जसले नदीलाई प्रेम गर्थि बिडम्बना म त्यहि केटी रहिरहन सकिँन ।

यी नदिहरुझै म पनि बग्न सकेकी भए  म आज जो छु त्यो रहने थिइन । म मेरो यात्रासँग खुसी र दुखि दुबै छु । यदाकदा लाग्छ मैले आफ्ना नाममा जे जे गरेँ त्यो आफ्नै  लागि गरेँ । अक्षरहरुलाई प्रेम गरेँ, नदिहरुलाई गरेँ, रंगहरुलाई गरेँ त्यो भन्दा पर अरु धेरैलाई गरेँ । उनीहरु बगे म किनारामा नै रहिरहेँ । आज  पनि यी नदीहरु सुसाएपछि म मेरा प्रेमीहरुलाई सम्झन्छु । मलाई मेरा प्रेमीहरु पनि नदिझै लाग्छ । बगेर जानेहरुसँग गुनासो मात्र गर्न सकिन्छ सँगै बग्न सकिँदैन । तर मलाई किनकिन लाग्छ जसरी उनीहरु बगे त्यो बग्नु जरुरी थियो । जसरी मैले बिदाइलाई सहजतामा बदलेँ त्यो मेरो लागि थियो । जीवनका बर्हिगमनहरुलाई म अब सजिलै लिइदिन सक्छु ।

चौतारो नजिक आइपुगेकी छु । मलाई बर र पिपल सँगै नारीएका चौताराहरुले असाध्दै लोभ्याउँछन् । किन मानिसहरु पनि बर  र पिपलझै एक अर्काको अस्तित्वमा मस्त भैदिन सक्दैनन् । सायद मैले चाहेझै भैदिँने भए म बर र पिपलको जीवन चाहन्थे । यीनीहरुले शितलता मात्र दिन्छन् । के यति शालिन हुन सम्भब छ । के यीनीहरुले बिद्रोह गर्दैनन् ? वा गर्छन् र पनि देखाउँदैनन् । मलाई यीनिहरुको शालिनता र अस्तित्वबोधले सधै नतसस्तक बनाउँछ ।

सुस्ताउँदैछु ..... चौतारीमा । किनकिन लाग्दैछ मेरो नजिक  कोही भैदियोस् । कसैलाई म चौतारीमा नै बसेर प्रेमका सुन्दर कविताहरु सुनाउँन सकुँ । वा कोही त्यस्तो भैदियोस् जो मलाई सुनाओस् । मलाई किनकिन लाग्दैछ म उमेरसँगै प्रेममा पनि परिपक्क बन्दैछु । मलाई अब प्रेमको नाममा अनाबस्यक हल्ला गर्ने मानिस चाहिएको छैन । मलाई सँगै सुस्ताउँने सहयात्री चाहिएको छ । जसरी  प्रेमलाई साहित्यमा लेखियो त्यो कुनै प्रेम होइन । खोज्दै जाँदा त्यहा लगाव र बास्ना बाहेक अरु केही भेटिँदैन । म अब फिल्मी प्रेमको पर्खाइमा छैन । अब त चाहिएको केबल सँगै सुस्ताउँने मानिस हो । आफू र आफ्नोझै लाग्ने मानिस हो । 

यो उमेरमा पनि म अझै प्रेमको पर्खाइमा छु भन्नु ठिक हो वा होइन म जान्दिन । तर म सधै प्रेम गर्न चाहन्थे । र जसजसलाई मैले प्रेम गरेँ वा ज–जसले मलाई गरेँ उनीहरु मेरा सधै प्रिय रहनेछ । प्रेमको अनुभूति एक सुन्दर अनुभूति हो । म यो अनुभूतिबाट भाग्न चाहन्न । अथवा म नियम बन्धनको नाममा प्रेमलाई सहि र गलत भन्न चाहन्न । मेरी आमाले हजुर आमाले कहिल्यै प्रेमका कुरा गरेनन् । अनुभूति कुरा गरेनन् । मलाई लाग्छ यो मेरो भागको खुसी  हो । बर र पिपलझै लाग्ने प्रेमिल जोडि  देख्दा आज पनि लाग्छ मेरो पनि कोही भैदियोस्  । जानेहरुलाई सम्झन भन्दा म आउँनेहरुलाई पर्खन चाहन्छु ।


उकाली लाग्दैछु पर डाँडामा कोही उभिएको छ । उसको छायाझै लाग्ने प्रतिबिम्ब मेरो आखामा परेको छ । लाग्दैछ उ पनि मजस्तै यात्री हो । एकल यात्री । मलाई एक्लै एक्लै हिड्नेहरु म जस्तै लाग्छन् । किन किन लाग्दैछ उ नजिक चाडै पुगुँ । म कसैलाई यति चाडै भेट्न बोल्न किन चाहदैछु । किन म एक्लै रमाउँन खाजेर पनि रमाउँन सकिरहेकी छैन । किन म यात्रामा सहयात्री खोज्दैछु ।

अघिसम्म प्रतिबिम्ब मात्र जस्तो लाग्ने उ भेटिएको छ । म मुस्कुराउँछु ........ उ मुस्कुराउछँ । म “हाई“ भन्छु उ “हेल्लो” भन्छ । उ म भन्दा उमेरमा सानोझै देखिन्छ । म बोल्न चाहन्छु तर के भनेर सुरुवात गरुँ मलाई थाहा छैन । “के तपाई पनि म जस्तै सोलो टा«भलर हो” “हो” उ भन्छ ।

“कति दिन भयो हिडेको ?” म सोध्छु ।

“आज सेकेन्ड डे हो “ उ भन्छ ।

अनि दुबै चुपचाप । .........सुनसान..........ऊ क्यामरा निकाल्छ । र क्यामराको दुनियामा मस्त हुन्छ । सायद उ फोटोगार्फर हो । तर आजकल क्यामरा बोक्दैमा फोटोगार्फर नै हो भन्न सकिँदैन । म आफ्नै धुनमा एकछिन सुस्ताउँछु । म उसलाई उछिनेर पर पुग्न पनि सक्थे तर थाहा छैन किन म उसँग थप गफ गर्न चाहन्छु ।

एकछिन पछि क्यामेराबाट आफ्नो ध्यान हटाएर उ भन्छ “तपाई अझै यतै हुनुन्छ ?” 

“ हजुर यतै छु” म भन्छु

“पुग्नुपर्ने कहाँ हो” उ सोध्छ 

“पुग्नुपर्ने कहाँ हो मलाई थाहा छैन तर म आज सिमपानीमा बस्न चाहन्छु, तपाई त?”

“म अझ पर...... पुग्न चाहन्छु । सायद माथीको भिउँ टावरसम्म..... मलाई भोलीको सुर्योदय कभर गर्नु छ ।”

“ओ नाइस.....” म भन्छु

“तपाईको नाम ?” उ अनायासै सोध्छ 

“म अपराजिता पोर्खेल”

“म सुन्दर राना, म टा«भल यजेन्सीको लागि फोटो खिच्छु, हिड्नु मेरो सोख र बाध्यता दुबै हो” उ भन्छ ।

“कस्तो रमाइलो काम । म सौखिन यात्री हुँ । काम भन्दा तपाइलाई हाँसो उठ्ला म एकाउन्टेट हुँ । तर मैले अहिलेसम्म जीवनका डेबिड र के्रडिटहरु मिलाउँन सकेकी छैन । जीवनको म एक असफल एकाउन्टेट हो ।।।”

उ हाँस्छ मात्र ........म पनि हासिँदिन्छु

सायद एकाउन्टेन्ट र फोटोग्राफर बिच.... गफका मध्यबिन्दुहरु अति नै कम हुन्छन् । त्यसपछि ऊ केही बोल्दैन मलाई थप बोलुबोलु लाग्दालाग्दै पनि.... थप केही भन्न सक्दिन । उ गुनगुनादै हिड्छ, म उसकै लयमा हिड्छु । अब हामी दोबाटोमा आइपुगेका छौ ऊ भन्छ “म अब राइट ति जानुपर्छ, हस्” “म बाइ भन्दै यात्रा सुन्दर बनोस् भन्छु ।”

उ अब फेरी एक छायाँ बनेको छ । सायद उ मेरो स्मृतिमा पनि एक छाया बन्नेछ । मलाई कताकता लाग्यो उसलाई मैले भन्नुपर्ने थियो म एक चित्रकार पनि हुँ भनेर । तब हामी थप गफ गर्न सक्थेउँ । हामीसँग गफ गर्नका लागि प्रकाश र रंगहरु हुनेथिएँ । तर किनकिन म आफूलाई एक चित्रकारको रुपमा चिनाउँन सक्दिन, म लजाउँछु । एकाउन्टेनको रुपमा परिचय दिनु एक रुखो परिचय दिनु हो । मलाई सधै लाग्छ म एकाउन्टेन झै रुखो कदापी छैन ।

अब थोरै तल झर्नुपर्ने छ साझको ४ बज्न लागेको छ । केटाकेटीहरु स्कुलबाट फर्कने समय भएको छ । मलाई स्कुले केटाकेटी देखेपछि आफ्नै याद आउँछ । त्यो स्कुले केटी जो अरुझै ठूलो मानिस बन्न चाहन्थी जो कहिल्यै बनिन् । जसले चित्र कोर्न पनि अंगारका ठुटाहरुसँग सिकेकी थिइ । जो सँग अब रंग र क्यानभाष त छ तर चित्रझै लाग्ने स्वप्निल संसारको परिकल्पना छैन । उ जस्तो बन्न चाहन्थी त्यो बनिन ् । मलाई आफ्ना सपनाहरु देखेर माया लाग्छ । मलाई आफ्नो उमेर देखेर माया लाग्छ ।

साँझको पाँच बज्दै छ । सूर्य अस्ताउँन लाग्दैछ । म मेरो बास बस्ने लजमा लाइपुगेकी छु । “फेरी एक्लै” दिदिले मलाई देख्नेबित्तिकै भन्नुहुन्छ । “बाच्नुपर्ने पनि त एक्लै हो” म हाँस्दै भन्छु । दिदि केही भन्नुहुन्न । म त्यो पहिलोपटक पुगेको गाउँ होइन । मलाई त्यहाँ गए घुम्नु पनि छैन । म त्यसै त्यहा पुगेकी छु ... बिनाउद्घेश्य । सायद जीवनबाट बिरक्तिएर । म एक्लै पाउँना घरको कोठाबाट चियाउँछु पर.......। आफ्नै जीवनलाई पर क्षितिजबाट हेरेझै लाग्छ ।

आज जे जे महशुस गर्दै छु मैले काटेका चाँैतिस बसन्तको उपज हो । आज मेरो जन्मदिन हो । म एक्लै जन्मदिन मनाउँदैछु । सायद बिसको उमेरमा म यहाँ आएकी भए म आफ्ना केही साथी बोकेर आउँथे होला । अथवा अनुभूतिमा कोही अर्को प्रेमिल ब्यक्ति ठोक्किन्थ्यो होला । तर अहिले म चाहेर पनि त्यस्तो महसुस गर्न चाहन्न । म सँग केही त्यस्ता कठोर अनुभूतिका कथा छन् जसले मलाई सजिलै पगाल्दैनन् । म आफैसँगको अन्तरक्रियामा तरल बनेर पोखिदैछु । सायद यो अब बाच्ने थप चाँैतिस बर्षको लागि सञ्चय गनुपर्ने केही अनुभूतिका दुरीहरु हुन् । म आफ्नै लागि आफ्नै लगावबाट पर भाग्न केही दुरीहरु खोज्दैछु । के यो सम्भव छ ?

Thursday, January 16, 2025

समयको कथा

 

जीवनका कथाहरु अनौठा छन् । जे बचाउँन चाहन्छौ त्यो रहँदैन । जे जाओस् भन्ने लाग्छ त्यो रहन्छ । सायद समय यस्तै नै हो । यो हाम्रो हातमा छैन वा छ पनि । तथापी यो प्रिय समय हो । बिहानै किबोड अगाडी बसेकी छु । जुन मेरो आफ्नो हो । मलाई अक्षर अगाडी बिताएको समय सधै प्रिय लाग्छ । 

एकतमासको बिहानीको साक्षी भएको धेरै समय भयो । कहिलेकाही लाग्छ मेरा आफ्नै रेखाहरुले मलाई नै किचेका थिएँ तर अब त्यस्तो हुनेछैन । म मेरो समयमा फर्केकी छु । फूल र चराहरुबारे सोच्न थालेकी छु । सायद उनीहरु बारे सोच्नु मैले आफैँ बारे सोच्नु हो । सायद रुख फूल र चराहरुको अस्तित्वलाई स्विकार्नु आफैँलाई स्विकार्नु पनि हो । म आफैलाई स्विकार्ने यात्रामा छु । थाहा छैन मैले आफैलाई प्रेम गर्न थाल्नेछु । फूल रुख र चराहरुझै आफैँमा मस्त रहनेछु । म त्यही पर्खाइमा छ । 

म सँग जीवनको कुनै अरु बृहतता छैन । मैले जानेको कि सोचिबस्त हो कि सोचेको कुरा अक्षरमा उर्तान हो । मलाई लाग्छ म आफैँ कुनै कथा हुँ । जहाँ नायिकाको अस्तित्व उसको सोचाइको स्तरमा मात्र छ । उसलाई भूलिदिँदा पनि हुन्छ तर उ कसैले भूल्ने बन्न चाहन्न । साँच्चै भन्दा जीवन कथाहरुको श्रृखला हो । यो निरन्रताको कथा हो । तर म कथाको निरन्तरता मात्र बन्न चाहन्न । म आफ्नै कथाहरुमा फर्केर बिद्रोह गर्न चाहन्छु । कस्तो कहाँ के मलाई थाहा छैन ।

बर्षको अन्तिममा उमर खालिदले बेल पाएको म खुसी थिएँ । सायद खुसीहर यस्तैयस्तै कुराहरुले मात्र दिन्छ । म उ जेल पसेदेखी निस्केको हेर्न चाहन्थेँ । यो एक परको मानिसले अर्को भुगोलको मानिस माथि गरेको सुभेक्षा मात्र हो । मैले प्रेम पनि यसरी नै गरेँ । कहि कतै दुरीहरुबाट । मलाई लाग्यो दुरीहरु केही होइनन् मेटिनेछन् कुनै दिन । तर दुरीहरु त्यती सजिला चिजहरु होइनन् । जीवनका कथाहरु झै दुरीहर सधै दुरीहरु बन्ने रहेछन् । सायल सबै कुराहर यसैको निरन्तरता हो ।

  अर्को बर्ष सुरु भएको पन्ध्र दिन भैसकेछ । अरुझै म पनि बर्षहरु सँगै बग्न चाहन्छु । साँच्चै भन्दा म त उड्न पनि चाहन्छु । मलाई कहि कतै जानुछ र फेरी फर्कनु छ । र आफ्नो यात्रालाइृ अवसर ठानेर शब्दमार्फत केही बनाउँनु छ । तर यात्राहरु बन्धनझै नबनुन । ति खुल्ला र आफ्नै मर्जिका मालिक बनुन । मलाई त्यस्तै जीवन जीउँनु छ । आफ्नै धरातलबाट उठ्नु र आफ्नै धरातलमा फर्कनु पनि छ । 

यी बिहानीका सुनौला शब्दहरु हुन् । यी मैले बषौदेखी साँचेका सपनाका अवशेषहरु हुन् । सायद मानिसहरु सपनाका अवशेष मात्र हुन् । थाहा छैन किन मैले गर्ने यात्राबारे म सधै चिन्तित रहन्छु । जस्तो बिहानै म आजको दिनबारे चिन्तामा छु । तर जीवन भनेको फूल चराहरु र रुखझै जीउँनुमा छ । म चाहन्छु मेरो जीवन  उनीहरुकोझै रहोस् ।

Monday, January 13, 2025

प्रिय समय

 

बिहानै चराहरुसँगै बिउँझिएकी छु । समयको कुनै मोडमा हराएकी म समयसँगै फेरी फर्किएकी छु । बाहिर निस्पट्ट अध्यारो छ । सडकमा मानिसहरु निस्किएका छैनन् । सायद मौसमझै उनीहरु पनि चिसोले बन्द छन् । जस्तो म थिएँ । सायद फूलहरुले फूल्न बिर्सेका छन् । जस्तो मैले लेख्न बिर्सेको थिएँ । जे गर्नु थियो त्यो नगर्नु त्यो सुन्दर थिएन । म समयमा थिइन । आज समयले फेरी मलाई बोलाएको छ ।

बर्ष बितिगयो । बर्ष बितिगएकोमा दुखेसो के गर्नु । तथापी बर्षले जीवनबाट केही मानिसहरु खोजेझै लागेको छ । जस्तो कि अघिल्लो बर्ष हजुरआमा हुनुहुन्थ्यो रहनुभएन । जस्तो म थिएँ त्यो रहिन । जस्तो मेरा प्रिय मानिसहरु थिएँ ति पनि रहेँ वा रहेनन् । परित्यक्त कथाझै म आफ्नै कथाकी अनायीका भएकी छु । जो थिएँ त्यो रहिन कि भन्ने अनुभुतीले सताएको छ । 

म कसैसँग माफी माग्न चाहन्थेँ । सायद समयसँग । सायद आफैँसँग । सायद अरु कसैसँग । तथापी थाहा छैन वाक्यहरु कहि कतै म भित्र अड्किएका छन् । थाहा छैन किन अक्षरहरु किबोडमा फ्रिज छन् । गरेको यात्रामा गुनासो त छैन । तर किनकिन कसैलाई दुखाएकी भन्ने अनुभुती छ । त्यस्तो अनुभूती यसअघि कहिल्यै थिएन ।

नयाँ अनुभूतीहरु क्ठोर छन् । म मानिसहरु झै बर्षहरु र अनुभूतीलाई पनि बचाउँन चाहन्थेँ । सायद मैले सकिन । म असफल भएँ । एक हारेको मानिसझै आफैँसँग हारेँ । प्रिय समय माफी चाहन्छु । सायद म जे र जस्तो हुनुपर्ने थियो त्यो भैन । बर्षभरी मलाई बाच्न सिकाउँनेहरुलाई धन्यवाद । यस्तै हो भन्नेहरुलाई धन्यवाद । लेख्दै गर भन्नेहरुलाई धन्यवाद । बाटोमा मुस्कुाउँनेहरुलाई धन्यवाद । तिमीलाई धन्यवाद ।

यो समयको कथा थियो आज अर्को समयमा कुनै अर्को मानिसझै आइपुगेकी छु । सायद हातहरु उही हुन् तर म उहिँ रहिन । वा समय उही रहेन । यो कृतज्ञता पनि थियो दुखेसो पनि थियो । एक आत्मालाप पनि थियो । सायद सबैथोक थियो । तर के हो मलाई थाहा छैन । त्यसैले भूतकालमा सम्बोधन गरेकी छु ।

नेपथ्य

यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ...