निर्जला अधिकारी
म सायद कक्षा नौ मा पढ्थेँ । उमेरमा पनि सानी र देख्दा पनि सानी भएकाले मेरा कम साथीहरु थिएँ । म उनीहरु सँग आफ्ना मनका कुरा भन्न सक्दैनथेँ । न उनीहरु भन्थेँ । एकदिन अचानक केही साथीहरु घर फकैनेबेलामा मलाई केही नभनी एकाएक हराए , जो मसँग नजिक थिएँ, जो मसँगै बस्थे । मलाई अनौठो लाग्यो । कताकता नरमाइलो पनि लाग्यो । पछि थाहा भयो । उनीहरु सब फोटो खिच्न गएका रहेछन् । केही दिन पछि उनीहरुले आफ्नो ग्रुप फोटो देखाएँ । मलाई थाहा भयो म उनीहरुको गु्रपको रहेनछु । पहिलोपटक मलाई अस्विकृत हुनुको अनौठो अनुभूती भयो । यतिका बर्ष मैले साथी ठानेकाहरु साथी रहेनछन् भन्ने भयो । सँगै मस्र्याङ्दीको बगरमा बयर टिपेको , घरमा नभनी काँचो आँप लगेको सबै सबै ब्यर्थ रहेछ भन्ने भयो । तर मेरा नयाँ साथी भएनन् । मैले उनीहरुलाई किन मलाई बोलायनौ भन्न सकिँन । न उनीहरुले भनेँ ।
यसरी स्कुले दिनहरु सिद्विए । न मेरा मिल्ने साथी भए न मैले नयाँ साथीहरु बनाउँन सकेँ । न उनीहरुसँग मित्रताको डोरी तोड्न सकेँ । लाग्यो कुनै दिन मेरा पनि मिल्ने साथीहरु हुनेछन् । जसले मलाई कसैलाई नभनेको कुरा भन्नेछन्, मैले पनि मनका कुरा सबै भन्ने छु भन्ने लागिरह्यो । स्कुले पढाइपछि काठमाडौँ त छिरे तर सोचेझै मिल्ने साथी बनाउँन सकिन । त्यो बेलादेखी लागेको एक्लैएक्लै हिड्न,े एक्लैएक्लै रमाउँने बानी अझै गएको छैन ।
लामो समयसम्म साथीहरुको कमी महसुस भैरह्यो । साथी हुनु भनेको आफैँसँग गर्न नसकोको संवाद अरु कोहीसँग गर्न सक्नु रहेछ । कसैले आफूलाई बिनाकुनै कारण आफ्नो ठानिदिँनु रहेछ । लामो समयपछि साथीजस्ता मानिसहरु भेटेकाले पनि मलाई मित्रताको असाध्दै लोभ लाग्छ । यस्तो लाग्छ जोसँग असल साथीहरु छन् उनीहरु भाग्यमानी मानिसहरु हुन् । तलका शब्दहरु मैले साथीको रुपमा भेटेका सबैसबैमा समप्रित छ,
प्रिय शोभा,
यस्तो लाग्छ तिमीलाई नभेटिएको भएँ म जो छु त्यो कहिल्यै हुदैनथेँ । भेटेको पनि १५ बर्ष भैसकेछ । तर किन किन लाग्छ हिजो त हो तिम्लाई महिले देखेको । समय नदीझै बग्यो, हामी उही भएर पनि उही रहेनौ । समय बद्लियो । तर किनकिन लाग्छ हामी बिच केही बद्लेन । दुरीहरुले दुरीको काम गरेनन् । मलाई कहिलेकाही लाग्छ म तिमीझै हुनुपथ्र्यो । अनि यस्तो पनि लाग्छ तिमी मेरो कहि कतै छुटेको म हौ । कहिलेकाही महिनौ पछि गफ हुन्छ हामी जहाँ छुटेका थियौ त्यहि छौ झै लाग्छ । यदाकदा सोच्छु रमाइलो गर्न त धेरै भेटिएला तर आफूझै लाग्ने भेट्न गाह्रो छ ।
प्रिय मुना,
कहिलेकाही लाग्छ मैले तिमीलाई जहिले भेट्नुपर्ने थियो त्यो बेला भेटिन । तिमीलाई मैले स्कुलमा भेटेको भएँ म एक्ली हुनेथिइन । अथवा मैले तिमीलाई हाइस्कुलमा भेट्नुपर्ने थियो । तिमीसँग सँगै गनुपर्ने काम धेरै बाकी नै छन् । अहिले पनि दिक्क लागेको बेला, एक्ली भएको बेला तिमीलाई सम्झन्छु, तिमी यहाँ भैदिएको भए मम खान जाँने, चिया खान जाने मान्छेको कमि कहिल्यै महशुस हुनेथिएन । मलाई कहिलेकाही लाग्छ, साथीको रुपमा म अरु धेरैलाई बाड्न सक्ने रहेछु तर तिमीलाई नसक्ने रहेछु । अर्को समरमा नेपाल आउँ रमाइलो गनुपर्छ ।
प्रिय साथीहरु....... जय, उपेन्द्र, मनोज
अहिलेपनि मान्छेहरु भन्छन् केटाकेटी साथीमात्र हुन सक्दैनन् । अनौठो लाग्छ । मेरा त छन् झै लाग्छ । हामी सँगै सहर डुलेर फर्कदा मैलाई भनेर आठ नौ बजे घर पुर्याउँन आएका दिनहरु कहिल्यै बिर्सन सक्दिन । आज पनि केही पर्यो भने मैले सम्झने नामहरु यहि हुन् जस्तो लाग्छ । धेरै कुराहरु सिकेको छु शब्दले भन्न सक्दिन । मलाई सधै लाग्छ .. र सधै कामना पनि गर्छु यो मित्रताको सम्बन्ध सधै यस्तै रहिरहोस् ।
प्रिय बिना नामको मान्छे,
मैले नाम बोलाएर यहाँ धन्यबाद भन्न सक्दिन । तर जहाँ जसरी हामी भेट भयौ अथवा भेट अझै भएका छैनौ त्यसलाई म सुन्दर संयोग मान्छु । जीवन एक संयोग हो । हाम्रो मित्रतालाई त्यहि संयोग रुपमा म लिन्छु । कृतज्ञ हुनुपर्ने धेरै कुराहरु छन् । यस्तो लाग्छ जीवनका केही भेटहरु आवस्यकता हुन् । कहिलेकाही हाम्रो भेट पनि मलाई त्यस्तै लाग्छ । हामी बिच कोसौको भौगोलिक दुरी छ । तर दुरीहरु सधैका लागि दुरीहरु नबनुन् भन्ने मेरो कामना हो । सायद छिट्टै भेट हुनेछ । भेटेको बेला सँगै गर्नुपर्ने धेरै चिजहरु बाकी नै छ । भेटको प्रतिक्षामा छु ।
यी नाम लिएका केही साथीहरु भए पनि ज–जसलाई मैले साथीको रुपमा जीवनमा भेटेँ उनीहरु सबैप्रति म अनुग्रहित छु । जीवन एक यात्रा हो साथीहरुको उपस्थितिले यात्रालाई सहज र सरसपूर्ण बनाउदो रहेछ । अन्ततः हामी जस्तो मान्छेको संगतमा रहन्छौ त्यस्तै मान्छे बन्दा रहेछौ । केटाकेटीमा कम साथी भएकाले होला आज पनि मलाई अरुको झै मेरो पनि धेरै साथी भैदिएझै हुन्छ । मित्रताले मान्छेले मान्छेलाई बुझ्ने प्रक्रियालाई अझ सजिलो बनाउँदो रहेछ । आशा छ मित्रताले सधै मलाई बलियो बनाउँनेछ ।
No comments:
Post a Comment