Thursday, July 23, 2026

काठको पुतली

 


“अब तिमी ठूली भयौ यस्तो खेल्नु हुन्न । पुतलीसँग खेली राख्यौ भने तिमी कहिल्यै ठूली हुनेछैनौ” आमाले मेरो हातको काठको पुतली फालीदिँदै भन्नुभयो । “ तिमी त अप्सरा हौ, तिम्रो नाम पनि त अप्सरा हो । अप्सराहरु आफैँ पुतली हुन्छन् पुतली खेलाउँदैनन् ।” फेरी आमाले थप्नुभयो ।

म कक्षा सातको परीक्षा दिएर घरमा बसेकी थिएँ । म सँग बर्षौ देखी एउटा काठको पुतली थियो । साथमा उसका  लागि .....आमाका साडीका टुक्राहरु .......... साथमा अंगार..... कमेरो र रातो माटो  पनि थियो । उ मेरी सखी थिइ । म उसँग कसैले नदेख्ने गरेर गफ गर्थे । उ मेरो लागि सबै थिइ । कहिलेकाही बैनी ठानेर सिँगार पटार गरिदिन मिल्ने । कहिलेकाही साथी ठानेर गफ गरिदिन मिल्ने । कहिलेकाही आफैँ ठानेर आफैँ बनिदिन मिल्ने ।

आमालाई केही बर्षदेखी मैले पुतली खेलाएको मन पर्दैनथ्यो । म नछुनी हुन थालेपछि झन् मनपर्न छोडेको थियो । पहिलेपहिले म जाँतो पछाडिको सानो कोठीमा बसेर खेल्ने गर्थे । तर आमाको गालि खान थालेपछि काठको पुतलीलाई मैले मेरै खाट मुनी राख्न थालेँ । आमा मेलामा गएको बेलामा मलाई रमाइलो लाग्थ्यो । म उसँग खेल्न पाउँथे । आमाको आँखा छलीछली पुतलीसँग खेल्ने मेरो बानी गएको थिएन ।

आमाले पहिलेपहिले त खेलेको देखेर पनि नदेखेझै गर्नुहुन्थ्यो । तर खै किन किन  सात कक्षाको परीक्षा दिएपछि आमालाई मेरो पुतली देख्दै रिस उठ्न थाल्यो । खै किन त्यसपछि आमा सधैँ रिसाउँन थाल्नुभयो ।  आमालाई सबै देखेर रिस उठ्थ्यो मेरो पुतली देखेर मात्र पनि होइन । बासँग पनि आमा झनै रिसाउँन थाल्नुभएको थियो । कहिलेकाही आधा रातमा म बिउँझदा आमा र बा ठूलोठूलो स्वरमा कराएको सुन्थेँ । 

एकपटक निद्राबाट बिउँझेको बेला बाले भनेको सम्झन्छु, “ तेरै कारणले मेरो मन बिथोलिएको हो, यस्तै गरिस् भन,े म पनि कुन दिन घर छाड्छु मैलाई थाहा छैन ।” पहिलेझै बाआमा गफ गर्न छोड्नुभएको थियो । घरमा पहिलेझै बाआमाको हाँसिखुसी अनुहार त्यसपछि मैले कहिल्यै देखिन ।

बाआमाको झगडाले म झन् एक्ली भएकी थिएँ । बासँग केही भनु बा झर्किने । आमासँग केही भनु आमा झर्किने । बरीपरी अरु घर थिएनन् । एउटा भएको पुतली पनि आमाले फालिदिइ सक्नुभएको थियो । पारी पाखा पात बजाउँनेको बाहेक मैले अरु कसैको सुरीलो स्वर घरमा सुन्दैनथेँ । एउटा भएको दाइ पनि  एसएलसी दिएपछि काठमाडौँ गैसकेको थियो । कहिलेकाही आएको बेलामा पनि मसँग धेरै बोल्दैनथ्यो  ।

स्कुलमा पनि मेरा धेरै साथी थिएनन् । म मोटी भएकाले मलाई अप्सरा भनेर कोहीकोही ले मात्र बोलाउँथेँ । प्राय साथीहरुले मात्र होइन सरहरुले पनि मलाई मोटी नै भन्नुहुन्थ्यो ।  म पढ्न जान्नेनै थिएँ । मलाई गणित र बिज्ञान बिशेष मनपथ्र्यो ।  त्यसमा पनि अल्जेबरा अझै मनपथ्र्याे । थाहा छैन किनकिन मलाई अरुले मन नपराउँने मन नपराउँने चिज मनपथ्र्यो । अरुलाई नेपालीका कविताहरु मनपथ्र्यो । देबकोटाको यात्री कविता ठूलो ठूलो स्वरमा सुनाउँथे । तर मलाई नेपालीका कविता कहिल्यै मनपरेन । मलाई गणितका सुत्रहरु मनपथ्र्यो । मलाई गणितका सुत्रहरु कविताभन्दा बढी मनपर्थे । 

तर त्यो भन्दा बढी मलाई मेरो काठको पुतली मनपथ्र्यो ।  त्यो मसँग मैले थाहा पाएदेखी थियो । मलाई कहिल्यै लागेको थिएन कुनै दिन त्यस्तो आउँनेछ जुन दिनदेखी मैले आफ्नो पुतली पनि फाल्नुपर्नेछ । पुतली फालेका केही दिनहरु मेरा लागि रमाइला थिएनन् ।  म सँग मैलाई सुनिदिने उ बाहेक अरु कोही थिएन । म उस्लाई गुमाउँन चाहदैनथे । तर मैले चाहेझै केही भएन । केही पटक सम्झाउँदा पनि नलागेपछि एक दिन मेरो त्यो काठको पुतली आमाले अँगेनामा हालीदिनुभयो । पुतली एकैछिनमा खरानी भयो ।  सायद त्यो उसको अन्तेष्टी थियो मान्छेको जस्तै । र आमाले मतिर नहेरी भन्नुभयो , “अब देखी फेरी यस्तै खेलेको देखँ भने मैले जानेको छु । छोराछोरी खेलाउँने उमेर भैसक्यो पुतली खेलाउँछे ।” 

त्यसपछिे अर्को पुतली बनाउँन चाहिन । मलाई अरु कुनै काठको टुक्रा फेरी उ जस्तै अर्को पुतली बन्न सक्छ जस्तो कहिल्यै लागेन ।े पुतली जलेपनि त्यसले मात्र मेरी आमाको रिस शान्त पार्न सकेन । किनकिन बाआमाको सम्बन्ध पहिलेझै कहिल्यै भएन । बा र आमा बुढाबुढी झै त्यसपछि मलाई कहिल्यै लागेन । बिस्तारै उहाँहरुको ओछ्यान फरक हुन थाल्यो । अल्लि पछि कोठा पनि । दाइ आएको बेला अलिअलि मिलेझै गरेपनि अरु बेला उहाँहरु राम्रोसँग बोलेको हाँसेको मैले कहिल्यै भेटिन ।

बाआमाको सम्बन्ध त्यसरीनै चल्दैथ्यो । थाहा छैन के भयो एक दिन बा बेलुका घर फर्किनुभएन । गाईबस्तु लिएर गोठालो जानुभएको बा बेलुका गाइबस्तु मात्र फर्के बा फर्कनुभएन । कतिले भने तेरो बाउ तेरी आमाको कचकच सहन नसकेर चितौनको गाडी चढेर गएको छ । कतिले भनेँ नजिकै मस्याङ्दीको बगरतिर गाइबस्तु लगेको थियो हाम्फाल्यो होला । त्यस दिन रातभर आमाले र मैले  बालाई कुर्यौ र तर बा आउनुभएन । “मसँग रिसाएर गएका हुन् तेरा बा दुईचार दिनमा फर्कन्छन्” आमाले भन्नुभयो । भोलीपल्ट दाई आयो, पुलिस रिपोट लेख्यो, आफन्तलाई खबर गर्यो । तर हराएका बा फर्केनन् । आमा निराश भएझै त गर्नुभयो तर जति हुनुपर्ने थियो हुनुभएन ।

बा नफर्केपछि झन् घर निराश भयो । झन् म एक्ली भएँ । दाई काठमाडौँ तिरै जागिर खान थाल्यो । आमालाई घर धन्दाले फूर्सद हुन छाड्यो । तर बा नभएकोमा आमालाई कुनै गुनासो थिएन । एक तमासले काम गनुहुन्थ्यो । स्कुलका साथीहरुले मलाई साथी ठान्दैनथे । उनीहरुको लागि म अप्सरा होइन मोटी थिएँ । उनीहरु मुखै भन्थे “यस्ती मोटीलाई साथी भन्नेकी हात्ती भन्ने” । मैले जाँचमा सिकाइदिन भने उनीहरु  मलाई हात्ती भनेर बोलाउँथे । त्यसैले मलाई किताबको पानाहरुमा भेटिने हात्ती पनि मन पदैनथ्यो । म देख्ने बित्तिकै अर्को पाना पल्टाइहाल्थेँ ।

बा नभएपछि आमाको आफ्नै सुर थियो । मेलापाता गर्ने साथी थिएँ । कहिलेकाही गाउँको एसटिडी फोनमा गएर बोल्ने सानीमाहरु थिएँ । घर भएका बेलामा गाली गर्ने र थर्काउने गाइबस्तु र म थिएँ । तर मेरा कोही त्यस्ता थिएनन् । साथीहरुले साथी मान्दैनथेँ वा साथी लायक ठान्दैनथेँ । आमाले केटाकेटी ठानेर सुखदुख साट्नुहुन्थ्यो । 

बिस्तारै बर्खा लाग्यो । फेरी हिउँद लाग्यो । बर्खामा नफर्केपनि हिउँदमा बा फर्कनुहुन्छ कि भन्ने थियो । तर बाको अत्तोपत्तो भएन । आमाको एकसुरको जिन्दगी चलिराख्यो । बेलाबेलामा खोइ किन हो अल्लि बढी सुस्केरा हालेको हो कि भन्ने लाग्थ्यो । तर बाआमाको सम्बन्धमा के समस्या थियो आमाले कहिल्यै भन्नुभएन । मैले सोध्न सकिन । दाइ आएको बेला अल्लि घरमा चहलपहल बढ्थ्यो । तर उ पनि धेरै बस्न पाउँदैनथ्यो । भर्खरै १२ कक्षा भ्याएर बोडिङको मास्टर भएको थियो । बिदा कम पाउँथ्यो ।

यसरी नै कक्षा नौ सिद्वियो । यसरी नै कक्षा दश सिद्वियो । बा फर्कनुभएन । आमालाई फूर्सद भएन ।  दाई काठमाडौतिरै हरायो । साथीहरुले र सरहरुले हात्ती र मोटी बन्न छाडेनन् । 

बा हराएको पनि दुई बर्ष भैसकेछ  । एसएलसी मा फ्रस्ट डिभिजनमा पास भएकी छु । थाहा छैन अब म कहा पढ्ने हो के पढ्ने हो । आमालाई सोधौ केही थाहा छैन । बा भएको भए केही भन्नुहुन्थ्यो होला बा हुनुहुन्न । दाई भन्छ त्यहि स्कुलमा पढँ । एजुकेसन पढेपछि जागिर पाउँन सजिलो हुन्छ ।

मलाई मास्टर बन्न मन छैन । मलाई सेतो एप्रोन लगाएर ल्याबमा जान मन छ । तर म जिद्वि गर्न सक्दिन । आमालाई तपाईसँग बस्न मन छैन भन्न सक्दिन । मलाई पुराना साथीहरुसँग फेरी साथी हुन मन छैन । त्यही मस्र्याङ्दीका सुस्केराहरु फेरी सुन्न मन छैन । सायद त्यही काठको पुतली भएको भएको भए पनि म उसँलाई यो कुरा भन्ने थिएँ । उ पनि मसँग छैन ।

आमा मेरो एसएलसीको नतिजाले खुसी त हुनुहुन्छ तर मलाई स्याबास् भन्नुहुन्न । उहाँ मलाई रुखी लाग्छ । कहिलेकाही लाग्छ, त्यही रुखोपनका कारण बाले घर छोड्नुभयो । त्यही रुखोपनले मेरो पुतली जल्यो । त्यही रुखोपनको कारण बाको अभिभाकत्व गुम्यो । तर आमाको अगाडि मेरो सात्तो जान्छ । आमासँग मेरो धेरै गुनासो छ । सबैभन्दा धेरै गुनासो मेरो पुतलीलाई जलाइदिएकोमा छ । तर म उहाँसँग यो कुरा भन्न सक्दिन । 

पुतलीलाई फाल्नुअघि आमाले भन्नुभएको थियो तिमी पनि पुतली हुनेछ्यौ । आजकाल  मलाई पनि कहिलेकाही म पनि काठको पुतली नै  हो कि जस्तो लाग्छ । न उ स्वतन्त्र थिइ । न म छु । अप्सरा, पुतली आमाले भनेका शब्दहरु सम्झन्छु  । सायद आमाले भनेझै हामी सबै मेरो काठको पुतली नै पो हौ की ?

Wednesday, July 22, 2026

जवाफ


कसैको प्रश्नको जवाफमा मैले केही मौनता थपेर चुप बसेँ । मौन हुन कहाँ सजिलो छ र । म भित्र हल्ला मात्र बाच्छ । त्यस्तो हल्ला जसलाई म सुनाउँदै हिड्न सक्दिन । केही चिसोे । केही मौन । केही धमिलो । केही अष्पष्ट । हो यस्तै यस्तै म भित्र बाच्छ । कसैले प्रश्न नै गरिहाल्यो भने पनि उत्तर पनि त्यस्तै धमिलो र अष्पष्ट बनेर मैसँग बाकी रहन्छ ।

हो म धमिलो छु । अष्पष्ट छु । मौन छु । हिजो नै कसैले मलाई प्रश्न गर्यो उत्तरको खोजिमा मैले केही थान आशु बगाएँ । म सँग मात्र होइन यो देशका अधिकांश मानिससँग उत्तर छैन । हामीसँग त जे पनि अष्पष्ट छ । जे छ धमिलो छ । त्यही धमिलोपनलाई नियती ठानेर हामी स्विकारीरहेछौ । 

आज पनि म मौन नै बसेँ । मौन बसेको पनि कयौ बर्ष भैसक्यो । मलाई लाग्छ म जे लेख्छु जे बोल्छु त्यसको कुनै अर्थ छैन । हरेक दिन मैले चलाउँने किबोडका किहरुले मेरो एकोहोरो बर्बराहट मात्र बोल्छन् । यसले केही अर्थ राख्दैन । यो देशमा छोरीमान्छे बौल्न थालेको कति न भयो र । जो बोलेका छन् उसको बोली पनि मौनता बराबर हो ।

तपाईहरुलाई लाग्छ  हरेक दिन म किन कबिोड चलाउँछु र बिनामतलबका केही वाक्यहरु लेख्छु । मलाई थाहा छ यो बोली होइन । यो त मौनता हो । यो बर्षबर्षको मौन इतिहासको अर्थहिन अर्काइभ मात्र हो । धेरैले भन्छन् हरेक दिन डायरीझै किन लेख्छेस्  म भन्छु छोरीमान्छेका अक्षरहरुलाई बिना सम्पादक बिना गेटकिपर अर्काइभ गर्नु पनि बर्षौबर्षको मौनतालाई बोल्नु हो ।

हिजो कसैको प्रश्नको जवाफमा म मौन बसिँदिएँ । सायद जे छ मौनतामा नै छ । यी अक्षरहरुले त्यस्तै मौन सान्नाटालाई मात्र बोल्छन् ।

Tuesday, July 21, 2026

बिहानी


बिहानीले हरेक दिन मलाई चिहाउँछ र भन्छ उठ् केटी घाम लागिसक्यो । सायद आमाले जस्तै । बिरत्तिएरीएर केही आशुका ठिकाहरु झारेर सुतेकी म बिहान निराश भैरहन सक्दिन । आदि भ्याएको किताब । चियाका कप । मैला कपडा । हिजो राती नमाजेका भाडाकुडा सबैले नचाहेरै पनि उठाउँछन् ।

हिजो रातभर झरी पर्यो । आफैँभित्रका बादलहरु बर्षा बनेर मेरा आँखाबाट तल झरेँ । मैले आफैँलाई दुई चार थप्पड पनि लगाएँ । निद्राले नआउँने जिकिर गर्यो । मैले धम्कि दिएरै भए पनि बोलाएँ । रातहरुभर अनेकौ सपनाहरुले छोडेनन् । केही अत्यासलाग्दा सपनाहरु मेरो रातका साक्षि बनेँ । बिहानीले पनि मलाई चाडै बोलाएन । लाग्यो होला यो निराश छ सुतोस् ।

आजकल मलाई सहरले पनि तर्साउँछ । कुनै जलेको मानिसको खरानीको उत्सव मनाएझै लाग्छ । अब मानिसले आफूँले आफैँलाई जलाउनु पनि सामान्य भैसक्यो । जलाएको भोलीपल्ट पनि तपाईलाई मानिसहरुले कायर नै भनिदिन सक्नेछन् । कसैले घर जलाएँ । कसैले देश जलाएँ । कसैले आफैँलाई जलाएँ । लाग्छ, यो देशमा केही बाकी छ त जल्नेहरुको खरानी मात्र बाकी छ । 

गत महिनासम्म केही सपना बाकी थियो । केही आशा । म अब आशाबाट बिरक्तिको बाटोमा हिडिरहेकी छु । कसैले मलाई मायाले के छ भनेर साधिदियो भने पनि रोइदिन सक्नेछु । लाग्छ सुनिदिने कोही होस् । जे हुन्छ राम्रो हुन्छ भनिदिने कोही होस् । चाहेको पनि यतिमात्र छु । देश जलेको देखिन्छ मन जलेको कहाँ देखिन्छ र ।

लाग्छ यो शहरको हरेक कुनामा म जस्तै एक हरेक साझ बिरक्तिएर आशु झार्छ । जब मानिससँग उज्यालो बाटो रहँदैन उसको लागि बाच्नु सजिलो छैन । मसँग अक्षर छन् सजिलो छ  । बिना अक्षर म पनि कुनै दोबाटोमा बहकिन सक्ने थिएँ । बिहानी मात्र छ जसले बाँच भन्छ । साँझले सधैँ निराशानै बोकेर आउँछ ।

अब त फूल फुलेको । घाम लागेको । चराहरु उडेकोले पनि केही लाग्न छोडिसेको छ । एक बिरक्तिएको मानिसले रोज्ने बाटो भनेको अक्षरको बाटो मात्र हो । अक्षर सजिलो बाटो बनेर आउँदैन । मेरा लागि पनि अक्षरको बाटो सजिलो थिएन । आज पनि मैले लेखेकोकोमा खुसी हुने म मात्र हुँ । आमालाई लाग्छ लेख्न भन्दा कोही खोजेर कसैको भएको भए ठिक हुने थियो । म इतिहास देखिनै कसेको हुनुपर्ने बोझले थिचिएकी छु । 

यी अक्षरहरु अरुझै नहुनुका निशानीहरु हुन् । अरुझै भैदिएको भएँ सायद मेरा अक्षरहरु भान्छाघर भएर निस्कने थिएँ । हुनसक्छ मैले जे रोजेँ त्यो अचल्तीको बाटो थियो । एउटा पारिवारिक मिथकको अन्त्य । त्यो अन्त्यले मलाई कठोर त बनायो तर मै टुक्रिएको बेला भरोसाको कमि पनि सधैँ रहिरह्यो । सायद बिहानीले त्यही भरोसा बोक्छ र मलाई बोलाउँछ ।

आज पनि बिहानीले मलाई सबेरै बोलायो उठ् केटी तेरो उठ्ने बेला भयो भन्यो । आदी भ्याएको किताब । किबोडमा आदी बाकी रहेका अक्षरहरु । आदी झरेको आशु । सायद केही अधुरो थियो र म उठेँ । सायद सबै सजिलो भएको भए यी अक्षरहरु यसरी निस्कन पनि सक्दैनथैँ । सायद अक्षरहरु सधैँ कठिन बाटो बनेर आउँछन् ।

यो आजको बिहानी हो । सायद भोलीको बिहानी पनि यस्तै हुनेछ । तर मलाई आशा रात हिजोको जस्तै निराश नहोस् ।

Monday, July 20, 2026

अन्तिम प्रतिक्षा


सायद यो अन्तिम प्रतिक्षा हुनेछ । सायद कुनै मृत्यूजस्तै । सायद यो मृत्यू नै हो । सायद मैले जीवनभर जे चाहेँ त्यो पर सर्दै गयो  । मानिसहरुले बिदाइका हातहरु हल्लाए । माटो पनि तेरो हुँदिन भनेर बतासले उडाइलग्यो । जे चाहेँ त्यो कहिल्यै आफ्नो भएन । प्रतिक्षा गरेको पनि यतिका बर्ष भएछ । सायद यो अन्तिम प्रतिक्षा हुनेछ । 

प््रातिक्षा गर्दागर्दा मबाट जे गुम्यो त्यो सायद म आफैँ थिएँ । सायद म आफैँलाई पनि जोगाउँन चाहन्न । सायद केही नभएझै म माटोमा मिल्न चाहन्छु । सायद अन्तिम प्रतिक्षा ।

शहर : एक अनुभूती


दिन शान्त छ । मनमा शान्ति भएको बेला बादलले भरीएको दिन पनि मनपर्छ ।  झरी मनपर्छ । बतास पनि मनपर्छ । हावाहुरी र चट्याङ पनि मनपर्छ । आज त्यस्तै कुनै दिन हो । घण्टाघर तल छु ।  घण्टाघर तल कुनै चियापसलमा । घण्टाघर आफ्नै लयमा घुमिरहेछ । जसरी म घुमिरहेछु । सायद समय यसरी नै घुम्छ । बिस्तारै थाहा नपाएझै गरी ।  घुमेको आभाष कहाँ छ र ! र पनि घुमिरहेछौँ । तपाई । म । घण्टाघर । समय । सबैसबै ।

सायद यो जीवनको गति हो । सायद मानिस पनि आफ्नै लयमा घुम्न चाहन्छ ।  वा यसरी नै समय चलिरहन्छ । नचल्नुको विकल्प पनि त छैन । हुनसक्छ यो बिना बिकल्पको हिडाइ हो । वा घुमाइ हो । हत्तारीँदै हिडेर पनि कही पुग्नु छैन । वा पुगेर पनि फर्कनु छ । हुनसक्छ पुगेर पनि नपुगेझै गर्नु छ ।

 हामी सबैको गन्तब्य एकै हो । थाहा छैन हत्तारीँदै हिड्नेहरु कहाँ पुग्छन् । सायद लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ । यात्रा अयात्राको यो वृत्तमा हामी  घुमिरहेछौ  । सायद यही नै जीवन हो ।

चियापसलमा छु । भर्खरै एक मधुर मुस्कानले छोडेर गएको छ । मुस्कान एक सामुहिक भाव हो । दुख पिडालाई हामी सामूहिक बनाउँन सक्दैनौ । दुखको बदला दुख सापटी दिन सक्दैनौ । सायद मुस्कान नै त्यस्तो अनुभूती हो जसले सामूहिकता रोज्छ । मुस्काउँदै हिड्नेहरुले अनौठो अनुभूती दिएर जान्छन् । उसले त्यही  दिएर गएको छ । थाहा छैन उ किन मुस्कुरायो । थाहा छैन मैले किन उसको मुस्कानलाई साथ दिएँ । 

शहर आफ्नै गतिमा छ । चाहेर पनि हामी शहरको गतिलाई रोक्न सक्दैनौ । चियापसलबाट शहरको एक दृश्य कैद गर्दैछु । यो दृश्य मेरो हो ।  शहर सामुहिक भए पनि हामी सबैको आफ्नै भर्सनको सहर छ । यो मेरो भर्सनको शहर हो । कहिलेकाही लाग्छ म झै सहर पनि एक्लो छ । सबैसँग भएर पनि एक्लो । आफ्नै भएर पनि एक्लो । 

सबै आफ्नै लयमा पाइला चाल्दैछन् । किन कहाँ कसैलाई थाहा छैन । वा थाहा छ । वा थाहा भएर पनि थाहा नपाएझै गर्दैछन् । नानीहरु स्कुलका लागि पाइला चाल्दैछन् । नानीका बाआमाहरु कामका लागि पाइला चाल्दैछन् । केही नहुनेहरु हतारमा केही पाउँनका लागि पाइला चाल्दैछन् । म आफ्नै ठानेर उनीहरुको पाइला गन्दैछु ।

यो पाइलाहरुको कोलाहलमा आफ्ना पाइला खोज्दैछु । सायद म पनि आफ्नै दौडमा छु अरुजस्तै । तर थाहा छैन मलाई कहाँ पुग्नुछ, के पाउँनु छ । के मेरा पाइलाहरु प्राप्तिको दौडमा छन् ? तर थाहा छैन मेरो गन्तब्य के हो । आफैलाई खोज्दाखोज्दै म कहाँ पुग्नेछु । वा कुनै दिन थाकेर खोज्न छोडिदिनेछु । शहर अमुक छ । उसले मलाई पनि त कहिल्यै प्रश्न गरेन । सायद सहर सबैप्रति एक दुरी राख्छ । सहर उदार र अनुदार दुबै छ । उसले चाहेर पनि न मानिसलाई अगाल्छ न लत्याउँछ ।

  के सब यी दौडिरहेका मानिसहरु आफैलाई खोज्दैछन् । वा शहरको धुनमा त्यसै नाच्दैछन् । मलाई अरुको लयमा नाच्नेहरु अनौठा लाग्छन् । थाहा छैन नाच्दानाच्दै उनीहरु कहाँ पुग्नेछन् , के पाउँनेछन्  । सायद यो शहरको बिशेषता हो । यसले आफ्नै धुनमा नचाउँछ । वा हामी सबै आफ्नै धुनलाई सहरको धुन ठान्छौँ ।

 तर सबैसँग आफ्नै परिकल्पनाको शहर हुन्छ । मेरो शहर मेरो रोजाइको शहर हो । म शहरलाई सिंगो ठानेर हेर्न सक्दिन । मलाई त शहर आफैँजस्तो लाग्छ । टुक्रिएको । निराश । म आफ्नै प्रतिबिम्बमा शहरलाई हेर्छु । मलाई लाग्छ, मेरा वाक्यहरुझै मैले बाचेको शहर पनि सग्लो छैन । म टुक्रिएका अमुक वाक्यहरुलाई सहर ठानेर हेरीदिन्छु । सहरले आफ्नो परिभाषा लाद्दैन । सहरले मेरो परिभाषालाई तेरो परिभाषा भएन भन्दैन । सहरले आफ्नो रोजाइ लाद्दैन ।

मैले बुझेको शहरको कल्पना एकात्मक हो ।  यो एकात्मकताको बिम्बमा अडिएको छ । मैले शहरमा रहनुको अनुभूतीलाई सामूहिकतामा ब्याख्या गर्न सक्दिन । मेरो शहर तपाईको होइन । तपाईको शहर मेरो होइन । यो घण्टाघर तल म मेरो समयको कुरुपतालाई मात्र देख्छु । हुनसक्छ तपाईलाई यी मानिसहरु, यी गाडिहरु, यी बिनामतलबका दौडधुपहरु राम्रै लाग्लान् ।

गाडी गुडेका छन् । मानिसहरु हतारमा छन् । चिया पसलबाट चियाका बाफहरु उड्दैछन् । यो शहरको बिहानी हो । सायद शहर यसरीनै बिउँझन्छ । स–साना नानीहरु स्कुलका लागि निस्कदैछन् । नानीहरुले शिरमा लगाएको रिबनका फूलहरुले थप सौन्दर्य थपेको छ । यी अनुभूतीका तंरगहरुलाई म कैद गर्न चाहन्छु । म चाहन्छु मसँग यस्ता अनुभूतीहरु रैरहुन् । सायद हामी सबै यी यस्तै अनुभूतीका भोका छौ । बिष्मृतिहरु छोटा हुन्छन् । सायद हामी सबै स्मृतिमा बाच्न चाहन्छौ ।

तर यी स्मृतिहरु कुनै दिन मबाट पर जानेछन् । म धुमिल बन्नेछु । मेरा दृश्यहरु धुमिल बन्नेछन् । सायद मसँग स्मृतिको नाममा केही रहनेछैन । न यो चियापसल । न यो घण्टाघर । न यी असननका गल्लिहरु । न शहर मेरो हो भन्ने अनुभूती । कुनैदिन मसँग केही रहनेछैन । मेरी हजुरमासँग पनि संसारबाट बिदा हुँदे गर्दा स्मृतिहरु बाकी थिएनन् । सायद म पनि त्यस्तै हुनेछु कुनै दिन । शहर रहनेछ म रहनेछैन । शहरलाई कसैले सम्झनेछ तर मैले सम्झनेछैन् ।

  शहरको यो निजात्मक ब्याख्या हो । हुनसक्छ कुनैदिन सामूहिक बन्नेछ । यो मेरो नभइ अरु कसैको बन्नेछ । यी चाहेर कैद गरेका शब्दहर हुन् । थाहा छैन कुनै दिन अरु कसैले शहरको अर्को भर्सन लेख्नेछ । तर यसरी नै नलेख्न सक्नेछ । म आफैले पनि अरु कुनै अर्को दिन कैद गरेँ भने शहरको अर्को कुनै कुरुप कर्कष पोर्टेट बन्नेछ । यो सहरमाथी गरिएको बेमेल रेखाहरुको एक अमूत ब्याख्या मात्र हो । क्यानभाष मेरो हो । रंगको रोजाइ तपाईको हुनेछ ।

बर्हिगमन

 


उसको कोठामा छु । सेता पर्दा सेतो तन्ना आकाशे रंगका कुशनहरुले कोठा उज्यालो देखिएको छ । उसको ओछ्यानमा हरेक हप्ता उसलाई मनपर्ने सेतो रंगको तन्ना ओछ्याइदिन्छु । हरेक दिन उसको किताबमा जम्मा भएको धुलो पुछ्ने गर्छु । उ छैन तर यी सबै चीजहरुले उ भएझै महसुस गराउँछन् । उसको यो बाइसौ जन्मदिन हो । बाइसौ जन्मदिनमा उसको लागि बाइिस वटा किताबहरु ल्याएकी छुु । थाहा छैन, उसले यो देख्छे वा देख्दिन तर मलाई लाग्छ उसले यो देखोस् । मेरो अगाडी उसले लेखेको अन्तिम डायरी छ..........................

डेट– १५ डिसेम्बर, २०२२

“हिजो रुपि कौरको होम बढी पढेँ ।  त्यसपछि रातभर स्याली रुनिको “कन्र्भसेसन बिथ  फेन्डस्”को सय पेज पढेँ । सधै झै हिजो पनि निद्रा लागेन । सुत्न नसेकेको तिन महिना भैसकेको छ । जब रात पर्न थाल्छ मुटु धड्किन्छ । सुत्न सक्दिन । मामुलाई धेरैपटक भनेको हो, पत्याउँनुहुन्न । म निदाउँन सक्दिन । केही नराम्रो कुरा सुन्नेबित्तिकै हात काम्छ । पढ्न पनि आजकाल त्यहि मन लाग्दैन । हुन त सबैले मलाई किताबको किरो भन्छन् । आजकल त पढ्न पनि सक्दिन । मलाई लेख्न मनपथ्र्यो । आजकाल लेख्न पनि सक्दिन । बाबाको अफिसको केही भर छैन । कहिले सेमिनार कहिले लेटनाइट मिटिङ । उहाँलाई मामूलाई दिने समय पनि छैन मेरो लागि त परको कुरा । मैले मामू र बाबा खुसीसाथ बसेको कहिल्यै देखेको छैन । थाहा छैन बाबा सधै किन घरबाट पर बस्नुहुन्छ । तर मामूले आफ्नो कुरा केही सेअर गनुहुन्न । उहाँलाई लाग्नसक्छ म अझै केटाकेटी नै छु । बट आइ ह्याव क्रस ट्वान्टी आइ क्यान सेन्स इट । मलाई मूराकामी मनपथ्र्यो तर आजकाल मुराकामी पनि पढ्न सक्दिन । थाहा छैन के भाछ । मामू भन्नुहुन्छ धेरै पढेर हो । उहाँ मेरो कुरा बुझ्नुहुन्न । इन्र्टोभट भएर होला आइ डोन्ट ह्याभ बेस्ट फेन्डस् । 

अनिस सँग छुटिएको पनि एक वर्ष भै सकेछ । यदाकदा लाग्छ ठिकै भयो । तर सधैँ त्यस्तो लाग्दैन । उसलाई म प्रेमीको रुपमा नभए पनि साथीको रुपमा सधैँ मिस गर्छु । तर गर्दिन पनि । सम्बन्धमा नै रहँदा पनि उसले मलाई इमोस्नल्ली कहिल्यै सपोट गरेन । हाम्रो सम्बन्ध  सम्बन्धमा रहेर पनि सम्बन्ध जस्तो थिएन । खोइ किन उ कमिटमेन्ट देखी डराउथ्यो । महिनौ हराउँथ्यो अनि फेरी पहिलेझै बोल्न लाउथ्यो । मलाई त अहिले पनि लाग्छ उसको लागि सिचवेसनसिप मात्र थियो । मेरो लागि मात्र त्यो सम्बन्ध थियो । उसको ँन्युड्सहरु स्न्यापमा हेर्दा हेर्दा म एक तरिकाले बोर भैसकेकी थिएँ । उसललाई सायद लाग्थ्यो प्रेम गर्नु भनेको फिजिक्ल्ली कनेक्रट हुनुमात्र हो । आइ वोज नट कम्फरटेबल टु सेन्ड माई नेकेड पिक्चिर टु हिम । तर उसलाई लाग्थ्यो न्यूड्स् नपठाउँनु भनेको प्रेम नगर्नु हो । म यो कुरा कसैलाई भन्न पनि सक्दैनथेँ । तर म कम्फरटेबल पनि थिइन । मामुलाई त परको कुरा म साथीहरुलाई पनि यो चिज भन्न सक्दिन । जब जब एक्ली हुन्छु आफूले पठाएका ति नाङ्गा फोटाहरु देखेर पनि तर्सन्छु । कताकता रिग्रेट जस्तो फिल हुन्छ । मलाई लाग्छ म शरिर मात्र होइन । 

लाग्छ मलाई बुझिदिने कोही होस् । निद्रा नभएको बेला बोलिदिने कोही होस् । थाहा छ म इमोसनल्ली हेल्दी छैन । एक्लै एकदुई पटक थेरापिको लागि पनि गएँ । तर म उसँग पनि कम्फरटेबल भैन । मामूलाई अझै पनि म डिप्रेसनमा छु भन्ने थाहा छैन । मामू यो कुरा बुझ्नुहुन्न । मामूलाई लाग्छ धेरै पढ्नेहरु यस्तै हुन् । बिहान एक घण्टा  मेडिटेसन गर्छु तथापी दिनभर उदासीले छोड्दैन । आजकाल मामूले नदेख्ने् गरेर स्मोक पनि गर्न थालेकी छु । मलाई थाहा छ स्मोकिङ राम्रो होइन । तर किनकिन यसले एकछिन भए पनि उदासी कम गर्छ । मलाई कहिल्यै लागेको थिएन मैले याफ्टर ट्वान्टी स्मोक गर्न थाल्नेछु । तर स्याड्ली आइ स्टाटेड याफ्टर ट्वान्टी । कलेजको सेमिस्टर ब्रेक भएको छ । थाहा छैन यो एक महिना म कसरी बिताउँछु । मोबाइल छुनै मन पर्दैन । मोबाइल छुनेबित्तिकै हात काम्छ । कसैले गरेको फोनले मुटु फुटेझै धड्कन्छ ।  सोसल मिडिया सबै डियाक्टीभ गरेकी छु । पहिले पहिले बिदाको समय एक्लै बसन्तपुरतिर घुम्न जान्थेँ । यस्तो लाग्थ्यो बसन्तपुर कथाहरुको अलिखित संग्रह हो । तर आजकल जान मन लाग्दैन । थाहा छैन यो खालीपनले कहिले छोड्नेछ । कहिले म पहिलेझै बन्न सक्नेछु । आई लभ हु आई वाज । थाहा छैन यो अध्यारो शुन्यताबाट म कहिले पर भाग्न सक्नेछु । आजकल कहिलेकाही म मरेपछि रुने मान्छेहरु बारे पनि गर्छु । के डेथबारे सोच्नु नराम्रो हो ? मलाई लाग्छ म बाचेभन्दा मरेँभने मलाई शान्ती हुनेछ । म यी बिनानिद्राका खाली र उदास रातहरु कतिदिन झेल्न सकुँला । कहिलेकाही त राती आफ्नो धड्किएको मुटुको आवाजले आफैँ तर्सन्छु । शरीरभरि पानी खनाउँछु तर पनि सुत्न सक्दिन । निद्रा बिनाका रातहरु कसैका नहुन् । यो उदासीले थाहा छैन मलाई कहिले छाड्नेछ । आइ विस चाडै छोडोस् । तर मलाई लाग्दैन यसले यती सजिलै छोड्नेछ ।

आज उसको जन्मदिन हो र उ नभएको ४५ दिन पनि । उसको डायरीले मेरा हातहरु कामेका छन् । मुटु अझै धड्किरहेको छ । उ भएको भए अर्को उल्लास हुने थियो । अपूर्व पनि छोरीको जन्मदिनको लागि भनेर घरमा हुने थियो । उ गएपछि अपूर्व घर बिरलै आउँछ । थाहा छैन उ के महसुस गर्छ । केही नभनेपनि यदाकदा लाग्छ यो सब हुनुमा उ मलाई दोसी ठान्छ । कहिलेकाही मलाई आफैँलाई पनि त्यस्तै लाग्छ । 

उसको  जन्मदिनमा उसका डायरीहरु पढ्दैछु । यो उसले लेखेको अन्तिम डायरी थियो । लाग्दैछ यो मैले पहिल्यै पढ्नुपथ्र्यो । यी ४५ दिनहरु मलाई ४५ लाख जुनीझै भएको छ । आँमाले सन्तानको मृत्यूको कल्पना कहिल्यै गर्न सक्दिन । यो गर्न नसक्ने कल्पना यर्थाथ भैदिएको छ । मलाई लाग्थ्यो उ म जस्तै छ । नबोलिकनै धेरै कुरा बुझ्ने । तर आजकल लाग्दैछ मैले उसलाई बुझ्न नसकेको रहेछु । आमा भएर आमाझै हुननसकेको पिडा सधै रहनेछ । र उ नरहनुको कमि मसँगै बिदा हुनेछ ।

उ सजिलै जीवनमा आएकी थिइन । बिहे गरेको सात बर्षसम्म पनि केटाकेटी नभएपछि हामी दुबैको सम्बन्धमा रोमाञ्चकता थिएन । मलाई एडप्ट गरेर भए पनि सन्तानको आमा बन्न मन थियो । अपूर्वलाई त्यो कुरा मन्जुर थिएन । तर उ आएपछि हामी बिचको सम्बन्धमा पनि अर्को उल्लास छायो । परिवार पनि खुसी भयो । उ जन्मेको दिन सासुआमाले तिमी पनि आजदेखी पूर्ण भयौ भनेको कहिल्यै बिर्सन सक्दिन । उसको नाम त्यसैले प्रतिक्षा राखेका थियौँ । उसकै लागि भनेर त्यसपछि मैले जागिर खाइन ।  म उसलाई पूर्ण रुपमा हुर्केको हेर्न चाहन्थेँ ।

उ मैले चाहेझै थिइ । पढाकु, ज्ञानी । तर उसको कम बोल्ने बानीले कहिलेकाही मलाई पिरोल्थ्यो । अरु केटाकेटी झै उसले हासी मजाक गरेको मलाई कहिल्यै थाहा छैन ।  बस कि पढ्ने कि स्केच गर्ने उसको दैनिकी थियो । मलाई लाग्थ्यो कुनै दिन उ राम्रो चित्रकार बन्नेछ । मलाई उसको रंगसँग खेल्ने बानी असाध्दै मनपथ्र्यो ।

जब उसले एसएलसीमा ए ल्याएर पास गरी सबैले भन्थे डाक्टर हुन्छे । तर उसलाई डाक्टर बन्न मन थिएन । मलाई पनि उ डाक्टर नै बन्नुपर्छ भन्ने थिएन । ए लेवल पछि केयूमा फाइन आर्टस्  पढेकोमा मलाई कुनै गुनासो थिएन । उसको बाबा पनि खुसी हुनुहुन्थ्यो । हामी दुबै उ खुसी भएको देख्न चाहन्थ्यौ ।

अरुका केटाकटी झै उसका धेरै साथीसंगती सँगको संगत मैले कहिल्यै देखिन । उसको पढ्ने लत भने बच्चा देखीनै थियो । अल्लि पछि मलाई लाग्थ्यो उ किताबमा मात्र नभुलोस् । बोरु घुम्न निस्क्योस् साथी बनाओस् । उसको एककाइसौ जन्मदिनमा मैले उसलाई यात्रामा जाउँ भनेर दुई दिनको लागि चित्लाङको हाइकिङ ट्रिप बुक गरिदिएको थिए । तर उ जान मानिन । त्यसको सट्टा एककाइस वटा पुस्तकहरु मैले उसलाई दिएँ उ खुसी देखिन्थी  । उ  कलेजबाट आएपछि कि चित्रहरु मात्र कोर्थी कि किताबहरु मात्र पढ्थी ।

  तर केही समयदेखी उ केही निराश देखिन्थी । मलाई लाग्थ्यो नचाहिदा पुस्तकहरु पढेर हो । मलाई लाग्थ्यो धेरै पढ्नेहरु धेरै सोच्छन् । धेरै सोचेर हो । उसले मलाई म निदाउँन सक्दिन भनेकी पनि थिइ । मलाई लाग्यो कहिलेकाही होला ।  सधै होइन ।

जीवनमा यसरी उसलाई गुमाउँछु भन्ने कहिल्यै थिएन । उ नरहेपनि अपूर्व पनि बिरलै घर आउँछ । कहिलेकाही लाग्छ केही बर्षदेखी उ कोही अरुसँग सम्बन्धमा छ । हामी विचको सम्बन्ध सधै यस्तै नै थियो । उ भएकाले छोरी छ भन्ने आधार थियो । अपूर्व बाहिर कोहीसँग हिडेको कुरालाई म थाहा पाएपनि नपाएझै गर्थे । मलाई लाग्थ्यो छोरीले यो सब थाहा नपाओस् । म छोरीको नजरमा उसको पिताको डार्क साइड देखाउँन चाहदैनथे । तर उसको यो डायरी पढेपछि थाहा भयो उसको पनि उसको पितासँग गुनासो रहेछ ।

उ भैइनजेल उ आफ्नै काममा ब्यस्त भएपनि मलाई एक्लो कहिल्यै महशुस भएन । म त उसको बिहेबारे पनि सोच्न सक्दैनथेँ । हुन त उसको उमेरका भएपछि धेरै बाआमाले बिहेबारे सोच्ने गर्छन् । तर मलाई लाग्छ उसले बिहे गर्दिन भनेकी भए पनि मलाई कुनै गुनासो रहँदैनथ्यो । म मात्र उ खुसी भएको देख्न चाहन्थेँ ।

थाहा छैन उ बिनाका एक्ला र निराश दिनहरु म कसरी बिताउँनेछु । उसका उमेरका केटाकेटीहरु म सडकमा पनि देख्न सक्दिन । एक्कासी मुटु दुखेर आउँछ । आजकल उसँगै छु भन्ने महशुस गराउँन उस्ले पढ्ने पुस्तकहरु पढ्छु ।  उ प्राय अंगे्रजी पुस्तकहरु पढ्थी । तर मेरो अंग्रजी उसकोझै नभएपनि पढेझै गर्छु । लाग्छ यी पुस्तकहरुमा उ कहि कतै छ ।  उसको स्पर्शको महशुस हुन्छ ।

लाग्छ मैले उसलाई कसरी बुझ्न सकिन ?  आमाले आफ्नो सन्तानलाई बुझ्न नसक्न पाइन्छ ? कहिलेकाही लाग्छ म  कहिल्यै आफैले आफैलाई माफी दिन सक्दिन........................................................................................................

Sunday, July 19, 2026

Ode to the Letters

 प्रिय पत्रहरु,

यो पत्रको बदला पत्र मात्र होइन । यो कुनै अधुरोपन जस्तै हो । केही न्यास्रो । केही अल्नो । केही अपुरो । मलाई लागेको थियो मेरो पत्रको बदलामा मेरो झोलामा पत्रमञ्जुषा बनेर केही फर्कनेछ । तर त्यस्तो भएन । मेरा पत्रहरु सायद कुनै अन्जानको दैलोमा पुग्यो होला । सायद उसलाई लाग्यो होला यो मेरो ठेगानामा झुक्किएर आएको होला म खोल्दिन । सायद त्यस्तै केही भयो होला ।

कहिलेकाही त लाग्छ नि आफूलाई कसैले सुनिदियोस् । आफ्नै नाममा पत्रहरु घरको ढोका आइपुगुन् । फूलहरु लिएर कसैले आफूलाई स्वागत गरोस् । सँसारमा को नहोला जसलाई माया चाहिएको छैन । सँसारमा को नहोला जसले प्रेमलाई कुरेको छैन । सायद म त्यस्तै प्रखाइमा थिएँ । 

सायद त्यसैको प्रखाइमा मैले केही पत्रहरु लेखेँ । कोही अपरिचितलाई । कोही अन्जानलाई । लागेको थियो कहिलेकाही प्रेम असजिलो बाटो बनेर आउँछ । सजिलो के छ र । मैले त्यस्तै गरेँ । सायद आफैँलाई खोजेझै मैले अरु कसैलाई पत्रहरुमा खोजिरहेँ ।

खोजि आफ्नै थियो । खोजि प्रेमको थियो । मैले शब्दहरुमो आफैँलाई रित्तयाइराखेँ । अब त म शब्दहरुको पनि रित्तो रहेछु, प्रेमको मात्र होइन । जे छ असजिलो छ । मलाई थाहा थियो, यो असजिलो बाटो हो । त्यो पनि थाहा थियो, प्रेम कहिल्यै पनि असजिलो बाटो बनेर फर्कदैन । तर पनि मनले भन्यो कुनै आख्यानझै जीवन पनि त अप्रत्यासित छ । मलाई लाग्यो यो असजिलो नै मेरो भागको सजिलो बाटो हो । मैले लगातार कोही अपरिचितलाई पत्रहरु लेखिराखेँ । सायद लेखिरहनेछु । 

पत्रहरुको युूग सिद्धिएको पनि धेरै भैसक्यो । तै पनि पत्रहरुको आशा थियो । मलाई लाग्छ प्रेमको सबैभन्दा सुन्दर अभिब्यक्ति कि मौनतामा हुन्छ कि शब्दहरुमा । मैले त्यही बाटो रोजेकी थिएँ । तर अब प्रतिक्षाको लागि केही बाकी रहन । हरेक दिन म आफ्नै लागि आफैँ लेख्ने गर्छु । कुनै मनोबादझै प्रापक र प्रेशक आफैँ बनेकोमा पनि कुनै पछुतो छैन । एक अभिनय जस्तो, जीवनमा प्रापक र प्रेशक आफैँ बन्नु एंकाकिपनको चरम बिन्दु हो । हुन त मैले जीवनलाई मुलधारमा राखेर कहिल्यै हेरिन । जे थियो र जे छ चरमता भित्र मात्र छ । म संग्लोपनको नाटकमात्र पनि गर्न सक्दिन । म भित्र जे छ कुनै टुक्रिएको सिसा जस्तै छ । कहिलेकाही नमज्जाले बिझाउँछ । 

सायद आफ्नै खोजिमा । सायद अरु कसैको खोजिमा । सायद प्रेमको खोजिमा । मैले अपरिचितलाई पत्रहरु लेखिरहेँ । मलाई अरु केही थिएन मेरा शब्दहरुबाट केही आशा थियो । मैले उत्सुकताबस कापी कापी कोही अरुका लागि पहिलोपटक पत्र लेखेकी थिएँ । म बिधामा अड्किन चाहदैनथेँ । पत्र मेरा लािग कविता जस्तै हो । कविता बन्न कविताजस्तै हुनुपर्छ भन्ने पनि छैन । प्रेममा सबैचिज कविता नै हो र्।  लागेको थियो प्रेमलाई अभिब्यक्त गर्न पत्र एउटा सुन्दर तरिका हो । कहिलेकाही माध्यम पनि महत्वपूर्ण बन्छ । सायद मैले रोजेको पत्रको बाटो त्यही थियो ।

प्रिय अपरिचित, म तिमीलाई प्रेमझै केही गर्छु । त्यो प्रेम हो वा हैन मलाई थाहा छैन । पानी परेको बेला, बतास चलेको बेला , चराहरु उडेको बेला , घाम अस्ताएको बेला लाग्छ अनुभूतीको त्यो सुन्दरताभित्र तिमी पनि छौ । कहिलेकाही घाम लागेको बेला पनि त्यसरीनै सम्झन्छु । आज पनि बिहानै सम्झे । हिजो राती पनि सम्झेको थिएँ । मलाई थाहा छ, प्रेम पत्र बनेर मेरो बाटो आउँदैन तर केही खोजेझै प्रेममा पनि मैले आफैँलाई खोजिराखेँ । खोज्नु सायद मेरो नियती थियो । मैले जीवनभर केही खोजिरहेँ । सायद तिमीलाई खोज्नु पनि त्यही नै हो ।

सायद अब अक्षरहरु सजिला बाटा बनेर तिम्रो माझ झुल्कँदैनन् । जे थिएँ मेरो मात्र थिएँ । म आशाबादी पनि रहिन । कहिलेकाही असजिलो बाटोको खोजिमा मैले केही आफैँलाई रित्ताएको छु । रित्तिएको मानिसभित्र प्रेम रहँदैन । मैले प्रेम गर्छुझै गरेँ पनि सायद म अब कसैलाई प्रेम गरिरहन पनि सक्दिन । सायद आफैँलाई पनि । मैले जे को प्रतिक्षा गरिराखेँ । त्यो कतै पर पुग्यो । मलाई लाग्छ मैले अब माटो मागेँ भने पनि बतास आएर माटोलाई उडाउँनेछ । यो उदास मानिसले पत्र पनि लेख्न सक्दैन । प्रिय पत्रहरु, यो तिम्रो लागि लेखिएको अन्तिम सम्झना पत्र हो ।

डिएर इला,

  आज पनि बिहानै उठेँ । सबै दिनहरु तिमीले सोचेझै उज्याला हुँदैनन् । मलाई लाग्छ उज्यालो नहुँदैको दिनको साक्षि बस्नु भनेको दिनलाई दिनकै रुपमा स...