Thursday, December 11, 2025

अन्त्य


एक कथा बनेर उ गैसकेकी छ । जाँदै गर्दा उसको हातको न्यानोपनले मलाई छोड्न सकेको छैन । जाँदै छ भन्ने लाग्नु र जानु..... एक हुँदै होइन । डायरी पल्टाउँछु । उसलाई पहिलोपटक देखेको दिन लेखेको रहेछु , “ पहिलोपटक कसैलाई देखेँ । लाग्यो उ आफ्नो हो ।” अहिले पनि मनले त भन्छ उ आफ्नै हो । तर अर्को मनले भन्छ उ आफ्नो भएर पनि आफ्नो होइन ।

जाँदै गर्दा उसले अँगाली मैले पनि अँगाले । त्यो अन्तिम अँगालो अन्त्यको अँगालो थियो । उ गएपछि उसका हातहरुले, उसको शरीरले छोएको सम्झे । उसको शरीरको न्यानोपन पनि सम्झे । फेरी अर्कोपटक हातमा काँडाहरु उर्मे । शरीर लुलो भयो । आँखाबाट पानीझै केही बग्यो । 

त्यो न्यानोपन अब म चाहेर पनि महसुस गर्न सक्दिन । हो अन्त्य जरुरी थियो । जम्नु भन्दा बग्नु नै ठिक । बिष्मृति बन्नुभन्दा कथा बन्नुनै ठिक । तर उ आफ्नो होइन भनेर स्विकार्न सजिलो छैन । फेरी अर्कोपटक उसको स्पर्श सम्झन्छु पहिलेझै फेरी शरीरमा काँडा उर्मन्छ ।

उ अरु कसैको हो मनले मान्न सक्दैन । तर सत्य त्यही हो । करिब एक महिना अघि उ अरु कसैकी भै । मलाई अँगाल्दा पनि उसको सिउँदोमा अरु कसैको सिँदुर थियो । मैले झै कयौ पटक अरु कसैले उसलाई चुमिसकेको छ । अँगाली सकेको पनि छ । मेरो हो भनेर दाबी पनि गरिसकेको छ । तर किन मन अझै मान्दैन उ अब अरु कसैको हो । 

उसले सजिलै म कसैको बन्छु भनेकी पनि त होइन । मलाई तिम्रो बनाउ भनेकी पनि हो । म काँतर थिएँ , मैले बनाउँन सकिन । म उसलाई आफ्नो भन्न सक्दिन भने अरु कसैको हो भन्दा किन दुखी भएँ वा छु । उ अरु कसैको भएको दिन उसलाई भेट्न गएको पनि हो । उसलाई अरु कसैले सिन्दुर हालेको देख्न नसकेर भागेको पनि हो । त्यस दिन रातभर निदाउँन नसकेको पनि हो । तर किनकिन उ गएपछि उसँगै म आफैँ भित्र केही चिज छोडेझै भएको छु । सायद उ नहुनुको भाग म भित्र कतै सधैँ रहिरहनेछ ।

उ भन्ने गर्थि, “ थाहा छ कविर, म तिम्रो अँगालोमा सबैभन्दा सुरक्षित महसुस गर्छुृ । मलाई अहिलेसम्म तिमीलेजस्तो आफ्नोपनको आवास कसैले दिन सकेको थिएन” उसको कुराले म मख्ख पर्थे ।

तर कथा यतिमात्र होइन । मलाई मेरो भएको भए हुने भन्ने नलागेको पनि होइन । तर किन किन लाग्यो म उसलाई खुसी बनाउँन सक्दिन । मैले आट्न सकिन । कथा निर्दोपनको पनि हो । म सँग आट छैन । म एक निर्दो छोरामान्छे हो । उ त आटिली हो । मलाई आफ्नो बनाउ भनेकी पनि हो । नमानेपछि पर गएकी पनि हो । 

मैले उसलाई प्रेमझै केही गरेको हो । प्रेम गर्छु भनेर चुमेको पनि हो । उसलाई आफ्नो होस् भनेर अँगालोमा कसेको पनि हो । उसको लागि आँसु झारेको पनि हो । तर प्रेमझै केही गरेको भएर नै मैले उसलाई अरु कसैको बन भनेको पनि हुनसक्छ । तर मन हो यदाकदा छटपटि हुन्छ । उ झै अरु अब भेट्दिन भन्ने पनि हुन्छ । उ नभएको खालिपनले यति सताउँछ कि म आफूलाई रित्तो भेट्छु ।

रात रात भर बोलेको सम्झन्छु । ति रातहरु सम्झदा अहिलेपनि बहकिन्छु । म कस्तो बेबकुफ उससँग रात पनि सुन्दर लाग्थ्यो भने दिनमा उसलाई  किन अपनाउँन सकिन । किन उसलाई कथाझै बनाएर मैले छोडिदिए । किन उसँग सँगै हिड्ने बाचाहरु गरेँ र बिच बाटोमै छोडिदिएँ । हो म धोकेबाझ हो । म आफ्नै रहरहरुको पनि धोकेबाज हो ।

त्यो दिन सम्झन्छु– झम्सिखेलको कुनै क्याफेमा मैले पहिलोपटक उसका  हातहरु समाएको । आज झै त्यस दिन पनि उसका हातहरु न्याना थिएँ । त्यस दिन मलाई उसका हातहरु छोड्ने रहर थिएन । रहर त आज पनि थिएन । तर त्यस दिन उसका हातहरु सधैँ मेरा हुनेछन् भन्ने आशा थियो । तर आज छैन ।

अर्को दिन पनि सम्झन्छु– जब उसको पुरै शरीर मेरा आफ्नो झै बनेको दिन । उसका आँखाहरु, उसका हातहरु, उसको सबै सबै शरीर त्यो दिनझै सुन्दर कहिल्यै लागेको थिएन । उसले मलाई मिठा कथाहरु दिएर गएकी छ । सम्झदा ति सबै सबै प्यारा लाग्छन् । सायद म नै हो जसले उसलाई बिष्मृति मात्र दिएको छु ।

उसले मलाई आफ्नो बनाउँ , तिमीले बनाएनौ भने घरकाले अरु कसैको बनाइदिन्छन् भनेको पनि सम्झन्छु । त्यो दिन उसका आँखामा आसु र क्रोध दुबै थियो । उसले मलाई एक दुई थप्पड बाआमालेझै हानेकी पनि थिई । फेरी ओभाएका परेलाले मायालु आँखाले हेरेकी पनि थिइ । घर गएपछि खोइ के लाग्यो उसलाई फेसबुक र इन्स्टा दुबैमा बल्क गरेकी पनि थिइ । तर मायालुको मन न हो केही महिनापछि फेरी बोल्न आएकी पनि हो । त्यसकै एक हप्तापछि अरु कसैसँग मेरो बिहे हुँदैछ भनेकी पनि थिइ । मैले राम्रै भयो , बधाइ छ भनेको पनि हो । उसले भन्दाभन्दै आँशु झारेकी पनि हो ।

  ति आशुहरु, न्याना हातहरु मेरा लागि थिए अब रहेनन् । माया गर्ने आँखाहरुलाई अब नगरेकोझै हेर्नपर्नेछ । हुन त सायद म भन्दा दुखी उ भएकी थिइ । मैले त दुखी भएँ भन्ने अधिकार पनि छैन । भिजेका आँखा देखाउँने अधिकार पनि छैन । तैँले मलाई धोका दिस् भनेर कराउँने अधिकार पनि छैन । तर सबै सबै भएर पनि उसले त्यो पनि भनिन । जाँदै गर्दा किन अँगालो मात्र हाली ।  तिमीलाई सधैँ माया गरिहनेछु मात्र भनी ।उसले मलाई गाली दिएर गएको भए पनि म सजिलै स्विकार्थे ।

उसका आँखा, उसको न्यानोपन, उसले दिएको खुशी अब छैन । यो स्विकारोक्ती हो । तर कहिलेकाही स्विकारोक्ती गर्न खोजेर पनि गर्न नखोजेको झै बन्दो रहेछ । थाहा छैन यो कस्तो मन हो । अपनाउँन चाहेर पनि किन किन डराएको हो । किन सम्बन्ध देखी डराएँ । सम्बन्धको दिगोपनदेखी डराएँ । सधैँ सधैँ बनाउँन देखी डराएँ । फेरी जाँदैगर्दा पनि खुसी हुन सकिन । रमाउन त परको कुरा ।

मैले यो रोजेको अन्त्य हो । तर पनि अन्त्य अन्त्य नै रहेछ । अब उ पहिलेझै मेरो होइन भन्ने पनि छ । त्यो मैले रोजेको पनि हो । चाहेको भए प्रयास गरेको भए अहिले उ मसँगै हुने थिई  । वा उ सधैको लागि मेरो होइन भन्ने कुराले पनि प्रिय बनेकी हुनसक्छे । तर उ सधैँ प्रिय बनिरहनेछ ।

सायद उ कथा बनेर गएकी छ । कथामा गर्ने अन्त्य आफूले चाहेको अन्त्य हो । तथापी कथामा नै पनि अन्त्य गर्न सजिलो छैन । कहिलेकाही चाहेरै गरेको अन्त्य भए पनि दुखी बनाउँछ । सायद मैले गरेको पनि यही हो । यस्तै अन्त्य कल्पना गरेको पनि हो । यो रोजाइको अन्त्य पनि हो । तर अन्त्य नै अन्त्य नै हो – अन्त्यझै यो पनि  धुमिल नै  बनेको छ ।


Tuesday, December 9, 2025

भिड

 

    आफैँसँग बेखुस भएर शहरका गल्लिहरुमा भौतारिँदैछु । थाहा छैन के पाउँनु छ के गुमाउनु छ । थाहा छैन यी बेखुसीका श्रीङ्खलाहरु कहिलेसम्म चल्नेछन् । उही सडक, उही क्याफे, उही मानिसहरु, उही चियाका कपहरु । यस्तो लाग्दैछ, म पुनराबृत्तिमा जिउँदैछु । कुनै दिन कसैले भनेको थियो जीवन भनेको  दोहोरीनुनै  हो । थाहा छैन उ कहाँ केमा दोहोरीरहेको छ । तर म दोहोरीन चाहन्न । मलाई पुनराबृत्तिले पोल्छ । एकतमासले दोहोरीनु सजिलो पक्कै होइन । र छैन । तर चाहेर पनि म दोहोरीरहेकी छु हरेक दिन ।

किनकिन यो भिडमा आफैलाई खोज्दैछु । लाग्दैछ म भिडनै हुँ । भिडसँग झै मसँग पनि कोलाहल छ । तर चिच्याउँन सक्दिन । यो कोलाहलमा आफैँलाई खोज्नु आफ्नै अस्तित्वको कोलाहललाई सम्बोधन गर्नु नै रहेछ ।

भिडमा आफैँलाई खोज्नु ठिक हो वा होइन मलाई थाहा छैन । म त नदि किनारकी केटी हुँ । म त बग्न चाहन्थेँ । मलाई डुब्न र तैरिन दुबै आउँछ झै लाग्थ्यो । म आफ्नो यात्राको मालिक आफैँ बन्न चाहन्थेँ । तर किनकिन आज नदी किनाराझै महसुस हुँदैछ । म चाहन्न म डोबहरुझै एकनासको छालहरुसँग मात्र लडुँ ।

दिनहरु कति छिटै बित्छन् है ? आफैलाई सम्बोधन गर्दागर्दा  कयौ बर्षहरु बितेछन् । कहिलेकाही लाग्छ मसँग आफ्नै लागी पनि केही भ्रमहरु मात्र बाकी छन् ।

कहिलेकाही एकान्तले असाध्दै पोल्छ तर सधै होइन । हिजो नै जस्तो लाग्छ आफूजस्तै कोही अर्को भेटेकी थिएँ । कहिलेकाही लाग्छ त्यो दुरदुरको सत्संग थियो । यदाकदा  दुरीहरुले असाध्दै पोल्छ । लाग्छ हामी कहिल्यै भेटिनेछैनौ । म यी दुरीहरुलाई नाध्न सक्दिन । 

एक भुगोलमा उ । छ अर्को भुगोलमा म छु । सोचेकी थिएँ दुरीहरु क्षणिक हुन् । तर आजकल यस्ता सपनाहरु देख्न छोडेकी छु । पर आकाशमा एक्लै बत्तिएझै लाग्छ । कहिलेकाही बिना पखेटाको पन्छिझै महसुस गर्छु । दुरीहरुले मतलब त राख्छ तर नियती ठान्छु । म चाहेर पनि नियतीलाई बदल्न सक्दिन । हुनसक्छ हामी सबै यस्तै नियतीहरुले बाधिएका छौ । 


सबैभन्दा कठोर भिडमा आफूलाई खोज्नु रहेछ ।  भिडले कथाका कोलाहललाई सँकेत गर्छ । कहिलेकाही लाग्छ यो भिड मेरो कथाको साक्षी भएको छ । आफ्नै कथालाई आउटसाइडर भएर चिहाउँन सजिलो हुँदो रहेनछ । त्यो अप्ठ्यारोपनको महसुस भएको छ । तर म अप्ठ्यारोपनलाई त्याग्न सक्दिन । सायद यो मेरो रोजाइ हो । वा मेरा कथाहरु अप्ठ्याराबाट नै जन्मन्छन् ।

यी शब्दहरुका भिडमा मान्छेहरुको भिडको कथा पनि मिस्सिएको छ । न यो सुरुवात हो न अन्त्य । मान्छेहरुको ध्यान अब त्यो गोरो छाला भएको अंग्रजी बोल्ने कुनै अमूक मुलुकको मानिसबाट म तिर सरेको छ । आज पनि एक्लै एक्लै क्याफेमा बसेर डायरीमा कलम चलाउँने छोरीमान्छेलाई देखेर भिड अचम्म मान्दो रहेछ । मान्छेहरु अचम्मित नजरले मलाई हेर्दैछन् । सायद अब मैले अन्त्य गर्नुपर्छ । उनीहरुलाई थाहा छैन मैले उनीहरुकै कथा लेख्दैछु । सायद मैले लेख्ने नियतीको कथा यहि हो । सायद यी गल्लिका कथाहरुले कहि कतै मैलाई गिज्याइरहेछन् । हुनसक्छ मलाई यस्तै यस्तै कथा मनपर्छ । यी अध्यारा गल्लिहरु । यी भिडभाड सडकहरु । भिडमा पनि रमाएर एकतमासले चिया पिइरहेका मानिसहरु । हुनसक्छ यी नियती कथामा मेरा पाइलाझै मेरा पनि कथाहरु मिसिएका छन् ।

उनीहरु मलाई हेरेझै गर्छन् म एकतमासले डायरीमा आफ्ना शब्दहरु थप्छु । उनीहरुलाई लाग्ला मेरो परिक्षा नजिकिँदै म त्यसैको तयारीमा छु । तर होइन मलाई उनीहरु मान्छे कम र कथा बढीझै लाग्छ । म कथाझै उनीहरुलाई जे देख्छु त्यही देखिदिन्छु । घण्टाघरको अर्को सुई फेरी चलेको छ । तर समय यसरी नै चलिरहन्छ । आज जस्तै भोली पनि यही समयमा यहाँ आए भने लगभग हुने यही हो । मान्छेहरु यिनै हुन् । मैले लेख्ने कथाहरु पनि यिनै हुन् । सायद मैले महशुस गर्ने अनुभूती पनि यस्तै नै हो ।

तर यो दोहोरीनु कहा सजिलो छ  र । हरेक दिन चिया कपहरु जसरी दोहोरीन्छन् । मानिसका पाइलाहरु जसरी दोहोरीन्छन् । हाम्रा नियतीका कथाहरु जसरी दोहोरीन्छन्  त्यसमा म रमाउँन सक्दिन । कथा बनेर मानिस दोहोरीनु कहाँ  सजिलो छ र ।

दोहोरीन त मलाई पनि मन थिएन । कसैलाई बर्षौबर्ष कुर्नुृ पनि अब त दोहोरीनु जस्तै भैसकेको छ । म यो भुगोल चाहेर पनि नाघ्न सक्दिन । उ त्यो भुगोलबाट चाहेर पनि फर्कन सक्दैन । म भुगोलको नियतीलाई सराप्छु । कसैलाई कुर्दाकुर्दा म थाकेकी पनि छु । तर मनले भन्छ यो भिडझै म हरेक यहि नियती दोहोर्याउँन सक्दिन । मलाई लाग्छ मेरा कथाहरुले डोहोर्याउँदै यो भिडबाट कुनै दिन मलाई पर लग्नेछ ।

दावी


सायद जन्मदा केही थिएन । जन्मेपछि पनि केही थिएँन । मेरो नै हो भनेर दावी गर्न त मैले अहिलेसम्म सिकेको छैन । थाहा पाउँने भएपछि मेरो हो भनेर दावी गर्न मिल्ने काठको पुतली थियो । कालन्तरमा आफैँले बनाएको पुतली पनि आफ्नो रहेन । आमालाई लाग्यो ठूलो भएपछि पनि आफ्नो भनेर दावी गर्नु राम्रो कुरा होइन । केटाकेटी जन्माउने उमेरकाले पुतली खेलाउँदैनन् । त्यसपछि काठको पुतली पनि आमाको भयो । कुनै अर्को दिन आमाले पुतलीलाई आगोमा जलाइदिनुभयो । त्यपछि मैले दावी गर्न बिर्से । डायरी पनि अंग्रेजीमा लेख्न थालेँ । लाग्यो कुनै अर्को दिन मेरो डायरी पनि अरु कसैले खोस्नेछ र अरु कसैको बन्नेछ । त्यसपछि दावी नै गर्नको लागि अक्षरहरु मात्र बाकी रहेँ । अक्षरसँगै आफ्नै हुन् भनेर लेखिएका कथाहरु बाकी रहेँ । तर संरचनाभित्र यी छैनन् , जसरी संम्झनाहरु कुनै संरचना भएर लयमा आउँदैनन् । त्यसरीनै मैले गर्ने दावी मेरो जीवनको अनियमिततका उपज हुन् । 

इो पाश्वकथा हो । तर यो बिहानीको पनि कथा हो । कथालाई कथा मात्र मान्दा हुन्छ । वा यो कथा भन्दा पर केही हो । बिहानै उज्यालो छ । नानीहरु झोलाहरु बोकेर सडकमा निस्किसकेका छन् । एक दर्जन पदचापहरु सडकको यात्रामा छन् । सायद हिड्रदैछन् वा हिडेझै गर्दैछन् । म झ्रयालबाट उनीहरुलाई हेर्दैछु । फूलहरु फूलीसकेका छन् । घाम उदाइसकेको छ । हातमा चियाको कप छ । टेबलमा इस्परेन्जा बसेकी छ । म उसँग वार्तालापमा छु । उ झै आफ्नै भनेर दावी गर्न मिल्ने घरको खोजिमा छु ।

मनु मन्जिलको कविता “यो सहर कसको हो” पढिरहेको छु । सहरबारे म त्यती सोच्दिन । यो कसको हो मलाई थाहा थिएन । र छैन । हुन त गाउँ पनि मेरो थिएन । अहिले पनि गाउँ मेरो होइन । म कहिको पनि थिइन । गाउँबारे मैले भन्ने, मेरा जस्ता लाग्ने दुई चिज मात्र छन् । ति हुन् नदी र हिमाल । त्यो बाहेक गाउँ मेरो थिएन । मस्र्याङ्दी किनारामा मेरा पदचाप पनि थिए तर केही समयमै मेटिए । त्यो मेरो माटो हो भनेर म दावी गर्न सक्दिन । न मेरा पूर्खाले मेरो नाम लिनेछन् । न त्यो माटो मेरो हुनेछ । त्यो त मेरो आमाको पनि थिएन । त्यो त मेरो हजुरआमाको पनि थिएन । थियो त अरु कसैको थियो । आफ्नो नबनेको त्यो माटोलाई म किन दावी गरुँ । त्यसैले यदाकदा भन्ने गर्छुृ म कहिको पनि थिइन र होइन । छोरी मान्छेसँग आफ्नो हो भनेर दावी गर्न मिल्ने केही हुँदैन ।

मसँग दावी नै गर्न मिल्ने केही छैन । स्परेन्जाले भनेझै घरको कल्पना म पनि गर्छु जुन कविता अघिको कागजझै शान्त हुनेछ । तर त्यो कल्पना मात्र हो । त्यो मेरो घर कल्पनाको घर हो । जो कुनैदिन मसँग हुनेछ वा हुनेछैन थाहा छैन । तर यो निराशाको कथा होइन । केही नहुनु सबैचिज हुनु पनि हो । कहिलेकाही लाग्छ मसँग नभएर नै पनि सबैचिज छ । खुल्ला आकाश छ । म आकाशको हुँ । मेरो लागि यो आकाश नै घर हो ।

आज के थियो मसँग र के थिएन मसँग भन्नेबारे बुझ्रदैछु । तर सबैचिज नभएर पनि धेरै चिज थियो । जब कोहीसँग अटाउँनको लागि बा भनौ आफ्नो हो भन्नको संरचनात्मक कुनै बक्स रहदैन तब उड्नको लागि खुल्ला मैदान रहन्छ । म कहिको थिइन भन्दाभन्दै पनि कहिलेकाही लाग्छ म जताततैको थिएँ । छोरी मान्छे हुनुका कतिपय यर्थाथहरु विश्वब्यापि हुन्छन् । हामीसँग पूर्खाले दिने बिरासत कहिल्यै रहँदैन । हामीले गरेको यात्रा हाम्रो मात्र हो । हाम्रो यात्रा पूर्खाको कुलिन इतिहासमा अटाउँदैन । हाम्रो यात्रा एक मजदुर यात्रा हो । ज्यालादारी पछि त्यो पदचाप कसको थियो कसैले सम्झनेछैन । 

कहिलेकाही लाग्छ सिकागोबाट स्परेन्जाले जे भन्छे त्यो मेरो पनि हो । मैले लेख्ने कथाहरु मेरा मात्र हुन् । मेरो इतिहास मेरो मात्र हो । छोरीमान्छे हुनु भनेको मजदुरी गर्नु हो । तपाईका पाखुराहरु चलुन्जेल त्यो तपाईको हो । त्यसपछि तपाइ एक बिर्सिएको कथानक हो । वा भनौ सम्झन अलाएक कथानक । 

बिना संरचनाका कथाहरु बोकेर म हरेक दिन किबोडमा आफ्ना औलाहरु दौडाउँछु । म मनमनै भन्छु यी औलाहरु र यी अक्षरहरु मेरा हुन् । यो मेरो इतिहासलाई मैले आफैँले गरेको अर्काइभ हो । म चाहन्छु यसमाथि मेरो पूर्णअधिकार रहोस् । अक्षरको इतिहासलाई मेट्न गाह्रो छ । यो एक मजदुरको दावी गर्न मिल्ने डायरी हो । यो दावी गर्न मिल्ने मेरो इतिहास हो ।

इतिहास भनिरहँदा म आफैँले गर्छु । के इतिहास ? कस्तो इतिहास ? लेख्देमा कहाँ बन्छ र इतिहास । तर यी अक्षरहरु मेरा हुन् । यी कथाहरु मेरा हुन् । यी संरचनामा भएझै लाग्ने बाक्यहरु पनि मेरा हुन् । तर यसले केही अर्थ राख्छ । राख्दैन भने दिनदिनै चलाउँने यी किबोडको हलचल किन मलाई मनपर्छ । तर मलाई लाग्छ म दावी गदैछु आफैँलाई । 

थाहा छैन यी दावी गरेँ भनेर आफैँलाई अर्काइभ गर्दैछु भनेर लेखिएका यी अक्षरहरु कुनै दिन छापिएँ भने मेरो दावीलाई मानिसहरुले कसरी लिनेछन् । सायद हास्नेछन् । मसिना गफ सम्झेर छाप्नका लागि खर्चिएका कागजहरुमाथि ग्लानी गर्नेछन् । तर मेरो इतिहास यही हो । मेरा किबोडभित्र पितापूर्खाले बिरासतमा दिएको कला र संरचनाको शिल्पि छैन । जोसँग इतिहास नै छैन उसले संगित भनेर पनि बिद्रोह नै लेख्न सक्छ ।  यो दावी हो । यो बिद्रोह हो । यो घरको खाजी हो । यो घर हुननसकेको घरमाथिको आक्रोश हो । यो दावी माथि गरिएको पूर्नदावी पनि हो ।

Monday, December 8, 2025

डियर लिटल डग,


प्रिय ओसन वोङ, कुनै दिन, केही बर्ष अघि, अनायासै किताब पसलमा तिमीलाई भेटेँ । तिमीले सजिलै भनिदियौ यो संसारमा हाम्रो उपस्थिती आंशिक रुपमा मात्र सुन्दर छ । त्यो अध्यारोको कथा थियो । भियतनाम यूद्घ चलिरहेकको  समयमा आफ्नो बाआमाले बनाइदिएको लोग्नेलाई छोडेर आफ्नो प्रेमी रोजेकी तिम्री हजुरआमाले नजन्मिदै तिम्रा लागि नयाँ बाटो रोजिदिएकी थिइन । आज तिमीले गर्ने अस्तित्वको प्रश्न, सायद उनले नै तिमीलाई सिकाएकी थिइन् । सिकाउँने तिम्री हजुरआमाले सायद अरु धेरै मानिसहरुझै अस्तित्वको प्रश्न नगरी बिदा भैन । हुन त उनी छोरी मान्छे थिइन, उनलाई अस्तित्वको प्रश्न गर्न कसले पो सिकायो र? तर उनको नातीलाई उनले सिकाइन् । तिमीले बाचेको आंशिक सुन्दर जीवनको प्रतिबिम्ब उनले दिएको क्षितिजको मैदान हो ।

प्रिय ओसन, एक भियतनामीको अंग्रेजी लेखाइले  संसारलाई अचम्मीत बनाउँनु सानो कुरा होइन । एक अपठित आमाले शब्दको जादुगरलाई हुर्काउनु पनि सानो कुरा होइन । किताबमा तिमी आमालाई चिठी लेख्छौ र सजिलै भनिदिन्छौ म तिम्रो भावना र बिचारको अंग्रेजी अनुवादक हुँ । थाहा छैन कहिल्यै अक्षर नचिनेकी तिम्री आमाले तिम्रा अंग्रेजीका वाक्यहरुलाई कसरी लिइन र कसरी बुझिन् । कहिलेकाही लाग्छ संसार स्वार्थि छ । सबैभन्दा सुन्दर चिजहरु सबैभन्दा कठिन माध्यमबाट जन्मिन्छन् । जसको लागि तिम्ले किताब लेख्यौ उनले नै पढ्न र बुझ्न सक्दिनन् त्यो दूर्भाग्य हो । सायद जीवन दूर्भाग्यहरुकै संयोग हो ।

तिमीले अर्को पुस्तकमा भनिदियौ आमा भनेको समय हो । आमा नरहेपछि समय पनि बिस्तारै ओझेल पर्दै जान्छ । सायद तिमीले तिम्रो आमा र हजुरआमाले दिएको इतिहासलाई सम्मान गरेका थियौ । सायद आमाको त्यही सम्मानले तिम्रा शब्दहरु ममतामयी कोमल बनेका थिए । तर तिम्रा पात्रहरु निर्दा छन् । पुस्तकमा आफैँलाई तिमीले किन लिटल डग भनेर सम्बोधन गर्यौ । तिमीले आफूले आफैँलाई दिएको झिनो बिम्बले यदाकदा मलाई दुखी बनाउँछ । म आफैँ पनि सुस्मताको बिम्बमा कयौ बर्ष बाचेँ । म अरुको लागि मात्र होइन आफ्नै लागि पनि सानो मानिस थिएँ । मलाई सानो बिम्बमा आफू हेर्ने आफैँजस्ता लाग्छ । जसरी म आफूलाई सानो र बिनानामको बिम्बमा देख्न चाहन्न त्यसरीनै तिमीलाई पनि चाहन्न ।

यो एक पाठकले एक लेखकको लागि वा भनौ एक पात्रको लागि गरिएको कामना हो । जसरी तिमीले आफ्नो आमा माझ फेरी पुग्नको लागि लेख्ने गछौ वा अपठित आमाको अस्तित्व चिनाउँन । म पनि आफ्नो अस्तित्वलाई आफैँले स्विकार्न लेखिरहेछु । कहिलेकाही लाग्छ फरक त हामीले बाचेको भूगोल मात्र हो । कथाहरु त साझा हुन् । यूद्घका डोबहरुले जसरी तिमीलाई शब्दमा बोल्ने बनायो त्यो पनि आंशिक सत्य हो । सायद तिमी लेख्नकै लागि जन्मिएका थियौ । अथवा शब्दहरुको लय तिम्रो भागमा भागमा पर्यो ।  वा तिमीले त्यही रोज्यौ ।

प्रिय वोसन, तिमी लिटल थिएनौ र होइनौ । तिमी त शब्दका जादुगर हौ जसले लेख्न लागि मात्र लेखेन । यो परको भूगोलबाट तिमीलाई सम्झिराख्नको लागि धेरै कुरा छन् । म सम्झिन्छु र सम्झिरहनेछु ।

यो चिठीको पहिलो अंक थियो । म  यसलाई च्यात्न चाहन्थे । तर च्यातिन किनकी म लेखक बनेँ ।  म मेरो परिवारको कलेज पुग्ने पहिलो ब्यक्ति थिएँ । तर यो सबैले केही अर्थ राख्दैन । मलाई थाहा छैन म कसरी लेखक बनेँ, कसरी म कहिल्यै कसैले नभनेका सबै कुरा भन्न सक्ने भएँ ।

वोसन वोङ

डियर ओसन, 

यो पत्रको देस्रो अंश हो । म तिमीलाई नलेख्न पनि सक्थेँ । लेखेर च्यातिदिन पनि सक्थेँ । जीवन संयोग हो । मैले तिमीलाई पढ्नु पनि त्यस्तै संयोग हो । तिम्रो पहिलो पुस्तकको कुनै पानामा तिमीले काठमाडौँको कुरा गरेका थियौ मलाई यस्तो लाग्यो तिमीले मलाई चिन्छौ । त्यस दिन पछि सधैँ लागिरह्यौ तिमीले मलाई सधैँ चिन्छौ ।

मंशिरको महिना छ म घाममा सुन्तला र बदाम खादै तिमीलाई पढ्दै छु । तिमीलाई पढ्नु अब संयोग मात्र रहेन । अब त्यो रोजाइ बनेको छ । अघिल्लो महिना तिमीलाई खोजेर किने । तिमीलाई थाहा छ मेरो जस्तो देशमा तिमीलाई खोजी खोजी पढ्नु सजिलो काम पक्कै होइन । सायद मैले तिम्रो पुस्तक किन्न करिब करिब एक दिनको कमाइ खर्च गरेकी छु । हुन त तिम्रा अक्षरहरुलाई भित्रयाउनु मूल्यमा दाज्ने कुरा होइन । तर कहिलेकाही रोजाइहरु पनि महङ्गा पर्छन भन्न खोजेको मात्र हो ।

किताब पल्टाउछु यस्तो लाग्छ मैले तिमीलाई सधै चिनिरहनेछु । आज पारिलो घाममा तिम्रा पानाहरु पल्टाएँ । तिम्रो पात्र निराश तर उ उन्नाइस बर्षको छ । असी बर्षकी डिमेीन्सयाले सताएकी गाज्रियालाई लाग्छ उ दुखी हुनु हुँदैन । अझ उन्नाइसमा त दुखी हुनु दूर्भाग्य हो । तर असी पुगिसकेकी उसकी हजुरआमा वा भनौ जिजुआमाकी उमेरकी ग्राजीया पनि कहा खुसी छ  र । अबको दुनियामा खुसी छु भन्नु सायद असामान्य कुरा हो । खुसी त म पनि छैन । सायद खुसी त तिमी पनि छैनौ । तर किन पुस्तकको नाम खुसीको साम्राज्य राख्यौ । यो टुक्रा टुक्रामा जीउने समयमा, खुसी र दुख पनि कहाँ साम्राज्यझै भित्रन्छ र यो दुनियामा । सायद हामी दुखी र खुसी दुबै टुक्रा टुक्रामा छौ । जीएझै र मरेझै पनि टुक्रा टुक्रामै गरिरहेछौ ।

म उन्नाइसको कुरा गर्न चाहन्छुु । धेरैलाई लाग्न सक्छ बिसमा नपुग्नु खुसी हुनु हो । तर त्यो दूर्भाग्य हो ।मानिस उन्नाइसमा पनि दुखी नै हुन सक्छ । जस्तोकि म थिएँ । म तिमीलाई उन्नाइसको कथा भन्न चाहन्छु । म पनि सबैभन्दा दुखी उन्नाइसमै थिएँ । फरक यति हो म हानझै सोसाइडल हुन सकिन । सबैलाई लाग्थ्यो उन्नाइसको हुनु सुख र खुसीको साम्राज्यमा हुनु हो तर भनेझै कहाँ हुन्छ र । उमेरले खुसी दिन सक्दैन भन्ने कुरा हान र ग्राजियलाई हेर्दा नै थाहा हुन्छ । मलाई लाग्छ अब हामीले साम्राज्यलाई बिर्सन पर्छ । मलाई बृहतताको मानक आफैँमा अनौठो लाग्छ । जे छ शुष्मतामा मात्र छ । तिमीले रचना गरेको यो शुष्मताको कथानकलाई स्रामाज्य भनेर नामाकरण गर्नु आफैँमा अनौठो कुरा हो । तिमीले भनेझै यो संसारमा जे छ अंशमा छ । कहाँ सिँगो भएर जिएका छौ र हामीले । यो अंश अंशमा बिभाजित जीवनलाई कसरी साम्राज्य भन्न सकिन्छ र ?

प्रिय ओसन, मलाई आज पनि लाग्छ तिमीले मलाई चिन्छौ । मलाई लाग्छ हामी कुनै  दिन सडकमा भेटियौ भने पनि हामीलाई लाग्ने छैन हामी अपरिचित हौँ । मलाई लाग्छ र विश्वास पनि छ, कुनै दिन म तिमीलाई न्यूयोर्कको गल्लिमा अनायासै भेट्ने छु । तर यो मलाई सधै सत्य झै लाग्छ । मलाई लाग्छ, संसार त्यती फराकिलो पनि छैन कुनै दिन तिमी र म भेट्न नसकौँ । सायद भेटेको दिन म तिमीलाई अगाल्नेछु, र भन्नेछु प्रिय ओसन, कृपया खुसीको साम्राज्य हुँदैन । यो टुक्रा टुक्रामा बिभाजित खुसीलाई जोड्न नखोज । जे छ अंश अंशमा छ । 

Sunday, December 7, 2025

किनारा एक डोब एक निजत्व

 

कोलाहलको बिच पनि कोही किन यति शान्त भैदिन सक्छ । कोही किन अरु कसैको केन्द्रमा रमाइदिन सक्छ । थाहा छैन तिम्रो हृदयका डोबहरु किन अरुकाझै गहिरा छैनन् । भेट्नेहरुलाई लाग्छ तिमी केही होइनौ । तिमी छिनभरमै मेटिन पनि सक्छौ । छिनभरमै भेटिन पनि सक्छौ । एक छिन सुस्ताउँदा पनि मानिस नदी बनिदिँदो रहेछ । नदी सँगै बग्दो रहेछ । र तिमीलाई केही नठानी फर्कदो रहेछ । तिमी हिजो पनि थियौ । आज पनि छौ । सायद भोली पनि रहनेछौ । सायद मानिसलाई अस्थिरता मनपर्छ । गडगडाउँदो आरोह र अबरोह मनपर्छ । क्षणभरमै डुबाउँने गहिराइ मनपर्छ । र क्षणभरमै उडाउँने बतास मनपर्छ । सायद मानिसलाई हलचल मनपर्छ । डुब्न र उर्तन मनपर्छ । मनपर्थेन भने किन सधैँ किनारा .... किनारानै बनेर एकतमासले नदीको भएर पनि नभएकोझै सुस्ताइरहेछ ।

यो तिम्रो कथा हो तर तिमी होइनौ । थाहा छैन तिमी अरुले सोचेझै शान्त छौ वा छैन । वा तिमीबिचको कोलाहल मैले साचेझै क्षणिक छ वा छैन । यो मैले कोरेको तिम्रो चित्र हो । सायद म आफ्नै  लयमा तिमीलाई कोर्छु । कहिलेकाही लाग्छ एउटा किनाराले अर्को किनारालाई बुझ्छ । र यस्तो सधैँ लाग्दैन । कहिलेकाही त लाग्छ यो बुझ्नु बुझाउँनु बेर्थ हो । चाहेर पनि कसैले कसैलाई बुझ्न सक्दैन । यो हाम्रो कथा हो । यो तिम्रो कथा हो । यो मेरो कथा हो ।  यो किनारझै आफूलाई सम्झनेहरु सबैको सामूहिक कथा हो ।

यो तिम्रो मात्र होइन यो त नदी किनारामा जन्मेर पनि नदिलाई मात्र सम्झनेको कथा पनि हो । हुर्कदै गर्दा कहिल्यै लागेन नदी सँगै किनारा पनि त थियो र छ  । यस्तो लाग्थ्यो उपस्थितिका बिम्बहरु नदी र हिमाल मात्र हुन्  । नदीसँगै जोडिएको तिम्रो प्रतिबिम्ब एक अपरिचित प्रतिबिम्ब थियो । यतीका वर्षसम्म मैले तिमीलाई अपरिचित ठानिरहेँ । सबैभन्दा परिचित त तिमी रहेछौ । र सबैभन्दा नजिक पनि तिमी नै रहेछौ । यो क्षितिज काटिसकेपछि भित्रिएको अनूभूती हो । सायद म किनारामा मै रहिरहेको भए किनाराबारे बुझ्ने थिइन । सायद दुरीहरु दुरीहरु मात्र होइनन् बुझाइ पनि हुन् । जब आज फर्केर हेर्छु मष्र्याङ्दी भन्दा बढी त किनारा मेरो थियो । किनाराको छाल मेरो थियो । डोब मेरो थियो । बालुवामा देखिने प्रतिबिम्ब पनि मेरो नै थियो । नजिकैको बएरको झाडी पनि मेरो आफ्नो थियो ।  तर सधैँ लागिरह्यो जे हो नदी हो किनारा केही होइन ।  

आज म तिमीलाई बुझ्छु पनि बुझ्दिन पनि । तर तिमीमा आफैलाई कताकता भेट्ने गर्छु । सायद  यो बतास हावा र आधिहुरीको कोलाहल बिच कहि कतै तिम्रो न्यानोपन पनि खोजिबस्छुु । न्यानेपनको आशा बताससँग छैन । भिडमा केही नबुझिने कोलाहलसँग पनि छैन । उचाइको प्रतिबिम्ब लाग्ने हिमालसँग पनि छैन । तर आज लाग्छ मे जे हुँ किनारानै हुँ । नदी आफ्नो लागेर पनि आफ्नो थिएन । म उ सँगै बग्न कहिल्यै सकिन । हिमाल सुन्दर भएर पनि क्षितिज पारी थियो । आफ्नो भनेर दावी गर्न मिल्ने केही थिएन ।

 सायद यो बुझाइको पहिलो बिन्दु हो । म किनारानै थिएँ र हुँ । कुनै दुर क्षितिजमा  आफ्नै परिचयहरुलाई मेट्दै कोर्दै आफ्नै कथालाई केन्द्र नठानेर बकबक गरिरहनु किनारा नै हुनु हो । मलाई लाग्छ एक मानिस भएर मानिस नभएझै गर्नु हजारौ मानिसलाई म झै हुँन् भन्नु हो । हरेक दिन मैले कोर्ने शब्दहरु किनाराका शब्दहरु हुन् । यी ब्यक्तिगत र राजनैतिक दुबै हुन् । प्रत्येक किनाराझै मसँग आफ्नै परिचयलाई बहिष्करणमा राखेर आफैलाई कोर्नुको प्रतिसोध सधै छ र रहिरहनेछ । 

म प्रतिसोध बोकेर हिडेको मानिस हुँ । किनारामा रहनुको चोट छैन भन्न म सक्दिन । तर यो सामुहिकता हो । किनारा एक्लो देखिए पनि एक्लो हुँदैन । यी शब्दहरु पनि एक्ला जस्ता लाग्लान् । तर यी एक्ला कहिल्यै थिएनन् र हुँदैनन् । यो किनाराको आवाज थिएन भने म कहिल्यै अर्काइभ गर्ने थिइन । मेरी आमा र हजुरआमासँग चाहेर पनि आफूलाई ब्यक्त गर्ने न समय थियो न माध्यम नै । कहिलेकाही लाग्छ यो किनाराको कथाभित्र मैले मेरो बंशका हरेक छोरीमान्छेलाई कोर्दैछु । छोरी मान्छे हुनु भनेको निजत्व बिहिन हुनु थिएन । मलाई लाग्छ मैले हरेक दिन उतारेका यी शब्दहरु मेरो बंशका छोरी मान्छेको निजत्वको इतिहास हो । मैले कोरीन भने थाहा छैन म तलका कसैले कोर्ने थिए वा थिएनन् । अनुभूूतीलाई सधैँ झिनो ठान्ने हाम्रो समाजमा छोरी मान्छे हुनु भनेको अनुभूती मात्र जम्मा गर्नु हो । यो शब्दहरुलाई चाहेर पनि म कुनै प्रकाशन गृह सम्म र बोर्डसिटसम्म पुर्याउँन सक्दिन । किनकी यो अनुभूती हो त्यो पनि छोरीमान्छेको । त्यसैले हरेक दिन आफ्ना अनुभूतीलाई अर्काइभ गर्नु किनाराको कथा लेख्नु हो । 

हो मेरो इतिहास किनाराको इतिहास हो । मेरो अनुभूती छापिन अलाएक झिनो निजत्वको ब्याख्या हो । त्यसैले यी शब्दहरु किनाराका शब्द हुन् । किनारामा रहन सजिलो छैन । अरुस्ाँग जस्तै मस्ाँग पनि डोब मात्र छ । डोबका कथाहरु मात्र छन् ।


Thursday, December 4, 2025

प्रतिबिम्ब


“के तिम्रो नाम छाँया हो ? होइन मलाई प्रतिबिम्ब भन्नुस् ।”

“म तिमीलाई छाँया भन्न चाहन्छु ।”

 “तपाईल ेभन्दैमा म छाँया बन्ने होइन । म आफूलाई प्रतिबिम्ब भनेर सम्बोधित भएको सुन्न चाहन्छु  ।”

“दिएर इज नोथिङ इन नेम । आई डिन्ड एक्सपेक्ट दिस काइन्ड अफ कन्भरसेसन फ्रम यू । एटलिस्ट नट दिस टाइम” 

“तपाई सोच्न सक्नुहुन्छ । तपाईको सोचाइलाई म रोक्न सक्दिन र चाहन्न पनि । बट रियालिटि इज आइ एम क्वाइट रिजिड रिगाडिङ माइ नेम । आइ डन्ड एक्सपेट सम स्टेन्जर डु समथिङ फनि टु माइ नेम ।”

यो हाम्रो पहिलो भेट हो । यो पहिलो भेट हो तर सजिलो भेट पक्कै होइन । म उसलाई इन्स्टामा फलो गर्थे । उसको चित्रकारीता देखेर प्रभावित थिएँ । तर त्यो सत्य होइन म भएझै देखाउँथे तर म थिइन । आइ नो नोथिङ एबाउट चित्रकारीता । म त उसको अरुनै कुराले प्रभावित जुन कुरा म यहाँ खुलाउँन चाहन्न । त्यसैले म उसलाई भेट्न चाहन्थे  जस्तो एउटा यूवकले यूवतीलाई भेट्न चाहन्छ त्यस्तै । म सुरु देखी न म उ बाट के चाहन्छु भन्ने कुरामा क्लिएर थिएँ । मलाई लागेको थियो उसका चित्रहरु झै जीवन बारे पनि उ केही खुल्ला छे । तर भेट्दा मलाई लाग्यो, उ धेरै रिजिड छे । मैले सोचेको जस्तो वा कल्पना गरेजस्तो उ छैन । र तर छोरामान्छेको मन हो म उसलाई भेटेकोमा खुसी नै छु ।

उ केही उदास देखिन्छे । म पहिलो भेटमै उसलाई तिमी किन निरास छौ भन्न सक्दिन । सायद उ त्यस्तै हो । सायद चित्रकार हुनु उदास हुनु हो । मैले भेटेको उ पहिलो चित्रकार हो । सायद यो चित्रकारहरु बारे रहेको मेरो आम धारणा हो । मलाई लाग्छ चित्रकारहरु निराश नै हुन्छन् । तर म उसँग निराशाबारे केही भन्न सक्दिन । तर निराश देखिँदैमा कोही निराश नै हुन्छ भन्ने पनि त छैन । देख्न त म पनि खुसी  देखिन्छु तर म पनि त निरास नै छु । 

उ आफ्नो लागि क्यापचिनो मगाउँछे र मेरो रोजाइ सोध्छे । म पनि क्यापचिनो नै भनिदिन्छु ।  म आफ्नो रोजाइ उसको अगाडी भन्न सक्दिन । म र्यान्डम गफ निकाल्छु । किनकिन मलाई सधैँ लाग्ने गर्थो उ पनि म जस्तै सिनेमा प्रेमी हो तर फेरी अर्को पटक म गलत ठहरीन्छु । उ भन्छे, “मलाई सिनेमाहरुले खासै तान्दैन । “ मलाई उ दखेर अल्छि लाग्छ । म उसँग पहिलो भेटमा नै सिनामाबारे गफ गर्न चाहन्थेँ । मसँग सिनेमाबाहेक अरु भन्ने कुरा पनि त हुँदैन । तर यो मेरो दोष हो । मलाई मनपर्छ भन्दैमा सबैलाई सिनेमाले तान्छ भन्ने पनि त छैन । तर मलाई सधैँ लाग्थ्यो उस्लाई पनि सिनेमा मनपर्छ ।

फेरी अर्को पटक त्यसै बसेको देखेर वेटर आइपुग्छ, । उ फेरी अर्को पटक पनि क्यापचिनो नै मगाउँछे । म पनि क्यापचिनो नै भनिदिन्छु । उ म बारे केही सोध्दिन म केही र्यान्डम कुराहरु निकालिरहन्छु । मलाई फेरी पनि लाग्छ उ केही निराश छ । तर निरास त म पनि छु । तर म उ जस्तो निरास देखिन्न । तर मलाई लाग्छ म भन्दा उ निराश छ । अझ बढी । अझ गहिरो निराशामा ।

खोइ उसलाई के लाग्यो उ अनायासै सोधिदिन्छे, “के तपाई निरास हुनुहुन्छ जीवनप्रति इन जेनरल” । म भन्न सक्दिन म निरास छु । तर उसले कसरी भनी म निरास छु भनेर । उसले कसरी मेरो निरासा देखी । तर म उसलाई उ झै तिमी पनि त निराश नै देखिन्छौ भन्न सक्दिन । म निराश नभएझै देखाउँछु । खुसी छु जस्तो गर्न फोन चेक गर्छु र्यान्डम म्यासेज पढ्छु ।

सायद उ पनि निरास छ । सायद एक निरास आँखाले अर्को निरास आँखालाई चिन्न सक्छ । तर उ सँग खुसी भएझै देखाउँछु । हुनसक्छ हामीसबैले एक अर्कासँग यसै गर्छौ । तर म उसलाई “तिमी पनि निरास छौ झै लाग्छ “ भन्न सक्दिन । उ आफूले भर्खरै पढीभयाएका केही किताब बारे कुरा गर्छे । उ भन्छे, “मलाई किताबमा भेटिएका अनलब्भडहरु साँच्चै भेटिनेभन्दा मायालु लाग्छ । किन संसारमा कसैलाई  प्रेम मात्र मिल्छ र कसैलाई अप्रेम मात्र ? मलाई सधै अप्रेमीलहरु  प्रेमिल लाग्छ । “ 

म उसले भनेको कुरा बुझ्छु पनि बुझ्दिन पनि । तर म बुझ्दिन । बुझेँझै गर्छु तर बुझ्दिन ।  तर म प्रतिक्रिया दिन्न । उसलाई सुन्दैछु झै देखाउँछु मात्र । जवाफमा मैले भर्खरै हेरीभयाएका केही र्यान्डम फिल्मबारे कुरा गर्छु । उ सुनेझै गर्छे तर केही प्रतिक्रिया दिन्न । उ फिल्मबारे त्यती जिज्ञासु नभएपनि मलाई केही भन्दिन । उ आफ्नो नाममा झै थाहा छैन किन अरु कुरामा त्यती रिजिड देखिन्न ।

म उसँलाई उसको चित्रहरु बारे सोध्दिन । हुन त मलाई चित्रकारीता बारे थाहा पनि त छैन । खासमा म उसको चित्रबारे सोध्न उसलाई भेट्न आएको पनि त होइन । तर म उसलाई केही चिज सोध्न सक्थे तर म सोध्दिन । यो मेरो त्यस्तो पहिले भेट हो कसैसँग जसमा हामी दुबै आ–आफ्ना कुराहरु मात्र गरीरहेछौ । उ उसको कुरा । म मेरो कुरा । उ किताबबारे मात्र बोल्छे । म सिनेमाबारे मात्र बोल्छु । तर म यहाँ सिनेमाबारे गफ दिन आएको होइन । म त यूवक भएर एक यूवतीलाई भेट्न आएको हुँ । तर म उसँग सिनेमाबारे मात्र बोल्छु । म भन्छु, “ मैले पछिल्लोपटक एउटा सिरिएल किलरको मडर सिरिज हेरेको थिएँ । मलाई पहिलोपटक मर्डरर देखेर पनि माया लाग्यो । थाहा छ मर्डरर हुन पनि सजिलो छैन । “ तर उ केही भन्दिन राम्रो लिसनरझै मुन्टो मात्र हल्लाउँछे । 

तर उसलाई कसरी थाहा भो म निरास छु भनेर । के तीसपछि सबै निराश नै हुन्छन ्? मलाई थाहा छैन उसको उमेर कति भयो । सायद उसले पनि तीस काटी मैले जस्तै । तर म उसलाई उसको उमेर सोध्न सक्दिन । हुन त केटीमान्छेको उमेर नसोध्नु भन्छन् । तर म कसैलाई पनि सोध्न सक्दिन । 

फरी अर्को पटक उसका आँखाहरु हेर्छु तर उसले अन्त कतै हेरेको बेला । खोई किन मलाई उसका आँखाहरु निरास लाग्छन् । मेरा भन्दा पनि बढी निराश । एकदमै निराश । घनघोर निराश ।

“तपाईको उमेर ?” उ अनायासै सोधिदिन्छे । “आई एम इन माई थट्टी” म भन्छु । “आइ अलरेडी गेस्ड इट बिकज यू लुक स्याड एन्ड कन्फियूज्ड । तीसमा बाच्नु भनेको यही हो । “ उ मैले जे सोच्दै थिएँ त्यही भन्छे । तर उसलाई कसरी थाहा भो तीस काटेपछि मानिस अल्लि बढी निरास बन्छ भनेर । उ भन्छे, “अरल्ली थट्टी इज अल एबाउट क्राइसीस । म तपाईलाई बुझ्न सक्छु । “ उसले मलाई कसरी बुझी । एकले अर्कालाई त्यसै कसरी बुझ्न सक्छ । तर म उसलाई त्यो भन्न सक्दिन । म दुबिधामा छु यो पनि सत्य हो । म जीवनप्रति निरास छु यो पनि सत्य हो । उसले बुझेकी पनि हो । तर म चाहन्न उसले मलाई बुझोस् । तर मलाई लाग्छ उ म भन्दा निराश छ । अझ बढी ।

कसैले कसैलाई बुझ्नु भनेको सजिलो अवस्था पक्कै होइन । बुझेपछि बुझ्न बाकी केही रहन्न । सब चिज असुन्दर झै लाग्छ । म उसका अगाडी असुन्दर बन्न चाहन्न । तर के उसले मलाई बुझेकी नै हो । तर म उसलाई तिमीले कसरी बुझ्यौ भन्न सक्दिन ।  

“आर यू इस्टिल थिङ्किङ एवाउट सेम ? आइ वाज जस्ट किडिङ” उ सजिलै भन्छे । तर मलाई उ जिस्किएकी झै लाग्दैन । म उसका आँखामा जिस्किएको जस्तो केही देख्दिन । म मुस्कुराएझै गर्छु । उ मुस्कुराएझै गर्छे । उ भन्छे “अब निस्कनुपर्छ“ म “हस्” भन्छु । हामी दुबै निस्कन्छौ । 

बाटोभरी म उसका उदास आँखालाई भुल्न सक्दिन । तर मेरा आँखा पनि उदासै देखिँदा रहेछन् । के एक उदास आँखाले अर्को उदास आँखालाई चिन्न सक्छ ? .....................................................

Tuesday, December 2, 2025

एक्लोपन


कोठा एक्लो छ । ओछ्यान एक्लो छ । पर्दाहरु एक्ला छन् । टेबल, टेबल माथिका किताबहरु पनि त एक्ला नै छन् । टेबलमा एक्लो एउटा किताब छ जसका केही पानाहरु मैले रित्तयाइसकेको छु । साथमा केही थान बुकमार्कहरु छन् । यो एक्लोपनप्रतिको गुनासो होइन । एक्लो छु खुसी छु भन्न चाहन्छु । तर एक्लो हुनुमा कुनै गुनासो छैन । तर मलाई लाग्छ म एक्लो छैन । कसैले एक्लो छस् भन्दैमा कहाँ एक्लो भैइन्छ र ! तर यो एक्लोपनप्रतिको गुनासो होइन ।

आकाश पनि त एक्लै छ । नदि पनि त एक्लै छ । फूलहरु पनि त एक्लै छन् । परको क्षितिज । सधै चम्कने ताराहरु । न्यानो घाम । सबैसबै एक्लै नै छन् । एक्लो छु त र आफ्नो समय छ । आफैँले आफ्ना लागि लेखेका चिठिहरु छन् । आफैँले आफ्ना लागि संगालेका यादहरु छ । जे छ आफ्नो मात्र छ ।

यो ओछ्यान आफ्नो हो । यी किताबहरु आफ्ना हुन् । यी चियाका कपहरु । यो सुत्ने पलङ । ओछ्यानका लागि किनेका सेता नमैलेका तन्नाहरु सबै सबै आफ्ना हुन् । अघि नै भनिसकेँ चाहेको पनि यही हो । आफूँ आफ्नो हो भन्नुको अनुभूती अरु कसैले चाहेर पनि कहाँ दिन सक्छ । दिन पनि आफ्नो हो । रात पनि आफ्नो हो । रातमा चिहाउँने जून पनि आफ्ना हो । जूनलाई चिहाउँने मेरा आँखाहरु पनि आफ्ना हुन् ।

चाहेको पनि त यही हो । गुनासो कसरी गर्नु । गुनासो कसलाई गर्नु । गुनासो गरेर पनि के गर्नु ।  एक्लो भएर पनि एक्लोझै नलाग्ने कोलाहल बोकेर म बाच्छु । कहिलेकाही आफैँभित्रका अनेकौ मानिसहरुले पिरोल्छन् । तर म भित्र त्यस्ता मानिसहरु पनि छन् जसले मलाई प्रेम गर्छन् । जसले मलाई तँ पनि केही हो भनिदिन्छन् । अक्षरहरु पनि छन् साथमा जसले मलाई बिना अर्थका कुराहरुमा किबोड चलाउँन सिकाउँछन् । तर म भित्रका मानिसहरु सधै दयालु हुन्छन् र ! कसैले निकम्मा प्रमाणित गर्छन् । कसैले अपराधि ठहराइदिन्छन् । कसैले  केही भएर पनि नभएभैे बनाइदिन्छन् । आफू हुनु पनि कहाँ सजिलो छ र । कहिले दिन रातझै बनाइदिन्छन् । कहिले रात दिनझै बनिदिन्छन् । 

त्यसैले त एक्लोभएर पनि एक्लोझै लाग्दैन । यो कोलाहल जो मसँग बाच्छ । जसले मलाई चिच्याउँन सिकाएको छ त्यसलाई म कसरी नकारु । जसले मलाई चिसो मौनता पनि दिएको छ त्यसलाई म कसरी बिर्सु ।

 कहिलेकाही त आफू नै एक बजारझै लाग्छ । बस् बजारझै बिक्न र बिकाउँन जानेको छैन । यो कोलाहलको बजार भित्र यदाकदा सान्नाटा पनि भित्रन्छ । त्यस्तो सान्नाटा जहाँ बाच्नु र नबाच्नुले कुनै अर्थ राख्दैन । आज पनि त मलाई बाचेँझै कहाँ महसुस भएको छ  र । बस् सान्नाटाले मलाई छोड्न सकेको छैन । 

आज कसैलाई चिठी लेखेँ तर त्यो आफैँलाई थियो । म प्रापक र प्रेसक दुबै हुँ र थिएँ । तर त्यसले के अर्थ राख्छ र । सुन्ने पनि मै हुँ र सुनाउँने पनि मै हुँ । बस् सुनाएको जस्तो कहिलेकाही गर्छु । सुनेको जस्तो कहिलेकाही गर्छु । म भित्र सुन्ने र सुनाउँने दुबै मानिसहरु छन् ।

  एक्लो भएर पनि कहाँ एक्लो हुदो रहेछ र मानिस । म भित्र मानिसहरुको एक कोलाहल सधैँ रहिरहन्छ । यो भिड मै हुँ । असन र इन्द्रचोकझै चिच्याउँने पनि मै हुँ । बाग्मतिको बगरझै निस्सार पनि मै हुँ । एक्लो भएर पनि कहाँ एक्लो छु र ! सडकका हरेक चेहेरा मेरो आफ्नो पनि हो । कहिलेकाही त लाग्छ किन हेर्नु र ऐना । किन पुछ्नु र दाग । हरेक उज्याला र अध्यारा । हरेक कुरुप र सुँन्दर । हरेक दाग र बेदाग । सबै सबै मेरा हुन् । ऐनामा देखाएझै सपाट कहाँ छ र चेहेरा । हरेक अध्यारा उज्याला गल्लिका । हरेका सडक चोकका कर्कश र मधुर । हेरक चोकको धुवा र बतास म भित्र पनि छ । कसरी भनुँ म एक्लो । एक्लो भएर पनि कहाँ एक्लो छु र । यो डिसेम्बरको चिसो । त्यो जेठको घाम । त्यो असारको बर्षा म नै भएर भित्रन्छ र जान्छ । हो जे हुँ सबै सबै हुँ । कहाँ एक्लो ? कसरी एक्लो ? कसले भन्यो एक्लो ?

आजकल न एक्लोपन सँग नै गुनासो गर्छु । मलाई कहिलेकाही लाग्छ यी बिना अर्थ आवाजहरु बिना, अर्थको के महत्व । बाच्नुको के महत्व । अनुभूतीको के महत्व । म अर्थ बिहिनतामा पनि अर्थ खोजिरहन्छु । र खोज्दिन पनि । तथापी एक्लोपन पिरोल्दैन । पिरोल्छ त कोलाहलले । जे छ यी बिनाअर्थको हल्लामा छ । यो समाजले चाहेर पनि कहाँ एक्लो बन्न दिन्छ र ? मसँगै एकहुल मानिसहरु बाच्छन् जसले हरेका रात मलाई मानिस हुनुको आधार माग्छन् । हो म हरेक रात कुनै केस चलिरहेको कैदिझै आफू हुनुको आधार पेस गर्दागर्दै एक मानिस भएकोमा अपराधि ठहरिन्छु । कहाँ एक्लो छु र !

आज पनि बिना मतलबका केही रेखाहरु कोरेँ र अर्थ खोजे । थाहा छ अर्थको पनि कुनै महत्व छैन । बेअर्थले पनि कहि पुर्याउँदैन । यसैमा अडिएको छु भनेर दावी गर्नुको कुनै तुक छैन । सायद यहि नै कोलाहल हो । म भित्र सधै हल्ला बाच्छ । हल्लापछि एक सान्नाटा बाकी रहन्छ । सायद म एक्लो भएर पनि एक्लो छैन ।

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...