बिहानै चराहरुसँगै बिउँझिएकी छु । समयको कुनै मोडमा हराएकी म समयसँगै फेरी फर्किएकी छु । बाहिर निस्पट्ट अध्यारो छ । सडकमा मानिसहरु निस्किएका छैनन् । सायद मौसमझै उनीहरु पनि चिसोले बन्द छन् । जस्तो म थिएँ । सायद फूलहरुले फूल्न बिर्सेका छन् । जस्तो मैले लेख्न बिर्सेको थिएँ । जे गर्नु थियो त्यो नगर्नु त्यो सुन्दर थिएन । म समयमा थिइन । आज समयले फेरी मलाई बोलाएको छ ।
बर्ष बितिगयो । बर्ष बितिगएकोमा दुखेसो के गर्नु । तथापी बर्षले जीवनबाट केही मानिसहरु खोजेझै लागेको छ । जस्तो कि अघिल्लो बर्ष हजुरआमा हुनुहुन्थ्यो रहनुभएन । जस्तो म थिएँ त्यो रहिन । जस्तो मेरा प्रिय मानिसहरु थिएँ ति पनि रहेँ वा रहेनन् । परित्यक्त कथाझै म आफ्नै कथाकी अनायीका भएकी छु । जो थिएँ त्यो रहिन कि भन्ने अनुभुतीले सताएको छ ।
म कसैसँग माफी माग्न चाहन्थेँ । सायद समयसँग । सायद आफैँसँग । सायद अरु कसैसँग । तथापी थाहा छैन वाक्यहरु कहि कतै म भित्र अड्किएका छन् । थाहा छैन किन अक्षरहरु किबोडमा फ्रिज छन् । गरेको यात्रामा गुनासो त छैन । तर किनकिन कसैलाई दुखाएकी भन्ने अनुभुती छ । त्यस्तो अनुभूती यसअघि कहिल्यै थिएन ।
नयाँ अनुभूतीहरु क्ठोर छन् । म मानिसहरु झै बर्षहरु र अनुभूतीलाई पनि बचाउँन चाहन्थेँ । सायद मैले सकिन । म असफल भएँ । एक हारेको मानिसझै आफैँसँग हारेँ । प्रिय समय माफी चाहन्छु । सायद म जे र जस्तो हुनुपर्ने थियो त्यो भैन । बर्षभरी मलाई बाच्न सिकाउँनेहरुलाई धन्यवाद । यस्तै हो भन्नेहरुलाई धन्यवाद । लेख्दै गर भन्नेहरुलाई धन्यवाद । बाटोमा मुस्कुाउँनेहरुलाई धन्यवाद । तिमीलाई धन्यवाद ।
यो समयको कथा थियो आज अर्को समयमा कुनै अर्को मानिसझै आइपुगेकी छु । सायद हातहरु उही हुन् तर म उहिँ रहिन । वा समय उही रहेन । यो कृतज्ञता पनि थियो दुखेसो पनि थियो । एक आत्मालाप पनि थियो । सायद सबैथोक थियो । तर के हो मलाई थाहा छैन । त्यसैले भूतकालमा सम्बोधन गरेकी छु ।
No comments:
Post a Comment