Skip to main content

खालीपन

 

निर्जला अधिकारी

यो असिमितताको फराकिलो क्यानभाषभित्र हामी सबै सिमिततामा रमाउँदा रहेछौ । बुझेर पनि नबुझेझै गरी हामी आफ्नै क्षितिजलाई आफैँले साघुरो पार्दा रहेछौ । थाहा छ जीवन खुल्ला साम्राज्य हो । मानिसले चाह्यो भने उसले आफ्नो क्षितिज आफैँले नाघ्न सक्छ । तथापी जीवनको असिमितता एक भ्रम झै लाग्छ । आफ्नै भोगाइको भूगोललाई हामी सिंगो बह्माण्ड सम्झन्छौ । 

यो खालीपनको अनुभूती यहि बाट जन्मन्छ । हामीले जे भोग्यौ त्यो कसैले भोगेको छैन झै लाग्छ । आफूजे जे पाएको छैन त्यो सबैले पाएका छन् भन्ने पनि लाग्छ । हामी जे छौ र हामीसँग  जे छ त्यो पर्याप्त छैन भन्ने पनि अनुभूत हुन्छ । यीनै असन्तुष्टी र अप्राप्तीबिच खालीपन जन्मन्छ । हामीलाई लाग्छ आफूसँग भएको सिंगो संसार अपुरो छ । जीवनलाई हामी प्राप्तीसँग जोड्छौ । हुनु र नहुनुबिचको अबस्थालाई तुलना गर्छौ । आफू र अरुबिचको भिन्नतालाई अनौठो ठान्छौ । समाजको संरचनाको सदस्य बन्न चाहन्छौ तर सक्दैनौ । ....यसैबिच एक अनौठो अनुभूती हामीसँग रहन्छ ............हामी आफूलाई समुच्चतामा हेर्न सक्दैनौ र अपुरो ठान्छौ ।

सायद खालीपनको अनुभूती एक साझा अनुभूती हो । चाहेर नचाहेर हामी सबै अपूर्णताको अनुभूती सहित बाच्दैछौ । बाच्नुको अस्तित्वलाई हामी एक कठोर उपलब्धिसँग जोड्छौ । त्यो भन्दा अझ जटिल अनुभूतीका पाटाहरुलाई झिनोझै ठान्छौ । यही झिनोपनले आफू हुनुको अपर्यापततालाई बोल्दछ । जीवन पूर्णताको पर्याय होइन । यी अपूर्णताहरुलाई सम्हाल्न सकैनौ भने हामीले बाच्नुको यर्थाथलाई पनि सम्हाल्न सक्दैनौ ।

पूर्णताको अनुभूती गर्नेहरुमा सायद अहमताको उपस्थिति रहन्छ । कहिलेकाही लाग्छ आफैँलाई बुझ्न पनि केही गुमाएको, केही नपाएको अनुभूती हुनुपर्छ । थाहा छैन सबै भएको महशुस गर्नेहरुले जीवनलाई कसरी लिन्छन् । सायद जीवनका अर्पाप्तीहरुले आफैलाई बुझ्न सघाउँछन् । हुनसक्छ सबै हुनेसँग वा भएझै महसुस गर्नेसँग यूफोरिया बाहेक अरु कम चिज बाकी रहन्छ । खालीपनले केही नभएपनि जीवनको यर्थाथलाई बोलिदिन्छ । 

गहिरेर हेर्दा समाजले अतिआवस्यक ठानेका जीवनका उपलब्धिहरु साना र झिना बन्न पुग्छन् । कहिलेकाही लाग्छ हामीले अतिसामान्य चिजहरुलाई अति गह्रौ ठान्दा रहेछौ । र गहिरेर लिनुपर्ने चिजहरुलाई अतिसामान्य ठानेर बेवास्ता गर्दा रहेछौ । सायद खालीपन त्यस्तै केही हो । सबै चिजहरु भएर पनि केही नभएझै महसुस गर्न सजिलो कदापी हुन्न । तथापि मानीसले बिरलै त्यस्तो अनुभूतीलाई ब्यक्त गर्छ ।

मानिसले गर्न सक्ने सबैभन्दा सुन्दर  चिज संवाद र अनुभूती हो । आफ्नो अनुभूतीलाई ब्यक्त गर्नु सायद इमान्दार बन्नु हो । तर मानिस आफ्नै अनुभूतीसँग भाग्न खोज्छ । उस्लाई लाग्छ आफँैलाई बुझ्न खोज्नु जटिलतालाई निम्त्याउनु हो । जटिलतासँग भाग्दा भाग्दा उ यस्तो बनिदिन्छ उस्लाई लाग्न थाल्छ उ भित्रभित्र खोक्रो छ । समाजले बिरलै हामीलाई आफूसँग इमान्दार बन भनेर सिकाउँछ । सायद हामी आफ्नै खोजीमा आफैसँग भागिरहेका छौ । र भाग्दाभाग्दै आफैँलाई गुमाइरहेका छौ ।.................................................................................................................................

Comments

Popular posts from this blog

नग्नता

  निर्जला अधिकारी ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो भएको छ । शरीर शिथिल भएको छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ ।  उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल  एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु । भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना सिद्वान्तहरुलाई एकाएक त्यागिदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ । मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो  र शरीर

मसिना कुरा –भाग ७

  दिन घमाइलो छ । आकाश खुल्ला छ । मानिसहरुको चहलपहल केही बाक्लो छ । पुजाकोठाबाट धुपको बास्नाले सडक र गल्लिहरु महकिँदै छन् । आजको बिहानी सोचेझै शान्त छैन । एकखाले चहलपहल हिजो देखीनै कायम छ । झ्यालमा बसेर बाहिर निहाल्दै छु । महिलाहरुमा बिसेष उत्साह छ, बिहानै नुहाएको कपाल फिजाउँदै दुवो र फूल टिप्दैमा उनीहरु मस्त छन् । यो तीजको बिहानी हो, आज टोल, छिमेक र सडक शान्त बन्न चाहेर पनि बन्न सक्दैन । आजबाट असोज लागेको छ । मौसममा चिसोपन बढ्न थालेको छ । बिस्तारै सयपत्रि र मखमली फूल्न थाल्नेछन् । हावामा सयपत्रिको महक मिस्निेछ । मलाई कहिलेकाही यो सब बारे सोचिबस्दा कुनै चक्रझै लाग्छ । हरेक बर्ष यसरी नै चाडबाडहरु भित्रने गर्छन् र यसरी नै हामीलाई लाग्छ यो कुनै नौलो चाड होइन र पनि नौलो हो । कहिलेकाही लाग्छ यी चाडबाडहरुलाई म अबलोकन मात्र गर्छु । म यसमा प्रत्यक्ष सहभागीता जनाउँदिन । हिजो जस्तो थियो मेरो लागि आज पनि उही हो । यति हो बाहिर हेर्दा अल्लि फरकझै लाग्छ । भर्खरै चियाको गिलास रित्ताएको छु । औलाहरु किबोडमा छन्, सिध्याउनुपर्ने काम चाङ लागेको छ । र पनि मलाई यसरी अक्षरहरुमा पोखिन रमाइलो लाग्छ ।  गर्

अन्त्य

 अन्त्य निर्जला अधिकारी यो यात्राको अन्त्य होइन । न सुरुवात हो । वा यो  उसले भनेझै जीवनको अप्रत्याशितताको उपज पनि हुनसक्छ । थाहा छैन यो के हो ...... जे पनि हुनसक्छ । सम्बन्धलाई धागोले नाप्न खोज्ने हो भने यो केही होइन । ऊ अब सदाका लागी टाढा जाँदैछ । म पनि अलबिदा भन्दैछु शुभकामनाका साथ । यो उसको अन्तिम बिदाई  होइन तर उसको र मेरो सम्बन्धको बिदाई भने पक्कै हो । थाहा छैन त्यो पनि होइन की । म दुबिधामा छु, भावनाहरु उर्लीएका छन् तर शब्द छैनन् । अन्त्यमा म लेख्छु “धन्यबाद, मैले तिमीलाई भेट,े यो भर्चुअल संसारमा भौतिक संसारमा नभएपनि । म खुसी छु र हुनेछु” ...... मेरो अन्तिम डिएम उसको लागी यही थियो  । उसले लभ रियाक्ट गर्यो । र यो हाम्रो अन्तिम संवाद रहने कुरा जनायो ऊ भोलीपल्टबाट टुइटरको संसारबाट बिदा लिदैँ थियो ।  जुन उसको र मेरो सम्बन्धको अन्तिम यर्थाथ थियो । म उस्लाई यो यर्थाथलाई बदलौ भन्न पनि सक्दैनथेँ । मेरो लागी टुइटरको दुनियामा भेटेको र त्यहीबाट छुटेको ऊ पहिलो र अन्तिम ब्यक्ति होइन । र पनि बिशेष पक्कै हो । म उसलाई यो ढुङ्गा माटोको संसारमा भेटेपनि चिन्नेछैन । म खोज्दै हिटेपनि भेट्ने छै