Thursday, May 15, 2025

प्रेम



 कतै सुनेको थिएँ लेख्न सबैभन्दा सजिलो विषय प्रेम हो र सबैभन्दा गाह्रो पनि । थाहा छैन प्रेममा खर्चिएका मसिहरु  कति हाँसो र आँशुले सिँचित छन् । समयको कठिन परिधिमा निस्सासीएका मानिसहरु किन प्रेम भन्ने बित्तिकै उन्मुक्त हुन्छन्? कति कुरा गर्न लजाउँछन्, कति प्रेम गर्छु भन्न डराउँछन् र कति पक्षिहरुझै आफ्नै प्रेमको उडानमा पर पर पुग्छन् । किन प्रेम आफैँमा पूर्ण भएर पनि अपूर्णझै हर प्रेमीहरुको इन्द्रेणीमा अर्को रंग बनेर घुल्छ ।


         
प्रेम गर्नु भनेको कोमल हुनु हो । प्रेमको इतिहास कोमलताको इतिहास हो । कसैलाई तिमी कमजोरीसहित अपनाउँछौ, उसका गल्तिहरुमा हाँसिदिन्छौ र फेरी अर्को मौका दिन्छौ र कठोरताको कैंचीले उसको उडानलाई रोक्दैनौ भने त्यो प्रेम नै हो । तिमी हर  कसैलाई प्रेम गर्न सक्छौ तर प्रेमको बदला प्रेम नै म्याथको र्फमूला  माइनस माइनस प्लस जस्तो नहुन सक्छ । प्रेम गर्दिन कहिल्यै प्रेम गरिन भन्नेहरु पनि प्रेम गर्छन् । प्रेमको मैफिललाई नकार्नेहरु  जीवनको संगित र सिम्फोनीलाई पनि नकार्न सक्छन् । नर्कानु अर्को कुरा  तर कसैलाई प्रेम नै गरिन भन्नु मिथ्या मात्र हो ।


       
हर प्रेमीहरु सुन्दर गुलाफ हुन् । प्रेम गर्न गाह्रो छ तर पनि उनीहरु प्रेम गर्छन् । कसैलाई प्रेम गर्नु भनेको आफ्नो जस्तै अर्को मानिसको अस्तित्व स्विकार गर्नु हो । प्रेमको लडाई इगोको लडाई होइन यो त  अपनत्वको लडाई हो, आत्मास्विकृतिको लडाई हो । प्रेमिहरु जस्ले प्रेम गर्छन् एकअर्कालाई ति संसारकै सुखी मानिसहरु हुन् सायद सुन्दर पनि । त्यसैले यो भूमण्डलको सबैभन्दा सुन्दर चीज त्यो केही हो भने त्यो प्रेम हो मात्र प्रेम ।


       
मानिसहरु प्रेमलाई सम्बन्धसँग जोड्छन् र पो प्रेम कुरुप बन्दैछ । प्रेम प्रेम नै हो । सम्बन्ध र प्रेमबिच तात्विक केही सामञ्जस्यता छैन । यी त जीवनका छुट्टाछुट्टै स्वतन्त्र वृत्तहरु मात्र हुन् ।   प्रेम गर्नेसँग जीवन बिताउँने इच्छा प्राय सबैको हुन्छ तथापी यीनीहरुको  आ–आफ्नै सामाजिक, आर्थिक र धार्मिक चौघेराहरु छन् । हरेक प्रेम सम्बन्धहरु बिवाहमै गएर अन्त्य हुन्छन् भन्ने छैन । यदि प्रेम र सम्बन्धको गहिराइ नाप्ने हो भने प्रेमको गहिराइ सधैं गहिरो हुन्छ र हुनेछ । सम्बन्ध त समाजले बनाएको मापदव्ड मात्र हो । यसको मूल्याङ्कन   सायद अर्थशास्त्र र समावशास्त्रले बढि गर्ला । त्यसैले प्रेमको सुरुवात र अन्त्य दुवै बिवाह हो भन्नु चल्तिको भाषा बोल्नु मात्र हो । सबै बिकेका र स्थापित बिचारहरु ठिक हुन्  भन्न म सक्दिन ।


         
कवि, चित्रकार, लेखक, कलाकार यी प्रेमका हिमायतीहरु हुन् । प्रेमलाई अभिब्यक्त गर्न खोज्नु  आफ्नै पाखण्डलाई आफ्नै शिल्पले छोप्नु हो । शब्द र कलाको भाषा बेगर प्रेमको अस्तित्व कहि कतै छ भने त्यो मौनतामा मात्र छ ।  प्रेमीहरु बिना भाषा पनि बोल्न सक्छन् । ठिक बिपरीत त्यही मौनतालाई कविले कविता बनाउँछ, लेखकले कथा बुन्छ, चित्रकारले चित्र । त्यसैले आफू भाषामा बोले पनि कसैले मौनतालाई प्रेम गर्छ भने त्यो कवि, चित्रकार, लेखक मध्धे कोही एक हो ।


       
प्रेमको भाषा संसारकै सुन्दर भाषा हो । नबोलेरै बोल्नु भनेको संसारको बहुरंगी कोलाजबाट सुन्दर मौन सिम्फोनी  निकाल्नु हो । हुनसक्छ गीत गाउँनु, कविता लेख्नु, अभिनय गर्नु, चित्र बनाउँनु, मूर्ति बनाउँनु सायद प्रेमकै भाषा बोल्नु हो ।

Wednesday, May 14, 2025

आफ्नै नाममा एक पत्र – बैशाख


प्रिय तिमी, 

नयाँ बर्ष, नयाँ अंक । थाहा छैन, अंकहरु बिच तिमीले आफूलाई भेट्यौ वा गुमायौ । अब तीन र चार अंकले तिमीलाई पछ्याउँनेछन् । थाहा छैन तिमीले ति दुई अंकलाई अपनाउनेछौ वा अस्विकृत गर्नेछौ । अघिल्लो बर्ष कठिन थियो । कठिनताबिच तिमीले आफूलाई नै रोज्यौ । यो वर्ष अझ कठिन बन्न सक्छ । तथापी आफूलाई रोज्न नछोड्नु ।

कहिलेकाही लाग्ला म त्यही केटी हो जसका मानकहरु नदी र हिमाल मात्र थिए

 । जसलाई बग्नु थियो कतै पर तर साथमा किताब नभएर काठको पुतली थियो । पुतली हरायो । किताब आयो । तर नदीझै बग्ने सपना अझै बाकी नै छ । आफ्ना सपनाहरुलाई साना नसम्भिनु । उड्नु, दौडनु, कुँद्नु तर आफैँलाई नछोड्नु ।

आफ्नो कुण्ठा अरुलाई नथोपर्नु । आफ्नो यात्रा आफ्नोमात्र हो सम्झनु । रोज्ने र गुमाउँने दुबै आफूलाई मात्र हो । रोजे नदेखेको भूगोल टेकिन्छ । गुमाए भएको पनि गुम्झ । क्षितिजहरुलाई ठूला नसम्झनु । यात्रा न हो हिडेपछि नपुगिने कहि छैन ।

यी बर्षहरुले जे दियो त्यसमा कृतज्ञ हुनु । थाहा छैन समयले के दिनेछ । वर्षहरुलाई जोगाउन खोजेर पनि जोगिने होइनन् । जीवनलाई जीवननै ठानेर बाच्नु । जति हलुका ठान्यो त्यही हलुका हो जीवन । आफ्नै लागि जीउनु । आफ्नै तबरले जीउँनु । 

गएको बर्ष जे गुमायौ त्यसलाई सधै लिएर नहिड्नु । जति छोड्न सक्यो त्यती सजिलो बन्छ जीवन । छोड्नेलाई माफी दिनु । रहनेसँग कृतज्ञ बन्नु । हरेक महिना यसरी नै तिमीमाझ आउँन चाहन्छु । अहिलेलाई यति नै ।।

उहि तिमी उही म 

रिसको मौन इतिहास


निर्जला अधिकारी

मानिस आवेगात्मक प्राणी हो । चाहेर नचाहेर प्रेम, घृणा, रिस, साहानुभुती, तिरस्कार जस्ता आवेगबाट मानव जीवन  पर छैन । र पनि 'रिस' त्यस्तो सम्वेदना रहेछ जसलाई खुलेर चर्चा गर्न अझै हामी अल्ली धक मान्छौं । रिसको इतिहास अरु मानव सम्बेदनाको इतिहासझै  छलफलको मूलधारमा  आएको छैन की भन्ने  मलाई सधैं लागिरहन्छ । हामी रिस बेगरको जीवन त बाच्दैछैनौ तर त्यसलाई आम मानब सम्बेदनाको रुपमा लिएर बहष गर्न पनि सकिरहेका छैनौ ।

जती रिस ब्यबस्थापनमा पुस्तकहरु लेखिएका छ्न् त्यती स्वयंमा रिसको बारेमा लेखिएका रहेनछ्न् । रिसलाई हामीले कहिल्यै अरु मानब सम्बेदनाझै सामान्यकरण गरेनौ फलस्वरुप:  'रिस' को बारेमा बोल्नुलाई चलेको भाषामा भन्दा कहिल्यै कुल ठानिएन ।  आज पनि रिसको नाम सुन्नेबित्तिकै  यो त खराब आदत हो भन्ने हामीलाई लाग्छ जसले यस बारे हुने बृहतर छलफललाइ रोक्ने गर्छ ।

हामी किन रिसाउँछौ ? किन असन्तुष्टिका हुन्डरीहरु चलेका बेला अरुको झै हाम्रो आवाज पनि चर्को हुने गर्छ ? दुई चार शब्द गालीका दिएरै भएपनी किन हामी आफ्नो रिस शान्त पार्छौ ? रिस बारे प्रश्नहरु कयौं छ्न् तर किन हामी रिस शब्द सुन्नेबित्तिकै पन्छिन्छौं ? किन भन्न सक्दैनौ अरु जस्तै म पनि रिसाउंछु मेरो पनि रिस कडा छ ? महिले पहिलोपटक म रिसाउँछु  भनेर उद्घोष गरेको सुनेको केदारभक्त माथेमाले हो । सुन्दासुन्दै मलाई लाज्ञो यो भन्दा सुन्दर र सटिक अभिब्यक्ती अरु हुन सक्दैन ।

मानिस रिस बेगरको प्राणी त पक्कै होइन तर हरेकपट्क रिसको अस्तित्वलाई हामी नकार्न खोज्छौ । नाट्य शास्त्रका ब्याख्याता भरतमूनीले ब्याख्या गरेका नब रस मध्धे क्रोध पनि एक हो  जसको सामान्यकृत अर्थ रिस नै हो । उनका अनुसार रौद्रताको स्थायी भाव नै क्रोध हो जसको अस्तित्व मानवीय सम्बेदनाको  अभिब्यक्त्तिमा  सधै रहन्छ ।

हो हामी रिसाउँछौ जस्तो की प्रेम गर्छौ, खुशी हु न्छौं, दुखी हुन्छौ । हामीसँग अपूर्णता, अप्राप्ती, र  असन्तुष्टीहरु छ  त्यसैले त क्रोध पनि छ ।  त्यसैले त हामी झर्कन्छौ , खुट्टा बजार्छौ, चिच्याउँछौ, रुन्छौ, गाली गर्छौ । यदी अपूर्णाताहरु असन्तुष्टीहरु थिएनन् भने रिस पनि हुँदैन्थ्यो कि! सायद हुन्थ्यो की थाहा भएन । तर किन रिसको इतिहास प्रेमको इतिहासझै खुल्लापनको राजमार्गमा  आएन ? किन हामीलाई रिस पनि आवश्यक छ भन्ने लागेन ?  मलाई लाग्छ रिस बिस्तारै सामाजीकिकरण सँगै यस्तो सामाजीक ट्याबु बन्यो  जसलाई खुला रुपले हामीले स्विकार्न सकेनौ । जब यो नियन्त्रणको  मोडबाट गुज्रीयो  तब यस्ले अर्को बिध्वंसको रुप लियो जस्तो कि हत्या, मानहानी,  दुर्बेब्याहार आदी इत्यादी ।

सामान्य भाषामा भन्दा  रिस, असन्तुष्टी , अपूर्णाता, अप्राप्तीहरु ब्यक्त गर्ने  माध्यम मात्र हो । रिसाउँन हामी स्वतन्त्र छौ भने हाम्रा  असन्तुष्टीहरु पनि अरु  आम सम्बेदना जसरी  अहिंसात्मक  रुपमा नै बाहिर निस्कन्छ्न् । उदाहरणका लागी उदारबादी समाजमा  गरिने बौद्धिक बहस वा  प्रतिकृयाहरु रिस को अभिब्यक्ती नै हो  तर यो ब्यक्त गर्दा कोही हिसात्मक रुपमा प्रस्तुत हुँदैन । तर जब हामी असन्तुष्टीहरु  ब्यक्त गर्न सक्दैनौ  तब रिसको अभिब्यक्ती  कठोरा पनि बन्न पुग्छ ।  हामी चिच्याउँछौ, चिच्याउँदा पनि भएन भने हामी गाली सम्म पुग्छौ । यदी हामीले समयमै रिसलाई अभिब्यक्त गर्न सकेनौ भने  त्यसका परिणामहरु  हामीले सोचेझै सुमधुर नहुन पनि सक्छ ।

रिसको कुरा गर्दा महाभारतको प्रसङ्ग एकदमै रोचक लाग्छ ।  हामी धेरैलाई थाहा छ दुर्वाशालाई रिसाहा ऋषीको रुपमा ब्याख्या गरिन्छ । उनका रिसका प्रसङ्गहरु महाभारतमा प्रसस्तै भेटिन्छ ।  त्यो मध्धे  उनले सकुन्तलालाई दिएको दिएको श्राप पनि एक हो । मलाई अनौठो लाग्ने कुरा चै  त्यस्ता शिद्धा हस्त पढेलेखेका मानिस भएर पनि किन उनले राजा दुस्यन्तको प्रेममा डुबेकी सकुन्तलालाई त्यती कुरुप श्राप दिए जसलाई उनले प्रेम गरिन उसैले बिर्सियोस् भनेर । उनले ब्यक्त गरेको रिसको अभिब्यक्ती  आम भाषामा भन्दा  ऋषिले गर्ने स्तरको छैन । जब सकुन्तला राजा दुस्यन्तको प्रेममा लिप्त थिइन तब उनले आफूलाई उचित तबरले सत्कार नगरेको ठानेर राजा  दुस्यन्तले नै उनलाई बिर्सियोस् भन्ने श्राप दिए जो कालन्तरमा सत्य बन्यो । पढ्दै गर्दा मलाई आशा थिएन एउटा शिद्ध पुरुषले प्रेममा परेकी एउटा अबोध किशोरीलाई रिसको झोकमा त्यो स्तरको श्राप दिनेछ्न् । खासमा मलाई  उनले ब्यक्त गरेको रिसको अभिब्यक्ती नै रिस उठ्दो लाग्छ ।

रिसको इतिहास खोज्दै गर्दा मलाई यसबारे खोज अनुसन्धान गर्ने ब्यक्तिको बारेमा पनि जान्न मन लाज्ञो ।  रिसको बारेमा अध्ययन गने पहिलो ब्यक्ती  सेनेका नाम गरेका  रोमन दार्शनिक रहेछ्न् । इसापुर्वको पूर्वार्धमा उनले रिसबारे अध्ययन गरेका रहेछ्न् ।

रिसको इतिहासलाई पुरुषत्वसँग पनि जोडेर हेरिन्छ । छोरा मान्छेहरु छोरीमान्छेको तुलनामा सजिलै रिस ब्यक्त गर्छ्न् । आज पनि छोरीहरु रिसाएर दुई चार शब्द श्लील अश्लील गालीका दिनुलाई  अचम्म मानिन्छ  जबकी पुरुषहले त  प्रशशा गर्दा पनि तिनै शब्दहरु प्रयोग गर्छ्न् । भर्खरै भुसितासँगको इन्टरभिउमा लेखक सरला गौतम भन्द्छिन :- कहिलेकाही त्यस्ता शब्दहरु प्रायो गर्दा पनि शान्ती मिल्दो रहेछ  जबकी छोरीमान्छेहरु त्यही प्रयोग गर्न पन स्वतन्त्र छैनन् ।

मैले पहिल्यै भनिसकें रिसा अभिब्यक्त गर्नु भनेको  असन्तुष्टी ब्यक्त गर्नु पनि हो ।  कहिलेकाही रिसाउँन पनि जान्नु पर्ने रहेछ । तीन बर्ष एउटै प्राइभेट  संस्थामा काम गरें सयभन्दा  बढी महिला कर्मचारी भएको उक्त  संस्थामा जब केही बिषयमा छलफल हुन्थ्यो चर्को बोली  सधैं पुरुषह्कै हुन्थ्यो । असन्तुष्टी त हाम्रा पनि थिए रिस त हाम्लाई पनि  उठ्थ्यो तर किन हामी नरीसाएझै गर्छौ ?  कहिलेकाही लाग्थ्यो कोही महिला उठोस्  र भनोस् तिम्ले जे बोल्दैछौ त्यो गलत हो ।  हामी कसैले सकेनौ । किनकी घरबाट निस्कदाँ सधै एउटै बाक्य सुन्नुपर्थ्यो न रिसायस् है !  कसैले भनेनन् हामीलाई  केही मन नपरे रिसाउँने पनि गर टेबल ठोक्ने पनि गर ।  आजकल त्यस्तै मिटिङ सिटिङमा रिसाउँन नजानेकोमा पनि पछुतो लाग्छ ।

अर्को कुरा रिसको इतिहासलाई हामी इग्नोर गर्न सकौला तर मानब सम्बेदनाबाट सिंगो  रिसको मैफिललाई नै नकार्न सक्दैनौ । भलयै हामी माथेमा सरले जसरी  म रिसाउँछु मलाई रिस उठ्छ भन्न नसकौला । । रिसका पनि व्यक्तिगत र सामुहीक आयामहरु हुँदा रहेछ्न् । व्यक्तिगत रिसलाई शान्त पार्न जती सजिलो छ सामूहीक रिसलाई त्यती नै गार्हो ।  जब रिस ब्यक्तिप्रती लक्षित नभै सामूहिक प्रतिकृया चासो र सुनुवाइ रोज्छ भने त्यो रिसको सामूहिक आयाम नै हो ।सायद सभा, सम्मेलन्, आन्दोलन्, मोर्चा सामूहिक रिस ब्यक्त गर्ने माध्यम नै हुन् । सामूहिक रिसको व्यक्तिगत स्तरको अभिब्यक्ती झिनो बन्न पुग्छ  त्यसको लागी सामूहिक अभिब्यक्ती नै चाहिन्छ ।  

रिसको बारेमा कम छलफल भएको हो तर   पूर्विय दर्शनमा  क्रोधको  ब्याख्या भरतमूनिको नाट्य शास्त्रदेखी  बाल्मीकीको महाभारत सबैमा भेटिन्छ । समयसँगै हामीले रिसको इतिहास र अस्तित्वलाई नकार्न खोजेका मात्र हौ । भूमण्डलीय बिश्वमा  रिसलाई अभिब्यक्त गर्ने तरिका पनि बिभिन्न किसिमका भेटिन्छ । मलाई लाग्छ रिसलाई अभिब्यक्त गर्नु भनेको कम मानब हुनु होइन त्यो त केवल मानब हुनु नै हो । अब त रिस ब्यक्त गर्न ह्यासट्याग मात्र पनि काफी छ ।  त्यसैले अन्त्यमा भन्न चाहान्छु - रिसको इतिहास भनेको  मानब सम्बेदना र सम्बेगको इतिहास हो । त्यसैले  रिसलाई कुण्ठित  होइन अभिब्यक्ती गर्ने सुन्दर तरिका रोजौं ताकी त्यसको अन्त्य कम बिध्वंशकारी बनोस् ।

Tuesday, May 13, 2025

प्वाख

 कुनै अप्रत्याशित बिहान

तिमीले पठाएका थियौ

फूलझै सुन्दर लाग्ने मयूरका प्वाखहरु

ति फूल थिए कि स्नेहहरु

ति रहर थिए कि बाध्यताहरु

आज पनि म अन्योलमा छु ।


 म  अन्योलमा छु

वा तिमी अन्योलमा छौ 

वा परिस्थिति अन्योलमा छ

आज पनि तिमी पठाउँछौ 

फूलझै लाग्ने प्वाखहरु 

..... म सम्हालेर राख्ने गर्छु 

डायरीका पानाहरुमा...


तिमी प्वाखमा सन्देशहरु पठाउँछौ

म प्वाखलाई सन्देश ठान्छु

प्रेमको.....

स्नेहको .....

अस्तित्वको......

वा सम्बन्धको...


प्वाखको तौलमा... म सम्बन्धको तौल नापीरहेछ

कुनै दिन सम्हाल्दा सम्हालदै पनि 

उडेर जानेछन् प्वाखहरु ...

लाग्नेछन् आफ्नै यात्रामा

डर लाग्छ ....

प्वाखसँगै तिमीले पठाउँने सन्देशहरु नउँडुन् ।

वैचारिक विविधता वा एकरुपताको वर्चस्व ?


निर्जला अधिकारी

को बुद्धिजीबी हो ?को होइन ? प्रश्न सरल लागे पनि उत्तर दिन सजिलो छैन । पहिलेझै जसको विचार पत्रपत्रिकामा छापिन्थ्यो जसलाई समाज आफ्नो आवाज मान्थ्यो ति मात्र बुद्धिजीबी हुन् भन्ने अबस्था रहेन र रहनु पनि हुँदैन । प्रबिधिको बिकाससँगै बुद्धिजीबीको दायरा पनि फराकिलो भएको छ । अब अधिकांश पढ्लेख्न सक्ने वा आफ्नो विचार प्रस्तुत गर्न सक्ने सबै आफ्नै हिसाबका बुद्धिजीबी हुन् भन्दा फरक नपर्ला । तथापि विचार निर्माण र त्यसको छलफलमा को र कस्तो लाई बुद्धिजीबी भन्ने कुराले अबस्य महत्व राख्छ । 

वैचारिक विविधता वेगरको उदारबादी समाजको कल्पना हामी बिरलै गर्न सक्छौ । विचारमा विविधता बारे छलफल भएन भने समाज हामीले सोचेझैँ उदार बन्न कठिन छ । तर विविधताको कुरा गर्दा ज्ञानको वर्चस्व कसको हातमा छ भन्ने कुराले महत्व राख्छ । ज्ञान र त्यसको निर्माणमा हाम्रा विचार निर्माणका संस्थाहरु विश्वविध्यालय, पत्रपत्रिका, नागरीक समाज र आमसञ्चारका माध्यमको महत्वपूर्ण भूमिका रहँदै आएको छ  । यदि यी संस्थाहरु नै विविध वर्ग, धर्म, लिङ्ग तथा विविध तप्काको विचारको (समावेशितामा चुकेँ भने वैचारिक विविधतामा समाज र समग्र राष्ट्र सधै पछाडी पर्नु सामान्य हो । 

अब कुरा गरौ हाम्रो आफ्नै बुद्विजीबी जगतको र वैचारिक विविधतालाई विरलै सम्बोधन गर्न सक्षम हाम्रो सञ्चार जगत र विश्वबिध्यालयको  । सुरुवात सञ्चार माध्यम बाटै गरौ । किन हाम्रा नाम चलेका पत्रपत्रिकामा एकै नामका र एकै खाले मानिसहरु बारम्बार दोहोरीन्छन् ? किन तिनै मानिसहरु सँग मात्र ज्ञानको स्रोत छ भन्ने मान्छ मिडिया ? किन उनीहरुको विचार मात्र सबैले सुन्नुपर्छ भन्ने हामीलाई लागिरहन्छ ? किन कुनै अमूक ब्यक्ति चाहेर पनि मूलधारको पत्रिकाको विचार पृष्ठमा बिरलै छाउँछ । किन चामचलेका टेलिभिजन संम्बादमा उहीँ ब्यक्तिहरु सबै कार्यक्रमको अतिथि बन्न पुग्छन् ? के ति बाहेका अरुका विचारहरुले मान्यता राख्दैन वा हामी वारम्वार केही ब्यक्तिको सिमिततालाई ज्ञानको समग्रता मानिरहेका त छैनौ । सुन्दा र लेख्दा अप्रिय लाग्ने यी कुराहरुले अहिले समग्र नेपाली समाजको विचार निर्माण प्रक्रियालाई जनाउँछ ।

करिब एक महिनामा हाम्रा नाम चलेका संवाद कार्यक्रम लाई हेर्यौ भने उहिँ मान्छे प्रत्येक कार्यक्रममा दोहोरीएको भेट्छौ ।  दोहोरीनु एउटा कुरा तर उहाँहरुको संबादको बिषय र उहाँहरुको प्रस्तुतीमा पनि खासै भिन्नता देखिँदैन । फलतः विचार र विचार निर्माण प्रक्रियामा केही सिमित ब्यक्ति र तत्पकाको मात्र वर्चस्व रहन्छ । जसको अन्त्य  सांघुरो र  केही ब्यक्ति सिमित वैचारीक दृष्टिकोणमा मात्र वैचारिक प्रक्रिया निर्भर रहन पुग्छ ।

विचार निर्माण र छलफलको प्रक्रियामा जब सबै खाले मानिसको सहभागिता रहन्न तब केही सिमित ब्यक्तिमा मात्र बुद्धिजिवि र बिज्ञको ताज अड्कन पुग्छ र समग्रमा विचारको भिन्नता र त्यसको सम्मानमा समाज र समग्र राष्ट्र नै चुक्न पुग्छ । उदाहरणको लागी भर्खरै प्रकाश सपुतको गीतको बिरोधमा जसरी सिंगो पाटी नै उत्रियो त्यसले जनाउँछ कि अझै पनि हामी वैचारीक विविधता र त्यसमाथिको छलफललाई पचाउँन सक्दैनौ । किन सक्दैनौ उत्तर सजिलो छ अझै पनि विचार र ज्ञानको सम्प्रेसनमा केही सिमित ब्यक्तिको मात्र बाहुल्यता छ फलतः हामी आत्माआलोचना कमजोर बन्न पुगेका छौ ।

अब कुरा गरौ हाम्रा विश्वबिध्यालयको, विना विश्वविध्यालय विचार र विचार माथीको मन्थन आधुनिक समाजमा असम्भव जस्तै बन्न पुग्छ । जब विश्वविधालय नै विविधता वेगरको वन्न पुग्छ तब त्यसको समग्र असर जताततै देखिन पुग्छ । अहिले पनि हाम्रा विश्वविधालयमा महिला, जनजाति र दलित प्राध्यापक कति छन् भनेर संख्याले मात्र पनि एक तप्काका मानिसहरुको वर्चस्व लाई छरपष्ट पार्छ । लैङ्गिक छलफल मजाले रमाउँने अंग्रेजी केन्द्रिय बिभागमा अहिले पनि महिला प्राध्यापकको संख्या एक बाट दुई भएको छैन । जब संख्यामा नै विविधताको कमि रहन्छ तब विचार निर्माण र त्यसको छलफलमा पनि त्यसको प्रत्यक्ष असर देखिन पुग्छ । जति विचार र त्यसको विविधतामा विश्वविध्यालय लाग्नुपर्ने हो लागेको देखिँदैन ।

भनिन्छ साहित्य भनको समाजको ऐना हो । समाजको बहुआयामिकता र वैचारिक विविधतालाई साहित्य जगतले सम्बोधन गनुपर्छ भन्ने हामी सबैलाई लाग्छ । साहित्य र कलाबिना  विचार र ज्ञान निर्माणको प्रक्रिया अधुरो बन्न पुग्छ । केही बर्ष यता नेपालमा पनि साहित्य र समाजका विविध पाटाहरु माथी  छलफल र बिमर्श गनुपर्छ भन्ने हेतुले केही साहित्य महोत्सवहरु .आयोजना भैराखेका छन् । यो एक हिसाबले सराहनीय कार्य हो । तर प्रत्येक महोत्सवमा तिनै मान्छेहरुको उपस्थितिले एकै खाले विचार  एकै खाले मान्छैको वैचारीक महोत्सव जस्तो पनि लाग्छ । टेलिभिजनमा देखिने, पत्रपत्रिकामा छाउँने, सामाजिक सञ्जालमा हजारौ फलोहर भएका ति मानिसहरुको विचारलाई फेरी पुनः छलफलमा राख्न आवस्यक छ वा छैन अब हामीले सोच्नुपर्ने अवस्था आएको छ । महोत्सवसँगै विविधता र समावेशितामा अल्लि बढी गृहकार्य गर्ने हो भने यस्ता कार्यक्रमहरुले बौद्धिक जगतमा अर्कै आयाम अवस्य पुर्याउँछ । 

अब कुरा गरौ आफूलाई बौद्धिक ठान्ने हामी सबैको बौद्धिक जिम्मेबारीका कुरा । ग्रामस्किले भनेझै हामी कस्तो खाले बौद्घिक बन्ने कुरा हाम्रो बौद्धिक कामलले निर्धारण गर्छ । उनले भनेझै हामी एक तप्काको मात्र कुरा गर्ने वा जताततै आफ्नो उपस्थितिमा मात्र बौद्धिक उपस्थिति मान्न ठान्यौउँ भने अब हामी पुराना धर्मको आडमा र सत्ताको आडमा बसेर  बनेका बौद्धिक भन्दा अबस्य फरक रहने हैनौ । यदि हामी नयाँ खाले बुद्धिजिवि वा ग्रामस्किकै भाषामा भन्दा अर्गानिक बुद्धिजिवि बन्न चाहन्छौ भने अब हामीले आफ्नो लागी छुट्टाइएको केही अबसर, पत्रपत्रिकाको केही स्पेस र टेलिभिजन सम्वादको केही समय अब अरु कसैको लागि पनि हुनुपर्छ भनेर बोल्नुपर्ने दिन आएको छ । मानिसको रुपमा हामी सबैका केही कमजोरीहरु र सिमितताहरु पक्कै हुन्छन् । यदि हामीले ति सिमिततालाई नबुझिकन आफैँलाई सर्वोपरी ठान्न थालेयौँ भने अब हामी आफूलाई कुलिनताको एक हिस्सा मान्दा हुन्छ । कुलिनता र विविधता बिच हुने केही असामञ्जस्यता सदा रहेको थियो र सधै रहनेछ । यदि वैचारिकता वागडोर कुलिन वर्गमा मात्र सिमित रह्यो भने सत्ताँ र शक्तिवाट  अल्लि पर बसेको समाजको आवाज मूलधारमा कहिल्यै आउँने छैन । फलतः ज्ञानको श्रोत र विचारकाृ वर्चस्व सधैँ केही तप्काका ब्यक्तिमा मात्र रहिरहेछ ।

भर्खरै अदालतमा पुगेको बलात्कार सम्बन्धी एक केसमा जसरी एउटा उमेरका महिला अधिकारकर्मी र अर्को वर्ग र उमेरसमूहका महिलाकर्मी विच भएको बहस एदाकदा अल्लि नमिठो देखिएँ पनि वैचारिक रुपमा यसले पार गरेको प्रक्रियालाई एक साहसिक वैचारिक प्रकिया मान्दा हुन्छ । पत्रपत्रिकामा, टेलिभिजनमा आफ्ना विचार र दृष्टिकोणले ठाउँ पाउँदापाउँदै पनि मानिसको रुपमा र वैचारिक रुपमा पनि आफ्ना केही कमजोरीहरु र सिमितताहरु हुँदा रहेछन् र त्यसलाई सुर्धान आवस्यक छ भनेर अब बौद्विक जगतमा नाम र ठाम दुबै हुने पनि एक पटक आत्माआलोचना गर्न आवस्यक छ । साथै एक एर्काको विचारमा  आउने मतभेदहरुले नै ज्ञान निर्माण र वैचारिक विविधतालाई सम्बोधन गर्न सक्छ भन्ने कुरा अब हामी सबैले बुझ्नुपर्ने देखिन्छ ।

मतभेद र वैचारिक द्वन्द्व वेगर सामाजिक र साँस्कृतिक उदारता असम्भब छ । त्यसैले विचार निर्माण र त्यसको सम्प्रेसनमा मिडिया, विश्वविध्यालय, बौद्विक जगतको प्रभावकारी भूमिका रहेन भने वैचारिक संक्रिणता र असहिष्णुता समाजमा मात्र नभएर बौद्विक जगतमा पनि देखापर्छ । फलतः ज्ञान र विचारको वागडोर केही सिमित कुलिन प्रभावशाली वर्गमा मात्र  रहन पुग्छ । जसले समाजलाई अझ उदार बनाउँनुको अझ बढी अनुदार र साँघुरो बनाउँनेछ 

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...