Skip to main content

पत्रमा म

 

निर्जला अधिकारी

यो पत्र मेरो आफ्नो हो । प्रेषक र प्रापक पनि म आफैँ हुँ । यो पत्र भित्र कहिँ कतै तपाईले आफूलाई भेट्नुभयो भने संयोग मात्र होइन सुन्दर संयोग बन्नेछ । यस पत्र भित्रका भावना , दूर्भावना, कामना, शुभकामना मेरा आफ्ना हुन् कृपया दिमागले होइन हृदयले सुनिदिनु होला ।

बाल्यकालदेखि नै म चाहन्थेँ कसैले मलाई पत्र लेखोस् । पत्र प्रेमले भरिपूर्ण होस् र म उसलाई उस्कै शब्दहरु मार्फत प्रेम गर्न सकुँ । त्यो मेरो बाल्यकालिन वा भनौ किशोरकालीन स्वैरकल्पना थियो । म चाहन्थेँ डराइ डराइ कसैले मलाई एउटा प्रेमिल पत्र मेरो हातमा काम्दै थमाओस् र म पनि पसिनैपसिनाले भिजेका हातले स्विकार्न सकुँ । सदाझै त्यो जीवनको स्वैरकल्पना नै बन्यो बिपना कहिल्यै बनेन ।

किशोरअबस्थाको त्यो ह्याङओभर बिस्तारै धुमिल बन्दै गयो । सायद त्यो उमेरको धुमिलता थियो । बिस्तारै प्रेमपत्रको चाहना त हट्यो तर  किनकिन सुन्दर अक्षरले लेखेको पत्रको चाहना सधैँ रहिरह्यो । अहिलेको डिजिटल दुनियामा चिठि लेख्ने मान्छे भेट्न दुलर्भ मात्र होइन असम्भव नै छ । यदि तपाई पनि म जस्तै पग्ली प्रकृतिको हुनुहुन्छ भने आफूले आफैँलाई लेख्ने गर्नुस् पत्र मात्र होइन प्रेम पत्र नै ।

हुन त अक्षरमा आफूले आफैलाई सम्बोधन गर्नु नाट्यमञ्चमा प्रयोग हुने मनोवाद जस्तै हो । सायद नाट्यमञ्चमा झै पत्रको प्रेषक तपाई भित्रको अर्को पात्र र प्रापक तपाई आफूनै जस्तो पनि लाग्न सक्छ, अथवा यी बिचका दुरिहरु मेटिन पनि सक्छन् ।  यो हुनु र नहुनु विच रहने अस्तित्ववादी चेतनाको अर्को मैफिल पनि बन्न सक्छ । वा भनौ पत्र आफैमा नृंत्यागना र नृत्य जस्तो के फरक के उही भन्ने बहसमा बहकिन पनि सक्छ ।

बहसमा बहकिनु एउटा कुरा पत्र लेख्नु अर्को कुरा तर पत्र भने अवस्य लेख्नुस् । आफूले आफैँलाई मैले जस्तै ....

प्रिय केटी,

केटी भनेर सम्बोधन गर्दैछु कारण नसोधेस् । म तँलाई नामले पनि सम्बोधन गर्न सक्थेँ मलाई थाहा छ तँलाई सबैभन्दा प्रिय आफ्नो नाम नै लाग्छ । तर लाग्यो तेरो नाम भन्दा पहिले तेरो परिचय तेरो लिङ्गले निर्धारित गर्छ त्यसैले केटी भने , दुख नमान ।

किन पत्र नै लेखेँ भनेर तँ अत्तालिन पनि सक्छेस् तर त्यस्तो केही नसोच । यो आफूँले आफैलाई बुझ्ने प्रक्रिया हो । मलाई थाहा छ तँ अलिअलि भाबुक, अलिअलि हट्ठि अनि धेरैनै घमण्डी छेस् । एदाकदा आफूले आफैँलाई समाल्न पनि बिर्सन्छेस् बुझ्न खोज्नु त परको कुरा । हुन त आफूले आफैलाई बुझ्न खोज्नु एउटा निरस यात्रा हो , र मलाई लाग्छ त्ाँ यात्राको लागी सक्षम छेस्  ।

आज तँ कस्तो मुडमा छेस् मलाई थाहा छैन तर आशा छ यो पत्रले तँलाई अवस्य केही खुसी दिनेछ । हुन त म तँलाई मनैमन पनि यी कुराहरु भन्न सक्थेँ तर लाग्यो तँ शब्दहरुलाई असाध्दै प्रेम गर्छेस त्यसैले शब्दमै भनुँ । आज महशुस हुँदैछ लेखेर भन्न सजिलो रहेनछ ।

मैले बुझेसम्म तेरो जीवनको पहिलो प्राथमिकता पूर्णताको खोजी नै रह्यो । अरुझै तँ पनि त्यहि म्याराथुनमा दौडिदैछेस् । तर केटी जीवन भनेको अपूर्णताको अर्को पर्याय नै हो र कहिल्यै नर्बिसि तँ जस्तै सबै अपूर्ण नै छन् । अप्राप्ती , अपूर्णता त मान्छे भएपछि महशुस गर्नुपर्ने अनिवार्यता नै हो । तँलाई लाग्न सक्छ म कुनै दुरदराजको साधुसन्तझै अमूर्ततामा बोल्दैछु । र पनि कहिल्यै नबिर्सनु पूर्णता पनि त्यस्तै अमूर्त चिज नै हो । त्यसैले पूर्ण बन्ने कोशीस धेरै नगर सोच्ने गर तँ जे छस् ठिकै छस् ।

र अर्को कुरा आफ्ना प्राप्तीहरुले तँ जेहोस् त्यसलाई परिभाषित गर्छ भनेर कहिल्यै नसोच । तँ जे होस् त्यही नै तँ हुनु हो तेरा उपलब्धिहरु होइनन् । सदाझै यी कुराहरुमा आफूँलाई खोज्न छोड्दे । अरुको सट्टा आफैलाई प्रेम गर । तैले जसलाई प्रेम गरिस्, जसले तँलाई कहिल्यै गरेन त्यो तेरो जीवनको अनौठो विष्मय थियो । सक्छेस भने बिर्सिदे सक्दिनस् भने प्रेम गर तर प्रेमको आशा नगर । टुक्रिएको मुटु तेरो मात्र होइन धेरैको छ । मलाई आशा छ आफ्नै लाग्ने मान्छे तैले छिट्टै भेट्नेछस् ।

बुझेर पनि नबुजेझै मैले तँलाई कैयौ कुरा भन्न खोजेर पनि भन्न सकेको छैन । त्यस्तै एउटा कुरा भन्दैछु दुख नमान ।  आजबाट अरुको भिडमा आफूलाई खोज्न छोड्दे । अरुको भिडमा आफूलाई नभेटेर दुखी हुनुको कुनै मतलब छैन । तँलाई लाग्दो हो म अरुजस्तो किन भैन धेरैलाई लाग्न सक्छ किन तँ उनीहरु जस्तो नभएर पनि बहुद् लोभलाग्दी छेस् । आफ्नो लोभलाग्दोपनालाई जोगाइराख । आफूँले आफैँलाई बबाल सम्झि । कसैको स्विकृति बिना पनि आफूले आफैँलाई विशेष मान्न पाइन्छ । यो स्वतन्त्रताको कुरा हो, आफू हुनु हो । आफ्नो स्वतन्त्रताको भरपुग उपयोग गर ।

यात्रा लामो छ केटी, यो जीवनको यात्रा हो । तँसँगै तेरो जीवनसँग धेरै जीवनहरु जेडिएका छन् र पनि तेरो जीवनको हिरो तँ आफै होस् । छोरीमान्छे भएकै कारण आफूलाई कम मानव हो की लघुमानव हो कि भनेर प्रतिप्रश्न गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ तर मलाई थाहा छ त्यस्तो समयमा पनि तँ आफूलाई पूर्ण मानव नै सम्झन्छेस् ।

कसैको आँखामा नपर्नु आफ्नै ज्योति गुमाउँनु होइन केटी , आफ्नो यात्राको ज्योतिलाई सधै चम्कन दिनु । म तँलाई प्रेम गर्छु, अनित्य प्रेम, सायद यहि नै आफू हुनु हो, अनेकौ परिचय र बिरोधाभाषका बिच पनि एक हुनु हो  । म तँ भित्रको अर्को म हुँ, तँलाई प्रेम गर्ने म । शब्दहरुमा आज पोखिएकी छु आशा छ यसले तँलाई केही उर्जा दिनेछ ।

उहि तँ भित्रको म

आशा छ यो पत्र पढेपछि तपाईहरुले पनि मैले जस्तै आफूले आफैँलाई पत्र लेख्नुहुनेछ । यो पत्र पढ्नेहरुलाई फूलको माया, छाप्नेलाई सुनको, यो पत्र भावनाहरुको भिडमा सधैँ भावना नै भैजाला ।


Comments

Popular posts from this blog

नग्नता

  निर्जला अधिकारी ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो भएको छ । शरीर शिथिल भएको छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ ।  उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल  एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु । भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना सिद्वान्तहरुलाई एकाएक त्यागिदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ । मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो  र शरीर

मसिना कुरा –भाग ७

  दिन घमाइलो छ । आकाश खुल्ला छ । मानिसहरुको चहलपहल केही बाक्लो छ । पुजाकोठाबाट धुपको बास्नाले सडक र गल्लिहरु महकिँदै छन् । आजको बिहानी सोचेझै शान्त छैन । एकखाले चहलपहल हिजो देखीनै कायम छ । झ्यालमा बसेर बाहिर निहाल्दै छु । महिलाहरुमा बिसेष उत्साह छ, बिहानै नुहाएको कपाल फिजाउँदै दुवो र फूल टिप्दैमा उनीहरु मस्त छन् । यो तीजको बिहानी हो, आज टोल, छिमेक र सडक शान्त बन्न चाहेर पनि बन्न सक्दैन । आजबाट असोज लागेको छ । मौसममा चिसोपन बढ्न थालेको छ । बिस्तारै सयपत्रि र मखमली फूल्न थाल्नेछन् । हावामा सयपत्रिको महक मिस्निेछ । मलाई कहिलेकाही यो सब बारे सोचिबस्दा कुनै चक्रझै लाग्छ । हरेक बर्ष यसरी नै चाडबाडहरु भित्रने गर्छन् र यसरी नै हामीलाई लाग्छ यो कुनै नौलो चाड होइन र पनि नौलो हो । कहिलेकाही लाग्छ यी चाडबाडहरुलाई म अबलोकन मात्र गर्छु । म यसमा प्रत्यक्ष सहभागीता जनाउँदिन । हिजो जस्तो थियो मेरो लागि आज पनि उही हो । यति हो बाहिर हेर्दा अल्लि फरकझै लाग्छ । भर्खरै चियाको गिलास रित्ताएको छु । औलाहरु किबोडमा छन्, सिध्याउनुपर्ने काम चाङ लागेको छ । र पनि मलाई यसरी अक्षरहरुमा पोखिन रमाइलो लाग्छ ।  गर्

अन्त्य

 अन्त्य निर्जला अधिकारी यो यात्राको अन्त्य होइन । न सुरुवात हो । वा यो  उसले भनेझै जीवनको अप्रत्याशितताको उपज पनि हुनसक्छ । थाहा छैन यो के हो ...... जे पनि हुनसक्छ । सम्बन्धलाई धागोले नाप्न खोज्ने हो भने यो केही होइन । ऊ अब सदाका लागी टाढा जाँदैछ । म पनि अलबिदा भन्दैछु शुभकामनाका साथ । यो उसको अन्तिम बिदाई  होइन तर उसको र मेरो सम्बन्धको बिदाई भने पक्कै हो । थाहा छैन त्यो पनि होइन की । म दुबिधामा छु, भावनाहरु उर्लीएका छन् तर शब्द छैनन् । अन्त्यमा म लेख्छु “धन्यबाद, मैले तिमीलाई भेट,े यो भर्चुअल संसारमा भौतिक संसारमा नभएपनि । म खुसी छु र हुनेछु” ...... मेरो अन्तिम डिएम उसको लागी यही थियो  । उसले लभ रियाक्ट गर्यो । र यो हाम्रो अन्तिम संवाद रहने कुरा जनायो ऊ भोलीपल्टबाट टुइटरको संसारबाट बिदा लिदैँ थियो ।  जुन उसको र मेरो सम्बन्धको अन्तिम यर्थाथ थियो । म उस्लाई यो यर्थाथलाई बदलौ भन्न पनि सक्दैनथेँ । मेरो लागी टुइटरको दुनियामा भेटेको र त्यहीबाट छुटेको ऊ पहिलो र अन्तिम ब्यक्ति होइन । र पनि बिशेष पक्कै हो । म उसलाई यो ढुङ्गा माटोको संसारमा भेटेपनि चिन्नेछैन । म खोज्दै हिटेपनि भेट्ने छै