Sunday, May 22, 2016

बिदाइ

एउटा पारिलो मध्यान्नमा
तिमी भेट्टिएका थियौ
जसरी भेट्टिन्छन्
घाम र क्षितिज
पृथ्वी र ताराहरु

अनायासै हामी भेट्टियौ
जसरी भेट्टिन्छन्
फूल र भमराहरु
परेवाका जोडिहरु
नदिहरु संगम बनेर ।

देख्नु र साँच्चै मिल्नुको भेद कहिले मेट्टिएछ
थाहै भएन
जसरी भेट्टिन्छन् मसी र अक्षरहरु
रंग र कुचि
त्यसरी नै तिमी र म हामी भएछौं
इतिहासको एउटा स्वर्णिम कालाखण्डमा ।

आज तिमी भन्दैछौ
अब हामी छुट्टिनुपर्छ्
र छुट्टिनुको कालो महाभारतलाई
मैले बिछोड नमानि
यात्रा मानेर
तिम्रा लागी एउटा फराकिलो मूलबाटो रोजिदिएकी छु ।


अनि तिम्ले मेरो लागि
खुशी हुने एउटा सुन्दर महाकाब्य लेखिदिएकाछौ
र म त्यसैलाई तिमी ठानेर
बिदाइको हात हल्लाउँदैछु ।

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...