Monday, August 11, 2025

सुरुवात


प्रिय तिमी,

मलाई थाहा  छ,  मेरो अघिल्लो चिठीले तिमीलाई सुखी बनाउँदैन भन्ने । तथापी म जे छु र जे हुँ त्यो भन्न जरुरी थियो । म तिम्रो अगाडी नाङ्गो नै सही कुरुप नै सही तर झुटो बनेर आउँन सक्दिन । तिमीलाई लाग्न सक्थ्यो म भित्र प्रेम र ममता मात्र छ । तर म पुरुष हुँ त्यो भन्दा बढी भोक र बासना पनि हुनसक्छ । म तिमीलाई मिठासको बन्धनमा बाध्न सक्दिन । तिम्रो लागि म जे हुँ त्यो आकाशझै खुल्ला र फराकिलो रहनेछ ।

कहिलेकाही सुरुवात सुन्दर बनिदिन्छ तर अन्त्य सोचेभन्दा कठोर । मलाई लाग्छ तिमीले त्यो अप्रत्यासित कठोरता भोग्न नपरोस् । पुरुष भित्रको त्यो जनावरलाई एक्कासी साक्ष्यातकार गर्न नसरोस् । त्यसैले सबै सबै चिज लेखेँ । तिमीलाई मलाई अस्विकार्ने स्वतन्त्रता सधैँ रहनेछ । म तिमीले सोचेझै राम्रो र सजिलो मानिस होइन । मैले प्रेम भन्दा बेगरका बासनाका लागि मात्र अनगिन्ति सम्बन्धहरु राखेको छु । तिमीले देख्ने प्रेम बासना मात्र पनि हुनसक्छ । मेरा यी सबै कमजोरीहरुलाई गल्तिहरुलाई तिमीले स्विकाछ्यौ भने यो मेरो सौभाग्य हुनेछ । मैले मेरो रोजाइको मानिस जीवनमा भेट्नेछु । अस्विकृति पनि त्यही स्विकार्य रहनेछ । रोजाइ तिम्रो हो ।

म झुटको जगमा सम्बन्धको कसी कस्न चाहन्न । जीवन शब्दहरुझै सुन्दर र सरस छैन र हुँदैन । शब्दले सबै चिज सुन्दर काब्यिक बनाइदिन्छन् । शब्दमा त कुरुपता र निराशा पनि सुन्दर सुनिन्छ । म शब्दमा ब्यझ भएझै सग्लो मानिस होइन । मैले अघिल्लो चिठीमा पनि त्यही भन्न खोजेको हो । आशा छ तिमीले यी सबै सबै कुराहरुलाई मेरै पैतालामा टेकेर बुझ्नेछौ ।

  कुनै दिन अपरिचित पनि परिचितझै बनेर भेटिएका हामी आसा छ अब परिचित परिचित मात्र बन्नेछौ । कहिलेकाही सम्झिदा कुनै कथाझै लाग्छ । तर जीवन र कथामा खासै अन्तर पनि त छैन । हामी दुवैलाई कथाको पात्र मात्र ठानिदिँदा पनि हुन्छ । 

आशा छ यो चिठीमा मैले भन्न खोजको कुरा बुझ्नेछौ । म जे छु र हुँ कमजोरहरुसहित गल्तिहरु सहित अपनाउँनेछु । तिमीलाई झै मलाई पनि तिमी सधैँ प्रिय लाग्नेछ ।

उही 

तिम्रो चिठी पुग्ने ठेगाना  

अस्तित्वका फिलिङ्गा

 अस्तित्वका फिलिङ्गा

 

मैले बादलका टुक्राहरुमा

तिम्रो नाम लेखें र

तल जमिनमा पठाएँ

आज जमिनमा केही सुन्दर देख्छु त

तिम्रो नाम देख्छु

तिमी देख्दिन तिम्रो नाम देख्छु

सायदै अब तिमी भेटिनेछौ

सायदै अब म तिम्रो नाम लेख्नेछु

अस्तित्वको यो मैफिलमा

जमिन र बादल केही नरहेपछी

तिम्ले मलाई मैले तिम्लाई खै के खोजिरहनु

खै के लेखिरहँनु !!

शहर : एक अनुभूती

 

दिन शान्त छ । मनमा शान्ति भएको बेला बादलले भरीएको दिन पनि मनपर्छ ।  झरी मनपर्छ । बतास पनि मनपर्छ । हावाहुरी र चट्याङ पनि मनपर्छ । आज त्यस्तै कुनै दिन हो । घण्टाघर तल छु ।  घण्टाघर आफ्नै लयमा घुमिरहेको छ । सायद समय यसरी नै घुम्छ । बिस्तारै थाहा नपाएझै गरी ।  घुमेको आभाष कहाँ छ र ! र पनि घुमिरहेछौँ ।

सायद यो जीवनको गति हो । सायद मानिस पनि आफ्नै लयमा घुम्न चाहन्छ ।  वा यसरी नै समय चलिरहन्छ । नचल्नुको विकल्प पनि त छैन । यो बिना बिकल्पको हिडाइ हो । वा घुमाइ हो ।

 हत्तारीँदै हिडेर पनि कही पुग्नु छैन । वा पुगेर पनि फर्कनु छ । वा पुगेर पनि नपुगेझै गर्नु छ ।

 हामी सबैको गन्तब्य एकै हो । थाहा छैन हत्तारीँदै हिड्नेहरु कहाँ पुग्छन् । सायद लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ । यात्रा अयात्राको यो वृत्तमा हामी  घुमिरहेछौ  । सायद यही नै जीवन हो ।

चियापसलमा छु । भर्खरै एक मधुर मुस्कानले छोडेर गएको छ । मुस्कान एक सामुहिक भाव हो । दुख पिडालाई हामी सामूहिक बनाउँन सक्दैनौ । सायद मुस्कान नै त्यस्तो अनुभूती हो जसले सामूहिकता रोज्छ । मुस्काउँदै हिड्नेहरुले अनौठो अनुभूती दिएर जान्छन् । उसले त्यही  दिएर गएको छ । थाहा छैन उ किन मुस्कुरायो । थाहा छैन मैले किन उसको मुस्कानलाई साथ दिएँ ।

शहर आफ्नै गतिमा छ । चाहेर पनि हामी शहरको गतिलाई रोक्न सक्दैनौ । चियापसलबाट शहरको एक दृश्य कैद गर्दैछु । यो दृश्य मेरो हो ।  शहर सामुहिक भए पनि हामी सबैको आफ्नै भर्सनको सहर छ । 

सबै आफ्नै लयमा पाइला चाल्दैछन् । किन कहाँ कसैलाई थाहा छैन । वा थाहा छ । वा थाहा भएर पनि थाहा नपाएझै गर्दैछन् । 

यो पाइलाहरुको कोलाहलमा आफ्ना पाइला खोज्दैछु । सायद म पनि आफ्नै दौडमा छु अरुजस्तै । तर थाहा छैन मलाई कहाँ पुग्नुछ, के पाउँनु छ । के मेरा पाइलाहरु प्राप्तिको दौडमा छन् ? तर थाहा छैन मेरो गन्तब्य के हो । आफैलाई खोज्दाखोज्दै म कहाँ पुग्नेछु । वा कुनै दिन थाकेर खोज्न छोडिदिनेछु । शहर अमुक छ । उसले मलाई पनि त कहिल्यै प्रश्न गरेन । सायद सहर सबैप्रति एक दुरी राख्छ । उसले चाहेर पनि न मानिसलाई अगाल्छ न लत्याउँछ ।

  के सब यी दौडिरहेका मानिसहरु आफैलाई खोज्दैछन् । वा शहरको धुनमा त्यसै नाच्दैछन् । मलाई अरुको लयमा नाच्नेहरु अनौठा लाग्छन् । थाहा छैन नाच्दानाच्दै उनीहरु कहाँ पुग्नेछन् , के पाउँनेछन्  । सायद यो शहरको बिशेषता हो । यसले आफ्नै धुनमा नचाउँछ । 

 तर सबैसँग आफ्नै परिकल्पनाको शहर हुन्छ । मेरो शहर मेरो रोजाइको शहर हो । म शहरलाई सिंगो ठानेर हेर्न सक्दिन । मलाई त शहर आफैँजस्तो लाग्छ । टुक्रिएको निराश । म आफ्नै प्रतिबिम्बमा शहरलाई हेर्छु । मलाई लाग्छ मेरा वाक्यहरुझै मैले बाचेको शहर पनि सग्लो छैन । 

हामीले बुझेको शहरको कल्पना एकात्मक हो ।  यो एकात्मकताको बिम्बमा अडिएको छ । मैले शहरमा रहनुको अनुभूतीलाई सामूहिकतामा ब्याख्या गर्न सक्दिन । मेरो शहर तपाईको होइन । तपाईको शहर मेरो होइन । यो घण्टाघर तल म मेरो समयको कुरुपतालाई मात्र देख्छु । हुनसक्छ तपाईलाई यी मानिसहरु, यी गाडिहरु, यी बिनामतलबका दौडधुपहरु राम्रै लाग्लान् ।

गाडी गुडेका छन् । मानिसहरु हतारमा छन् । चिया पसलबाट चियाका बाफहरु उड्दैछन् । यो शहरको बिहानी हो । सायद शहर यसरीनै बिउँझन्छ । स–साना नानीहरु स्कुलका लागि निस्कदैछन् । नानीहरुले शिरमा लगाएको रिबनका फूलहरुले थप सौन्दर्य थपेको छ । यी अनुभूतीका तंरगहरुलाई म कैद गर्न चाहन्छु । म चाहन्छु मसँग यस्ता अनुभूतीहरु रैरहुन् । सायद हामी सबै यी यस्तै अनुभूतीका भोका छौ । बिष्मृतिहरु छोटा हुन्छन् सायद हामी सबै स्मृतिमा बाच्न चाहन्छौ ।

तर यी स्मृतिहरु कुनै दिन मबाट पर जानेछन् । म धुमिल बन्नेछु । मेरा दृश्यहरु धुमिल बन्नेछन् । सायद मसँग स्मृतिको नाममा केही रहनेछन् । न यो चियापसल । न यो घण्टाघर । न यी असननका गल्लिहरु । मेरी हजुरमासँग पनि संसारबाट बिदा हुँदे गर्दा स्मृतिहरु बाकी थिएनन् । सायद म पनि त्यस्तै हुनेछु कुनै दिन । शहर रहनेछ म रहनेछैन । शहरलाई कसैले सम्झनेछ तर मैले सम्झनेछन् ।

  शहरको यो निजात्मक ब्याख्या हो । हुनसक्छ कुनैदिन सामूहिक बन्नेछ । यो मेरो नभइ अरु कसैको बन्नेछ । यी चाहेर कैद गरेका शब्दहर हुन् । थाहा छैन कुनै दिन अरु कसैले शहरको अर्को भर्सन लेख्नेछ । तर यसरी नै नलेख्न सक्नेछ । म आफैले पनि अरु कुनै दिन कैद गरेँ भने शहरको अर्को कुनै कुरुप कर्कष पोर्टेट बन्नेछ । यो सहरमाथी गरिएको बेमेल रेखाहरुको एक अमृत ब्याख्या मात्र हो । क्यानभाष मेरो हो । रंगको रोजाइ तपाईको हुनेछ ।

Sunday, August 10, 2025

प्रतिबिम्ब


“के तिम्रो नाम छाँया हो ? होइन मलाई प्रतिबिम्ब भन्नुस् ।”

“म तिमीलाई छाँया भन्न चाहन्छु । तपाईल ेभन्दैमा म छाँया बन्ने होइन म आफूलाई प्रतिबिम्ब भनेर सम्बोधित भएको सुन्न चाहन्छु”

“दिएर इज नोथिङ इन नेम । आई डिन्ड एक्सपेक्ट दिस काइन्ड अफ कन्भेनसनल एटिटिउड फ्रम यू”

“तपाई सोच्न सक्नुहुन्छ ।  आइ एम क्वाइट रिजिड रिगाडिङ माइ नेम”

यो हाम्रो पहिलो भेट हो । यो पहिलो भेट हो तर सजिलो भेट पक्कै होइन । म उसलाई इन्स्टामा फलो गर्थे । उसको चित्रकारीता देखेर प्रभावित थिएँ र छु पनि । तर कारण त्यो मात्र होइन म बस् उसलाई भेट्न चाहन्थे । मलाई लागेको थियो उसका चित्रहरु झै जीवन बारे पनि उ केही खुल्ला छे । तर भेट्दा मलाई लाग्यो उ धेरै रिजिड छे । मैले सोचेको जस्तो वा कल्पना गरेजस्तो उ छैन । 

उ केही उदास देखिन्छे । म पहिलो भेटमै उसलाई तिमी किन निरास छौ भन्न सक्दिन । सायद उ त्यस्तै हो । सायद चित्रकार हुनु उदास हुनु हो । मैले भेटेको उ पहिलो चित्रकार हो । सायद यो चित्रकारहरु बारे रहेको मेरो आम धारणा हो । तर म उसँग निराशाबारे केही भन्न सक्दिन । तर निराश देखिँदैमा कोही निराश नै हुन्छ भन्ने पनि त छैन । देख्न त म पनि खुसी  देखिन्छु तर म पनि त निरास छु । 

उ आफ्नो लागि क्यापचिनो मगाउँछे र मेरो रोजाइ सोध्छे । म पनि क्यापचिनो नै भनिदिन्छु ।  म आफ्नो रोजाइ उसको अगाडी भन्न सक्दिन । म र्यान्डम गफ निकाल्छु । किनकिन मलाई सधैँ लाग्ने गर्थो उ पनि म जस्तै सिनेमा प्रेमी हो तर फेरी अर्को पटक म गलत ठहरीन्छु । उ भन्छे, “मलाई सिनेमाहरुले खासै तान्दैन । “ कहिलेकाही हामी आफ्नै प्रतिबिम्ब अरु कसैमा खोज्छौ सायद म बाट त्यही भयो ।

फेरी अर्को पटक त्यसै बसेको देखेर व्यटर आइपुग्छ, उ फेरी अर्को पटक पनि कफी नै मगाउँछे । म पनि कफी नै भनिदिन्छु । उ म बारे केही सोध्दिन म केही र्यान्डम कुराहरु निकालिरहन्छु । मलाई फेरी पनि लाग्छ उ केही निराश छ तर निरास त म पनि छु । तर म उ जस्तो निरास देखिन्न ।

खोइ उसलाई के लाग्यो उ अनायासै सोधिदिन्छे, “के तपाई निरास हुनुहुन्छ जीवनप्रति इन जेनरल” । म भन्न सक्दिन म निरास छु । तर उसले कसरी भनी म निरास छु भनेर । मेरा साथीहरुलाई सधै लाग्छ म सधै खुसी छु भनेर ।

सायद उ पनि निरास छ । सायद एक निरास आँखाले अर्को निरास आँखालाई चिन्न सक्छ । तर उ सँग खुसी भएझै देखाउँछु । हुनसक्छ हामीसबैले एक अर्कासँग यसै गर्छौ । तर म उसलाई “तिमी पनि निरास छौ झै लाग्छ “ भन्न सक्दिन । उ आफूले भर्खरै पढीभयाएका केही किताब बारे कुरा गर्छे । उ भन्छे, “मलाई किताबमा भेटिएका अनलब्भडहरु साँच्चै भेटिनेभन्दा मायालु लाग्छ । किन संसारमा कसैलाई  प्रेम मात्र मिल्छ र कसैलाई अप्रेम मात्र ? मलाई सधै अप्रेमीलहरु  प्रेमिल लाग्छ । “ 

म उसले भनेको कुरा बुझ्छु पनि बुझ्दिन पनि । तर म प्रतिक्रिया दिन्न । उसलाई सुन्दैछु झै देखाउँछु मात्र । जवाफमा मैले भर्खरै हेरीभयाएका केही र्यान्डम फिल्मबारे कुरा गर्छु । उ सुनेझै गर्छे तर केही प्रतिक्रिया दिन्न । उ फिल्मबारे त्यती जिज्ञासु नभएपनि मलाई केही भन्दिन । उ आफ्नो नाममा झै थाहा छैन किन अरु कुरामा त्यती रिजिड देखिन्न ।

म उसँलाई उसको चित्रहरु बारे सोध्दिन । हुन त मलाई चित्रकारीता बारे थाहा पनि त छैन । तर म उसलाई केही चिज सोध्न सक्थे तर म सोध्दिन । यो मेरो त्यस्तो पहिले भेट हो कसैसँग जसमा हामी दुबै आ–आफ्ना कुराहरु मात्र गरीरहेछौ । उ उसको कुरा म मेरो कुरा ।

तर उसलाई कसरी थाहा भो म निरास छु भनेर । के तीसपछि सबै निराश नै हुन्छन ्? मलाई थाहा छैन उसको उमेर कति भयो । सायद उसले पनि तीस काटी मैले जस्तै । तर म उसलाई उसको उमेर सोध्न सक्दिन । हुन त केटीमान्छेको उमेर नसोध्नु भन्छन् । तर म कसैलाई पनि सोध्न सक्दिन । 

फरी अर्को पटक उसका आँखाहरु हेर्छु तर उसले अन्त कतै हेरेको बेला । खोई किन मलाई उसका आँखाहरु निरास लाग्छन् । 

“तपाईको उमेर ?” उ अनायासै सोधिदिन्छे । “आई एम इन माई थट्टी” म भन्छु । “आइ अलरेडी गेस्ड इट बिकज यू लुक स्याड एन्ड कन्फियूज्ड । तीसमा बाच्नु भनेको यही हो । “ उ मैले जे सोच्दै थिएँ त्यही भन्छ । तर उसलाई कसरी थाहा भो तीस काटेपछि मानिस अल्लि बढी निरास बन्छ भनेर । उ भन्छे, “अरल्ली थट्टी इज अल एबाउट क्राइसीस । म तपाईलाई बुझ्न सक्छु । “ उसले मलाई कसरी बुझी । एकले अर्कालाई त्यसै कसरी बुझ्न सक्छ । तर म उसलाई त्यो भन्न सक्दिन । म दुबिधामा छु यो पनि सत्य हो । म जीवनप्रति निरास छु यो पनि सत्य हो । उसले बुझेकी पनि हो । तर म चाहन्न उसले मलाई बुझोस् ।

कसैले कसैलाई बुझ्नु भनेको सजिलो अवस्था पक्कै होइन । बुझेपछि बुझ्न बाकी केही रहन्न । सब चिज असुन्दर झै लाग्छ । म उसका अगाडी असुन्दर बन्न चाहन्न । तर के उसले मलाई बुझेकी नै हो । तर म उसलाई तिमीले कसरी बुझ्यौ भन्न सक्दिन ।  

“आर यू इस्टिल थिङ्किङ एवाउट सेम ? आइ वाज जस्ट किडिङ” उ सजिलै भन्छे । तर मलाई उ जिस्किएकी झै लाग्दैन । म उसका आँखामा जिस्किएको जस्तो केही देख्दिन । म मुस्कुराएझै गर्छु उ मुस्कुराएझै गर्छे । उ भन्छे “अब निस्कनुपर्छ“ म “हस्” भन्छु । हामी दुबै निस्कन्छौ । 

बाटोभरी म उसका उदास आँखालाई भुल्न सक्दिन । तर मेरा आँखा पनि उदासै देखिँदा रहेछन् । के एक उदास आँखाले अर्को उदास आँखालाई चिन्न सक्छ ? .....................................................

Thursday, August 7, 2025

बिकल्प


प्रिय तिमी,

सधैझै आज पनि तिम्रो चिठीको पर्खाइमा थिएँ । लागेको थियो तिमीले चिठीमा अघिल्ला दिनहरुझै केही  उज्याला हरफहरु आउँनेछन् । तर तिमीले झरीझे रुझाउँने कही शब्दहरु पठायौ । तर पनि स्विकार्नु बाहेक अरु कुनै बिकल्प रहनेछैन । सायद शब्द मार्फत सुरु भएको तिम्रो र मेरो शब्दनै बनेर टुङ्गिनेछन् ।

आज त्यताझै यता पनि पानी पर्यो । मैले पनि आफ्ना आशुहरु झरीको पानीसँगै बगाए । तिम्रा शब्दहरु फेरी पढेँ । सोचे पनि तिमीले किन यस्तो लेख्यौ । तिमीझै म पनि जीवनको गुलाबी उमेरमा कहाँ छु र !  र पनि तिमीलाई शब्दमा मात्र ब्यक्त हुँला झै लाग्दैन । सायद हामीले भोगेको र बुझेको जीवन फरक छ । मैले नदी र हिमाल मात्र बुझेकी हुँला । म भित्र पनि बासना होला, जो अझै अतृप्त पनि हुनसक्छ तथापी मैले बासनालाई बासनानै ठानेर अझै सम्बोधन गरेकी छैन । जुन कुरा तिमीले गर्यो त्यो मेरो लागि एक अपरिचित भूमी मात्र हो । म चाहेर पनि बुझ्न सक्दिन । 

सायद शरीरलाई नै बुझ्नको लागि पनि अर्को शरीरसँग सामिप्यता चाहिन्छ । मेरो शरीरले आजसम्म आफूलाई बाहेक कसैलाई छोएको छैन । मलाई लाग्छ मैले आफैँलाई पनि बुझेकी छैन । आफ्नो शरीरलाई पनि बुझेकी छैन । 

तिमीले सजिलै भनिदियौ प्रेम अनन्त हो बास्ना केबल अन्त्य हो । मैले यस्तो कुरा पनि पहिलोपटक सुनेकी हु । थाहा छैन म तिमीलाई के भनेर बुझु । एक पुरुष जो सँग बास्ना मात्र छ । एक पुरुष जसले सत्य बोल्ने साहस राख्छ । सायद तिमी यी दुबैको समिश्रण हौ । थाहा छ सत्य बोल्न सजिलो छैन अझ त्यस्तो सत्य जसले तिमीलाई पोल्न सक्छ । तिमीलाई जे लाग्यो त्यो बोल्यौ त्यसमा म खुसी छु । र खुसी रहिरहनेछु ।  जे छौ त्यो बोल्नु ठूलो कुरा हो । सायद म चाहेर पनि तिमीले बोल्ने कुरा बोलन सक्दिन । सायद छोरीमान्छे हुनुको लज्जा मसँग सधैँ रहिरहनेछ ।  सायद म मानिस होइन छोरीमान्छे मात्र भएर मात्र बाच्नेछु । तिमीले माफी माग्नुपर्ने वा मैले माफी दिनुपर्ने मलाई जरुरी लागेन । तिमीलाई जे लाग्यो त्यो शब्दमार्फत पोख्यौ त्यसैमा म खुसी छु ।

थाहा छैन हाम्रो सम्बन्धको अन्त्य कसरी हुनेछ । जसरी भए पनि तिमी मेरो सधैँ प्रिय रहिरहेछौ ।

उही 

तिमीलाई चिठी लेख्ने मान्छे 

Wednesday, August 6, 2025

अन्त्य अनन्त


प्रिय तिमी, 

यो झरी परेको दिन झरीझै भिजेको मनले यो पत्र लेख्दैछु । जीवन सजिलो थिएन र रहेनछ । यी मोड र घुम्तीहरुमा तिमीझै कोही भेट्नु मेरो सौभाग्य हो । म चाहन्थे जसरी हाम्रा चिठीहरुमा हामी सरस पोखिएका थियौ । त्यसरीनै जीवनमा पनि पोखिन सकुँ । त्यसैले मैले आफ्ना मनका मनोकामनाहरु पनि तिमीमाझ शब्द मार्फत पठाएको थिएँ । 

तर शब्दझै सरस जीवन बाच्न कहाँ सजिलो रहेछ । मैले आफैँलाई हेरेँ एक जर्जर बुढो रुखझै भेटेँ । शब्दमा सरस हुन सजिलो छ । जीवनमा छैन । म त एक चासिलसको नजिकको एक स्त्रिले पठाएका शब्दहरुले नै पुलकित भैदिने बिना भावको एक शरीर मात्र हुँ । हुनसक्छ कुनै दिन म शरीर मात्र तिमीमाझ उपस्थित हुनेछु । मसँग एक महिलाले वा पुरुष बिना कुनै नाता गरिने प्रेमको अनुभव छैन । म त अहिलेसम्म जे बाचेँ शरीर मात्र बाचेँ । हुनसक्छ कुनैदिन तिमीले मलाई एक घृणित पुरुष मात्र भेट्नेछौ ।

शब्दका बाचाहरु शब्दमा मात्र रहेँ । म तिमीलाई प्रेमको बाचा गर्न सक्दिन । मसँग त प्रेमको नाममा पनि बास्ना मात्र छ । तिमी कोमल छौ । त्यसैले तिमीले हामी सबैलाई शब्दमार्फत सम्बोधन गर्यौ । यो जर्जर शरीरले अन्त्यको कुरा मात्र गर्न सक्छ अनन्तको होइन । प्रेम अनन्त हो । बास्ना शारीरीक भावको अन्त्य मात्र हो । तिमीले मलाई घृणा गर्न सक्छेयौ तर मसँग अन्त्य मात्र छ ।

सायद आजको मेरो पत्रले तिमीलाई दुखी बनाउँन सक्छ । हुनसक्छ मैले तिमीलाई शब्द मार्फत धोका पनि दिए । तर म यही नै हो । म सग्लो मानिस होइन । मसँग त बिरोधाभाष मात्र छ । प्रेमको नाममा भोक मात्र छ । म सँग स्नेह पनि छैन । म तिमीलाई यो नभन्न पनि सक्थेँ । तर म यही नै हो । आशा छ तिमीले मलाई बुझ्नेछौ । नबुझे पनि सारमा म यही नै हो । म नदि र हिमाल बुझेको मानिस होइन । मसँग गहिराइ र  उचाइको नाममा केही छैन ।

शब्द मार्फत पहिलोपट आज म जे हुँ त्यो बोलेको छु । यो एक अन्त्य र अनन्त दुवै हो ।

उही 

तिम्रो चिठी पुग्ने ठेगाना

Tuesday, August 5, 2025

 मोड

एक मोड जहाँ म फर्किएको थिएँ । एक मोड जहाँ तिमीले मलाई अन्तिम पटक फर्किएर हेरेका थियौ । एक मोड जहाँ हामी भेटिएका थियौ । एक मोड जहाँ तिमीले अँगालेका थियौ । एक मोड जहाँ तिम्रा मेरा हातहरु अनायास छोइएका थिए । अब त फर्कनु मात्र छ । एक एकोहोरो यात्राझै मैले हिडिसकेको त्यो यात्रालाई कोर्छु वा भनौ पछाडी फर्कन्छ समय म यात्रा गर्छु तर भेट्छु  केवल तिनै मोडहरु र घुम्तीहरु मात्र ।

आज दिनभर पानी पर्यो । झरीमा रुझेँ पनि । एक दुई पाना मनपरेका किताबहरु पढेँ पनि । तर किताबहरुमा पनि रहेछन् केबल तिनै मोडहरु । पानाहरुमा तिमीले कोरेका रेखाहरु । तिम्रा अक्षरहरु सबै सबै भेटेँ । लागे ति पनि मोडहर नै त थिएँ । अगाडी बढ्नु पनि छ तर मोडहरु कहाँ छोड्छ र ! 

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...