निर्जला अधिकारी
बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त म बिसकी होइन । तिस काटेको पनि चार बर्ष भैसकेँछ । तथापी मलाई लाग्छ मेरो थाक्ने उमेर भएको छैन ।
किन बाटोमा कोही भेटिदैनन् । मलाई किन लाग्छ म हिड्दै गर्दा बाटोमा कोही भेटियोस् । यो मेरो पहिलो एकल यात्रा होइन । दोस्रो पनि होइन । तेस्रो पनि होइन । र पनि किन लाग्दैछ यात्रामा एक्लो महसुस गर्नु ठिक होइन । म एक्लो महसुस गर्न चाहँदिन भने किन मलाई एकल यात्राको भुत चढेको छ ?
यी दुई किनाराका रुखहरु मेरा साथी भएका छन् । तर यीनिहरुसँग गुनासो छ मेरो । किन यति धेरै स्थिर छन् यीनीहरु ? मलाई यीनीहरुको स्थिरता देखेर लोभ लाग्छ, ईष्र्या लाग्छ । किन म यीनीहरु झै स्थिर बन्न सकिन । म हावाको झोकाझै जीवनका बाहाबहरुसँग किन यति धेरै ठोकिएँ । किन लागेन म जहाँ छु जे छु ठिकै छु । म किन यीनीहरुझै आफू हुनुमा रमाउँन सकिन । के जीवन जीउँन अस्थिर नै हुनुपर्ने हो र ? जे छ त्यसैमा खुसी भैदिँदा हुँदैन र ?
अब खोला नजिकै आइपुगेकी छु । सायद यो खहरे हो । त्यसैले यो बर्खामासमा गड्गडाउँदै छ । कहिलेकाही लाग्छ म आफैँ पनि खहरे नै हुँ । यो खोलाझै म पनि कहिलेकाही मात्र गडगडाउँछु । यदाकदा लहडीझै बडबडाउँछु पनि । तर मेरो भेलमा अहिलेसम्म कोही बगेको छैन । खहरेको भेलमा पनि मानिसहरु बिरलै बग्छन् । र पनि किनकिन खहरेहरु जीवनझै लाग्छ यीनीहरुसँग मानिसको झै उत्तारचडाबपूर्ण जीवन छ । यीनीहरु रुखझै स्थिर कहिल्यै रहँदैनन् ।
यस्ता खोलाहरु मैले धेरै तरेँ । म त मस्याङ्दी र र्दोदि किनारकी केटी हुँ । मसँग बाल्यकालका केही धुनहरु बाकी छन् भने ति नदि किनारका धुनहरु मात्र बाकी छन् । र पनि किन लाग्दैछ म नदिका धुनसँग पनि निस्सासिएकी छु । नदीसँग निस्सासिनु राम्रो होइन । के म बिरत्तिएकी हुँ वा म त्यो केटी रहिन जो नदि किनारा छेउ एउटा सुन्दर घर बसाउँन चाहन्थी । ऊ सँग नदी र हिमाल बाहेकका स्वप्निल क्षितिजहरु अरु केही थिएनन् । वा ऊ नदिसँगै बहकिन सक्थि । म त्यो केटीलाई प्रेम गर्छु जसले नदीलाई प्रेम गर्थि बिडम्बना म त्यहि केटी रहिरहन सकिँन ।
यी नदिहरुझै म पनि बग्न सकेकी भए म आज जो छु त्यो रहने थिइन । म मेरो यात्रासँग खुसी र दुखि दुबै छु । यदाकदा लाग्छ मैले आफ्ना नाममा जे जे गरेँ त्यो आफ्नै लागि गरेँ । अक्षरहरुलाई प्रेम गरेँ, नदिहरुलाई गरेँ, रंगहरुलाई गरेँ त्यो भन्दा पर अरु धेरैलाई गरेँ । उनीहरु बगे म किनारामा नै रहिरहेँ । आज पनि यी नदीहरु सुसाएपछि म मेरा प्रेमीहरुलाई सम्झन्छु । मलाई मेरा प्रेमीहरु पनि नदिझै लाग्छ । बगेर जानेहरुसँग गुनासो मात्र गर्न सकिन्छ सँगै बग्न सकिँदैन । तर मलाई किनकिन लाग्छ जसरी उनीहरु बगे त्यो बग्नु जरुरी थियो । जसरी मैले बिदाइलाई सहजतामा बदलेँ त्यो मेरो लागि थियो । जीवनका बर्हिगमनहरुलाई म अब सजिलै लिइदिन सक्छु ।
चौतारो नजिक आइपुगेकी छु । मलाई बर र पिपल सँगै नारीएका चौताराहरुले असाध्दै लोभ्याउँछन् । किन मानिसहरु पनि बर र पिपलझै एक अर्काको अस्तित्वमा मस्त भैदिन सक्दैनन् । सायद मैले चाहेझै भैदिँने भए म बर र पिपलको जीवन चाहन्थे । यीनीहरुले शितलता मात्र दिन्छन् । के यति शालिन हुन सम्भब छ । के यीनीहरुले बिद्रोह गर्दैनन् ? वा गर्छन् र पनि देखाउँदैनन् । मलाई यीनिहरुको शालिनता र अस्तित्वबोधले सधै नतसस्तक बनाउँछ ।
सुस्ताउँदैछु ..... चौतारीमा । किनकिन लाग्दैछ मेरो नजिक कोही भैदियोस् । कसैलाई म चौतारीमा नै बसेर प्रेमका सुन्दर कविताहरु सुनाउँन सकुँ । वा कोही त्यस्तो भैदियोस् जो मलाई सुनाओस् । मलाई किनकिन लाग्दैछ म उमेरसँगै प्रेममा पनि परिपक्क बन्दैछु । मलाई अब प्रेमको नाममा अनाबस्यक हल्ला गर्ने मानिस चाहिएको छैन । मलाई सँगै सुस्ताउँने सहयात्री चाहिएको छ । जसरी प्रेमलाई साहित्यमा लेखियो त्यो कुनै प्रेम होइन । खोज्दै जाँदा त्यहा लगाव र बास्ना बाहेक अरु केही भेटिँदैन । म अब फिल्मी प्रेमको पर्खाइमा छैन । अब त चाहिएको केबल सँगै सुस्ताउँने मानिस हो । आफू र आफ्नोझै लाग्ने मानिस हो ।
यो उमेरमा पनि म अझै प्रेमको पर्खाइमा छु भन्नु ठिक हो वा होइन म जान्दिन । तर म सधै प्रेम गर्न चाहन्थे । र जसजसलाई मैले प्रेम गरेँ वा ज–जसले मलाई गरेँ उनीहरु मेरा सधै प्रिय रहनेछ । प्रेमको अनुभूति एक सुन्दर अनुभूति हो । म यो अनुभूतिबाट भाग्न चाहन्न । अथवा म नियम बन्धनको नाममा प्रेमलाई सहि र गलत भन्न चाहन्न । मेरी आमाले हजुर आमाले कहिल्यै प्रेमका कुरा गरेनन् । अनुभूति कुरा गरेनन् । मलाई लाग्छ यो मेरो भागको खुसी हो । बर र पिपलझै लाग्ने प्रेमिल जोडि देख्दा आज पनि लाग्छ मेरो पनि कोही भैदियोस् । जानेहरुलाई सम्झन भन्दा म आउँनेहरुलाई पर्खन चाहन्छु ।
उकाली लाग्दैछु पर डाँडामा कोही उभिएको छ । उसको छायाझै लाग्ने प्रतिबिम्ब मेरो आखामा परेको छ । लाग्दैछ उ पनि मजस्तै यात्री हो । एकल यात्री । मलाई एक्लै एक्लै हिड्नेहरु म जस्तै लाग्छन् । किन किन लाग्दैछ उ नजिक चाडै पुगुँ । म कसैलाई यति चाडै भेट्न बोल्न किन चाहदैछु । किन म एक्लै रमाउँन खाजेर पनि रमाउँन सकिरहेकी छैन । किन म यात्रामा सहयात्री खोज्दैछु ।
अघिसम्म प्रतिबिम्ब मात्र जस्तो लाग्ने उ भेटिएको छ । म मुस्कुराउँछु ........ उ मुस्कुराउछँ । म “हाई“ भन्छु उ “हेल्लो” भन्छ । उ म भन्दा उमेरमा सानोझै देखिन्छ । म बोल्न चाहन्छु तर के भनेर सुरुवात गरुँ मलाई थाहा छैन । “के तपाई पनि म जस्तै सोलो टा«भलर हो” “हो” उ भन्छ ।
“कति दिन भयो हिडेको ?” म सोध्छु ।
“आज सेकेन्ड डे हो “ उ भन्छ ।
अनि दुबै चुपचाप । .........सुनसान..........ऊ क्यामरा निकाल्छ । र क्यामराको दुनियामा मस्त हुन्छ । सायद उ फोटोगार्फर हो । तर आजकल क्यामरा बोक्दैमा फोटोगार्फर नै हो भन्न सकिँदैन । म आफ्नै धुनमा एकछिन सुस्ताउँछु । म उसलाई उछिनेर पर पुग्न पनि सक्थे तर थाहा छैन किन म उसँग थप गफ गर्न चाहन्छु ।
एकछिन पछि क्यामेराबाट आफ्नो ध्यान हटाएर उ भन्छ “तपाई अझै यतै हुनुन्छ ?”
“ हजुर यतै छु” म भन्छु
“पुग्नुपर्ने कहाँ हो” उ सोध्छ
“पुग्नुपर्ने कहाँ हो मलाई थाहा छैन तर म आज सिमपानीमा बस्न चाहन्छु, तपाई त?”
“म अझ पर...... पुग्न चाहन्छु । सायद माथीको भिउँ टावरसम्म..... मलाई भोलीको सुर्योदय कभर गर्नु छ ।”
“ओ नाइस.....” म भन्छु
“तपाईको नाम ?” उ अनायासै सोध्छ
“म अपराजिता पोर्खेल”
“म सुन्दर राना, म टा«भल यजेन्सीको लागि फोटो खिच्छु, हिड्नु मेरो सोख र बाध्यता दुबै हो” उ भन्छ ।
“कस्तो रमाइलो काम । म सौखिन यात्री हुँ । काम भन्दा तपाइलाई हाँसो उठ्ला म एकाउन्टेट हुँ । तर मैले अहिलेसम्म जीवनका डेबिड र के्रडिटहरु मिलाउँन सकेकी छैन । जीवनको म एक असफल एकाउन्टेट हो ।।।”
उ हाँस्छ मात्र ........म पनि हासिँदिन्छु
सायद एकाउन्टेन्ट र फोटोग्राफर बिच.... गफका मध्यबिन्दुहरु अति नै कम हुन्छन् । त्यसपछि ऊ केही बोल्दैन मलाई थप बोलुबोलु लाग्दालाग्दै पनि.... थप केही भन्न सक्दिन । उ गुनगुनादै हिड्छ, म उसकै लयमा हिड्छु । अब हामी दोबाटोमा आइपुगेका छौ ऊ भन्छ “म अब राइट ति जानुपर्छ, हस्” “म बाइ भन्दै यात्रा सुन्दर बनोस् भन्छु ।”
उ अब फेरी एक छायाँ बनेको छ । सायद उ मेरो स्मृतिमा पनि एक छाया बन्नेछ । मलाई कताकता लाग्यो उसलाई मैले भन्नुपर्ने थियो म एक चित्रकार पनि हुँ भनेर । तब हामी थप गफ गर्न सक्थेउँ । हामीसँग गफ गर्नका लागि प्रकाश र रंगहरु हुनेथिएँ । तर किनकिन म आफूलाई एक चित्रकारको रुपमा चिनाउँन सक्दिन, म लजाउँछु । एकाउन्टेनको रुपमा परिचय दिनु एक रुखो परिचय दिनु हो । मलाई सधै लाग्छ म एकाउन्टेन झै रुखो कदापी छैन ।
अब थोरै तल झर्नुपर्ने छ साझको ४ बज्न लागेको छ । केटाकेटीहरु स्कुलबाट फर्कने समय भएको छ । मलाई स्कुले केटाकेटी देखेपछि आफ्नै याद आउँछ । त्यो स्कुले केटी जो अरुझै ठूलो मानिस बन्न चाहन्थी जो कहिल्यै बनिन् । जसले चित्र कोर्न पनि अंगारका ठुटाहरुसँग सिकेकी थिइ । जो सँग अब रंग र क्यानभाष त छ तर चित्रझै लाग्ने स्वप्निल संसारको परिकल्पना छैन । उ जस्तो बन्न चाहन्थी त्यो बनिन ् । मलाई आफ्ना सपनाहरु देखेर माया लाग्छ । मलाई आफ्नो उमेर देखेर माया लाग्छ ।
साँझको पाँच बज्दै छ । सूर्य अस्ताउँन लाग्दैछ । म मेरो बास बस्ने लजमा लाइपुगेकी छु । “फेरी एक्लै” दिदिले मलाई देख्नेबित्तिकै भन्नुहुन्छ । “बाच्नुपर्ने पनि त एक्लै हो” म हाँस्दै भन्छु । दिदि केही भन्नुहुन्न । म त्यो पहिलोपटक पुगेको गाउँ होइन । मलाई त्यहाँ गए घुम्नु पनि छैन । म त्यसै त्यहा पुगेकी छु ... बिनाउद्घेश्य । सायद जीवनबाट बिरक्तिएर । म एक्लै पाउँना घरको कोठाबाट चियाउँछु पर.......। आफ्नै जीवनलाई पर क्षितिजबाट हेरेझै लाग्छ ।
आज जे जे महशुस गर्दै छु मैले काटेका चाँैतिस बसन्तको उपज हो । आज मेरो जन्मदिन हो । म एक्लै जन्मदिन मनाउँदैछु । सायद बिसको उमेरमा म यहाँ आएकी भए म आफ्ना केही साथी बोकेर आउँथे होला । अथवा अनुभूतिमा कोही अर्को प्रेमिल ब्यक्ति ठोक्किन्थ्यो होला । तर अहिले म चाहेर पनि त्यस्तो महसुस गर्न चाहन्न । म सँग केही त्यस्ता कठोर अनुभूतिका कथा छन् जसले मलाई सजिलै पगाल्दैनन् । म आफैसँगको अन्तरक्रियामा तरल बनेर पोखिदैछु । सायद यो अब बाच्ने थप चाँैतिस बर्षको लागि सञ्चय गनुपर्ने केही अनुभूतिका दुरीहरु हुन् । म आफ्नै लागि आफ्नै लगावबाट पर भाग्न केही दुरीहरु खोज्दैछु । के यो सम्भव छ ?
No comments:
Post a Comment