निर्जला अधिकारी
दिन धमिलो छ ......पर आकाशमा बादलको एक मुस्लो डुल्न छोडेको छैन । देख्दा सबै शान्त देखिन्छ । देखिएझै शान्त भैदिँन कोही सक्ला र ? मलाई शान्तीसँग खासै त्यति लगाव छैन । म भित्रका द्वन्दहरु यदाकदा प्यारा पनि लाग्छन् । कोही नधमिलिइकन शान्त कसरी बन्ला र ? मलाई धमिलिनुसँग कुनै गुनासो छैन ।
देखिएझै सपाटतामा बाच्न बिरलै सकिन्छ । समाजले यसरी हामीलाई बाधिदिएको छ कहिलेकाही लाग्छ फुक्काफाल भएर हिड्दिउँ । अरुले देख्दा फुक्काफाल देखिनेहरु पनि भित्रभित्र बाधिएर बाच्दा रहेछौ । कहिलेकाही लाग्छ दिल फूकाएर हाँसिदिउँ, दिल टुटाएर रोइदिउँ । पर पर पहाडहरु एक्लै चढौ । यो एक्लोपनकको लोभ होइन यो त बन्धनभन्दा पर बाच्नुको परिकल्पना हो ।
लामो यात्रामा गएर फर्कनेसँग सदा लोभ लाग्छ । यस्तो लाग्छ हिड्नेहरुको क्षितिज फराकिलो हुन्छ । मलाई फराकिलो मुलबाटोमा यात्रा गर्नेहरु मनपर्छ । जीवनको नाममा गरिएको घिसिपिटिले अत्यासलाग्दो जीवन नबनाओस् । खुलेर हाँस्नेहरु खुलेर बाच्छन् झै लाग्छ । जीवनको नाममा बाध्यतासँग मात्र साक्षयात्कार हुनेहरु सायद निराशताका बिम्बहरु हुन् । जीवनलाई निराशता र बिबशताको बिम्बमात्र ठानेर म टुङ्ग्याउन सक्दिन ।
बाच्नुको नियति सरल कदापी छैन । बाचेँझै गरेर हामीले कयौ नबाचेका दिनहरु पनि बाचेका हुन्छौ । कहिलेकाही खुल्लापनको आकाशमा उडौँ भन्ने पनि लाग्छ तर कयौ पटक सोचेर पनि नउडेको अबस्य हो । समाज भन्छ तँ यस्तो बन । स्विकारोक्तिको खोजीमा दौडेको पनि अबस्य हो । आफू अस्विकृत भएको निउँमा धुमिलताका कविताहरु पनि लेखेको हो । तर मन नै त हो कहिलेकाही भन्छ आफ्नै नाममा मात्र जिइँ । आफ्नै मूलबाटो बना र आफ्नै इच्छाको यात्रा गर । गर्न खोजेको र गर्दागर्दा कयौ पटक लडेको पनि हो । कहिलेकाही समाजलाई आफैँ ठानेर आफूले आफैँलाई प्रश्न गरेको पनि हो ।
जीवनका दुबिधाहरु कहिल्यै नसिद्विने रहेछन् । ममि भन्नुहुन्थ्यो, “ अक्षर भनेका नदी हुन् यसले तिमीलाई परपर लग्नेछ कुनै दिन ।” त्यतिखेर लाग्थ्यो ममि नचाहिदो कुरा गनुहुन्छ अक्षरले कसरी पर लग्छ । तर अहिले सम्झदा लाग्छ आमा गलत हुन सक्दिनन् । कहिलेकाही लाग्छ मैले गरेको यात्रा मेरी आमाले गर्न नसकेको यात्रा हो । आज पनि आमाका लागि आफू केही होइन । उहाँले आफ्ना लागि भनेर कहिल्यै सोच्नुभएन । र पनि अक्षरको यात्रा सदा रमाइलो लागेको कदापि होइन । नदी नभएर कहिलेकाही बगरका पदचापहरु झै झिनो महसुस गरेको अवस्य हो ।
कहिलेकाही भएको भन्दा राम्रो मानिसझै देखाएको पनि हो । कहिलेकाही भएको भन्दा खराब पनि भएको हो । तर मानिसै त हो । चाहेर नचाहेर अध्यारा किस्सा बोकेर हिड्दो रहेछ । नचाहँदा नचाहदै पनि आफूले आफ्नै दुस्कर्मलाई राम्रो बनाउँन खोजेको पनि हो । मलाई खराबै हुँ भनेर ठोकुवा गरेर हिड्नेहरु, असल हु भनेर प्रमाणित गर्ने भन्दा कयौ गुना प्रिय लाग्छ । तर अनौठो बिरोधाभाषको कथा बोकेर म पनि हिडेकी रहेछु । अनेकौ मोड र घुम्तीहरुमा यी दुबै खाले मानिसलाई प्रेम गरेझै गरेकी पनि रहेछु । कस्तो बिरोधाभाष ....... कति धेरै असमजस्यता.......
यात्रामा भेटिनेसँग सधैँ कृतज्ञ बन्नुपर्ने रहेछ । अन्तत हामी यात्रामा जस्ता मासिसँग ठोकिन्छौ त्यस्तै मानिस बन्दा रहेछौ । भेटिनेहरुले सदा केही सिकाएर जान्छन् । यो जीवनको संयोग पनि हो । हजारौँको भिडमा संयोगले हामी तिनै मासिहरुलाई भेट्न पुग्छौ । आफ्नो हातमा नरहेको कुरासँग कृतज्ञ हुनबाहेक अरु केही गर्न सकिन्न । मलाई कहिलेकाही लाग्छ अरु केही नभए पनि जीवनमा राम्रा साथीहरु भेटेकी छु । मे जे छु त्यसको अंश उनीहरु पनि हुन् ।
कृतज्ञ हुनुपर्ने चिज खोज्दैजाँदा धेरै भेटिदो रहेछ । मलाई लाग्छ पुस्तकहरु तिनै कृतज्ञताका पात्रहरु हुन् । अध्यारा दिनहरुबाट कसैले तँजस्तै अरु पनि छ है भनेर भनेको छ भने त्यो पुस्तकले नै भनेको छ । पुस्तकले दिने उज्यालो अरु धेरै कुराको उज्यालो भन्दा अझ शक्तिशाली बन्दो रहेछ । मलाई कहिलेकाही लाग्छ संसारका सबैभन्दा असल मानिस कवि हुन्छन् । यो कविताप्रतिको प्रेम मात्र होइन उन्मूक्ति र असिमितता प्रतिको प्रेम पनि हो । मलाई लाग्छ कवि भनेको उन्मृक्ति र बन्धन भन्दा पर बोल्ने मानिस हो । मलाई सदा लाग्छ कविहरुको हृदय फराकिलो हुन्छ, लेखकहरुले बन्धनलाई बोल्दैनन् ।
कविहरुलाई प्रेम गर्दागर्दै, बन्धनहरुलाई नर्कादानर्कादै पनि कयौ पटक आफ्नै बन्धनलाई तोड्न नसकेको अवस्य हो । यदाकदा लाग्छ खुलेर बाच्न पनि साहस चाहिन्छ । आफ्नै असिमिततालाई नर्कान खोजेको पनि हो । तर मानिसको सिमिततालाई रोमान्टिसाइज गरेको अवस्य होइन । बन्धन र उन्मूक्ति हामी सबैसँग छ । कहिलेकाही लाग्छ म दुबैको चरमबिटहरुले रंगिएकी छु ।
No comments:
Post a Comment