Monday, August 18, 2025

पर ..... कति पर

 

एक यात्रा । एक मानिस । एक जोर पाइलाहरु । पाइलालाई पछ्याएका एक जोर छाँयाहरु । यात्रा न हो । हरेक दिन यात्रीभmै महशुस हुन्छ । पाइलाहरु बेगर पनि हृदय हो , यात्रा गर्छ । मनको यात्रा न हो । यात्राका पाबन्धीहरु छैनन् । सिमानाहरु छैनन् । गन्तब्य छैन । परिधिहरु छैन । एक त्यस्तो यात्रा जहाँ म छु र मेरो मन छ । मन न हो यात्रा गर्छ ।

जानु छ पर कतै । कति पर – थाहा छैन । कहाँ– त्यो पनि थाहा छैन । किन– त्यो पनि थाहा छैन । तर जानु छ कहि । आफैँसँग पर जहाँ आफ्ना पदचापहरुले आफैँलाई नचिनुन् । म को हुँ ? को थिएँ ? मेरा माता पिता को हुन् ? त्यसले कुनै अर्थ नराखोस् । त्यस्तो यात्रा जहाँ म अपरिचितहरुमाझ अपरिचित नै बनिदिउँ । म बेखबर सडकमा बरालिन सकुँ । अपरिचितमाझ बेप्रवाह खुल्न सकुँ । पानीझै परपर बग्न सकुँ । 

पर......कति पर । के दुरीहरुलाई नाप्न सकिन्छ । म त चाहेर नै दुरीहरु बनाउँन चाहन्छु । त्यस्तो यात्रामा जान चाहन्छु जहाँ म आफैँले आफैँलाई चिन्न नसकुँ । यो सपना थियो र रहिरहनेछ । म दुरीहरुमा जिउँन चाहन्छु । सबै चिज केही परबाट नै सुन्दर देखिन्छन् । जस्तो कि चित्र । जस्तोकी तिमी । जस्तो कि म । यो सपनाको अर्काइभ हो । थाहा छैन कुनै दिन म त्यस्तो ठाउँमा पुगेँ पनि लेख्ने छु वा छैन । वा म त्यो सपनाको स्ांसारमै रुमलिनेछु । वा मस्तले मेरा सपनाहरुलाई लिपिबद्ध गर्नेछु । थाहा छैन के गर्नेछु ।

बषौदेखी त्यही सपना बोकेर हिडिरहेछु । कहिलेकाही आफ्नै घरले पोल्छ । आफ्नै ओछ्यान पनि कठोर लाग्न थाल्छ । एक पन्छिझै उड्ने सपना हो यो । मेरो डायरी र मेरा किताबहरुले मलाई साथ दिनेछन् । म जो थिएँ र जो हुँ त्यो हुन चाहन्न । कथाहरुले पनि कहिलेकाही आफैँलाई गिज्याएझै लाग्छ । पाइलाहरुले बिना पावन्दीको यात्रा नगरेको धेरै भयो । म कुनै अन्जान सडकमा बसेर लेख्न चाहन्छु । कुनै अन्जानसँग कफि पिउँन चाहन्छु ।  कुनै अन्जान झरीमा रुझ्न चाहन्छु । म जो छु र जो थिएँ त्यो हुन चाहन्न । 

कहिलेकाही आफ्ना परिधिहरुहरुमा आफैँ निस्सासिए झै लाग्छ । र त्यस्तो धेरै पटक भएको छ । म रुखझै जे छु र जे थिएँ त्यसैमा रमाउँन सक्दिन । कहि कतै मातेर बरालिन मन छ । मेरो बाटोले मलाई बरालिने स्वतन्त्रता दिँदैन । आफैँ बनेर कुनै सडकमा बहकिन दिँदैन । तर मन हो बरालिन चाहन्छ । मातिन चाहन्छ । मलाई आफू मातेको हेर्न मन छ ।

यो लेख्न थालेको पनि धेरै भयो । तर मन न हो दोहोर्याउन चाहन्छ । कहि पर जान चाहन्छ । अन्जान सडकलाई अनुभूती गर्न चाहन्छ । घरले कहिले पनि तानेन । यो गुड छोड्न चाहनेको कथा हो । थाहा छैन छोडेपछि मनले फेरी फर्क भन्न चाहन्छ वा चाहन्न । यस्तै केही अन्जान सपनाहरु बोकेर हिड्न थालेको पनि बर्षौ भएछ । थाहा छैन किन नदीझै बग्नुको बिम्ब सधैँ सुन्दर लाग्छ ।  मलाई बग्नु छ ।

  यो अन्जान हावाझै बहकिने सपनाहरु बोकेर बाचेका बर्षहरु गन्छु । गन्ति न हो । अंकहरुलाई जोड्न थालेँ भने म निस्सासिन्छु । तर निसास्सिनुले कुनै अर्थ राख्दैन । आज पनि म त्यसरीनै अन्जान सडकमा बहकिने सपना देख्छु । थाहा छैन यस्ता सपना बोकेर हिडिरहने कति छौ । 

कहिलेकाही लाग्छ आफैँलाई बुझ्न पनि केही पर पुग्नुपर्ने हुन्छ । दुरीहरु दुरीहरु मात्र होइनन् आफैँलाई हेर्ने आँखिझ्यालहरु पनि हुन् । पर जानु छ । आफैँदेखी पर । घरदेखी पर । आफ्नै सिमानाहरु पर । गन्तब्य देखी पर । पर कतै क्षितिजमा । तर कति पर थाहा छैन ।

म यी सबै कुराहरु पानामा उर्ताछु  तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाधेर राख्दैन । मलाई उड्न दिन्छ आफ्नै सपनाको उडानमा ।

एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु । र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु । तब म उसलाई सदासदाका लागी हृदयमा  राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।

साथीहरु र छिमेकीहरुले भन्नेछन् के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापी सँगै गैइ ? किन ऊ यति पर गैइ ?

तर उनीहरुलाई थाहा हुनेछैन म फर्कनकै लागी गएकीे हु  ।  उनीहरुको लागी जसलाई मैले पछाडि छोडे ।  उनीहरुको लागी जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।

प्रिय स्परेन्जा,

यो कथा तिम्रो मात्र होइन मेरो पनि हो । थाहा छैन कहिले तर कुनै दिन म पनि आफ्ना कथा र डायरीहरु बाकेर पर कतै जानेछु । सायद तिम्रा झै मेरा छिमेकीहरुले पनि सोध्लान् उ किन गै । किन बिना लोग्ने एक्लै आफ्नो माटो छोडी । तर तिमीझै म पनि फर्कनकै लागि गएकी हुनेछु । यो पुगेर फर्कनुको चाहना हो बगेर अडिनुको होइन ।

मूक्त

 

    स्कुलबाट फर्किदै छु । छोरी म दुवै थाकेका छौ । पानी परेको छ । छोरी र म एउटै छातामा छौँ । मेरो एक पाखो निर्थुक भिजिसकेको छ । “मामू आज घर गएपछि मम खाने है” । छोरी भन्छे म केही बोल्दिन । “हस् भन्नुस् न” उ फेरी जोड दिन्छे । म हुन्छ भनेझै गर्छु ।

कोठामा आइपुग्दा झमक्क साँझ परेको छ । बिहान पकाएका र खाएका भाडाहरु बेसिनमा त्यसै छन् । बिहान खाएका भाडाहरु असरल्ल परेर मैलाई हेरीराछन् । कोठामा लुगाहरु असरल्ल फैलिएका छन् । मिलाउँन कहाँबाट सुरुगर्ने मैलाई थाहा छैन । 

यतिकैमा बाहिर केही मानिसहरु आएझै लाग्छ । चिनेको स्वर जस्तो पनि लाग्छ । यीनै हुन् भनेर नहेरी छुट्याउँन सक्दिन ।  किचनको झ्यालबाट हेर्छु । चिनेका तर चिन्न नचाहँने केही अनुहारहरु छन् । बाहिर उनीहरु कसैलाई सोध्दै छन् , “पुनम बस्ने घर यही होइन र ?” बाहिर कसैले हो भन्दैछ । उनीहरु सरासर भित्र पस्छन् ।  म उनीहरुलाई नदेखेझै गर्न सक्दिन ।

म किचन नभएर सुत्ने कोठामा लग्छु । नानी अलमलमा पर्छे । आएकामध्धे एउटीले भन्छिन्, “नानी मलाई चिन्यौ म तिम्रो ठूलोमामू !” छोरी अलमल्लमा परेर मलाई हेर्छे । नमस्ते गर्छे । म केही नभएझै गर्छु । चिनेर पनि नचिनेझै गर्छु । उनले भन्छिन् “नानु त ठुली भेसकिछन् है” म मुन्टो हल्लाउँछु मात्र । छोरीलाई किचनमा गएर पढ भन्छु ।

“यतिका समयपछि किन सम्झनु भयो?” म अरु कुनै भूमीका नबाधी सोध्छु । “पुनम, खै के भन्ने तिम्रो गल्ति भन्न पनि म सक्दिन । तर कि घर फर्क कि डिभोर्स देउ । यसरी रमेशको जिन्दगी बरबाद नबनाइदेउँ ।” म केही भन्न सक्दिन । अचम्म लाग्छ । छोरी दश बर्षकी भै उसले देखेको छैन । बर्बाद त उसको जीन्दगी पो भएको रहेछ । सजिलो त मलाई पो रहेछ । अब मैले उसको जीन्दगी सपारीदिनुपर्ने रहेछ ।

एक्कासी काम ज्वोरो आएझै हुन्छ । मुटु मज्जाले धड्किन्छ । “ म अहिले केही भन्दिन दिदी जानुस्” म बिनम्र भएझै गरेर आग्रह गर्छु । उनीहरु भन्छन्, “तिम्रो कुरा केहो भन, यसरी अड्काएर नराख” । म केही बोल्दिन । आखाबाट आशुझै केही बग्छ । केहीबेर उनीहरु कुर्छन् म केही नबोलेपछि जान्छन् । उनीहरु गएपछि अर्को कोठामा भएकी छोरी एकाएक भित्र पस्छे । “मामू उनीहरु को हुन्, म उनीहरु तेरा आफन्त पर्ने हुन् भन्न सक्दिन ।”

  जब छोरी गर्भमा आएको ६ महिना भएको थियो रमेश जापान गएको गयो । उसलाई कमाउँनुपर्ने बाध्यता थियो । आफन्तहरु उसको निर्धोपनलाई वा बेरोजगारी पनलाई हाँसाकोे रुपमा लिने गर्थे । गर्भकी छोरी बढ्दै थिई उ बिदेशीने दिन नजिकिँदै थियो । मैले उसलाई नजाउ पनि भन्न सकिन । बढ्दै गरेको सन्तानलाई केही राम्रो हुन्छ कि भन्ने मलाई पनि लाग्यो । जाने अघिल्लो दिन हामी दुबै नराम्ररी रोयौ । उ गयो । उ गएसँगै त्यो घरमा मेरा आफन्त नरहेझै भयो । 

ससुरा नभएकी बुढी सासुलाई समाल्दा समाल्दै म आफैले आफैलाई समाल्न गाह्रो भएको थियो । उ जाँदा करीव १५ लाख रिन लागेको थियो । रिन चाँडै तिरौ भनेर पनि होला उ मसँग पनि कम बोल्थ्यो औपचारीकता मात्र । मलाई लाग्थ्यो उ बेस्त भएर होला । बिहान के छ कहिले कलमा कहिले सानो म्यासेज र बेलुका त्यस्तै हामी दुबैले गर्ने गफ त्यती मात्र हुन्थ्यो । म थाकेकी हुन्थेँ । आफैँ देखीेँ घर देखी । तर थाहा थिएन किन ति स–साना म्यासेजहरु पनि पातलिन थालेका थिए । 

त्यस बिचमा मलाई आफ्नो कुरा भन्ने साथी चाहिएको थियो । अशोक, मेरो केटाकेटी देखीको साथी थियो । अरु खास केही थिएन तर आफ्ना कुराहरु हार्मी एक अर्कालाई भन्ने गथ्यौ ।  मलाई आफ्नो कुरा सुनिदिने मान्छे चाहिएको थियो । रमेशसँग त्यो समय र इच्छा दुवै थिएन । रमेशलाई पनि उ मेरो साथी हो भन्ने बिहे अगाडी नै थाहा थियो । नानी जन्मने समय भैसकेको थियो एकदिन बिहानै रमेशको फोन आयो । त्यसरी बिहानै धेरै पछि फोन आएको थियो । म खुसी नै भएकी थिएँ । तर उ अचानक चर्को स्वरमा बोल्यो , “को को नाठो सँग बोल्छेस् । म नभएपछि रण्डी हुन मन लागेको हो” । उसको कुराले म भूइमा खसेझै भएँ । आँखाबाट आसु रित्तिए । रमेशले मलाई त्यसअर्घि  कहिल्यै त्यसो भनेको थिएन । उसले त मलाई तँ पनि मायाले कहिलेकाही मात्र भन्थ्यो । हामीले माया गरेर एकअर्काका भएका थियौ । मलाई कहिल्यै लागेको थिएन उसले मलाई कुनै दिन त्यस्तो भन्नेछ ।  त्यो दिन मैले उसको उत्तरमा केही भनिन । मलाई उसले किन त्यस्तो भन्यो भन्ने पनि थाहा भएन ।

केही दिन पछि मेरो चलिरहेको फेसबुक चल्न बन्द भयो । मेरो फेसबुक उसको र मेरो दुबैको मोबाइलमा लगइन थियो । त्यसपछि मात्र थाहा भयो उसले किन भनेको रहेछ भन्ने । त्यसपछि मैले सम्पर्क गर्ने कोशिस गरिन । कहिलेकाही के छ कस्तो छ भनेर आमालाई फोन आउथ्यो । यसअघि मेरो खातामा आउँने पैसा पनि छुट्ठिएर बसेका जेठाजुको खातामा आउँन थालिसकेको थियो । मैले केही भनिन  न सासुलाई भने न जेठाजुलाई नै । मलाई लागेको थियो उ मलाई माया गर्ने मान्छे हो । बच्चा जन्मेपछि सबै सामान्य हुनेछ । 

त्यसपछि करिब दश दिनमा छोरी जन्मि । छोरी जन्मिएको दिनमा पनि मलाई छोरीको अनुहारको भन्दा रमेशको फोन कलको प्रतिक्षा थियो । सायद सासु आमाले भन्नुभयो छोरी जन्मि भनेर  तर उसले मलाई के छ भनेर पनि सोधेन । त्यस दिनपछि मैले चाहेर पनि उसलाई  माया गर्न सकिन । छोरीको न्वारन गरेपछि म आफ्नो माइती फर्के । थाहा छैन उसले कहिल्यै आफ्नी छोरीको अनुहार देखेको छ वा छैन । 

दिनहरु बिस्तारै बिस्दै गए । आमा भएपछि सन्तान भन्दा ठूलो अरु केही नहुँदो रहेछ । मेरो जीवन छोरीको लागि बन्दै गयो । म फेरी उसको घरमा बिना उसको कुनै उपस्थििती फर्कने मोडमा थिइन । आमा बालाई भन्न सजिलो थिएन । तर आमालाई एक प्रकारको संका अवस्य थियो । यतिका महिना बस्दा उससँग कुनै सम्पर्क नभएको आमालाई सायद थाहा थियो । तर आमाले जान्न आवस्यक थियो । अरुले नबुझे पनि आमाले बुझ्नुहुन्छ भन्ने मलाई लागेको थियो । जब आमालाई भने आमाले केही भन्नुभएन तर मैले आफ्नो आशु रोक्न सकिन ।

खोइ आमाले बालाई के भन्नुभयो बाले मलाई केही सोध्नुभएन त्यसपछि । दिनहरु बित्दै गयो छोरी एक बर्ष पुरा भएर दुईकी भएपछि । आमाले एकदिन “समाज खराब छ नानी, तँ हामीसँग बसी नराख । काम खोज बाहीर अनि अन्त कतै बस । चाहिएको सहयोग हामी गर्छौ ” । आमाले दिएको सल्लाह खराब थिएन । बिए पास गरेकी थिएँ । टिचिङ लाइसन पनि थियो ।बल्लबल्ल साना नानीहरुलाई पढाउँने काम पाएँ । तालघरे बाट म दमौलीमा बस्न थाले । 

बर्षहरु बित्दै गए । तर रमेशको कहिल्यै फोन खबर आएन । सासूआमाले भने कहिलेकाही गर्नुहुन्थ्यो । छोरीलाई फोनमा देखाइदेउ पनि भन्ने गर्नुहुन्थ्यो । समय सँगै बाध्यताहरु बढ्दै गए कमाउनुपर्ने । छोरीका आवस्यकताहरु पुरा गर्ने । उसको र मेरो सम्बन्ध त त्यही दिन सकिएझै भयो जुन दिन उसले मलाई रण्डी भनेको थियो ।  यतिका बर्षहरुमा म उसका लागि के भए थाहा छैन । म उसकी नभए पनि छोरी त हामी दुबैकी थि उसले त्यो कुरा पनि किन बुझेन । छोरीलाई आजसम्म मैले तेरो बाउँ यो हो भनेर देखाउन सकेको छैन ।

थाहा छैन आज उनीहरु किन आएँ । त्यो नामको मात्र सम्बन्धलाई के भनेर अन्त्य गर्ने वा के भनेर जोगाइराख्ने । यतीका बर्ष भएर पनि नभएझै भएको मेरो छोरीको बाउँलाई तेरो बाउ भनेर कसरी चिनाउँने वा कसरी नचिनाउँने । 

यतिकैमा छोरी मेरो हात समात्छे मज्जाले मलाई लाग्छ मैले नभने पनि उसलाई सब थाहा छ । म पहिलेझै शान्त छैन । मामू चिया खानुहुन्छ बनाइदिउँ म उसका शब्दहरु झल्यासँ हुन्छु । मनले भन्छ म फर्कन चाहन्न । तर हुँदै नभएको सम्बन्धलाई कागजमा छैन भनेर वा  तँ मबाट मूक्त भैस भनेर भन्न पनि चाहन्न ।

Saturday, August 16, 2025

बिष्मृति


बर्षौ भयो केही बिसर््ान खोजिरहेको । बिर्सन खोजेर पनि सम्झिरहन्छु । बिर्सन खोजेको पनि हो । बिर्सन नसकेको पनि हो । सम्झन मन नलागेको पनि हो । कहिलेकाही लाग्छ बिर्सेर म कहाँ जाउ । मैले टेक्ने जमिन । मैले समाउँने जरा र मैले बाच्ने समाज यही हो । तर बिर्सन चाहन्छु । बिर्सेर कतै हराउँन चाहन्छु । कुनै अन्जान सडक अपरिचित बनेर आफैलाई खोज्न चाहन्छु ।

यो अध्यारो कथा बनी मसँगै बाचिरहेछ । हरेक चैत एक हुरी बनेर आउँछ । म टाइमलाइनमा एक सन्त महात्माझै आफ्नै आघातहरुलाई शिद्घान्तमा बाध्छु र कसैले नबुझ्रने भाषामा केही बोल्छु । म बिम्बमा बोलेझै गर्छु । पढ्नेलाई लाग्दा यी सुन्दर शब्दहरु कुनै उज्यालो क्षितिजको एक उज्यालो पाना हो । तर त्यस्तो होइन म बिर्सनलाई अन्तिमपटक सम्झेझै गर्छु । सायद आघातका कथाहरु यसरी नै लेखिन्छन् । म चाहन्छु मलाई संसारले संग्लो मानिसको रुपमा बुझोस् । तर म सग्लो मानिस कहिल्यै थिइन । र हैन । मेरा लागि हरेक फागुन र चैत हुरी बनेर आउँछन् अब त्यसमा मंशिर पनि थपिएको छ ।

केटाकेटीमा साथी नभएर कुनामा लुक्ने मानिस, अल्लि ठूलो भएपछि आफन्तको भिडबाट अझ पर भाग्ने मानिस । आज पनि भिडमा हराइदिने मानिस म भित्रै छ । कहिलेकाही लाग्छ चिच्याएर कसैलाई भनिदिउँ सग्लो हुन सजिलो छैन । म सग्लो हुँदै होइन । म चाहेर पनि सग्लो बन्न सक्दिन । 

थाहा छैन यी किबोडहरु मेरा बिष्मृतिका साक्षिहरु कहिलेसम्म बन्नेछन् । मलाई अपनाउनेछन् वा कुनै दिन आत्तिएर छोडिदिनेछन् । तर म यी सब कुरा बिर्सन चाहन्छु । एक शुन्य सुरुवातको आशामा छु जहाँ म सँग मेरा आफ्नो इतिहासको अबसेस रहनेछैन । म आफैँलाई प्रेम गर्न थाल्नेछु र आफैँजस्तो अरु कोहीलाई पनि प्रेम गर्न थाल्नेछु । म सँग मानिस हुनुको आत्मासम्मान बाकिरहनेछ । तर थाहा छैन त्यो दिन आउँनेछ वा आउँनेछैन ।

अरुको अगाडी अघुताभाषको अनुभूती सँगै जीउनेहरुको सायद यो साझा कथा हो । कहिलेकाही लाग्छ लेख्नु मेरो लागि मेमोरी वर्क मात्र हो । किनकी यसपछि म हलुका हुन्छु । कहिलेकाही अक्षरहरुले त्यस्तो स्वतन्त्रता दिन्छन् जो अरु चिज केहीले दिन सक्दैनन् । हो मेरा पखेटा र मेरा जराहरुको आधार अक्षरहरु नै हुन् । म हिड्ने आधार र म बाचेका भूगोल पनि अक्षरहरु मात्र हुन । सम्भव भए म सबैसँग लिखित अक्षरहरुमा बोल्थेँ ।

कहिलेकाही लेख्न सक्ने भएकोमा भाग्यमानी ठान्छु । सायद म सँग लेख्ने सिप नभएको भए मैले टेकेको आधार हलुका र अझ झिनो बन्ने थियो । कहिलेकाही आफैँलाई प्रमाणित गर्नको लागि पनि मानिसले अप्ठ्यारो बाटो रोज्छ । सायद लेखाइ मेरो लागि यो त्यस्तै केही हो । 

बिरलै संरचनामा लेख्छु किनकी यो मेरो रोजाइ थिएन । जब मानिस आफ्नै लागि केही बाटाहरु रोज्छ त्यसमा रोजाइ भन्दा उपलब्ध स्रोत साधन नै पहिलो आधार बन्छ । म चित्रकार पनि बन्न सक्थेँ । मलाई रंगहरु आज पनि असाध्दै मनपर्छ । तर हुर्कदै गर्दा समँग रंगसम्म पुग्ने स्रोतसाधन थिएन । अक्षरसम्म पुग्न सजिलो थियो किनकी अक्षरहरु सस्ता थिएँ । एक मानेमा सजिला पनि थिए ।

कहिलेकाही आफ्नै द्धोयस र आघात बोकी लेखेकोमा पछुतो पनि लाग्छ । मलाई लेख्ने मान्छे बिना पिडा पनि लेख्न सक्नुपर्छ भन्ने लाग्छ । लेखाई स्मृति  वा बिस्मृतिरमण होइन । र पनि कति कुरा बिर्सनैको लागि लेख्छु । मलाई लेखाई शिल्प हो भन्ने बिरलै लाग्छ । हुनसक्छ लेख्दै गर्दा मानिसले आफ्नै खाले लेख्ने कला समाउँछ त्यो स्वभाविक हो । एक छोरी मान्छेले म लेख्न मनपराउँछु भन्नुलाई आज पनि समाज महत्वपूर्ण ठान्दैन । मेरो परिपारलाई आज पनि लाग्छ मैले लेख्नुले केही महत्व राख्दैन ।त्यसैले यो निजात्मक तर मैले आफ्नै लागि रोजेको राजनैतिक बाटो पनि हो । म आफ्नो कथा आफ्नै तबरले लेखेर मर्न चाहन्छु । म चाहन्न म मरेपछि मानिसहरु मलाई रोमान्टिसाइज गरुन् । व एक मानिस हुनुका आघातहरु चाहेर नचाहेर हामी सबैसँग नै हुन्छन् । म त्यो आघातहरुलाई आफ्नै तबरले अकाईभ गर्न चाहन्छु ।

थाहा छैन किन मलाई यी असंरचनात्मक अक्षरको यात्राले आफै आफ्नै आघातहरु बाट मूक्त  हुन खोजेको अनूभूती दिन्छ । यो लेख्दै बिर्सदै गर्ने छायाँको बाटो हो । बिर्सन खोज्नु भनेको अगाडि बढ्ने प्रयास गर्नु पनि हो ।

आफ्नै एकान्तको साक्षि बनेर आफैँलाई चिहाउँन सजिलो छ पनि छैन पनि । तर यो रोजाइ थिएन । हुर्कदै गर्दा आफ्नो समाजभित्र अट्न नसकेको अनुभूती गर्ने एक किशोरीले रोजेको आफैँसँग वार्तालाप गर्ने एक बाटोमात्र थियो । आज आएर कहिलेकाही अनुभूती हुन्छ अभिब्यक्ति भन्दा ठूलो स्वतन्त्रता अरु केही रहेनछ । आज पनि कहिलेकाही त्यो दुखी, एक्ली, सबैले नराम्री काली भनिदिने फूच्ची किशोरीलाई देखेर माया लाग्छ । यो उसले रोजेको बाटो थियो । त्यो बाटो सजिलो थिएन । कसैले उसलाई पढिदिएला की भन्ने डर पनि थियो । नबुझिने तरिकाले लेख्ने शिल्प थिएन । अरुले बुझेँ भने के भन्लान भन्ने लज्जा पनि थियो । 

यही लज्जा, पिडा र स्वतन्त्रता बिच कोही लेखिरहेछ भने त्यो आफैँलाई बुझ्न रोजको मेमोरी वर्क मात्र हो । यसलाई जे ठान्दा पनि हुन्छ स्वतन्त्रता, रोजाइ वा अचल्तिको बाटो ।

एक अन्त्य एक सुरुवात


प्रिय तिमी,

थाहा छैन अब यी अक्षरहरुले केही अर्थ राख्छन् वा राख्दैनन् । अब अक्षरमा मात्र ब्यक्त हुनु एक सकस झै भैसकेको छ । म तिमीसँग सम्पूण रुपमा पोखिन चाहन्छु । मलाई लाथ्यो शब्द मार्फत सुरु भएको हाम्रो यात्रा शब्दमा नै अन्त्य हुनेछ । तर त्यस्तो नहुदो रहेछ । अक्षरका सिमानाहरु रहेछन् । सम्बन्ध सिमा बिहिन हुदो रहेछ । हरेक अप्रिय पनि प्रियझै लाग्ने । हरेक असुन्दर चिज पनि सुन्दरझै लाग्ने ।

तिमीलाई यी कुराहरु सुन्दा अनौठो पनि लाग्न सक्छ । तर यो मेरो अनुभूती हो । तिमी झै म पनि तिमीसँग झुटो बोल्न सक्दिन । मलाई कहिल्यै लागेको थिएन म कसैका लागि यस्तो अनुभूती कुनैदिन गर्नेछु । तर नसोचेको कुरा सोच्न थालेकी छु ।

आजकल लाग्छ, अब केही चिज अन्त्य गरेर केही चिज सुरुवात गर्नुछ । आउ केही चिजको अन्त्य र केही चिजको सुरुवात गरिदिउँ ।

उही 

तिमीलाई चिठी लेख्ने म


Friday, August 15, 2025

रंग


निर्जला अधिकारी 

  किन किन उसलाई कविताहरु पनि उसले कोर्ने चित्रझै लाग्छ । उ भन्छ, “ कविताले नबोलीकनै धेरै कुरा बोलिदिन्छन् । मलाई कविहरु हल्ला गर्दै हिडेको मन पर्दैन । कविहरुको मौनताले ठूलो अर्थ राख्छ ।” उ चित्रकार हो तर कविता मनपराउँछ । म कवि हुँ तर मलाई चित्रहरु मनपर्छ । जसरी उ क्यानभाषमा रंगहरु पोत्छ यस्तो लाग्छ उ रंगहरुको क्रान्ती गर्दै छ ।

मलाई रंग मनपर्छ तर रंगसँग खेल्न सक्दिन । म हुर्कदै गर्दा म सँग रंग थिएन । मलाई रंग खेलाउनेहरु आँज पनि सम्पन्नताको उपजझै लाग्छ ।  उ महलमा जन्मेको होइन तर उ रंगसँग रमाउँछ । मलाई लाग्छ अक्षरहरुको सिमाना हुन्छ । रंगहरु सिमा बिहिन हुन्छन् । उसको अगाडी म आफूँलाई जहिले सिमित पाउँछु ।

कहिलेकाही लाग्छ हामी बिचको साथीत्व रंग र अक्षरले जुराएको  हो । उ चित्रकार नभएको भए वा म कवि नभएको भएँ हामी कहिल्यै साथी बन्ने थिएनौ । उ चित्र कोर्छ । म उसका चित्रलाई हेरेर कविता र्कोछु । र हामी चित्र र अक्षरको अनौठो कोलाज पस्कन्छौ । मलाई सधै लाग्छ उ हिमाल हो म नदि हुँ । उसका रंगहरु बेगर मेरा अक्षरहरु बग्दैनन् । हामी रंग र अक्षरका सिम्फोनीहरु हौँ ।

कहिलेकाही उ अनौठा रंगहरुले आफ्नो क्यानभाष पोतिदिन्छ अनि भन्छ, “ अब तिम्रो काम” । उसका रंगलाई जहिले अक्षरमा ब्यक्त गर्न सजिलो छैन । उ अमूर्ततामा अर्थ खोज्छ । म शब्दहरुले अर्मूतता ब्यक्त गर्न सक्दिन । शब्दमा सिमितता छ । किनकिन उ यो कुरा बुझ्न सक्दैन वा नबुझेझै गर्छ । उ भन्छ,” शब्दले अध्यारो बोल्न सक्नुपर्छ । ल हेरत, मेरो क्यानभाषमा रातो र कालो रंग बढी छ । अब तिमीले बिरोधलाई कवितामा ब्यक्त गर्नुपर्छ ।” म उसले भनेको कुरा बुझ्छु तर लेख्न सक्दिन । रंग र रेखाहरुझै शब्दहरु कहाँ प्रष्ट हुन्छन् र !

सायद मैले बिरोधको भाषा कहिल्यै बोलेकी छैन । आज रातभर मैले अध्यारा शब्दहरु लेख्नुपर्ने छ । उ ग्यालरी बाट घर फर्कन्छ । मेरो लागि त्यो सुबिधा आज छैन । म ग्यालरीमै बस्छु ।  अनौठो परिस्थितिमा भएझै लाग्छ । यतिका बर्षसम्म मैले शब्दले बिषमता र बिरोधलाई ब्यक्त गर्न नसक्नु कविको रुपमा मेरो आफ्नै कमजोरी हो । तर कवि यति धेरै यान्त्रिक पनि त बन्न सक्दैन । तर म उसलाई निराश बनाउँन चाहन्न । अर्को महिना हामी युरोप जाँदै छाँै । मेरा कविता बेगर हाम्रो यात्रा अधुरो बन्ने छ । म लेख्छु,, 

आज फेरी 

सेतो क्यानभाषमा 

मैले कालोे रंग पोतिलिएँ

थाहा छैन तिम्रा इन्द्रेणीहरुले 

कसरी हेर्नेछन् भोली 

सायद यो कठिन हुनेछ 

म फूल होइन मुस्कुराइरहन सकिँन ।


हरेकपटक 

तिम्रो इन्द्रेणी 

मेरो रहेन...

तिम्रो रंग

मेरो भएन....

तिम्रो परिभाषा

मेरो बनेन...

सायद तिमीजस्तो नहुनु

जीवनका थुप्रै क्यानभाषमा कालो पोत्नु रहेछ 

आज फेरी सेतो क्यानभाषमा 

मैले कालो रंग पोतिदिएँ ।

 रातीको दुई बजेको छ । बल्ल मैले आफ्नो भागको काम भ्याएको छु । थाहा छैन भोली उसले फेरी कस्तो रंग पोत्नेछ । मैले कस्ता शब्दहरु कोर्नुपर्नेछ । भोलीपल्ट बिहानै उ ग्यालरीमा फर्कन्छ र मेरा शब्दहरुमा आँखा लगाउँछ । बदलामा केही बोल्दैन । किनकिन उ मैले लेखेका शब्दहरुमा  टिप्पणी गर्दैन । बस उ पाठक मात्र भैदिन्छ ।

मलाई उसको यहि बानी मनपर्छ । उ शब्दबारे बोल्दैन  तर मनपराउँछ । उ शब्दलाई बिनामतलब मन पराइदिँन सक्छ । उ चित्रकार नहुन पनि सक्थ्यो । भएर पनि गुमनाम हुन सक्थयो । तर उ दुबै भएको छ र मसँग ठोक्किन पुगेको छ । वा म उसँग ठोक्किन पुगेकी छु । उ रंगसँगै अक्षरमा पनि  रमाउँछ । उसलाई कविहरु त्यसैले मनपर्छ । तर हामी बिच झिना मसिना गफ हुँदैनन् । उ बस् रंग पोत्छ र मलाई अक्षर कोर्ने काम दिएर गुमनाम भैदिन्छ । यतिका बर्ष सँगै काम गरेर पनि म उसलाई चिन्छु पनि चिन्दिन पनि । 

  कलाले मान्छेलाई बुझिदिँनु सजिलो छ  र छैन पनि । म उसलाई सम्पूर्णतामा बुझ्दिन । सायद म उसलाई कलालाई झै दुरीबाट मात्र हेर्छु । सायद उ पनि मलाई बुझ्दैेन । र परबाट नै मलाई बुझेझै गर्छ । तर हामी एक अर्काको रंग र अक्षरलाई बुझ्छौ । यो अनौठो बिरोधाभाष हो । तर मलाई यो बिरोधाभाष सुन्दर लाग्छ ।

मलाई लाग्छ उसँग कथाको भण्डार छ त्यसैले उ सजिलै रंगमा पोख्खिन सक्छ । उ रंगमा नाङ्गो भैदिन सक्छ । म अक्षरले नाङ्गो हुन सक्दिन । अक्षर र म बिच यदाकदा लाग्छ कोसौको दुरी छ । म सम्पूर्णतामा अक्षरमा पोख्खिन सक्दिन । यदाकदा लाग्छ म उ झै स्वच्छन्द बन्न सकुँ । तर सक्दिन । म आज पनि अक्षरमा पोखिन पनि लजाउँछ । तर म भन्दा ठिक बिपरित रंगले निबस्त्र भैदिन सक्छ ।

आज फेरी उसले बिनाअर्थका अनेकौ रंगहरु क्यानभाषमा पोतिदिएको छ । अब मैले त्यसैलाई हेरेर शब्दहरु कोर्नुपर्नेछ । तर आज मलाई एक खाले स्वतन्त्रता छ । म रंगले लगाउने अर्थले बाधिनुपर्ने छैन । सायद म सजिलै शब्दमा पोख्खिन सक्छु,

मूर्तता....

अमूर्तता...

किन कहिल्यै देख्दिन सग्लो छु

भन्नेहरुको सग्लोपन 

सुन्दर छु 

भन्नेहरुको सुन्दरता

पिएर बसेको पियक्कडझै

हरेक पटक....

किन अर्थहिन लाग्छन् सबै अर्थपूर्ण कुराहरु

र मात्र देख्छु पिकासोलेझै कोरको

जीवनका बाङ्गाटिङ्गा रेखाहरु

किन प्रश्नहरु प्रश्नजस्ता लाग्दैनन् 

भन्नबाकी उत्तरजस्ता लाग्छन् 

किन कोही भन्दैनन् 

बुझ्नु नबुझ्नु हो भनेर...

मौनता आवाज हो भनेर...

आज किन सबै जटिल प्रश्नहरुजस्तो

सबै कुरा जटिल मात्र देख्दैछु ।

आज सजिलै आफ्नो काम भ्याएकी छु । उ मैले लेखेका शब्दहरु पढ्छ तर केही बोल्दैन । उसले मेरा कविताहरु बारे बोलेको मलाई थाहा छैन । तर पहिलोपटक उसका चित्रहरुमा कविता कोर्नको लागि आग्रह उसैले गरेको हो । तर उसले मलाई तिम्रा कविताहरुलाई मनपर्छ भनेको होइन । उसकै शब्दमा भन्दा उसले उसको कला यात्राका एक सारथी रोजेको हो । यो अचम्मको साथ हो । हामीलाई जोड्ने माध्यम कला मात्र हो । 

म कहिलेकाही निराश नभएकी पनि होइन । यतिका बर्षहरुमा उसलाई मननपराइकन बस्न सकेकी पनि होइन । मलाई कहिलेकाही लाग्छ उ कला बेगर अरु चिज बारे पनि बोलोस् । मसँग  कहिलेकाही ठट्टा गरोस् । हाँसोस् । तर उ अनौठो छ । उ ठट्टा पनि रंगमै गर्छ । मैले उ जिस्किएको कहिल्यै देखेको छैन । मलाई रंग बेगरको उ रुखो लाग्छ । यति रुखो मान्छे कलामा यति रसिक कसरी बन्न सक्छ जस्तो पनि लाग्छ । 

म उसलाई उसको कलाले मात्र अपनाउँन सक्दिन । म उसलाई सम्पूर्णतामा अपनाउँन चाहन्छु । तर हजारौका अध्यारा कथाहरुलाई बुझ्न सक्नेले मेरो मौनताको कथालाई कसरी बुझ्न सक्दैन । म शब्दमा यी कुराहरु भन्न सक्दिन । तर यो सम्बन्धलाई सहकार्यमात्र मानेर अघि बढ्न पनि सक्दिन ।

म  कवितामा यो कुरा भन्न सक्छु तर मलाई उसको प्रतिउत्तरको आशा छैन । म लेख्छु....

जीवनको रंग फिका फिका 

लाग्छ कहिलेकाही

लाग्छ भरिदिउँ तिम्रो रंग

भरिदिउँ मेरो रंग

बुझ्न ग्राहो छ 

बुझाउँन अझै ग्राहो 

सायद मैले गल्ति गरेँ

तिम्रो मौनताको जवाफ मौनतामै दिएँ 

सबै मौनता प्रिय नहुँदो रहेछ ‘

जस्तोकी सबै मौन रातहरु 

आज फेरी 

तिम्रा मौन गीतहरुमा 

मैले मौन सिम्फोनीहरु भरीदिएकी छु ।

  यति लेखीभ्याएर म ग्यालरीको नोटिसबोडमा टाँसिदिन्छु । उसले ग्यालरी छोडिसकेको छ । मन ठक्क फुल्छ । नटाँसौझै पनि हुन्छ । भोली उसले कसरी लिन्छ भन्ने सोच्दासोच्दै म अत्तालिन्छु । घर फर्कन्छु । निन्द्रा पर्दैन । 

  भोलीपल्ट ग्यालरी आउँछु । नोटिसबोडमा आफ्नो कविता भेट्दिन । उकुसमुकुस हुन्छ । हात काम्छ ...धेरै समयपछि  नोटिस बोडको तल किरिमिरी अक्षरमा एउटा कविताजस्तो केही भेट्छु ......

क्यानभाषको एउटा अंश

सधै छोडिदिन्छु

लाग्छ

बिना रंग रग्याउने कोही छ 

बिना रंग रंगिन बनाउँने कोही हुनु

सबथोक हुनु रहेछ

..............

आज केही नबोली 

सबैथोक बोलिदिएको छु......

अध्यारो उज्यालो


एक अध्यारो एक उज्यालो साक्षि बनेका छन् । म चाहेर पनि उनीहरु भन्दा टाढा भाग्न सकेको छैन । बिहानै चरा उठिसकेका छैनन् । मानिसहरुका पाइलाहरु सडकमा परिसकेका छैनन् । फूलहरु फुलिसकेका छैनन् । केही अध्यारो केही उज्यालो मेरा साक्षि बनेका छन् । 

पर क्षितिजमा केही उज्यालो ल्यामपोष्ट बनेर झुल्किएको छ । अध्यारै अध्यारोको बिच त उज्यालो पनि सुन्दर नै लाग्ने रहेछ । निष्पट्ट अध्यारो पनि छैन । निष्पट्ट उज्यालो पनि छैन । उज्यालो र अध्यारो बिचको यो धुमिलता बिच म कहि कतै उभ्भिएको छु । 

सायद बाच्नुको सार्थकता यही धुमिलतामा नै छ । चाहेर पनि म उज्यालो र प्रष्टता तिर लम्किन सक्दिन । कहिले अध्यारोको एक हुल किरणहरुले मलाई छोपिदिन्छन् । कहिलेकाही उज्यालो पनि जिस्क्याउँन आउँछ । मलाई लाग्छ केही त छ जसले मलाई जिस्क्याउँछन् । म उनीहरुझै केही हुनु र नहुनुको बिम्बमा बाचेझै गरिदिन्छु ।

प्रष्ट कोही र केही छैन । जे छ धुमिलतामै छ । सुखहरु पनि धुमिल बनेर नै आउँछन् । दुखहरु पनि धुमिल बनेर नै जान्छन् । प्रष्ट छु भन्नेहर पनि कहाँ पस्ट छन् र  ? आफ्नै मायामोहमा मोहीत मात्र छन् । कहिलेकाही आफैँलाई प्रष्टताको भूत नचढेको कहाँ हो र ? तर बिहानी नभैसकेको बिहानी मलाई सधैँ धुमिनता नै त हो तेरो हो भनिदिन्छन् ।

  प्रस्ट अप्रस्ट । उज्यालो अध्यारो । खुसी दुखी । भेटिनु छुटिनु । यी पनि त बिम्बनै थिएँ । भनेझै प्रस्ट र सपाट के छ र ? न उज्यालो नै । न अध्यारो नै । परको क्षितिज पनि कहाँ देखीझै सुन्दर छ र ? जे छ दुरी मै छ । 

ल्यामपोष्ट उज्यालोले सडकलाई छोडेको छैन । अब केही मिनेटमै कोही आउँनेछ र सडकलाई फेरी अर्को छाया दिएर जानेछ । ल्यामपोष्टमूनी एक प्रतिबिम्ब बन्नेछ जो तपाई र हाम्रोझै बन्नेछ । उज्यालो ल्यामपोष्ट तल केही अध्यारो देखीने छ । यही छ केही अध्यारो केही उज्यालो ।


Thursday, August 14, 2025

कोलाहल


कहिलेकाही मानिसका पाइलाहरुका आवाजहरु पनि कर्कष लाग्छन् । जस्तो कि आज । आवाजहरुलाई छल्न बिहानै उठेको छु तर आवाजहरुले मलाई छोडेका छैनन् । बिहानै मानिसका पाइलाहरु सडकमा परिसकेका छन् । कुकुरहरु एक तमासले कराइरहेछन् । सायद चराहरुको चिरबिर पनि मानिसका पाइलाहरुसँगै मिसिएको छ । घाम अझै झुल्कन बाकी नै छ । फूलहरु फुलीसकेका छैनन् ।

यसरी बिहानीको साक्षी बन्नु बाध्यता र रोजाइ दुबै हो । मलाई अध्यारा बिहानीहरु ऋझै प्रिय लाग्छन् । जहाँ समयको साक्षी आफूमात्र भएझै लाग्छ । आफ्नै समयलाई जीएझै लाग्छ । जब घाम लाग्छ । जब फूल फुल्छ । जब नानीहरु उठ्छन् । जब नानीका आमाहरु भगवानका घरहरुमा मैनबत्ति जलाउँन थाल्छन् यस्तो लाग्छ म पनि त्यही आवाजको कोलाहल मात्र हु ।

पाइलाहरु कोलहलमा केही भिन्नता देख्दिन । हिड्नेहरुका पाइलाहरु केबल भिडका आवाजहरु मात्र हुन् । असन र इन्द्रचोकझै हरेक सडकले, बाटो र दोबाटोहरुले मानिसका पाइलाहरुलाई अपनाउँछ मात्र । मानिसहरुलाई हिडेपछि पुगिन्छ । मलाई हिड्नेहरु बिना उद्घेश्यमा बरालिएका आत्माहरु मात्र लाग्छ । हिड्दैमा कहाँ पुगिन्छ र ? पुग्नुलाई के ठान्ने गन्तब्य वा बिश्राम ? हिडेर कही पुगिने भए किन यी सधै हिड्छन् । के यी सडकमा हतारिदै हिड्नेहरु कही पुगेर फर्केका हुन् ?

कहिलेकाही पाइलाहर फगत पाइला मात्र लाग्छ । दिनदिन बाचेझै बाचिदिएको जस्तो मात्र लाग्छ । यी पाइलाका कोलाहलहरु बोकेर कहि एकान्तमा हिडिदिउँ जस्तो पनि लाग्छ । तर हिड्दैमा कहाँ सकिँदो रहेछ र आफूभित्रको कोलाहल ? हर दिन असन र इन्द्रचोकझै म पाइलाहरुका कोलाहलको साक्षी बन्छु । त्यहाँ हिड्दैमा नपुग्नुको पिडा छ । म पनि कुनै बाआमाको घर छोडेर हिडेकी थिएँ । पुगेको त कहिँ छैन । दुख पर्दा फर्किउ कि भन्ने गुड त आज पनि त्यही लाग्छ । 

यो चिया कप हातमा लिनु अघिको बिहानी हो । लाग्छ बिहानीको एकान्त मबाट कसैले नलुटोस् । गाडिको , मानिसको यो कोलाहलबाट आफ्नै कोलाहलमा आइपुग्न पनि बिहानी चाहिँदो रहेछ । हुन त म भित्र पनि कोलाहल मात्र छ । कहिलेकाही म आफ्नै कोलाहल आत्तिएर अर्को कोलाहलमा पुग्छु । 

बिहानै कोलाहललाई साक्षि राखेर त्यस्तो समयलाई कैद गरेकी छु जसले मलाई आफै बन्ने स्वतन्त्रता दिन्छ । कोलाहलकै कुरा गरे पनि यो मलाई मनपर्ने कोलाहल हो । आवाज कै खोजिमा त हरेक दिन म पाइलाहरु चाल्छु र चाल्नुको बेअर्थ बुझेर फर्कन्छु ।

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...