Friday, August 22, 2025

कागज


के पानाहरु खाली छोडिदिउँ कविता अघिको कागज झै । यो बिरक्ति होइन । निसारता पनि होइन । थाहा छैन यो के हो । ब्यक्त गर्न जति सजिलो छैन तर बिना कुनै अभिब्यक्ति  बाच्न  पनि त गाह्रो छ । 

इस्परेन्जा आएकी छ सपनामा । उ चाहन्छे उ झै म पनि मेरो आफ्नो नामाकरण आफैँ गरु । हुन त म पनि उ झै बन्न चाहन्थेँ । उ सान्द्रा सिस्नेरोजको भूगोलबाट मेरो आगनमा आइपुगेकी म थिइ । पहिलोपटक उस्लाई भेट्दा लागेको थियो उ म नै हो । फरक यति हो उसको झै मेरो कपाल कुच्चो जस्तो छैन ।  उ झै म पनि कुनै दिन आफ्ना कथाका किताबहरु बोकेर पर भाग्न चाहन्थे र फेरी फर्कन चाहन्थे ।  तर त्यस्तो भएन म मेरा कथाहरुलाई बोकेर कही हिड्न सकिन । मेरा कथाहरु कहि कतै मेरो ल्यापटपको किबोडहरुमा चिप्किराखे जसरी रुखहरु जमिनमा चिप्कन्छन् । म कथा बोकेर कहि कतै पर भाग्न चाहन्थेँ । खै किन मैले भाग्ने भुगोल भेटिन ।

प्रिय स्परेन्जा, सपनामा तिमी आउनु नौलो होइन । तर तिमी किन आयौ भन्ने कुराले यदाकदा मलाई झस्काउँने गर्छ । म कथाका किताबहरु बोकेर कहि कतै पर भुगोलमा अरु कुनै कथा खोज्न म जान सकिन । मलाई थाहा थियो मसँग त जन्मदै मस्र्याङ्दीको धुन थियो र साथमा किनारा पनि थियो । मसँग बग्ने डुब्ने दुबै स्वतन्त्रता थियो । मस्र्याङ्दीले मलाई भाषा र लय दुबै दिएको थियो । तर नदिको भाषा बुझ्न पनि नदिभन्दा पर पुग्नु पर्ने रहेछ । बिना दुरी त आफैँलाई पनि नदेखिदो रहेछ ।

तिमी झै थाहा छैन कुनै आफैँलाई खोज्दै निस्कनेछु र आफूलाई भेट्ने छु वा छैन । नभेटिएकी आफूलाई खोज्न खै कहाँ धाउँनेछु । सायद तिमीलेझै लेख्नेछु अनि लेखेकोमा लाज मान्नेछैन । कुनै दिन तिम्रा पानाहरु कहि कतै तिमीले भनेकी थियौ “सेम इज ब्याड यू नो” । सायद कुनै दिन मैले पनि आफूले आफैँलाई यही भन्नेछु । 

  तर थाहा छैन किन तिमी सपनामा आएर गएको दिन मलाई सधै लाग्छ  मैले आफैलाई भेटेँ । यो यत्रो दुनियामा आफूझै लाग्ने तिमीझै अरु कोही भेटेकी छैन । कथाहरु बोकेर कही कतै भाग्ने फेरी आफ्नो झै लाग्ने हामी दुबैका सपनाहरु हुन् । मैले पुरा गरे तिम्रो हुनेछ । तिमीले पुरा गरे मेरो हुनेछ । अनि   कसैले नि पुरा नगरे थाहा छैन हाम्रा सपनाहर अरु कसको हुनेछ वा छैन । 

२०२५–८– २२

आज फेरी सपनामा तिमीलाई देखेँ । तिमीलाई देख्नु नौलो होइन तर तिमीलाई देखेको दिन म सधै दुखी हुन्छु । आफ्नो भुगोलले पोल्छ । आफ्नो वरीपरीको समाजले पनि पोल्छ । तँ केही होइनस् र थिइनस् भनेर छोडीजानेको बचनले पनि पोल्छ । कथा बनेर गएको उसले अमिलो बर्हिगमनले पनि पोल्छ । 

दिनभर पानि पर्यो । खोइ किन यो मुसलधारे पानीले म भित्रको आगोेलाई सान्त पार्न सकेन । बादलझै उड्न मन लाग्यो । कहिलेकाही त बादल होइन बतासनै भैदिउँ झै पनि लाग्छ । क्रोध छ । बर्षौदेखी खोइ कता गुम्सिएर बसेको छ । तिमीझै म पनि आफ्नो नाम आफैँ बनाउँन चाहन्थेँ । तिमीलाई झै मलाई पनि त धेरैले यस्ती छ कस्ताले लैजाले भने । कसेले नलग्ने हुनु अथवा मानिस नै भएर पनि बजारझै बिक्री हुँदिस् भनिदिनुको क्रोध त छ नि । त्यही बजार झै नहुनुको बिम्बमा तिमीझै म पनि अटाउँछु । खोइ किन जहाँ छु त्यहाँ म छैन भन्ने पनि लाग्छ । अटाउदिन भन्ने पनि लाग्छ ।  

कहिलेकाही त लाग्छ नि कति लुकेर बाच्नु । कति पात्र भएर आफैँलाई आख्यानझै हेर्नु । मलाई त आज पनि लाग्छ म मानिस कम र पात्र बढी हुँ । कहिलेकाही लाग्दैन किन मानकहरु हाम्रा लागि मात्र अड्चन बने । के हामी बनिबनाएका मानक बिनाका केही होइनौ र ? प्रश्न त सधैँ गर्छ नि मनले । चिच्याएर हिड्न पो सकिँदैन ।

म कथाको खोल ओडेर अक्षरमा झै स्वपनिल बनिरहन सक्दिन । प्रिय स्परेन्जा, किन हामीलाई मान्छेझे गर्दैन समाज । नअट्नुको पिडा त हुन्छ नि । कहिलेकाही तिमीलाई झै मलाई पनि मानिसहरु भनिदिन्छन् – तिम्रा कथाहरुले तिमीलाई पर लग्नेछ । तर मान्छेझै बाच्ननै नदिइकन पर लग्नुको के महत्व । कहिलेकाही त मलाई म जे थिएँ त्यो सबै च्यातिदिउँ जस्तो लाग्छ । यो झरीमा झरीझै लेखेका शब्दहरुमा मानिसहरु सुन्दरता देख्छन् । मलाई सुन्दर भन्ने शब्द नै मन पर्दैन । सक्थे भने त म शब्दकोशबाट नै त्यो शब्द च्यातिदिने थिएँ । 

यो चिच्याहटमा यी शब्दहरु कोरीरहेछु । यो कुनै बिद्रुप चित्र हो । म भित्र आगो छ थाहा  छैन कुनै दिन त्यही आगोले म जल्न पनि सक्छु । जले भने मसँगै मेरा कथाका पाण्डुल्पििहरु पनिजल्नेछन् । तर म नरहेपछि मेरा कथाहरुको के महत्व  ?बाज्न नदिने यो संसारभित्र बाचेझै गरेर लेखेका यी शब्दहरुको के महत्व ?

आकाशमुखी ः बान्की बान्कीका निबन्धको लयवद्घ यात्रा

 



कक्षाकोठा र परिक्षा हलमा बाहेक निबन्धका प्रकार यसको शिल्पको बिषयमा बिरलै छलफल हुने गर्छ । बिधागत रुपमा अल्लि रुखो जस्तो लाग्ने निबन्धको आफ्नै खासियत र बिशेषता बारे मोहन मैनालीको पछिल्लो अनुवादकृति आकाशमुखीले नेपाली पाठकहरुलाई अल्लि नजिकबाट हेर्ने सुअबसर दिएको छ । अनुवाद आफैमा सहज काम पक्कै होइन । स्रोत भाषाबाट लक्षित भाषाको यात्रा अनुवाद यात्रा हा े।  अनुवाद यात्रा एक कठोर शाहसिक यात्रा हो, यात्राका आफ्नै कठिनाहरु सधै हुने गर्छन् । तर मोहन मैनालीको गरेको यो अनुवाद यात्रा एक पाठकको दृष्टिमा मनमोहक  र साहसिक दुवै लाग्छ ।

अमेरिकी लेखक एडवार्ड होगल्यान्डले आफ्नो निबन्ध, “ह्वाट आइ थिङ्क, ह्वाट आइ एम” मा भनेका छन्, बैयक्तिक निबन्ध त मान्छेको सुमधुर बोली जस्तो हो, यसले मानिसको विचारको प्राकृतिक लयलाई लिपिबद्घ गर्छ र यसलाई छोटा कथाहरु भन्दा बिक्रि गर्न कता हो कता सहज हुन्छ  ।” उनले अभिब्यक्तिले निबन्धको शक्ति र यसको बृहततालाई जनाउँछ । तर सामान्यतया निबन्धको ब्यापकता र यसको शक्तिबारे हामी कम जानकार हौ कि भन्ने सधै महसुस हुन्छ । एकेडेमिया बाहेक निबन्ध लेखन र पठनमा नेपाली साहित्य जगत अल्लि पछाडी हो की भन्ने प्रश्नको उत्तर अब यस पुस्तकले अबस्य दिनेछ ।

बिभिन्न समयका निबन्ध लेखनमा सिद्घहस्त दस लेखकका दस निबन्धले जीवन, जगत, शिक्षा, पढन र लेखनबारे आ–आफ्नै दृष्टिकोणहरु ब्यक्त गर्छन् । फान्सिस बेकन देखि लिएर अल्दस हक्स्ले सम्म आइपुग्दा पुस्तकले हामीलाई करिब चार सय बर्षको यात्रा गराउँछ । रेनेसाबाट सुरु भएको यात्रा हक्स्ले सम्म आइपुग्दा हामी उत्तर–औपनिवेशमा प्रवेश गर्दछौ । पुस्तकले हामीलाई बिभिन्न समयका  निबन्ध लेखनका विषय र शिल्प मात्र नभएर फरक समयका विचारसँग पनि परिचिति गराउँछ ।

जसले नयाँ विचारमा विस्वास गर्छ उसलाई रेनेसा म्यान वा उमन भन्ने गरिन्छ । रेनेसालाई कला, संस्कृति र साहित्यको उर्वर समयमात्र नभएर आधुनितकता पहिलो खुट्किलो पनि मानिन्छ । त्यहि समयका रेनेसा म्यान बेकनको निबन्धले पढाईको बिरोधाभाषलाई नेपाली पाठकमाझ पत्रपत्र केल्याइदिन्छ । बेकन भन्छन्, “ पढाइमा अति धेरै समय बिनाउनु भनेको अल्छि हुनु हो । पढाईलाई आभूषणको रुपमा अति धेरै उपयोग गर्नु भनेको ढोङ हो । किताबी ज्ञानको भरमा मात्रै कुनै कुराको विवेचना गर्नु विद्वताको उपहास हो ।” भर्खरै प्रिन्टिक प्रेसको अबिस्कार भएर पढ्ने लेख्ने संस्कृतिको बिकास भएको समयमा उनले दिएको अभिब्यक्ति पक्कै पनि सर्वमान्य थिएन । उनको निबन्धमा त उनकै अभिब्यक्ति बिच पनि बिरोधाभाष भेटिन्छ । उनी भन्छन्, “कुनै कुराको महत्व नबुझी अर्काको खण्डन  र बिरोध गर्ने उद्वेश्य लिएर नपढ । अन्धधुन्ध बिश्वास गर्न पनि नपढ । कुरा गर्न र बहस गर्ने मसला पाउँने उद्वेश्य लिएर पनि नपढ । आफ्नो रुचिको बिषयको समिक्षा गर्न र त्यसलाई विचार गर्नका लागि पढ ।” कसरी पढ्ने र किन पढ्ने जस्ता अमूत प्रश्नको उत्तर दिने उक्त निबन्धको अनुवादले करिब चार सय अघिको विचार आज पनि किन सान्र्दभिक भयो भन्ने उत्सुतालाई अझ बढाउने काम गर्छ ।

हजार दुईहजार शब्दका निबन्धलाई लामो निबन्ध ठान्ने हामी नेपालीलाई पुस्तकमा अनुदित भर्जिनिया उल्फको निवन्ध “ अ रुम अफ वान्स ओन” ले अर्को झड्का दिन्छ । उल्फको अंग्रेजी निबन्धलाई नेपालीमा अनुवाद गर्न खोज्नु आफैँमा एक दुष्साहस हो । एउटा भाषाको उच्चतम प्रयोगलाई अर्को भाषामा रुपान्तरण गर्न सहज पक्कै थिएन । तर मैनालीले त्यो असहजतालाई सहजतामा बदलेका छन् । पाठकको रुपमा उनको यो काम अझ धेरै प्रशम्सनीय लाग्छ । तथापी निबन्ध भित्रका कतिपय कविताको अनुवाद पठ्दा सुन्दर भन्दा पनि अल्लि अमिल्दो महसुस हुन्छ । कविताको नेपालीकरणमा लेखक चुकेजस्तो लाग्छ ।

के पढ्ने कसरी पढ्नेवारे यदाकदा छलफल भए पनि लेखाइबारे कम नै छलफल भएका छन् । पुस्तकमा समेटिएको बेन जोनसोनको निबन्धले लेखाइबारेका धेरै भर्महरुलाई तोडिदिन्छ । लेख्न किन पढ्नुपर्छ र कसरी लेख्नुपर्छ भन्नेकुरालाई निबन्धले जोड दिन्छ । अग्रेजी कवि तथा नाटककार बेनजोनसनले यति सुन्दर, सरल र छोटो निबन्ध करिब पाँच बर्ष अघि लेखेका रहेछन् भन्नेकुराले म जस्ता धेरै पाठकलाई अचम्मित अवस्य बनाउँछ । तर उनको यो निबन्धलाई अनुवाद गरेर मोहन मैनालीले लेखक बन्ने सपना बोकेर हिडेका धेरैलाई मार्गदर्शन गर्न सहयोग गरेका छन् ।

पुस्तकको सबैभन्दा प्रभावशाली निबन्ध बुकर टि बाशिङ्टन को निबन्धलाई मान्न सकिन्छ । ब्यक्तिगत निबन्ध भएका कारणले पनि यसले धेरैलाई छुन्छ । पढ्नको लागि उनले गरको संघर्षले पढाइको महत्व र पढाई प्रतिको उनको लगावले निबन्ध अझ प्रेरणादायी बनेको छ । पढेर के नै हुन्छ र  भनेर बुझ्ने अहिलेका पुस्ताका लागि यो निबन्ध अझ बढी सान्दर्भिक बन्नेछ । 

सर रिचर्ड लिभिङस्टोनको निबन्धले हामीलाई किन बढ्ने भन्ने कुरा सिकाउँछ । पढ्नु भनेको कक्षाकोठामा गएर केही सिक्नु र परिक्षामा पास हुनुभन्दा धेरै गहिरो र बृहत चिज हो भन्ने कुरा उनको निबन्धले भन्छ । उनी भन्छन्, “हामीले शिक्षाको वास्तविक लक्ष्य थाहा पाएर हाम्रो शिक्षालाई त्यहीअनुरुप हाँक्नुपर्छ ।” त्यसैगरी उनी थप्छन् शिक्षित ब्यक्तिले साहित्य, कला, बास्तुकला र सङ्गीत जस्ता मानव सिर्जनशिलतालाई राम्रोसँग बुझ्नुपर्छ । 

एक पूर्व सैनिकले पहाडहरु माथि गरेको रुमानी ब्याख्याले  सर फ्रान्सिस योङहस्बेन्डको निबन्ध “बहुमूल्य पर्वतराज कञ्चनजङ्घा” लाई अझ बिशेष बनाएको छ । उनको यो निबन्धले बर्णनान्मक निबन्धको शक्ति र शिल्यको मिठो यात्रा गराउँछ । निबन्ध पढ्दा यात्रा गरेझै लाग्छ । यो निबन्ध निबन्धकारले गराएको हिमाली यात्रा हो ।

जर्ज बर्नार्ड शअ बारे धेरै बोल्नु नर्पला तर उनको निबन्ध स्वतन्त्रताले मानव जीवनको अस्वतन्त्रता बारे खुलेर बोल्छ । उनी भन्छन् मानिस पूर्ण रुपमा स्वतन्त्र प्राणी होइन ।  पूर्ण स्वतन्त्र बन्न्न नसके पनि आशिंक रुपमा भनेपनि कसरी स्वतन्त्र बन्ने भन्नेबारे उनको निबन्धले खुलेर बोल्छ । अब कुरा गरौ  जे.बी.एस हल्देनको र उनको निबन्धको । कक्षा ११ को अंग्रजी पुस्तकमा पनि समाबेश गरीएको उनको  निबन्ध, “ यत्ति भए पुग्छ त”  मेरो लागि सबैभन्दा परीचित निबन्ध हो । हामीले आफ्ना चाहनाहरुलाई कसरी सिमित गर्ने र जीवनमा आफ्ना रोजाइहरुलाई कसरी निर्देशित गर्ने भन्न्ो बारे यस निबन्धले राम्रो पाठ सिकाउँछ । मानवतावादी उनका विचारहरुले उनको निबन्धलाई थप बिशेष बनाएको छ ।

साइमन द मेस्थको निबन्धले बन्द कोठाभित्रको स्वतन्त्र बिचरणमा हामीलाई लग्छ । बन्द कोठाभित्रको त्यो स्वतन्त्र यात्राले हामीलाई एकान्तको बृहत्तर संसारमा पुर्याउँछ । “मनचिन्ते यात्रा” शिर्षक दिइएको उक्त निबन्धले हामीलाई विचार र दर्शनको गहिराइसम्म पुर्याउँछ । पुस्तकको अन्तिम अंशमा हामी छोटा र तर अझ शक्तिशाली निबन्धसँग साक्षात्कार हुन्छौ । निबन्धका प्रकारबारे अल्दस हस्लेको निबन्धले हामीलाई निबन्धलाई साहित्यको बिधाको रुपमा बुझ्न अझ् सहयोग गर्छ ।  साथै रिस्तो मनेस्कीको भर्याङको कथाले हामीलाई सर्वाहारा मजदूरको कथा भन्छ, त्यस्तो मजदूर जो अब मजदूर रहेन । कथाले पुस्तकको अन्त्यलाई सुन्दर बनाएको छ ।

निबन्धलाई हामी पढिहाल्ने बिधाको रुपमा बिरलै लिन्छौ । जति साहित्यका अरु बिधा बारे छलफल र बिमर्श हुन्छ निबन्धबारे बिरलै हुनेगर्छ । तर मोहन मैनालीद्वारा अनुदित यी निबन्धहरुले हामीलाई बिश्बपरिबेशका विविध प्रकारका निबन्धसँग साक्षात्कार गराउँछ । पुस्तकको आकार सानो भए पनि आख्यान झै एक बसाइमा पढ्न सक्ने वा पढ्ने पुस्तक यो पक्कै होइन । र पनि अनुवादकको रुपमा मोहन मैनालीको उपस्थितिलाई पुस्तकले दरो बनाएको छ । कमजोरी बिहिन अनुवादको कल्पना गर्नु आफैमा एक स्वप्न चित्र हो ।  चाहेर पनि एक भाषाको कृति उही रुपमा अर्को भाषामा प्रस्तुत गर्न सम्भव छैन र पनि मैनालीको काम प्रशंसायोग्य छ । साञ्चै भन्दा यो पुस्तक बान्कि बान्किका निबन्धको नेपाली यात्रा हो । यो करिब चार सय बर्षलाई बुझ्न सकिने विचार र दर्शनको लयबद्घ यात्रा हो ।


Tuesday, August 19, 2025

र्मिमिरे

 

बिहानै छ । बिहानै भएर पनि बिहान भैसकेको छैन । न उज्यालो छ । न घाम लागेको छ । न फूल फूलेका छन् । न मानिसहरुका पाइला सडकमा परिसकेका छन् । बिहानी पनि रातझै अध्यारो छ । अध्यारो छ तर प्रिय बनेको छ । मलाई यस्तै बिहानी मनपर्छ । यो रातझै कठोर पनि हुँदैन तर मानिसलाई मानिस बन्ने स्वतन्त्रता दिन्छ ।

कोठा असरल्ल छ । किताबकापी छरिएका छन् । अछ्यान मिलेको छैन । सिरक जताततै फैलिएको छ । मस्त झ्यालबाट बाहिर हेर्दै छु । सडकका बत्तिहरुले एक तमासको उज्यालो दिएका छन् । हल्का चिसो छ । नदी किनाराझै कहिबाट बगेको आवाज आउँदैछ । यही हो र्मिमिर यहाँ म छु र केही उज्यालो मिसिएको छ ।

कुकुरहरु भुक्न थालिसकेको छैनन् । नानीहरु रोएको आवाज मेरो कानमा आइसकेको छैन । सायद चराहरु पनि यात्राामा निस्किसकेका छैनन् । यो हल्का अध्यारोभित्र एक तमासको उज्यालो मिसिएको छ । यही समय त हो जब म आफ्ना औलाहरुलाई किबोडमा निस्फिक्रि दौडाउन सक्छु । रातझै यसले पनि मलाई आफू बन्ने स्वतन्त्रता दिन्छ ।

यौ बिहानै बिउँझिएर  किबोडहरमा आफ्ना औलाहरु दौडाउनु पनि स्वतन्त्रताको खोजी मात्र हो । केही समय पछि मानिसका पाइलाहरु सडकमा पर्न थाल्नेछन् । चराहरुको चिरबिर मानिसहरुको खलबल, नानीहरुको आवाज तपाइको कानसम्म पर्न थाल्नेछ । त्यसपछि तपाई समय र वातावरणको बन्धनमा पर्न थाल्नुहुनेछ । त्यसैले पनि चराहरु फूलहरु उठ्नुअघिको बिहानी मात्र बिहानी हो । त्यो समयलाई कैद गर्नु आफू बन्नु हो । 

Monday, August 18, 2025

पर ..... कति पर

 

एक यात्रा । एक मानिस । एक जोर पाइलाहरु । पाइलालाई पछ्याएका एक जोर छाँयाहरु । यात्रा न हो । हरेक दिन यात्रीभmै महशुस हुन्छ । पाइलाहरु बेगर पनि हृदय हो , यात्रा गर्छ । मनको यात्रा न हो । यात्राका पाबन्धीहरु छैनन् । सिमानाहरु छैनन् । गन्तब्य छैन । परिधिहरु छैन । एक त्यस्तो यात्रा जहाँ म छु र मेरो मन छ । मन न हो यात्रा गर्छ ।

जानु छ पर कतै । कति पर – थाहा छैन । कहाँ– त्यो पनि थाहा छैन । किन– त्यो पनि थाहा छैन । तर जानु छ कहि । आफैँसँग पर जहाँ आफ्ना पदचापहरुले आफैँलाई नचिनुन् । म को हुँ ? को थिएँ ? मेरा माता पिता को हुन् ? त्यसले कुनै अर्थ नराखोस् । त्यस्तो यात्रा जहाँ म अपरिचितहरुमाझ अपरिचित नै बनिदिउँ । म बेखबर सडकमा बरालिन सकुँ । अपरिचितमाझ बेप्रवाह खुल्न सकुँ । पानीझै परपर बग्न सकुँ । 

पर......कति पर । के दुरीहरुलाई नाप्न सकिन्छ । म त चाहेर नै दुरीहरु बनाउँन चाहन्छु । त्यस्तो यात्रामा जान चाहन्छु जहाँ म आफैँले आफैँलाई चिन्न नसकुँ । यो सपना थियो र रहिरहनेछ । म दुरीहरुमा जिउँन चाहन्छु । सबै चिज केही परबाट नै सुन्दर देखिन्छन् । जस्तो कि चित्र । जस्तोकी तिमी । जस्तो कि म । यो सपनाको अर्काइभ हो । थाहा छैन कुनै दिन म त्यस्तो ठाउँमा पुगेँ पनि लेख्ने छु वा छैन । वा म त्यो सपनाको स्ांसारमै रुमलिनेछु । वा मस्तले मेरा सपनाहरुलाई लिपिबद्ध गर्नेछु । थाहा छैन के गर्नेछु ।

बषौदेखी त्यही सपना बोकेर हिडिरहेछु । कहिलेकाही आफ्नै घरले पोल्छ । आफ्नै ओछ्यान पनि कठोर लाग्न थाल्छ । एक पन्छिझै उड्ने सपना हो यो । मेरो डायरी र मेरा किताबहरुले मलाई साथ दिनेछन् । म जो थिएँ र जो हुँ त्यो हुन चाहन्न । कथाहरुले पनि कहिलेकाही आफैँलाई गिज्याएझै लाग्छ । पाइलाहरुले बिना पावन्दीको यात्रा नगरेको धेरै भयो । म कुनै अन्जान सडकमा बसेर लेख्न चाहन्छु । कुनै अन्जानसँग कफि पिउँन चाहन्छु ।  कुनै अन्जान झरीमा रुझ्न चाहन्छु । म जो छु र जो थिएँ त्यो हुन चाहन्न । 

कहिलेकाही आफ्ना परिधिहरुहरुमा आफैँ निस्सासिए झै लाग्छ । र त्यस्तो धेरै पटक भएको छ । म रुखझै जे छु र जे थिएँ त्यसैमा रमाउँन सक्दिन । कहि कतै मातेर बरालिन मन छ । मेरो बाटोले मलाई बरालिने स्वतन्त्रता दिँदैन । आफैँ बनेर कुनै सडकमा बहकिन दिँदैन । तर मन हो बरालिन चाहन्छ । मातिन चाहन्छ । मलाई आफू मातेको हेर्न मन छ ।

यो लेख्न थालेको पनि धेरै भयो । तर मन न हो दोहोर्याउन चाहन्छ । कहि पर जान चाहन्छ । अन्जान सडकलाई अनुभूती गर्न चाहन्छ । घरले कहिले पनि तानेन । यो गुड छोड्न चाहनेको कथा हो । थाहा छैन छोडेपछि मनले फेरी फर्क भन्न चाहन्छ वा चाहन्न । यस्तै केही अन्जान सपनाहरु बोकेर हिड्न थालेको पनि बर्षौ भएछ । थाहा छैन किन नदीझै बग्नुको बिम्ब सधैँ सुन्दर लाग्छ ।  मलाई बग्नु छ ।

  यो अन्जान हावाझै बहकिने सपनाहरु बोकेर बाचेका बर्षहरु गन्छु । गन्ति न हो । अंकहरुलाई जोड्न थालेँ भने म निस्सासिन्छु । तर निसास्सिनुले कुनै अर्थ राख्दैन । आज पनि म त्यसरीनै अन्जान सडकमा बहकिने सपना देख्छु । थाहा छैन यस्ता सपना बोकेर हिडिरहने कति छौ । 

कहिलेकाही लाग्छ आफैँलाई बुझ्न पनि केही पर पुग्नुपर्ने हुन्छ । दुरीहरु दुरीहरु मात्र होइनन् आफैँलाई हेर्ने आँखिझ्यालहरु पनि हुन् । पर जानु छ । आफैँदेखी पर । घरदेखी पर । आफ्नै सिमानाहरु पर । गन्तब्य देखी पर । पर कतै क्षितिजमा । तर कति पर थाहा छैन ।

म यी सबै कुराहरु पानामा उर्ताछु  तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाधेर राख्दैन । मलाई उड्न दिन्छ आफ्नै सपनाको उडानमा ।

एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु । र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु । तब म उसलाई सदासदाका लागी हृदयमा  राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।

साथीहरु र छिमेकीहरुले भन्नेछन् के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापी सँगै गैइ ? किन ऊ यति पर गैइ ?

तर उनीहरुलाई थाहा हुनेछैन म फर्कनकै लागी गएकीे हु  ।  उनीहरुको लागी जसलाई मैले पछाडि छोडे ।  उनीहरुको लागी जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।

प्रिय स्परेन्जा,

यो कथा तिम्रो मात्र होइन मेरो पनि हो । थाहा छैन कहिले तर कुनै दिन म पनि आफ्ना कथा र डायरीहरु बाकेर पर कतै जानेछु । सायद तिम्रा झै मेरा छिमेकीहरुले पनि सोध्लान् उ किन गै । किन बिना लोग्ने एक्लै आफ्नो माटो छोडी । तर तिमीझै म पनि फर्कनकै लागि गएकी हुनेछु । यो पुगेर फर्कनुको चाहना हो बगेर अडिनुको होइन ।

मूक्त

 

    स्कुलबाट फर्किदै छु । छोरी म दुवै थाकेका छौ । पानी परेको छ । छोरी र म एउटै छातामा छौँ । मेरो एक पाखो निर्थुक भिजिसकेको छ । “मामू आज घर गएपछि मम खाने है” । छोरी भन्छे म केही बोल्दिन । “हस् भन्नुस् न” उ फेरी जोड दिन्छे । म हुन्छ भनेझै गर्छु ।

कोठामा आइपुग्दा झमक्क साँझ परेको छ । बिहान पकाएका र खाएका भाडाहरु बेसिनमा त्यसै छन् । बिहान खाएका भाडाहरु असरल्ल परेर मैलाई हेरीराछन् । कोठामा लुगाहरु असरल्ल फैलिएका छन् । मिलाउँन कहाँबाट सुरुगर्ने मैलाई थाहा छैन । 

यतिकैमा बाहिर केही मानिसहरु आएझै लाग्छ । चिनेको स्वर जस्तो पनि लाग्छ । यीनै हुन् भनेर नहेरी छुट्याउँन सक्दिन ।  किचनको झ्यालबाट हेर्छु । चिनेका तर चिन्न नचाहँने केही अनुहारहरु छन् । बाहिर उनीहरु कसैलाई सोध्दै छन् , “पुनम बस्ने घर यही होइन र ?” बाहिर कसैले हो भन्दैछ । उनीहरु सरासर भित्र पस्छन् ।  म उनीहरुलाई नदेखेझै गर्न सक्दिन ।

म किचन नभएर सुत्ने कोठामा लग्छु । नानी अलमलमा पर्छे । आएकामध्धे एउटीले भन्छिन्, “नानी मलाई चिन्यौ म तिम्रो ठूलोमामू !” छोरी अलमल्लमा परेर मलाई हेर्छे । नमस्ते गर्छे । म केही नभएझै गर्छु । चिनेर पनि नचिनेझै गर्छु । उनले भन्छिन् “नानु त ठुली भेसकिछन् है” म मुन्टो हल्लाउँछु मात्र । छोरीलाई किचनमा गएर पढ भन्छु ।

“यतिका समयपछि किन सम्झनु भयो?” म अरु कुनै भूमीका नबाधी सोध्छु । “पुनम, खै के भन्ने तिम्रो गल्ति भन्न पनि म सक्दिन । तर कि घर फर्क कि डिभोर्स देउ । यसरी रमेशको जिन्दगी बरबाद नबनाइदेउँ ।” म केही भन्न सक्दिन । अचम्म लाग्छ । छोरी दश बर्षकी भै उसले देखेको छैन । बर्बाद त उसको जीन्दगी पो भएको रहेछ । सजिलो त मलाई पो रहेछ । अब मैले उसको जीन्दगी सपारीदिनुपर्ने रहेछ ।

एक्कासी काम ज्वोरो आएझै हुन्छ । मुटु मज्जाले धड्किन्छ । “ म अहिले केही भन्दिन दिदी जानुस्” म बिनम्र भएझै गरेर आग्रह गर्छु । उनीहरु भन्छन्, “तिम्रो कुरा केहो भन, यसरी अड्काएर नराख” । म केही बोल्दिन । आखाबाट आशुझै केही बग्छ । केहीबेर उनीहरु कुर्छन् म केही नबोलेपछि जान्छन् । उनीहरु गएपछि अर्को कोठामा भएकी छोरी एकाएक भित्र पस्छे । “मामू उनीहरु को हुन्, म उनीहरु तेरा आफन्त पर्ने हुन् भन्न सक्दिन ।”

  जब छोरी गर्भमा आएको ६ महिना भएको थियो रमेश जापान गएको गयो । उसलाई कमाउँनुपर्ने बाध्यता थियो । आफन्तहरु उसको निर्धोपनलाई वा बेरोजगारी पनलाई हाँसाकोे रुपमा लिने गर्थे । गर्भकी छोरी बढ्दै थिई उ बिदेशीने दिन नजिकिँदै थियो । मैले उसलाई नजाउ पनि भन्न सकिन । बढ्दै गरेको सन्तानलाई केही राम्रो हुन्छ कि भन्ने मलाई पनि लाग्यो । जाने अघिल्लो दिन हामी दुबै नराम्ररी रोयौ । उ गयो । उ गएसँगै त्यो घरमा मेरा आफन्त नरहेझै भयो । 

ससुरा नभएकी बुढी सासुलाई समाल्दा समाल्दै म आफैले आफैलाई समाल्न गाह्रो भएको थियो । उ जाँदा करीव १५ लाख रिन लागेको थियो । रिन चाँडै तिरौ भनेर पनि होला उ मसँग पनि कम बोल्थ्यो औपचारीकता मात्र । मलाई लाग्थ्यो उ बेस्त भएर होला । बिहान के छ कहिले कलमा कहिले सानो म्यासेज र बेलुका त्यस्तै हामी दुबैले गर्ने गफ त्यती मात्र हुन्थ्यो । म थाकेकी हुन्थेँ । आफैँ देखीेँ घर देखी । तर थाहा थिएन किन ति स–साना म्यासेजहरु पनि पातलिन थालेका थिए । 

त्यस बिचमा मलाई आफ्नो कुरा भन्ने साथी चाहिएको थियो । अशोक, मेरो केटाकेटी देखीको साथी थियो । अरु खास केही थिएन तर आफ्ना कुराहरु हार्मी एक अर्कालाई भन्ने गथ्यौ ।  मलाई आफ्नो कुरा सुनिदिने मान्छे चाहिएको थियो । रमेशसँग त्यो समय र इच्छा दुवै थिएन । रमेशलाई पनि उ मेरो साथी हो भन्ने बिहे अगाडी नै थाहा थियो । नानी जन्मने समय भैसकेको थियो एकदिन बिहानै रमेशको फोन आयो । त्यसरी बिहानै धेरै पछि फोन आएको थियो । म खुसी नै भएकी थिएँ । तर उ अचानक चर्को स्वरमा बोल्यो , “को को नाठो सँग बोल्छेस् । म नभएपछि रण्डी हुन मन लागेको हो” । उसको कुराले म भूइमा खसेझै भएँ । आँखाबाट आसु रित्तिए । रमेशले मलाई त्यसअर्घि  कहिल्यै त्यसो भनेको थिएन । उसले त मलाई तँ पनि मायाले कहिलेकाही मात्र भन्थ्यो । हामीले माया गरेर एकअर्काका भएका थियौ । मलाई कहिल्यै लागेको थिएन उसले मलाई कुनै दिन त्यस्तो भन्नेछ ।  त्यो दिन मैले उसको उत्तरमा केही भनिन । मलाई उसले किन त्यस्तो भन्यो भन्ने पनि थाहा भएन ।

केही दिन पछि मेरो चलिरहेको फेसबुक चल्न बन्द भयो । मेरो फेसबुक उसको र मेरो दुबैको मोबाइलमा लगइन थियो । त्यसपछि मात्र थाहा भयो उसले किन भनेको रहेछ भन्ने । त्यसपछि मैले सम्पर्क गर्ने कोशिस गरिन । कहिलेकाही के छ कस्तो छ भनेर आमालाई फोन आउथ्यो । यसअघि मेरो खातामा आउँने पैसा पनि छुट्ठिएर बसेका जेठाजुको खातामा आउँन थालिसकेको थियो । मैले केही भनिन  न सासुलाई भने न जेठाजुलाई नै । मलाई लागेको थियो उ मलाई माया गर्ने मान्छे हो । बच्चा जन्मेपछि सबै सामान्य हुनेछ । 

त्यसपछि करिब दश दिनमा छोरी जन्मि । छोरी जन्मिएको दिनमा पनि मलाई छोरीको अनुहारको भन्दा रमेशको फोन कलको प्रतिक्षा थियो । सायद सासु आमाले भन्नुभयो छोरी जन्मि भनेर  तर उसले मलाई के छ भनेर पनि सोधेन । त्यस दिनपछि मैले चाहेर पनि उसलाई  माया गर्न सकिन । छोरीको न्वारन गरेपछि म आफ्नो माइती फर्के । थाहा छैन उसले कहिल्यै आफ्नी छोरीको अनुहार देखेको छ वा छैन । 

दिनहरु बिस्तारै बिस्दै गए । आमा भएपछि सन्तान भन्दा ठूलो अरु केही नहुँदो रहेछ । मेरो जीवन छोरीको लागि बन्दै गयो । म फेरी उसको घरमा बिना उसको कुनै उपस्थििती फर्कने मोडमा थिइन । आमा बालाई भन्न सजिलो थिएन । तर आमालाई एक प्रकारको संका अवस्य थियो । यतिका महिना बस्दा उससँग कुनै सम्पर्क नभएको आमालाई सायद थाहा थियो । तर आमाले जान्न आवस्यक थियो । अरुले नबुझे पनि आमाले बुझ्नुहुन्छ भन्ने मलाई लागेको थियो । जब आमालाई भने आमाले केही भन्नुभएन तर मैले आफ्नो आशु रोक्न सकिन ।

खोइ आमाले बालाई के भन्नुभयो बाले मलाई केही सोध्नुभएन त्यसपछि । दिनहरु बित्दै गयो छोरी एक बर्ष पुरा भएर दुईकी भएपछि । आमाले एकदिन “समाज खराब छ नानी, तँ हामीसँग बसी नराख । काम खोज बाहीर अनि अन्त कतै बस । चाहिएको सहयोग हामी गर्छौ ” । आमाले दिएको सल्लाह खराब थिएन । बिए पास गरेकी थिएँ । टिचिङ लाइसन पनि थियो ।बल्लबल्ल साना नानीहरुलाई पढाउँने काम पाएँ । तालघरे बाट म दमौलीमा बस्न थाले । 

बर्षहरु बित्दै गए । तर रमेशको कहिल्यै फोन खबर आएन । सासूआमाले भने कहिलेकाही गर्नुहुन्थ्यो । छोरीलाई फोनमा देखाइदेउ पनि भन्ने गर्नुहुन्थ्यो । समय सँगै बाध्यताहरु बढ्दै गए कमाउनुपर्ने । छोरीका आवस्यकताहरु पुरा गर्ने । उसको र मेरो सम्बन्ध त त्यही दिन सकिएझै भयो जुन दिन उसले मलाई रण्डी भनेको थियो ।  यतिका बर्षहरुमा म उसका लागि के भए थाहा छैन । म उसकी नभए पनि छोरी त हामी दुबैकी थि उसले त्यो कुरा पनि किन बुझेन । छोरीलाई आजसम्म मैले तेरो बाउँ यो हो भनेर देखाउन सकेको छैन ।

थाहा छैन आज उनीहरु किन आएँ । त्यो नामको मात्र सम्बन्धलाई के भनेर अन्त्य गर्ने वा के भनेर जोगाइराख्ने । यतीका बर्ष भएर पनि नभएझै भएको मेरो छोरीको बाउँलाई तेरो बाउ भनेर कसरी चिनाउँने वा कसरी नचिनाउँने । 

यतिकैमा छोरी मेरो हात समात्छे मज्जाले मलाई लाग्छ मैले नभने पनि उसलाई सब थाहा छ । म पहिलेझै शान्त छैन । मामू चिया खानुहुन्छ बनाइदिउँ म उसका शब्दहरु झल्यासँ हुन्छु । मनले भन्छ म फर्कन चाहन्न । तर हुँदै नभएको सम्बन्धलाई कागजमा छैन भनेर वा  तँ मबाट मूक्त भैस भनेर भन्न पनि चाहन्न ।

Saturday, August 16, 2025

बिष्मृति


बर्षौ भयो केही बिसर््ान खोजिरहेको । बिर्सन खोजेर पनि सम्झिरहन्छु । बिर्सन खोजेको पनि हो । बिर्सन नसकेको पनि हो । सम्झन मन नलागेको पनि हो । कहिलेकाही लाग्छ बिर्सेर म कहाँ जाउ । मैले टेक्ने जमिन । मैले समाउँने जरा र मैले बाच्ने समाज यही हो । तर बिर्सन चाहन्छु । बिर्सेर कतै हराउँन चाहन्छु । कुनै अन्जान सडक अपरिचित बनेर आफैलाई खोज्न चाहन्छु ।

यो अध्यारो कथा बनी मसँगै बाचिरहेछ । हरेक चैत एक हुरी बनेर आउँछ । म टाइमलाइनमा एक सन्त महात्माझै आफ्नै आघातहरुलाई शिद्घान्तमा बाध्छु र कसैले नबुझ्रने भाषामा केही बोल्छु । म बिम्बमा बोलेझै गर्छु । पढ्नेलाई लाग्दा यी सुन्दर शब्दहरु कुनै उज्यालो क्षितिजको एक उज्यालो पाना हो । तर त्यस्तो होइन म बिर्सनलाई अन्तिमपटक सम्झेझै गर्छु । सायद आघातका कथाहरु यसरी नै लेखिन्छन् । म चाहन्छु मलाई संसारले संग्लो मानिसको रुपमा बुझोस् । तर म सग्लो मानिस कहिल्यै थिइन । र हैन । मेरा लागि हरेक फागुन र चैत हुरी बनेर आउँछन् अब त्यसमा मंशिर पनि थपिएको छ ।

केटाकेटीमा साथी नभएर कुनामा लुक्ने मानिस, अल्लि ठूलो भएपछि आफन्तको भिडबाट अझ पर भाग्ने मानिस । आज पनि भिडमा हराइदिने मानिस म भित्रै छ । कहिलेकाही लाग्छ चिच्याएर कसैलाई भनिदिउँ सग्लो हुन सजिलो छैन । म सग्लो हुँदै होइन । म चाहेर पनि सग्लो बन्न सक्दिन । 

थाहा छैन यी किबोडहरु मेरा बिष्मृतिका साक्षिहरु कहिलेसम्म बन्नेछन् । मलाई अपनाउनेछन् वा कुनै दिन आत्तिएर छोडिदिनेछन् । तर म यी सब कुरा बिर्सन चाहन्छु । एक शुन्य सुरुवातको आशामा छु जहाँ म सँग मेरा आफ्नो इतिहासको अबसेस रहनेछैन । म आफैँलाई प्रेम गर्न थाल्नेछु र आफैँजस्तो अरु कोहीलाई पनि प्रेम गर्न थाल्नेछु । म सँग मानिस हुनुको आत्मासम्मान बाकिरहनेछ । तर थाहा छैन त्यो दिन आउँनेछ वा आउँनेछैन ।

अरुको अगाडी अघुताभाषको अनुभूती सँगै जीउनेहरुको सायद यो साझा कथा हो । कहिलेकाही लाग्छ लेख्नु मेरो लागि मेमोरी वर्क मात्र हो । किनकी यसपछि म हलुका हुन्छु । कहिलेकाही अक्षरहरुले त्यस्तो स्वतन्त्रता दिन्छन् जो अरु चिज केहीले दिन सक्दैनन् । हो मेरा पखेटा र मेरा जराहरुको आधार अक्षरहरु नै हुन् । म हिड्ने आधार र म बाचेका भूगोल पनि अक्षरहरु मात्र हुन । सम्भव भए म सबैसँग लिखित अक्षरहरुमा बोल्थेँ ।

कहिलेकाही लेख्न सक्ने भएकोमा भाग्यमानी ठान्छु । सायद म सँग लेख्ने सिप नभएको भए मैले टेकेको आधार हलुका र अझ झिनो बन्ने थियो । कहिलेकाही आफैँलाई प्रमाणित गर्नको लागि पनि मानिसले अप्ठ्यारो बाटो रोज्छ । सायद लेखाइ मेरो लागि यो त्यस्तै केही हो । 

बिरलै संरचनामा लेख्छु किनकी यो मेरो रोजाइ थिएन । जब मानिस आफ्नै लागि केही बाटाहरु रोज्छ त्यसमा रोजाइ भन्दा उपलब्ध स्रोत साधन नै पहिलो आधार बन्छ । म चित्रकार पनि बन्न सक्थेँ । मलाई रंगहरु आज पनि असाध्दै मनपर्छ । तर हुर्कदै गर्दा समँग रंगसम्म पुग्ने स्रोतसाधन थिएन । अक्षरसम्म पुग्न सजिलो थियो किनकी अक्षरहरु सस्ता थिएँ । एक मानेमा सजिला पनि थिए ।

कहिलेकाही आफ्नै द्धोयस र आघात बोकी लेखेकोमा पछुतो पनि लाग्छ । मलाई लेख्ने मान्छे बिना पिडा पनि लेख्न सक्नुपर्छ भन्ने लाग्छ । लेखाई स्मृति  वा बिस्मृतिरमण होइन । र पनि कति कुरा बिर्सनैको लागि लेख्छु । मलाई लेखाई शिल्प हो भन्ने बिरलै लाग्छ । हुनसक्छ लेख्दै गर्दा मानिसले आफ्नै खाले लेख्ने कला समाउँछ त्यो स्वभाविक हो । एक छोरी मान्छेले म लेख्न मनपराउँछु भन्नुलाई आज पनि समाज महत्वपूर्ण ठान्दैन । मेरो परिपारलाई आज पनि लाग्छ मैले लेख्नुले केही महत्व राख्दैन ।त्यसैले यो निजात्मक तर मैले आफ्नै लागि रोजेको राजनैतिक बाटो पनि हो । म आफ्नो कथा आफ्नै तबरले लेखेर मर्न चाहन्छु । म चाहन्न म मरेपछि मानिसहरु मलाई रोमान्टिसाइज गरुन् । व एक मानिस हुनुका आघातहरु चाहेर नचाहेर हामी सबैसँग नै हुन्छन् । म त्यो आघातहरुलाई आफ्नै तबरले अकाईभ गर्न चाहन्छु ।

थाहा छैन किन मलाई यी असंरचनात्मक अक्षरको यात्राले आफै आफ्नै आघातहरु बाट मूक्त  हुन खोजेको अनूभूती दिन्छ । यो लेख्दै बिर्सदै गर्ने छायाँको बाटो हो । बिर्सन खोज्नु भनेको अगाडि बढ्ने प्रयास गर्नु पनि हो ।

आफ्नै एकान्तको साक्षि बनेर आफैँलाई चिहाउँन सजिलो छ पनि छैन पनि । तर यो रोजाइ थिएन । हुर्कदै गर्दा आफ्नो समाजभित्र अट्न नसकेको अनुभूती गर्ने एक किशोरीले रोजेको आफैँसँग वार्तालाप गर्ने एक बाटोमात्र थियो । आज आएर कहिलेकाही अनुभूती हुन्छ अभिब्यक्ति भन्दा ठूलो स्वतन्त्रता अरु केही रहेनछ । आज पनि कहिलेकाही त्यो दुखी, एक्ली, सबैले नराम्री काली भनिदिने फूच्ची किशोरीलाई देखेर माया लाग्छ । यो उसले रोजेको बाटो थियो । त्यो बाटो सजिलो थिएन । कसैले उसलाई पढिदिएला की भन्ने डर पनि थियो । नबुझिने तरिकाले लेख्ने शिल्प थिएन । अरुले बुझेँ भने के भन्लान भन्ने लज्जा पनि थियो । 

यही लज्जा, पिडा र स्वतन्त्रता बिच कोही लेखिरहेछ भने त्यो आफैँलाई बुझ्न रोजको मेमोरी वर्क मात्र हो । यसलाई जे ठान्दा पनि हुन्छ स्वतन्त्रता, रोजाइ वा अचल्तिको बाटो ।

एक अन्त्य एक सुरुवात


प्रिय तिमी,

थाहा छैन अब यी अक्षरहरुले केही अर्थ राख्छन् वा राख्दैनन् । अब अक्षरमा मात्र ब्यक्त हुनु एक सकस झै भैसकेको छ । म तिमीसँग सम्पूण रुपमा पोखिन चाहन्छु । मलाई लाथ्यो शब्द मार्फत सुरु भएको हाम्रो यात्रा शब्दमा नै अन्त्य हुनेछ । तर त्यस्तो नहुदो रहेछ । अक्षरका सिमानाहरु रहेछन् । सम्बन्ध सिमा बिहिन हुदो रहेछ । हरेक अप्रिय पनि प्रियझै लाग्ने । हरेक असुन्दर चिज पनि सुन्दरझै लाग्ने ।

तिमीलाई यी कुराहरु सुन्दा अनौठो पनि लाग्न सक्छ । तर यो मेरो अनुभूती हो । तिमी झै म पनि तिमीसँग झुटो बोल्न सक्दिन । मलाई कहिल्यै लागेको थिएन म कसैका लागि यस्तो अनुभूती कुनैदिन गर्नेछु । तर नसोचेको कुरा सोच्न थालेकी छु ।

आजकल लाग्छ, अब केही चिज अन्त्य गरेर केही चिज सुरुवात गर्नुछ । आउ केही चिजको अन्त्य र केही चिजको सुरुवात गरिदिउँ ।

उही 

तिमीलाई चिठी लेख्ने म


.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...