निर्जला अधिकारी
यो परी कथा होइन । न यो कल्पनाको उडान हो । यो रमाइलो कथा पनि होइन । सायद यो कथाको परिभाषा भित्र नपर्ने अकथा हो । छोरीलाई परीझै ठान्ने समाजमा अपरीहरु पनि छन् भन्ने हामी सबैले बिर्सन्छौ । यो तिनै अपरीहरुको अकथा हो । यो दुखेसो पनि होइन । यो माग होइन । यो परिर्वनको लागि गरिएको अनुरोध पनि होइन । मलाई पनि प्रेम गर भनेर गरिएको सम्बोधन पनि होइन । यो धुमिल कथा हो । अघि भनेझै कथाको परिभाषा भित्र नपर्ने अकथा हो
अकथाहरु लयबद्व बनेर आउँदैनन् । यो लयमा बगेको प्रेमको कथा होइन । यो त छुटेका ति मानिसहरको कथा हो जसलाई छुटाएको हामी पछुतो मान्दैनौ । यो नाजुकताको यात्रा हो । यो अपरीहरुको अध्यारो यात्रा हो । जहा उज्यालो खोज्न शब्दहरु केलाउन पर्नेछ । यो भावको यात्रा हो जसलाई बुझिँदिँदा मात्र हुन्छ । यदि तपाई रुन चाहनुहुन्छ भने पढ्दै गर्दा रुँदा हुन्छ । तर कदापी पढिसकेपछि सहानुभूतीका शब्दहरु नलेखी दिनु होला ।
यो पुनराबृत्ति हो । सायद मानिस दोहोरीन चाहन्छ । वा नचाहदा नचाहदै पनि दोहोरीन्छ । यो पनि दोहोरीरहने मेरो मनस्थितिजन्य कथा हो । आज भावनामा दोहोरीएकी छु । आफूजस्तै अरु कसैको कथा सुनेर भड्किएकी छु । रातको १०ः३० बजेको छ, सामान्य दिन भएको भए यो मेरो जागाराम हुने समय पनि त होइन । तर आज किबोड अगाडी छु । सायद म पोखिन्न चाहन्छु । सायद आफैसँग । सायद आफैभित्रको नाजुकतासँग .....
यो सुरुवातको बिन्दु होइन अन्त्य पनि होइन । आज ति तमाम मानिसहरुलाई सम्झदैछु जसको अगाडी आज पनि म झिनो र नगन्य महसुस गर्छु । ति तमाम सबैलाई सम्झन चाहन्छु जसले मलाई तँ हामीजस्तो होइनस् भन्ने महशुस गराए वा भने । जसले छारीमान्छे हुनुको वा मानिस हुनुको समग्र परिभाषा भित्र मेरो उपस्थितिलाई अमिल्दो ठानेँ । जसको कारण मेरो आफू हुनुको बृहत क्यानभाषलाई साघुरो बनाइदिएको छ ।
हामी सबै अपुरा छौ । रित्तोपनको अनौठो अध्याय हामी सबैसँग छ । म पनि त्यस्तै रित्तोपनले गाझिएकी छु । कहिलेकाही लाग्छ जे नभोग्नपर्ने हो मैले त्यही भोगेँ । कहिलेकाही लाग्छ मैले जे नपाउनुपर्ने हो त्योभन्दा धेरै पाएँ । कहिलेकाही लाग्छ सायद म मायाकी भोकी छु । सायद स्विकारोक्तिको । सायद अरु धेरै कुराको ।
ति तमामलाई सम्झिएकी छु जसलाई मैले माया गरेझै गरेँ । सायद आफूसँग भएभन्दा धेरै दिन खोजेँ । चाहिनेभन्दा बढी अनुग्रहित भए । आजकाल बुझ्छु आफैलाई नराखी अरुलाई दिनु राम्रो होइन । दिनको लागि आफूसँग केही चाहिँदो रहेछ । लाग्छ अबदेखी रित्तो बन्दिन ।
कहिलेकाही सोच्छु किन म चाहिनेभन्दा अनुग्रहित छु । किनकी मसँग मानिसहरु बिरलै अनुग्रहित भएका रहेछन् । बिरलै मान्छेहरुले मलाई तँ बिशेष छस् भनेका रहेछन् । सायद म स्विकारोक्ति चाहन्छु । मानिसलाई आफ्नो उपस्थितिलाई महसुस गर्न पनि अरु कसैको स्विकारोक्ति चाहँदो रहेछ । यो कुण्ठा झै लाग्ला । हुनसक्छ यो कुण्ठा नै हो । तर यो कुण्ठाभन्दा पर.... मैले बाचेको अनुभूति हो ......
हरेक मान्छेसँग आफ्नै अध्यारा कथाहरु हुनेरहेछन् । तर जसलाई समाज अध्यारो ठान्छ । तँ त अरुजस्तो होइनस् भन्ने महसुस केटाकेटी बेलामै गरिदिन्छ उनीहरुको संसार अझ धुमिल हुन्छ । उसलाई लाग्छ कुनै दिन उ पनि स्विकार्य बन्नेछ । तर समयसँगै फेरी समाजले उसलाई किनारा ठानिदिन्छ । तब जटिलताको अर्को मनस्थितीमा मानिस बाच्न पुग्छ । टुटेका कथाहरु जम्मा गर्दा गर्दा यदाकदा उ आफैँ टुटिदिन्छ । टुटेका र भड्किएका दिनहरु सायद सबैसँग हुन्छन् ।
मान्छेहरु भन्छन् आफूले आफैलाई प्रेम गर्न सिँक । प्रेमको यो पाठ मलाई परी कथाझै लाग्छ । आफैलाई प्रेम गर्न पनि अरु कसैले आफूलाई प्रेम गर्छु भनिदिनुपर्छ । प्रेमको र स्नेहको अनुभूती पनि आयातित अनूभूति रहेछ । किन मानिस प्रेमको बदला प्रेम नै खोज्छ भन्नेकुरा यसले पुष्ठि गर्छ ।
जमेका कथाहरुलाई पगाल्दा हृदय पगल्दो रहेछ तर शब्दले गर्ने अनुभूतीको यात्रा कृत्रिम बन्दो रहेछ । किनकिन आज लेख्दै गर्दा शब्दहरुले भाव नबोलेझै लागिरहेछ । कहिलेकाही कथा कथा नबन्दो रहेछ । सायद यो कुण्ठीत कथा हो । म आफैसँग इमान्दार बन्न सकिरहेको छैन । मानिसले शब्दले पनि छल्न खोज्दो रहेछ । सायद म जे अनुभूत गरिरहेछु त्यो भन्न चाहन्न । सायद मानिस आफ्नो सबैभन्दा अध्यारो स्वरुप कहिल्यै देखाउँन चाहन्न । सायद शब्दले कुरुप चिज भन्न सजिलो छैन ।
हो धेरैपटक बिरत्तिएकी, दुखी भएकी छु, आँखा छलिछलि आँसु झारेकी छु तर बिरलै आफ्नो कारणले झारेकी छु । हुन त बिरक्तिन पनि पाइन्छ । दुखी हुन पनि पाइन्छ । तर झिनो भएन, सबै चिज हुँदाहुँदै पनि तँ केही होइनस् भन्ने अनुभूती लिएर बाच्न सजिलो रहेनछ । कहिलेकाही आफैलाइ एैनामा हेर्छु लाग्छ म त अरुझै नै छु तर किन सबैले भन्छन् –तँ हामीझै छैनस् ,नभएकै कारण तँ स–साना कुरामा अनुग्रहित बन्नुपर्छ । लाग्छ अनौठो किस्सा बोकेर बाचेकी छु । हुन त अरुको लागि यो कथा हो । सायद कुण्ठित कथा ।
यी किनाराका शब्दहरु हुन् । सायद बोलेर पनि बोल्न नसकेका कथाहरु । यो केन्द्रको कथानक होइन । चाहेर पनि यसले समुच्चतालाई बोल्दैन । यो लेख्दैगर्दा कतै छुटेको बिन्दुझै हो । बिन्दुले कहिलेपनि सग्लो प्रतिबिम्ब बोल्दैन । आज मैले त्यस्तै भन्न नसकेँको अपुर्ण अनुभूतिलाई अकथा भनेर नामाकरण गरेकी छु । यो अकथाको...........पाण्डुलिपि हो ।
किनकिन मलाई लेख्नेहरु प्राय मजस्तै स्विकारोक्तिको यात्रामा हिडेका अतृप्त आत्माझै लाग्छ । लेख्दा प्रेमिल शब्दमा पोखिनेहरु भित्रभित्र अध्यारो प्रेम र जीवनको पाण्डुलिपि बोकेर हिडेका हुन्छन् । यदाकदा लाग्छ समाज ठान्ने परीहरुले बिरलै कथा लेख्छन् । सायद लेख्नेहरुको क्षितिजमा पूर्णताको अनुभूती बिरलै हुन्छ । .................................................................................................
No comments:
Post a Comment