Monday, February 3, 2025

अक्षरको यात्रा –

  म आज कुनै रुमानी यात्राबारे बोल्दैछैन । यो त बिना पदचापको यात्रा हो । यस्तो यात्रा जसको कुनै सुरुवात र अन्त्य रहने छैन ।  घमाइलो बिहानीले मेरो यात्रालाई साथ दिएको छ । साथमा बेक सी र तिर्थ गुरुङ छन् । एकलाई पढि भ्याइसकेको छु अर्कोका केही पानाहरु बाकी छन् । न्यानोपन र चिसोपन दुबैले मलाई साथ दिएका छन् । बाटोमा एक हुल केटाकेटीहरु स्कुलका लागि निस्किसकेका छन् । आज त सरस्वतीको दिन हो । नानीहरुमा एक खाले उत्साह बाकी नै छ ।

म सरस्वतीलाई ज्ञान सँग जोड्दिन । मलाई उनी अक्षर झै लाग्छ । मेरा लागि अक्षर र सरस्वती उही हुन् । म उनीहरुलाई प्रेम गर्छु । उनीहरु माध्यम बने जसले बोल्ने माध्यम र तरिका सिकाए । मलाई बोलिमा भन्दा अक्षरमा पोखिनु सजिलो पनि लाग्छ । रमाइलो पनि लाग्छ । मेरा लागि अक्षर निराशा र आशा दुबै हुन् । मेरा अध्यारा दिनहरुका साक्षि कोही भएका छन् भने अक्षरहरु मात्र भएका छन् । उनीहरुले मलाई जीउन सिकाए । मानिसहरु चिनाए, भेटाए । एक खिरिलो स्वरुपका रेखाहरुले मजस्ता अनेकौलाई स्विकारोक्तिका भाषाहरु सिकाए । म त किनाराको मानिस थिएँ । तर मलाई थाहा थिएन म पनि एक किनारा हु , हुलले मलाई चिन्दैन र अस्तित्वलाई स्विकार गर्दैन । म त उनीहरु झै नभएको दुखी थिएँ । केही आफ्नोपन चाहन्थेँ र कही कतै पोखिन चाहन्थेँ । अक्षरहरुले मलाई पोखिने स्वतन्त्रता दिएँ । उनीहरु नभएको भए म गुम्सिँदा गुम्सिँदै थाहा छैन कता भड्किने थिएँ वा मूलबाटोमा बसेर भिडमा आफूलाई खोजिरहने थिएँ । जुन आफ्नोझै कहिल्यै थिएन । 

यो त एक एकलकाटे केटीको यात्रा हो । जसलाई लाग्थ्यो मानिसहरु भन्दा बुझ्ने त नदी र हिमालहरु छन् । तर त्यो एक्लो यात्राको कोही साक्षी छन् भने ति अक्षरहरु मात्र छन् । उ झै खिरिला अक्षरहरुले उसलाई अगाँले । जुन जरुरी थियो । भत्किएको बेला, टुटेको बेला मानिसहरु भन्दा मायालु त अक्षरहरु हुन्छन् । उनीहरु सजिलै एकाकार बनिदिन्छन् र उतारिदिन्छन् पानाहरुमा । यो एक सानी र लजालुझै लाग्ने केटीको अक्षर प्रेम हो ।

यात्रामा अक्षरहरु माध्यम बने र मानिसहरुसँग जोडिदिएँ । अक्षरहरुले उसलाई मानिसहरुसँग भेटाए । त्यो सजिलो यात्रा थिएँन । त्यो त यात्राको मध्यान्तर थियो । जसमा उसलाई लाग्यो अक्षर र मानिसहरु भनेका त एकै रहेछन् । हरेकको अस्तित्व फरक रहेछ । अरुझै नहुनु र नदेखिनु सामान्य रहेछ । हरेकका आफ्नै यात्राहरु रहेछन् । 

माध्यम बनेका अक्षरहरु सायद उ झै केही असामान्य छन् । दुबैले एक अर्काको असामान्यपनलाई सामान्य बनाएर अघि बढेका छन् । तर दुबैलाई केही भन्नु छ । के भन्ने दुबैलाई थाहा छैन । यही अर्थहीनतामा अर्थ खोजिरहेछन् । यो अक्षरको पुजाई होइन । यो त अक्षरसँगको सहकार्यता हो । सायद एक यात्रा जहाँ एकले अर्काको अस्तित्वलाई सजिलै स्विकार्न सक्छन् । सायद यो यात्राको कुनै गन्तब्य रहने छैन । एकलाई फेरी फर्कनु छ । एकलाई फेरी अघि बढ्नु छ । कसरी अगाडी बढ्ने वा फर्कने दुबैलाई थाहा छैन । 

No comments:

Post a Comment

नेपथ्य

यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ...