Monday, July 20, 2026

अन्तिम प्रतिक्षा


सायद यो अन्तिम प्रतिक्षा हुनेछ । सायद कुनै मृत्यूजस्तै । सायद यो मृत्यू नै हो । सायद मैले जीवनभर जे चाहेँ त्यो पर सर्दै गयो  । मानिसहरुले बिदाइका हातहरु हल्लाए । माटो पनि तेरो हुँदिन भनेर बतासले उडाइलग्यो । जे चाहेँ त्यो कहिल्यै आफ्नो भएन । प्रतिक्षा गरेको पनि यतिका बर्ष भएछ । सायद यो अन्तिम प्रतिक्षा हुनेछ । 

प््रातिक्षा गर्दागर्दा मबाट जे गुम्यो त्यो सायद म आफैँ थिएँ । सायद म आफैँलाई पनि जोगाउँन चाहन्न । सायद केही नभएझै म माटोमा मिल्न चाहन्छु । सायद अन्तिम प्रतिक्षा ।

शहर : एक अनुभूती


दिन शान्त छ । मनमा शान्ति भएको बेला बादलले भरीएको दिन पनि मनपर्छ ।  झरी मनपर्छ । बतास पनि मनपर्छ । हावाहुरी र चट्याङ पनि मनपर्छ । आज त्यस्तै कुनै दिन हो । घण्टाघर तल छु ।  घण्टाघर तल कुनै चियापसलमा । घण्टाघर आफ्नै लयमा घुमिरहेछ । जसरी म घुमिरहेछु । सायद समय यसरी नै घुम्छ । बिस्तारै थाहा नपाएझै गरी ।  घुमेको आभाष कहाँ छ र ! र पनि घुमिरहेछौँ । तपाई । म । घण्टाघर । समय । सबैसबै ।

सायद यो जीवनको गति हो । सायद मानिस पनि आफ्नै लयमा घुम्न चाहन्छ ।  वा यसरी नै समय चलिरहन्छ । नचल्नुको विकल्प पनि त छैन । हुनसक्छ यो बिना बिकल्पको हिडाइ हो । वा घुमाइ हो । हत्तारीँदै हिडेर पनि कही पुग्नु छैन । वा पुगेर पनि फर्कनु छ । हुनसक्छ पुगेर पनि नपुगेझै गर्नु छ ।

 हामी सबैको गन्तब्य एकै हो । थाहा छैन हत्तारीँदै हिड्नेहरु कहाँ पुग्छन् । सायद लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ । यात्रा अयात्राको यो वृत्तमा हामी  घुमिरहेछौ  । सायद यही नै जीवन हो ।

चियापसलमा छु । भर्खरै एक मधुर मुस्कानले छोडेर गएको छ । मुस्कान एक सामुहिक भाव हो । दुख पिडालाई हामी सामूहिक बनाउँन सक्दैनौ । दुखको बदला दुख सापटी दिन सक्दैनौ । सायद मुस्कान नै त्यस्तो अनुभूती हो जसले सामूहिकता रोज्छ । मुस्काउँदै हिड्नेहरुले अनौठो अनुभूती दिएर जान्छन् । उसले त्यही  दिएर गएको छ । थाहा छैन उ किन मुस्कुरायो । थाहा छैन मैले किन उसको मुस्कानलाई साथ दिएँ । 

शहर आफ्नै गतिमा छ । चाहेर पनि हामी शहरको गतिलाई रोक्न सक्दैनौ । चियापसलबाट शहरको एक दृश्य कैद गर्दैछु । यो दृश्य मेरो हो ।  शहर सामुहिक भए पनि हामी सबैको आफ्नै भर्सनको सहर छ । यो मेरो भर्सनको शहर हो । कहिलेकाही लाग्छ म झै सहर पनि एक्लो छ । सबैसँग भएर पनि एक्लो । आफ्नै भएर पनि एक्लो । 

सबै आफ्नै लयमा पाइला चाल्दैछन् । किन कहाँ कसैलाई थाहा छैन । वा थाहा छ । वा थाहा भएर पनि थाहा नपाएझै गर्दैछन् । नानीहरु स्कुलका लागि पाइला चाल्दैछन् । नानीका बाआमाहरु कामका लागि पाइला चाल्दैछन् । केही नहुनेहरु हतारमा केही पाउँनका लागि पाइला चाल्दैछन् । म आफ्नै ठानेर उनीहरुको पाइला गन्दैछु ।

यो पाइलाहरुको कोलाहलमा आफ्ना पाइला खोज्दैछु । सायद म पनि आफ्नै दौडमा छु अरुजस्तै । तर थाहा छैन मलाई कहाँ पुग्नुछ, के पाउँनु छ । के मेरा पाइलाहरु प्राप्तिको दौडमा छन् ? तर थाहा छैन मेरो गन्तब्य के हो । आफैलाई खोज्दाखोज्दै म कहाँ पुग्नेछु । वा कुनै दिन थाकेर खोज्न छोडिदिनेछु । शहर अमुक छ । उसले मलाई पनि त कहिल्यै प्रश्न गरेन । सायद सहर सबैप्रति एक दुरी राख्छ । सहर उदार र अनुदार दुबै छ । उसले चाहेर पनि न मानिसलाई अगाल्छ न लत्याउँछ ।

  के सब यी दौडिरहेका मानिसहरु आफैलाई खोज्दैछन् । वा शहरको धुनमा त्यसै नाच्दैछन् । मलाई अरुको लयमा नाच्नेहरु अनौठा लाग्छन् । थाहा छैन नाच्दानाच्दै उनीहरु कहाँ पुग्नेछन् , के पाउँनेछन्  । सायद यो शहरको बिशेषता हो । यसले आफ्नै धुनमा नचाउँछ । वा हामी सबै आफ्नै धुनलाई सहरको धुन ठान्छौँ ।

 तर सबैसँग आफ्नै परिकल्पनाको शहर हुन्छ । मेरो शहर मेरो रोजाइको शहर हो । म शहरलाई सिंगो ठानेर हेर्न सक्दिन । मलाई त शहर आफैँजस्तो लाग्छ । टुक्रिएको । निराश । म आफ्नै प्रतिबिम्बमा शहरलाई हेर्छु । मलाई लाग्छ, मेरा वाक्यहरुझै मैले बाचेको शहर पनि सग्लो छैन । म टुक्रिएका अमुक वाक्यहरुलाई सहर ठानेर हेरीदिन्छु । सहरले आफ्नो परिभाषा लाद्दैन । सहरले मेरो परिभाषालाई तेरो परिभाषा भएन भन्दैन । सहरले आफ्नो रोजाइ लाद्दैन ।

मैले बुझेको शहरको कल्पना एकात्मक हो ।  यो एकात्मकताको बिम्बमा अडिएको छ । मैले शहरमा रहनुको अनुभूतीलाई सामूहिकतामा ब्याख्या गर्न सक्दिन । मेरो शहर तपाईको होइन । तपाईको शहर मेरो होइन । यो घण्टाघर तल म मेरो समयको कुरुपतालाई मात्र देख्छु । हुनसक्छ तपाईलाई यी मानिसहरु, यी गाडिहरु, यी बिनामतलबका दौडधुपहरु राम्रै लाग्लान् ।

गाडी गुडेका छन् । मानिसहरु हतारमा छन् । चिया पसलबाट चियाका बाफहरु उड्दैछन् । यो शहरको बिहानी हो । सायद शहर यसरीनै बिउँझन्छ । स–साना नानीहरु स्कुलका लागि निस्कदैछन् । नानीहरुले शिरमा लगाएको रिबनका फूलहरुले थप सौन्दर्य थपेको छ । यी अनुभूतीका तंरगहरुलाई म कैद गर्न चाहन्छु । म चाहन्छु मसँग यस्ता अनुभूतीहरु रैरहुन् । सायद हामी सबै यी यस्तै अनुभूतीका भोका छौ । बिष्मृतिहरु छोटा हुन्छन् । सायद हामी सबै स्मृतिमा बाच्न चाहन्छौ ।

तर यी स्मृतिहरु कुनै दिन मबाट पर जानेछन् । म धुमिल बन्नेछु । मेरा दृश्यहरु धुमिल बन्नेछन् । सायद मसँग स्मृतिको नाममा केही रहनेछैन । न यो चियापसल । न यो घण्टाघर । न यी असननका गल्लिहरु । न शहर मेरो हो भन्ने अनुभूती । कुनैदिन मसँग केही रहनेछैन । मेरी हजुरमासँग पनि संसारबाट बिदा हुँदे गर्दा स्मृतिहरु बाकी थिएनन् । सायद म पनि त्यस्तै हुनेछु कुनै दिन । शहर रहनेछ म रहनेछैन । शहरलाई कसैले सम्झनेछ तर मैले सम्झनेछैन् ।

  शहरको यो निजात्मक ब्याख्या हो । हुनसक्छ कुनैदिन सामूहिक बन्नेछ । यो मेरो नभइ अरु कसैको बन्नेछ । यी चाहेर कैद गरेका शब्दहर हुन् । थाहा छैन कुनै दिन अरु कसैले शहरको अर्को भर्सन लेख्नेछ । तर यसरी नै नलेख्न सक्नेछ । म आफैले पनि अरु कुनै अर्को दिन कैद गरेँ भने शहरको अर्को कुनै कुरुप कर्कष पोर्टेट बन्नेछ । यो सहरमाथी गरिएको बेमेल रेखाहरुको एक अमूत ब्याख्या मात्र हो । क्यानभाष मेरो हो । रंगको रोजाइ तपाईको हुनेछ ।

बर्हिगमन

 


उसको कोठामा छु । सेता पर्दा सेतो तन्ना आकाशे रंगका कुशनहरुले कोठा उज्यालो देखिएको छ । उसको ओछ्यानमा हरेक हप्ता उसलाई मनपर्ने सेतो रंगको तन्ना ओछ्याइदिन्छु । हरेक दिन उसको किताबमा जम्मा भएको धुलो पुछ्ने गर्छु । उ छैन तर यी सबै चीजहरुले उ भएझै महसुस गराउँछन् । उसको यो बाइसौ जन्मदिन हो । बाइसौ जन्मदिनमा उसको लागि बाइिस वटा किताबहरु ल्याएकी छुु । थाहा छैन, उसले यो देख्छे वा देख्दिन तर मलाई लाग्छ उसले यो देखोस् । मेरो अगाडी उसले लेखेको अन्तिम डायरी छ..........................

डेट– १५ डिसेम्बर, २०२२

“हिजो रुपि कौरको होम बढी पढेँ ।  त्यसपछि रातभर स्याली रुनिको “कन्र्भसेसन बिथ  फेन्डस्”को सय पेज पढेँ । सधै झै हिजो पनि निद्रा लागेन । सुत्न नसेकेको तिन महिना भैसकेको छ । जब रात पर्न थाल्छ मुटु धड्किन्छ । सुत्न सक्दिन । मामुलाई धेरैपटक भनेको हो, पत्याउँनुहुन्न । म निदाउँन सक्दिन । केही नराम्रो कुरा सुन्नेबित्तिकै हात काम्छ । पढ्न पनि आजकाल त्यहि मन लाग्दैन । हुन त सबैले मलाई किताबको किरो भन्छन् । आजकल त पढ्न पनि सक्दिन । मलाई लेख्न मनपथ्र्यो । आजकाल लेख्न पनि सक्दिन । बाबाको अफिसको केही भर छैन । कहिले सेमिनार कहिले लेटनाइट मिटिङ । उहाँलाई मामूलाई दिने समय पनि छैन मेरो लागि त परको कुरा । मैले मामू र बाबा खुसीसाथ बसेको कहिल्यै देखेको छैन । थाहा छैन बाबा सधै किन घरबाट पर बस्नुहुन्छ । तर मामूले आफ्नो कुरा केही सेअर गनुहुन्न । उहाँलाई लाग्नसक्छ म अझै केटाकेटी नै छु । बट आइ ह्याव क्रस ट्वान्टी आइ क्यान सेन्स इट । मलाई मूराकामी मनपथ्र्यो तर आजकाल मुराकामी पनि पढ्न सक्दिन । थाहा छैन के भाछ । मामू भन्नुहुन्छ धेरै पढेर हो । उहाँ मेरो कुरा बुझ्नुहुन्न । इन्र्टोभट भएर होला आइ डोन्ट ह्याभ बेस्ट फेन्डस् । 

अनिस सँग छुटिएको पनि एक वर्ष भै सकेछ । यदाकदा लाग्छ ठिकै भयो । तर सधैँ त्यस्तो लाग्दैन । उसलाई म प्रेमीको रुपमा नभए पनि साथीको रुपमा सधैँ मिस गर्छु । तर गर्दिन पनि । सम्बन्धमा नै रहँदा पनि उसले मलाई इमोस्नल्ली कहिल्यै सपोट गरेन । हाम्रो सम्बन्ध  सम्बन्धमा रहेर पनि सम्बन्ध जस्तो थिएन । खोइ किन उ कमिटमेन्ट देखी डराउथ्यो । महिनौ हराउँथ्यो अनि फेरी पहिलेझै बोल्न लाउथ्यो । मलाई त अहिले पनि लाग्छ उसको लागि सिचवेसनसिप मात्र थियो । मेरो लागि मात्र त्यो सम्बन्ध थियो । उसको ँन्युड्सहरु स्न्यापमा हेर्दा हेर्दा म एक तरिकाले बोर भैसकेकी थिएँ । उसललाई सायद लाग्थ्यो प्रेम गर्नु भनेको फिजिक्ल्ली कनेक्रट हुनुमात्र हो । आइ वोज नट कम्फरटेबल टु सेन्ड माई नेकेड पिक्चिर टु हिम । तर उसलाई लाग्थ्यो न्यूड्स् नपठाउँनु भनेको प्रेम नगर्नु हो । म यो कुरा कसैलाई भन्न पनि सक्दैनथेँ । तर म कम्फरटेबल पनि थिइन । मामुलाई त परको कुरा म साथीहरुलाई पनि यो चिज भन्न सक्दिन । जब जब एक्ली हुन्छु आफूले पठाएका ति नाङ्गा फोटाहरु देखेर पनि तर्सन्छु । कताकता रिग्रेट जस्तो फिल हुन्छ । मलाई लाग्छ म शरिर मात्र होइन । 

लाग्छ मलाई बुझिदिने कोही होस् । निद्रा नभएको बेला बोलिदिने कोही होस् । थाहा छ म इमोसनल्ली हेल्दी छैन । एक्लै एकदुई पटक थेरापिको लागि पनि गएँ । तर म उसँग पनि कम्फरटेबल भैन । मामूलाई अझै पनि म डिप्रेसनमा छु भन्ने थाहा छैन । मामू यो कुरा बुझ्नुहुन्न । मामूलाई लाग्छ धेरै पढ्नेहरु यस्तै हुन् । बिहान एक घण्टा  मेडिटेसन गर्छु तथापी दिनभर उदासीले छोड्दैन । आजकाल मामूले नदेख्ने् गरेर स्मोक पनि गर्न थालेकी छु । मलाई थाहा छ स्मोकिङ राम्रो होइन । तर किनकिन यसले एकछिन भए पनि उदासी कम गर्छ । मलाई कहिल्यै लागेको थिएन मैले याफ्टर ट्वान्टी स्मोक गर्न थाल्नेछु । तर स्याड्ली आइ स्टाटेड याफ्टर ट्वान्टी । कलेजको सेमिस्टर ब्रेक भएको छ । थाहा छैन यो एक महिना म कसरी बिताउँछु । मोबाइल छुनै मन पर्दैन । मोबाइल छुनेबित्तिकै हात काम्छ । कसैले गरेको फोनले मुटु फुटेझै धड्कन्छ ।  सोसल मिडिया सबै डियाक्टीभ गरेकी छु । पहिले पहिले बिदाको समय एक्लै बसन्तपुरतिर घुम्न जान्थेँ । यस्तो लाग्थ्यो बसन्तपुर कथाहरुको अलिखित संग्रह हो । तर आजकल जान मन लाग्दैन । थाहा छैन यो खालीपनले कहिले छोड्नेछ । कहिले म पहिलेझै बन्न सक्नेछु । आई लभ हु आई वाज । थाहा छैन यो अध्यारो शुन्यताबाट म कहिले पर भाग्न सक्नेछु । आजकल कहिलेकाही म मरेपछि रुने मान्छेहरु बारे पनि गर्छु । के डेथबारे सोच्नु नराम्रो हो ? मलाई लाग्छ म बाचेभन्दा मरेँभने मलाई शान्ती हुनेछ । म यी बिनानिद्राका खाली र उदास रातहरु कतिदिन झेल्न सकुँला । कहिलेकाही त राती आफ्नो धड्किएको मुटुको आवाजले आफैँ तर्सन्छु । शरीरभरि पानी खनाउँछु तर पनि सुत्न सक्दिन । निद्रा बिनाका रातहरु कसैका नहुन् । यो उदासीले थाहा छैन मलाई कहिले छाड्नेछ । आइ विस चाडै छोडोस् । तर मलाई लाग्दैन यसले यती सजिलै छोड्नेछ ।

आज उसको जन्मदिन हो र उ नभएको ४५ दिन पनि । उसको डायरीले मेरा हातहरु कामेका छन् । मुटु अझै धड्किरहेको छ । उ भएको भए अर्को उल्लास हुने थियो । अपूर्व पनि छोरीको जन्मदिनको लागि भनेर घरमा हुने थियो । उ गएपछि अपूर्व घर बिरलै आउँछ । थाहा छैन उ के महसुस गर्छ । केही नभनेपनि यदाकदा लाग्छ यो सब हुनुमा उ मलाई दोसी ठान्छ । कहिलेकाही मलाई आफैँलाई पनि त्यस्तै लाग्छ । 

उसको  जन्मदिनमा उसका डायरीहरु पढ्दैछु । यो उसले लेखेको अन्तिम डायरी थियो । लाग्दैछ यो मैले पहिल्यै पढ्नुपथ्र्यो । यी ४५ दिनहरु मलाई ४५ लाख जुनीझै भएको छ । आँमाले सन्तानको मृत्यूको कल्पना कहिल्यै गर्न सक्दिन । यो गर्न नसक्ने कल्पना यर्थाथ भैदिएको छ । मलाई लाग्थ्यो उ म जस्तै छ । नबोलिकनै धेरै कुरा बुझ्ने । तर आजकल लाग्दैछ मैले उसलाई बुझ्न नसकेको रहेछु । आमा भएर आमाझै हुननसकेको पिडा सधै रहनेछ । र उ नरहनुको कमि मसँगै बिदा हुनेछ ।

उ सजिलै जीवनमा आएकी थिइन । बिहे गरेको सात बर्षसम्म पनि केटाकेटी नभएपछि हामी दुबैको सम्बन्धमा रोमाञ्चकता थिएन । मलाई एडप्ट गरेर भए पनि सन्तानको आमा बन्न मन थियो । अपूर्वलाई त्यो कुरा मन्जुर थिएन । तर उ आएपछि हामी बिचको सम्बन्धमा पनि अर्को उल्लास छायो । परिवार पनि खुसी भयो । उ जन्मेको दिन सासुआमाले तिमी पनि आजदेखी पूर्ण भयौ भनेको कहिल्यै बिर्सन सक्दिन । उसको नाम त्यसैले प्रतिक्षा राखेका थियौँ । उसकै लागि भनेर त्यसपछि मैले जागिर खाइन ।  म उसलाई पूर्ण रुपमा हुर्केको हेर्न चाहन्थेँ ।

उ मैले चाहेझै थिइ । पढाकु, ज्ञानी । तर उसको कम बोल्ने बानीले कहिलेकाही मलाई पिरोल्थ्यो । अरु केटाकेटी झै उसले हासी मजाक गरेको मलाई कहिल्यै थाहा छैन ।  बस कि पढ्ने कि स्केच गर्ने उसको दैनिकी थियो । मलाई लाग्थ्यो कुनै दिन उ राम्रो चित्रकार बन्नेछ । मलाई उसको रंगसँग खेल्ने बानी असाध्दै मनपथ्र्यो ।

जब उसले एसएलसीमा ए ल्याएर पास गरी सबैले भन्थे डाक्टर हुन्छे । तर उसलाई डाक्टर बन्न मन थिएन । मलाई पनि उ डाक्टर नै बन्नुपर्छ भन्ने थिएन । ए लेवल पछि केयूमा फाइन आर्टस्  पढेकोमा मलाई कुनै गुनासो थिएन । उसको बाबा पनि खुसी हुनुहुन्थ्यो । हामी दुबै उ खुसी भएको देख्न चाहन्थ्यौ ।

अरुका केटाकटी झै उसका धेरै साथीसंगती सँगको संगत मैले कहिल्यै देखिन । उसको पढ्ने लत भने बच्चा देखीनै थियो । अल्लि पछि मलाई लाग्थ्यो उ किताबमा मात्र नभुलोस् । बोरु घुम्न निस्क्योस् साथी बनाओस् । उसको एककाइसौ जन्मदिनमा मैले उसलाई यात्रामा जाउँ भनेर दुई दिनको लागि चित्लाङको हाइकिङ ट्रिप बुक गरिदिएको थिए । तर उ जान मानिन । त्यसको सट्टा एककाइस वटा पुस्तकहरु मैले उसलाई दिएँ उ खुसी देखिन्थी  । उ  कलेजबाट आएपछि कि चित्रहरु मात्र कोर्थी कि किताबहरु मात्र पढ्थी ।

  तर केही समयदेखी उ केही निराश देखिन्थी । मलाई लाग्थ्यो नचाहिदा पुस्तकहरु पढेर हो । मलाई लाग्थ्यो धेरै पढ्नेहरु धेरै सोच्छन् । धेरै सोचेर हो । उसले मलाई म निदाउँन सक्दिन भनेकी पनि थिइ । मलाई लाग्यो कहिलेकाही होला ।  सधै होइन ।

जीवनमा यसरी उसलाई गुमाउँछु भन्ने कहिल्यै थिएन । उ नरहेपनि अपूर्व पनि बिरलै घर आउँछ । कहिलेकाही लाग्छ केही बर्षदेखी उ कोही अरुसँग सम्बन्धमा छ । हामी विचको सम्बन्ध सधै यस्तै नै थियो । उ भएकाले छोरी छ भन्ने आधार थियो । अपूर्व बाहिर कोहीसँग हिडेको कुरालाई म थाहा पाएपनि नपाएझै गर्थे । मलाई लाग्थ्यो छोरीले यो सब थाहा नपाओस् । म छोरीको नजरमा उसको पिताको डार्क साइड देखाउँन चाहदैनथे । तर उसको यो डायरी पढेपछि थाहा भयो उसको पनि उसको पितासँग गुनासो रहेछ ।

उ भैइनजेल उ आफ्नै काममा ब्यस्त भएपनि मलाई एक्लो कहिल्यै महशुस भएन । म त उसको बिहेबारे पनि सोच्न सक्दैनथेँ । हुन त उसको उमेरका भएपछि धेरै बाआमाले बिहेबारे सोच्ने गर्छन् । तर मलाई लाग्छ उसले बिहे गर्दिन भनेकी भए पनि मलाई कुनै गुनासो रहँदैनथ्यो । म मात्र उ खुसी भएको देख्न चाहन्थेँ ।

थाहा छैन उ बिनाका एक्ला र निराश दिनहरु म कसरी बिताउँनेछु । उसका उमेरका केटाकेटीहरु म सडकमा पनि देख्न सक्दिन । एक्कासी मुटु दुखेर आउँछ । आजकल उसँगै छु भन्ने महशुस गराउँन उस्ले पढ्ने पुस्तकहरु पढ्छु ।  उ प्राय अंगे्रजी पुस्तकहरु पढ्थी । तर मेरो अंग्रजी उसकोझै नभएपनि पढेझै गर्छु । लाग्छ यी पुस्तकहरुमा उ कहि कतै छ ।  उसको स्पर्शको महशुस हुन्छ ।

लाग्छ मैले उसलाई कसरी बुझ्न सकिन ?  आमाले आफ्नो सन्तानलाई बुझ्न नसक्न पाइन्छ ? कहिलेकाही लाग्छ म  कहिल्यै आफैले आफैलाई माफी दिन सक्दिन........................................................................................................

Sunday, July 19, 2026

Ode to the Letters

 प्रिय पत्रहरु,

यो पत्रको बदला पत्र मात्र होइन । यो कुनै अधुरोपन जस्तै हो । केही न्यास्रो । केही अल्नो । केही अपुरो । मलाई लागेको थियो मेरो पत्रको बदलामा मेरो झोलामा पत्रमञ्जुषा बनेर केही फर्कनेछ । तर त्यस्तो भएन । मेरा पत्रहरु सायद कुनै अन्जानको दैलोमा पुग्यो होला । सायद उसलाई लाग्यो होला यो मेरो ठेगानामा झुक्किएर आएको होला म खोल्दिन । सायद त्यस्तै केही भयो होला ।

कहिलेकाही त लाग्छ नि आफूलाई कसैले सुनिदियोस् । आफ्नै नाममा पत्रहरु घरको ढोका आइपुगुन् । फूलहरु लिएर कसैले आफूलाई स्वागत गरोस् । सँसारमा को नहोला जसलाई माया चाहिएको छैन । सँसारमा को नहोला जसले प्रेमलाई कुरेको छैन । सायद म त्यस्तै प्रखाइमा थिएँ । 

सायद त्यसैको प्रखाइमा मैले केही पत्रहरु लेखेँ । कोही अपरिचितलाई । कोही अन्जानलाई । लागेको थियो कहिलेकाही प्रेम असजिलो बाटो बनेर आउँछ । सजिलो के छ र । मैले त्यस्तै गरेँ । सायद आफैँलाई खोजेझै मैले अरु कसैलाई पत्रहरुमा खोजिरहेँ ।

खोजि आफ्नै थियो । खोजि प्रेमको थियो । मैले शब्दहरुमो आफैँलाई रित्तयाइराखेँ । अब त म शब्दहरुको पनि रित्तो रहेछु, प्रेमको मात्र होइन । जे छ असजिलो छ । मलाई थाहा थियो, यो असजिलो बाटो हो । त्यो पनि थाहा थियो, प्रेम कहिल्यै पनि असजिलो बाटो बनेर फर्कदैन । तर पनि मनले भन्यो कुनै आख्यानझै जीवन पनि त अप्रत्यासित छ । मलाई लाग्यो यो असजिलो नै मेरो भागको सजिलो बाटो हो । मैले लगातार कोही अपरिचितलाई पत्रहरु लेखिराखेँ । सायद लेखिरहनेछु । 

पत्रहरुको युूग सिद्धिएको पनि धेरै भैसक्यो । तै पनि पत्रहरुको आशा थियो । मलाई लाग्छ प्रेमको सबैभन्दा सुन्दर अभिब्यक्ति कि मौनतामा हुन्छ कि शब्दहरुमा । मैले त्यही बाटो रोजेकी थिएँ । तर अब प्रतिक्षाको लागि केही बाकी रहन । हरेक दिन म आफ्नै लागि आफैँ लेख्ने गर्छु । कुनै मनोबादझै प्रापक र प्रेशक आफैँ बनेकोमा पनि कुनै पछुतो छैन । एक अभिनय जस्तो, जीवनमा प्रापक र प्रेशक आफैँ बन्नु एंकाकिपनको चरम बिन्दु हो । हुन त मैले जीवनलाई मुलधारमा राखेर कहिल्यै हेरिन । जे थियो र जे छ चरमता भित्र मात्र छ । म संग्लोपनको नाटकमात्र पनि गर्न सक्दिन । म भित्र जे छ कुनै टुक्रिएको सिसा जस्तै छ । कहिलेकाही नमज्जाले बिझाउँछ । 

सायद आफ्नै खोजिमा । सायद अरु कसैको खोजिमा । सायद प्रेमको खोजिमा । मैले अपरिचितलाई पत्रहरु लेखिरहेँ । मलाई अरु केही थिएन मेरा शब्दहरुबाट केही आशा थियो । मैले उत्सुकताबस कापी कापी कोही अरुका लागि पहिलोपटक पत्र लेखेकी थिएँ । म बिधामा अड्किन चाहदैनथेँ । पत्र मेरा लािग कविता जस्तै हो । कविता बन्न कविताजस्तै हुनुपर्छ भन्ने पनि छैन । प्रेममा सबैचिज कविता नै हो र्।  लागेको थियो प्रेमलाई अभिब्यक्त गर्न पत्र एउटा सुन्दर तरिका हो । कहिलेकाही माध्यम पनि महत्वपूर्ण बन्छ । सायद मैले रोजेको पत्रको बाटो त्यही थियो ।

प्रिय अपरिचित, म तिमीलाई प्रेमझै केही गर्छु । त्यो प्रेम हो वा हैन मलाई थाहा छैन । पानी परेको बेला, बतास चलेको बेला , चराहरु उडेको बेला , घाम अस्ताएको बेला लाग्छ अनुभूतीको त्यो सुन्दरताभित्र तिमी पनि छौ । कहिलेकाही घाम लागेको बेला पनि त्यसरीनै सम्झन्छु । आज पनि बिहानै सम्झे । हिजो राती पनि सम्झेको थिएँ । मलाई थाहा छ, प्रेम पत्र बनेर मेरो बाटो आउँदैन तर केही खोजेझै प्रेममा पनि मैले आफैँलाई खोजिराखेँ । खोज्नु सायद मेरो नियती थियो । मैले जीवनभर केही खोजिरहेँ । सायद तिमीलाई खोज्नु पनि त्यही नै हो ।

सायद अब अक्षरहरु सजिला बाटा बनेर तिम्रो माझ झुल्कँदैनन् । जे थिएँ मेरो मात्र थिएँ । म आशाबादी पनि रहिन । कहिलेकाही असजिलो बाटोको खोजिमा मैले केही आफैँलाई रित्ताएको छु । रित्तिएको मानिसभित्र प्रेम रहँदैन । मैले प्रेम गर्छुझै गरेँ पनि सायद म अब कसैलाई प्रेम गरिरहन पनि सक्दिन । सायद आफैँलाई पनि । मैले जे को प्रतिक्षा गरिराखेँ । त्यो कतै पर पुग्यो । मलाई लाग्छ मैले अब माटो मागेँ भने पनि बतास आएर माटोलाई उडाउँनेछ । यो उदास मानिसले पत्र पनि लेख्न सक्दैन । प्रिय पत्रहरु, यो तिम्रो लागि लेखिएको अन्तिम सम्झना पत्र हो ।

Thursday, July 16, 2026

प्रिय सानी केटी,

  प्रिय सानी केटी,

हिजोझै आज पनि फर्किएकी छु । धेरै माया । धेरै सुभेच्छा ।  आज पनि रातभर पानी पर्यो । तिमीलाई थाहा छ नि सबै रातहरु सजिला हुँदैनन् सायद यो यस्तै रात थियो । तर त्यसले कमजोर त बनाएन । लाग्यो म अब रुवाझै हलुका रहिन । हल्का हुनेहरु स–साना हुरी बतासले पनि सजिलै बहकिन सक्छन् ।

कुनै यात्राको किताब पढ्दै छु । छोरी मान्छेले गरेको त्यो एक्लो यात्राले आफैँलाई भन्दैछु- चाहेको मैले पनि त्यही हो  । सायद कुनै दिन म पनि त्यसरीनै झोला बोकेर कहिँ पुग्नेछु ।आफ्नो सामान बोकेर फटाफट हिड्नेहरु लोभलाग्दा लाग्छन् । लाग्छ हिड्नेहरु नै हुन् जसले माटो, हावा र पानीलाई बुझ्छन् । अरु सब ठिकै नै छ तर केही चिन्ता पनि छ जसलाई म आफैँले सुल्झाउँन पर्नेछ ।

केही कुराले आभारी छु । जस्तो रातभर परेको झमझम पानी । बिहानै मुस्कुराएको घाम । बाटामा भेट्दा मुस्कुराउँने मानिसहरु । कहिलेकाही त लाग्छ म त्यसैको लागि बाच्दैछु । तर मलाई म आफ्नै लागि बाच्दैछु । म आफूले चाहेको किताब पढ्न पाएकोमा । आफुले मन पराएको मानिस भेट्न पाएकोमा । आफूले चाहेको चिज खान पाएकोमा पनि आभारीनै हुन्छु । जे भैराछ रमाइलो भै राछ । कहिलेकाही उकालो चढ्नु । कहिलेकाही ओराले झर्नु त बस जीवनका नीयती मात्र हुन् । त्यो बाहेक अरु जे भैराछ रमाइलो नै छ । 

आज पनि हिजोको चिन्ता दिएर हिड्न चाहन्न । दुखी हुँदैमा चिन्ता बोकर हिड्नुपर्छ भन्ने पनि हुँदैन । हो म दुखमा पनि खुसी भै दिन सक्छु । छोरी मानिस  उमेरको कुनै लामो फेरीस्तसम्म आफ्नो तरिकाले जीवन जीउँनु भनेको समाजमा असफल झै हुनु हो । आज पनि लोग्ने बिनाका केटाकेटी बिनाका छोरीमान्छे समाजले बिरलै कल्पना गर्छ । तर मलाई केही छैन म मेरो जीवनको मालिक हुँ । सब एक्ला छन्, अरु कोहीसँग भएझै नाटकमात्र गर्छन् ।  भिडमा पनि एक्ला छन् मानिसहरु ।

हरेक दिन यसरी नै किबोडमा औलाहरु चलाउँन चाहन्छु । मेरो जीवनको अन्त्यसम्म नै म यही चाहन्छु । म जे हुँ अक्षरहरुमा मात्र हुँ । प्रिय सानी केटी यसरी अघि बढ्नु । आफूले आफैँलाई रोज्नु सजिलो काम होइन । यो देशका कति छोरीमान्छेले आफ्नै लागि बाचेका छन् र । जे छौ लोभलाग्दी छौ यसरी नै अगाडी बढ्नु । कहिलेकाही आफैँले आफैँलाई मनपराउँछु भन्न पनि पाइन्छ कहिलेकाही आफैँले आफैँलाई लोभलाग्दी छौ भन्न पनि पाइन्छ ।  भिडमा आफूलाई नखोज्नु, तिमी भिड होइनौ । 

अगाडी बढ्नु कहिलेकाही फर्केर पनि हेर्नु । फर्केर नहेर्नु अगाडी बढ्नु होइन । कहिलेकाही जे छैन त्यो छैन भन्ने पनि लाग्ला  । तर त्यो नै सब चिज हो नबुझ्नु अगाडी मात्र बढ्नु ।

Wednesday, July 15, 2026

फकर्नु


आज पनि फर्केको छु जसरी हिजो फर्कन्थेँ । एक दैनिकि । एक निरन्तरता । सायद एक बाध्यता । उही बिहानी । हिजोझै बिहानै आज पनि सडकमा मानिसहरुको पाइला परिसकेको छ । यात्राझै मानिसहरु कहि नपुगी फर्कनकै लागि कहि जाँदैछन् । म पनि त्यसरीनै शब्दहरुमा फर्कन्छु जस्तो हिजो फर्कन्थेँ । 

उही बिहानी । उही चियाका कपाहरु । उही फूल । उही घाँम । उही मानिसहरु । उस्तै डायरी । उस्तै शब्दहरु । यो दोहोरीनुको अत्यासलाई मेटाउँनकै लागि भएपनि हरेक दिन शब्दहरुमा फर्कनछु । जस्तो हिजो फर्के । जस्तो आज फर्के । सायद भोली पनि यसरीनै फर्कनेछु ।

कहिलेकाही अत्यासलाग्दो लागेपनि यो फर्कनु मेरो लागि एउटा अवसर हो । त्यस्तो अवसर जो मेरो आमा र हजुरआमासँग थिएन । मेरा आमाहरुका कुनै पुस्तासँग थिएन । सायद मेरा बैनिहरुस्ाँग पनि थिएन । मलाई यही दोहोरीएर फर्कनु पनि कहिलेकाही रमाइलै लाग्छ । जस्तो आज लाग्दैछ । पढी नभ्याएको किताब छ । चियाका कपहरु छन् । डायरी छन् । एक जोर झ्याल । एक सेट तन्नाले मलाई साथ दिएका छन् । सधैँ ािथ दिने पनि यिनै हुन् ।

कहिलेकाही लाग्छ म अब यो फर्किने प्रक्रियालाई अत्यासलाग्दो छ भनिरहन पनि मिल्दैन । सायद म यहि नै चाहन्छु । एक निस्सारता । एक अर्थहिनता । आफूबाट बाहिर निस्कियो भने समाज अझ कु्रर छ । सपना देख्ने उमेरका मानिसहरु आक्रोशमा, अभावमा, गरिविमा आफैँलाई जलाउँदैछन् । सत्तालाई हिजोकालाई झै आजकालाई पनि लाग्छ दोश मर्नेको हो सरकारको होइन । सत्ताले सामान्य मानिसलाई कालो चस्मा  लगाएर हिड्छ । कुनै तिलस्मी नायकझै सत्ताका नायक पनि अलौकिक भएझै गर्छन् । कुनै समय त्यही सडकमा क्रान्तिको गीन गाउँने एक गायक कसरी सामान्य मानिसलाई मानिस नै नभएझै कालो चस्मा लगाएर हेर्न सक्छ । कोही नहुनेको सरकार होइन सबै हुनेको सरकार हो झै संसद भवन एक मूर्दाघरझै प्रस्तुत हुन्छ ।

अब दोहोरीनु बाहेक म सपनाका कुराहरु यही माटोमा गर्न सक्दिन । जे छ असजिलोछ छ । हरेक दिन म मेरो सान्नाटामा आफैँलाई फर्केर हेछुृ । जोसँग केही थान सपनाहरु थिएँ सायद अब ति छन् कि छैनन् भन्नेमा पनि मलाई बिश्वास छैन । असफल हुनु मुर्ख हुनु होइन म हरेक दिन आफैँलाई यही भनेर सम्झाउँछु । सायद एक बाध्यता । सायद एक बिरक्तिएको मानिसले गर्ने यही हो ।

कहिलेकाही त लाग्छ नि सबैका लागि सजिलो मेरा लागि किन असजिलो भयो । गधालेझै मैले गरेका हरेक प्रयासहरु यसरी प्रयास मात्र बने म तिनलाई टुलटुल हेर्न बाहेक अरु केही गर्न सक्दिन एक अत्यासलाग्दो दैनिकिको साक्षि भएकोमा आफैँलाई सराप्छु कहिलेकाही । जे हुनुपर्ने थियो त्यो कहिल्यै भएन । तँ हार्दैछस् भनेर आफ्नै असफलताको साक्षि बन्नु बिरक्ति हो । हो म बिरक्तिएको छु । 

हरेक बिहान म चाहेर फूल देखेर मुस्कुराउँन सक्दिन । सायद म नियतीलाई स्विकार्न सक्दिन त्यसैले हरेक पटक केही नभएझै एक पटक उठ्छु र फेरी फर्कन्छु ।

Tuesday, July 14, 2026

प्रतिक्षा


केही पर्खिएजस्तो केही नभएजस्तो, केही अल्नो, केही न्यास्रोपन सधैँ रहिरह्यो । सायद केही कुरिरहेँ । सायद केहीको प्रतिक्षा थियो । जसरी खडेरीमा पानीको प्रतिक्षा हुन्छ । हिउँदमा घाँमको प्रतिक्षा हुन्छ । सायद त्यस्तै ।

कुर्नु सजिलो कहाँ सजिलो छ र ! कहिलेकाही कसैलाई पर्खेर बसेका छौ । मैले त आफैँलाई पर्खेको पनि बर्षौ भयो । सायद आफैँलाई पर्खिदा पर्खिदै आफैँलाई नभेट्दै कुनैदिन म बिदा लिनेछु । सायद आशा पनि आफ्नै प्रतिबिम्ब हो । आफैँलाई नभेटेको के आशा गर्नु । कसरी आशाबादी हुनु ।

चिठी...... एक सम्झना

  प्रिय चिठीका पाठकहरु, यो पत्र तपाईहरुको लागि नै हो । बर्षौ पहिले सायद जब म पढ्न लेख्न भर्खर सुरै गर्दै थिएँ त्यही बेला हजुरबाले बुवाहरुक...